आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका एक जना पुरुषको उपचारका क्रममा बिहीबार मृत्यु भएको छ।
पेट्रोल खन्याएर शरीरमा आगो लगाउँदा घाइते भएका विराटनगर महानगरपालिका–२ का ३९ वर्षीय पवनकुमार कामतको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार उपचारका क्रममा बिहीबार दिउँसो १ बजेतिर मृत्यु भएको हो।
मंगलबार साँझ पौने ८ बजेतिर कामतले विराटनगर–७ हरियाली टोलमा पेट्रोल खन्याएर आफैँलाई आगो लगाएको बताउँदै, डिएसपी बस्नेतले भने, ‘शरीरमा आगो लाग्दा ७० प्रतिशत जति भाग जलेको थियो। तत्कालै विराटनगरकै कोशी अस्पताल लगेर उपचार थालिएको र उपचारकै क्रममा बिहीबार मृत्यु भयो।’
उनी केही समयदेखि पारिवारिक तनावमा रहेको बताइएको छ। केही दिनअघि पत्नीसँग समेत सम्बन्ध विच्छेद गर्नु परेको पीडाकासाथै पारिवारिक तनावका कारण आफैँलाई आगो लगाएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। उनले आफैँलाई किन आगो लगाए भन्ने खुलिनसकेको र घटनाको थप अनुसन्धान अघि बढाइएको डिएसपी बस्नेतले बताए।








