Blog

  • प्रधानमन्त्री ओलीले भने– हामीले भारत–पाकिस्तानलाई नलड्न सुझाव दियौं

    प्रधानमन्त्री ओलीले भने– हामीले भारत–पाकिस्तानलाई नलड्न सुझाव दियौं

    प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र पाकिस्तानबीच हात हालाहाल हुन लागेको तर आफूहरुले त्यसो नगर्न सुझाव दिएको बताएका छन् ।

    आज लुम्बिनीमा आयोजित बुद्ध जयन्तीमा समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ओलीले सो कुरा बताएका हुन् ।

    उनले भने, ‘भर्खर केही दिन अगाडि मात्रै हाम्रै छिमेकमा झण्डै झण्डै भारत र पाकिस्तानको अलिकति हात हालाहाल त भएको थियो । तर, हात हालाहाल बढ्न पाएन । संयमका लागि उहाँहरूलाई धन्यवाद छ । हामीले सुरुदेखि भन्यौं, विस्तार हुन नपाओस् है यो । यो हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भनेर कामना गर्‍यौं । उहाँहरूसँग पनि कुरा गर्‍यौं, नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।’

    भारत–पाकिस्तानबीच फेरि पनि आरोप प्रत्यारोपको स्थिति रहेको भन्दै उनले बुद्धका शान्तिका सन्देशहरूको अर्थ अहिले पनि र जहाँ पनि रहेको बताए ।

    बुद्ध जन्मस्थल लुम्बिनी विश्वमा शान्तिको सन्देश छर्ने पवित्र भूमि भएको उनले बताए । लुम्बिनीमा आयोजित बुद्ध जयन्तीमा समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले बुद्धका शान्ति, प्रेम र करुणा फैलाउने तथा संसारमै हिंसा नहोस् भन्ने सन्देश अहिले पनि उत्तिकै सान्दर्भिक भएको उल्लेख गरे ।

    ओलीले बुद्धका सन्देश र आदर्श हरेक व्यक्ति, समाज, राष्ट्र र विश्वको  शान्तिका अति उपयोगी रहेको बताए । बुद्धका सन्देशको थप खोज अनुसन्धान र विस्तारको काम लुम्विनी बौद्ध विश्व विद्यालयले गर्नु पर्ने प्रधानमन्त्रीले आग्रह गरे ।

    लुम्बिनीको गुरुयोजना अनुसार काम सकेसम्म छिटो पूरा गर्न सरकार लागेको उनले बताए ।

    प्रधानमन्त्री ओलीले लुम्बिनीमा ५ हजार जना क्षमताको सभा हल आफ्नै अग्रसरतामा निर्माण भएको स्मरण गरे । तर हलमा ध्वनी प्रणाली राम्रो नभएको टिप्पणी गर्दै उनले तत्काल सुधार गर्न निर्देशन दिए ।

    वक्ता बोलेको कुरा हलमा उपस्थित सबैले स्पष्ट सुन्न सकिने गरी बनाउन प्रधानमन्क्रीले निर्देशन दिए ।

    हलमा कार्यत्रम हुँदा विभिन्न भाषामा उल्था गर्ने जनशक्ति र प्रविधि व्यवस्था गर्न आग्रह गरे ।

  • सम्भावना कम बढ्ता चुनौती झेलेका कर्णालीका खेलाडी छोरी !

    सम्भावना कम बढ्ता चुनौती झेलेका कर्णालीका खेलाडी छोरी !

