२०८३ जेठ ४ , सोमबार

चीन र अमेरिकाबीच एक अर्कामाथि लगाएको भन्सार ११५ प्रतिशतले घटाउने सहमति



 चीन र संयुक्त राज्य अमेरिका (अमेरिका) बीच व्यापारिक तनाव कम गर्ने प्रयासस्वरूप दुई देशले एक अर्कामाथि लगाइएको भन्सार महसुलमा ११५ प्रतिशतले कटौती गर्ने सहमति गरेका छन्।

बिगत केही वर्षदेखि जारी व्यापार युद्धका कारण दुवै मुलुकले अर्बौं डलर बराबरका वस्तुहरूमाथि उच्च भन्सार शुल्क लगाउँदै आएका थिए। यसले विश्व व्यापारमा समेत प्रतिकूल असर पारेको थियो। यद्यपि, पछिल्लो चरणमा भएका वार्ताहरू सकारात्मक दिशामा अघि बढ्दै गएपछि दुवै देशले आपसी व्यापार सहज बनाउनका लागि सहमति जनाएका हुन्।

सोमबार वार्तापछि संयुक्त वक्तव्य जारी गरिएको छ।

वक्तव्यअनुसार हाल दुवै देशले एक अर्कामाथि लगाएको उच्च भन्सार ९० दिनसम्मका लागि रोक्ने निर्णय भएको छ।

अमेरिकाले चीनमाथि लगाएको १४५ प्रतिशत घटाएर ३० प्रतिशतमा झार्ने र चीनले अमेरिकामाथि लगाएको १२५ प्रतिशतबाट १० प्रतिशतमा झार्ने सहमति भएको अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले जनाएको छ।

चीनको वाणिज्य मन्त्रालय र अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले संयुक्त वक्तव्य जारी गर्दै आगामी तीन महिनाभित्र अधिकांश उच्च शुल्क हटाउने तथा केही मुख्य वस्तुहरूको भन्सार ११५ प्रतिशतले घटाउने निर्णय भएको जनाएका छन्।

यस सहमतिपछि दुबै देशका प्रमुख उद्योगहरू—जस्तै प्रविधि, कृषि, गाडी, र लुगा कपडाको व्यापारमा राहत आउने अपेक्षा गरिएको छ। विश्लेषकहरूका अनुसार यस कदमले विश्व अर्थतन्त्रमा सकारात्मक संकेत दिनेछ र अन्य मुलुकहरूलाई पनि व्यापारिक सम्बन्ध सुधार गर्न प्रेरणा मिल्नेछ।

व्यापार सम्झौताको विस्तृत कार्यान्वयन प्रक्रिया आगामी महिनाहरूमा सार्वजनिक गरिने बताइएको छ।

प्रकाशित मिति : २०८२ वैशाख २९ गते सोमबार