Blog

  • वर्तमान राजनीतिक अवस्थाको उचित निकास यही संविधानभित्र खोज्न सकिन्छ : देउवा

    वर्तमान राजनीतिक अवस्थाको उचित निकास यही संविधानभित्र खोज्न सकिन्छ : देउवा

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा विकसित वर्तमान राजनीतिक अवस्थाको उचित निकास पनि यही संविधानभित्र खोज्न सकिने बताएका छन्  । शुक्रबार संविधान दिवसका उपलक्ष्यका अवसरमा देउवाले यस्तो बताएका हुन् ।

    सभापति देउवाले भने , संविधान मुलुकको सर्वोच्च कानून भएकोले कुनै पनि विशेष परिस्थितिमा उत्पन्न राजनीतिक जटिलताको समाधान पनि संविधानले नै दिनु पर्दछ । यदि यसो हुन सकेन भने राजनैतिक स्थिरताको खोजीमा संविधान बाहिर जाँदा झन्झन् अस्थिरता निम्तिने सम्भावना रहन्छ । वर्तमान संविधानको सफलतासँग हामीले देशको समुन्नतिलाई सुनिश्चित गर्ने संकल्प नै आज हामी सबैको साझा दायित्व हो ।

  • रुसमा ७ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

    रुसमा ७ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

     रुसको कामचत्काको पूर्वी तटमा शुक्रबार बिहान ७ दशलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प भइको छ । यसपछि लगातार पाँचवटा पराकम्प पनि गएका छन् । जो ५ दशलव ८ म्याग्निच्युडसम्मका थिए ।

    भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । समुद्री तटमा ३० देखि ६२ सेन्टिमिटर उचाईको लहर पनि देखिएका छन् । कामचत्काका गभर्नर भ्लादिमिर सोलोदोभले सबै आपतकालीन सेवा हाई अलर्टमा राखिएको र अहिलेसम्म कुनै क्षतिको विवरण नआएको बताएका छन् । आज मात्रै उक्त क्षेत्रमा चार ठूला ७ म्याग्निच्युड वा त्यसभन्दा धेरैको भूकम्प आएको रेकर्ड गरिएको छ ।सामाजिक सञ्जालहरुमा साझा गरिएका भिडियोहरुमा भूकम्पका कारण घरमा फर्निचर, बिजुलीका बल्बहरु हल्लिरहेको देखिन्छन् । भूकम्पको शक्तिशाली झड्काका कारण सडकमा गुडिरहेका कारहरु पनि हल्लिरहेको देखिन्छन् ।

    अमेरिकाको भूवैज्ञानिक सर्भेक्षणका अनुसार भूकम्पको केन्द्रविन्दु रुसी शहर पेट्रोपावलोभ्स्क–कामचत्स्कीभन्दा १२८ किलोमिटर टाढा रहेको छ । जमिनभन्दा १० किलोमिटर मुनिबाट भूकम्प आएको थियो । रुसको स्टेट जियोफिजिकल सर्भिसले भूकम्पको तीव्रता सुरुमा ७ दशमलव ८ भनिएपनि पछि ७ दशलव ४ म्याग्निच्युड रेकर्ड गरिएको बताएको छ ।

  • युक्रेनबाट दुई नेपालीको उद्धार

    युक्रेनबाट दुई नेपालीको उद्धार

    युक्रेनबाट दुईजना नेपालीको उद्धार गरिएको छ । परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “युक्रेनको सीमामा हिरासतमा रहेका दुईजना नेपाली (रौतहटका जय प्रकाश साह र बाग्लुंगका सन्देश केसी)लाई बर्लिनस्थित नेपाली दूतावासको समन्वय एवं सक्रियतामा उद्धार गरी आज अपराह्न नेपाल फर्काइँदै छ,”।
    परराष्ट्रले विज्ञप्तिमा उद्धार कार्यमा सहयोग गर्ने युक्रेनको सीमा सुरक्षा सेवा कार्यालय, गैरआवासीय नेपाली संघ, जर्मनी र अन्य निकायरव्यक्तिरसरोकारवालाहरूलाई धन्यवाद दिएको छ ।

    विदेश यात्रा गर्दा सम्बन्धित मुलुकको अध्यागमनलगायत अन्य कानुनको पूर्णपालना गर्न परराष्ट्रले आग्रह गरेको छ ।
    सम्बन्धित मुलुकको कानुनको उल्लंघन वा अवज्ञा अथवा बेवास्ता गर्दा पक्राउ परिने र लामो समय थुनामा बस्नुपर्ने अवस्था आउने एवं ज्यान समेत जोखिममा पर्नसक्ने परराष्ट्रले जनाएको छ ।

  • जेनजी त परको कुरा, एमालेको मञ्चमा लैजान युवा पनि भेटिँदैन : विष्णु रिजाल

     नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले पार्टीको मञ्चहरू बुढो नेताले भरिने गरेकोमा चिन्ता गरेका छन् ।संविधान दिवसको अवसरमा च्यासलमा आयोजित कार्यक्रमको सन्दर्भ पार्दै उनले यस्तो चिन्ता गरेका हुन् ।
    ‘हाम्रा पार्टी कार्यक्रममा पहिले–पहिले बुढापाका भेटिए हतार–हतार मञ्चमा लिएर आसनग्रहण गराइन्थ्यो,’ उनले लेखेका छन्, –अहिले त्यसरी आसनग्रहण गराउनका लागि पनि युवा भेटिँदैन । जेन–जी पुस्ता त परको कुरा ।’
  • जनताका भावना र अपेक्षा संविधानका अक्षरभन्दा गतिशील हुन्छन्

    जनताका भावना र अपेक्षा संविधानका अक्षरभन्दा गतिशील हुन्छन्

    अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २३ र २४ गते भएको विरोध आन्दोलन युवा पुस्ताको चाहना, जनताको बढ्दो चेतनास्तर र मुलुकमा विद्यमान भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्व भएको बताएकी छन् ।

    संविधानको मर्म र भावना बमोजिम सुशासन, समृद्धि र विकासको क्षेत्रमा भएका कमीकमजोरी र त्यसबाट सिर्जित असन्तोष, अभाव वा अपेक्षा पूरा नभएको कारणले पनि युवा आन्दोलनको जन्म भएको उनको ठहर छ । आज संविधान दिवस मूल समारोहलाई सम्वोधन गर्दै उनले सो धारणा राखेकी हुन् । ‘यस आन्दोलनलाई मैले हाम्रो लोकतान्त्रिक प्रणालीको स्वास्थ्यसँग पनि जोडेर हेर्ने गरेको छु । किनभने लोकतन्त्र भनेको जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान गर्ने प्रणाली हो,’ उनले भनिन् ।

    प्रधानमन्त्री कार्कीले युवा आन्दोलनका एजेण्डालाई आत्मसाथ गर्दै जनअपेक्षा बमोजिम काम गर्न सरकार प्रतिबद्ध रहेको पनि बताइन् ।

    पढ्नुहोस् प्रधानमन्त्री कार्कीको सम्बोधनको पूर्णपाठ–

    सम्माननीय राष्ट्रपति ज्यू,

    सम्माननीय उपराष्ट्रपति ज्यू,

    सम्माननीय प्रधानन्यायाधीश ज्यू,

    सम्माननीय समामुख ज्यू,

    राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष ज्यू,

    उपस्थित विशिष्ट पदाधिकारीहरु,

    कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरु,

    जनप्रतिनिधिहरु,

    राष्ट्रसेवकहरु,

    सञ्चारकर्मीहरु

    आदरणीय दिदीबहिनी एवं दाजुभाइहरु,

    आज हामी नेपाली जनताले चुनेका प्रतिनिधिहरुको संविधानसभाले बनाएको नेपालको संविधान जारी भएको दिनलाई संविधान दिवस तथा राष्ट्रिय दिवसको रुपमा उत्साहपूर्वक मनाउँदै छौं ।

    संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले एक दशक पूरा गरेको यस गौरवपूर्ण घडीमा सम्पूर्ण नेपाली जनतामा संविधान दिवस २०८२ को हार्दिक शुभकामना व्यक्त गर्दछु ।

    नेपालको वर्तमान संविधान, नेपाली जनताले पटक–पटक गरेको जनआन्दोलन, संघर्ष, त्याग र बलिदानबाट निर्माण भएकोले यो नेपाल र नेपालीको भाग्य भविष्य, आकांक्षालाई प्रतिविम्वित गर्ने मार्गदर्शक दस्तावेज हो ।

    संघीयता, लोकतन्त्र, गणतन्त्र, समावेशिता र सामाजिक न्याय जस्ता आधारभूत विशेषता अंगालेको नेपालको संविधान जारी भएको दिन हामी सबै नेपालीले गौरव गर्ने दिन पनि हो ।

    संविधान दिवस केवल उत्सव मात्र होइन, संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्यांकन गर्ने दिन पनि हो । यो संविधान कार्यान्वयनमा आएको विगत एक दशकमा संविधानले मार्गदर्शन गरेको यात्रामा के हासिल गर्‍यौं, के गर्न सकेनौं, यसबीचमा के कस्ता कमीकमजोरी रहे र आगामी दिनमा के कस्ता कार्यदिशा आवश्यक छ भन्ने सवालहरुको गम्भीरतापूर्वक समीक्षा गर्नुपर्ने स्थिति छ ।

    संविधानले संघ, प्रदेश र स्थानीय तहमा अधिकारको बाँडफाँट, जनताको पहुँचमा गुणस्तरीय र छरितो सेवा तथा स्थानीय नेतृत्वलाई सशक्त बनाउने आधार प्रदान गरेको छ । तथा सेवा प्रवाहमा समान पहुँच, पारदर्शिता, भ्रष्टाचार शून्यता, साधन स्रोत, प्रविधिको उच्चतम उपयोग, सार्वजनिक सेवाको लागत, प्रभावकारिता, प्रतिफल सुनिश्चित हुने गरी विकास व्यवस्थापन जस्ता विषयहरु तीनै तहका सरकारका लागि साझा चुनौतिका रुपमा रहेका छन् । यी चुनौतिहरु सामाना गर्न सरकार मात्र होइन, निजी क्षेत्र, नागरिक समाज, सामुदायिक तथा गैरसरकारी क्षेत्र, नेपालको समृद्धि र विकासमा हातेमालो गर्ने अन्तर्राष्ट्रिय समुदाय र प्रत्येक नागरिकको भूमिका अपरिहार्य छ ।

    २०८२ साल भदौ २३ र २४ गते जेनजी युवाहरुको अगुवाइमा भएको विरोध प्रदर्शन र आन्दोलन हाम्रा युवा पुस्ताको चाहना, जनताको बढ्दो चेतनास्तर र मुलुकमा विद्यमान भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्व हो ।  

    संविधानको मर्म र भावना बमोजिम सुशासन, समृद्धि र विकासको क्षेत्रमा भएका कमीकमजोरी र त्यसबाट सिर्जित असन्तोष, अभाव वा अपेक्षा पूरा नभएको कारणले पनि यो आन्दोलनको जन्म भएको कुरालाई हामीले स्वीकार गर्नुपर्दछ ।

    यस आन्दोलनलाई मैले हाम्रो लोकतान्त्रिक प्रणालीको स्वास्थ्यसँग पनि जोडेर हेर्ने गरेको छु । किनभने लोकतन्त्र भनेको जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान गर्ने प्रणाली हो ।

    जेनजी पुस्ताको आन्दोलन हामीले प्रतिबद्धता व्यक्त गरेको संघीय गणतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र निष्पक्ष र सक्षम न्यायपालिका, कानुनी राज्य, सुशासन लगायतका लोकतान्त्रिक मूल्य मान्यतामा हामी खरो उत्रन नसक्नुको परिणाम पनि
    हो।

    सूचना प्रविधिमा भएको चामत्कारिक विकास पनि हो । अन्तर्राष्ट्रिय स्तरमा देखिएको नागरिकमैत्री शासन प्रणाली, खुला सरकार र भर्चुअल शासनको बारेमा जानकार रहेका युवा पुस्ताले उठाएको रोजगारीको अवसर, गुणस्तरीय जीवनस्तर, सरकारका कामकारबाहीमा पारदर्शिता, कानुनी समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र विकास जस्ता सवालहरु यथार्थमा हामी सबै पुस्ताका साझा अपेक्षा र राष्ट्रिय एजेण्डाहरु हुन् । यी एजेण्डालाई आत्मसाथ गर्दै जनअपेक्षा बमोजिम काम गर्न यो सरकार प्रतिबद्ध छ ।

    शासकीय आकांक्षा बोकेर कुनै पदको लालचा लिएर प्रधानमन्त्री भएको होइन । देश संकटमा रहेको बेला परिवर्तनकामी युवा पुस्ताको अनुरोध समेतका आधारमा चुप लागेर बस्न नसकी संक्रमणको व्यवस्थापन गर्दै नेपालको संविधान बमोजिम ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन मार्फत् जनप्रतिनिधि सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने गरी म वर्तमान अन्तरिम सरकारको प्रधानमन्त्री भएको हुँ ।

    संविधान दिवसको यस घडीमा विगतका जनआन्दोलन र हालैको जेनजीको आन्दोलनमा जीवनको आहुति दिने सबै शहीदहरुप्रति भावपूर्वक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछु । साथै यस जेनजी आन्दोलनमा घाइते व्यक्तिहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आन्दोलनको दौरान सार्वजनिक एवं निजी सम्पत्ति र औद्योगिक तथा व्यापारिक प्रतिष्ठानमा हुन गएको अकल्पनीय र अपुरणीय क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दछु ।

    संविधानका अक्षरहरु स्थीर हुन सक्लान् तर यसको भावना र प्राण सधैं जीवन्त हुन्छ ।  समयसँगै नागरिकका आवश्यकता र आकांक्षा परिवर्तन हुन्छन् । जनताका आकांक्षा र अपेक्षा अनुसार राज्य संयन्त्र क्रियाशील हुनुपर्छ । कमीकमजोरीमा आत्मालोचना गर्दै निरन्तर सुधारको बाटोमा अघि बढ्नुपर्दछ ।

    जनताका भावना र अपेक्षा संविधानका अक्षरभन्दा अझ बढी बहुआयामिक र गतिशील हुन्छन् । जनभावनालाई बेवास्ता गर्न वा अस्वीकार गर्न सकिन्न, सुुनुवाइ गर्न सकिन्न ।

    जनआवाजको सुनुवाइ नै लोकतन्त्रको आत्मा हो । यसका लागि आवश्यक पर्ने संस्थागत पुनर्संरचना र कानुनमा परिमार्जन गरी सार्वजनिक सेवा प्रवाह र विकास निर्माण कार्यलाई चुस्त, प्रभावकारी र जनमुखी बनाउन आवश्यक छ ।

    पछिल्लो आन्दोलनले हामीलाई धेरै क्षेत्रहरुमा सुधार गर्न मार्गनिर्देश गरेको छ । युवा पुस्ता आफू शासकीय प्रणालीमा सहभागी हुन चाहन्छन् । विकसित देशका सफल शासकीय अभ्यासहरुलाई हाम्रो मुलुकमा देख्न चाहन्छन् । नीतिगत तहमा आफ्नो विचार प्रतिविम्वित भएको हेर्न चाहन्छन् ।

    यसर्थ संविधान दिवसको यस अवसरमा यो सरकारले युवा, महिला, बालबालिका, फरक क्षमता भएका व्यक्ति, दलित, आदिवासी जनजाति, मधेशी, थारु, पछाडि परेको वर्ग समुदाय र सबै पुस्ताको भावना र अपेक्षालाई सम्वोधन गर्न दृढ संकल्पका साथ निरन्तर काम गर्दै जाने विश्वास दिलाउन चाहन्छु ।

    हाम्रा अगाडि जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माण गर्नुपर्ने एवं व्यवसायिक प्रतिष्ठानमा पुग्न गएको क्षतिबाट देशलाई पनि माथि उठाउनुपर्ने चुनौति छ । विकासको सम्वाहकको रुपमा रहेको निजी क्षेत्रको मनोवल बढाउनु छ । तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नुछ ।

    यस सन्दर्भमा क्षतिको पुनर्निर्माण र विकास निर्माणको महाअभियानमा सहभागी हुन म सम्पूर्ण युवापुस्ता, राजनीतिक दलहरु, राष्ट्रसेवक कर्मचारी, निजीक्षेत्र, विकास साझेदारहरु र आम नागरिकलाई आह्वान गर्दछु ।

