Blog

  • सोरु गाउँपालिका भ्रष्टाचारमा ११ जनाविरुद्ध अख्तियारको मुद्दा दायर

    सोरु गाउँपालिका भ्रष्टाचारमा ११ जनाविरुद्ध अख्तियारको मुद्दा दायर

     मुगु जिल्लाको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ११ जना बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिषेश अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

    तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र मल्ल, इन्जिनियर प्रकाश आचार्य र असिस्टेन्ट सव–इन्जिनियर मनोज धामी, लेखापाल जेठबहादुर बुढा र योजना शाखा प्रमुख नविन बुमी, सडक निर्माण योजनाको श्रम कार्यदल (उपभोक्ता समिति) अध्यक्ष विष्णु दत्त जैसी, कोषाध्यक्ष नन्ददेवी जैसी, सचिव पौमल सार्की, सडक निर्माण अनुगमन समिति संयोजक दलविर सार्की, समिति सदस्य धर्मराज जैसी र वडा नं. १० का तत्कालीन कार्यवाहक वडाध्यक्ष विरेन्द्रबहादुर मल्ल बिरुद्ध आयोगले बिषेश अदालतमा भ्रष्टाचारको मुद्धा दायर गरेको हो । आ.व. २०७७/०७८ मा सोरु गाउँपालिका वडा नं. १० स्थित शहीदगेटदेखि कोटसम्म सडक निर्माण योजनामा वास्तविक कामभन्दा बढी मूल्याङ्कमन गरी रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा, मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सडक निर्माण योजनाको कुल लागत अनुमान ४३ लाख ९५ हजार दुई रुपैयाँको तयार गरी उक्त निर्माण योजनामा उपभोक्ता समिति गठन पूर्व नै योजना सम्झौता गरी कार्यादेश दिएको, स्वीकृत लागत अनुमान बमोजिम कार्य नभएको, स्थलगत गई यथार्थपरक नापजाँच गर्नुपर्नेमा सो नगरी कम काम भएको लाई बढी काम गरेको भनी प्राविधिक मूल्याङ्करन सहितको कार्य सम्पन्न प्रतिवेदन तयार गरेको गरे आरोपमा बिषेश अदालतमा मुद्धा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताएका छन् ।

    सडक निर्माण संरचनाहरु नापी किताबमा ६६२३.८ घनमिटर उल्लेख भएकोमा स्थलगत रुपमा नापजाँच गरी पेश भएको प्राविधिक प्रतिवेदनमा ३११३.०३ घनमिटर मात्र सम्पन्न गरेको देखिएकोले प्रतिवादीहरुले ३५१०.७५ घनमिटर बढी काम गरेको भनी नापी किताब र कार्य सम्पन्न प्रतिवेदनमा उल्लेख गरे गराएको, योजना अनुगमन तथा मूल्याङ्कन समितिले अनुगमनका बखत भर्नुपर्ने प्रतिवेदनमा योजनासँग सम्बन्धित सम्पूर्ण विवरण नै नभरी प्रतिवेदन दिई भुक्तानीको लागि सिफारिस गरेको र सोही बमोजिम भुक्तानीको टिप्पणी आदेश स्वीकृत गरी उपभोक्ता समितिलाई वास्तविक भए गरेको कार्यभन्दा २३ लाख २२ हजार आठ सय ३२।१६ बढी भुक्तानी दिएको आयोगले जनाएको छ ।

  • स्वरोजगारका लागि आईटी तालिम सुरु

    स्वरोजगारका लागि आईटी तालिम सुरु

    पछिल्लो समय सबैभन्दा फड्को मारेको विषय नै सूचना प्रविधि हो । युवा पुस्ता कम्प्युटर, इन्टरनेट, स्मार्टफोन लिएर हिँड्छन् । अहिलेको पुस्ता इन्टरनेटको प्रयोग गरेर नयाँ–नयाँ कुरा सिक्न खोज्छ । त्यसैले पनि यसमा अहिले युवा पुस्ताको रुचि ह्वात्तै बढेको छ ।

    पछिल्लो समय मानिसले देशविदेशका घटना तथा समाचारलगायत सोसल मिडिया तथा मोबाइलको प्रयोगबाट घरमै बसेर थाहा पाउँछन् । विद्यार्थीलाई परम्परागत किताब ज्ञान मात्र अब पर्याप्त हुँदैन् । विभिन्न जिल्लाबाट कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा भविष्यको खोजी गर्दै सुचना प्रविधि (आईटी) अध्ययन गर्नेको संख्या बढ्दो छ । प्रविधितर्फ रुची राख्ने विद्यार्थीहरुको संख्या बढ्दै जाँदा राजधानीको नगरपालिका वीरेन्द्रनगरले दक्ष जनशक्ति तयार गरेर स्वरोजगार बनाउन सुचना प्रविधि (आईटी) सम्बन्धी प्रशिक्षण दिन थालेको छ ।

    पछिल्लो समय मानिसले देशविदेशका घटना तथा समाचारलगायत सोसल मिडिया तथा मोबाइलको प्रयोगबाट घरमै बसेर थाहा पाउँछन् । विद्यार्थीलाई परम्परागत किताब ज्ञान मात्र अब पर्याप्त हुँदैन् । प्रशिक्षणमा विभिन्न जिल्लाका ४० युवायुवती सहभागी छन् । उनीहरुलाई प्रशिक्षण अवधिभर वेब सफ्टवेयर र क्लाउड कम्प्युटिङ ज्ञान प्रदान गरिनेछ । सहभागीमध्य पाँच जनालाई पूर्ण छात्रवृद्धिमा समावेश गरेर स्वरोजगार बनाइने नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालले जानकारी दिइन् ।

    नगरपालिकाले प्रदान गर्ने सेवाहरु प्रविधिमैत्री बनाउन सुचना प्रविधि (आईटी) मा लगाव भएका युवापुस्तालाई स्वरोजगार बनाउन प्रशिक्षण आयोजना गरिएको उनले बताइन् । नगरपालिकाको रोजगार तथा सूचना प्रविधिले छनौट गरेका सहभागीहरुलाई व्यवहारिक शिक्षासँगै प्राविधिक वा शिल्पगत सीप प्रशिक्षणमा सिकाइनेछ । सहभागीहरुलाई जेनिस सोलुशन प्रा।लि। ललितपुरका निर्मल बस्ताकोटी, देश दिपक धोवी र आशिष सुवेदीले प्रशिक्षण दिइरहेका छन् ।

  • राजसंस्थाबारे देउवाले नबोलेको र नसोचेको कुरा प्रचारमा ल्याएको भन्दै कांग्रेसको आपत्ति

    राजसंस्थाबारे देउवाले नबोलेको र नसोचेको कुरा प्रचारमा ल्याएको भन्दै कांग्रेसको आपत्ति

  • नेप्सेमा दोहोरो अंकको सुधार,कारोबार रकम भने घट्यो

    नेप्सेमा दोहोरो अंकको सुधार,कारोबार रकम भने घट्यो

    काठमाडाैं  । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचकमा उल्लेख्य सुधार देखिएको छ। नेप्से १९.४० अंकले उक्लिएर २,६८८.९१ विन्दुमा पुगेको हो। त्यस्तै सेन्सेटिभ इन्डेक्स पनि १.५९ प्रतिशतले वृद्धि भएको छ।

    आज ३१४ कम्पनीका कूल २ करोड २३ लाख ९६ हजार कित्ता सेयर किनबेच हुँदा कूल कारोबार रकम ९ अर्ब ८२ करोड २० लाख रुपैयाँ नाघेको छ। यसअघिको दिन नेप्से झण्डै ८ अंकले घटे पनि कारोबार रकम १० अर्बको हाराहारीमा रहेको थियो।

