२०८३ असार ३१ , बुधबार

इटहरीमा सहकारीका थप दुई सञ्चालक फरार



इटहरीमा एकपछि अर्को सहकारी संस्थाले बचतकर्ताको रकम अपचलन गर्ने क्रम बढीरहेका बेला थप दुईवटा सहकारी संस्थाका सञ्चालक फरार भएका छन्। कलश र हलेसी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक बचतकर्ताको रकम अपचलन गरी फरार भएका हुन्।

टाठा बाठाको ‘सिण्डिकेट’ र गलत क्षेत्रमा लगानीका कारणले एकपछि अर्को सहकारीमा सदस्यहरूको बचत असुरक्षित बन्दै गएको छ। यसै क्रममा, कलश बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकले १५ लाखभन्दा बढी रकम अपचलन गरेर फरार भएको खबर प्राप्त भएको छ।

बचतकर्ताले इटहरी उपमहानगरपालिकामा उजुरी दिएको आधारमा १० लाख र अन्य निवेदकमध्ये रकम नखुलाई दिएको आधारमा १५ लाखभन्दा बढी नै अपचलन भएको सहकारी शाखा प्रमुख बालकुमार पोखरेलले बताए। उनका अनुसार कलश सहकारीका अध्यक्ष मीनबहादुर तामाङबाहेक अरु कोही पत्ता लागेको छैन।

त्यसैगरी, इटहरी वडा नं. ६ मा रहेको हलेसी बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको ६४ लाख रुपैयाँ तिर्न बाँकी रहेको अडिटमा उल्लेख गरिएको छ। अडिटमा ९ लाख रुपैयाँ ऋण लगानी भएको उल्लेख छ।

हलेसी बचतविरुद्ध १५० भन्दा बढीले इटहरी उपमहानगरपालिकामा उजुरी दिएका छन्। हलेसीका अध्यक्ष मनिता श्रेष्ठ रहेकी छन्, र अहिले हलेसीको कार्यालय नै बन्द गरेर सम्पूर्ण समितिका सदस्य फरार भएको जानकारी प्राप्त भएको छ।

कलश र हलेसी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकलाई कारबाही गर्न इटहरी उपमहानगरपालिकाले प्रहरीलाई पत्राचार गरिसकेको छ। दुवै सहकारीका सञ्चालकको खोजी कार्य भइरहेको डिएसपी टेकबहादुर कार्कीले बताएका छन्। ‘कारबाहीको प्रक्रिया सुरु भइसकेको छ, सञ्चालकको खोजी भइरहेको छ,’ उनले भने।

हालसालै, इटहरी वडा नं. ९ मा सञ्चालित खनार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुदिप तामाङसहित चार जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ। मुद्दाको अनुसन्धान पूरा भई अदालतमा पेस गर्ने तयारी भइरहेको छ। यस सहकारी संस्थामा सयभन्दा बढी बचतकर्ताको १ करोड ७९ लाख रुपैयाँ रकम डुबेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

केही समयअघि बचतकर्ताले बचत गरेको ६१ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ परेका अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष फडिन्द्र मगर पुर्पक्षका लागि जेल चलान भएका छन्। मगरसहित पाँच जनाविरुद्ध मुद्दा चले पनि अन्य केही समय पुर्पक्ष बसेर छुटेका छन्।

प्रदेश सहकारी रजिष्टार कार्यालय इनरुवाका अनुसार अम्बे कोशी सहकारी संस्थाले अघिल्लो आर्थिक वर्ष ८० करोड रुपैयाँ हिनामिना गरेको खुलेको छ।

यसैगरी, कामक्ष्यदेवी सहकारी संस्थाले ठूलो संख्यामा रहेका बचतकर्ताको निक्षेप नदिएर त्यसका अध्यक्ष अनिल गौतम यतिबेला पुर्पक्षका लागि कारागार चलान भएका छन्।

कामक्ष्यदेवीले ५ करोड ४५ लाख ५५ हजार १८३ रुपैयाँ निक्षेप फिर्ता गर्न नसकेको उल्लेख छ। इटहरी क्षेत्रमा एक सय ७० हाराहारी सहकारी संस्था रहेका छन्।

प्रकाशित मिति : २०८१ जेठ २६ गते शनिबार