    यस अवसरमा विशेष गरी युवा पुस्तालाई आह्वान गर्न चाहान्छु कि तपाईंहरु परिवर्तनका वास्तविक बाहक हुनुहुन्छ । तपाईंहरुको साहस, नवप्रवर्तन सोच र अटल प्रतिबद्धताले नै नेपाललाई नयाँ उचाइमा पुर्‍याउने छ ।

    आन्दोलनले उठाएका सवालहरु र शहीदका सपनाहरु पूरा गर्न हामीलाई प्राप्त छोटो अवधिमा उपलब्ध साधन स्रोतहरुको उच्चतम प्रयोग गर्दै गर्नुपर्ने, कानुनी, संस्थागत, नीतिगत सुधार अनि जनअपेक्षा अनुसारका काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । तपाईंहरुको आवाज सुन्ने, आत्मसाथ गर्ने र व्यवहारमा उतार्ने कुरामा यो सरकार कटिबद्ध छ ।

    शासकीय शैलीप्रति जनताका असंख्य गुनासा, आक्रोश अनि असन्तुष्टिहरु छन् । यस असन्तुष्टिहरुलाई एकैचोटि सम्वोधन गर्न कठिन हुने भए तापनि वर्तमान सरकारले आफ्नो स्रोत, साधन र क्षमताले भ्याएसम्म ती समस्याको समाधान गर्न इमान्दार प्रयास गर्नेछ ।

    संविधान दिवसको यस अवसरमा म सबैलाई वर्तमान सरकार नागरिकप्रति पूर्णजवाफदेही रहने प्रतिबद्धता व्यक्त गर्दै नागरिक पनि आफ्ना कर्तव्यप्रति सचेत रहनुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।

    २०६२/६३ सालको ऐतिहासिक जनआन्दोलनको जगमा निर्माण भएको नेपालको वर्तमान संविधानले विश्वलाई नेपाली जनता आफ्नो भाग्य आफैं कोर्न सक्षम छन् भन्ने सन्देश दिएको छ ।

    अहिले हामीले संविधानमा परिवर्तन भन्दा पनि संविधानको मर्म र भावना बमोजिमको कर्मको अझ बढी अपेक्षा गरेका छौं । त्यसको लागि आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, कम खर्चिलो एवं भयरहित वातावरणमा सम्पन्न गरी युवा पुस्ता लगायत सबै वर्ग, क्षेत्र, समुदायको अपनत्व सिर्जना गर्नुपर्ने आवश्यकता छ ।

    निर्वाचन एउटा यान्त्रिक प्रक्रिया मात्र हो । यो आगामी पाँच वर्षका लागि नागरिकहरुको आशा, आकांक्षा र विश्वास हस्तान्तरण गर्ने महत्वपूर्ण कडी पनि हो । सो अभिभारा पूरा गर्न सबै सरोकारवाला, राजनीतिक दल, मतदाता, सरकारी संयन्त्र, आम नागरिकबाट खुला हृदयले सहयोग हुनेछ भन्ने मैले विश्वास लिएको छु ।

    संविधान दिवसले हामीलाई नयाँ संकल्प गर्न प्रेरित गरोस्, लोकतन्त्र अझ मजबुत होस्, हाम्रो सामाजिक न्याय सुनिश्चित होस्, हाम्रो आर्थिक समृद्धि साझा होस् र हाम्रो राष्ट्र सबै नागरिकको साझा घर बनोस् भन्ने कामना गर्दछु ।

    साथै शासकीय सुधारको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न सरकार प्रतिबद्ध रहेको दोहोर्‍याउँदै परिवर्तनका लागि जीवन अर्पण गर्ने सम्पूर्ण शहीदहरु, जेनजी पुस्ता लगायत आम नागरिकलाई म हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

    अन्त्यमा सम्पूर्ण नेपाली जनतामा संविधान दिवस २०८२ को हार्दिक शुभकामना व्यक्त गर्दछु ।

    धन्यवाद । (अनलाइनखबर)

  • संविधान खारेज गरिंदै थियो, मैले बचाउन सहजीकरण गरें : प्रचण्ड

    संविधान खारेज गरिंदै थियो, मैले बचाउन सहजीकरण गरें : प्रचण्ड

     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान बचाउन र अन्तरिक सरकार गठनका लागि आफूले सहजीकरण गरेका बताएका
    छन् ।

    जेनजी आन्दोलनले केपी ओली नेतृत्वको सरकार ढलेपछि संविधान र राष्ट्रपति संस्था पनि खारेज गर्न लागिएको दाबी गर्दै प्रचण्डले आफूले बचाउन सहजीकरण गरेको दाबी गरेका हुन् । संविधान दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले त्यसका लागि राष्ट्रपति र प्रधान सेनापतिसँग रातभर छलफल गरेको बताएका हुन् ।

    ‘इतिहासले, घटनाक्रमले र संयोगले यो प्रक्रियामा कुनै न कुनै रुपले सहजीकरण गर्ने अवसर दियो मलाई । मैले संसद विघटन मात्रै होइन । संविधान खारेज गर्ने र राष्ट्रपति हटाउन के कस्ता कसरत भए भन्ने कुरा नजिकबाट हेर्ने, बुझ्ने अवसर पाए’, उनले भने, ‘अन्तिममा हुन सक्ने जति सहजीकरण रातभर बसेर सम्माननीय राष्टपति, प्रधानसेनापति र अन्य दलका नेताहरुसँग संवाद गरेर अन्तरिम सरकारको यो रुपमा गएर पनि संविधान बचाउनु पर्छ भनेँ ।’

    वर्तमान संविधान सामान्य संविधान नभएको बताउँदै उनले राष्ट्रपति संस्थालाई हरहालतमा बचाउनुपर्छ भनेर आफू लागेको बताए । यो संविधान र राष्ट्रपति संस्थासँग माओवादीको योगदान रहेको बताउँदै उनले यो सहजीकरण गर्ने अधिकार पनि भएको बताए । उनले प्रधानसेनापतिलाई पनि धन्यवाद दिएका छन् । प्रधान सेनापतिले राजनीतिक रुपले निकास निस्केन भने मुलुक भयानक अप्ठेरोमा जानसक्ने भनेर कोसिस गरेको आफूले देखेको उनको दाबी छ । जेनजीहरुले आगजनी र तोडफोड नगर्न अपिल गर्दागर्दै पनि त्यस्तो घटना भएको भन्दै प्रचण्डले घुसपैठ भएको बताए ।हालको संविधानलाई  संशाेधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीकाे व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

  • लिङ्देनले बोलाए केन्द्रीय कार्यसम्पादन समिति बैठक

    लिङ्देनले बोलाए केन्द्रीय कार्यसम्पादन समिति बैठक

  • चिनियाँ राजदूतले प्रधानमन्त्री कार्कीलाई भेटेर दिए बधाई

    चिनियाँ राजदूतले प्रधानमन्त्री कार्कीलाई भेटेर दिए बधाई

    नेपालका लागि चिनियाँ राजदूत चेन सोङले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर बधाई तथा शुभकामना दिएका छन् ।काठमाडौंस्थित चिनियाँ दूतावासले बिहीबार राजदूत सोङले प्रधानमन्त्री कार्कीलाई भेटेको जानकारी दिएको हो । भेटमा राजदूत सोङले प्रधानमन्त्रीमा नियुक्त भएकोमा शुभकामना तथा बधाई दिँदै चिनियाँ सहयोगको प्रतिबद्धता जनाएका थिए । साथै भेटमा आपसी दृष्टिकोण आदानप्रदान गर्दै मित्रता र सहकार्यलाई अझ प्रगाढ बनाउनेबारे दुवै पक्ष सहमत भएको चिनियाँ दूतावासले उल्लेख गरेको छ । जेनजी आन्दोलनपछि कार्की गत २७ भदाैमा अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् ।

  • जेनजीले गरेको सुरुवात भ्रष्टाचार विरुद्ध थियो, हिंसात्मक गर्ने थिएन : गृहमन्त्री अर्याल

