प्रधानमन्त्रीले मोदीलाई फोन गरेर भनेः शुभकामना छ, दुई देशबीच साझेदारीका लागि तयार छौँ

प्रधानमन्त्री पुष्पकमल दाहालले भारतका कामचलाउ प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गरेर बधाई दिएका छन्।

सात चरणमा सम्पन्न लोकसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै प्रधानमन्त्री दाहालले आफ्ना भारतीय समकक्षीलाई बुधवार फोन गरेर सफलतापूर्वक निर्वाचन सम्पन्न भएकामा शुभकामना व्यक्त गरेका हुन्।

त्यस अवसरमा दुबै नेताबीच आपसी हित र साझा चासोका विविध विषयमा सङ्क्षिप्त कुराकानी भएको यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ।

प्रधानमन्त्री दाहालले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन अब गठन हुने सरकारसँग साझेदारी एवं सहकार्य गर्न आफू तत्पर रहेको बताएका थिए।

प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षीसँग कुरा गर्न पाउँदा खुसी लागेको बताएका थिए।

‘प्रधानमन्त्री प्रचण्डसँग कुरा गर्न पाउँदा अत्यन्तै खुसी लाग्यो। उहाँको न्यानो शुभकामनाको लागि उहाँलाई धन्यवाद व्यक्त गरेँ। भारत र नेपालबीचको गहिरो र बहुआयामिक साझेदारीलाई सुदृढ गर्ने हाम्रो साझा प्रतिबद्धतामाथि जोड दिँदै हाम्रो सम्बन्धमा सकारात्मक गति कायम राख्ने कुरामा सहमत भयौँ,’ प्रधानमन्त्री मोदीको भनाइ उद्धृत गर्दै यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ।

लोकसभा निर्वाचन परिणामअनुसार नेशनल डेमोक्र्याटिक एलायन्स (एनडीए) दुई सय ९३ स्थानमा विजयी भएको छ भने प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टीले दुई सय ४०सिट जितेको छ।

भारतमा लोकसभा निर्वाचन सम्पन्न भएसँगै मोदीले बुधवार नयाँ सरकार गठनका लागि बाटो खुलाउँदै पदबाट राजीनामा दिइसकेका छन्। तर, प्रधानमन्त्री नबनेसम्म उनी कामचलाउ प्रधानमन्त्रीको रुपमा रहने छन्। रासस

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *