Blog

  • गणतन्त्र दिवसको मूल समारोह समितिबाट बालेनलाई हटाउन प्रधानमन्त्रीको निर्देशन

    गणतन्त्र दिवसको मूल समारोह समितिबाट बालेनलाई हटाउन प्रधानमन्त्रीको निर्देशन

    गणतन्त्र दिवस, मूल समारोह समितिको बैठकमा अनुपस्थित भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको नाम समितिबाटै हटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार दिउँसो मूल समितिको बैठक बसेको थियो । उक्त बैठकमा काठमाडौंका मेयर शाह अनुपस्थित थिए ।

    अघिल्लो वर्ष पनि उनी गणतन्त्र दिवसको अवसरमा आयोजित सभामा सहभागी भएका थिएनन् । आजको बैठकमा पनि उनी अनुपस्थित भएपछि प्रधानमन्त्री ओलीले बैठकमा चासो राखेका थिए ।

    ‘उहाँले नामै त भन्नुभएन, तर काठमाडौं महानगरका प्रमुख यसरी अनुपस्थित हुनुमा उहाँ (प्रधानमन्त्री)ले चासो राख्नुभयो’ बैठक स्रोतले भन्यो, ‘उहाँ (बालेन) नआउने हो भने अबदेखि समितिमा नै नराख्नू ।’

    ती स्रोतका अनुसार, सम्भवतः मूल समारोह समितिको पदेन सदस्यमा महानगरको मेयर रहने व्यवस्था हटाइनेछ ।

    बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ ।

    आगामी जेठ १५ गतेको उक्त दिवसका लागि यही जेठ १४, १५ र १६ गते हरेक दिन साँझ सबै सार्वजनिक निकायमा दीप प्रज्ज्वलनसहितका कार्यक्रम गर्न तहगत समिति र उपसमिति गठन गरिएको छ ।

    त्यस्तै, विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा पनि कार्यक्रम तय गरिएको छ । जेठ १५ गतेको मुख्य कार्यक्रम सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम हुनेछ ।

  • शिक्षक आन्दोलन घोषणा गर्न माग

    शिक्षक आन्दोलन घोषणा गर्न माग

    एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले संसद्को शिक्षा समिति अन्त्रगतको उपसमितिले समितिलाई बुझाएको प्रतिवेदनप्रति आपत्ति जनाएको छ ।

    संगठनका अध्यक्ष शंकर अधिकारी र महासचिव कुलप्रसाद खतिवडाले सोमबार विज्ञप्ति जारी गर्दै उक्त प्रतिवेदन विगतमा शिक्षकहरूसँग सरकारले गरेको सहमतिविपरीत भएको भन्दै शिक्षक ÷ कर्मचारी विरोधी, ट्रेड युनियन विरोधी, विगतका सहमतिको उपहास गर्ने, अनुदार, शिक्षक कर्मचारी माथि शासन गर्ने, प्रतिशोधपूर्ण र प्रतिगामी भएको बताएका छन् ।

    ‘उपसमितिको प्रतिवेदनले अस्थायी प्रकृतिका राहत, साबिक उमावि, प्राविधिक धार, पेन्सन वञ्चित, अस्थायी करार, विशेष शिक्षा, सहिद स्मृति विद्यालयका शिक्षक, निजी शिक्षक, शिक्षकहरूको वृत्ति विकास र पेसागत स्थायित्वको लागि विगतका सहमति अनुसार न्याय गर्न सकेन’, विज्ञप्तिमा भनिएको छ । त्यस्तै उपसमितिको प्रतिवेदनले शिक्षण सिकाई अनुदानको सम्बन्धमा कुनै सम्बोधन गर्न नसकेको तथा विद्यालय कर्मचारी र बाल विकासको सम्बन्धमा समेत प्रतिवेदन अनुदार रहेको बताएको छ । ‘आवधिक बढुवाको लागि व्यवस्था गरेजस्तो गर्ने तर उल्लेखित प्रावधानहरू पूरा हुन नसक्ने र कसैको पनि बढुवा हुन नसक्ने निश्चित छ’, सङ्गठनले भनेको छ, ‘शिक्षकको सरुवा सम्बन्धी प्रावधान निरङ्कुश र झन् प्रतिगामी रहेका छन् ।’

