जुम्लाका एक सय ३६ कृषकले भेडा तथा थुमा पाएका छन्। पशु अस्पताल तथा पशु सेवा कार्यालयले भेडा पालक कृषकलाई धमाधम भेडा र थुमा वितरण गरेपछि कृषकहरुले भेडा पाएका हुन्।
जुम्लाका पाँचवटा स्थानीय तहमा चार सय ४० भेडा र थुमा वितरणमा गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाकाले बताए।
जनप्रतिनिधिको सहभागितामा गाउँगाउँमा पुगेर भेडा तथा थुमा वितरण भइरहेको बुढथापाको भनाइ छ । उनले भने, ‘चार सय २९ भेडा र ११ वटा थुमा कृषकलाई दिइएको छ।’
जुम्लाका हिमा, सिंजा र गुठिचौर गाउँपालिकामा थुम तथा भेडा वितरण हुन बाँकी छ भने चन्दननाथ नगरपालिका, पातारासी, तातोपानी, तिला र कनकासुन्दरी गाउँपालिकाका कृषकलाई वितरण गरिसकिएको छ।
चन्दननाथ नगरपालिका– ८ रोकायाबाडा गाउँमा ६९ भेडा र २ थुमा, पातारासी गाउँपालिका २ तल्फीमा एक सय २ भेडा र ३ थुमा, तातोपानी ८ पारीवाडामा ६९ भेडा र २ थुमा, तिला ७ तुई गाउँमा ८८ भेडा र २ साढे र कनकासुन्दरी गाउँपालिका ८ रानिसिन, रोकायाबाडा र देयारपाटा गाउँमा ९० भेडा र थुम वितरण गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका पशु सेवा प्राविधिक तथा योजना शाखा प्रमुख धनबहादुर बानियाँले बताए।
कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको साझेदारी आधारित एक पालिका एक पशु उत्पादन पकेट विशेष क्षेत्र कार्यक्रमअन्तर्गत वितरण भइरहेको छ। बानियाँले भने, ‘चालु आर्थिक वर्ष २०८०-८१ को ५६ लाख बजेट कार्यक्रम हो। एक गाउँपालिकामा ७ लाख पर्न जान्छ।
जुम्लाका एक नगरपालिका र ७ गाउँपालिका छन्, जसमा ३० प्रतिशत स्वयं कृषकले र २० प्रतिशत सम्बन्धित गाउँपालिका र ५० प्रतिशत पशु सेवा कार्यालयले व्यहोर्नुपर्ने छ। भेडा पालक कृषकको हौसला बढाई मासु आपूर्ति गर्ने, व्यवसायमा जागरुक गराई कृषकको जीवनस्तर उकास्ने कार्यक्रमको ध्येय छ।
केही वर्षयता र प्रदेश सरकारले गोठालो भत्ता पनि उपलब्ध गराउँदै आएको छ। पशु अस्पताल तथा पशु सेवा कार्यालयको तथ्यांक हेर्दा जुम्लामा अहिले ८४ हजार तीन सय ८८ भेडा छन् भने बाख्रा ४६ हजार तीन सय छन्।
यस्तै जिल्लामा ६९ हजार हेक्टर चरन क्षेत्र छ। कार्यालयबाट भेडापालक किसानलाई विभिन्न किसिमका सीपमूलक तथा प्राविधिक तालिम दिँदै आएको कार्यालयले जनाएको छ।
पछिल्लो समयमा जुम्लाका स्थानीय भेडापालनमा आकर्षित हुन थालेका छन्। बजारमा भेडाको माग बढ्न थालेपछि स्थानीय भेडापालनमा आकर्षित भएका छन्।








