जनमतका यादव चर्चामै सीमित, सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष दाबी पेस गरिँदै

मधेस प्रदेशमा जनमत पार्टीका नेतृत्वमा सरकार बनाउन चार दलले आज प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष दाबी पेस गरिँदै छ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश सभाबाट मत नपाएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरूलाई दाबी पेस गर्न आह्वान गरेकी छन्।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान १० बजेसम्मको समय दिएकी छन्।

जनमतका सिंहलाई मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष दाबी पेस गरिँदै छ।

यसअघि जनमत संसदीय दलका नेता महेशप्रसाद यादवको नेतृत्वमा सरकार बनाउने चर्चा भइरहेका बेला जनमतले सिंहको नाम मुख्यमन्त्रीमा सारेपछि उनलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी पेस गरिने भएको छ।

जनमत पार्टी १३ सांसदसहित, नेकपा एमालेका २४, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७ र नागरिक उन्मुक्ति पार्टीका १ सांसद गरी ५४ सांसदको समर्थनमा जनमतका सिंहलाई मुख्यमन्त्री बनाउन दाबी पेस गर्ने तयारी गरेको छ।

सिंह सप्तरीको निर्वाचन क्षेत्र २ को १ बाट निर्वाचित भएक हुन्।

१०७ प्रदेश सभा सदस्य रहेको मधेस प्रदेशमा बहुमतका ५४ सांसदको समर्थन चाहिन्छ। केन्द्रीय सत्ता गठबन्धनअनुसार प्रदेशमा बनेको नयाँ गठबन्धनले सरकार बनाउन सामान्य बहुमत जुटाएका छन्।

बुधबार मुख्यमन्त्री यादवले विश्वासको मतका लागि प्रदेश सभामा राखेको प्रस्तावको पक्षमा ५० सांसद मत दिएका थिए भने विपक्षमा ५३ मत पर्‍यो।

मुख्यमन्त्री यादवका पक्षमा जसपाका १९, नेपाली कांग्रेसका २२, लोकतान्त्रिक समाजवादीका ८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका १ सांसद मतदान गरेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *