Blog

  • विश्‍व प्रेस स्वतन्‍त्रता दिवसमा अन्तरक्रिया

    विश्‍व प्रेस स्वतन्‍त्रता दिवसमा अन्तरक्रिया

    नेपाल पत्रकार महासंघ सुर्खेतले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

    शनिवार दिवसका अवसरमा आयोजित प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।
    कार्यक्रममा नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश उपाध्यक्षसमेत रहेका प्रदेशसभा सदस्य कृष्णबहादुर जिसीले सुसूचित हुन पाउने जनताको अधिकार रक्षा गर्न समाचारको निष्पक्षता तथा गम्भीर्यतामा पत्रकारले ध्यान दिन आग्रह गरे । विश्वको इतिहासमा नेपालमा प्रेस स्वतन्त्रताको अवस्था राम्रो भएको भएपनि अझै पनि प्रेसमाथिको हमला अन्त्य हुन नसक्नुु दुखद् रहेको उनले बताए । यस्तै, नेकपा एमालेका सुर्खेत जिल्ला उपाध्यक्ष मोहन बडुवालले प्रेस स्वतन्त्रतासँगै पत्रकारको सुरक्षाको सवाललाई पहिलो प्राथमिकतामा राख्नु पर्ने बताए ।
    कतिपय अवस्थामा पत्रकार स्वंयमका कारण प्रेसमाथि हमाला भइरहेको उल्लेख गर्दै उनले प्रेस स्वतन्त्र भएमात्रै लोकतन्त्र बलियो हुने धारणा राखे । उच्च अदालत बार एसोसिएसनका अध्यक्ष अधिवक्ता दुर्गाप्रसाद सापकोटाले राज्यको चौथो अङ्ग मानिने पत्रकार जगतले जनतालाई सत्य, तथ्य र निष्पक्ष सूचनाको पहुँचमा पुर्‍याउन पेशागत मर्यादालाई पालन गर्नुपर्ने बताए । महासंघ शाखा सुर्खेतका पूर्व अध्यक्ष गणेशकन्चन भारतीले प्रेस स्वतन्त्र नभएको मुलुकमा जनताको आवज बुलन्द हुन नसक्ने बताए ।


    राज्य तथा असंगठित समूहबाट पत्रकारमाथि भइरहेको दण्डहिनताको अन्त्य हुनुपर्नेमा जोड दिदै उनले पत्रकारितामा स्वनियन्त्रण कायम रहेसम्म प्रेस स्वतन्त्र हुन नसक्ने धारणा राखे । मानवअधिकार तथा शान्ति समाजका महासचिव प्रकाश शाहीले कतिपय पत्रकारहरु पेशागत मर्यादाभन्दा दलिय राजनीतिमा केन्द्रित हुँदा स्वतन्त्र प्रेसमाथि प्रश्न उठ्ने अवस्था आएको दावी गरे । सुर्खेत उद्योग वाणिज्य संघका महासचिव रामप्रसाद जैशीले पत्रकारहरुले समाचार लेख्दा पेशागत मर्यादा बिर्सन नहुने बताए ।
    कतिपय अवस्थामा तथ्य नबुझेर समाचर प्रकाशन गरिदा द्वन्द्वको अवस्था सिर्जना हुनसक्ने बताउदै यसतर्फ पत्रकारहरु सजग रहनुपर्ने उनले बताए ।
    यस्तै, महासंघ सुर्खेतका अध्यक्ष सुशीलराज शर्माले पछिल्लो समय पत्रकारहरु माथि भइरहेको हमलाप्रति दुख व्यक्त गर्दै उत्तरदायी र मर्यादित, स्वतन्त्र र सुरक्षित प्रेस आजको आवश्यकता भएको बताए । महासंघले अभिव्यक्ति स्वतन्त्रता, सुरक्षित र स्वतन्त्र प्रेसको सवालमा कसैसँग सम्झौता नगर्ने अध्यक्ष शर्माले दावी गरे ।

  • देउरानीको ‘बाउसो प्रहार’बाट घाइते मुगुकी दुर्गाको उपचारका क्रममा मृत्यु

    देउरानीको ‘बाउसो प्रहार’बाट घाइते मुगुकी दुर्गाको उपचारका क्रममा मृत्यु


    मुगुको छायाँनाथ रारा नगरपालिका–१२ लुम्स गाउँमा मंगलबार जग्गा विवादमा झगडा हुँदा देउरानीको बाउसो प्रहारबाट घाइते भएकी जेठानीको मृत्यु भएको छ । गम्भीर घाइते भएकी दुर्गा ऐडीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारका क्रममा ५ दिनपछि शनिबार बिहान ५ बजे मृत्यु भएको हो ।

