Blog

  • विद्युत् निर्यातबाट १५ अर्ब आम्दानी, दैनिक एक हजार मेगावाट विदेश पठाइँदै

    विद्युत् निर्यातबाट १५ अर्ब आम्दानी, दैनिक एक हजार मेगावाट विदेश पठाइँदै

    नेपालले अहिले औसतमा दैनिक एक हजार मेगावाट विद्युत् निर्यात गरिरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । देशभित्रको माग पूरा गरेपछि बाँकी रहेको अतिरिक्त विद्युत् भारत र बंगलादेशमा बिक्री भइरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार चालु आर्थिक वर्ष २०८२÷८३ को साउनदेखि हालसम्म करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात भइसकेको छ ।
    भारतको ऊर्जा बजार भारतीय ऊर्जा विनिमय (आईईएक्स)को डे–अहेड र रियल टाइम मार्केटमार्फत प्रतिस्पर्धी दरमा विद्युत् बिक्री भइरहेको छ । हरियाणा र बिहार राज्यमा द्विपक्षीय मध्यकालीन सम्झौतामार्फत पनि विद्युत् आपूर्ति भइरहेको छ ।
    भारतको प्रसारण संरचना प्रयोग गरी बंगलादेशमा पनि दैनिक ४० मेगावाट विद्युत् निर्यात भइरहेको प्राधिकरणले जनाएको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा र बंगलादेशसँगको व्यापार अमेरिकी डलरमा हुने भएकाले नेपालले दुवै मुद्रा आम्दानी गरिरहेको छ ।
    हाल प्राधिकरणलाई भारत र बंगलादेश गरी एक हजार १६५ मेगावाट विद्युत् निर्यातको स्वीकृति प्राप्त भएको छ । नेपालले २०७८ कात्तिक १६ गतेदेखि औपचारिक रूपमा भारतमा विद्युत् निर्यातको अनुमति पाएको थियो । नेपालको जलविद्युत् उत्पादन क्षमतामा निरन्तर वृद्धि भइरहेकाले आगामी वर्षहरूमा विद्युत् निर्यातको परिमाण अझ बढ्ने प्राधिकरणले बताएको छ ।

  • ७५ जिल्लाबाट ५ हजारभन्दा बढीमा डेङ्गु संक्रमण पुष्टि

    ७५ जिल्लाबाट ५ हजारभन्दा बढीमा डेङ्गु संक्रमण पुष्टि

    देशका ७५ जिल्लाबाट पाँच हजार ३७८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार देशका ७५ जिल्लाबाट पाँच हजार ३७८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि हुनुका साथै दुई जना डेङ्गु सङ्क्रमितको मृत्यु भएको छ ।
    डोल्पा र मनाङ गरी दुई जिल्लामा हालसम्म डेङ्गु सङ्क्रमण पुष्टि भएको छैन । इडिसिडीको किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार हालसम्म डेङ्गु सङ्क्रमण सबैभन्दा बढी गण्डकी प्रदेशमा पुष्टि भएको छ । गण्डकी प्रदेशमा एक हजार ३३३ जनामा डेङ्गु पुष्टि भएको छ। त्यसैगरी बागमतीमा एक हजार २६१, कोशीमा ७६१, लुम्बिनीमा ९४१, सुदूरपश्चिममा ६४५, कर्णालीमा ३२० र मधेशमा ११७ जनामा डेङ्गु पुष्टि भएको छ ।
    डेङ्गु सङ्क्रमणको जोखिम आगामी कात्तिकसम्म रहने भएकाले थप सचेत रहन आग्रह चिकित्सकको आग्रह छ । चिकित्सकका अनुसार डेङ्गु रोग एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ । एडिज जातका लामखुट्टे सफा पानी जम्मा भएको जुनसुकै भाँडोमा हुर्कन सक्छ। सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार असाध्य शरीर दुख्ने, खाना खान मन नलाग्ने, पखाला लाग्ने डेङ्गुका प्रमुख लक्षण हुन् ।
    त्योबाहेक, उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी, आँखाको गेडी, टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु वा वान्ता हुनेजस्ता लक्षण देखिन्छ ।

