Blog

  • कोरियामा मौसमी कामदार पठाउन कुनै निर्णय भएको छैन : श्रम मन्त्रालय

    कोरियामा मौसमी कामदार पठाउन कुनै निर्णय भएको छैन : श्रम मन्त्रालय

     श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरियामा मौसमी कामदार पठाउने सम्बन्धमा कुनै निर्णय नभएको स्पष्ट पारेको छ ।

    सामाजिक सञ्जालमा ‘नेपाल सरकार र कोरिया सरकारबीच यस्तो सम्झौता भएको र भगिनी सम्झौता कायम गरेका स्थानीय तहले मन्त्रालयमा सम्पर्क गर्नू’ भन्ने बेहोराको पत्र प्रेसित भएको भेटिएपछि मन्त्रालयले यसबारे स्पष्टीकरण सार्वजनिक गरेको हो ।

    यसअघि मन्त्रालयले माघ २०८१ मा समेत स्पष्टीकरण सार्वजनिक गर्दै यस्तो सम्झौता नभएको बताएको थियो ।

    ‘यस विषयमा मन्त्रालयबाट कुनै निर्णय नभएको, मौसमी कामदारका विषयमा हालसम्म कुनै मितिमा कुनै पनि सूचना आह्वान नभएको तथा आधारहीन र तथ्यहीन विषयमा मन्त्रालयको लेटरहेड र छापको दुरुपयोग गरिएको हो,’ मन्त्रालयले भनेको छ ।

    यस्तो काममा संलग्नमाथि कारबाही गर्न सम्बन्धित निकायमा पत्र पठाइएको भन्दै मन्त्रालयले स्पष्ट पारेको छ ।
  • संसद्ले बनाएको सरकारलाई बिचौलियाले बनाएको भन्न मिल्दैन :बर्तौला

    संसद्ले बनाएको सरकारलाई बिचौलियाले बनाएको भन्न मिल्दैन :बर्तौला

     सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संसद्ले बनाएको सरकारलाई बिचौलिया, दलाल र माफियाले बनाएको भन्न नमिल्ने बताएका छन् ।

    आइतबार प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिंदै उनले विपक्षीले सरकारमाथि अनावश्यक आरोप लगाएको बताए । खासगरी प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति उनको आपत्ति छ ।

    ‘म आग्रह गर्न चाहन्छु- यो सरकार यो संसद्ले बनाएको हो । संविधान बमोजिम यो सरकार संसद्ले बनायो’, उनले भए । तर, यसलाई विपक्षी दलको नेता प्रचण्डले अनावश्यक आरोप लगाएको उनको भनाइ छ । अगाडि भन्छन्, ‘तर, संसद्ले बनाएको सरकारलाई उहाँ (प्रचण्ड)ले हरेक पटक बिचौलिया, दलाल, माफियाले बनाएको भन्नुभयो ।’

    यस्तो अभिव्यक्ति असंसदीय र अर्मयादित रहेको बर्तौलाले बताए । यो पूर्वाग्रहग्रसित अभिव्यक्ति भएको उनले बताए ।

    नीति तथा कार्यक्रम औपचारिक र कर्मकाण्डी मात्रै नरहेको उनको भनाइ छ । ११ वटा विषय फोकस गरेको बताए । संविधान कार्यान्वयन, संविधानको रक्षा लगायतका विषय रहेको बताए ।

    विगतमा भन्दा छोटो र मिठो रहेको उनले बताए । नीतस तथा कार्यक्रममा कमा र फुलिस्टपसमेत नफेरिने भनेर कतिपयले टिप्पणी गरेको भन्दै उनले जवाफ फर्काए, ‘सरकारले कमा र फुलिस्टप समेत चलाउन नपर्ने गरी ल्याएको छ । यस निम्ति सरकारलाई धन्यवाद भन्न चाहन्छु ।’

  • जेठ १५ गतेको आन्दोलनमा सहभागी हुन राजावादीको आह्वान

    जेठ १५ गतेको आन्दोलनमा सहभागी हुन राजावादीको आह्वान

      राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले आगामी जेठ १५ गते काठमाडौंमा हुने प्रदर्शनमा सहभागी हुन उपत्यका बाहिरका जनतालाई पनि आह्वान गर्ने निर्णय गरेको छ ।

    आइतबार समितिका संयोजक नवराज सुवेदीको संयोजकत्वमा बसेको बैठकले सो दिनको प्रदर्शनमा सहभागी हुन उपत्यका बाहिरका जनतालाई पनि आह्वान गर्ने निर्णय गरेको हो ।

    ‘जेठ १५ गतेको आन्दोलनमा सहभागी हुन काठमाडौं बाहिरका जनतालाई काठमाडौं आउन आह्वान गर्ने,’ आइतबारको बैठकले गरेको निर्णयमा भनिएको छ, ‘काठमार्डौका जनता र सबै वर्ग, पेशा र समुदायलाई सक्रिय सहभागीताका लागि आह्वान गर्ने ।’

     

  • सिलाई कटाई तालिम गरिब तथा विपन्न अवस्थाका उपभोक्ताहरुलाई 

    सिलाई कटाई तालिम गरिब तथा विपन्न अवस्थाका उपभोक्ताहरुलाई 

    रुकुम पश्चिम । रुकुम पश्चिमको एक सामुदायिक वन उपभोक्ता समुहले गरिब तथा विपन्न अवस्थाका उपभोक्ताहरुलाई सिलाई कटाई तालिम प्रदान गरेको छ ।

    जिल्लाको मुसिकोट नगरपालिका १ मा रहेको कैलदेउ सामुदायिक वन उपभोक्ता समुहले वन समुहमा आवद्ध गरिब तथा विपन्न उपभोक्तालाई ९० दिने सिलाई कटाई तालिम प्रदान गरेको हो । विपन्न अवस्थाका उपभोक्ताहरुको सीप विकास गरेर आयआर्जनको बाटोमा लगाउन ९० दिने तालिम प्रदान गरिएको वन समुहका अध्यक्ष मान सिं बुढाथोकीले जानकारी दिए । उनका अनुसार विपन्न अवस्थाका उपभोक्ताहरुको सीप विकास गरेर स्वरोजगारमार्फत आर्थिक अवस्था बलियो बनाउन तालिम सञ्चालन गरिएको हो । तालिममा १४ जना महिलाहरुको सहभागिता रहेको थियो । तालिमका लागि वन समुहले ६० हजार रुपियाँ खर्च गरेको जनाएको छ ।

    शुक्रबार एक कार्यक्रमका विच उक्त तालिम सम्पन्न गरिएको छ । वन समुहका अध्यक्ष बुढाथोकीको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा निमित्त डिभिजनल वन अधिकृत खड्कलाल नेपालीको प्रमुख आतिथ्यता रहेको थियो । उक्र कार्यक्रममा मुसिकोट सव डिभिजन कार्यालयका वन अधिकृत अनिसा पराजुली, मुसिकोट नगरपालिका वडा नम्वर १ का वडा सदस्य गणेश हमाल, वन रक्षकहरु रण बहादुर डाँगी, नेवबहादुर देवकोटा र बिरेन्द्र चौधरी लगायतको अतिथ्यता रहेको थियो । तालिम प्रभावकारी रहेको सहभागिहरुले जनाएका छन् । उनीहरुले तीन महिनासम्म सिकेको सीपलाई व्यवहारमा उतारेर आयआर्जनका लागि व्यवसाय समेत सञ्चालन गर्ने प्रतिक्रिया दिएका छन् ।

  • दलबहादुर कुँवर र कल्पना बुढालाई, छैटौं जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि

    दलबहादुर कुँवर र कल्पना बुढालाई, छैटौं जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि

    दलबहादुर कुँवर र कल्पना बुढाले छैटौं जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि जितेका छन् । ५१ किलोमिटर म्याराथन दुरी दलबहादुर कुँवरले ५ घण्टा ५३ मिनेट १७ सेकेण्डमा पूरा गरी उपाधि जितेका हुन् ।

    ६ घण्टा ७ मिनेट ५५ सेकेण्डमा दूरी पूरा गर्दै त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठ दोस्रो हुँदा ६ घण्टा १० मिनेट ४ सेकेन्डमा दूरी पूरा गरेका सोमबहादुर रावत तेस्रो भएका छन् । ७ घण्टा ५१ मिनेट ३२ सेकेण्डमा दूरी पूरा गरी कल्पना बुढा महिलातर्फ विजेता बनेकि छन्। दोस्रो भएकी राज्यलक्ष्मी रावलले ८ घण्टा ४८ मिनेट ४१ सेकेण्डमा पार गरेकि थिइन् ।