     जाजरकोटकी कामना विष्ट भलिबल खेलाडी हुन् । उनले प्रदेश हुँदै राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका ठुला भलिबल प्रतियोगितामा सहभागिता जनाएर कर्णालीको नाम रोशन गरिरहेकी छन् ।

    जाजरकोटको खलंगा स्थायी घर भएकी विष्टको परिवारका धेरै जसो सदस्यहरु विभिन्न विद्या अन्तर्गतका खेलका खेलाडी छन् । यसै कारणले पनि उनलाई भलिबल खेलाडी बन्न सहज भयो । जाजरकोटबाट सुरु भएको उनको खेल यात्रा विभागिय टिम नेपाल पुलिस क्लवमा आवद्धभएपछि निखारिएको छ । शनिबारदेखि वीरेन्द्रनगरमा तेस्रो दिनमा जारी श्री ज्योति फाउण्डेशनद्वारा आयोजित ‘कर्णालीका खेलाडी छोरी’ सत्रमा विष्ट आफ्ना खेल जीवनका अनुभव सुनाउन उपस्थित थिइन । सानै उमेरको रुचिले खेल क्षेत्रमा लागेकी उनलाई यहीँ क्षेत्रमा खेलसँगै आफ्नो भविष्य उज्जवल बनाउन भने निकै चुनौती झेल्नुु परेको छ । ‘स्कुलदेखि नै खेल खेल्थें । खेल भनेको केही पाउनका लागि मात्र खेलिदैन । हामीलाई खेलले अनुशासन सिकाउँछ । खेल खेलेर के हुन्छ रु भन्छन् नबुझेका मान्छेहरु । एक कुशल खेलाडी हुन धेरै चुनौति पनि छ । हाम्रा समस्याहरु पनि थुप्रै छन् । प्रशिक्षणदेखि विभिन्न प्राविधिक पक्षमा महिलालाई निकै चुनौती झेल्नु परेको छ । अन्तराष्ट्रियस्तरमा भएका अभ्यासको तुलनामा हामी नेपाली महिला धेरै पछाडि छौँ,’ सत्रका सहजकर्ता पत्रकार मधुवन विसीले खेलकुदमा छोरीका सम्भावना र चुनौतीका विषयमा राखेको प्रश्नको जवाफ दिदै विष्टले भनिन् ।

    प्रतिस्पर्धा गरिने सबै खेलमा जित हाँसिल गर्न नसकिनुका पछाडि यावत कारण जोडिने बताउदै उनले नेपाली महिला भलिबलको प्रदर्शन जहिले पनि उत्कृष्ट नै रहेको बताइन । ‘निरन्तरको प्रशिक्षणले मेडल आउँछ भन्न सकिदैन । प्राविधिकरुपमा व्यवस्थित प्रशिक्षण, सेवा र सुविधाको व्यवस्थित परिचालन गर्न नसकिए नतिजा हाँसिल गर्न मुस्किल पर्छ,’ विष्टले भनिन् । सरकारले खेलाडीलाई ०।५ प्रतिशत पनि बजेट विनियोजन नगरेको उल्लेख गर्दै खेलका माध्यमबाट खेलाडीले राष्ट्रलाई चिनाइरहेको इतिहास नजर अन्दाजमा परेको विष्टको बुझाइ छ । सरकार खेलाडीप्रति व्यवहारत उत्तरदायी नभएको आरोप उनको छ । राज्यको उपेक्षाले खेल क्षेत्रमा लागेर आफ्नो जिविको पार्जनमा निकै चुनौती रहेको उल्लेख गर्दैै उनले भनिन्, ‘खेलाडीले खेल क्षेत्रबाट आफ्ने जीवनयापन सहज बनाउन सकिरहेका छैनन् । खेल मात्र खेलिरहने तर आर्थिक हिसाबमा सबल हुन नसक्दा खेलाडी पलायन हुने अवस्था छ । यसले विशेष गरी महिलालाई खेल क्षेत्रमै टिकिरहन सक्ने अवस्था छैन ।’

    समर्ग खेल क्षेत्रको विकास र खेलाडीको सुरक्षामा तीनै तहका सरकारले भूमिका निभाउन नसकेको उनको दुखेसो छ । स्थानीय सरकारले खेलाडीलाई प्रोत्साहनसँगै प्रदेश सरकारले आफ्ना प्रदेशका खेलाडीलाई प्रशिक्षण र उनीहरुले पाउने सेवा, सुविधामा ध्यान दिनुपर्ने उनले बताइन । यस्तै, सुर्खेतकी एलिसा रास्कोटी कराँते खेलाडी हुन् । उनले पनि खेलाडी भएर निकै चुनौतीको सामना गरिरहनु परेको छ । छोरा सरह छोरीले पनि खेल्न सक्छन भन्ने प्रमाणित गर्न खेल क्षेत्रमा लागेकी उनले पनि ठुला प्रतियोगिताका मेडल उचालेकी छन् । तर उनलाई पनि आर्थिक अवस्थादेखि कर्णालीको खेलकुद पूर्वाधार देखेर दिक्क लाग्छ ।

