सम्भावना कम बढ्ता चुनौती झेलेका कर्णालीका खेलाडी छोरी !

 जाजरकोटकी कामना विष्ट भलिबल खेलाडी हुन् । उनले प्रदेश हुँदै राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका ठुला भलिबल प्रतियोगितामा सहभागिता जनाएर कर्णालीको नाम रोशन गरिरहेकी छन् ।

जाजरकोटको खलंगा स्थायी घर भएकी विष्टको परिवारका धेरै जसो सदस्यहरु विभिन्न विद्या अन्तर्गतका खेलका खेलाडी छन् । यसै कारणले पनि उनलाई भलिबल खेलाडी बन्न सहज भयो । जाजरकोटबाट सुरु भएको उनको खेल यात्रा विभागिय टिम नेपाल पुलिस क्लवमा आवद्धभएपछि निखारिएको छ । शनिबारदेखि वीरेन्द्रनगरमा तेस्रो दिनमा जारी श्री ज्योति फाउण्डेशनद्वारा आयोजित ‘कर्णालीका खेलाडी छोरी’ सत्रमा विष्ट आफ्ना खेल जीवनका अनुभव सुनाउन उपस्थित थिइन । सानै उमेरको रुचिले खेल क्षेत्रमा लागेकी उनलाई यहीँ क्षेत्रमा खेलसँगै आफ्नो भविष्य उज्जवल बनाउन भने निकै चुनौती झेल्नुु परेको छ । ‘स्कुलदेखि नै खेल खेल्थें । खेल भनेको केही पाउनका लागि मात्र खेलिदैन । हामीलाई खेलले अनुशासन सिकाउँछ । खेल खेलेर के हुन्छ रु भन्छन् नबुझेका मान्छेहरु । एक कुशल खेलाडी हुन धेरै चुनौति पनि छ । हाम्रा समस्याहरु पनि थुप्रै छन् । प्रशिक्षणदेखि विभिन्न प्राविधिक पक्षमा महिलालाई निकै चुनौती झेल्नु परेको छ । अन्तराष्ट्रियस्तरमा भएका अभ्यासको तुलनामा हामी नेपाली महिला धेरै पछाडि छौँ,’ सत्रका सहजकर्ता पत्रकार मधुवन विसीले खेलकुदमा छोरीका सम्भावना र चुनौतीका विषयमा राखेको प्रश्नको जवाफ दिदै विष्टले भनिन् ।

प्रतिस्पर्धा गरिने सबै खेलमा जित हाँसिल गर्न नसकिनुका पछाडि यावत कारण जोडिने बताउदै उनले नेपाली महिला भलिबलको प्रदर्शन जहिले पनि उत्कृष्ट नै रहेको बताइन । ‘निरन्तरको प्रशिक्षणले मेडल आउँछ भन्न सकिदैन । प्राविधिकरुपमा व्यवस्थित प्रशिक्षण, सेवा र सुविधाको व्यवस्थित परिचालन गर्न नसकिए नतिजा हाँसिल गर्न मुस्किल पर्छ,’ विष्टले भनिन् । सरकारले खेलाडीलाई ०।५ प्रतिशत पनि बजेट विनियोजन नगरेको उल्लेख गर्दै खेलका माध्यमबाट खेलाडीले राष्ट्रलाई चिनाइरहेको इतिहास नजर अन्दाजमा परेको विष्टको बुझाइ छ । सरकार खेलाडीप्रति व्यवहारत उत्तरदायी नभएको आरोप उनको छ । राज्यको उपेक्षाले खेल क्षेत्रमा लागेर आफ्नो जिविको पार्जनमा निकै चुनौती रहेको उल्लेख गर्दैै उनले भनिन्, ‘खेलाडीले खेल क्षेत्रबाट आफ्ने जीवनयापन सहज बनाउन सकिरहेका छैनन् । खेल मात्र खेलिरहने तर आर्थिक हिसाबमा सबल हुन नसक्दा खेलाडी पलायन हुने अवस्था छ । यसले विशेष गरी महिलालाई खेल क्षेत्रमै टिकिरहन सक्ने अवस्था छैन ।’

