Blog

  • सविता भण्डारी महान्यायाधिवक्तामा नियुक्त

    सविता भण्डारी महान्यायाधिवक्तामा नियुक्त

  • देउवा दम्पतीमाथि भएको आक्रमणबारे बोल्यो कांग्रेस​

    देउवा दम्पतीमाथि भएको आक्रमणबारे बोल्यो कांग्रेस​

    नेपाली कांग्रेसले जेनजीहरूको भावना विपरीत घुसपैठ गर्नेले पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवामाथि आक्रमण गरेको जनाएको छ ।
    उपसभापति पूर्णबहादुर खड्काले आइतबार विज्ञप्ति जारी गर्दै सभापति देउवा र राणामाथि भएको आक्रमणको निन्दा गरेका हुन् । ‘लोकतन्त्रका लागि जीवन पर्यन्त अविचलित रूपमा संघर्ष गरेका पार्टीका आदरणीय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पार्टीका केन्द्रीय सदस्य डा. आरजु राणा देउवा माथिको अमानवीय र बर्बरतापूर्ण भौतिक आक्रमण निन्दनीय एवं भर्त्सना योग्य छ,’ विज्ञप्तिमा भनिएको छ, ‘उहाँहरू उपचारको क्रममा रहनु भएकाले शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।’

    जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएको मृत्यु एवं खर्बौंको भौतिक संरचनाको विनाशसहितका विषयमा पार्टीले औपचारिक रूपमा धारणा सार्वजनिक गरेको भन्दै उनले कुनै भ्रममा नपर्न आग्रह गरेका छन् ।

    ‘कांग्रेस सभापति शेरबहादुर देउवा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र अन्य कयौं राजनैतिक नेतृत्व माथिको भौतिक आक्रमण, राष्ट्रपतिद्वारा गरिएको संवाद पहलकदमी, अन्तरिम प्रधानमन्त्रीको घोषणा, प्रतिनिधिसभा विघटन यी समग्र विषयमा पार्टीको धारणा महामन्त्रीद्वयको वक्तव्यबाट र पछिल्लो समय कार्यसम्पादन समितिको बैठकको निर्णयबाट सार्वजनिक गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘वर्तमानमा पार्टीको भूमिका संयोजन गरिरहेको नाताले हाम्रा धारणाहरू बारे कुनै अस्पष्टता र अन्योल नरहेको सम्बन्धमा हामी स्पष्ट छौं ।’

    जेनजीद्वारा भदौ २३ र २४ गते भएको प्रदर्शनमा युवाहरू सहादत हुनु र खबौं सम्पत्तिको तोडफोड, आगजनी भई पूर्ण क्षति हुनुलाई कांग्रेसले अत्यन्तै दु:खद घटना भनेको छ ।

    आन्दोलनको क्रममा जीवन गुमाउने युवाहरू, सुरक्षाकर्मी लगायतप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कांग्रेसले परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । यस अघि नै घटनाको छानबिन गर्न हामीले माग गरिसकेको भन्दै कांग्रेसले पुन: स्मरण गराएको छ ।

    जेनजीको भावना विपरीत अवाञ्छित तत्वले गरेको घुसपैठ र ध्वंसको वास्तविक आकलनको प्रक्रिया अबिलम्ब गर्न पनि कांग्रेसले ध्यानाकर्षण गराएको छ ।

    ‘जेनजीको भावना विपरीत अवाञ्छित घुसपैठ हुँदा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, प्रदेशसभा भवनहरूदेखि अनेकौं राजनैतिक, प्रशासनिक, व्यावसायिक प्रतिष्ठान, वित्तीय संस्था, मिडिया हाउस र व्यक्तिका निजी घर समेतमा गरेर खर्बौंको संरचना ध्वस्त गरिएको छ,’ कांग्रेसले भनेको छ, ‘यो अत्यन्तै अकल्पनीय र दु:खद घटना निन्दनीय र भर्त्सना योग्य छ । सरकारले क्षतिको वास्तविक आकलन प्रक्रिया अविलम्ब शुरू गरोस् ।’

    यसैगरी पार्टीका अग्रजहरू, नेताहरू, पार्टीका साथीहरू तथा अन्य राजनीतिक दलका नेताहरू माथि भएको भौतिक आक्रमण निन्दनीय भन्दै कांग्रेसले भर्त्सना गरेको छ ।

