
Blog
-

मान्मा आधारभूत विद्यालयका ६० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
डोल्पाको ठुलिभेरी नगरपालिका-२ मा पर्ने मान्मा आधारभूत विद्यालयका ६० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

सामाजिक सञ्जालमा सहयोग संकलन गरेर आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई कापी, कलम, जुत्ता, मोजा लगायतका सामग्री वितरण गरिएको हो । जिल्ला अस्पताल डोल्पामा कार्यरत डाक्टर अखण्ड उपाध्यायले सुरुमा आफैले पैसा उठाएर सामाजिक सञ्जालमा पोष्ट गरेपछि विभिन्न व्यक्तिबाट आर्थिक सहयोग जुटेको थियो ।
संकलित ८० हजार ६ सय ५६ रकमबाटै शैक्षिक सामग्री लगायतका सामग्री खरिद गरेर वितरण गरिएको हो, यसरी सहयोग पाउनेमा धेरैजसो विपन्न र दलित विद्यार्थी छन् डाक्टर उपाध्यायले भने । म एक पटक त्यो विद्यालय पुगेको थिएँ, सामान्य कापी कलम किन्न नसक्ने अवस्थाका विद्यार्थी पनि देखेँ, त्यही भएर सहयोग उठाइएको हो ।
वितरण गरेपछि पनि शैक्षिक सामग्री बचेकाले लेखेर सक्ने विद्यार्थीलाई उसको कपी कलम चेक गरेर थप उपलब्ध गराउने विद्यालयले जनाएको छ । शैक्षिक सामग्री वितरण कार्यक्रममा वडाध्यक्ष कमलबहादुर क्षेत्री र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र ओमप्रसाद रोकायको उपस्थिति थियो ।

-

सुनको भाउ घट्दा चाँदी स्थिर
नेपाली बजारमा आज (आइतबार) सुनको भाउ घटेको छ भने चाँदी स्थिर रहेको छ। अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला तीन हजार रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला ६ सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८४ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ८४ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। यसैगरी, आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३२ सय ०२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

-

पाँचौं ट्रेल–रन जेठ ९ गते हुने
रारामा पाँच ट्रेल–रन जेठ ९ गते रारा तालको किनारामा हुने भएको छ ।
नेपालकै प्रमुख पर्यटकिय क्षेत्र रहेको रारा ताललाई मुख्य पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न र कर्णाली प्रदेशबाट राष्ट्रिय स्तरका एथ्लेटिक्स खेलाडीहरु पहिचान गर्ने उद्देश्य अनुरुप वार्षिक रुपमा आयोजना गरिने रारा ट्रेल–रनको पाचौं संस्करण सञ्चालन गर्न लागिएको हो ।हनुमान ध्वज गुल्म राराका गुल्मपति खीमबहादुर अधिकारीका अनुसार नेपाली सेनाको आतोजनामा यहि जेठ ९ गते बिहान ७ बजे सुरु गरिने उक्त प्रतियोगितामा प्रथम हुने खेलाडीलाई रु ५० हजार, दोस्रो हुनेलाई ३० हजार र तेस्रो हुने खेलाडीलाई २० हजार पुरस्कार, प्रमाणपत्र र मेडलको ब्यवस्था रहेको छ । उनका अनुसार रारा ट्रेल– रन प्रतियोगितामा सहभागी हुन आउने खेलाडीले जेठ ४ गतेदेखि ८ गतेको बिहान १० बजेसम्म अफ्नो नाम दर्ता गराउन सक्नेछ्न भने उनिहरुको मेडिकल जाँच सोहि दिन १२ बजे गरिने र इभेन्ट बृफ ३ बजे हुने गुल्मपती अधिकारीले बताए ।
उनले भने, दौड जेठ ९ गते बिहान ७ बजे सुरु हुने र दौडमा सहभागी हुने खेलाडीले मौसम सुहाउँदो खेल पोषाकमा उपस्थिती हुनुपर्ने छ । मेडिकल जाचमा दौडका लागी स्वस्थ नदेखिएका व्यक्तिलाई दौडमा सहभागी गराइने छैन । रारा ट्रेल रन प्रतियोगिता नेपाली सेनाले वर्षेनी रारामा आयोजना गर्दै आएको छ ।