    ‘कर्णालीमा पुर्वाधार तथा आर्थिक अवस्था कमजोर हुँदा खेलाडीहरु अगाडि बढ्न सकेको अवस्था छैन । प्रदेश सरकारलले यस विषयमा ध्यान पु¥याउनै सकेको छैन,’ उनले भनिन् । आर्थिक समस्याकै कारण महिला खेलाडीलाई पलायन हुनुपर्ने बाध्यता रहेको उनले सुनाइन । सत्रमा सहभागी हम्लाकी फुटबल खेलाडी दीपा शाहीको अनुभुतिमा पनि सरकार कही भेटिएन । मेहनतका साथ खेलिएको खेलबाट मेडल उचाल्दा अन्य प्रदेशले खेलाडीलाई उच्च सम्मान गर्ने गरेको उल्लेख गर्दै उनले कर्णाली प्रदेश सरकारले यहाँका खेलाडीलाई चिन्नै नसकेको उनले बताइन । सरकारले नेपाली खेल र खेलाडीप्रति हेर्ने दृष्टिकोणका कारण आप्mनो मनोबल उच्च हुन नसकेको उनको दावी छ । कर्णाली प्रदेशमा आयोजना हुने भनिएको दशौं राष्ट्रिय खेलकुदमा सहभागि हुने तयारीमा रहेकी उनलाई सरकारको कार्यशैली कत्ति पनि चित्त बुझेको छैन ।

    ‘हाम्रो प्रदेशमा गएको मंसिरमै हुने भनिएको दशौं राष्ट्रिय खेलकुद अहिलेसम्म हुन सकिरहको छैन । कर्णालीमा पुर्वाधारको कमी छ, त्यो बनाउन पर्छ । राम्रो प्रशिक्षणको अभाव छ, त्यसलाई पनि व्यवस्थित बनाउनु पर्दछ । तर अनेक बहानाले कर्णालीमा खेलकुदका गतिविधिहरु रोकिनु हुँदैन,’ उनले भनिन् । राज्यले खेलकुद इतिहासकै ठुलो प्रतियोगिता आयोजना गर्न नसक्नु आफैमा लज्जास्पद भएको उल्लेख गर्दै उनले यसबाट खेलाडीहरु निराश हुन पुगेको बताइन । खेलाडीलाई खेल क्षेत्रमा आकर्षण गराउन निरन्तर प्रतियोगिता भइ राख्नु पर्ने तर्क उनले राखिन । श्री ज्योति फाउण्डेशन र कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आयोजनामा शनिबारदेखि छोरी सम्मेलन जारी छ । कर्णालीमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा कर्णालीका ७९ वटै पालिकाकाबाट झण्डै दुई सय बढी छोरीहरु सहभागि छन् ।

  • लिमी चिनाउने टासी ल्हान्जोम

    लिमी चिनाउने टासी ल्हान्जोम

    हुम्लाको नाम्खा गाउँपालिका—६, लिमी भ्यालीमा जन्मिएको हु । हाम्रो गाउँमा विद्यालय थिएन । २००७ मा ६ वर्षको उमेरमा लिमीबाट हामी १८ जनाको टोली पढाइका लासग समुह बनाएर काठमाडौँ गएका थियौँ । सबै जना त्यहाँको एक निजी स्कुलमा पढ्थ थाल्यौँ ।

