Blog

  • रुस युक्रेनबीच एक–एक हजार युद्धबन्दी रिहा गर्ने सहमति

    रुस युक्रेनबीच एक–एक हजार युद्धबन्दी रिहा गर्ने सहमति

    बिगत तीन वर्षदेखि जारी रुस-युक्रेन युद्धकाबीच एक–एक हजार युद्धबन्दी रिहा गर्ने सहमति भएको छ । शुक्रबार टर्कीको इस्तानबुलमा भएको युक्रेन-रुस वार्तामा दुवै देशले एक–एक हजार युद्धबन्दी रिहा गर्ने सहमति भएको हो ।

    बैठकपछि युक्रेनका रक्षामन्त्री रुस्तम उमेरोवले दुवै देश एक-एक हजार युद्धबन्दीको रिहाइमा सहमत भएको जानकारी दिए । उनले भने, हामीले युद्धविराम र मानवीय मुद्दाहरू, विशेष गरी मानिसहरूको अदलाबदलाको विषयमा छलफल गर्‍यौँ । एक हजार व्यक्तिको रिहाइमा सहमति हुनु बैठकको प्रमुख उपलब्धि हो ।

    शान्ति वार्तामा रुसी प्रतिनिधिमण्डलको नेतृत्व गरेका भ्लादिमिर मेन्डिन्स्कीले पनि युद्धबन्दीको अदलाबदलासम्बन्धी सहमतिलाई पुष्टि गरेका छन् । उनले भने, युक्रेनी पक्षले राष्ट्रपति भ्लादिमिर पुटिन र भोलोदोमिर जेलेन्स्कीबीच प्रत्यक्ष वार्ताको अनुरोध गरेका छन् । हामीले यो अनुरोध टिपोट गरेका छौँ ।

    दुवै पक्ष सम्भावित युद्धविरामको सन्दर्भमा आ-आफ्नो दृष्टिकोण राख्न सहमत भएका छन् । युद्धबन्दी रिहाइको मिति तय भइसकेको भए पनि सुरक्षाका कारण सो विवरण सार्वजनिक गरिएको छैन ।
  • पोलमै अस्ताए उपेश

    पोलमै अस्ताए उपेश

    काभ्रेको धुलिखेलमा विद्युतका एक जना मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।

    धुलिखेल नगरपालिका- ७ जिल्ला प्रशासन कार्यालय अगाडिको विद्युत पोलमा काम गरिरहेका सर्लाही ईश्वरपुरन नगरपालिकाका-१२ घारिबथानका २८ वर्षीय उपेश  नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    ११ हजार भोल्टको हाइट्रेसन लाइनको पोलमा चढेर काम गरिरहेको अवस्थामा अचानक करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी मिन घलेले बताए ।

    तार जोड्न पोलमा चढेका परियारको विद्युत प्राधिकरणले सूचनाविनै लाइन छाड्दा करेन्ट लागेर मृत्यु भएको आरोप छ । उनलाई विद्युत प्राधिकरणले नै काममा लगाएको थियो ।

    शुक्रबार मात्रै विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रले सूचना जारी गर्दै त्यस क्षेत्रमा ११ केभी लाइन चार्ज गरिने जनाएको थियो । त्यसैले सावधानी अपनाउन भनेको थियो । तर, कार्यालयकै असावधानीले एक जना मजदुरको मृत्यु भएको छ ।

    मृतक उपेशको  शवलाई पोलबाट निकालेर पोस्टमार्टमको लागि धुलिखेल अस्पताल पठाएको छ ।

    घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरको कमाण्डमा टोली खटाइएको छ ।

  • मेलोनीलाई अल्बानियाका प्रधानमन्त्रीको घुँडा टेकेर नमस्कार 

    मेलोनीलाई अल्बानियाका प्रधानमन्त्रीको घुँडा टेकेर नमस्कार 

     इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनी अल्बानियाको भ्रमणमा छिन्। त्यहाँ शुक्रबार अल्बानियाका प्रधानमन्त्री एडी रामाले घुँडा टेकेर मेलोनीको स्वागत गरे।

    रेड कार्पेटमा घुँडा टेकेर बसेका रामाले मेलोनीलाई ‘नमस्ते’ गर्दै अभिवादन पनि गरे। मुसलधारे वर्षाका बाबजुद पनि उनको आकर्षक र प्रभावशाली स्वागत गर्ने शैली अहिले चर्चामा रहेको छ ।

    कहिलेकाँही स्वागतका लागि दुई नेताले हात मिलाएर औपचारिकता निभाउनु मात्र पर्याप्त हुँदैन ।

    शुक्रबार अल्बानियाँको तिरानामा आयोजित युरोपियन पोलिटिकल कम्युनिटी समिटका लागि नेताहरूका लागि ओछ्याइएको रातो कार्पेट हुँदै इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी अघि बढिरहेकी थिइन्।

    त्यसैबेला, अल्बानियाका प्रधानमन्त्री एडी रामाले छाता फ्याँकेर वर्षामै एउटा घुँडा टेकेर हात जोड्दै स्वागत गरे।

    ‘एडी, होइन!’ नजिक जाँदै मेलोनीले मुस्काउँदै भनिन् ।

    त्यसपछि उनले त्यहाँ उपस्थित पत्रकारहरूलाई अंग्रेजीमा मजाक गर्दै भनिन्, ‘उनी (रामाले) यस्तो गर्छन् ताकि मेरो उचाइ बराबर देखियोस्।’

    रामाको उचाइ ६ फिट ७ इन्च छ भने मेलोनी केवल ५ फिट ३ इन्चकी । उनी युरोपका सबैभन्दा होचो नेताहरूमा पर्छिन्।

    तर उनीहरूबीच केवल भौतिक बनावटमा मात्र भिन्नता छैन।

    रामाले अल्बानियाको समाजवादी पार्टीको नेतृत्व गर्छन् भने मेलोनी युरोपको राजनीतिक स्पेक्ट्रमको दक्षिणपन्थी धारकी नेतृ हुन्। यद्यपि, यी दुई नेताबीच स्पष्ट रूपमा राम्रो समझदारी देखिएको छ।

    रामाको शैली कि रणनीति ?

    रामाले मेलोनीप्रति सार्वजनिक सद्भाव देखाएको यो पहिलो घटना भने होइन। यस वर्षको सुरुमा अबुधाबीमा आयोजित कार्यक्रममा पनि उनले पत्रकार र युएईका प्रतिनिधिहरूको अगाडि घुँडा टेकेर मेलोनीलाई उपहारस्वरूप स्कार्फ दिँदै ४८औँ जन्मदिनको शुभकामना दिएका थिए।

    सन् २०२४ मा अजरबैजानमा भएको शिखर सम्मेलनमा भेट हुँदा पनि उनले यस्तै सम्मानजनक शैली अपनाएका थिए।

    ‘उनी सज्जन व्यक्ति हुन् र मेलोनीसँग आकर्षण छ,’ इटालीको भू-राजनीतिक पत्रिका लाइम्सका वैज्ञानिक सल्लाहकार बोर्ड सदस्य जर्मानो डत्तोरीको तस्बीरबारे टिप्पणी टेलिग्राफमा प्रकाशित छ ।

    मेलोनीले चर्चित प्रविधि उद्यमी एलन मस्कलाई समेत प्रभावित पारेकी छिन्, जसले मेलोनीको नीतिको खुलेर समर्थन गरेका छन्। बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनकसँग पनि मेलोनीको हाँसोठट्टाले भरिएको सम्बन्ध देखिन्छ।

    सुनकका प्रवक्ताले भनेका छन्, ‘उनीहरू स्पष्ट रूपमा एकअर्कासँग मिल्छन्, किनभने दुवै एकै समयमा निर्वाचित भएका थिए।

    तर एडी रामाको यस्ता सद्भावनापूर्ण शैलीहरू रणनीतिक दृष्टिकोणले पनि महत्त्वपूर्ण देखिन्छन्। इटालीले अल्बानियामा आप्रवासी केन्द्र सञ्चालन गर्न ठूलो आर्थिक सहयोग प्रदान गर्दै आएको छ, साथै अल्बानियालाई युरोपेली संघमा समावेश गराउन पनि समर्थन गर्दै आएको छ।

    शुक्रबार तिरानामा सम्पन्न भेटघाटहरूले आगामी दिनमा रोममा हुने कूटनीतिक भेटघाटहरूको मञ्च तयार गरेको छ। संसारभरका नेताहरू र धार्मिक प्रतिनिधिहरू आइतबार पोप लियो चौधौंको उद्घाटन समारोहमा भाग लिन रोम आउँदै छन्।

    क्याथोलिक सम्प्रदायका रहेका अमेरिकाका उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियो आइतबारको औपचारिक उद्घाटनमा सहभागी हुनेछन्, जुन नयाँ पोपको कार्यकालको आधिकारिक सुरुवात हुनेछ।

    युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, क्यानडाका प्रधानमन्त्री मार्क कार्नी, अष्ट्रेलियाका नवनिर्वाचित प्रधानमन्त्री एन्थनी अल्बानीज, साथै बकिङ्घम प्यालेसका अनुसार एडिनबरा ड्युक प्रिन्स एडवर्डले राजा चार्ल्सको प्रतिनिधित्व गर्दै कार्यक्रममा भाग लिनेछन्।

    प्रधानमन्त्री रामाले सन् २०३० भित्र अल्बानियालाई युरोपियन युनियनमा समावेश गराउने वाचा गरेका छन्। यही लक्ष्यका लागि उनले शुक्रबार राजधानी तिराना शहरमा युरोपेली नेताहरूको आतिथ्य गरेका हुन्।(अनलाइनखबर)

  • देशको तीव्र विकासका लागि एमालेको बहुमतको सरकार चाहिन्छ- ओली

    देशको तीव्र विकासका लागि एमालेको बहुमतको सरकार चाहिन्छ- ओली

    प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको तीव्र विकासका लागि एमालेको बहुमतको सरकार आवश्यक भएको बताएका छन् ।
    राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय शिक्षा विभागद्वारा शनिबार एमाले पार्टी कार्यालय, च्यासलमा आयोजित युवा उद्यमी सम्मान तथा पार्टी प्रवेश कार्यक्रममा उनले देशलाई बिगार्न नदिन र विनाव्यवधान सुशासनलाई तीव्र गतिले अगाडि बढाउन एमालेको बहुमतको सरकारका आवश्यक रहेको बताएका हुन् ।
    ‘मुलुकका लागि एमालेको नेतृत्व आवश्यक रहेको बुझ्न हामीले ढिला गर्‍यौं, स्वार्थ समूहको भ्रमबाट मुक्त हुनुपर्छ, एमालेलाई आगामी निर्वाचनमा बहुमत दिन युवाले साथ दिनुपर्छ’, अध्यक्ष ओलीले भने, ‘म युवालाई एमालेमा आउनुस् एकै पटक एमालेको अध्यक्ष बनिहाल्नोस् भनेर उकास्न चाहन्नँ । एमालेमा आउनुस्, काम र अनुभव हासिल गर्दै नेतृत्वमा पुग्न सकिन्छ ।’

    उनले मेस्सी, एम्बापेजस्ता फूटबल खेलाडी एकै पटक नबनेको प्रसङ्ग उल्लेख गर्दै रहर लाग्नेबित्तिकै चिकित्सक, इञ्जिनियर कोही नबन्ने बताए ।

