Blog

  • सुर्खेतमा विषादी तरकारीको परीक्षणमा तिव्रता, १४८६ नमूना परीक्षण

    सुर्खेतमा विषादी तरकारीको परीक्षणमा तिव्रता, १४८६ नमूना परीक्षण

     वीरेन्द्रनगरमा भित्रने र जिल्ला भित्रै उत्पादन हुने तरकारीमा भएको विषादी परीक्षणलाई तिव्रता दिएको छ । कृषि थोक बजार वीरेन्द्रनगरमा व्यवसायीलाई भित्राइरहेको तरकारीमा अत्यधिक विषादी देखिन थालेपछि परीक्षणको दायरालाई बढाइएको हो ।

    कृषि थोक बजारमा स्थापना भएको केन्द्रीय विषादी द्रुत विश्लेषण एकाइले हालसम्म गरेको नमूना परीक्षणमध्य नौ ओटा तरकारीहरुमा अत्यधिक विषादी प्रयोग भएको भन्दै नष्ट गरिएकाे छ ।

    कार्तिक २०८१ मा स्थापना भएको एकाइले हालसम्म १४८६ नमूना परीक्षण गरिसकेको केन्द्रीय विषादी द्रुत विश्लेषण एकाइका प्रमुख धनसिंह धामीले  जानकारी दिए ।

    उनकाअनुसार यीमध्य आठ ओटा नमूनाहरु केही समय तरकारी क्वारेन्टाइनमा राखेर पुनः प्रयोग गर्न सकिने सिफारिस गरेको छ । वीरेन्द्रनगर नगरपालिकाको कृषि शाखा र एकाइले संयुक्त बजार अनुगमन गरेर तरकारीमा विषादी भए नभएको परीक्षणलाई तिव्रता दिन थालेको छ ।

    पछिल्लो एक महिनामा सल्यानबाट ल्याइएको काउली, दाङको टमाटर र सुर्खेत भित्रै उत्पादन भएको काँक्रामा खानै नमिल्ने विषादी अत्यधिक देखिएको पुष्टि भएको छ ।

    यहीँ बैशाख ८ गते सल्यानबाट ल्याइएको नौ कुण्डल काउली, सुर्खेतको झुप्राको झण्डै एक कुण्डल काँक्रा र दाङको टमाटर पाँच कुण्डल नष्ट गरिएको वीरेन्द्रनगर नगरपालिकाका कृषि शाखा प्रमुख हेमराज केसीले जानकारी दिए ।

    काउलीमा ९९, काक्रामा ५३ र टमाटरमा ६१ प्रतिशत अर्गानोफस्फेट नामक विषादी अत्यधिक भेटिएको उनले बताए । उनकाअनुसार वीरेन्द्रनगरमा भित्रिएकाे भारत र नेपालका विभिन्न ठाउँबाट ल्याइएकाे तरकारीहरूकाे नियमित रूपमा परीक्षणलाइ ब्यापकता दिनेगरी एकाइसँग समन्वय गरेर काम भइरहेकाे छ ।

    सल्यानबाट ल्याइएकाे काउली (बाँया) र सुर्खेत तथा दाङकाे टमाटर (दायाँ)मा सर्वाधिक विषादी देखिएपछि नष्ट गरिँदै ।

    ‘विषादी सर्वाधिक भेटिएको तरकारी खान मिल्दैन,’ एकाइका प्रमुख धामी भन्छन्, ‘हाम्रो प्रयोगशालामा कार्बामेट र अर्गानोफस्फेट विषादीको कति प्रयोग भइरहेको छ भन्ने परीक्षण हुन्छ । सुर्खेत भित्रै र बाहिरबाट सुर्खेत भित्रने तरकारीमा यी दुई विषादीको प्रयोग सर्वाधिक भेटिने गरेको छ ।’

    कुनै पनि तरकारीमा ३५ प्रतिशतभन्दा कम विषादी भेटिएमा उपभोग गर्न मिल्ने र ३५ देखि ४५ प्रतिशत विषादी भेटिएमा केही दिन तरकारी क्वारेन्टाइनमा राखेर पुनः उपभोग गर्न मिल्छ ।