    समूहगत सूचक हेर्दा बैंकिङ्ग समूह सबैभन्दा धेरै ३.९४ प्रतिशतले उक्लिएको छ भने लघुवित्त समूह २.६१ प्रतिशतले बढेको छ। म्युचुअल फण्ड र निर्जीवन बिमा समूहमा पनि सामान्य सुधार देखिएको छ। तर होटल तथा पर्यटन समूह २.७८ प्रतिशत र जलविद्युत् समूह १.१० प्रतिशतले घटेका छन्। बाँकी समूहमा भने एक प्रतिशतभन्दा कमको गिरावट आएको छ।

    कम्पनीगत तवरमा हेर्दा ओम मेगाश्री फर्मास्युटिकल्सको सेयरमा आज सकारात्मक सर्किट लागेको छ भने एनआइसी एसिया र फर्वाड माइक्रोफाइनान्सका लगानीकर्ताले ७ प्रतिशतभन्दा बढी मुनाफा कमाएका छन्। विपरीत बाराही हाइड्रोपावर र एमबिएल इक्विटी फण्डका लगानीकर्ताले ९ प्रतिशतभन्दा बढी घाटा बेहोरेका छन्।
  • यार्चा संकलनमा जुट्दै जुम्लाका स्थानीय

    यार्चा संकलनमा जुट्दै जुम्लाका स्थानीय

     जेठ लागेसँगै स्थानीय यार्चा टिप्न पाटनतिर लाग्न थालेका छन् । जुम्लाको पातारासी गाउँपालिका, गुठीचौर गाउँपालिकासहित विभिन्न पालिकाका नागरिक पाटनतिर लाग्न थालेका छन् ।

    पातारासी गाउँपालिका–१, गडीगाउँका जङ्गबहादुर ऐडी अहिले बहुमूल्य जडीबुटी यार्चा टिप्न पाटनतिर लागेको बताए । ऐडीले हप्ताअघि नै घर छाडेको र स्वरोजगारका कुनै अवसर नभएपछि बाध्य भएर पाटनमा यार्चा टिप्न लागेको बताए । राम्रोसँग यार्चा सङ्कलन भए वर्ष दिनको खर्च जुटाउन खासै कठिनाइ नहुने बताउँदै पातारासी गाउँपालिकाभित्रका हजारौँ युवा पाटनमा गएर यार्चा सङ्कलन गर्दे आएका छन् । ऐडीसँगै अहिले सयौँ युवा यार्चा टिप्न पाटनतिर लागेका हुन् ।

    पातारासी गाउँपालिकाको आयआर्जनको मुख्य स्रोत भनेकै यार्चा बनेको छ । पातारासी गाउँपालिका–१ का वडाध्यक्ष लालसिंह ऐडीका अनुसार स्थानीयवासीको मुख्य जीविकोपाजर्नको स्रोत नै जडीबुटी भएकाले पाटनतिर गइरहेको जानकारी दिए । उनका अनुसार १ देखि ७ वडाका युवा अहिले गाउँमा भेटिँदैनन् । घरको उत्पादनले बाह्रै महिना खाना पुग्दैन । घरखर्चदेखि बालबच्चालाई स्कुल पढाउन, लुगाफाटो किन्नसमेत यार्चा सङ्कलन गर्न जानुको विकल्प नरहेको उनले बताए । उनले भने, मकै, आलु, कोदो, चिन्नु गोडमेल र घरायसी सबै काम महिलाको जिम्मा लगाएर प्रायः युवा पाटन जान्छन् । गाउँका विकासे काम पनि यस सिजनमा महिलाले गर्ने गरेका छन् । जेठ लागेदेखि पातारासी क्षेत्रका युवा र वृद्धवृद्धासम्म झन्डै दुई महिनाका लागि ओढ्ने ओछ्याउने, दालचामल, नुनतेल बोकेर बालबच्चासहित पाटन उक्लिरहेको लर्को देख्न सकिन्छ ।