    संसद् विघटन अलोकतान्त्रिक कदम

    कांग्रेसले देशकै सर्वोच्च संस्था प्रतिनिधिसभा विघटनको कदमलाई असंवैधानिक भनेको छ ।

    ‘संविधान बमोजिम जनताबाट लोकतान्त्रिक विधिअनुसार, निर्वाचित देशकै सर्वोच्च प्रतिनिधिमूलक संस्था प्रतिनिधिसभा विघटनको कार्य पूर्णरूपमा अलोकतान्त्रिक र असंवैधानिक छ,’ कांग्रेसले भनेको छ, ‘यस कार्यले देशको संविधान, संविधानद्वारा प्रत्याभूत नागरिक अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने संविधानको भावनामा कुठराघात भएको छ । यसले लोकतन्त्र र संविधानलाई कमजोर गर्नुका साथै सम्मानित सर्वोच्च अदालतको पूर्ववर्ती सम्बन्धित फैसलाभन्दा विपरीत छ ।’(लाेकान्त्रर)

  • नेतृत्व र संगठनमा पुनर्गठनको खाँचो छ : सुरेन्द्र पाण्डे

    नेतृत्व र संगठनमा पुनर्गठनको खाँचो छ : सुरेन्द्र पाण्डे

    नेतृत्व र संगठनमा पुनर्गठनको खाँचो छ : सुरेन्द्र पाण्डे

    नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले अब राजनीतिक दलका नेता– कार्यकर्ताले नयाँ सिराबाट सोच्नुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत ‘जेनजी’ प्रदर्शनका क्रममा भएका घटनाले राजनीतिक पार्टीहरूका अवस्था समेत गम्भीर बन्न पुगेको उल्लेख गरेका छन् ।

    “हालको राजनीतिक परिघटना र तनावग्रस्त अवस्थामा सबै राजनीतिक पार्टीहरूका अवस्था समेत गम्भीर बन्न पुगेको छ । यो संकटको अवस्थामा सर्वसाधारणहरू, कार्यकर्ता तथा नेताहरूले धैर्यधारण गरी अगाडि बढ्नु आवश्यक छ,” उनले भनेका छन् ।

    पाण्डेले नेतृत्व र संगठनको पुनर्गठनको खाँचौ औँल्याएका छन् । “यो नयाँ अवस्थाबाट हरेक व्यक्ति र पार्टीहरूले आफूलाई आफ्नो कार्यको मूल्यांकन गर्न, सही मार्ग पहिल्याउन र मुलुकमा राजनीतिक स्थिरता, शान्ति, विकास र समृद्धिको लागि के उपायहरू छन् भन्ने बारेमा नयाँ सिराबाट सोच्नु आवश्यक छ । समयले नेतृत्व र संगठनहरूमा व्यापक पुनर्गठनको खाँचोलाई औँल्याएको छ,” उनले लेखेका छन् ।

  • नेपालीले रोजेको विकासको बाटोको सम्मान गर्छौं : चीन

    नेपालीले रोजेको विकासको बाटोको सम्मान गर्छौं : चीन

    चीनले भन्यो– नेपालीले रोजेको विकासको बाटोको सम्मान गर्छौं

    प्रधानमन्त्री सुशीला कार्कीलाई चीनले बधाई ज्ञापन गरेको छ । आइतबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले एक विज्ञप्ति प्रकाशन गर्दै नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री बनेकामा कार्कीलाई बधाई दिएको हो ।

    चिनियाँ विदेश मन्त्रालयले विज्ञप्तिमार्फत भनेको छ, “चीन र नेपालबीच लामो समयदेखिको मित्रता छ । चीनले सधैँझैँ नेपाली जनताले स्वतन्त्र रूपमा रोजेको विकासको बाटोको सम्मान गर्छ ।” ग्लाेबल टाइम्स

    का अनुसार, प्रवक्ताले अगाडि भने, “हामी पञ्चशीलको सिद्धान्तलाई बढावा दिन, विभिन्न क्षेत्रमा आदानप्रदान र सहयोग अभिवृद्धि गर्न र द्विपक्षीय सम्बन्धलाई थप अगाडि बढाउन नेपालसँग काम गर्न तयार छौँ ।”

    ‘जेनजी’ प्रदर्शनकारीको मागबमोजिम पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाइएको हो ।

  • प्रधानमन्त्री कार्की: मृतकका परिवारलाई १० लाख दिने निर्णय

    प्रधानमन्त्री कार्की: मृतकका परिवारलाई १० लाख दिने निर्णय

    प्रधानमन्त्री कार्कीले गरिन् पदभार ग्रहण : मृतकका परिवारलाई १० लाख दिने निर्णय

    अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आइतबार (भदौ २९) पदभार ग्रहण गरेकी छन् । सिंहदबारस्थित गृह मन्त्रालयको नयाँ भवनमा उनले पदभार ग्रहण गरेकी हुन् । तत्कालका निम्ति उक्त भवनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय निर्धारण गरिएको छ ।

    पदभार ग्रहण गरेपछि प्रधानमन्त्री कार्कीले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाएकाका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरिन् ।

    यस्तै, आन्दोलनका क्रममा घाइते भएकाका निःशुल्क उपचारको निर्णय गरिएको छ ।

    कार्कीलाई शुक्रबार (भदौ २७) नै प्रधानमन्त्रीमा नियुक्त गरिएको थियो । सोही दिन उनले पद तथा गोपनीयताको शपथ लिएकी थिइन् । कार्यालयको टुंगो नलाग्दा उनी बालुवाटारस्थित आफ्नो निवासमा बस्दै आएकी थिइन् ।

  • रेशम चौधरीले घोषणा गरे नागरिक उन्मुक्ति पार्टी, नेपाल

    रेशम चौधरीले घोषणा गरे नागरिक उन्मुक्ति पार्टी, नेपाल

    रेशम चौधरीले घोषणा गरे नागरिक उन्मुक्ति पार्टी, नेपाल

    नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशमलाल चौधरीले नयाँ पार्टी घोषणा गरेका छन् । आइतबार (भदौ २९) सामाजिक सञ्जालमार्फत उनले नागरिक उन्मुक्ति पार्टी परित्याग गर्दै ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ घोषणा गरेका हुन् ।

    उनले भने, “नागरिक उन्मुक्ति पार्टीको साथीहरूले मलाई संरक्षक भनिदिनुभयो, नागरिक उन्मुक्ति पार्टीका नेताहरूलाई मैले वर्षौं पालेको छु । म नागरिक पार्टीमा आजबाट हुन्नँ । मसँगै मेरो भावना, आन्दोलनको मर्म बुझ्ने साथीहरूले हातेमालो गर्ने अपेक्षा गरेको छु ।”

    उनले अगाडि भने, “मलाई अब झगडा गर्नु छैन, कहिले २१ जनाको रोइलो, कहिले १६ जनाको रोइलो, कहिले संस्थापक केन्द्रीय सदस्यको रोइलो । जानीनजानी दुईदुईपटक मेरो घर दहन भयो । २०७८ सालबाट २०८२ सालसम्म घरभाडा, बिजुली, पानी सबैको रकम तिरेर पार्टी चलाइरहेँ, त्यही पनि मैले जस पाइनँ ।”

    उनले थरुहट आन्दोलनका नाममा ठग्ने कार्यकर्ता नचाहिने पनि बताएका छन् ।

  • लाइसेन्स छपाइ र वितरण अनिश्चितकालका लागि बन्द

    लाइसेन्स छपाइ र वितरण अनिश्चितकालका लागि बन्द

    सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ र वितरणको काम अनिश्चितकालका लागि रोकिएको छ ।

    यातायात व्यवस्था विभागले आइतबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सवारी चालक अनुमतिपत्र छपाए तथा वितरण लगायतको सूचना प्रविधिसम्बन्धी सबै प्रणाली बन्द हुने जानकारी गराएको छ । यातायात व्यवस्था विभागको संरचनामा तोडफोड, आगजानी तथा चोरी/लुटपाटबाट इलेक्ट्रोनिकउपकरण, छपाइ मेशिन तथा सर्भरमा क्षति पुग्न गएकाले सेवा अवरुद्ध हुन पुगेको विभागले
    बताएको छ ।

