Blog

  • सुमनाले छोडिन् रास्वपा

    सुमनाले छोडिन् रास्वपा

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन् ।

    रास्वपा छोडेको जानकारी दिँदै उनले भनिन् ,’ अब खुल्लारुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छाँडे ।’

    पार्टी केन्द्रीय समितिलाई जानकारी गराउँदै उनले पार्टी नेतृत्वले गल्तीमाथि गल्ती गर्न तर कहिल्यै गल्ती स्वीकार नगर्ने गरेको उनको भनाइ छ । उनले आफूलाई यो स्वीकार्य नभएकोले पार्टी छोडेको जानकारी गराएकी छन् । ‘गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने ?’ उनले भनेकी छन् , ‘पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने ।’

    पार्टीभित्र आलोचना गर्नेविरुद्ध मिडिया ट्रायल गरेर दु:ख दिने र सबैभन्दा माथि नेतालाई राख्ने गरिएको उनको भनाइ छ । ‘जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेलादेखि नै आलोचना गर्दै आएको हुँ’, उनले भनेकी छन् ।

    सुमना यसअघि रास्वपाको सह-महामन्त्रीबाट राजीनामा दिएकी थिइन् । तर, सांसद भएकोले पार्टीको काम गर्न समय नहुने भन्दै राजीनामा दिएकी थिइन् । समानुपातिकबाट सांसद बनेकी उनी प्रचण्ड प्रधानमन्त्री हुँदा शिक्षामन्त्री भएकी थिइन् ।

  • सिंहदरबार, सर्वोच्च अदालत जलाउनेलाई नेपाली कसरी भन्ने : प्रधानमन्त्री कार्की

    सिंहदरबार, सर्वोच्च अदालत जलाउनेलाई नेपाली कसरी भन्ने : प्रधानमन्त्री कार्की

    प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबार, सर्वोच्च अदालत जस्ता मुलुकलाई अति आवश्यक सरकारी संरचना जलाउनेहरुलाई नेपाली कसरी भन्ने ? भनेर प्रश्न गरेकी छन्। यस्ता अपराधमा संलग्नलाई कारबाही हुने पनि बताइन् ।

    आज पदभार ग्रहणपछि कर्मचारीहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, ‘बडो आश्चर्यको कुरा छ कि किन अत्यन्त आवश्यक संस्थाहरु देशको, जसले यो देशको शासन चलाएको छ, ती भवनहरु, ती मिसिल, ती कागजहरु, नष्ट भए ? अलिकति मलाई त यो देखेर लाज पनि लागेको छ । नेपाली नै भएर यो काम गरेको हो भने तिनलाई नेपाली कसरी भन्ने ?’

    उनले यस्ता गतिविधिहरु षडयन्त्रपूर्वक भएको हुन सक्ने बताइन् । ‘हाम्रा संस्थाहरु, यस्तो अनुहार देखाउन नसक्ने अवस्थामा पुर्‍याएको छ । मलाई त जहाँसम्म लाग्छ, यो एउटा प्लान वेमा, षडयन्त्रै भएको हो कि भन्ने लाग्छ,’ प्रधानमन्त्री कार्कीले भनिन् ।

    उनले जेनजी युवा प्रदर्शनको क्रममा भएका यस्ता घटनाको अनुसन्धान गर्ने र कारबाही गर्ने पनि बताइन् । ‘यसबारे अनुसन्धान हुन बाँकी छ । र, अनुसन्धान गरेर यसरी प्रहार गर्नेहरुलाई, यसरी नोक्सान गर्नेहरुलाई, अपरिहार्य वस्तु, अत्यन्त आवश्यक वस्तु माटोमेट बनाएको छ, त्यसलाई छोड्नुपर्ने अवस्था छैन,’ उनले भनिन्, ‘यो कारबाही हुनुपर्ने अवस्था छ । यसको खोजबिन तलास हुनुपर्ने अवस्था छ ।’