    तृतीय भएकी सन्दिभा बुढाले ८ घण्टा ४६ मिनेट २ सेकेण्डमा ५१ किलोमिटर दूरी पूरा गरेकि हुन् । कर्णाली स्पोर्टस क्लब जुम्लाको आयोजना सम्पन्न अल्ट्रा म्याराथनमा पुरुष र महिला दुवैतर्फको उपाधि विजेताले नगद १ लाख रुपियाँ प्रमाणपत्र र मेडल पुरस्कार पाए। दोस्रो र तेस्रो हुनेले क्रमशः ७५ हजार र ५० हजार रुपियाँ नगद, प्रमाणपत्र र मेडल पुरस्कार पाएका छन् । म्याराथन २ सय ३५० मिटर उचाइस्थित जुम्ला खलङ्गा बजारबाट सुरु भएर जुम्लाको सदरमुकाम खलङ्गाको बाल मन्दिरदेखि सुरु भएर चेरे, खाली, न्याउरी घाट, चौथा, डाब, चुचेमारा हुँदै रारा तालक्षेत्रको २ हजार ९ सय ८० मिटर उचाइमा पुगेर समापन भएको थियो । जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिमा अन्तिम आउने व्यक्ति साझ ७ बजेर २८ मिनेटमा फिनिसिङ्ग पोइन्टमा पुगेका थिए ।

    यस्तै १० किलोमिटरका पुरुषतर्फ प्रथम हरि बोहोरा भएका छन् भने दोस्रो दिपेन्द्र बुढा र तृतीय महेन्द्र कठायत भएका थिए । यस्तै महिलातर्फ प्रथम सङ्गीता बुढा, दोस्रो सुरेशा बुढा र तृतीय हिमाली भण्डारी भएकि छन् । यसैगरी क्रमशः प्रथम हुनेलाई १० हजार नगद, स्वर्ण पदक प्रमाणपत्र, द्वितीय हुनेलाई ६ हजार नगद, सिल्भर पदक प्रमाणपत्र र तृतीय हुनेलाई ४ हजार नगद, कास्य पदक प्रमाणपत्र प्रदान गरिएको छ। यता ५ किलोमिटर पुरुषतर्फ प्रथम पदमराज धिताल, दोस्रो नवीन चौधरी र तृतीय सरोज कटुवाल भएको आयोजक क्लबले जनाएको छ। यस्तै महिला तर्फ प्रथम विपना थारु, दोस्रो सुनिता हमला र तृतीय सुनिता शाही भएकी थिइन्। क्रमशः प्रथम हुनेलाई ५ हजार रुपियाँ, स्वर्ण पदक, प्रमाणपत्र द्वितीय हुनेलाई ३ हजार नगद, सिल्भर पदक प्रमाणपत्र, र तृतीय हुनेलाई २ हजार नगद, कास्य पदक प्रमाणपत्र प्रदान गरिएको थियो।

    यो वर्षको म्याराथनमा ५ सय ९१ जना धावक सहभागी थिए । अघिल्ला वर्षमा ४९ किलोमिटरमा भइरहेको थियो । जुम्ला रारा(अल्ट्रा म्याराथनमा ४ जना विदेशी खेलाडी सहभागी छन् । त्रिभुवन आर्मी क्लबबाट २ जना धावक सहभागी भएका छन् भने पोल्यान्ड, अमेरिका, फ्रान्स र भारतका १–१ जना गरेर ४ जना धावकले भाग लिएका हुन् । महअन्तर्गत ५ किलोमिटर र १० किलो मिटरको दौड भएको छ । ५ किलोमिटरमा १ सय ५५ जना र १० किलोमिटर दौडमा ३ सय ५५ जना खेलाडी सहभागी थिए । पाँचथर, काठमाडौं, नुवाकोट, चितवन, बाँके, सप्तरी लगायतका १० जिल्लाबाट खेलाडीहरू जुम्ला आइपुगेका छन्। म्याराथनमा देवीदत्त गण जुम्लाले स्वयंसेवकको भूमिका निभाएको थियो ।