    ‘सवारी चालक अनुमतिपत्र तथा विद्युतीय सवारी साधन दर्ता (भ्म्ीख्च्क्) सम्बन्धी सेवा अवरुद्ध हुन पुगेको विषम परिस्थितिमा अर्को सूचना नभएसम्मको लागि सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरण लगायतका सुचना प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली बन्द रहने बेहोरा जानकारीका लागि अनुरोध छ,’ विभागको सूचनामा भनिएको छ ।

  • राष्ट्र बैंकले १ अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

    राष्ट्र बैंकले १ अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

    नेपाल राष्ट्र बैंकले १ अर्ब २० करोड रुपैयाँ बराबरको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ।

    बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नु परेकाले इच्छुक बैंक तथा वित्तीय संस्थालाई सहभागिताका लागि आग्रह गरेको छ। केन्द्रीय बैंकले भदौ ३० गतेभित्र निवेदन दिन आग्रह गरेको छ।

    राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब चार करोड, ‘ख’ वर्गका विकास बैंकमा १९ करोड ५० लाख र ‘ग’ वर्गका वित्त कम्पनीमा ६ करोड ५० लाख रुपैयाँ बराबरको रकम लगानी गर्नेछ।

    बैंकबाट तोकिएको न्यूनतम कुल पुँजीकोष कायम रहेको र निष्क्रिय कर्जा सापटीको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ।

    आफूले लिन चाहेको रकम र ब्याजदरसमेत प्रस्ताव गरी आवेदन दिन केन्द्रीय बैंकले सूचनामार्फत आग्रह गरेको छ।

  • रास्वपा छोड्दै सुमनाले भनिन्: नेतालाई पूजा गर्न बन्द गर्नुस्

    रास्वपा छोड्दै सुमनाले भनिन्: नेतालाई पूजा गर्न बन्द गर्नुस्

    सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोड्दै कार्यकर्तालाई नेताको पूजा नगर्न अनुरोध गरेकी छिन्। रास्वपाले देशभन्दा पार्टी र नेतालाई माथि राख्ने गरेको भन्दै पार्टी छोडेकी उनले कांग्रेस, एमाले लगायतका पार्टीका तेस्रो पुस्ताका नेतालाई सुझाव दिँदै यस्तो बताइन्।

    उनको सचिवालयले जारी गरेको सन्देशमा भनिएको छ, ‘कांग्रेस, एमाले लगायतका पार्टीका तेस्रो पुस्ताका नेता पनि यो सोच्नुस्। आजको परिस्थिति आउन तपाईंको भन्दा बढी तपाईंको नेतृत्वको बहरियापनले हो। त्यो किन बोकेर बस्नुहुन्छ? अहिले सही समय आएको छ। आफ्ना नेतालाई पूजा गर्न बन्द गर्नुस्। कि हटाउनुस्, कि हट्नुस्।’ उनले एउटाको गल्तीको भार सबैलाई बोकाउन खोजिएको तर्क पनि गरेकी छिन्।

    उनले भनिन्, ‘पार्टीभित्र आलोचना गर्नेका विरुद्ध मिडिया ट्रायल गर्ने। जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा पार्टी र पार्टीभन्दा नेतालाई माथि राख्न थालेको हो, त्यही बेलादेखि नै आलोचना गर्दै आएकी हुँ। तर त्यसले कत्ति फरक पारेन। अझ उल्टै मिडिया ट्रायल हुन थाल्यो। यो स्वीकार्य छैन।’ सुमना थप्छिन्, ‘अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएकी छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला। आइ क्विट, मैले पार्टी छोडेँ।’

  • जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो

    जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो

    जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ ।

    प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले सो जानकारी दिएका हुन् ।

    आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको मुख्य सचिव अर्यालले बताए ।

    उनका अनुसार १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।

    भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध भदौ २३ गते युवाहरु आन्दोलनमा उत्रिएका बेला प्रहरीसँग झडप भएको थियो । त्यसक्रममा विभिन्न ठाउँमा आगजनी हुँदा पनि विभिन्न व्यक्तिहरुको मृत्यु भएको छ ।

    मृतक सबैको सनाखत हुन सकेको छैन । जलेका ठाउँहरु सफा गर्ने क्रममा शव भेटिने क्रम जारी छ । आज बिहान मात्रै चाबहिल चुच्चेपाटीको भाटभटेनीमा ६ जनाको शव भेटिएको छ ।