    स्थानीयका अनुसार माथिल्लो तहका विद्यार्थी पनि पाटन पुगिसकेका छन् । यार्चा टिप्न विद्यार्थी पनि जाने भएकाले विद्यालयमा विद्यार्थी पनि यस सिजनामा घट्ने गर्छन् । मानिस पाटनमा गएपछि गाउँमा बिरामीको रेखदेख गर्ने मान्छे भेट्न पनि मुस्किल पर्ने गरेको छ । मर्दापर्दा मलामी जाने मान्छेको पनि अभाव देखिएको बुढापाका बताउँछन् । पातारासी गाउँपालिका–३, शोभा बोहोराका अनुसार यार्चा टिप्न जानु कसैका लागि रहर त कसैलाई बाध्यता बनेको छ । यार्चा पातारासीको प्रमुख आम्दानीको स्रोत हो । उनले भने, गरिबको रोजीरोटीकै लागि पाटन गन्तव्य बन्छ । गाउँमा रोजगारीको अवसर छैन, ज्यानकै जोखिम मोलेर भए पनि नातेदारसँग लेकतिर लाग्ने गरेको उनीहरू बताउँछन् ।

  • अर्गानिक भन्दा कर्णालीका विषादीको प्रयोग

    अर्गानिक भन्दा कर्णालीका विषादीको प्रयोग

     कर्णालीलाई प्रदेश सरकारले अर्गानिक प्रदेश घोषणा गरेको छ तर यहाँका तरकारीमा छ्यापछ्याप्ती विषादी देख्न थालिएको छ ।

    मङ्गलबार मात्र दाङबाट ल्याइएको बोडीमा विषादी भेटिएपछि नष्ट गरिएको छ । ६४.६२ प्रतिशत अर्गानोफस्फेट नामक विषादी देखिएको हो । यस्तै गत वैशाख ८ गते सल्यानबाट ल्याइएको नौ क्विन्टल काउली नष्ट गरिएको थियो । परीक्षण गर्दा काउलीमा ९९ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको थियो । वैशाख २४ गते सुर्खेतकै झुप्राबाट ल्याइएको काँक्रा पनि नष्ट गरिएको थियो । काँक्रामा ५३ प्रतिशत विषादी भेटिएको थियो । सोही मितिमा दाङबाट ल्याइएको १७५ केजी गोलभँेडा नष्ट गरिएको थियो । गोलभेँडामा ६२ प्रतिशत विषादी भेटिएको थियो । त्यसै गरी वैशाख ३० गते दैलेखको गुराँसबाट ल्याइएको फर्सीमा खान नमिल्ने विषादी शतप्रतिशत भेटिएपछि नष्ट गरिएको थियो । फर्सीमा ९९.२५ प्रतिशत विषादी भेटिएको थियो । परीक्षण केन्द्रमा कार्वामेट र अर्गानोफस्फेट कीटनाशक विषादीको मात्र परीक्षण गर्ने गरिएको छ ।

    पछिल्लो समय वीरेन्द्रनगरमा भित्रिने तरकारीमा भएको विषादी परीक्षणलाई तीव्रता दिइएको छ । वीरेन्द्रनगरमा व्यवसायीले भिœयाइरहेको तरकारीमा अत्यधिक विषादी देखिन थालेपछि परीक्षणको दायरा बढाइएको हो । कृषि थोक बजारमा स्थापना भएको केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले हालसम्म गरेको नमुना परीक्षणमध्ये नौ प्रकारका तरकारीमा अत्यधिक विषादी प्रयोग भएको पाइएको छ । २०८१ कात्तिकमा स्थापना भएको एकाइले हालसम्म एक हजार ५०४ वटा नमुना परीक्षण गरिसकेको छ । अहिले परीक्षणलाई तीव्र पारिएको द्रुत विश्लेषण प्रयोगशाला एकाइका प्रमुख धनसिंह धामीले बताए । जसमध्ये विषादी देखिएर नष्ट गर्नुपर्ने १२ प्रकारका रहेका छन् । उनका अनुसार यीमध्ये नौ वटा नमुना केही समय तरकारी क्वारेन्टाइनमा राखेर पुनः प्रयोग गर्न सकिने सिफारिस गरिएको छ । वीरेन्द्रनगरमा भित्रिएको भारत र नेपालका विभिन्न ठाउँबाट ल्याइएका तरकारीको नियमित रूपमा परीक्षणलाइ व्यापकता दिने गरी काम अघि बढाइएको छ ।

