प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय समकक्षी नरेन्द्र दामोदर मोदीसँगको भेटमा विगतमा भएका सहमति तथा सम्झौताको कार्यान्वयनमा छलफल भएको बताएका छन्।
सोमबार भारत भ्रमण सकेर स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
सबै द्विपक्षीय संयन्त्रहरूको बैठक सुचारु गर्ने, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कार्यान्वयन, अरुण जलविद्युत आयोजना एवं कृषि क्षेत्रमा सहकार्य जस्ता विषयमा गहन कुराकानी कुराकानी भएको उनले सुनाए।
भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्ता दिएको र उपयुक्त समयमा भ्रमण गर्ने बताएको उनले जानकारी दिए।
प्रधानमन्त्री दाहालले डा. एस. जयशंकरसँगको भेटमा नेपाल र भारतबीच व्यापार विस्तार लगायत नेपालका प्राथमिकता प्राप्त क्षेत्रमा भारतीय लगानी बढाउने बारेमा सकारात्मक कुराकानी भएको उल्लेख गरे।
उनले भने ‘नरेन्द्र मोदीसँगको भेटघाटमा अन्य कुराका अलावा नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउने तथा दुई मुलुकबीच विगतमा भएका सहमति तथा सम्झौताको कार्यान्वयन लगायतका विषयमा गहन कुराकानी भयो। मैले मोदीजीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको छु।’ उनले भने।
प्रधानमन्त्री दाहालले भ्रमणले नेपाल र भारतबीच आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको जिकिर गरे।