-

मध्यपहाडी लोकमार्ग अभियान सामाजिक रूपान्तरणसँग जोडिएको छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँगको सम्बन्ध सुदृढ गर्न मध्यपहाडी लोकमार्ग केन्द्रित जनअभियान सञ्चालन गरिएको बताएका छन् ।
उनले स्थानीयतालाई संरक्षण र प्रवर्द्धन गर्दै जनताको पक्षमा काम गर्ने पार्टी माओवादी केन्द्र नै रहेको दाबी गरे ।
अभियान अन्तरगत दैलेखको राकम कर्णालीमा आइतबार आयोजित जनसंवाद कार्यक्रममा उनले सुशासन प्रवर्द्धन गर्न र आवश्यकता परे भ्रष्टाचारविरुद्ध नयाँ आन्दोलनको वातावरण बनाउन पनि यो अभियान गरिएको बताए । उनले भने, ‘मध्यपहाडी क्षेत्रमा विकासबाट पछाडि परेका जनतालाई समेटेर समृद्धिको बाटो खोल्ने उद्देश्यले माओवादी केन्द्रले यो अभियान अघि सारेको हो । मध्यपहाडी लोकमार्ग केवल सडक सञ्जाल होइन, यो अभियान सामाजिक रूपान्तरणको अभियान सँग जोडिएको छ।’
सरकारमा हुँदा माओवादी केन्द्रले सामाजिक न्याय र सुशासनका लागि भ्रष्टाचारविरुद्ध दृढताका साथ संघर्ष गरेको भन्दै प्रचण्डले अहिलेको अभियान त्यसै राजनीतिक संघर्षको निरन्तरता भएको बताए ।
-

संविधानविरोधी गतिविधिलाई गम्भीरतापूर्वक लिन आईजीपीको निर्देशन
प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले कानूनको कार्यान्वयन, जनताको जीउधनको सुरक्षा र जनजीवनलाई सहज बनाउने कामलाई महत्त्व दिन मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।
आइतबार बिहान भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा उपत्यकाका प्रहरी कार्यालय प्रमुखलाई निर्देशन दिँदै आईजीपी थापाले राजनीति व्यवस्था र संविधानविरोधी तत्व सल्बलाएको भन्दै यसलाई अत्यन्तै गम्भीरतापूर्वक लिन निर्देशन दिएका हुन् ।
यही जेठ १५ गते राजावादीले गर्ने भनिएको प्रदर्शनका सन्दर्भमा उच्च सतर्कता अपनाउन उनले जोड दिएका हुन् ।
आईजीपी थापाले प्रदर्शनका क्रममा हुने कुनै पनि अराजकतापूर्ण गतिविधि सह्य नहुने बताए ।
सोही सन्दर्भमा उनले प्रहरी अधिकृतले मातहतका कर्मचारीलाई कुटपिट गरेको घटनाले प्रहरी सङ्गठनलाई बदनाम गरेको बताए । गलत काम गर्ने कर्मचारीलाई सङ्गठनको विधिअनुसार कारबाही हुने आईजीपी थापाको भनाइ छ ।

-

इजरायली हमला, बालबालिकासहित ३३ जनाको मृत्यु

इजरायलले विस्तारित सैन्य अभियानको घोषणा गरेको एक दिनपछि गाजाको नागरिक सुरक्षा एजेन्सीले आइतबार इजरायली हवाई आक्रमणमा कम्तीमा ३३ जनाको मृत्यु भएको र तीमध्ये आधाभन्दा बढी बालबालिका रहेको बताएको छ ।
नागरिक सुरक्षा प्रवक्ता महमुद बासलले दक्षिणी गाजा पट्टीको अल–मवासीमा विस्थापित प्यालेस्टिनीहरूलाई शरण दिने पालहरूमा भएको बिहानको आक्रमणमा २२ जनाको मृत्यु भएको र कम्तीमा एक सय जना घाइते भएको बताए ।
उत्तरी गाजाको जबालियाको एउटा घरमा भएको आक्रमणमा सात जनाको मृत्यु भएको उनले जानकारी दिए । सोही क्षेत्रको अल–अवदा अस्पतालमा क्षति भएको बताइएको छ ।
बासलका अनुसार अल–जवायदाको केन्द्रीय क्षेत्र र दक्षिणमा खान युनिसमा पनि मृत्यु भएको रेकर्ड गरिएको छ । इजरायली सेनाले शनिबार १९ महिनाभन्दा बढीको युद्धपछि हमास लडाकूहरूलाई परास्त गर्न गाजाभरि आफ्नो अपरेसन तीव्र पारिरहेको घोषणा गरेको छ ।इजरायली सहायता नाकाबन्दीका कारण प्यालेस्टिनी क्षेत्रमा मानवीय अवस्था बिग्रँदै गएकोमा बढ्दो अन्तर्राष्ट्रिय चिन्ताका बीचमा यो अभियान अघि बढेको हो ।