  • राष्ट्रपति पौडेल कुलपूजा गर्न रिस्ती आउने 

    राष्ट्रपति पौडेल कुलपूजा गर्न रिस्ती आउने 

    राष्ट्रपति रामचन्द्र पौडेल सोमबार जन्मथलो व्यास नगरपालिका-८ रिस्ती आउने भएका छन् । कुलपूजाका लागि राष्ट्रपति पौडेल सिस्ती आउन लागेका हुन् ।

    सोमबार बिहान काठमाडौंबाट हेलिकप्टरमार्फत दमौली आउने र त्यसपछि गाडीबाट रिस्ती पुग्ने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

    राष्ट्रपतिको आगमनलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिले कुलपूजा स्थलको निरीक्षण गरिसकेको छ ।

    सुरक्षा व्यवस्थामा विभिन्न निकायका सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ ।

    स्थानीय बासिन्दाहरूले राष्ट्रपति पौडेलको आगमनको स्वागतका लागि तयारी गरेका छन् ।

    कुलपूजा कार्यक्रम सोमबार नै सम्पन्न हुने जनाइएको छ ।

  • कर्णालीका छोरी : प्रथाजनित गलत संस्कारको सिकार

    कर्णालीका छोरी : प्रथाजनित गलत संस्कारको सिकार

     कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा श्री ज्योति फाउण्डेशनले आयोजना गरेको ‘कर्णाली छोरी सम्मेलन’ को दोस्रो दिन आइतबार भेला भएका थिए कर्णालीका छोरीहरू । उनीहरू पहिलो पटक धक फुकाएर मनका कुरा खोले । कार्यक्रमको नामै थियो : कर्णालीका छोरीसँग मनका कुरा ।

    हुम्लाको ताजाकोट गाउँपालिकाकी सपना शाहीले अहिलसम्म आफ्ना मनका कुरा कसैलाई नसुनाउने गरेको बताइन्। ‘…मेरो मनका कुरा अरुलाई सुनाउ जस्तो पनि लाग्दैन । म आफ्ना मनका कुरा म आफैलाई सुनाउछु । मभित्र एउटा जनावर छ । हामी प्रत्येक भित्र एउटा जनावर छ । यसले हामीलाई गाइड गरेको हुन्छ,’ उनले भनिन् ‘जबसम्म हामीले यसलाई गाइड गर्दैनौ यसले हामीलाई सही मार्ग दिन सक्न । त्यसैले म सकारात्मक भावका साथ मेरा मनका कुरा म आफैँलाई सुनाउँछु ।’

    शाहीले महिनावारीका समयमा निकै कष्ट व्यहोर्नु परेको सुनाइन । शिक्षित समाजमा अझै पनि महिनावारी भएको समयमा गोठमा बस्नुपर्ने प्रथाजनित गलत संस्कारको सिकार बन्नु परेको उनले सुनाइन् । परिवार र समाजले स्वीकार्न नसक्दा महिनावारीको समयमा पशुसरहको विभेद खेप्नु परेको  शाहीले गुनासो गरिन् ।

    उत्तरी नाम्खा गाउँपालिकाकी लामु तामाङले भने आफ्नो मनभित्रको कुरा आमालाई सुनाउने गरेको सुनाइन् । ‘सर्वप्रथम आफ्नो मनको कुरा ममीसँग सेयर गर्छु । तर सबै कुरा सेयर गर्न सकिदैन । डिटेलमा सेयर त आफैसँग गर्छु । अहिलेसम्म अन्य साथीहरूसँग मनका सबै कुरा सेयर गर्दिनन् । मेरा मनका कुरा सबैले सुनिदिउन जस्तो पनि लाग्दैन,’ उनले भनिन् ।

    हुम्लाकै खार्पुनाथ गाउँपालिकाकी रश्मी परियार पनि छोरी सम्मेलनमा आफ्ना कुरा सुनाउन आएकी थिइन्। उनले आफूलाई समाजबाट जातकै कारण भोग्नु परेको विभेदले पिरोल्ने गरेको सुनाइन् ।

