श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले मन्त्रालयले आयोजना गरेको श्रमाधान रोजगार मेलाले आन्तरिक रोजगारी प्रवर्द्धनको आधार तयार पार्ने बताएका छन्। शुक्रबार कर्णाली प्रदेश सुर्खेतमा आयोजित रोजगार मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दे मन्त्री अर्यालले मेलाले रोजगारदाता र श्रमिकबीच मध्यस्गथकर्ताको भूमिका खेल्ने बताएका हुन्।
उद्घाटनलाई सम्बोधन गर्दै मन्त्री अर्यालले कर्णाली प्रदेश आफैंमा समृद्धि भएको बताए। अथाहा सम्भावना रहेको कर्णाली प्रदेशको विकासका लागि संघीय सरकारले ढोका मात्रै ढकढकाउने काम गर्ने बताए। ‘कर्णाली विकासको ढोका खोल्ने काम आफैंले गर्ने छ’, उनले भने।
कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री यमलाल कँडेलले श्रमिक र रोजगारदाताबीच सेतुका रुपमा आयोजित श्रमाधान रोजगार मेलाको आयोजन गरेको प्रति मन्त्रालयलाई धन्यवाद दिए। मेलाले सरोकारवालालाई एकै ठाउँमा ल्याएर रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको यो श्रमाधान मेलाको पूर्ण सफलताको पनि कामना गरे।
मुलुकभित्रै प्रचुर सम्भावना हुँदाहुँदै पनि नेपालले बेरोजगारीको सामना गर्नुपरेको उनले बताए। नेपालको युवा शक्तिलाई मुलुकभित्र टिकाइराख्न नेपालको शिक्षा प्रणाली र लगानीमा नीति सुधार ल्याउनुपर्ने बताए। यद्यपि कर्णाली सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा रोजगारी र उद्यमशीलताका लागि धेरै योजना अघि सारेको पनि बताए।
त्यस्तै, कर्णाली प्रदेशका मन्त्री दुर्गाबहादुर राउतले नेपाली नागरिकसँग परम्परागत सीप भए पनि त्यसले मान्यता नपाउँदा नेपाली श्रमिकको सीपको मूल्यांकन नभएको बताए। ‘नेपाली युवासँग डोको, राडी, पाखी बुन्ने सीप छ। यो सीप इन्जियनियरको भन्दा कम छैन। तर, यो सीपले प्रमाणपत्र पाउन सकेको छैन। जसका कारण सीप भएका नेपाली युवाको पहिचान र मूल्यांकन हुन सकेको छैन’, उनले भने।
त्यस्तै, वीरेन्द्रनगर नगरपालिका मेयर मोहनमाया ढकालले वीरेन्द्रनगरका पार्क, बगैंचा र चोकमा थुप्रिएका युवाको भीड, उनीहरुको सामाजिक सञ्जालमा सजिएका फोटा र टिकटले हाम्रा लागि नीति बनाउन भनेर सरकारलाई घचघचाइरहेको बताइन्।
‘यो भीडले हामी मुलुकमा नै रहन चाहन्छौं, हाम्रा लागि नीति बनाउ भन्छ’, उनले भनिन्। तर, कर्णाली आफैंमा सम्पन्न छ। त्यसैले आगामी दिनमा कर्णाली दुर्गम र गरिब छ भन्ने भाष्य परिवर्तन गर्नुपर्ने उनले बताए।
स्थानिय सरकारसँग मिलेर केन्द्रीय सरकारले आयोजना गरेको श्रमाधान रोजगार मेलाले आगामी दिनमा रोजगारी सृजनाको अवसर र आर्थिक समुन्नतिको ढोका खोल्नमा सहयोग पुग्ने विश्वास लिएको उनले बताइन्।
मेलामा सरकारी तथा निजी क्षेत्रको गरी ४० वटा स्टल राखिएका छन्। त्यस्तै विभिन्न विषयक कार्यशाला, सास्कृतिक कार्यक्रम पनि आयोजना गरिने बताएको छ। मेला सुर्खेत वीरेन्द्रनगरको सिटीहलमा भोलिसम्म सञ्चालन हुने छ।