    मातृभाषा हाम्रो नेपाली थिएन् । त्यो भएकाले काठमाडौँमा निकै गाह्रो भयो। पढाइ गर्न पनि निकै गाह्रो हुन्थ्यो । कतिपय साथिहरु नेपालीमा फेल हुने सम्भावना हुन्थ्यो । कक्षा ८ सम्म काठमाडौँमा । अनि त्यसपछि छात्रवृत्तिमा पढ्न भारत गएँ । १२ कक्षा पास त्यहीँ पढें । त्यसपछि दिल्ली विश्वविद्यालयको हिन्दु कलेजमा पढें, राजनीतिक शास्त्र पढें । त्यसपछि छोटो समय नेपालस्थित अमेरिकी दुतावासमा पोलिटीकल र इकोनमिक सेक्सनमा काम गरें । म कलेजदेखि नै फिल्ममा पनि काम गर्थे । मेरो पहिलो फिल्म डकुमेन्ट्री—नो मोनास्ट्री नो भिलेज हो । जलवायु परिवर्तन र संस्कृति सम्बन्धी थियो । यो फिल्म मैले आफ्नै गाउँ अवस्थालाई मध्यनजर गरेर बनाएको हो । यसको छायांकन लिमीमै भएको थियो । गत वर्ष रिलिज भएको हो । यसको निर्देशक पनि म आफै हो । हिन्दु कलेजमा एउटा फिल्म निर्देशक थिए । उनले तालिम दिन्थें । त्यहीबाट मलाई यता पनि रुची भयो ।

    हाम्रो गाउँमा हिमताल थियो, जलवायु परिवर्तनको कारण त्यो ताल फुट्यो । पटक–पटक । एक पटक घरहरु बगे । फेरि बग्यो भने नजिकै रहेको गुम्बा क्षतिग्रस्त हुने सम्भावना छ । गुम्बा बग्यो भने त्यहाँ बस्ती रहँदैन । मान्छेहरु बस्दैनन् । त्यसैले त्यहाँ अन्तराष्ट्रिय सहयोग आवश्यक छ । साथै सरकारले पनि त्यहाँ ध्यान दिनुपर्छ । फिल्म त्यो बारेमा बनाएको हो । लेखन पनि मेरै हो । अहिले नयाँ जलवायु परिवर्तन सम्बन्धी कै अर्को डकुमेन्ट्रीको तयारी भइरहेको छ । त्यो बारेमा रिसर्च पनि गरिरहेको छु । जलवायु परिवर्तन सम्बन्धी विशेष गरेर अध्ययनको विषय बनेको छ, किनकी मेरो गाउँको प्रमुख समस्या हो । काठमाडौँले त्यो देखेको छैन, काठमाडौँका सञ्चार माध्यमले लिमी र लिमीबासीको समस्या कहिल्यै भन्दैनन् । डकुमेन्ट्रीकै सहायताले मैले आफ्नो गाउँको समस्या उठाउने प्रयास गरिरहेको छु ।

    सन ०१३ मा हिम पहिरो गएको थियो, हाम्रो गाउँमा । सयौं याकहरु मरे । त्यहाँका याक पालक किसानहरुका लागि ठुलो क्षति भयो । तर सरकारको तर्फबाट कुनै सुनुवाइ भएन, सहयोग भएन । काठमाडौँका सञ्चार माध्यमले त्यहाँ कुनै सहयोग गरेनन् । हामी हिमालका नागरिकका लागि त राज्य नभएको अनुभूति हुन्छ । आफ्नो ठाउँमा भएको समस्यालाई लिएर म अन्तराष्ट्रिय सम्मेलनमा गइरहेको हुन्छु । जुन महिनादेखि विभिन्न देशमा हुने सम्मेलनहरुमा भाग लिन जाँदै छु, जहाँ मेरो गाउँ र नेपालमा जलवायु परिवर्तनले गर्दा भोग्दै आएको समस्याहरु राख्ने छु ।