    ‘हाम्रो गाउँमा जातीय छुवाछूत निकै छ । मान्छे मरेपछि तिमीहरू तल्लो जातले छुनु हुँदैन भन्छन् । हामी जस्ता गरिबलाई हेपिन्छ,’ उनले भनिन् । आफूहरूलाई जातकै आधारमा विभेद गरिदा अपहेलित हुनुपरेको दुखेसो परियारको छ । जातीय विभेद आफूलाई मन नपर्ने उल्लेख गर्दै उनले नाम पछाडिको थरले जतातै विभेद भोग्नु परेको गुनासो गरिन । उनले पनि महिनावारीको विभेदबाट थिचिएको अनुभुति सुनाइन्।

    हाम्रो गाउँमा जातीय छुवाछूत निकै छ । मान्छे मरेपछि तिमीहरू तल्लो जातले छुनु हुँदैन भन्छन् । हामी जस्ता गरिबलाई हेपिन्छ-रश्मी परियार, कर्णाली

    सर्केगाड गाउँपालिकाकी आस्था शाहीको मनमा महिनावारी गहिरो गरी बसेको छ । महिनावारी नियमित प्रक्रिया हो भन्ने त उनलाई थाहा छ, तर परिवार र समाजको स्वीकार्यका अघि उनको डेग चलेको छैन ।  उनलाई आफ्ना बाबु आमाबाट टाढा भएर शिक्षा लिनु बाध्यता पटक्कै मन परेको छैन । परिवारसँगै बसेर शिक्षा लिन नपाउने अवस्थाले निकै पिरोल्ने गरेको अुनभूति शाहीको छ । आफ्ना परिवारसँगै बसेर उच्च शिक्षा लिन पाए हुन्थ्यो भन्ने उनको मनमा लाग्छ ।

    ‘विकास हरेक सूचकाङ्कमा पछाडि परेको हुम्ला । पढाइ राम्रो हुँदैन । तीन चार महिना मात्रै पढ्न पाइन्छ । एसईई पास भएपछि सदरमुकाम आउदा पढ्न निकै समस्या हुन्छ । गाउँको पढाइ र सदरमुकाम (शहर)को पढाइमा निकै फरक हुन्छ,’ उनले भनिन् । एसईई सकेपछि सयमा ९० प्रतिशत विद्यार्थी घर छाडेर शहर जान बाध्य हुनुपरेको उनले बताइन्।

    ‘आफ्ना बाबुआमालाई छोड्दा बुवाआमालाई एकातिर दुख, छोरा-छोरीलाई उता दु:ख । मेरो छोरा/छोरी पढ्छन्, प्रगति गर्छ भन्ने आशमा बुवाआमाले आँखामा आशु निकालेर सहर पठाउछन् । तर बिडम्बना हामी गाउँका सरकारी विद्यालयमा पढ्छौ, त्यहाँको पढाइ र यहाँको पढाइमा आकाश पाताल फरक हुन्छ । सरकारी विद्यालयमा हामीलाई अंग्रेजीको आधारभूत सिपसमेत हुँदैन । यता आयो हामीलाई बुझ्नै गाह्रो हुन्छ । यसले हामीलाई निकै समस्या हुने गरेको छ । कहाँ पढ्ने ? कसरी पढ्ने ? भन्नेमा अन्योल हुन्छ,’ शाहीले आफ्ना मनका कुरा व्यक्त गर्दै भनिन् ।

    यस्तै, सिमिकोट गाउँपालिकाकी सञ्चिता भण्डारीले बालविवाहका कारण कयौँ छोरीहरूको भविष्य अन्धकारमा धकेलिने अवस्था रेहेको सुनाइन्। उनीहरू मात्रै होइन ‘छोरीका मनका कुरा’ शत्रमा सहभागी हुम्लाका आठै जना किशोरीका भित्रि मनका कुरा एकै खालका थिए । उनीहरूको साँझा समस्या भनेकै बालविवाह र छोरीमाथिको चरम विभेदले कर्णालीमा छोरीहरू अझै असुरक्षित नै छन् भन्‍ने थियो ।

    शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासको अभावले उनीहरू राज्यका आधारभूत सेवाबाट बञ्चित थिए नै, प्रथाजनित हानिकारक सामाजिक संस्कारको शिकारसमेत बनेको तितो यथार्थबाट गुज्रिरहेका छन् । २१औं शताब्दीको यो शिक्षित समाजमा अझै पनि कर्णालीका छोरीहरू जातीय विभेद र छाउपडी प्रथाविरुद्ध संघर्ष गर्नुपर्ने बाध्यतामा छन् ।