    कार्यक्रममा युवा चिकित्सक, इञ्जिनियरसहित करिब १०० जना एमालेमा प्रवेश गरेका थिए । त्यस अवसरमा स्वदेशमै केही गर्न सकिन्छ भन्ने सोचका युवा व्यवसायीलाई सम्मान गरिएको थियो ।
  • गृहमन्त्री लेखकले गरे सगरमाथा बेसक्याम्प क्षेत्रको निरीक्षण

    गृहमन्त्री लेखकले गरे सगरमाथा बेसक्याम्प क्षेत्रको निरीक्षण

      गृहमन्त्री रमेश लेखकले  सगरमाथा आधारशिविर (बेसक्याम्प) क्षेत्रको निरीक्षण गरेका छन्।

    पर्यटकीय सिजनको सन्दर्भमा आरोहीहरुको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन र शान्ति सुरक्षासम्बन्धी अवस्था अवलोकन गर्न आज उनी खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित सगरमाथा आधार शिविर पुगेका हुन्।

    उनले शारीरिक रूपमा कमजोर वा दुर्घटनामा परेका पर्यटकको उद्धारका लागि हेलिकप्टर अत्यावश्यक रहेको उल्लेख गर्दै, सरकारको नीति यस्तो सेवालाई सहज र समन्वित बनाउने दिशामा केन्द्रित हुने स्पष्ट पारे।

    सगरमाथा क्षेत्रको पर्यटन प्रबर्द्धनका लागि सरकारले अब फरक ढंगले जनमुखी नीति कार्यान्वयन गर्दैछौँ, हामी उद्धारका हेलिकप्टर उडानमा रोक लगाउने होइन, अव्यवस्थित र अनावश्यक उडानलाई नियमन गर्ने तयारीमा छौं, उनले भने।

    हालसम्म सगरमाथा क्षेत्रमा उद्धार बाहेकका हेलिकप्टर उडान रोक्नुपर्ने भन्ने स्थानीय माग हुँदै आएको छ।

  • वर्तमान सरकारमा देखिएका कमजोरी सुधार्दै अघि बढ्नुपर्नेछ : देउवा

    वर्तमान सरकारमा देखिएका कमजोरी सुधार्दै अघि बढ्नुपर्नेछ : देउवा

    नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले वर्तमान सरकारका केहि कमि कमजोरी भए सुधार गर्दै अघि बढ्ने बताएका छन् ।

    प्रजातान्त्रिक विचार समाजले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले कांग्रेस ठूलो पार्टी भएपनि बहुमत नभएकाले मिलेर सरकार बनाउनुपर्ने बाध्यता रहेको उल्लेख गरे ।

    ‘समावेशी र समानुपातिकताको कारण कसैको पनि बहुमत पुग्न सम्भावना छैन । हाम्रो पार्टी सबैभन्दा ठूलो पार्टी छ तर, बहुमत छैन,’ सभापति देउवाले भने, ‘…अहिलेको सरकारमा केही कमी कमजोरी होलान, त्यसमा सुधार्दै जानुपर्ने छ । विकासको कुरालाई अघि बढाउँछौं ।’

    सभापति देउवाले देशमा समावेशी संविधान रहेकाले सवैको प्रतिनिधित्व संसदमा रहेको जिकिर गरे । २०४८ सालमा कांग्रेसको नेतृत्वको सरकार बनेपछि देशमा धेरै विकासका कामहरु भएको उनले उल्लेख गरे ।

    ‘बहुमत नभएको पार्टीले कसै न कसैसँग गठबन्धनको सरकार बनाउन आवश्यकता र बाध्यता छ । अहिले एमाले एमालेसँगको सरकार छ । ओलीजी पनि दुःख पाएकै व्यक्ति हो । हामी जेलमा सँगै बसेका थियौं । जेलभित्रको गोलघरमा हुनुहुन्थ्यो,’ सभापति देउवाले भने ।