    लुम्स गाउँकी बिमला बुढाले जेठानी दुर्गा ऐडीको टाउकोमा घरेलु औजार बाउसो प्रयोग गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।

    देउरानीको बाउसो प्रहारबाट जेठानी गम्भीर घाइते भएकी थिइन् । घाइते दुर्गा ऐडीको टाउँको र अनुहारमा गहिरो चोट लागेको थियो ।

    ससुरा बाचुराम ऐडीका अनुसार कुनिउखात भन्ने स्थानको जग्गा ३ भाइमध्ये कसैलाई भागबण्डा नगरिएको र त्यही जग्गा देउरानी र जेठानीको ‘मेरो भागमा हुनुपर्छ’ भन्ने विवादले तनाव बढेको थियो ।

    त्यही विवादका कारण झगडा हुँदैगर्दा देउरानी २५ वर्षकी बिमलाले ३६ वर्षकी जेठानी दुर्गालाई घरेलु औजार बाउसो प्रहार गरेर घाइते बनाएको ससुरा बाचुरामले बताए ।

    झगडाको मुख्य कारण नै जग्गा विवाद भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

    आक्रमणमा संलग्न बिमलालाई पक्राउ गरी ६ दिन म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

     

  • सामाजिक सञ्जालमा पनि माओवादी एक नम्बरतिर उकालो लाग्दैछ: प्रचण्ड

    सामाजिक सञ्जालमा पनि माओवादी एक नम्बरतिर उकालो लाग्दैछ: प्रचण्ड

  • सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै हो : सोबिता गौतम

    सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै हो : सोबिता गौतम

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको बताएकी छिन् । साथै, उनले सभापति लामिछानेविरुद्ध लगाइएको मुद्दामा कुनै दम नभएको तर्क पनि गरिन् ।

    कास्कीको रुपा गाउँपालिकाको कार्यालय उद्घाटन तथा क्यालेन्डर विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

    आफूहरू नेतृत्वको ढाकछोप गर्ने पुस्ता नभएको जानकारी गराउँदै आफू सचेत नागरिक र कानुनको विद्यार्थी भएर सभापति लामिछानेको मुद्दाबारे टिप्पणी गरेको बताइन् ।

    ‘हामी नेतृत्वले गरेको गल्ती ढाकछोप गर्ने पुस्ता होइनौं, तर म एउटा सचेत नागरिक भएको हिसाबले, कानुनको विद्यार्थी भएको हिसाबले के चाहिँ भन्न चाहन्छु भने त्यो मुद्दामा दम छैन, त्यहाँ टालटुल गरेर मुद्दा बनाइएको छ,’ उनले भनिन् ।

    न्यायालयले सभापति लामिछानेलाई न्याय दिने विश्वास आफूले राखेको उनले बताइन् ।

    ‘न्यायालयले रवि लामिछानेलाई पक्कै न्याय दिनेछ । किनभने उहाँ नेपाली जनताले आशा र विश्वास गरेको पात्र हो,’ सांसद गौतमले भनिन् ।

    आफ्नो पार्टीले उठाएका विषयलाई वर्तमान सरकारले दबाउने काम गरिरहेको उनको भनाइ थियो ।

    ‘रास्वपाले उठाएको मुद्दा दबाउने काम यो सरकारले गरिरहेको छ । हिजोको दिनमा भ्रष्टाचार भएको कुराहरू सुन्न पाइँदैन थियो । तर, अहिले रास्वपा चौथो ठूलो दल हो । अब अझै हामीले जनताको विश्वास जित्न बाँकी नै छ,’ उनले भनिन्, ‘रास्वपा आएपछि भ्रष्टाचार भएको कुरा थाहा भयो । पोखरा विमानस्थलमा १४ अर्बको भ्रष्टाचार भएको छ भन्ने थाहा भएको छ । वाइडबडी र गिरिबन्धुमा भएको भ्रष्टाचार, संसदीय छानबिन समितिको नजिर बसालिहालियो अब ढाकछोप गर्ने प्रयास भएको छ । भुटानी शरणार्थी फाइल खुलिसकेको थियो, फेरि पनि हामीले गरिसक्यौं, अब छाडिंदैन भनेर त्यसलाई दबाउने काम हुँदैछ ।’

    अहिलेको सरकार बनेको १० महिना पुग्दा पनि प्रत्येक दिन विभिन्न विवादित मुद्दा र घोटला मात्रै आइरहेको उनले बताइन् ।