  • सरकारले बाढीपहिरोबाट घर गुमाएकालाई तत्काल अस्थायी

    सरकारले बाढीपहिरोबाट घर गुमाएकालाई तत्काल अस्थायी

    सरकारले हालैको बाढीपहिरोबाट घर गुमाएकालाई तत्काल अस्थायी बसोबासको व्यवस्था मिलाउने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकारले यस्तो जानकारी गराएको हो । सरकारले बाढीपहिरो प्रभावितलाई तत्काल राहत रकम पनि उपलब्ध गराउने भएको छ ।
    बाढीपहिरोबाट कसैको घरभत्केको पाइएमा सरकारले तत्काल अस्थायी आवासमा सार्ने र दीर्घकालीन रूपमा स्थायी आवासको व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ ।
    अस्थायी आवासका लागि विपद् प्राधिकरणबाट ५० हजार रुपैयाँ उपलब्ध गराइने छ । सो रकममध्ये २५ हजार रुपैयाँ तत्काल र २५ हजार रुपैयाँ चाहिँ एक लेबलको घरको संरचना बनेपछि मापदण्ड अनुसार उपलब्ध गराउने निर्णय बैठकले गरेको छ ।
    विपद्पछि महामारी फैलिन सक्ने सम्भावना रहेको भन्दै यसका लागि तीनै तहका सरकारले चनाखो भएर काम अघि बढाउने निर्णय पनि बैठकले गरेको छ ।
    महामारी फैलिन सक्ने सम्भावना रहेकोले त्यसो हुन नदिनका लागि स्वास्थ्य मन्त्रालयका साथै प्रदेश सरकार र स्थानीय सरकारको संयुक्त पहलमा यो संकट आउन नदिन आवश्यक काम अघि बढाउने निर्णय बैठकले गरेको हो ।
    महामारी फैलिन नदिनका लागि जनचेतना फैलाउने, स्वास्थ्य शिविर सञ्चालन गर्ने, मनोसामाजिक परामर्श उपलब्ध गराउने लगायतका कामहरू संयुक्त रूपमा सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

  • नेपालले मलेसियालाई हरायो

    नेपालले मलेसियालाई हरायो

    मलेसियासँगको पाँच खेलको द्विपक्षीय टि–२० क्रिकेट श्रृंखलाको चौथो खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ । मगंलबार बायुमस क्रिकेट ओभल रंगशालामा भएको खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले जित हासिल गर्यो । यो सँगै ५ खेलको सिरिज २–२ को बाराबरीमा आएको छ । मलेसियाले दिएको ११२ रनको लक्ष्य नेपालले ४ विकेट गुमाए पूरा गर्यो ।
    नेपालकी कप्तान इन्दू बर्माले नेपालकी लागि सर्वाधिक ४८ रन बनाइन् । ३९ बलको सामना गरेकी उनले ६ चौका प्रहार गर्दै नटआउट रहिन् । त्यस्तै, नेपालकी रुविना श्रेत्री २३ बलमा २३ रन बनाउँदै नटआउट रहिन् । नेपालकी ओपनर सम्झना खड्गाले ११ रन बनाउँदा पूजा महतोले ७ रन बनाइन् ।
    मलेसियाको लागि आइन्ना हमिहाज हसिमले एक विकेट लिइन् । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ५ विकेट गुमाएर १११ रन बनायो। मलेसियाको लागि मास एलिसा ५६ रन बनाउँदै अविजित रहिन् । नेपालको लागि कविता कुँवरले ३ विकेट लिइन् ।

  • अख्तियार प्रमुखको राजीनामा माग्दै बुझाईयो पत्र

    अख्तियार प्रमुखको राजीनामा माग्दै बुझाईयो पत्र


    विभिन्न जेनजी समूह र व्यक्तिहरुको सहभागितामा गठन गरिएको जेनजी मुभमेन्ट अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरुको राजीनामा माग्दै आज आयोगमै औपचारिक पत्र बुझाएको छ ।