    • छोरीहरुलाई प्रेरणा

    स्कुलमा पढ्ने मात्र होइन् प्रश्न सोध्न पनि सक्नुपर्छ भनेर मैलै छोरीहरुसँग भन्छु । सपना देख्न सक्नुपर्छ । त्यो सपना अनुसार लगनशीलता आवश्यक हुन्छ । हुम्लाको लिमीदेखि दिल्लीसम्म पुग्दा निकै संघर्ष गर्नुपर्‍यो । दिल्लीमा हुँदा नेपालीलाई हेपाह जस्तो व्यवहार हुन्थ्यो । तर लक्ष्यमा दृढ थिएँ । म सानोमा साइन्समा विशेष रुची राख्थें । जब महिले समाजबारे थाह पाएँ, त्यसपछि मैले आफ्नो समाजबारे केही गर्नुपर्छ भन्ने तरिकाले सोचें ।

    लिमीको मान्छेबारे सरकारलाई वास्ता हुँदैन । हाम्रो गाउँको मान्छेले पनि सरकार भएको अनुभुति गरेका छैनन् । सरकारले दिएका अधिकारहरु त्यहाँका मान्छेले प्रयोग गर्न पाएका छैनन् । राजनीतिमा हाम्रो मान्छेहरु छैन । मेरो उद्देश्य के हो भने त्यो समाजलाई राज्यबारे जानकारी दिनु, राज्यले जनतालाई दिएका अधिकारहरु छन् भनेर जानकारी गराउनु हो । राज्यमा हाम्रो उपस्थिती होस् भन्ने छ । राज्यमा आफ्नो छुट्टै हुम्लो आदिबासीको हुम्लो समुदाय दर्ज होस् भन्ने छ । अहिले हामीलाई तामाङ वा लामा भनेर मात्रै राखेको छ ।

    मेरो गाउँको भाषा अर्थात् मातृभाषा ‘लिमी के’ हो । हाम्रो गाउँमा पहिला स्कुल थिएन् । अहिले एउटा मातृभाषा सम्बन्धी स्कुल छ । तर अहिले हाम्रो गाउँमा पढाउने व्यक्तिलाई नेपाल सरकारले तलब दिँदैन । एनजियोले दिन्छ । हाम्रो मातृभाषा पढाउने टिचरलाई । त्यहाँ राज्यको उपस्थिती छैन । नेपाल—अमेरिका फिल्म फेस्टिबलमा बेस्ट डकुमेन्ट्री,नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा बेस्ट नेशनल डकुमेन्ट्री अवार्ड लगायत थुप्रै पुरस्कार पाएकी र अहिले जलबायु परिवर्तनले पारेको असरको अध्ययनमा सक्रिय टासीले कर्णालीको सुर्खेतमा जारी छोरी सम्मेलनमा दिएको मनतब्य ।

  • जाजरकोटको कारागारभित्रै झुण्डिएको अवस्थामा मृत भेटिए थुनुवा

    जाजरकोटको कारागारभित्रै झुण्डिएको अवस्थामा मृत भेटिए थुनुवा

     जिल्ला कारागार, जाजरकोटमा रहेका एक जना थुनुवा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

    आइतबार बिहान जाजरकोटको भेरी नगरपालिका–१० का २६ वर्षीय दीपक बुढा कारागारभित्रै मृत अवस्थामा फेला परेको जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त शर्माले जानकारी दिए ।

    आइतबार बिहान कारागारभित्रै झुण्डिएको अवस्थामा उहाँ भेटिनुभएको हो,’ शर्माले भने, ‘घटनाबारे थप अनुसन्धानको काम भइरहेको छ ।’

    शर्माका अनुसार, मृत भटिएका थुनुवा जबरजस्ती करणीको आरोपमा पुर्पक्षका लागि थुनामा थिए ।

    अदालतबाट उनीविरुद्धको मुद्दामा फैसला हुन बाँकी छ ।

  • राप्रपालाई प्रचण्डको चुनौती- दरबार हत्याकाण्डको छानबिन गर्ने प्रस्ताव संसद्‌मा ल्याउन सक्नुहुन्छ ?

    राप्रपालाई प्रचण्डको चुनौती- दरबार हत्याकाण्डको छानबिन गर्ने प्रस्ताव संसद्‌मा ल्याउन सक्नुहुन्छ ?

