२०८३ असार ३१ , बुधबार

‘पूर्णबहादुरको सारङ्गी’ छायांकन सुरु



चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ को छायांकन सुरु गरिएको छ।

सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको फिल्मको ओखलढुंगा जिल्लाको रुम्जाटारबाट सुरु गरिएको हो। फिल्मको ओपनिङ दृश्य गायक तथा कलाकार प्रकाश सपूत र बाल कलाकार जान्भि पौडेलले दिएका थिए।

कलाकारहरूको लाइन अप बलियो रहेको ‘पूर्णबहादुरको सारङ्गी’ मा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीको मुख्य भूमिका रहेको छ।

यस्तै, फिल्ममा विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ र देशभक्त खनाललगायतका कलाकारको पनि अभिनय रहने छ। यस्तै बाल कलाकारमा जान्भि पौडेल र स्वायम् केसीको अभिनय रहने छ।

फिल्मको लेखन तथा निर्देशन सरोज पौडेलले गरेका हुन्। सोसल–ड्रामा जनरामा बन्ने फिल्म गन्धर्व परिवारको कथामा आधारित रहने छ।

फिल्म अन्तर्राष्ट्रिय रुपमा फिल्म वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको हो।

फिल्ममा कलाकारहरुको भूमिकाका बारेमा अहिलेसम्म खुलाइएको छैन। अनुबन्धित भएका सबै कलाकारलाई शीर्ष भूमिकामा देख्न सकिने निर्माता विनोद पौडेलले बताएका छन्।

फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद रहेको छ भने प्रशान्त शिवाकोटीको संगीत र हेमन्त कान्छा रसाइलीको सारङ्गी रहने छ।

विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहेको फिल्मका कार्यकारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ हुन्।

निर्माण समूहले फिल्मलाई २०८२ सालभित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य राखेको छ।

प्रकाशित मिति : २०८१ जेठ २६ गते शनिबार