नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको शैलीलाई कांग्रेसले समर्थन गर्नु गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालामाथिको अपमान भएको बताएका छन्।
बिहीबार संसद् भवन बाहिर कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले काठमाडौं महानगरका प्रमुख साहबाट भइरहेको काम अस्वाभाविक प्रकृतिको भएको बताए।
सामाजिक सञ्जालमा मेयर साहले विभिन्न स्ट्याटसहरू लेखेर नकारात्मक पथमा समाजलाई हिँडाउने काम गरिरहेको उनको भनाइ थियो। देश, लोकतन्त्रका लागि लडेको नेताहरुको बारेमा मेयर साहको टिप्पणी तल्लो स्तरको रहेको उनको बुझाइ छ।
उनले भने ‘जुन तरिकाको शैली महानगरका मेयरबाट भइरहेको छ, त्यो मेयरको हैसियतबाट स्वाभाविक प्रकृतिको प्रस्तुतिहरू होइन। सामाजिक सञ्जाल र मिडियामा जुन प्रकारको टिका टिप्पणी र तल्लो स्तरको अभिव्यक्तिहरू आइरहेको छ। स्ट्याटसहरू लेखेर जसरी उहाँले समाजलाई नै नकारात्मक पथमा हिँडाउने गरी उद्वेलित गर्ने प्रयत्न गर्दै हुनुहुन्छ। त्यो कुरा ठिक होइन।’
उनले कांग्रेस अस्थिरतामा प्रवेश गरेर स्वार्थमा खेल्न खोजिरहेको आरोप लगाए।








