२०८३ असार २९ , सोमबार

हारबाट पुनरागमनः अबका खेलमा गल्ती सुधार्दै आफूलाई प्रमाणित गर्ने नेपालसँग मौका



१० वर्ष पछि आईसिसी टी–२० विश्वकपमा पुनरागमन गरेको नेपालले आफ्नो विश्वकप यात्रा हारबाट सुरु गरेको छ।

अमेरिकाको टेक्ससमा मङ्गलवार आफ्नो पहिलो खेलमै नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भयो। खराब ब्याटिङका बाबजुद बलिङमा साथ पाए पनि हार बेहोरेको नेपालले अब आफ्नो अर्को खेल १५ जुनमा दक्षिण अफ्रिकाविरुद्ध खेल्ने छ। नेपाल र दक्षिण अफ्रिकाबीचको खेल बिहान ५ः१५ बजेबाट सुरु हुनेछ।

दक्षिण अफ्रिकाविरुद्धको खेल अघि नेपालसँग १० दिनको समय थियो। जसमा २ दन बितिसकेको छ। यो समय नेपालले आफूलाई थप तिखार्दै कसरी अघि बढ्ने सो विषयमा तयारी गर्न सक्छ। कारण, त्यसपछिका खेलमा नेपालसँग पर्याप्त समय नहुँदा तयारी गर्न सक्ने अवस्था पनि रहँदैन।

समूह ‘डी’ मा रहेको नेपालले अब आफ्ना सबै खेलमा जित हात पार्न सकेन भने उसको आगामी यात्रा कमजोर बन्दै जानेछ। तर, तुलनात्मक रुपमा दक्षिण अफ्रिकाभन्दा कमजोर मानिएको नेपाले अबका खेलहरूमा जित्नै पर्ने दबाब रहन्छ।

आगामी खेलहरूमा पहिलो खेलमा गरेका गल्तीलाई सच्याउँदै नेपालले जितका लागि रणनीति बनाउनुपर्ने हुन्छ। ब्याटिङ्गमा सबैको नजर रहेका कप्तान रोहित पौडेल बाहेक कुशल भुर्तेलदेखि दिपेन्द्रसिंह ऐरी लगायत कुनैपनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् भने फिल्डिङ्ग पनि पटकपटक चुकिरह्यो। यी सबलाई ध्यान दिँदै नेपालले विश्वकपको आगामी यात्रालाई सुखद बनाउन हर सम्भव प्रयास गर्नु पर्नेछ।

नेपाली भूमी नभएपनि अमेरिकामा रहेका नेपाली समर्थक र दर्शकहरूको साथले नेपाललाई हौसला प्रदान गर्ने कुरालाई बिर्सनु हुँदैन भन्ने कुरा पछिल्लो खेलले प्रमाणित गरिकेको छ। ड्यालसको ग्रान्ड प्रेरी रंगशालामा टियु क्रिकेट मैदानकै अनुभूति दिने गरी दर्शकको साथ पाए पनि सन् २०१४ पछि नेपालको विश्वकपमा पुनरागमन सुखद बन्न नसकेको विषयले नेपाली समर्थक र दर्शकलाई निराशा बनायो।

टस जितेर पहिले फिल्डिङ गर्ने नेदरल्यान्ड्सको निर्णय सही साबित भयो। किनकि नेपालले सुरुदेखि नै ब्याटिङमा निकै संघर्ष गर्नुपरेको थियो। एक समय सय रनको आँकडा पनि पार गर्ने अवस्थामा नरहेको नेपालका कप्तान रोहितकुमार पौडेल र तल्लो क्रमका ब्याटरले ससाना इनिङ खेल्दै नेपाललाई १०६ रनसम्म पुर्याए। जबाफी लक्ष्य पछ्याएको डचविरुद्ध नेपालका बलरले कसिलो बलिङ गर्दै चुनौती दिए। तर, सफल हुन भने सकेनन्।

पहिलो हारबाट हतोत्साहित हुन आवश्यक नरहेको सन् २०१४ मा विश्वकप खेलिसकेका सोमपाल कामीले बताए। तर, नेपाली क्रिकेटका लागि नेपालको पछिल्लो समय देखिएको प्रदर्शनप्रति भने नेपाली दर्शक र समर्थकले अपेक्षा गर्नु स्वभाविकै हो।

पाँच टोली रहेको समूह ‘डी’ मा नेदरल्यान्ड्स र दक्षिण अफ्रिकाले पहिलो खेलमा जित निकालेका छन्। दक्षिण अफ्रिकाले श्रीलंकालाई नराम्रोसँग हराएको थियो।

हुन त नेपालको पछिल्लो म्याचको प्रदर्शन भने खुशी हुन लायक छैन। गत अप्रिलमा एसिया कप छनौटका लागि नेपाल प्ले अफमा हङकङसँग ४ विकेटले पराजित भयो भने पहिलो सेमिफाइनलमा युएईसँग ६ विकेटले पराजित भएको थियो। त्यसलाई पनि आत्मसात गर्दै सुधार्नुपर्ने पक्ष के छन् भन्ने कुरामा ध्यान दिएर दक्षिण अफ्रिकाविरुद्ध खेल्नुपर्ने हुन्छ। किनकी नेपाललाई लिएर नेपाली समर्थक मात्रै होइन अन्तर्राष्ट्रिय स्तरका क्रिकेटका दिग्गजहरूलाई पनि धेरै अपेक्षा छ।

प्रकाशित मिति : २०८१ जेठ २४ गते बिहीबार