    उनले देशभर निराशा नै निराशा भइरहेको बताइन् । ‘यो सरकारले काम गर्न सकिरहेको छैन । यो सरकार सच्चियोस्,’ उनले भनेकी छिन् ।

  • भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध

    भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध

    जम्मु–कश्मीरको पहलगाममा भएको चरमपन्थी आक्रमणपछि भारत र पाकिस्तानबीच बढ्दो तनावको बीचमा भारतले पाकिस्तानबाट आउने सबै सामानमा प्रतिबन्ध लगाएको छ।

    पाकिस्तानमै उत्पादन भई भारत आउने कुनै पनि वस्तुमा तत्काल लागु हुनेगरी रोक लगाइएको हो।

    भारतको वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गतको विदेश व्यापार महानिर्देशालयले एक सूचना जारी गरेर शुक्रबार प्रतिबन्धको निर्णय सार्वजनिक गरेको छ ।

    सूचना अनुसार विदेश व्यापार नीति २०२३ मा यससम्बन्धी एउटा व्यवस्था थपिएको छ, जसमा अर्को आदेश नभएसम्मका लागि पाकिस्तानबाट आउने वा पाकिस्तानमा निर्यात गरिने सबै वस्तुहरूको प्रत्यक्ष वा अप्रत्यक्ष आयातमा प्रतिबन्ध लगाइएको उल्लेख छ ।

    २२ अप्रिलमा कश्मीरको पहलगाममा भएको चरमपन्थी आक्रमणमा २६ जनाको ज्यान गएको थियो, जसमध्ये अधिकांश पर्यटक थिए।

    यो आक्रमणपछि भारत र पाकिस्तानले एक-अर्काविरुद्ध विभिन्न कदम चालेका छन् र दुवै देशबीचको तनाव निरन्तर बढिरहेको छ।

  • टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयरिङ’

    टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयरिङ’

     टिकटकले नेपालमा आफ्ना कलिला युजरहरूका लागि जिम्मेवार र सुरक्षित अनलाइन अनुभव प्रवर्द्धन गर्न परिवारहरूलाई सहयोग गर्ने उद्देश्यले आफ्नो नयाँ ‘फ्यामिली पेयरिङ’ फिचर सुरु गरेको छ। यस फिचरमार्फत अभिभावकहरूले आफ्ना टिनएजर (किशोर-किशोरी) को टिकटक एकाउंटलाई आफ्नो एकाउंटसँग जोड्न सक्नेछन्, जसले गर्दा उनीहरूलाई सेफ्टी सम्बन्धी धेरै विकल्पहरूमा पहुँच मिल्नेछ। यसबाट परिवारका सदस्यहरूबीच जिम्मेवार र सुरक्षित इन्टरनेट प्रयोगको संस्कार विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    फ्यामिली पेयरिङ फिचर सुरु गर्नको लागि टिकटकको “सेटिङ्स एण्ड प्राइभेसी” मेनुमा गएर QR कोड स्क्यान गरेर अकाउन्टहरू आपसमा जोड्न सकिन्छ। एकचोटि अकाउन्ट जोडिएपछि अभिभावकहरूले आफ्ना छोराछोरीको फोन नछोइकनै आफ्नै मोबाइलबाट सिधै सुरक्षासम्बन्धी सेटिङहरू परिवर्तन गर्न सक्नेछन्।

    फ्यामिली पेयरिङमा १५ भन्दा बढी सुरक्षा, गोपनीयता र डिजिटल वेल-बिइंगसँग सम्बन्धित कस्टमाइजेबल फिचरहरू छन् जसलाई अभिभावकले आफ्ना छोराछोरीको टिकटक अनुभव अनुसार मिलाउन सक्नेछन्। जस्तै यसमा दैनिक स्क्रीन टाइम सीमित गर्ने, मेसेजिङ र कमेन्ट रोक्ने, उमेरअनुसारको कन्टेन्ट देखिने बनाउने, एकाउंट खोज्न मिल्ने या नमिल्ने बनाउने, सर्च सेटिङ कन्ट्रोल गर्नेजस्ता फिचरहरु रहेका छन्। यो फिचरले परिवारका लागि मानसिक शान्ति दिनेछ, किनभने यसले किशोर (टिन) प्रयोगकर्ताको सुरक्षा मात्र नभई उनीहरू र अभिभावकबीच डिजिटल व्यवहारका बारेमा हुने खुला संवादलाई पनि प्रोत्साहन गर्छ। यो आउँदै गरेको पुस्ताका लागि सुरक्षित र सोचविचार गरेर इन्टरनेट चलाउने वातावरण बनाउनका लागि एक महत्वपूर्ण कदम हो।