    एकाइले नष्ट गर्न सिफारिस गरेका तरकारीहरुमा ४५ प्रतिशतभन्दा बढी नै विषादी भेटिने गरेको छ । ४५ प्रतिशत माथि विषादी भएको पुष्टि भएमा तत्कालै नष्ट गर्नुपर्ने हुन्छ ।

    ‘मानव स्वास्थ्य, प्रकृति र वातावरणमा रासायनिक विषादीको हानिकारक असरका बारेमा कृषक, आमजनमानस उपभोक्ता, विषादी विक्रेता सबैमा व्यापक जनचेतना वृद्धि गर्नु आवश्यक छ,’ वीरेन्द्रनगर नगरपालिकाका कृषि शाखा प्रमुख केसी भन्छन्, ‘आमकृषक उत्पादक मात्र नभई उपभोक्ता पनि हुन् । कृषकलाई कृषक पाठशाला, कृषक दिवस, तालिम, परीक्षण पद्धति, सञ्चार माध्यमको प्रयोग, सूचना प्रविधिको व्यापक उपयोग गरी सुसूचित गराउन जस्ता अभियानहरु सञ्चालन गर्दा पनि विषादी प्रयोग गर्नेको संख्या बढीरहेको छ । यो चिन्ताको विषय हो ।’

    रासायनिक विषादिले जनस्वास्थ्यमा गम्भीर असर पुयाउने भएकाले यसको प्रयोग न्यूनीकरण अभियान नै थाले पनि उल्लेखनिय उपलव्धि हासिल गर्न नसकिएको उनी बताउँछन् ।

    तिनकुने हाट बजारको तरकारी परीक्षण
    वीरेन्द्रनगर नगरपालिका १० मा पर्ने तिनकुने चोकमा कृषकहरुले विक्री गर्दै आएको तरकारीसमेत शनिवार नमूना परीक्षण गरिएको छ । घुस्रा क्षेत्रमा उत्पादित तरकारीहरु कृषकहरुले विहान तिनकुने चोकमा बसेर विक्री गर्ने गरेका छन् ।

    कृषकहरुले विक्री गर्दै आएको तरकारीमा विषादी भए नभएको र सचेतना फैलाउने उदेश्यले तरकारीको नमूना लिएर परीक्षण गरिएको हो । नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालसहितको अनुगमन टोलीले लिएको परीक्षणमा सबै तरकारी खान मिल्ने रहेको देखिएको छ ।

    काक्रा, भिण्डी, बोडी, गोलभेडा, फर्सी, धनिया, तितेकरेला, लौका सिमी र आलुको नमूना परीक्षण गर्दा सबै उपभोग गर्न मिल्ने रहेको एकाइका प्रमुख धामीले जानकारी दिए ।(नेपालकम)

  • दुई तिहाइको सरकार भिजेको बिरालो जस्तो बन्यो, आफैं ढल्छ : प्रचण्ड

    दुई तिहाइको सरकार भिजेको बिरालो जस्तो बन्यो, आफैं ढल्छ : प्रचण्ड

     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार आफ्नै कुकर्मको बोझले ढल्ने दाबी गरेका छन् । तर, आफूहरू अहिले सरकार ढाल्ने हतारोमा नरहेको उनको भनाइ थियो । पार्टीको पाँचथर जिल्ला कमिटीले फिदिम बजारमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् ।

    ‘यो सरकार आफ्नै कुकर्मको बोझले ढल्नेछ । ढल्छ । हामी सरकार ढाल्ने हतारोमा छैनौं । अहिले जनतासँगै छौं,’ प्रचण्डको भनाइ छ ।

    अबको निर्वाचनमा आफ्नो पार्टी कसैको वैशाखी टेकेर सहभागी नहुने उनले दोहोर्‍याए । ‘अब यी बुर्जुवाहरूको वैशाखी टेकेर चुनावमा गइने छैन । हामी आफ्नै तागतमा फेरि ०६४ मा जस्तै चुनावमा जानेछौं,’ प्रचण्डले भने ।

    उनले पार्टी र आफ्नाविरुद्ध विभिन्न भ्रम छर्ने प्रयास भइरहेको भन्दै त्यस्ता भ्रममा नपर्न नेता कार्यकर्तालाई अनुरोध गरे । ‘कतिपय बेला विभिन्न भ्रम छर्न खोजिन्छ, त्यो भ्रममा नपर्नुहोला,’ प्रचण्डले कार्यकर्तालाई भनेका छन् ।

    उनले अहिलेको दुई तिहाइ सरकार भिजेको बिरालोको हालतमा रहेको टिप्पणी पनि गरे ।

    ‘दुई तिहाइ सरकारको भिजेको बिरालोको हालत हामीले देखिरहेका छौं । राम्रो काम एउटा पनि गर्न सकेको छैन । नराम्रो काम मात्रै भइरहेको छ,’ प्रचण्डले भने ।

  • देशलाई कंगाल बनाउने नै राजाहरू हुन् : प्रधानमन्त्री

    देशलाई कंगाल बनाउने नै राजाहरू हुन् : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले राजाहरूले देशलाई कंगाल बनाएको आरोप लगाएका छन् ।

    शनिबार काठमाडौंमा दोस्रो राष्ट्रिय वन संवद्र्धन गोष्ठीलाई सम्बोधन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै देशलाई आजको जमानासम्म गरिबी बनाएर राख्नेहरूले ‘हामी आउँछौँ, साथ देउ भनिरहेको देख्दा अचम्म लागेको’ टिप्पणी गरे ।

    ‘अचम्म त के भनेः यो देशलाई यसरी आजको जमानासम्म गरिब बनाएर ल्याउनेहरू फेरि हामी नभइ भएन, हामी आउँछौँ, साथ देउ, भनेर लाजै मान्दैन । यो देश कंगाल बनाउने त यिनीहरू हुन् त,’ उनले भने, ‘अहिले यत्रो विकास, यो ३० वर्षमा यति विकास गरेको छ । तथ्यांक, आँकडाले बताउँछ । मान्छे नहुँदा जंगलमा मुलुक थियो होला । त्यसपछि के भयो ? हामी देश बनाउनै पर्छ, देशलाई विकसित बनाउनै पर्छ ।’

    देशलाई विकसित, बस्न लायकको बनाउनैपर्ने उनको भनाइ थियो ।

    ‘देशलाई बस्न लायकको बनाउनुपर्छ, वातावरणीय हिसावले हेर्नुस्, हिमाल, पहाड छन्,यस्तो स्वच्छ, पवित्र छ । यो त देवभूमि हो । यस्तो ठाउँ, अक्सिजन नै अक्सिजन भएको ठाउँ छ । यस्तो देशमा फोक्साको व्यापारी ? कहाँबाट आयो यो फोक्साको व्यापारी नेपालमा,’ प्रधानमन्त्री ओलीले भने ।
  • नेपालले बहराइनलाई ९ विकेटले पराजित

    नेपालले बहराइनलाई ९ विकेटले पराजित

     आइसीसी महिला -टी २० विश्वकप महिला एसिया छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले बहराइनलाई ९ विकेटले पराजित गरेको छ। ५ ओभरको खेलमा बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४ बल बाँकी हूँदै १ विकेट गुमाएर जित हासिल गरेको हो।

    वर्षाका कारण ५-५ ओभरमा घटाइएको खेलको टस जितेर पहिलो ब्याटिङको गरेको बहराइनले १ विकेट गुमाएर ४१ रन जोड्यो । बहराइनका लागि दिपिका रसंगिकाले १३ बलमा ३४ रन बनाएर अविजित रहिन्। उनले ६ चौका र १ छक्का प्रहार गरिन्।

    त्यसअघि नेपाल र हङकङबिचको पहिलो खेल वर्षाले रद्द भएको थियो। समूहका २ टोलीले एक आपसमा २-२ खेल खेलेपछि शीर्ष टोली अर्को चरणमा पुग्ने प्रावधान रहेको छ।