    सङ्गठनले विगतमा भएका सहमतिलाई समेटेर तत्काल शिक्षा, शिक्षक र ट्रेड युनियनमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गरी नेपालको सार्वजनिक शिक्षालाई आकर्षक र गुणस्तरीय बनाउन नेपाल शिक्षक महासंघको तत्काल बैठक बसी पुनः एकीकृत, निर्णायक र सशक्त शैक्षिक आन्दोलनका कार्यक्रमहरू तत्काल घोषणा माग गरेको छ ।
  • पौडेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    पौडेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

     राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र सोमबार विशेष अदालतमा दायर गरेको हो ।

    आर्थिक वर्ष ०७५/०७६ मा राष्ट्रिय सूचना प्रविधि केन्द्रको लागि भएको खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, तत्कालीन सहायक निर्देशक रमेश पौडेलसहित ५ जनाविरुद्ध मुद्दा दायर भएको हो ।

    अख्तियारले दायर गरेको मुद्दामा राष्ट्रिय सूचना प्रविधि केन्द्रको एनआईटीसी/जीएनसीबी-६-०७५/०७६ शीर्षकको खरिदमा २६ करोड २९ लाख ५३ हजार ३३५ रुपैयाँ लागत अनुमान तयार गरी पेस भएको बोलपत्रमा म्याक्स इन्टरनेशनलले ०७६ असार ४ गते पेस गरेको बिलअनुसार केन्द्रबाट ‘ट्रेनिङ एण्ड वान टाइम इन्स्टलेसन एण्ड कन्फिगरेसन एट जीआईडीसी एण्ड डीआरसी’ शीर्षकको भ्याटबाहेकको २ करोड ६५ लाख र अनसाइट सपोर्ट शीर्षकको भ्याटबाहेकको ३ करोड १४ लाख रुपैयाँ भुक्तानी लिएको उल्लेख छ ।

  • इन्दुको कप्तानी प्रदर्शन

    इन्दुको कप्तानी प्रदर्शन

    इन्दुको कप्तानी प्रदर्शन

    सबैले इन्दुलाई बधाई दिन थाले । केहीले इन्दुले बोकेर खुशी मनाए । कमेन्टेटरहरुले पनि इन्दुले सिंगल ह्यान्डेडली खेल जिताएको भन्दै प्रशंसा गरिरहेका थिए ।

    युएईविरुद्धको यो जित नेपाली महिला क्रिकेटका लागि महत्वपूर्ण जित रह्यो । किनभने नेपालले महिला टी२० विश्वकपमा पहिलो पटक ग्लोबल क्वालिफायरमा स्थान बनाउँदै अहिलेसमम्को ठूलो उपलब्धि हासिल गरेको हो ।

    विश्वकप खेल्ने लक्ष्य राखेपनि नेपाली महिला क्रिकेट टिम अहिलेसम्म एसियाबाटै अघि बढ्न सकेको थिएन । तर यस पटक भने थाइल्याण्डसँगै नेपालले पनि एसिया छनोटबाट ग्लोबल क्वालिफायरमा स्थान बनायो ।

    कप्तान इन्दुले पनि पोष्ट म्याचमा नेपालको लागि यो ऐतिहासिक उपलब्धी भएको प्रतिक्रिया दिइन् । ‘यो हाम्रो महिला क्रिकेटमा ऐतिहासिक क्षण हो । सबैको मेहेनतको प्रतिफल हो’ उनले भनिन् ।

    एसिया छनोटको सुपर थ्री को अन्तिम खेलमा नेपालले सोमबार थाइल्याण्डसँग खेल्दैछ । उक्त खेल जितेमा नेपाल एसिया छनोटको विजेता नै बन्नेछ ।

    युएई विरुद्ध जितको चर्चा भविष्यमा पनि भइरहनेछ । अनि त्यसमा निर्णायक प्रदर्शन गर्दै कप्तानी इनिङ्स खेलेकी इन्दु बर्माको चर्चा नहुने कुरै भएन ।

    वास्तवमै निर्णायक खेलमा उनले चाहिएको जस्तै प्रदर्शन गर्दै नेपाललाई जित सम्म पुर्‍याइन् । २७ वर्षीय इन्दुले टी२० अन्तर्राष्ट्रिय क्रिकेट करियरमा एक अर्धशतक बनाएकी छिन् । तर उनले करियरमा यो इनिङ्स सबैभन्दा महत्वपूर्ण मध्ये रहनेछ । अझ यो यस्तो समयमा आएको थियो त्यसलाई हेर्दा सबैभन्दा महत्वपूर्ण इनिङ्स नै मान्न सकिनेछ ।