समर्ग खेल क्षेत्रको विकास र खेलाडीको सुरक्षामा तीनै तहका सरकारले भूमिका निभाउन नसकेको उनको दुखेसो छ । स्थानीय सरकारले खेलाडीलाई प्रोत्साहनसँगै प्रदेश सरकारले आफ्ना प्रदेशका खेलाडीलाई प्रशिक्षण र उनीहरुले पाउने सेवा, सुविधामा ध्यान दिनुपर्ने उनले बताइन । यस्तै, सुर्खेतकी एलिसा रास्कोटी कराँते खेलाडी हुन् । उनले पनि खेलाडी भएर निकै चुनौतीको सामना गरिरहनु परेको छ । छोरा सरह छोरीले पनि खेल्न सक्छन भन्ने प्रमाणित गर्न खेल क्षेत्रमा लागेकी उनले पनि ठुला प्रतियोगिताका मेडल उचालेकी छन् । तर उनलाई पनि आर्थिक अवस्थादेखि कर्णालीको खेलकुद पूर्वाधार देखेर दिक्क लाग्छ ।

‘कर्णालीमा पुर्वाधार तथा आर्थिक अवस्था कमजोर हुँदा खेलाडीहरु अगाडि बढ्न सकेको अवस्था छैन । प्रदेश सरकारलले यस विषयमा ध्यान पु¥याउनै सकेको छैन,’ उनले भनिन् । आर्थिक समस्याकै कारण महिला खेलाडीलाई पलायन हुनुपर्ने बाध्यता रहेको उनले सुनाइन । सत्रमा सहभागी हम्लाकी फुटबल खेलाडी दीपा शाहीको अनुभुतिमा पनि सरकार कही भेटिएन । मेहनतका साथ खेलिएको खेलबाट मेडल उचाल्दा अन्य प्रदेशले खेलाडीलाई उच्च सम्मान गर्ने गरेको उल्लेख गर्दै उनले कर्णाली प्रदेश सरकारले यहाँका खेलाडीलाई चिन्नै नसकेको उनले बताइन । सरकारले नेपाली खेल र खेलाडीप्रति हेर्ने दृष्टिकोणका कारण आप्mनो मनोबल उच्च हुन नसकेको उनको दावी छ । कर्णाली प्रदेशमा आयोजना हुने भनिएको दशौं राष्ट्रिय खेलकुदमा सहभागि हुने तयारीमा रहेकी उनलाई सरकारको कार्यशैली कत्ति पनि चित्त बुझेको छैन ।

‘हाम्रो प्रदेशमा गएको मंसिरमै हुने भनिएको दशौं राष्ट्रिय खेलकुद अहिलेसम्म हुन सकिरहको छैन । कर्णालीमा पुर्वाधारको कमी छ, त्यो बनाउन पर्छ । राम्रो प्रशिक्षणको अभाव छ, त्यसलाई पनि व्यवस्थित बनाउनु पर्दछ । तर अनेक बहानाले कर्णालीमा खेलकुदका गतिविधिहरु रोकिनु हुँदैन,’ उनले भनिन् । राज्यले खेलकुद इतिहासकै ठुलो प्रतियोगिता आयोजना गर्न नसक्नु आफैमा लज्जास्पद भएको उल्लेख गर्दै उनले यसबाट खेलाडीहरु निराश हुन पुगेको बताइन । खेलाडीलाई खेल क्षेत्रमा आकर्षण गराउन निरन्तर प्रतियोगिता भइ राख्नु पर्ने तर्क उनले राखिन । श्री ज्योति फाउण्डेशन र कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आयोजनामा शनिबारदेखि छोरी सम्मेलन जारी छ । कर्णालीमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा कर्णालीका ७९ वटै पालिकाकाबाट झण्डै दुई सय बढी छोरीहरु सहभागि छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *