Blog

  • संसद् तत्काल विघटनको मागमा राष्ट्रपतिले लिएका थिए

    संसद् तत्काल विघटनको मागमा राष्ट्रपतिले लिएका थिए

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा पहिले नै विघटन गर्ने माग पेश हुँदा आफूले बरु सहिद हुन तयार रहेको तर संविधानभन्दा बाहिर नजाने अडान लिएको प्रसंग सुनाएका छन् । शीलत निवासमा बिहीबार पुगेका नागरिक समाजका अगुवाहरुसँग भदौ २४ को घटना र त्यसपछि अन्तरिम सरकार गठन गर्दा सम्मका प्रसंग सुनाएका थिए । राष्ट्रपतिको अडानकै कारण पहिले अन्तरिम सरकार गठन त्यसपछि प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधि सभा विघटन भएको थियो । आन्दोलनकारीहरुले पहिले नै प्रतिनिधिसभा विघटन हुनुपर्ने अडान राखिरहेका थिए । ‘असाधारण परिस्थितिमा यो अवस्था आएको हो । तर पनि अब संविधान बचेको छ । अब संविधानलाई तलमाथि हुन नदिइकन काम गर्नुपर्छ’ राष्ट्रपतिले नागरिक अगुवाहरूसँग भनेका थिए ।

    उनले मुस्किलले सम्हाल्दै यो अवस्थामा आएको उल्लेख गर्दै अब चुनावको विषय प्राथमिकतामा रहेको बताए । उनले चुनावका अत्यावश्यक बाहेक अन्य प्रकारका कुनै अध्यादेशहरु आए आफूले नस्विकार्ने पनि नागरिक समाजका अगुवालाई बताएका थिए ।

    नागरिक समाजका अगुवाहरूले बिहीबार अन्तरिम सरकारको मुख्य काम चुनाव भएकाले यो भन्दा दायाबाया नलाग्नका लागि सचेत गराउन राष्ट्रपति रामचन्द्र पौडेलसँग अनुरोध गरेका छन् ।

    उनीहरुले राष्ट्रपति पौडेललाई भेटेर ज्ञापन पत्र समेत बुझाएका छन् । उनीहरुले दलरहरुसँग अनावश्यक प्रतिशोध नसाँध्न पनि अनुरोध गरेका छन् । यदी यस्तो गरिए अनावश्यक तनाव सिर्जना हुने उनीहरूको ठहर छ ।

    ‘लोकतन्त्रको आधारस्तम्भ आम नागरिक र राजनीतिक दलहरु भएकाले उनीहरुको भूमिकालाई न्यूनीकरण गर्ने, दलका विरुद्धमा प्रतिशोध साध्ने र संवैधानिक सरचनाहरुलाई असंवैधानिक ढंगले खुम्च्याउने वा चलाउने कार्य भएमा अर्को द्वन्द्व र तनाव सिर्जना भई अन्तरिम सरकार आफ्नो मूल दायित्वबाट च्यूत हुन सक्ने छ’ उनीहरुले भनेका छन् ।

    भेटमा संलग्न वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईका अनुसार राष्ट्रपति पौडेलले असाधारण परिस्थितिमा आफूले भूमिका खेलेको बताएका थिए । ‘ हामीले छ महिनाभित्र चुनाव गर्न जसरी पनि वातावरण बनाउनुपर्छ भनेर हामीले भनेका छौं’ भट्टराईले भने,’ अनावश्यक अध्यादेशहरु आउन सक्छन् त्यसमा पनि सचेत रहनका लागि राष्ट्रपतिको ध्यानाकर्षण गराएका छौं ।’

    आन्दोलनकारीहरुको मागअनुसार सुशीला कार्की प्रधानमन्त्री बनिसकेकाले अब सरकारले जेनजी आन्दोलनकारीहरु, दलहरु र नागरिक समाजसँग समन्व्यात्मक ढंगले काम गर्न सक्नु पर्ने उनीहरुको धारणा थियो