    उनै इन्दु बर्माको कप्तानी इनिङ्समा नेपालले आईसीसी वुमन्स टी२० विश्वकप एसिया छनोटको सुपर थ्री मा युएईलाई ५ विकेटले हराउँदै ग्लोबल क्वालिफायरमा स्थान बनाएको छ । नेपाली महिला क्रिकेटले इतिहास रच्दै पहिलो पटक महिला विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाएको हो ।

    थाइल्याण्डको बैंककमा भएको खेलमा नेपाललाई जित दिलाउन कप्तान इन्दुले अविजित ३० रन बनाएपछि युएईले दिएको ११५ रनको लक्ष्य नेपालले ३ बल अगावै ५ विकेट गुमाएर भेट्टायो ।

    चौथो क्रममा ब्याटिङमा आएकी इन्दुले २८ बल खेल्दै २ चौका मदतमा ३० रन जोडेकी हुन् । उनले नेपालको जितमा विजयी रन समेत जोडिन् ।

    इन्दुले चौथो विकेटका लागि उपकप्तान पुजा महतोसँग २४ रनको साझेदारी गरिन् भने पाँचौं विकेटका लागि पूर्व कप्तान रुबिना क्षेत्रीसँग ३७ रनको महत्वपूर्ण साझेदारी गरिन् । यो दुई साझेदारीले नेपालको जितको आधार तय गरेको थियो ।

    १८औं ओभरको पाँचौ बलमा रुबिना आउट हुँदा नेपालको स्कोर ९९-५ थियो । नेपाललाई जितका लागि अन्तिम १३ बलमा १६ रन आवश्यक थियो । यस्तोमा इन्दुले छैटौं विकेटका लागि रुवि पोदारसँग अविजित १६ रनको साझेदारी गरिन् ।

    नेपाललाई अन्तिम २ ओभरमा जितका लागि १४ रन आवश्यक थियो । यस्तोमा कप्तान इन्दुले नेपालको इनिङ्सलाई सम्हाल्दै अघि बढाइन् । १९औं ओभरको पाँचौ बलमा इन्दुले चौका प्रहार गरेपछि नेपालले उक्त ओभरमा १० रन जोड्दै जितलाई नजिक बनाएको थियो ।

    अन्तिम ओभरमा स्ट्राइकमा रहेकी रुवि पोदारले पहिलो बलमा सिंगल लिँदै इन्दुलाई स्ट्राइक दिइन् । इन्दुले दोस्रो बलमा दुई रन लिएपछि स्कोर बराबर भयो । त्यसपछि तेस्रो बलमा इन्दुको सटले बाउण्ड्री लाइन पार गरेको थियो तर उनले त्यसअघि नै सिंगल लिँदै नेपालको जित निश्चित गरेकी थिइन् ।

    इन्दुले अन्तिसम्म दबाबलाई झेल्दै जितसम्म पुगेको बताइन् । ‘यो एकदम नर्भस खालको खेल थियो, अन्त्यमा हामीले प्रेसर ह्यान्डल गर्न सक्यौं र जित निकाल्न सक्यौं’ उनले भनिन् ।

    इन्दुले युएई विरुद्ध मात्र होइन समूह चरणमा बहराइन विरुद्ध ‘मस्ट विन’ म्याचमा पनि कप्तानी इनिङ्स खेलेकी थिइन् । जहाँ उनले अविजित २४ रन बनाउँदै नेपाललाई जिताएकी थिइन् ।

    बहराइनले १२.२ ओभरमा ७६/३ रन बनाएपनि वर्षाका कारण नेपालले ७ ओभरमा ५६ रनको लक्ष्य पाएको थियो । त्यस खेलमा नेपाललाई जितका लागि अन्तिम १८ बलमा ३२ रन आवश्यक थियो र नेपाललाई कठिन भइरहेको थियो । यस्तोमा इन्दुले एकल प्रयासमा म्याच जिताएकी थिइन् ।

    उनले चौथो ओभरमा लगातार तीन चौका सहित १३ रन प्रहार गरेपछि नेपालले एकै ओभरमा १६ रन बनाएको थियो । यस्तै अर्को ओभरमा इन्दुले एक चौका र एक छक्का प्रहार गर्दै १० रन बनाएपछि नेपालले जित हात पारेको थियो ।