  • पाकिस्तानी आक्रमणबाट पाँच भारतीय नागरिकको मृत्यु

    पाकिस्तानी आक्रमणबाट पाँच भारतीय नागरिकको मृत्यु

    भारतका विभिन्न स्थानमा पाकिस्तानी आक्रमणबाट पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

    भारतीय संचार माध्यमहरुका अनुसार मानव बसोबास भएका विभिन्न सहरमा गरिएको मिसाइल तथा ड्रोन आक्रमणमा दुई वर्षीय बच्चासहित पाँचजना मारिएका बताएको छ । तीनजना घाइते भएको समाचारमा उल्लेख छ ।

    भारत नियन्त्रित जम्मू र कश्मीरको एक जिल्ला प्रमुख राजकुमार थापासहित अन्य स्थानीय पाकिस्तानी सेनाले पुँछ र जम्मू जिल्लामा गरेको गोलाबारीमा मारिएको जनाइएको छ ।

    पुँछ जिल्लाको कांगा-गल्हुट्टा गाउँमा मोर्टार आक्रमणमा परेर ५५ वर्षीया महिला मारिएकी छन् । जम्मू जिल्लाको आरएस पुरा सेक्टरस्थित बिदिपुर जट्टा गाउँका एक नागरिक पनि मारिएको बताइएको छ ।

  • विदुुषी योगमाया आयुुर्वेद विश्वविद्यालयका पदाधिकारीको शपथ

    विदुुषी योगमाया आयुुर्वेद विश्वविद्यालयका पदाधिकारीको शपथ

     प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विदुुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका नवनियुक्त पदाधिकारीहरूको पद तथा गोपनीयताको शपथ भएको छ ।

    प्रधानमन्त्री निवास, बालुुवाटारमा आज आयोजित कार्यक्रममा विश्वविद्यालयका अध्यक्ष डा अर्जुुन कार्की, कुुलपति प्रा डा रमेशकुमार ढुंगेल र रजिष्ट्रार डा डम्बरध्वज चेम्जोङले शपथ लिएका हुन् ।

    नयाँ कानुनी व्यवस्थानुुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्तले अध्यक्ष कार्कीलाई, अध्यक्ष कार्कीले कुलपति ढुंगेललाई र कुलपति ढुंगेलले रजिष्ट्रार चेम्जोङलाई शपथ दिलाएका हुन् ।

    कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का, शिक्षा मन्न्त्रालयका सचिव डा दिपक काफ्लेलगायत उपस्थित थिए ।

  • भारत-पाकिस्तान तनाव : भारतले ५ दिनका लागि बन्द गर्‍यो ३२ विमानस्थल

    भारत-पाकिस्तान तनाव : भारतले ५ दिनका लागि बन्द गर्‍यो ३२ विमानस्थल

    भारतका ३२ वटा विमानस्थल अस्थायी रुपमा बन्द गरिएको छ । भारत-पाकिस्तान लडाइँ सुरु भएसँगै उत्तरी र पश्चिमी भारतका ३२ वटा विमानस्थल बन्द गरिएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् ।

    भारतको विमानस्थल प्राधिकरण र सम्बन्धित हवाई निकायहरूले सूचना जारी गर्दै विमानस्थल बन्द गरिएको बताएका छन् ।

    द हिन्दु डटकमका अनुसार यी विमानस्थलहरूबाट हुने सबै नागरिक उडानहरू मे १५ को बिहान ५:२९ बजेसम्मका लागि बन्द हुनेछन् ।

    शनिबार बिहान पाकिस्तानले पनि सबै प्रकारका हवाई उडानका लागि आफ्नो आकाशमार्ग बन्द गरिएको घोषणा गरेको छ । यो बन्द शनिबार अपराह्न ४ बजेसम्मका लागि मात्रै हो ।

    भारतले सुरु गरेको ‘अपरेशन सिन्दूर’विरुद्ध पाकिस्तानले पनि जवाफी कारबाही सुरु गरेपछि जम्मु-कश्मीको सीमा क्षेत्र तनावग्रस्ता बनेको छ ।

    शुक्रबार रातिदेखि पाकिस्तानले जवाफी कारबाही जारी राखेको छ । त्यस क्रममा जम्मु-कश्मीरका एक उच्च अधिकारीको मृत्यु भएको भारतको दाबी छ ।

    पाकिस्तानले हवाई सेना र मिसाइल भण्डारण क्षेत्रलाई निशाना बनाएर आक्रमण सुरु गरेको छ । जवाफी कारबाहीलाई पाकिस्तानले ‘बुनयान-उल-मर्सुस’ अपरेशन भनेको छ ।(अनलाइनखबर)

  • राष्ट्रपति पौडेल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता

    राष्ट्रपति पौडेल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता

     राष्ट्रपति रामचन्द्र पौडेल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच शुक्रबार भेटवार्ता भएको छ ।

    राष्ट्रपति निवासमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा  छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

    भेटका विषयमा थप खुलाइएको छैन । यद्यपि आन्तरिक राजनीति तरंगित भइरहेका बेला भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

  • भारत सरकारको आदेशमा एक्सले ८ हजार बढी खाता ब्लक गर्ने

    भारत सरकारको आदेशमा एक्सले ८ हजार बढी खाता ब्लक गर्ने

     भारत सरकारको निर्देशनअनुसार सोसल मिडिया प्लेटफर्म एक्सले भारतमा सञ्चालित ८ हजारभन्दा बढी खाताहरूमा सम्बन्धित व्यक्तिको पहुँच रोक्ने घोषणा गरेको छ।

    सरकारले पाकिस्तानसम्बन्धी सामग्रीहरूमाथि निगरानी कडा पार्दै यो नयाँ कदम उठाइएको हो।

    एक्सको ग्लोबल गभर्नमेन्ट अफेयर्स टिमले जारी गरेको विज्ञप्तिमा यसबारे जानकारी दिइएको छ । ‘भारत सरकारबाट कार्यकारी आदेश प्राप्त भएको छ जसअनुसार भारतमा ८,००० भन्दा बढी खाताहरू ब्लक गर्न भनिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो आदेश पालना नगरेमा प्लेटफर्मका स्थानीय कर्मचारीलाई गम्भीर जरिवाना वा जेल सजायको जोखिम छ।’

    एक्सका अनुसार भारत सरकारको आदेशमा केही अन्तर्राष्ट्रिय समाचार संस्था र समाजका प्रतिष्ठित प्रयोगकर्ताहरू पनि समावेश छन् । यद्यपि एक्सले ब्लक गरिएका खाताहरू बारे जानकारी सार्वजनिक गरेको छैन ।

    भारतीय सरकारले कुन–कुन पोस्टले कानुन उल्लङ्घन गर्‍यो भन्ने स्पष्ट आधार पेस नगरेको एक्सले स्पष्ट पारेको छ ।

    भारत सरकारको आदेश माने पनि एक्सले यो कदममा फरक मत राखेको छ । ‘सम्पूर्ण खाताहरू ब्लक गर्नु अनावश्यक मात्र होइन, यो अभिव्यक्ति स्वतन्त्रताको उल्लंघन हो,’ एक्सले भनेको छ ।

    एक्सले यो निर्णय सहज नभए पनि भारतमा एक्स सञ्चालन गरिराख्नका लागि एक्स बाध्य भएको स्पष्ट पारेको छ । ‘भारतमा एक्स सक्रिय राख्नु नागरिकको सूचना पहुँचको अधिकारका लागि आवश्यक’ भएकोले यस्तो कदम चालिएको एक्सले जनाएको छ ।

    विहीबार मात्र इन्टाग्राम सञ्चालक संस्था मेटाले भारत सरकारको माग अनुसार एक प्रमुख मुस्लिम समाचार पृष्ठ भारतीय प्रयोगकर्ताहरूका लागि बन्द गरेको थियो ।