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०५८ सालमा भएको नारायणहिटी दरबार हत्याकाण्डको छानबिन गर्ने प्रस्ताव ल्याउन राप्रपालाई चुनौती दिएका छन् ।
    नक्कली राजाको पक्षमा बोल्नेहरू ‘रियल’ राजा (स्वर्गीय वीरेन्द्र)को हत्यारा पत्ता लगाउन मौन बस्नु गम्भीर विषय भएको उनले बताए ।

    लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको अधिवेशनलाई आइतबार धरानमा उद्घाटन गर्दै प्रचण्डले दरबार हत्याकाण्डको छानबिन गरे अहिले पनि हत्यारा पत्ता लाग्ने बताएका हुन् ।

    ‘राजसंस्था चाहिन्छ भन्ने राप्रपाका साथीहरू त्यत्रो भयानक दरबार हत्याकाण्डको छानबिनको प्रस्ताव ल्याउन सक्नुहुन्छ ? भयानक हत्याकाण्डको जिम्मेवार को हो ?’, प्रचण्डले भने, ‘जनताको मनमनमा क्लियर छ । सही छानबिन गर्ने हो भने हत्यारा आँखा अगाडि छन् । प्रमाणित गर्न गाह्रो छैन ।’

    जनताले पत्याएका राजा वीरेन्द्रको हत्यारा पत्ता लगाउन माग नगर्नेहरू नक्कली राजावादी भएको प्रचण्डको आरोप छ ।

    ‘राजावादी आन्दोलन गर्ने साथीहरूलाई प्रश्न छ- तपाईंहरू दरबार हत्याकाण्डको छानबिन गर्न प्रस्ताव गर्नुहुन्छ ? त्यसको छानबिन गरौं भन्ने आँट छ ?’ उनले भने, ‘तपाईंहरूले ल्याउने भनेका राजा नक्कली राजा हुन्, तपाईंहरूले बोल्नु भएको छ, रियल राजाको हत्यारा पत्ता लगाउन माग नगर्ने ? तपाईंहरू पनि नक्कली हो ।’

    प्रचण्डले जेठ १५ गते संविधानलाई चुनौती दिने दुस्साहस गर्न लागेको भन्दै यसलाई माओवादीले रोक्ने चेतावनी दिए ।

    ‘चैत्र १५ गते हामीले त्यो षडयन्त्रका विरुद्ध एक लाखलाई काठमाडौंमा उतारेका थियौं । तीनकुनेमा हत्यारा मण्डले गुण्डाहरू आतंकमा गए, राजावादीको कथित आन्दोलन भनेको के हो ? जनताले बुझ्न पाए’, प्रचण्डले भने, ‘फेरि जेठ १५ देखि बेलुनमा हावा भर्ने कुरा गर्दैछन् । त्यस्तो दुस्साहस नगर्न चेतावनी दिन्छु कथित राजावादीलाई ।’

    प्रचण्डले राप्रपालाई प्रश्न गर्दै भने, ‘सदनभित्र सुविधा लिने अनि संविधानको विरोध गर्ने अधिकार प्राप्त गर्नुभएको छ, हिजोको राजशाहीमा त्यो अधिकार थियो ?’

  • रवि लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’

    रवि लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’

     राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबारे सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरणको रिट हर्न नमिल्ने भएको छ ।

    आइतबार लामिछानेको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासमा परेको थियो ।

    त्यसैगरी नारायण पहराई समेतको जाहेरीले रवि लामिछाने र छविलाल जोशी विरुद्ध परेको सहकारी ठगीसम्बन्धी मुद्दा पनि आइतबार पोखरेल र ढकालकै बेञ्चमा पेशीमा चढेको थियो । यी दुबै मुद्दाहरु पनि ‘हेर्न नमिल्ने’ सूचीमा परेका छन् ।

    न्यायाधीशहरु यसअघि रविको मुद्दाको सुनुवाईमा संलग्न रहेका कारण मुद्दा हेर्न नमिल्ने सूचीमा परेको हो ।

    गत वैशाख ७ गते रवि लामिछानेका तर्फबाट श्रीमती निकिता पौडेलले लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।

    वैशाख ९ गते न्यायाधीश अजीज मुसलमानको एकल इजलासले सरकारका नाममा कारण देखाऊ आदेशसमेत जारी गरेको थियो ।

    बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको प्रकरणमा लामिछानेलाई जिल्ला अदालत रूपन्देहीले एक करोड रुपैयाँ धरौटीमा रिहा गरेको थियो । तर, उच्च अदालत तुलसीपुरले उक्त आदेश उल्ट्याउँदै पुर्पक्षका लागि थुनामा पठाउन भनेपछि लाछिाने यतिबेला भैरहवा कारागारमा छन् ।

  • सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित

    सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित

     राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्को संयुक्त सदनमा पेस गरेको नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ ।

    प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिएको थियो । सभामुख देवराज घिमिरेले निर्णयार्थ पेस गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । नीति तथा कार्यक्रमको विपक्षीहरूले विपक्षमा मतदान गरे भने सत्ता पक्षका सांसदले पक्षमा मतदान गरे ।

    निर्णयाथ प्रस्तुत हुनुअघि नीति तथा कार्यक्रममाथि बैशाख २२, २३, २४, २५, २६ र २८ गते छलफल भएको थियो । छलफलमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार जवाफ दिएका थिए । त्यसपछि उनको जवाफ चित्त नबुझेका सांसदहरूले पुनः जवाफ दिएका थिए ।

    आइतबार नै सांसदहरूले राखेका संशोधन प्रस्ताव पनि निर्णयार्थ प्रस्तुत गरिएको थियो । त्यसपछि निर्णयार्थ प्रस्तुत गरिएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

  • सेयर बजारमा गिरावट

    सेयर बजारमा गिरावट

     साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार  १२.५३ घटेर अंकले घटेर २६४९.११ को बिन्दुमा पुगेको छ । आज कारोबार भएका पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

    आइतबार नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योेरेन्स, हिमालयन हाइड्रोपावर, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र ओम मेगा श्री लगायतका कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

    साथै, आज सोल्टी होटल, सिक्लेस हाइड्रोपावर, उन्नती सहकार्य लघुवित्त, लुम्बिनी विकास बैंक तथा ओरियण्टल होटल्स लगायतका कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ ।

  • साढे ३ करोड भष्ट्राचार मुद्दा

    साढे ३ करोड भष्ट्राचार मुद्दा

    काठमाडौं उपत्यका विकास प्राधिकरणअन्तर्गतको दिव्येश्वरी जग्गा एकीकरण आयोजना, भक्तपुरका सव-इन्जिनियर कुमार पौड्यालविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा पौड्यालविरुद्ध ३ करोड ६३ लाख २१ हजार २०७ बिगो दाबी गरिएको छ।

    पौड्यालले मिति २०५१ वैशाख ९ देखि २०८० असार ३१ गतेसम्मको अवधिमा तलब, भत्ता, उनी र परिवारको नाममा रहेको जग्गा बिक्री आय, बीमा र छोराछोरीको पारिश्रमिकसमेत वैध आय २ करोड ५८ लाख ९७ हजार ३२४ रूपैयाँ देखिएको र घर निर्माण, जग्गा खरिद, अध्ययन खर्च, पिस ब्याङकुट एण्ड रेष्टुरेन्टमा लगानी, सवारीसाधन खरिद, शेयर, ऋण सापटी, सुनलगायतको खर्च ६ लाख २२ लाख १८ हजार ५३२ रूपैयाँ देखिएकाले साढे ३ करोड बढी रकम गैर कानूनीरूपमा कमाएको पुष्टि भएको अख्तियारले जनाएको छ।

    साथै, उनले पदमा रहँदा अवैधरूपमा कमाएको सम्पत्ति पत्नी विष्णुमैया पौड्यालका नाममा राखेको देखिएकोले बिगोबराबरको जफतका लागि उनलाई पनि प्रतिवादी बनाइएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए।