२०८३ असार ३१ , बुधबार

इन्डोनेसियन सरकारद्वारा नेपाली नागरिक डा. बम पुरस्कृत



इन्डोनेसियन सरकारले लामो समय सुर्तीजन्य पदार्थ नियन्त्रणमा योगदान दिएको भन्दै नेपाली नागरिक डा. तारासिँह बमलाई पुरस्कृत गरेको छ। इन्डोनेसियाको स्वास्थ्य मन्त्रालयले डा.बमलाई पुरस्कृत गरेको हो।

भव्य समारोहकाबीच इन्डोनेसियाका स्वास्थ्यमन्त्री बुदी गुनादी सादिकिनले बमलाई पुरस्कृत गरे। विगत १७ वर्षमा इन्डोनेसियामा सुर्ती नियन्त्रण र जनस्वास्थ्यलाई अगाडि बढाउन डा.बमले खेलेको भूमिकाको कदर गर्न पुरस्कृत गरेको जनाइएको छ।

जनस्वास्थ्य नीतिमा सुर्तीजन्य उद्योगको हस्तक्षेपका बाबजुत इन्डोनेसियासहित एसिया–प्रशान्त क्षेत्रमा सुर्तीजन्य पदार्थ नियन्त्रणमा कठिन परिश्रमसहित योगदान दिएको भन्दै इन्डोनेसियन सरकारले डा. बमलाई पुरस्कृत गरेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

इन्डोनेसिया सुर्तीजन्य पदार्थका निकै ठुलो प्रयोगकर्ता भएको मुलुक हो। यहाँका ३० लाखभन्दा बढी बालबालिका मात्रै सुर्तीजन्य पदार्थका प्रयोगकर्ता रहेको मानिन्छ। इन्डोनेसियामा हरेक वर्ष करिब तीन लाख व्यक्ति सुर्तीजन्य पदार्थको प्रयोगबाट मर्छन्। इन्डोनेसियाले वर्षमा सुर्तीजन्य पदार्थको प्रयोगकै कारण लगभग १५ बिलियन अमेरिकी डलर नोक्सानी व्यहोर्छ।

यस्तो अवस्थामा युवालाई जीवन चुनेर सुर्तीजन्य पदार्थ चयन नगर्नमा प्रेरित गरेको भन्दै त्यहाँको सरकारले डा। बमलाई पुरस्कृत गरेको जनाएको छ।

यद्यपि इन्डोनेसिया विश्वव्यापी सुर्ती सन्धि ‘(एफसिटिसी) फ्रेमवर्क कन्भेन्सन’ लाई अनुमोदन गर्ने देशहरूमा पर्दैन्।

पुरस्कृत भएका बम डोटी जिल्लाको बोगटान गाउँपालिका–७ का स्थायी बासिन्दा हुन्। उनी अहिले ‘एसिया–प्यासिफिक सिटीज एलायन्स फर हेल्थ एन्ड डेभलपमेन्ट’ (एपिसिएटी) को बोर्ड निर्देशक र टोबाको कन्ट्राल एट भाइलट स्टे«टेजिजमा एसिया–प्रशान्त क्षेत्रीय निर्देशक छन्। उनले यसअघि क्षयरोग र फोक्सोको रोग विरुद्ध अन्तर्राष्ट्रिय युनियन (द युनियन) को एसिया–प्रशान्त निर्देशकका रूपमा काम गरेका थिए।

प्रकाशित मिति : २०८१ जेठ २७ गते आइतबार