    “टिकटकका लागि हाम्रो कम्युनिटीको सुरक्षा प्रमुख प्राथमिकतामा पर्दछ, विशेष गरी जब (टिन) युजरहरूको कुरा आउँछ। नेपाली परिवारहरूलाई जिम्मेवार डिजिटल व्यवहारलाई प्रोत्साहन गर्ने उपयोगी टुलहरू प्रदान गर्ने प्रयासकै एक हिस्साको रूपमा फ्यामिली पेयरिङ फिचरको सुरुवात गरिएको हो,” टिकटकका लागि दक्षिण एसिया क्षेत्रका सार्वजनिक नीति तथा सरकारी सम्बन्ध प्रमुख फिरदौस मोत्तकिनले भने। “नेपालमा दर्ता भएको प्लेटफर्मको रूपमा हामी हाम्रो प्लेटफर्ममा सबैका लागि सुरक्षित, सकारात्मक र समावेशी अनलाइन वातावरण सुनिश्चित गर्न नेपाल सरकार र सम्बन्धित सरोकारवालाहरूसँग नजिक रहेर काम गर्न पनि प्रतिबद्ध छौं।”

    यो फिचरलाई देशभर पुर्याउन टिकटकले नेपालको चर्चित सेलिब्रिटीहरू र डिजिटल इन्फ्लुएन्सरहरूसँग सहकार्य गर्दै जनचेतनामूलक अभियान पनि सञ्चालन गर्दैछ। यो अभियान मुलधारका मिडिया, आउटडोर बिलबोर्डहरू तथा सामाजिक सञ्जालमार्फत प्रचार गरिनेछ। सार्वजनिक व्यक्तित्वहरूको विश्वसनीय आवाजलाई उपयोग गरेर टिकटकले नेपालभरका परिवारहरूसम्म पुग्ने र फ्यामिली पेयरिङ फिचरको व्यापक अपनत्वलाई प्रोत्साहित गर्ने लक्ष्य राखेको छ। टिकटकले विश्वभरका प्रयोगकर्ताहरूलाई सुरक्षित र पारदर्शी अनुभव दिन नीतिहरू र फिचरहरू ल्याउँदै आएको छ। नेपालमा ‘फ्यामिली पेयरिङ’को सुरुवात पनि सोही दीर्घकालीन रणनीतिको हिस्सा हो, जसले विशेषगरी युवापुस्तालाई सुरक्षित अनुभवका साथ टिकटक प्रयोग गर्न प्रोत्साहन गर्नेछ।

    टिकटकको बारेमा
    टिकटक छोटो आकारको मोबाइल भिडियोको लागि अग्रणी गन्तव्य हो। हाम्रो मिशन भनेको रचनात्मकतालाई प्रेरित गर्नु र मनोरञ्जन दिनु हो। टिकटकको ग्लोबल मुख्यालय लस एन्जलस र सिंगापुरमा छ र यसका कार्यालयहरु न्यूयोर्क, लन्डन, डब्लिन, पेरिस, बर्लिन, दुबई, जकार्ता, सियोल र टोकियो जस्ता शहरहरूमा अवस्थित छन्।
    http://www.tiktok.com/

  • पत्रकारको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न आयोगको आग्रह

    पत्रकारको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न आयोगको आग्रह

    राष्ट्रिय मानवअधिकार आयोगले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान र संरक्षणमा संवेदनशील हुन सरकारलाई आग्रह गरेको छ ।

    विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोगले आज एक विज्ञप्ति निकालेर  संविधान तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कानूनले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण सम्मान गर्न आग्रह गरेको हो ।
    आयोगले पत्रकारको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न  सरकार लगायत सम्बद्ध सबैमा आग्रह गरेको छ ।

    गत चैत १५ गते समाचार सङ्कलनका क्रममा तीनकुनेमा पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको र शिक्षक आन्दोलनको समाचार सङ्कलन गर्दा पत्रकार सविना कार्की घाइते भएको घटनाप्रति आयोगले दुःख व्यक्त गरेको छ ।

  • ‘राजनीतिक दलको विचार फरक भए पनि राष्ट्रिय दृष्टिकोण एकै हुनुपर्छ’

    ‘राजनीतिक दलको विचार फरक भए पनि राष्ट्रिय दृष्टिकोण एकै हुनुपर्छ’