    त्यस्तै सभापति देउवाले २०५२ सालमा आफु प्रधानमन्त्री हुँदा सांसदहरुलाई सुविधाका लागि सबैको सहमतिले गाडी खरीदमा भन्सार छुट दिने योजना ल्याएको स्मरण गर्दै त्यसलाई विरोध गर्नेले पजेरो काण्ड भन्ने गरेको जिकिर गरे ।

  • वाटरल्यान्ड पार्कमा झडप : १० जना पक्राउ, पाँच प्रहरी घाइते

    वाटरल्यान्ड पार्कमा झडप : १० जना पक्राउ, पाँच प्रहरी घाइते

    धनुषाको छिरेश्वरनाथ नगरपालिका–१ रमदैयामा रहेको वाटरल्यान्ड पार्कमा तोडफोड तथा झडप गर्ने १० जना विद्यार्थी पक्राउ परेका छन् । विशेष छुटमा नुहाउन पुगेका कक्षा १२ का परीक्षा दिएका परीक्षार्थीहरू आज दिउँसो वाटरल्यान्ड पार्कमा तोडफोड गरेका छन् ।

    सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । जनकपुर ढल्केवर सडकखण्ड समेत अवरुद्ध गरेर तोडफोड गर्न थालेपछि प्रहरी र विद्यार्थीबीच झडप भएको थियो ।

    झडपको क्रममा चार सेल अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी प्रहरी निरीक्षक सञ्जीव कुमार यादवले जानकारी दिए । उनका अनुसार झडपमा ढुङ्गामुढा लागेर पाँचजना प्रहरी समेत घाइते भएका छन् ।

    तोडफोडमा संलग्न रहेको आरोपमा १० जना विद्यार्थीलाई पक्राउ गरेको छ । ‘अहिले तत्काल १० जनालाई पक्राउ गरिएको छ । हामी सिसिटिभी फुटेजहरू क्यामेराहरू हेर्दैछौँ । त्यसमा कसले के गरेको छ त्यस अनुसार अनुसन्धान गर्दै संलग्नलाई पक्राउ गर्छौं,’ उनले  भने ।

    विद्यार्थीको भिडले सडकमा चल्ने दुईवटा सवारी साधनमा समेत तोडफोड गरेका छन्। पार्कमा लाखौँको क्षति भएको छ । अहिले एकिन विवरण आइसकेको छैन । दुई डेढ महिना अघि मात्र पार्क सञ्चालनमा आएको थियो ।

    डीएसपी यादवका अनुसार, पार्कले नुहाउनका लागि प्रतिव्यक्ति ९०० शुल्क लिने गरेको छ । आज कृष्ण फाउन्डेसनको सहयोगमा प्रचारप्रसारका लागि कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरूको लागि जनही १०० रुपैयाँ शुल्क मात्र राखिएको थियो ।

    तर नुहाउन १५०० देखि २००० विद्यार्थी पुगेपछि क्षमता भन्दा बढी हुँदा उनीहरू तोडफोडमा उत्रेका थिए । त्यस क्रममा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको थियो ।

  • कोल्टीबाट धुलाचौर जादैँ गरेको जीप दुर्घटना, ६ जना घाइते

    कोल्टीबाट धुलाचौर जादैँ गरेको जीप दुर्घटना, ६ जना घाइते

    कर्णाली करिडोरमा जीप दुर्घटना भएको छ । शुक्रवार दिउँसो कोल्टी बजारबाट हिमाली गाउँपालिकाको केन्द्र धुलाचौर जादैँ गरेको जीप दुर्घटना भएको हो ।

    जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जनक बहादुर बोहराले म १ ज २३३ नम्बरको जीप दुर्घटना भएको बताए । उनका अनुसार हिमाली गाउँपालिका ६ सिउडी खोलामा दुर्घटना भएको जीपमा सवार चालक सहित ६ जना घाइते भएका छन् ।