    समूहले सोमबार प्रमुख आयुक्त राईलाई इमेलमार्फत स्वेच्छिक राजीनामाको आग्रह गरेको थियो । तर, आज उनीहरुले भौतिक उपस्थितिमै टंगालस्थित अख्तियार मुख्यालयमा पुगेर लिखित पत्र दर्ता गरेका हुन् । समूहका नेता रिजन राना (आदित्य)ले पत्र बुझाइसक्दा पनि अख्तियार प्रमुख राईको राजीनामा नआए अन्य संघर्षका कार्यक्रम सञ्चालन गर्ने तयारी भएको बताए ।

    यसअघि जारी गरिएको विज्ञप्तिमा जेनजी मुभमेन्ट अलायन्सले अख्तियार प्रमुख र अन्य आयुक्तहरुरूको नियुक्ति निष्पक्ष र लोकतान्त्रिक प्रक्रियाबिना भएको आरोप लगाउँदै उनीहरुले आयोगको विश्वसनीयता गुमाएको दाबी गरेको थियो ।

    आयोगका प्रमुख र अन्य आयुक्तहरुको नियुक्ति तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसदीय सुनुवाइ बिना गरेको र त्यसले अख्तियारको स्वतन्त्रता र निष्पक्षतामाथि प्रश्न उठाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    अलायन्सले विशेष अदालतको हालसालैको निर्णय उद्धृत गर्दै प्रमुख आयुक्त राईमाथि ‘स्वार्थ द्वन्द्व र चयनात्मक अभियोजन’को टिप्पणी आएको भन्दै उनको निष्पक्षतामाथि प्रश्न उठाएको छ । समूहले नेपाल आयल निगमको जग्गा खरिद, नक्कली भुटानी शरणार्थी र वाइडबडी विमान खरिदजस्ता ठूला प्रकरणहरुमा प्रमुख आयुक्तको नाम जोडिँदै आएको उल्लेख गर्दै नैतिक जिम्मेवारीस्वरुप राजीनामा दिनुपर्ने माग गरेको छ ।

    अहिले संघीय संसद् नहुँदा महाअभियोगमार्फत पदमुक्त गर्न सम्भव नभएकाले राजीनामाबाटै अख्तियारको गरिमा पुनःस्थापना गर्नुपर्ने जेनजी समूहको भनाइ छ । जेनजी मुभमेन्ट अलायन्समा हाल ३० वटा जिल्लाबाट प्रतिनिधित्व गर्ने १२ वटा जेनजी समूह आवद्ध रहेका छन् ।

  • मानव अधिकार आयोगले सरकारलाई भन्यो: शान्ति सुरक्षा मजबुत बनाउनु

    मानव अधिकार आयोगले सरकारलाई भन्यो: शान्ति सुरक्षा मजबुत बनाउनु


    राष्ट्रिय मानवअधिकार आयोगका कार्यालयहरू दशैँ, दिपावलीतथा छठ पर्वका बिदाका दिनमा पनि खुला रहने भएका छन् । मानवअधिकारको उल्लङ्घनका घटनाको उजुरी लिन र आकस्मिक प्रकृतिका घटनामा अनुर्गमन गर्नका लागि राष्ट्रिय मानवअधिकार आयोगको केन्द्रीय कार्यालय, हरिहरभवन, ललितपुर तथा प्रदेश शाखाकार्यालयहरू बिदाका दिनमा पनि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने व्यवस्था गरिएको हो ।
    मानव अधिकार उल्लङ्घनका कुनै घटना घटेमा आयोगका नजिकका कार्यालयमा तत्काल जानकारी गराउन आयोगले सबैमा अनुरोध गरेको छ ।
    आयोगले विज्ञप्ति निकालेर सार्वजनिक बिदा तथा चाडपर्वको समयमा सर्वसाधारणको आवतजावतमा कठिनाइ उत्पन्न हुने, अपराधका घटनामा वृद्धि हुने, महँगी तथा कालोबजारी बढ्ने, सार्वजनिक सेवाप्रवाह र सहजआपूर्तिमाअवरोध सिर्जना हुने जस्ता क्रियाकलाप हुने संभावना रहनेतर्फ सरकारको ध्यानाकर्षण गरेको हो ।
    चाडपर्वको समयमा सेवाप्रवाहलाई चुस्तदुरुस्त बनाउन र शान्तिसुरक्षाको अवस्थालाई मजबुतबनाउनआयोग सरकारलाई निर्देशन गरेको छ । सेवाप्रवाहलाई चुस्तबनाउने र शान्ति सुरक्षालाई मजबुत बनाउने सरकारको कार्यमा सहयोग गर्न आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गरिएको छ ।

