जाजरकोटमा एनआरएनए अस्ट्रेलियाको सहयोगमा विद्यालय भवन निर्माण

सुर्खेत

जाजरकोट । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको आर्थिक सहयोगमा निर्माण गरिएको भेरी नगरपालिका–२ स्थित शंकर भवन माध्यमिक विद्यालयको नवनिर्मितको भवनको आज उद्घाटन एवं हस्तान्तरण गरिएको छ ।

अस्ट्रेलियामा बस्ने नेपालीबाट संकलित २५ हजार अस्ट्रेलियन डलरको सहयोगमा उक्त भवन निर्माण गरिएको एनआरएनए अस्ट्रेलियाले जनाएको छ । उक्त भवनको एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले आज यहाँ उद्घाटन गरे । २०७९ सालमा जाजरकोट भूकम्पका कारण क्षतिग्रस्त भवनको पुनःनिमार्णका लागि एनआरएन अस्ट्रेलियाको आर्थिक सहयोग र यार्सन जाजरकोटको प्राविधिक सहजीकरणमा भवन निर्माण गरिएको हो ।

अध्यक्ष पोखरेलले विद्यालयको भवन निर्माणमा सहयोग गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै आगामी दिनमा पनि यस प्रकारको सहयोगलाई निरन्तरता दिने बताए । अस्ट्रेलियामा रहेका नेपाली समुदायका तर्फबाट भूकम्प गएको समयमा राहत वितरण समेत गरिएको थियो, उनले भने, पछि विद्यालय निर्माणका लागि पनि सहयोग संकलन गरिएको थियो । विद्यालय भवन निर्माण आठ महिनाअघि सुरु भएको हो । उक्त भवनमा चालु शैक्षिक सत्रबाट पठनपाठन पनि सुरु भइसकेको छ । यो सहयोगका लागि अस्ट्रेलियामा रहेको विभिन्न संघसंस्था र व्यक्तिहरुको योगदान छ, आगामी दिनमा पनि यस प्रकारको सहयोग जारी रहनेछ, अध्यक्ष पोखरेलले भने ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यप्रकाश सिंहले विद्यालय भवन निर्माणमा आर्थिक सहयोगका लागि एनआरएनए अस्ट्रेलियालाई धन्यवाद दिए । त्यस अवसरमा एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष शम्भु गाइसी, एनआरएनए ओसियानाका क्षेत्रीय संयोजक दिनेश पोखरेललगायत विद्यार्थी र स्थानीयको उपस्थिति थियो ।

अन्य समाचार

+ There are no comments

Add yours