    कुनै पनि तरकारीमा ३५ प्रतिशतभन्दा कम विषादी भेटिएमा उपभोग गर्न मिल्ने र ३५ देखि ४५ प्रतिशत विषादी भेटिएमा केही दिन तरकारी क्वारेन्टाइनमा राखेर पुनः उपभोग गर्न मिल्ने बताइएको छ । एकाइले नष्ट गर्न सिफारिस गरेका तरकारीमा ४५ प्रतिशतभन्दा बढी नै विषादी भेटिने गरेको छ । ४५ प्रतिशतमाथि विषादी भएको पुष्टि भएमा तत्कालै नष्ट गर्नुपर्ने हुन्छ । रासायनिक विषादीले जनस्वास्थ्यमा गम्भीर असर पु¥याउने भएकाले यसको प्रयोग न्यूनीकरण अभियान नै थाले पनि उल्लेखनीय उपलब्धि हासिल गर्न नसकिएको जनाइएको छ । काँक्रा, भिन्डी, बोडी, गोलभेँडा, फर्सी, धनिया, तितेकरेला, लौका सिमी र आलुको नमुना परीक्षण गर्दा बढी विषादी देखिएको छ ।

    प्रदेश सरकारले अर्गानिक प्रदेशको परिकल्पना गरिरहे पनि विषादी न्यूनीकरण हुन सकेको छैन । प्रदेश सरकारले सल्यानको कपुरकोट र पूर्वी सुर्खेतको भेरीगङ्गा नगरपालिकाको हर्रेबाट विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउने जनाएको छ तर अहिलेसम्म विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा आएको छैन ।

    सल्यानको कपुरकोट गाउँपालिका–३ मा कार्यालय स्थापना भए पनि विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा आउन सकेको छैन । कार्यालय स्थापना भएको बर्सांै बितिसक्दा पनि प्रयोगशाला सञ्चालन हुन नसकेको हो । उपकरण उपलब्ध नभएकाले विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा नआएको प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । सल्यानको कपुरकोट र सुर्खेतको हर्रेडाँडाबाट तथ्याङ्क व्यवस्थापन र प्रविधिसहित विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याइने बताए पनि सोहीबमोजिम काम भने हुन सकेको छैन ।

  • मासु पसलले मूल्यभन्दा बढी असुली, ६० केजी बिग्रिएको मासु बरामद

    मासु पसलले मूल्यभन्दा बढी असुली, ६० केजी बिग्रिएको मासु बरामद

     हुम्लाको सदरमुकाम सिमकोटमा सञ्चालित एउटा मासु पसलमा सरोकारवाला निकायले निर्धारण गरेको मूल्यभन्दा बढी रकम असुली गरेको भन्दै अनुगमन टोलीले तालाबन्दी गरेको छ ।

    मङ्गलबार दिउँसो जिल्लाको सदरमुकाम सिमकोटमा रहेका मासु पसलहरूको अनुगमन गर्ने क्रममा बजारको कालि चोकमा रहेको रविन्द्र स्वच्छ मासु पसलमा अनुगमन टोलीले तालाबन्दी गरेको उद्योग तथा उपभोक्त हित संरक्षण कार्यालयका प्रमुख हिरा शर्माले बताए । प्रमुख शर्माका अनुसार यस अघि सरोकारावाला निकायले कुखुराको मासु र खसीको मासुको मूल्य निर्धारण गरिएको थियो । मूल्य निर्धारण अनुसार रविन्द्र स्वच्छ मासु पसलले निर्धारण गरेको रकमभन्दा बढी रकम असुली गरेको आरोप लगाउँदै पसलनै शिल गरिएको हो ।