    यस पटक छनोटमा नेपालले खेलेको सबै चार खेलमा इन्दु नटआउट समेत रहिन् । हङकङ विरुद्धको पहिलो खेलमा वर्षाका कारण रद्ध हुँदा नेपालले अंक बाँडेको थियो ।

    समूह चरणमा बहराइन विरुद्ध ५ ओभरमा छोट्याइएको पहिलो खेलमा इन्दु ७ रनमा अविजित रहिन् । यस्तै हङकङ विरुद्ध ५ ओभरमा छोट्याइएको खेलमा पहिले ब्याटिङ गर्दा उनले अविजित ९ रन बनाएकी थिइन् ।

    जारी छनोटमा कप्तान इन्दु नेपालबाट सर्वाधिक रन बनाउने खेलाडी समेत हुन् । उनले चार खेलमा ७० रन बनाएकी छिन् । समग्रमा उनी सर्वाधिक रन जोड्नेमा चौथो स्थानमा छिन् । युएईकी कप्तान इशा ओजाले एक शतकसहित सर्वाधिक १७५ रन बनाउँदा युएईकै तीर्था सतिशले एक अर्धशतकसहित १०६ रन बनाएकी छन् ।

    थाइल्याण्डकी नानापात कोन्चारोनकाईले ७२ रन बनाएकी छिन् । नेपालले अन्तिम खेल थाइल्याण्ड विरुद्ध नै खेल्दैछ र इन्दुलाई यो आँकडामा अझै सुधार गर्ने मौका छ ।

    इन्दु २०८० साल कात्तिकमा सिनियर टिमको कप्तान नियुक्त भएकी थिइन् । त्यसयता उनको कप्तानीमा नेपालले एसिया कप देखि बाइलाटरल, ट्राई सिरिज र क्वाड्रगुलर सिरिज समेत खेलिसकेको छ ।

    तर उनै इन्दुको कप्तानीमा नेपालले टी२० विश्वकप एसिया छनोट पार गर्दै ग्लोबल क्वालिफायरमा स्थान बनाउनु कप्तान इन्दु र नेपाली महिला क्रिकेटकै लागि अर्को कोशेढुंगा हो ।

    इन्दुले नेपालका लागि ७२ टी२०आई खेल खेल्दै एक अर्धशतक मद्दतमा ९१७ रन बनाएकी छिन् भने ४० विकेट पनि लिएकी छन् । यसै छनोट प्रतियोगितामा रुबिनालाई पछि पार्दै नेपालका लागि सर्वाधिक टी२०आई रन बनाउनेमा दोस्रो स्थानमा उक्लेकी इन्दु सीता राना मगर भन्दा मात्र पछि छन् ।

    एसिया छनोट खेल्न जानुअघि कप्तान इन्दुले अनलाइनखबरसँगको कुराकानीमा यस पटक छनोटको संरचना फरक हुँदा हरेक खेल महत्वपूर्ण हुने बताएकी थिइन् र एसिया छनोट पार गर्दै ग्लोबल क्वालिफायर पुग्ने र विश्वकपमा स्थान बनाउने अन्तिम लक्ष्य सुनाएकी थिइन् ।

    अब नेपालले विश्वकपको लागि अन्तिम चरणको छनोट खेल्नेछ र त्यो चरण पनि पार गरेमा विश्वकप पुग्दै इतिहास रच्नेछ । त्यसका लागि कप्तान इन्दु नेतृत्वको टिमले अझै धेरै महिनेत गर्नुपर्ने छ ।

  • पहिरो गएपछी २ घरमा क्षति, १८ परिवार विस्थापित

    पहिरो गएपछी २ घरमा क्षति, १८ परिवार विस्थापित

     हुम्लाको नाम्खा गाउॅपालिका–६ तिलगाउॅमा पहिरो गएपछि २ घरमा क्षति भएको छ भने १८ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

    बिहीबार राति ११ बजेतिर लेदोसहितको पहिरो आएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए । उनका अनुसार भौगोलिक विकटताका कारण सुरक्षाकर्मीको टोली पुग्न समस्या भएपछि ढिलो गरी घटना सार्वजनिक भएको हो । गाउॅमाथि एउटा ताल रहेको गुगल म्यापमा देखियो, त्यही ताल फुटेर गाउॅमा क्षति पुगेको आशंका छ, त्यसको पुष्ट्याइएको लागि ५ जना स्थानीयलाई पठाएका छौं, तर टोली अझैसम्म नपुगेकाले केही भन्न सकिने अवस्था छैन, उनले भने, क्षतिको विवरण पनि अझै आएको छैन । उनका अनुसार समुद्र सतहदेखि झण्डै ५ हजार ४ सय मिटरको उचाइमा उक्त ताल छ । अहिले घटनास्थलमा जिल्ला प्रहरी प्रमुखसहित सुरक्षाकर्मीको टोली पुगेको छ ।