    उक्त सत्रमा हुम्लाको अदानचुली गाउँपालिकाका सविना विष्ट, सर्केगाड गाउँपालिकाका आस्था शाही, सर्केगाड गाउँपालिकाकै नविना शाही, चंखेली गाउँपालिका भावना शाही, ताजाकोट गाउँपालिकाका सपना शाही, खार्पुनाथ गाउँपालिकाका रश्मी परियार र नाम्खा गाउँपालिकाका लामु तामाङ आफ्ना मनका कुरा सुनाउन प्रदेशको मुकाम वीरेन्द्रनगर झरेका थिए ।

    श्री ज्योति फाउण्डेशन र कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आयोजनामा शनिबारदेखि छोरी सम्मेलन जारी छ । कर्णालीमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा कर्णालीका ७९ वटै पालिकाकाबाट झण्डै दुई दर्जनबढी छोरीहरू सहभागी छन् ।

  • मार्सी चामल व्यापकै चर्चित छ, मैले पनि चाखेको छु : प्रधानमन्त्री

    मार्सी चामल व्यापकै चर्चित छ, मैले पनि चाखेको छु : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा कर्णालीको मार्सी चामलको चर्चा गरेका छन् ।

    आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिन रोस्ट्रममा पुगेका प्रधानमन्त्री ओलीले मार्सी चामलको चर्चा गरेका हुन् ।

    उनले आफूले पनि मार्सी चामल खाएको र त्यसले चर्चा पाएको पनि बताए ।

    ‘चन्दननाथमा एयरपोर्ट नै छ । अगाडिदेखि त्यहाँ सन्त चन्दनाथले मार्सी चामल ल्याएर अहिले मार्सी चामल व्यापकै रुपमा चर्चित पनि छ,’ प्रधानमन्त्री ओलीले भने, ‘कर्णाली, जुम्लाको मार्सी चामल । मैले पनि कर्णालीको मार्सी चामल चाखेको कुरा यहाँहरूलाई जानकारी नै छ ।’

    प्रधानमन्त्री ओलीले मार्सीबारे संसद्‌मा आफ्ना कुरा राख्दैगर्दा हाँसाको फोहोरा छुटेको थियो ।

    नेकपाकालिन बेलामा प्रधानमन्त्री ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विवादित व्यवसायी दुर्गा प्रसाईंसँगै बसेर मार्सी चामलको भात खाएको तस्वीर बाहिरिएको थियो ।
    उक्त तस्वीरबारे अहिले पनि बेला बेलामा चर्चा हुने गरेको छ ।

    त्यस्तै, उनले कर्णालीमा केही भएको छैन भन्नु ठिक नभएको जिकिर गरे ।

    ‘आज कर्णाली कसैलाई मन लागेर केही पनि भएको छैन भन्नु बेग्लै कुरा हो । म दर्जनौं कुरा यहीँबाट ठूला ठूला कुरा भन्न सक्छु,’ प्रधानमन्त्री ओलीले भने, ‘र, कर्णालीमा यार्सागुम्बा मात्रै होइन, गुछि च्याउजस्ता, ताप्लेजुङदेखि हुम्लासम्म गुछि च्याउ पाइन्छ ।’

  • ‘आमामाथि भएको विभेदले मलाई विद्रोही बनायो’

    ‘आमामाथि भएको विभेदले मलाई विद्रोही बनायो’

    कर्णालीका बिभिन्न जिल्लामा जन्मिएर यहीको राजनीतिमा जमेका राजनीतिकर्मी महिलाहरूले राजनीतिमा कर्णालीका छोरीहरूले जमेर बहस गरेका छन् । श्री ज्योति फाउन्डेसन र कर्णालीको सामाजिक विकास मन्त्रालयको संयुक्त आयोजनामा उनीहरूले यो बहस गरेका हुन् ।

