पछिल्लो एक वर्षको अवधिमा वाग्मती प्रदेशमा विपद्का विभिन्न घटनामा परी ६१ जनाको मृत्यु भएको छ। गत वर्षको जेठदेखि हालसम्म प्रदेशमा भएका आठ सय ३६ विपद्का घटनामा ६१ जनाको मृत्यु भएको हो।
सो अवधिमा ६१ को मृत्यु, एक सय ७७ जना घाइते हुनुका साथै तीनजना बेपत्ता भएको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अधिकृत रविता कार्कीले जानकारी दिए। उनले सोही अवधिमा भएका घटनामा करिब ५१ करोड रुपैयाँका साथै एक सय ७८ पूर्वाधारमा क्षति भएको बताए।
विपदमा परेर ६ सय ३१ पशु चौपाया मरेको मन्त्रालयले जनाएको छ। ‘प्रदेशमा चार सय ९७ आगलागीका घटना, एक सय २३ स्थानमा वन डढेलो, एक सय ९८ स्थानमा पहिरो गएको छ’, अधिकृत कार्कीले भने, ‘४२ वटा जनावर आतंक र १६ वटा भारी वर्षा भएको तथ्यांक छ।
त्यस्तै बाढी १२, हुरी ११, अन्य गैरप्राकृतिक विपद् तीन, सर्पदंश तीन, हिमपहिरो तीन र एकपटक भूकम्प गएको तथ्यांक मन्त्रालयसँग छ।’
वाग्मती प्रदेश विपद्को दृष्टिकोणले बहुप्रकोपका रुपमा उच्च जोखिममा रहेको कार्कीले बताए । नुवाकोट, सिन्धुपाल्चोक, मकवानपुर, ललितपुर र काभ्रेपलाञ्चोकमा सबैभन्दा बढी पहिरोका घटना भएको उनले जानकारी दिए।
दश वर्षको तथ्यांक हेर्दा सोही अवधिमा ११ हजार आठ सय ५२ जनाको मृत्यु भएको छ। उक्त समयावधिमा भूकम्पमा परेर आठ हजार तीन सय ७०, आगलागीमा चार सय ६९, बाढीमा एक हजार एक सय २८ र पहिरोमा एक हजार आठ सय ८५ जनाको मृत्यु भएको अधिकृत कार्कीले जानकारी दिए।
विपदमा परेर एघार लाख ९९ हजार ६ सय १६ मानिस प्रभावित बनेका छन् भने पाँच लाख चार हजार निजी घर क्षतिग्रस्त भएका तथ्यांकमा उल्लेख छ।
दश वर्षको अवधिमा विपदमा परेर प्रदेशमा सात खर्बको क्षति भएको कार्कीले बताए। उनका अनुसार भूकम्प, आगलागी, बाढी र पहिरोका कारण सात खर्ब ६५ अर्ब ७९ करोड ८८ लाख ४० हजार रुपैयाँबराबरको क्षति भएको छ। –रासस