    प्रमुख जिल्ला अधिकारी पाण्डेयका अनुसार १८ घर उच्च जोखिममा परेपछि ३२ जनालाई खुला चौरमा सारिएको छ । तिलगाउॅमा ५० घरधुरीमध्ये १८ घरधुरी बसोबास गर्दै आएका छन् । पहिरोले तिल्चुङ खोलाका ५ वटा काठे पुल बगाएको नाम्खा—६ का वडाध्यक्ष पाल्जोर तामाङले बताए । उनका अनुसार सुरक्षाकर्मीको टोली गाउॅमा पुगेकाले क्षतिको विवरण संकलन भइरहेको छ ।

  • जमुनाहा–हिल्सा अन्तरदेशीय सडक निर्माण गर्न माग

    जमुनाहा–हिल्सा अन्तरदेशीय सडक निर्माण गर्न माग

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दैलेखका स्थानीयले जमुनाह–हिल्सा द्रुत मार्ग निर्माण गर्न माग गरेका छन् । सोमबार बिहान दैलेखमा आयोजित सर्वपक्षीय जनसंवाद कार्यक्रममा सहभागी सरोकारवालाहरूले जमुनाह–हिल्सा द्रुत मार्ग निर्माणका लागि आवाज उठाउन आग्रह गरेका हुन् ।

    मध्यपहाडी लोकमार्ग केन्द्रित माओवादी केन्द्रको जनअभियानका क्रममा दैलेख सदरमुकाम पुगेका प्रचण्डले त्यहाँका सरोकारवालाहरूसँग विकास र समृद्धिका विषयमा विमर्ष गरेका थिए । सोही अवसरमा सरोकारवालाहरूले कर्णाली प्रदेश सरकार स्थापना भएदेखि नै चर्चामा रहेको जमुनाह–हिल्सा अन्तरदेशीय द्रुत मार्गको निर्माणलाई राष्ट्रिय एजेन्डा बनाउन माग गरेका थिए ।

    दक्षिणमा भारतसँग सीमा जोडिएको बाँकेको जमुनाह नाकादेखि उत्तरमा चीन जोड्ने हुम्लाको हिल्सा नाकासम्म निर्माण हुने भनिएको द्रुतमार्गको सम्भाव्यता अध्ययन बाहेकका थप काम हुन सकेका छैन । जमुनाह–हिल्सा फास्ट ट्र्याक आयोजना कर्णालीको लाइफलाइनका रूपमा हेरिएको अन्तरदेशीय सडक हो ।

    २०७५ वैशाख १ गते जमुनाहा–हिल्सा प्रधानमन्त्री अन्तर्राष्ट्रिय द्रुत मार्गका रूपमा नामकरण गरिएको थियो । राष्ट्रिय गौरवको आयोजनाको रूपमा पनि हेरिएको त्रिदेशीय सडकले चर्चा अनुसारको काम भने हुन सकेको छैन । प्रदेश सरकारकै सक्रियतामा चीनको चाइना रेल–वे कम्पनीको चाइना इन्जिनियरिङ कम्पनीले उक्त सडकको सम्भाव्यता अध्ययन गरेर प्रतिवेदन समेत बुझाएको छ ।

    प्रतिवेदन अनुसार जमुनाह–हिल्सा फास्ट ट्र्याक निर्माण गर्न ६४ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । ठुला आयोजना संघीय सरकार मातहत रहने हुँदा कर्णाली सरकारले संघीय सरकारलाई प्राथमिकता दिएर निर्माण थाल्नुपर्ने भन्दै प्रत्येक वर्ष आग्रह समेत गर्दै आएको छ । तर संघ सरकारले भने प्राथमिकता दिएको छैन । तसर्थ प्रमुख प्रतिपक्षी दल माओवादीलाई उक्त आयोजना बारे सदनमा आवाज उठाइदिन माग गरेको उद्योग वाणिज्य संघ दैलेखका अध्यक्ष नरेन्द्र बहादुर थापाले जानकारी दिए ।