    शनिबारदेखि सुर्खेतमा सुरू भएको कार्यक्रममा नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्य कान्तिका सेजुवालले आफ्नो राजनीतिक यात्राको बारेमा बताएकी छिन् । उनले सबैका लागि शिक्षाको नारा कर्णालीका छोरीहरूको हकमा लागू हुन नसकेको बताइन । तर उनले आफूले भने पढ्न पाएको र त्यसैका कारण राजनीतिमा स्थापित हुन सकेको बताइन ।

    ‘मैले बच्चा जन्मिसकेपछि १० कक्षा पास गरेको हूँ । झोला हुन्थेन । हातमा किताब समात्दै हुर्केको, पढेको हो । मेरो बुबा, आमा, श्रीमान, जेठाजुको प्रेरणाले नै पढ्न पाएको हो । मैले पढ्दा खासै कर्णालीमा छोरीहरु पढ्दैनथे सायद,’ उनले भनिन्, ‘विकासको मुख्य मेरुदण्ड भनेको शिक्षा हो । चेतनाको विकास हो ।’

    कार्यक्रममा राप्रपा नेता कुन्ति शाहीले पोथि बास्यो भने अनिष्ट हुन्न्छ भन्ने समाजमा हुर्किएका कारण आफूहरूलाई राजनीतिमा स्थापित हुन् संघर्ष गर्न परेको बताइन । ‘इगो राखेर अध्ययन गरियो, स्कुलमा पनि । मेरो लक्ष्य थियो, वकिल बन्ने । म अहिले पनि वकालत गर्छु,’ उनले भनिन्, ‘तर परिस्थितीले राजनीतिज्ञ बनियो । मेरो बुझाइ राजनीति सेवा हो भन्ने सिकाई थियो, अहिलेका जस्तो पैँसा कमाउन राजनीति गर्नुपर्छ भन्ने कुरा सिकाइएन ।’

    नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष विमला केसीले समाजमा केही परिवर्तन गर्न सकिन्छ भनेर राजनीतिमा आएको बताईन । ‘आमामाथि गरिएको विभेदले मलाई विद्रोही बनायो । त्यसको समाधान राजनीतिमा देखें । ०४६ सालको बहुदलपछि राजनीतिमा लागें,’ उनले भनिन्, ‘१७ वर्षको उमेरमा जनयुद्धमा होलटाइमर भएँ । मर्नकै लागि हामी हिँडेको हो, संयोगले नाफाको जिन्दगी बाँचेको हो ।’

    उनले महिलाले परिवार, पार्टी सबै एकै पटक चलाउन सक्छन् भन्ने विश्वासका कारण राजनीतिमा लागेको उनले बताइन ।

    ‘म भन्छु कर्णालीका छोरीहरु असक्षम छैनन्, यहाँका महिलाहरु सक्षम छन्, भर्जिन् छन्, नयाँ तरिकाले सोच, चिन्तन गर्न सक्छन् । हामीले धेरै गरेर देखाउन सक्नुपर्छ,’ उनले भनिन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायतले बाबु आमाकै असहयोगका कारण विद्रोही भएर आफू राजनीतिमा लागेको बताइन ।

    ‘मलाई फिल्म निर्देशक बन्न मन थियो । तर समाजमा विनिताले अन्य महिला पनि बिगार्ने भइ भन्न थाले । तर मैले आफै मेहनत गरें । म संघर्ष गर्न सक्छु भनेर बिजनेश गर्न मन लाग्यो,’ उनले भनिन् ‘अलिकति सम्पत्ति दिनु न भन्दा आमाले दुई छोरा छन् भन्नुभयो । मैले कन्भिन्स् गर्न खोजें । अनि कानुन पल्टाएर उहाँहरुलाई यो हेर्नुहोस् मेरो देशले मलाई दिएको कानुन । मेरोअ धिकार हो । मलाई दिनुहोस् भनेर परिवारसँग लडें ।’

    नेकपा एकीकृत समाजवादीका नेता कल्याणी खड्काले कर्णालीको छोरीहरुको परिवर्तनका लागि एउटा नीति बनाएरनै अघि बढ्नुपर्ने बताइन । ‘कर्णाली सरकारले शिक्षालाई प्राथमिकतामा राख्नुपर्छ,’ उनले भनिन्, ‘त्यसमा पनि छोरीहरुको मानव संशाधनलाई विकास गर्ने नीतिसहितको बजेट व्यवस्थापन गरी कार्यान्वयन गर्न आवश्यक छ ।