  • चाडपर्वलक्षित विशेष सुरक्षा रणनीतिः कर्णाली प्रदेशमा झण्डै चार हजार प्रहरी परिचालन, ड्रोनबाट निगरानी

    चाडपर्वलक्षित विशेष सुरक्षा रणनीतिः कर्णाली प्रदेशमा झण्डै चार हजार प्रहरी परिचालन, ड्रोनबाट निगरानी

    दसैं–तिहार नजिकिएसँगै कर्णाली प्रदेशमा पनि चाडपर्वलक्षित ‘विशेष सुरक्षा रणनीति’ लागु गरिएको छ । दसैँ, तिहार र छठ पर्व लक्षित सुरक्षा रणनीति ‘एकीकृत चाडपर्व सुरक्षा कार्ययोजना’ तयार गरी लागु गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यो समयावधिमा हुन सक्ने अवाञ्छित तथा आपराधिक गतिविधिहरु नियन्त्रण तथा सम्भावित सडक दुर्घटना न्युनिकरण गर्न विषेश सुरक्षा रणनीति लागु गरिएको प्रहरीले जनाएको छ।
    ‘ठूला पर्वका बेला हुने ठूलो जमघट एवम् चहलपहलका बीच हुन सक्ने अवाञ्छित तथा आपराधिक गतिविधि तथा सडक दुर्घटना तथा यात्रुलाई सुरक्षित गन्तव्यमा पु¥याउन सुरक्षा योजनामुताविक प्रहरी परिचालन गरिएको छ,’ कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ उपरीक्षक (एसएसपी) केदार खनालले भने, ‘चाडपर्वको समयमा हुनसक्ने कुनै पनि अपराधिक गतिविधि रोकेर आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउँदै समग्र कर्णालीमा शान्ति, सुरक्षा र अमनचयन कायम गराउन प्रहरी प्रतिवद्ध छ ।’
    विगत तीन आर्थिक वर्षको अवधिमा कर्णालीमा दसैँ–तिहार लगायतका चाडपर्वका समयमा देखिएका सुरक्षा चुनौतीलाई विश्लेषण गरी यो बर्षको चाडपर्वलक्षित सुरक्षा रणनीति तय गरिएको उनले बताए । यही अवधिको सडक दुर्घटनाको समेत विश्लेषण गर्दै प्रहरी निगरानी बढाईएको एसएसपी खनालले बताए । ‘हामीले विगतका सुरक्षासँग सम्बन्धित घटनालाई पनि विश्लेषण गरेका छौं, भौगोलिक अवस्थाका कारण कर्णालीमा सुरक्षा व्यवस्थापनको पाटो यसै पनि चुनौतीपूर्ण छ,’ उनले भने, ‘विगतका वर्षहरुमा चोरी, लुटपाट, झै–झगडा, जुवातास, हत्या, बलत्कार र सडक दुर्घटनाहरु बढी भएको देखिन्छ, विभिन्न कारणले सुरक्षा निकाय चनाखो हुनुपर्ने अवस्था छ ।’
    उनले चाडपर्वका समयमा आमनागरिक पनि सचेत रहनुपर्ने बताए । विशेषगरी चाडपर्वका समयमा अपराधिक मानसिकताका व्यक्तिहरु सक्रिय रहने सम्भावना हुने भएकाले त्यस्ता व्यक्तिको पहिचान आमनागरिक स्तरमा पनि समयमै हुन सके घटना हुनबाट रोक्न सहजीकरण हुने खनाल बताउँछन् । अन्य अवाञ्छित क्रियाकलाप भएमा पनि प्रहरीलाई नागरिकले सूचना दिन उनले आग्रह गरे ।
