ताप्लेजुङका दुई फुटबल क्लब ‘बी’ डिभिजनमा घटुवा भएका छन्। ‘ए’ डिभिजनको जिल्ला लिग प्रतियोगितामा लिग चरणको अंक तालिकामा पुछारमा रहेका मानाभरा युथ स्पोर्टिङ क्लब खेजेनिम (फक्ताङलुङ) र माछापोखरी हिटी क्लब चाँगे (आठराई त्रिबेणी) ‘बी’ डिभिजनमा घटुवा भएका हुन्।
आयोजक ताप्लेजुङ जिल्ला फुटबल संघले ‘ए’ डिभिजनको जिल्ला लिगको पुछारमा दुई फुटबल क्लब ‘बी’ डिभिजनमा र ‘बी’ डिभिजनको जिल्ला लिगको शीर्ष स्थानमा रहने दुई फुटबल क्लबलाई ‘ए’ डिभिजनमा बढुवा गर्ने नीति लिएको थियो।
‘बी’ डिभिजनमा घटुवा भएका मानाभरा र माछापोखरी फुटबल क्लबको विगतको ‘ए’ डिभिजनको स्थान अब क्रमशः सिर्जनशील सामाजिक समाज खोक्लिङ र नवप्रयास युवा क्लब हाङ्देवाले लिनेछन्। यिनीहरुको स्थानमा मानाभरा र माछापोखरी क्लब पुगेका छन्।
जिल्ला फुटबल संघका अध्यक्ष अशोक चेम्जोङका अनुसार ताप्लेजुङका रहेका १४ वटा फुटबल क्लबमध्ये ६ वटा फुटबल क्लब ‘ए’ डिभिजनमा र आठवटा फुटबल क्लब ‘बि’ डिभिजनमा रहने छन्। ‘ए’ डिभिजन जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि भने प्रगतिशील युवा क्लब लिङतेप (मेरिङदेन गाउँपालिका) ले प्राप्त गरेको छ।
फाइनलमा लालीमा युवा क्लब ढुङ्गेसाँघु (मैवाखोला) लाई ३–१ गोल अन्तरले पराजित गर्दै प्रगतिशीलले उपाधि रक्षा ग¥यो। उपाधि हात पारेसँगै प्रगतिशील युवा क्लबले नगद ५० हजार प्राप्त गर्दा उपविजेता भएको लालीमा युवा क्लबले नगद २५ हजार रुपैयाँ हात पारेको छ।