    जेनजीले गरेको सुरुवात भ्रष्टाचार विरुद्ध थियो, हिंसात्मक गर्ने थिएन : गृहमन्त्री अर्याल

     अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी प्रदर्शनको क्रममा भएको विध्वंसात्मक क्रियाकलापलाई गम्भीर रूपमा अनुसन्धान गरेर कानुनी दायरामा ल्याइने बताएका छन् । आज प्रहरी प्रधान कार्यालयमा पुगेर देशभरका युनिट प्रमुखहरूलाई भर्चुअल ब्रिफिङ गर्दै अर्यालले भने– ‘विध्वंसात्मक क्रियाकलापलाई गम्भीर रूपमा अनुसन्धान गरी कानुनी दायरामा ल्याइने विश्वास दिलाउन चाहन्छु ।’ छानबिन र अनुसन्धान जाँचबुझ आयोग गठन भएपछि हुने र आयोगको निष्कर्ष अन्तिम हुने अर्यालले बताए । उनले भने– ‘जेनजीले गरेको सुरुवात भ्रष्टाचार विरुद्ध थियो, हिंसात्मक गर्ने थिएन ।’

    देशभरका करिब ३ सय युनिटका इन्चार्जहरूलाई निर्देशन सम्बोधन गर्दै गृहमन्त्री अर्यालले प्रदर्शनमा घुसपैठ भएको बताए । उनले भने– ‘आन्दोलन कुशासन र भ्रष्टाचारको विरुद्धमा थियो तर, त्यसमा स्वार्थ पुरा गर्ने उद्देश्यले घुसपैठ भएको कुरा सामाजिक सञ्जालमा आएका भिडियो र क्रियाकलापले पुष्टि गरेको देखिन्छ ।’

  • विदेशमा रहेका नेपालीलाई मतदान गर्ने विषय यसपटक सम्भव बनाउनैपर्छ : गृहमन्त्री

    विदेशमा रहेका नेपालीलाई मतदान गर्ने विषय यसपटक सम्भव बनाउनैपर्छ : गृहमन्त्री

    गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपालीहरूले पनि मतदान गर्न पाउनुपर्ने सर्वोच्च अदालतको आदेशलाई यसपटक सम्भव बनाउन आफू लाग्ने बताएका छन् ।

    निर्वाचन आयोगमा बिहीबार भएको छलफलमा भाग लिने क्रममा उनले यस्तो बताएका हुन् । समानुपातिक निर्वाचन प्रणालीमा भए पनि मतदान गर्न पाउनुपर्ने माग बढेको उल्लेख गर्दै उनले यसलाई सम्भव बनाउनुपर्ने बताएका हुन् ।

    ‘विदेशमा रहेका नेपालीले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत भए पनि मतदान गर्न पाउनैपर्छ भन्ने छ । सर्वोच्चले आदेश दिएको पनि धेरै भयो । यसलाई सम्भव बनाउनैपर्छ,’ गृहमन्त्री अर्यालले भने, ‘सकेसम्म सबैलाई समेट्ने मेरो प्रयास हो । कुनै देशमा प्राविधिक समस्या छ भने पनि जहाँ जहाँ सकिन्छ सम्भव बनाउने मेरो प्रयास हो ।’ मतदानको पूर्ण सम्भावना नभएका देशहरूमा राजदूतावासमार्फत प्रविधिको प्रयोग गरेर मतदानको व्यवस्था गराउनुपर्ने गृहमन्त्री अर्यालको भनाइ थियो ।

    ‘सकिएन भने पनि जहाँ हाम्रो राजदूतावास छ त्यहाँबाट प्रयास गर्नुपर्छ । राज्यले पनि प्रविधिको प्रयोग गरेर युवा पुस्तालाई राजनीतिको मूलधारमा ल्याउने प्रयास गरौं भन्ने छ,’ उनले आयोगमा ब्रिफिङ गर्ने क्रममा भने, ‘उहाँहरूलाई हामीले निर्वाचनमा मतदान गर्ने अवसरबाट बञ्चित गर्न हुँदैन । नेपाल सरकारबाट गर्न सक्ने हामीले गर्छौं, मलाई लाग्छ निर्वाचन आयोगले पनि यसमा सहजीकरण गर्नेछ ।’