    गत भदौ २३ र २४ गते भएको जेनजी समूहको आन्दोलनबाट शान्ति सुरक्षामा प्रतिकुल प्रभाव परेकाले चाडपर्वमा थप सुरक्षा जोखिम बढ्न सक्ने प्रहरीको आँकलन छ । देशका विभिन्न प्रहरी कार्यालयबाट लुटपाट भएका हातहतियार, गोलीगठ्ठाको दुरुपयोग तथा विभिन्न कारागारबाट फरार अपराधिक पृष्ठभूमिका कैदीबन्दीहरु चाडपर्वको समयमा घर पुग्न सक्ने भएकाले कर्णालीका १० वटै जिल्लामा प्रहरीको छुट्टै युनिट बनाएर सुरक्षा रणनीति अख्तियार गरिएको जनाईएको छ । जेन–जी आन्दोलनपछि सिर्जित विषम अवस्थाको सुरक्षा विश्लेषण गरी अप्रिय घटना हुन नदिन योजनाबद्ध प्रहरी परिचालन, अनुगमन र नियन्त्रण जस्ता आवश्यक सुरक्षा रणनीतिका साथ प्रहरी परिचालन भएको छ ।
    चाडपर्व लक्षित विशेष सुरक्षा योजना कार्यान्वयनका लागि प्रदेशभर १ हजार २१८ वटा ड्युटी युनिटमा ३ हजार ९०८ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ । प्रहरीले सुरक्षालाई बहुआयामिक बनाउन विभिन्न प्रकारका गस्ती र जाँचलाई तीव्रता दिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यो पटक कर्णालीमा ५३ वटा मोबाइल गस्ती, ११२ वटा मोटरसाइकल गस्ती, ९२ वटा क्यूआरटी (द्रूत प्रतिकार्य टोली) परिचालन गरिएको छ । यस्तै १७८ वटा पैदल गस्ती र २० वटा लामो तथा छोटो दुरीका प्रहरी गस्ती समेत परिचालन गरिएको छ । सुरक्षा व्यवस्थालाई अझ सुदृढ बनाउन १३० स्थानमा जाँचस्थल राखिएको छ भने ९२ स्थानमा नियमित, विशेष तथा आकस्मिक जाँच भईरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
    सडक क्षेत्रमा ट्राफिकसहितको संयुक्त चेकिङ ७५ स्थानमा परिचालन गरिएको छ । यसले सवारी आवागमनलाई व्यवस्थित र सुरक्षित बनाउन मद्दत पु¥याउने विश्वास गरिएको छ । महत्वपूर्ण प्रतिष्ठान, धार्मिक तथा पर्यटकीय स्थलहरुको सुरक्षाका लागि ४३ स्थानमा प्रहरी खटाईएको छ । यात्रु तथा नागरिकको सुविधाका लागि ४३ स्थानमा यात्रु सहायता तथा नागरिक सहायता कक्ष स्थापना गरिएको एसएसपी खनालले बताए । सुरक्षा सचेतनाका लागि नौ स्थानमा माइकिङमार्फत प्रचारप्रसार भइरहेको छ भने बैंक तथा वित्तीय संघसंस्थाको सुरक्षा तथा बजार अनुगमनका लागि ४५ स्थानमा प्रहरी खटाईएको छ ।
    बढी भिडभाड हुने क्षेत्रमा २४ सैं घण्टा निगरानीसँगै कर्णाली भित्रने नाकामा तालिम प्राप्त कुकुर खटाइएको छ । यसपटकको सुरक्षा रणनीतिअनुसार प्रहरीले प्रविधिको उच्चतम प्रयोग गर्नेछ भने संवेदनशील अवस्थामा ड्रोनबाट समेत निगरानी गर्ने व्यवस्था गरिएको छ । क्षमताभन्दा बढी यात्रु तथासामान राखेर चल्ने सवारी साधनहरुलाई कारबाहीको दायरामा ल्याउन विभिन्न स्थानमा चेकजाँचमा कडाइ गरिएको एसएसपी खनालले बताए । यसवर्ष सम्भावित सडक दुर्घटना हुने क्षेत्रको पहिचान गरी त्यस्ता संवेदनशिल क्षेत्रमा प्रहरीले मोटरसाइकल गस्तीसमेत गर्ने जनाईएको छ ।