    ‘त्यस्तो समन्वय गर्न, आपसी समझदारी बढाउन र विश्वासको वातावरण बनाउनमा यत्तिबेला ढंगले काम गर्न सम्माननीय राष्ट्रपतिज्यूको महत्वपूर्ण योगदान हुनेछ’ उनीहरुले भनेका छन्,’ त्यस प्रकारको वातावरण निर्माण गर्न राष्ट्रिय सभाको जिम्मेवारीपूर्ण परिचालन पनि एउटा संविधान-सम्मत कदम हुनेछ भन्ने हाम्रो मान्यता रहेको छ ।’

    उनीहरुले राजनैतिक दलहरुलाई पनि अहिलेको सच्चाइलाई बोध गर्दै शान्तिपूर्ण राजनीतिक संक्रमणमार्फत् लोकतन्त्रलाई सुदृढ गर्न र युवाहरुका न्यायोचित आकांक्षाहरु पूरा गर्न संवेदनशील हुँदै प्रतिनिधिसभाको चुनाव सफल बनाउन अनुरोध गरेका छन् ।

    उनीहरुले विषम र असाधारण राजनीतिक संकट‌को बेला राष्ट्रपतिज्यूले यथासक्य संविधानको रक्षा गर्दै देशलाई अराजकताको दिशातर्फ जानबाट रोकी दलहरूको समेत सहमतिमा अन्तरिम सरकार‌को प्रधानमन्त्री नियुक्त गर्न खेलेको भूमिका सराहनीय रहेको भन्दै उनीहरुले प्रशंसा पनि व्यक्त गरेका छन् ।

    अन्तरिम प्रधानमन्त्रीको सिफारिसमा संसद् विघटन गरिनु संविधानसम्मत नभए‌को र उक्त कदमले अन्तरिम सरकार र दलहरुबीच दूरी बढाएको मात्र होइन, संविधान‌को रक्षामा उभिएका पेसागत संघसंस्थाहरुको आस्थामा पनि आघात पुगेको पनि उनीहरुले उल्लेख गरेका छन् । ‘जे जस्तो परिस्थितिमा पनि चुनावको मिति समेत निर्धारित भइसकेको अवस्थामा संविधानका केही धारामा लागेको यो ग्रहण अस्थायी होस् भन्ने हाम्रो चाहना र कासना रहेको छ’, उनीहरुले भनेका छन्,’ उपरोक्त विकसित, घटनाक्रमबाट उत्पन्न विशेष परिस्थितिमा राजनीतिक दल, जेनजी आन्‌दोलनकारी र नागरिक समाज सबैले चुनाव संम्पन्न गर्न, सहयोग गर्दै संवैधानिक व्यवस्थालाई यथावत रुपमा क्रियाशील गराउनु सबै नेपालीको दायित्व हुन’ पुगेको छ ।’ नागरिक अगुवाहरू महेशकुमार मास्के, मल्ल के. सुन्दर, परशुराम तामाङ, रत्नसंसार श्रेष्ठ. कुन्दन अर्याल, जगत देउजा, टीकाराम भट्टराई,कनकमणि दिक्षित, चण्डेश्वर श्रेष्ठ, राजेन्द्र महर्जन, गीता त्रिपाठी, बिन्दु शर्मा, शरद वन्त, सुशील प्याकुरेलले बिहीबार राष्ट्रपति पौडेललाई भेटेका थिए ।(अनलाइनखबर)

  • सुदन गुरूङलाई कसैले पछ्याएको दाबी, प्रहरी भन्छ: खबर छैन

    सुदन गुरूङलाई कसैले पछ्याएको दाबी, प्रहरी भन्छ: खबर छैन

  • जनमत पार्टीका ६ नेताले दिए सामूहिक राजीनामा

    जनमत पार्टीका ६ नेताले दिए सामूहिक राजीनामा

     जनमत पार्टीका ६ शीर्ष नेताहरूले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै सामूहिक राजीनामा दिएका छन्।

    राजीनामा दिनेहरूमा जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता डा शरत सिंह यादव, जनमत युवा सङ्घका केन्द्रीय संयोजक सञ्जय कुमार यादव, जनमत स्वास्थ्यकर्मी सङ्घका केन्द्रीय संयोजक सी.के. सिंह, सुदूरपश्चिम प्रदेशका वरिष्ठ प्रदेश इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्यसहित केन्द्रीय सदस्य विक्रम बहादुर बम रहेका छन् ।

  • चन्दाले हैन ,भ्रष्टहरूको सम्पत्ति राष्ट्रियकरण गरेर सिंहदरबार बनाऊ : कुलमान हर्क

    चन्दाले हैन ,भ्रष्टहरूको सम्पत्ति राष्ट्रियकरण गरेर सिंहदरबार बनाऊ : कुलमान हर्क

    धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले भ्रष्टहरूको सम्पत्ति राष्ट्रियकरण गरेर सिंहदरबार बनाउन ऊर्जा मन्त्री कुलमान घिसिङलाई सुझाव दिएका छन्। कुलमान घिसिङले नेपालीको सहयोगबाटै सिंहदरबार लगायतका भौतिक संरचना निर्माण गरिने बताउँदै गर्दा उनको यस्तो सुझाव दिएका हुन्। अन्यथता कुलमानको बचेको इमेज बिग्रने उनले चेतावनी दिए ।

    ‘कुलमान जी, भ्रष्टहरूको बिना स्रोतको सम्पत्ति राष्ट्रियकरण गरेर त्यसबाट सिंह दरबार अर्थात् सेवा केन्द्र बनाउनुस्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर, भ्रष्टहरूलाई कुनै कारबाही तिर नलागी नेपालीबाट सहयोगको अपेक्षा नगर्नुस्! खबरदार !! इमेज सकिएला !!!’

  • सुनको मूल्यमा गिरावट

    सुनको मूल्यमा गिरावट

    स्थानीय बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा २ लाख १६ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको छ। बुधवार को तुलनामा बिहीबार नौ सय रुपैयाँले सुनको मूल्य घटेको हो।

    यस्तै बिहीबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बुधबार तोलामा २ हजार ५ सय ५० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार तोलामा २ हजार ५२० रुपैयाँ कायम भएको भएको नेपाल सुनचाँदी महासङ्घले जनाएको छ।

  • सुशीला कार्की र नरेन्द्र मोदीबीच फोनवार्ताको तयारी

    सुशीला कार्की र नरेन्द्र मोदीबीच फोनवार्ताको तयारी

     अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज फोन वार्ताको तयारी भइरहेको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, आज बिहान साढे ११ बजे फोनवार्ताको तयारी गरिएको हो ।

    मंगलबार नै वार्ता हुने तयारी भएको भए पनि अन्तिम समयमा उनीहरूबीचको फोनवार्ता सरेको थियो ।गत भदौ २३ र २४ गते भएको जेनजी युवाहरूको प्रदर्शनको बलमा केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।

    कार्की नेतृत्वको सरकार बनेपछि मोदीले सामाजिक सञ्जालमार्फत बधाई दिइसकेका छन् । मोदीले गत शनिबार मणिपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालमा सुशीला कार्की नेतृत्वको सरकार बन्नु महिला सशक्तीकरणको उदाहरण भएको समेत बताएका थिए ।

  • पाँच जिल्लामा अर्बौंको क्षति

    पाँच जिल्लामा अर्बौंको क्षति

    सरकारी र निजी गरी ४५ वटा सवारी साधनमा क्षति

    भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा कर्णालीका सुर्खेतसहित पाँच वटा जिल्लामा क्षति पुगेको छ । आन्दोलनका क्रममा जाजरकोट, हुम्ला, दैलेख, सल्यान र रुकुम पश्चिमका सार्वजनिक भौतिक संरचनामा वा व्यक्तिगत सम्पत्तिमा भने कुनै पनि क्षति पुगेको छैन ।
    सुर्खेत, जुम्ला, कालीकोट, मुगु र डोल्पामा सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुर्‍याईएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इनसेक) कर्णाली प्रदेशले आन्दोलनका क्रममा भएको क्षतिको अनुगमनपश्चात यी पाँच जिल्लामा अर्बौंको क्षति भएको सार्वजनिक गरेको छ ।
    आन्दोलनमा सहभागी केही समूहले सुर्खेत, जुम्ला, कालिकोट, मुगु र डोल्पामा सरकारी कार्यालय, राजनीतिक दलका पार्टी कार्यालय र निजी निवासहरुमा तोडफोड र आगजनी गरी नोक्सानी पुर्‍याएका छन् । प्रदेशको राजधानी वीरेन्द्रनगरमा सबैभन्दा बढी क्षति भएको छ ।
    इन्सेक कर्णाली प्रदेश कार्यालयले आन्दोलनपछि क्षतिग्रस्त भौतिक संरचना तथा अन्य क्षतिको विवरण सङ्कलन गरेको हो । इन्सेकले संकलन गरेको विवरणअनुसार सबैभन्दा बढी क्षति सुर्खेतमा भएको छ । त्यसमा पनि प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरका सार्वजनिक सम्पत्तिमा ठूलो क्षति भएको इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले बताए ।
    हामीले क्षतिग्रस्त संरचनाहरुको प्रत्यक्ष अवलोकन गरेका छौं, त्यसअनुसार विवरण सम्बन्धित निकायलाई बुझाएका छौं,’ सुवेदीले भने, कर्णालीका सुर्खेतसहित पाँच जिल्लामा भौतिक रुपमा क्षति भएको छ, यसको पुनर्निर्माण गर्न अर्बौं रकम खर्च हुने देखिन्छ ।’
    जेनजी आन्दोलनमा घुसेको केही समूहले जुम्लाको एउटा सरकारी कार्यालय, पाँच वटा पार्टी कार्यालयमा आगजनी र तोडफोड गरेका छन् । यस्तै आठ वटा सरकारी गाडी र ११ ओटा मोटरसाइकलमा पनि तोडफोड र आगजनी गरी क्षति पुर्‍याएका छन् । आन्दोलनकारीहरुले अत्यावश्यक सेवामा चल्ने एम्बुलेन्स, शववहान र दमकलमा समेत तोडफोड र आगजनी गरेको सुवेदीले बताए ।
    कालिकोटमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी गरी सात वटा पार्टी कार्यालयमा आन्दोलनकारीले तोडफोडसँगै आगजनी गरेका छन् ।
    सुवेदीका अनुसार मुगुमा कांग्रेस र एमालेको पार्टी कार्यालय तोडफोड गरिएको छ । आन्दोलनकारीले छाँयाँनाथ रारा नगरपालिकामा नगरप्रमुखको कार्यकक्ष भित्र पसेर तोडफोड गरेका छन् । कार्यकक्षभित्र राखिएको उच्च पदस्थ व्यक्तिका तस्विरहरु निकालेर फालिएको थियो । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बगरस्थित कांग्रेस नगर समितिको कार्यालय रहेको स्थानीयको घरमा आन्दोलनकारीले ढुंगामुढा गरेर तोडफोड गरेका थिए ।
    सुर्खेतमा मात्र सरकारी, निजी तथा संस्थागत गरी ४४ वटा भौतिक संरचनामा क्षति पुगेको इनसेक कर्णाली प्रदेशले जनाएको छ ।
    २८ वटा सरकारी, ८ वटा निजी, पाँच वटा राजनीतिक दलका पार्टी कार्यालय र तीन वटा अन्य संघसंस्थाका कार्यालयमा क्षति पुगेको हो । यी संरचनामध्ये केही सरकारी र निजीमा आगजनी र तोडफोड दुवै भएको छ भने संघसंस्था लगायतका कतिपय संरचनामा तोडफोड मात्र भएको छ ।
    वीरेन्द्रनगरमा रहेको कर्णाली प्रदेश सभा, सिटी हल, वीरेन्द्रनगर नगरपालिकाको कार्यालय, नापी कार्यालय, प्रदेश लेखा नियन्त्रकको कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, सुर्खेत उपत्याका खानेपानी आयोजना कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, मुख्य न्यायाधिवक्ताको कार्यालयमा आन्दोलनकारीले क्षति पुर्‍याएका छन् ।
    वीरेन्द्रनगर नगरपालिकाका वडा नम्बर २, ३, ४ र ६ कार्यालयहरुमा आगलागी र तोडफोड हुँदा पूर्णरुपमा क्षति भएको छ । वडा नम्बर १, ७, ८, ९, १० र ११ कार्यालयहरुमा आंशिक क्षति पुगेको छ ।
    यस्तै उच्च सरकारी वकिलको कार्यालय, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यालय, उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको कार्यालय, कृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय, मुख्यमन्त्रीको सरकारी निवास, कृषिमन्त्री, भौतिक मन्त्रीका निवास, हिमाली पुस्तकालय, भैरवस्थानमा रहेको नेपाल रेडक्रस सोसाइटी उपशाखा भवनमा क्षति पुगेको छ ।
    वीरेन्द्रनगरमा रहेका नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमोर्चाको पार्टी कार्यालयमा तोडफोड र आगजनी भएका छन् । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको निवास, उनका भाई डा. डम्बर खड्का र विष्णु खड्काको निवास, विष्णु खड्काको पेट्रोल पम्प र फार्मेसी, मुख्यमन्त्री यामलाल कँडेलको निजी निवास, वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकाल र उपप्रमुख नीलकण्ठ खनालको निजी निवासमा तोडफोडसँगै आगजनी गरी क्षति पुर्‍याईएको छ ।