-

चट्याङ लागेर २१ वटा भेडाबाख्रा मरे
जुम्ला गुठिचौर गाउँपालका–२ को झुलेनी भन्ने ठाउँमा चट्याङले लागेर २१ वटा भेडाबाख्रा मरेका छन् । शनिबार साँझ पाँच बजेति रुखमुनि बसेका बेला चट्याङ पर्दा २१ वटा भेडाबाख्रा मरेका हुन् ।

गुठिगाउँका किसान हिर वहादुर ऐडिका १६ र धनकृष्ण रोकायाका ६ वटा भेडाबाख्रा चट्याङमा परि मरेको गुठिचौर–२ का पूर्व वडास्य तथा स्थानीय धनवहादुर बोहोराले जानकारी दिए । घरमा ल्याउन रुखमुनि जम्मा गरि राखेको अवस्थामा चट्याङ परेको हो । ऐडिका ५० वटा र रोकायाका ३० वटा भेडाबाख्रा छन् । उनिहरुको घरखर्च भेडाबाख्राबाटै चल्ने गरेको छ । चट्याङमा परि भेडाबाख्रा मर्दा किसानहरु दुखि भएका छन् । गुठिगाउँमा रहेका १ सय ७५ घरधुरीका १ सय बढी परिवारले भेडाबख्रा पाल्ने गरेका छन् । गाउँमा करिब ३ हजार ५ सय जति भेडाबाख्रा रहेको बोहोराले बताए । उनका अनुसार एउटै भेडाबाख्राको मुल्य कम्तिमा १० हजार देखि बढीमा २५ हजारसम्म पर्ने गर्दछ ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका अनुसार जिल्लाकै सबैभन्दा बढी भेडापालन हुने ठाउँ गुठिचौरको पूर्वि क्षेत्र हो । पाटन र खर्कमा व्यवस्थित भेडीगोठ नहुँदा हरेक वर्ष चट्याङबाट भेडाबाख्रामा ठुलो क्षति गर्ने गरेको कार्यालयले जनाएको छ । भेडाबाख्रा चट्याङबाट मरेपछि घर खर्च चलाउनमा समस्या भएको उनीहरुले बताएका छन् । किसान हिर वहादुर ऐडिले भने, यहि पेशाबाट घर खर्च देखि छोराछोरीको पढाइ खर्च सहज रुपले चलेको थियो । राहत र क्षतिपूर्तिका लागि सम्बन्धित निकायलाई सहयोगको लागि उनले अनुरोध समेत गरेका छन् । गुठिचौर २ का वडाध्यक्ष दिपवहादुर ऐडिले स्थानीय सरकारबाट हुने सहयोग गरिने जानकारी गराए । वडामा रकम नभएकाले पालिकामा रहेको विपद् शाखामा कुरा राख्ने उनको भनाइ छ ।

-

विदेशी मुद्राको विनिमयदर निर्धारण
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८१ रुपैयाँ ५० पैसा र बिक्रीदर १८२ रुपैयाँ ३० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६३ रुपैयाँ ११ पैसा र बिक्रीदर १६३ रुपैयाँ ८२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६० पैसा र बिक्रीदर ८७ रुपैयाँ ९९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९८ रुपैयाँ २० पैसा तथा सिङ्गापुर डलर एकको खरिददर १०५ रुपैयाँ १२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ५९ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ३८ पैसा र बिक्रीदर नौ रुपैयाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९ रुपैयाँ ०३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५६ पैसा तथा कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिदर चार रुपैयाँ १० पैसा र बिक्रीदर चार रुपैयाँ १२ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९२ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७८ पैसा र बिक्रीदर नौ रुपैयाँ ८२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ९९ पैसा र बिक्रीदर १४ रुपैयाँ ०५ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ५० पैसा र बिक्रीदर २० रुपैयाँ ५९ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७ रुपैयाँ ५५ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ १७ पैसा र बिक्रीदर ४४६ रुपैयाँ १२ पैसा, बहराइन दिनार एकको खरिदर ३६२ रुपैयाँ १५ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ७४ पैसा तथा ओमानी रियाल एकको खरिददर ३५४ रुयैयाँ ६२ पैसा र विक्रीदर ३५६ रुपैयाँ १८ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।