     

  • आन्दोलनमा गैरजेन–जीले उत्पात मच्चाएर स्वार्थको रोटी सेक्ने काम गरेः प्रदीप पौडेल

    आन्दोलनमा गैरजेन–जीले उत्पात मच्चाएर स्वार्थको रोटी सेक्ने काम गरेः प्रदीप पौडेल

    नेपाली कांग्रेसका नेता एवं निर्वतमान स्वास्थ्य तथा जनसंख्या प्रदीप पौडेलले आन्दोलनका क्रममा गैरजेन–जीले उत्पात मच्चाएर स्वार्थको रोटी सेक्ने काम गरेको बताएका छन् । रामेछापमा भएको अन्तक्र्रिया कार्यक्रममा उनले समाजमा जकडिएका र दल तथा व्यवस्थाले सुधार गर्न नसकेका विषय जेन–जी आन्दोलनले उठाएकाले अब रुपान्तरणको यात्रामार्फत सम्बोधन हुनुपर्ने बताए ।
    ‘जेन–जी आन्दोलन विषयविहीन थिएन । समाजमा जकडिएर बसेका दलहरुले सुधार गर्न नचाहेको तथा नसकेका विषयहरु थिए’, उनले भने, ‘नीतिगत प्रावधानभित्र भएका विषयले हुर्काएका कुरा आन्दोलनले उठाएको छ ।’
    आन्दोलनका क्रममा पहिलो दिनमै त्यति धेरै युवाले सहादत प्राप्त गरेको विषयसमेत गम्भीर भएकाले छानबिन हुनुपर्ने उनले बताए । ‘नेपालमा अहिलेसम्मकै ठूलो क्षति भएको छ,’ उनले भने, ‘आन्दोलनभित्र छिरेर गैरजेन–जीले उत्पात मच्चाउने र स्वार्थको रोटी सेक्ने काम गरे । राष्ट्रिय अन्तर्राष्ट्रिय स्वार्थहरू त्यसभित्र घुसेर परिस्थिति यस्तो भयो ।’
    पौडेलले यस क्रममा भएको क्षतिले राज्यले आफ्नो सम्पत्ति र नागरिकको सम्पत्ति रक्षा गर्न सक्ने विषय प्रश्नका रुपमा खडा भएको भन्दै यसको छानबिन आवश्यक रहेको बताए । ‘युवाहरूको सहादत र व्यक्ति तथा राज्यको सम्पत्ति दुवैको असुरक्षा र विनाशलाई गम्भीर रुपमा हेरिनुपर्छ । यसलाई सामान्य रुपमा लिन सकिन्न, यो सरकारले छानबिन गर्नुपर्छ,’ उनले भने ।


    आफू यस्तो परिस्थितीमा पदमा बस्नु उचित हुँदैन भनेर २३ भदौमा नै राजीनामा दिने मनस्थितिमा भए पनि पार्टीसँग छलफल आवश्यक भएकाले भोलिपल्ट राजीनामा दिएको बताए । ‘प्रधानमन्त्रीलाई राजीनामा बुझाउन र उहाँलाई समेत यो अवस्थामा पदमा बसिरहन हुन्न भनेर म बालुवाटार जाँदै थिएँ’, उनले भने ।
    त्यसबीचमा परिस्थिति बदलिएकाले सामाजिक सञ्जालबाट राजीनामा दिएका भन्दै उनले आफ्नै व्यवस्थापनमा सुरक्षित बसेको बताए ।