देउरानीको ‘बाउसो प्रहार’बाट घाइते मुगुकी दुर्गाको उपचारका क्रममा मृत्यु

मुगु ।


मुगुको छायाँनाथ रारा नगरपालिका–१२ लुम्स गाउँमा मंगलबार जग्गा विवादमा झगडा हुँदा देउरानीको बाउसो प्रहारबाट घाइते भएकी जेठानीको मृत्यु भएको छ । गम्भीर घाइते भएकी दुर्गा ऐडीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारका क्रममा ५ दिनपछि शनिबार बिहान ५ बजे मृत्यु भएको हो ।

लुम्स गाउँकी बिमला बुढाले जेठानी दुर्गा ऐडीको टाउकोमा घरेलु औजार बाउसो प्रयोग गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।

देउरानीको बाउसो प्रहारबाट जेठानी गम्भीर घाइते भएकी थिइन् । घाइते दुर्गा ऐडीको टाउँको र अनुहारमा गहिरो चोट लागेको थियो ।

ससुरा बाचुराम ऐडीका अनुसार कुनिउखात भन्ने स्थानको जग्गा ३ भाइमध्ये कसैलाई भागबण्डा नगरिएको र त्यही जग्गा देउरानी र जेठानीको ‘मेरो भागमा हुनुपर्छ’ भन्ने विवादले तनाव बढेको थियो ।

त्यही विवादका कारण झगडा हुँदैगर्दा देउरानी २५ वर्षकी बिमलाले ३६ वर्षकी जेठानी दुर्गालाई घरेलु औजार बाउसो प्रहार गरेर घाइते बनाएको ससुरा बाचुरामले बताए ।

झगडाको मुख्य कारण नै जग्गा विवाद भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

आक्रमणमा संलग्न बिमलालाई पक्राउ गरी ६ दिन म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

 

अन्य समाचार

+ There are no comments

Add yours