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले राजनीतिक दलको विचार फरक भए पनि राष्ट्रिय दृष्टिकोण एकै हुनुपर्नेमा जोड दिएका छन् । मार्क्सवादी ज्ञान केन्द्रले आज आयोजना गरेको ‘गणतन्त्र अगाडि र पछाडिको नेपालः तुलनात्मक अध्ययन’ शोध ग्रन्थमाथिको पृष्ठपोषण कार्यक्रममा उनले राष्ट्रिय दृष्टिकोण निर्माणमा दलहरूबीच बहस हुन नसक्नु दुःखद् भएको बताए ।

    पूर्वसभामुख सापकोटाले समाजवाद नै अहिलेको सर्वोत्कृष्ट राजनीतिक व्यवस्था भएकाले राष्ट्रिय पुँजीको विकास गरेर त्यसतर्फको यात्रा अघि बढाइनुपर्नेमा जोड दिए । उनले भने, ‘संविधानसभाबाट जारी संविधानमा समाजवादोन्मुख राज्य व्यवस्था हुने भनेर उल्लेख गरिएको छ, यो ठूलो उपलब्धि हो, अब संविधानमा टेकेर वैज्ञानिक समाजवादका लागि सङ्घर्ष गर्नुपर्छ ।’

    राजनीतिक परिवर्तन पछाडि जनअपेक्षाअनुसार आर्थिक सामाजिक रुपान्तरण नभएको स्वीकार्दै उनले गणतन्त्र र राजतन्त्रबीच कुनै हालतमा तुलना गर्न नमिल्ने बताए । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले राष्ट्रिय मुद्दामा पक्ष–विपक्ष नभई दलहरू एक ठाउँमा उभिनुपर्ने बताए ।

    ‘परराष्ट्र नीति, आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्य, रोजगारीका एजेण्डामा साझा सङ्कल्प गर्न सक्यौँ भने मात्र मुलुकको समृद्धि सम्भव छ’, उनले भने । जनअपेक्षा पूरा गर्न सन्तुलित र समानुपातिक विकासको अवधारणा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उहाँले कांग्रेसले समाजमा देखिएको नैराश्यताको गम्भीर अध्ययन आवश्यक भएको बताए ।
    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सचिव सावित्राकुमारी भुसालले राजनीतिक परिवर्तनपछाडिको आर्थिक तथा सामाजिक अवस्था प्रगतिपथमा रहेको उल्लेख गर्दै बहुदलपछि नवउदारवादको नक्कल गरेर राष्ट्रिय उद्योगधन्दा निजीकरण गर्दा मुलुकले दुर्दशा भोगिरहेको बताइन् ।
    बाग्मती प्रदेशसभा सदस्य इन्द्र गौतमले गणतन्त्रको स्थापनापछि मुलुकले फड्को मारेको जनाउँदै गणतन्त्र अघि र पछिको अवस्थाबारे तुलनात्मक अध्ययन गरेर शोधग्रन्थ प्रकाशन गर्दा राजनीतिक परिवर्तनपछिको उपलब्धिको दस्तावेजीकरण हुने बताए ।

    राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा.चन्द्रमणि अधिकारीले नागरिकको चेतना र खुलापनले अहिलेको आर्थिक र सामाजिक उपलब्धिलाई लिएर चित्त बुझाउने अवस्था नरहेको बताए । ‘हिजोसँग तुलना गर्दा ‘छलाङ’ मारेका हौँ, तर यतिले मात्र पुगेको छैन भनेर स्वीकार गर्नुपर्छ’, उनले भने, ‘अब मुलुकको नेतृत्व गर्ने दायित्व नयाँ पुस्ताको हो भनेर सिकाउनुपर्छ ।’

    त्रिभुवन विश्वविद्यालयका प्राध्यापक बालमुकुन्द रेग्मी र नेपाल खुला विश्वविद्यालयका उपप्राध्यापक रुमा मानन्धरले गणतन्त्रपछि मुलुकले धेरै क्षेत्रमा प्रगति हासिल गरिरहेको उल्लेख गर्दै अब समाजवादी विकासको मोडल अपनाउनुपर्नेमा जोड दिए ।

    केन्द्रका अध्यक्ष मनहरि तिमिल्सिनाले गणतन्त्र अगाडि र पछाडिको नेपाल आर्थिक तथा सामाजिक विकासको अवस्थाबारे आमनागरिकलाई जानकारी दिन शोधग्रन्थ तयार गर्न लागिएको जानकारी दिए । शोधग्रन्थ अनुसन्धान संयोजक डा निमानन्द रिजालले गणतन्त्र घोषणापछि वैदेशिक ऋणको अनुपात घटेको, आन्तरिक तथा बाह्य लागनी, पूर्वाधार निर्माण, स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षालगायत आधारभूत सुविधाको पहुँच अभिवृद्धि भएको तथ्याङ्क प्रस्तुत गरे ।