    आन्दोलनकारीहरुले प्रदेश सभामा रहेको एनआईसी एसिया बैंकको एटीएम समेत तोडफोडसँगै आगजनी गरेका छन् ।
    सुर्खेतमा मात्र आन्दोलनकारीहरुले गरेको आगजनीका कारण ११ वटा सरकारी गाडी र आठ मोटरसाइकलमा क्षति पुगेको छ । निजी सवारीतर्फ दुई गाडी र पाँच वटा मोटरसाईकलमा क्षति पुगेको छ ।

  • भदौ २७ सम्म जसको नाम मतदाता नामावलीमा चढेको थियो, फागुनमा उसले मात्रै पाउँछ भोट हाल्न

    भदौ २७ सम्म जसको नाम मतदाता नामावलीमा चढेको थियो, फागुनमा उसले मात्रै पाउँछ भोट हाल्न

  • हात हातमा संविधान बोकेर निस्किँदै कांग्रेस

    हात हातमा संविधान बोकेर निस्किँदै कांग्रेस

    नेपाली कांग्रेसले असोज ३ गते संविधान दिवस देशभर मनाउने निर्णय गरेको छ। संविधान दिवसकाे अवसरमा हात हातमा संविधान बाेकेर सडकमा निस्कने बताएका छन् । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले ७७ वटै जिल्लामा संविधानको रक्षार्थ हात हातमा संविधान लिएर प्रदर्शन गर्न निर्देशन भएको बताएका हुन।

    ‘असोज ३ गते ७७ वटै जिल्लामा, देशबाहिर पनि जुनजुन देशमा छौं, पार्टीका कमिटी, भातृ संस्था, शुभेच्छुक संस्था सबैलाई अनुरोध गरिसकेका छौं,’ बुधबार सानेपास्थित केन्द्रीय कार्यालयको अवलोकन गर्न पुगेका उपसभापति खड्काले पत्रकारसँग कुराकानी गर्दै भने, ‘सबैले संयुक्त रूपमा ७७ वटै जिल्लामा शान्तिपूर्ण तरिकाले संविधान हातमा लिएर हामीले संविधान दिवस मनाउने निर्देशन गरिसकेका छौं।’

    पार्टीको कार्यसम्पादन समितिको बैठकबाट संविधान दिवस मनाउने निर्णय भएको पनि उनले बताए। ‘संविधान दिवस अत्यन्त संयमिततापूर्वक, दृढतापूर्वक संविधान रक्षाको केन्द्रीय जिम्मेवारीलाई शिरमा राखेर संविधान दिवस मनाउने निर्णय भएको छ,’ उपसभापति खड्काले भने।