महोत्तरीको गौशाला नगरपालिका-११ निवासी ३५ वर्षीय विनय कुमार महतो (मुरारी) माथि गोली प्रहार भएको छ।
घटना गौशाला नगरपालिका-५ मरहा खोलामा साँझ ६ बजे भएकाे महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जयसवालले जानकारी दिए।
प्रहरीका अनुसार लुटपाटको उद्देश्यले महतोमाथि गोली प्रहार भएको हो। गौशाला बजार जाँदै गर्दा मोटरसाइकलमा आएका दुई जनाको अज्ञात समूहले उनलाई लक्षित गरी गोली प्रहार गरेको थियो।
लुटेरा समूहले महतोले लगाएको सुनको सिक्री र ब्रास्लेट लुटेर फरार भएका छन्। डीएसपी जयसवालले महतोको कम्मरमा गोली लागेर घाइते भएका कारण उनलाई उपचारको लागि जनकपुर पठाइएको जानकारी दिए।
घटनास्थलमा दुईवटा गोली फेला परेको छ र महतोमाथि गोली प्रहार गर्नेहरूको खोजी कार्य तीव्र पारिएको महोत्तरी प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८१ जेठ २८ गते सोमबार