    घाइते हुनेमा चालक अन्दाजी २० का सविन बोहरा, हिमाली ५ बस्ने अन्दाजी बर्ष १८ कि रंगीता बुढा, जुनिता बुढा, अन्दाजी २९ बर्षका विवेक बुढा, वडा नम्बर ६ बस्ने अन्दाजी २२ बर्ष अस्मिता शाही र वडा नम्बर ४ बस्ने अन्दाजी १८ का विज्ञान सार्की छन् । घाइतेहरुको अवस्था मध्यम छ भने अहिले कोल्टी अस्पतालमा उपचार भइरहेको छ ।

    जीप एक्कासी अनियन्त्रित भएर सडकबाट करिब १ सय ५० मिटर तल कर्णाली नदी माथि रुखमा अड्कीएको प्रहरीले जनाएको छ ।

  • कर्मचारीमा कुलिङ पिरियड २ वर्ष राखिने

    कर्मचारीमा कुलिङ पिरियड २ वर्ष राखिने

    अवकाश प्राप्त सरकारी कर्मचारीहरूको कुलिङ पिरियड २ वर्ष राखिने भएको छ । गृहमन्त्री रमेश लेखकले कर्मचारीमा कुलिङ पिरियड २ वर्ष राख्न सरकार सहमत भएको बताएका हुन् ।

    कुलिङ पिरियड भनेको अवकाश पाएपछि कति समयसम्म अर्को नियुक्ति नलिने भन्ने व्यवस्था हो । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती सेवा विधेयकमाथि छलफल जारी छ । जहाँ गृहमन्त्री लेखकले भनेका छन्, ‘कुलिङ पिरियड २ वर्ष राखेर जाऔं ।’

    कानुन बनाउन वा संशोधन गर्न फेरि अर्को पटक केही समय लाग्ने र तत्काल संशोधन गर्ने कुरा पनि त्यति जायज नहुने भन्दै उनले कुलिङ पिरियड २ वर्ष राखेर जाने उनको प्रस्ताव छ । सरकार २ वर्ष कुलिङ पिरियड राख्न सहमत भएसँगै यो विषय अगाडि बढ्ने भएको समितिका एक सदस्यले बताए ।

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलका सांसदले कुलिङ पिरियड २ वर्ष राख्नु उचित हुने बताउँदै आएका छन् । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले भने १ वर्ष राख्नुपर्ने बताएको थियो । एमाले लचक भएपछि सरकार २ वर्ष कुलिङ पिरियड राखेर जान सरकार सहमत भएको हो ।

    शुक्रबारको बैठकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेसका सांसद हृदयराम थानी लगायतले सरकारले २ वर्ष कुलिङ पिरियड राख्ने प्रस्ताव स्वीकार गरेकोमा धन्यवाद दिए ।

    निजामती सेवा बिधेयक २१ फागुन २०८० मा प्रतिनिधि सभामा दर्ता भएको थियो । सैद्धान्तिक छलफल गरेर प्रतिनिधि सभाले दफावार छलफलका लागि १५ जेठ २०८१ मा राज्य व्यवस्था समितिमा पठाएको थियो ।

    संघीय निजामती सेवासम्बन्धी विधेयकमा सांसदहरुले १२४ समूहमा एक हजार ५८३ वटा संशोधन परेको थियो । २०७५ सालमा प्रतिनिधि सभामा दर्ता भएको संघीय निजामती सेवा विधेयक २०७८ साल असोजमा सरकारले फिर्ता गरेको थियो । त्यसपछि प्रतिनिधि सभाको अघिल्लो कार्यकालमा संसदमा विधेयक नै आउन सकेन ।

    प्रतिनिधि सभाको चालु कार्यकालमा समेत विधेयक अपेक्षित गतिमा अगाडि बढ्न नसकेको भनेर सरोकारवालाहरुले प्रश्न गरिरहेका छन् । यो बेला सरकारले नमिलेका विषयमा सहमतिको प्रस्ताव गरेको हो ।

    समिति सदस्यहरूका अनुसार कुलिङ पिरियडको विषयमा रहेको विमति अब भने हटेको छ ।