गलकोट नगरपालिका–७ मल्म आरानटोलकी ७८ वर्षीया काली सुनारको परिवार वर्षौंदेखि चुहिने छानो भएको एक कोठे घरमा बस्दै आएको थियो। एउटै कोठामा छजना नातिनातिना र एक अपाङ्ग बुहारीसहित आठ जना बस्दै आएका उनले आफ्नै जीवनकालमा नयाँ घरमा बस्न पाउँछु भनेर कल्पना समेत गरेका थिएनन्। सुनारकी दुई छोरा सम्पर्कविहीन छन् भने एक छोरा जेलमा छन्। समुदायसँग हात थापेर जीविका चलाउँदै आएकी सुनारको परिवारले नयाँ घर पाएका छन्।
गाउँकै ज्ञानबहादुर थापाको पहलमा उनको परिवारलाई नयाँ घर निर्माण गरिएको हो। ‘वृद्धावस्थामा नयाँ घर मिलेको छ, नातिनातिनालाई ओत लगाउन पाएँ, तीन छोरा भए पनि सुखको अनुभूति गर्न पाएको थिइनँ। १२ वर्षअघि भारत गएको जेठो र माइलो छोरा फर्केर आएनन्, कान्छो जेलभित्र छ,’ सुनारले भनिन्, ‘अब बल्ल बासको पीर हट्यो।’
थापाले एउटै कोठामा आठ जनाको परिवार कोचिएर बसेको तस्बिर सामाजिक सञ्जालमा राखेर सहयोगको अपिल गरेका थिए।
‘बेलाबेलामा खाद्यान्न, जस्तापाता सहयोग गरिएको थियो, तर सुरक्षित आवास नहुँदा समस्या थियो, एक दिन बिहानै काली सुनारको घरमा पुग्दा अगेना छेउमै आठ जना कोचिएर सुतेको देखेपछि सामाजिक सञ्जालमा तस्बिर राखें,’ थापाले भने, ‘धेरैले घर बनाइदिनूस् हामी सहयोग गर्छौं भन्ने आश्वासन दिए। स्थानीय युवाहरूको साथसहयोगमा नयाँ घर निर्माण गर्न सफल भयौं।’
घर बनाउन सुरुमा प्रगति आधारभूत विद्यालयले अभिभावक भेलामा २५ हजार पाँच सय सङ्कलन गरेको थियो। त्यही पैसाले घर बनाउने काम थालेको उनको भनाइ छ। अहिले अधिकतम पाँच हजारदेखि दुई हजारसम्म सहयोगको प्रतिबद्धता धेरैले जनाएको थापाले बताए।
चार कोठाको घर निर्माण सम्पन्न भइसकेको थापाले बताए। उनका अनुसार गलकोट नगरपालिकाको विपद् व्यवस्थापन शाखाले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
सुनारले वृद्धभत्ताको रकम नातिनातिनीको पढाइमा खर्च गर्दै आएकी सुनारको परिवारलाई गाँस, बास, कपास र शिक्षाको व्यवस्था मिलाउने गरी सहयोग सङ्कलन अभियान जारी रहेको थापाको भनाइ छ।
-रासस








