कर्णाली प्रदेशको सुर्खेतमा हुने ‘श्रमाधान रोजगार मेला’ को तयारी पुरा भएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कर्णाली प्रदेश सरकार सुर्खेत र वीरेन्द्रनगर नगरपालिका सुर्खेतको आयोजनामा शुक्रबार देखि सुर्खेतको वीरेन्द्रनगर स्थित सिटी हलमा मेला सुरु हुँदै छ।
मेलाको विषयमा जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका फोकल पर्सन उप सचिव टिकाराम ढकालले रोजगारदाता र कामको खोजीमा रहेका श्रमिकको बीच भेट गराउनु मेलाको मुख्य उद्देश्य रहेको बताए।
‘मेलाले रोजगारीका अवसरहरु सृजना गर्ने, सीप विकास प्रवर्द्धन गर्ने, उद्यमशीलतालाई प्रोत्साहन गर्ने, आर्थिक वृद्धिलाई उत्प्रेरित गर्ने, युवा सशक्तीकरण गर्ने र सार्वजनिक निजी साझेदारी अभिवृद्धि गर्नेमा हामी विश्वस्त छौ,’ उनले भने।
त्यस्तै, नेपाल चेम्बर अर्फ कमर्स कर्णाली प्रदेश अध्यक्ष चिन्तामणी न्यौपानेले नेपालमा दक्ष श्रमिकको अभाव रहेको बताए। रोजगारदाताले आवश्यकता अनुसारको श्रमिक नपाउने अवस्थालाई यस्तो खालको मेलाले सम्बोधन गर्ने उनले जनाए।
‘वर्षो देखि हामी हरेक कुराको लागि अन्य मुलुकमा भर पर्नुपर्ने अवस्था छ। तर, अबका दिनमा नेपालमा नै गरी खाने वातावरण सृजना गर्न, आन्तरिक रोजगारी सृजना गर्न, यहाँको रोजगारीको अवस्था बुझ्न, कस्ता खालको सीपको आवश्यकता पर्छ भन्ने खालको विषयलाई सम्बोधन गर्न यस्तो खालको मेलाले सहयोग गर्नेमा म विश्वस्त छु,’ उनले भने।
त्यस्तै, कमर्सका अध्यक्ष न्यौपानेले नेपाल चेम्बर अफ कसर्मको समन्वयमा ११० जनालाई रोजगारी अवसर प्रदान गरिने बताए। ‘सिद्धार्थ बिजनेस ग्रुपले ६० जना, नेपाल टपले ५० र अग्नि ग्रुपले ५० जना श्रमिकको माग गरेका छन्,’ उनले भने।
यसैगरी मेला अवधिमा अन्य क्षेत्रमा पनि रोजगारीको अवसर प्रदान हुनेछ। श्रम कार्यालय सुर्खेतका कार्यालय प्रमुख श्रीसमशेर रानाले मेलाको तयारी पुरा भएको जानकारी दिए। हालसम्म मेलामा ४० वटा निजी क्षेत्रका स्टलहरु रहने छन्। जसमध्ये ३४ वटा स्टलहरु बुक भइसकेको उनले जनाए। बेलुकासम्ममा अन्य स्टलहरु पनि बुक हुने अपेक्षा उनको छ।
मेला बिहान १० बजे देखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछ। मेलाको रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले उद्घाटन गर्ने उनले जानकारी दिए।
मेलामा मध्यान्ह १२ बजे देखि विभिन्न कार्यशालाहरू सञ्चालन हुनेछन्।








