२०८३ असार ३१ , बुधबार

किशन पौडेलको पर्या-कविता बुढो बागमतीको आलाप प्रथम



विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम) ले नवौं वातावरण साहित्य गोष्ठी सम्पन्न गरेको छ।

विश्व वातावरण दिवसको अवसर पारेर आयोजना भएको साहित्य गोष्ठीमा प्रमुख अतिथि सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान पूर्व कुलपति, वरिष्ठ साहित्यकार सरुभक्त रहेका थिए। त्यस्तै विशिष्ट अतिथिमा समालोचक एवं साहित्यकार प्राडा गोविन्दराज भट्टराई रहेका थिए।

साहित्यपोस्टले पर्या-अभियन्ता तथा साहित्यकार विजय हितानसँगको सहकार्यमा ‘पर्या-साहित्य’ खण्ड सुरु गरेको छ। यसअन्तर्गत २०८० सालभरिमा साहित्यपोस्टमा प्रकाशित पर्या-उत्कृष्ट ३ को छनोट गरी यसै कार्यक्रममा ती कविहरूको नाम घोषणा गरिएको थियो।

उत्कृष्ट ३ कवितामा प्रथम किशन पौडेलको ‘बुढो बागमतीको आलाप’, द्वितीय समीप वैरागीको ‘नदुखाइदिनु मेरो छाती’ र तृतीय भारती न्यौपानेको ‘धरा’ भएको छ।

खुपेन सुनुवारको ‘आदिम हिमनदीको विद्रोह आधुनिक सभ्यताविरुद्ध’, नारायण भट्टराईको ‘भिजेको सिरानीमाथि हरिया सपना’, प्रज्ज्वल अधिकारीको ‘औरही नदी’, राजु प्रधान हिमांशुको ‘दन्त्यकथा जस्तो लाग्छ मेरो नातिलाई’, रुपा थापाको ‘पृथ्वी बलिरहेछ’, शरद् शोभाको ‘सच्चा राष्ट्र सेवक’, र सुमन भट्टराईको ‘पर्या-क्रान्ति’ उत्कृष्ट १० कवितामा परेका छन्।

वासुदेव अधिकारी, विमला तुम्खेवा र विजय हितान सम्मिलित तीन सदस्यीय निर्णायकको समूहले यो निर्णय गरेको हो।

प्रथम, द्वितीय र तृतीय हुने कविहरूलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार रूपैयाँसहित प्रमाणपत्र प्रदान गरिने छ।

गोष्ठीमा विनेसाम नेपाल प्रमुख तथा सङ्गठन सचिव कल्पना पौडेल जिज्ञासुले स्वागत मन्तव्य राखेकी थिइन्। विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीको सभा अध्यक्षतामा चलेको कार्यक्रमको संयोजन तथा सञ्चालन विनेसाम केन्द्रीय उपाध्यक्ष विजय हितानले गरेका थिए।

प्रकाशित मिति : २०८१ जेठ २५ गते शुक्रबार