२०८३ असार ३१ , बुधबार

नेतृत्वमा नैतिकता कमजोर हुँदा लोकतन्त्र संकटमा: प्रथम राष्ट्रपति यादव



प्रथम राष्ट्रपति डा.रामवरण यादवले राजनीतिक दल र तिनका नेताहरूमा नैतिकता कमजोर हुँदा लोकतान्त्रिक शासन व्यवस्था नै संकटमा पर्ने गरेको बताएका छन्।

नेपाली कांग्रेसकी नेत्री शैलजा आचार्यको १५ औँ स्मृति दिवसका सोमबार राजधानीमा आयोजना गरिएको कार्यक्रममा बोल्दै नेपालसहित विश्वमै राजनीतिमा नैतिकता कमजोर हुँदै गएको दाबी गरेका हुन्।

विपी कोइराला, शैलजा आचार्य जस्ता नैतिकवान र दृढ नेताहरूको अभाव मुलुकमा खड्किएको बताउँदै यादवले राजनीतिक नेतृत्वमा इमानदारिता, नैतिकताका साथै आर्थिक रुपले पारदर्शी हुनुपर्ने बताएका हुन्। त्यस्तो नेतृत्वले मात्र अरुलाई प्रश्न गर्न सक्ने नैतिक बल हुने जनाउँदै उनले भने,‘राजनीतिक मान्छे इमानदार र नैतिकवान नभएसम्म अरुलाई हर्कान र प्रश्न गर्न सक्दैन। प्रश्न गर्न नसक्ने नेतृत्वले लोकतन्त्रको रक्षा गर्न सक्दैन।’

लोकतान्त्रिक शासन व्यवस्थाको जग बलियो बनाउने जिम्मेवारी राजनीतिक दल र नेतृत्वको भएको धारणा राख्दै यादवले थपे,‘यसका निम्ति नेपाली कांग्रेस बढी जिम्मेवार हुनुपर्ने पर्छ।’ गिरिजाप्रसाद कोइराला नेतृत्वमा रहेको कांग्रेसले नै मुलुकमा शान्ति स्थापना गरेको स्मरण गर्दै उनले पछिल्लो परिवर्तनलाई संस्थागत गर्ने जिम्मेवारी पनि कांग्रेसमा धेरै रहेको बताए।

कार्यक्रममा पूर्व सभामुख दमननाथ ढुङ्गानाले २०६२/०६३को परिवर्तनलाई जनताले स्वामित्व लिन नसकेको भन्दै कांग्रेसले गुटभन्दा माथि उठेर लोकतन्त्रको रक्षाका लागि अघि बढ्नुपर्ने तर्क गरे। प्रजातन्त्रको विकल्प अझ सुदृढ प्रजातन्त्र भए जस्तै प्रजातान्त्रिक पार्टीको विकल्प कम्युनिस्ट पार्टी हुन नसक्ने उनले दाबी गरे।

कम्युनिस्ट पार्टीहरूले लोकतन्त्रलाई कमजोर मात्र बनाउने तर्क गर्दै उनले भने, ‘प्रजातान्त्रिक पार्टीको विकल्प प्रजातान्त्रिक दल नै हुनुपर्छ। कांग्रेसले त्यसको नेतृत्व गर्नुपर्छ।’

मुलुकमा राजनीतिक अस्थिरता रहेको जनाउँदै कांग्रेस नेता शेखर कोइरालाले पार्टीले अब सरकारको स्थिरताका कसरी कायम गर्ने भन्नेमा ध्यान दिनु पर्नेमा जोड दिए। ‘सरकारको स्थायित्व छैन, भ्रष्टाचारले गाँजेको छ,’ उनले भने, ‘आर्थिक विकास हुने अवस्था छैन। यस्तो अवस्थाबाट मुलुकलाई निकास दिन कांग्रेसले नेतृत्व लिनुपर्छ।’

कृष्णप्रसाद कोइराला सेवा गुठी तथा शैलजा आचार्य स्मृति पोलिटेक्निकल परिवारले आयोजना गरेको कार्यक्रममा पूर्व सभामुख तारानाथ रानाभाट, कांग्रेस नेता ओमकार श्रेष्ठसहितले शैलजा आचार्यको दृढता, इमानदारिता, नैतिकताका साथै संघर्षशिलपनाको चर्चा गरेका थिए।

प्रकाशित मिति : २०८१ जेठ २८ गते सोमबार