    उनका अनुसार उद्योग वाणिज्य संघ, दैलेखले जिल्लाका प्राथमिक आवश्यकता सहितको माग पत्र समेत पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डलाई बुझाएको छ । संघले दैलेखमा अन्वेषण तथा उत्खनन भइरहेको पेट्रोलियम पदार्थको प्रशोधन अनेत्र जिल्लामा नभई दैलेखमै हुनुपर्ने, पंचकोशी विकाश बोर्ड गठन र दैलेखमा जडीबूटी प्रसोदन केन्द्र स्थापना लगाएतका माग राखेको छ ।

    कार्यक्रममा जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दल, उद्योग वाणिज्य संघ, नागरिक समाज तथा पत्रकार महासंघका प्रतिनिधिहरूले जिल्लाको विकास, पूर्वाधार, पर्यटन तथा उद्योग प्रवर्द्धनसम्बन्धी आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

    सहभागीहरूले उक्त अभियानले दैलेखको विकास सम्भावनालाई मूर्तरूप दिन मद्दत गर्ने विश्वास व्यक्त गरे । अध्यक्ष प्रचण्डले कार्यक्रमलाई सम्बोधन गर्दै त्यहाँको विकास र समृद्धिमा दलहरूको एकता उदाहरणीय रहेको बताए । ‘यो अभियान अब माओवादीको मात्र होइन, सबै दलहरूको साझा अभियान बनेको छ । यहाँ उठेका माग र अनुभवहरू राष्ट्रिय तहमा सशक्त रूपमा प्रस्तुत गछौं,’ अध्यक्ष प्रचण्डले भने ।

    उत्तर–दक्षिण लोकमार्ग, मध्यपहाडी लोकमार्ग र हुलाकी मार्गको अवधारणालाई व्यावसायिक तथा आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यका साथ अघि सारिएको समेत उनले स्पष्ट पारे । दैलेखमा मध्यपहाडी लोकमार्गको करिब १२५ किलोमिटर खण्ड पर्ने जानकारी दिँदै अध्यक्ष प्रचण्डले उक्त खण्ड सबैभन्दा लामो भएको बताए ।

  • चन्दननाथ नगरपालिकामा टोकन प्रणाली सुरु

    नगरपालिकाले यही वैशाख महिनादेखि टोकन प्रर्णालीमार्फत् सेवा दिन थालेको हो । टोकन प्रणालीमार्फत् सेवा पाउन सजह भएको भन्दै सेवाग्राही समेत खुसी छन्। योजना सम्झौता गर्ने, रकम भुक्तानी लिने, प्रस्तावना पेश गर्नेदेखि सबै नगरका कामहरू लिन टोकन लिनुपर्ने भएपछि सेवा प्रवाहमा समानता आएको छ। पहिले टोकन नहुँदा झ्याल ढोकामा सेवाग्राहीहरू घण्टौँ लाइनमा बस्नुपर्ने, हल्ला र विवादले पालो आउनै कठिन हुने र पहुँचवालाहरूको एकै दिन र पहुँच नहुनेहरूले हप्तौँ कुर्नुपर्ने बाध्यता थियो । तर टोकन प्रणाली सुरु भए पछि पहुँचवाला र पहुँचविहीनको खाडल पुरिएको स्थानीय कालीबहादुर रोकायाले बताएका छन् । उनले भने, अहिले टोकन प्रर्णालीमा जाने बित्तिकै हरेक कोठामा गएर फाइल पुर्‍याउनु परिरहेको छैन । दर्ता भएको फाइल जानुपर्ने फाँटसम्म पुर्‍याएर कर्मचारीले आफैँ ल्याइदिने गरेका छन्।

    पालोको लागि टोकन लिएर आरामले कुर्न पाइने हुँदा सेवाग्राही र सेवा प्रदायक दुबैलाई सहज भएको उनको बुझाइ छ । पहिले लामो लाइनमा होहल्ला र सेवाग्राहीको भीडभाडले काम निकै लम्बिने गरेको थियो । अहिले फाइल पेस गरेको एक घण्टामै काम हुने/नहुने टुंगो लागिहाल्छ, उनले भने । प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले दिनानुदिन बढ्दै गएको सेवाग्राहीको घुइँचोले सेवा प्राप्त गर्न कठिनाइ भइरहेको, भीडभाड नियन्त्रण बाहिर गएर होहल्ला हुने गरेको जस्ता क्रियाकलापहरू हटेको बताए । उनले भने, टोकनले कर्मचारी पनि नियमित छन् । सेवाग्राहीले पनि दुःख पाइरहेका छैनन् ।