    सिमकोट गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, उद्योग तथा उपभोक्त हित संरक्षण कार्यालय, उद्योग वाणिज्य सङ्घ हुम्ला, नेपाल पत्रकार महासङ्घ हुम्लालगायतका निकायहरू बसेको बैठकले खसीको मासुको मात्रै एक हजार एक सय र मिस्कट मासुको एक हजार रुपियाँ निर्धारण गरेको थियो । तर उक्त पसलको प्रोप्राइटर हरि ऐडीले नेट मासुको दुई सय बढी लिँदै एक हजार तीन सय र मिस्कट मासुको एक सय बढी गर्दै एक हजार एक सय रुपियाँ असुली गरेको सिमकोट गाउँपालिका पशु शाखाका प्रमुख आशिस आचार्यले बताए ।

    नियम विपरित र उपभोक्तालाई ठगी गरेकै कारण कारबाही गर्नुपर्ने हुँदा पसलमा तालाबन्दी गरिएको प्रमुख आचार्यले बताए । सरोकारवाला निकायले गरेको निर्णयको विपरित गरेको आरोपमा आरोपितलाई १० हजार रुपियाँ जरिवाना गर्ने जिल्ला प्रशासन कार्यालय हुम्लाका प्रतिनिधि धनबहादुर रावतले जानकारी दिए । सोही दिन सदरमुकाम सिमकोटभित्रका छ वटा कुखुराको मासु पसल र तीन वटा खसीको मासुपसलमा अनुगमन गरिएको थियो । जसमा नौ वटा मासु पसलबाट किरा परेको र खान लाईक नभएको करिब ६० केजी कुखुराको मासु बरामद गरिएको थियो ।

  • सुन र चाँदीको मूल्य वृद्धि

    सुन र चाँदीको मूल्य वृद्धि

     अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।

    बुधबारदेखि पहेँलो धातुको मोल निरन्तर बढेको छ । आज तोलामा रु एक हजार ७०० ले वृद्धि भएको छ । चाँदी पनि तोलामा रु ३५ ले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९१ हजार ५०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी रु दुई हजार २५ मा कारोबार भइरहेको छ ।

    अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार ३५५ डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

  • अब बेपत्ता मुखले भन्ने मात्र हो, सबै शहीद भइसके : प्रचण्ड

    अब बेपत्ता मुखले भन्ने मात्र हो, सबै शहीद भइसके : प्रचण्ड

     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब बेपत्ता योद्धा कोही जीवित नभएको बताएका छन् ।

    बुधबार रूकुम पूर्वमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले बेपत्ता योद्धा कोही जीवित नरहेको बताएका हुन् ।

    माओवादी मध्यपहाडी लोकमार्ग जागरण अभियानको क्रममा त्यहाँ पुगेका प्रचण्डले भने, ‘अब बेपत्ता योद्धा भन्ने अब छैन, खाली मुखले भन्ने मात्रै हो, सबै शहीद भइसके । कोहि जीवित छैनन् ।’

    पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले राज्यले प्रक्रिया पुर्‍याएर कानुनी रूपले नभनेसम्म मात्रै बेपत्ता भन्नुपर्ने बाध्यता रहेको उनले बताए ।

    ‘तर अब राज्यले प्रक्रियाबाट गएर कानुनी रूपले उहाँहरू हुनुहुन्न नभनेसम्म हामीले बेपत्ता भन्नुपर्ने बाध्यता मात्रै बाँकी छ,’ उनले भने ।

    उनले सबै बेपत्ताका परिवारले उनीहरू शहफद भइसकेको मानसिकता बनाउन आग्रह गरे । ‘ बेपत्ता योद्धाका परिवारजनले मानसिकता बनाउनुहोला, उहाँहरू पनि महान शहीदकै क्याटगोरीमा आउनुहुन्छ, उहाँहरुलाई पनि हामी शहीद कै सम्मान गर्छौं, शहीद परिवारले पाउने सबै सम्मान र सुविधा बेपत्ता योद्धाका परिवारले पनि पाउनु हुन्छ।’