फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेलमा हाल नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीचको खेल जारी छ।
साउदी अरबको दमामस्थित प्रिन्स मोहम्मद विन फहद रंगशालामा भइरहेको खेलको पहिलो हाफ सकिँदासम्म नेपाल २-० ले पछि परेको छ।
युएईका लागि १२ औं मिनेटमा हारेम अब्दुल्ला सुहेलले पहिलो गोल गरे। पहिलो गोलको केही मिनेट भित्रै उनैले पुन: अर्को गोल गर्दै युएईको अग्रता दोब्बर बनाए।
नेपालले गोल गर्नका लागि निकै अवसर पाएको थियो तर अवसरको सही सदुपयोग गर्न नसक्दा पहिलो हाफमा गोल विहीन रह्यो।
यसअघि नेपाल र युएईबिच युएईको घरेलु मैदानमा भएको खेलमा नेपाल ४(० ले पराजित भएको थियो।
फिफा वरीयतामा युएई ६७औं स्थानमा छ भने नेपाल एक सय ७८औं स्थानमा छ।
नेपाली टोलीमा गोलरक्षक कप्तान किरण चेम्जोङ (कप्तान) सहित विशाल सुनार र अभिषेक बराल छन्। त्यस्तै डिफेन्डरमा विमल पाण्डे, अभिषेक लिम्बू, अनन्त तामाङ, विशाल बस्नेत, छिरिङ लामा, सौभाग्य राई र रोहित चन्द छन्।
यसैगरी मिडफिल्डरमा भरत खवास, लाकेन लिम्बू, मणिकुमार लामा, मनीष डाँगी, सुमन श्रेष्ठ, वसन्त जिम्बा र आशिष राई छन्। फरवार्डमा जिलेस्पीजंग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, आयुष घलान र आशिक बाबु चौधरी रहेका छन्।