    सर्वोच्च अदालत, सिंहदरबार लगायतका भौतिक संरचनाहरु जल्दा महत्वपूर्ण कागजातहरु जलेको र सरकार शून्यको अवस्थामा पुगेको उनले बताइन् । ‘भौतिक क्षतिले केही हुँदो रहनेछ। त्यो त बनाउन पनि सकिन्छ । ती रेकर्डहरु, जमानाका फाइलहरु, विवरणहरु सम्पूर्ण नष्ट भएर हामी यतिखेर शून्यमा पुगेका छौं । हाम्रो अवस्था शून्यमा छ,’ उनले भनिन् ।

  • प्रधानमन्त्री कार्कीलाई चीनको बधाई

    प्रधानमन्त्री कार्कीलाई चीनको बधाई

     चिनियाँ विदेश मन्त्रालयले नेपालको नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएको छ ।

    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले आइतबार नेपालका अन्तरिम प्रधानमन्त्री कार्कीलाई बधाई दिएका हुन् । ‘चीनले नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री बन्नुभएकोमा सुशीला कार्कीलाई बधाई छ’ विदेश मन्त्रालयले भनेको छ, ‘चीन र नेपालको मित्रता पुरानो र ऐतिहासिक छ।’

    मन्त्रालयले अगाडि थपेको छ, ‘चीनले सधैंझैं नेपाली जनताले स्वतन्त्र रूपमा रोजेको विकास मार्गको सम्मान गर्दछ।’ चीनले दुई देशबीचको आपसी सहयोग र द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउने स्पष्ट पारेको छ । ‘हामी नेपालसँग मिलेर पञ्चशीलका सिद्धान्तहरूलाई प्रवर्द्धन गर्ने, विभिन्न क्षेत्रमा आदानप्रदान र सहयोगलाई सुदृढ बनाउने र द्विपक्षीय सम्बन्धलाई अझ अगाडि बढाउने तयारीमा छौं,’ चीनले भनेको छ ।

  • जेनजी आन्दोलनमा भएको आगजनी र तोडफोड षडयन्त्रजस्तो लागेको छ : प्रधानमन्त्री कार्की

    जेनजी आन्दोलनमा भएको आगजनी र तोडफोड षडयन्त्रजस्तो लागेको छ : प्रधानमन्त्री कार्की

     प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको क्रममा भएको आगजनी र तोडफोडका घटना सुनियोजित हुन सक्ने बताएकी छन् ।

    पदभार ग्रहण समारोहमा सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् । ‘मान्छेले ज्यान मार्छ, भवनहरु लुट्ला, भत्काउला बेग्लै कुरा हो । तर यो घटना त मलाई लाग्छ यो देशमा पहिलो चोटी भएको हो,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘यस किसिमले हाम्रा संस्थाहरु, यस्तो अनुहार देखाउन नसक्ने अवस्थामा पुर्‍याएको छ । मलाई त जहाँसम्म लाग्छ, यो एउटा प्लान वेमा, षडयन्त्रै भएको हो कि भन्ने लाग्छ ।’

    उनले यसबारे अनुसन्धान हुने र कारबाही हुने बताइन् । ‘अनुसन्धान हुन बाँकी छ । र अनुसन्धान गरेर यसरी प्रहार गर्नेहरुलाई यसरी नोक्सान गर्नेहरुलाई अपरिहार्य वस्तु, अत्यन्त आवश्यक वस्तु माटोमेट बनाएको छ, त्यसलाई छोड्नुपर्ने अवस्था छैन । यो कारबाही हुनुपर्ने अवस्था छ । यसको खोजबिन तलास हुनुपर्ने अवस्था छ,’ उनले भनिन् । उनले सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, व्यापारिक कम्प्लेक्स लगायतका सरकारी कार्यालयहरुमा भएको आगजनी लज्जास्पद भएको बताइन् ।

  • कागजविहीन कार्यालयमा कामकाजको प्रयास

    कागजविहीन कार्यालयमा कामकाजको प्रयास

    यी हुन् जेन–जी आन्दोलनका क्रममा क्षति भएको सार्वजनिक र निजी सम्पत्ति

    जेनजी–जी समूहको आन्दोलनले एकप्रकारको मूर्तरुप पाइसकेपछि देशभर अवस्था सामान्य बनेको छ । सडकमा सुरक्षार्थ निस्किएको नेपाली सेना र सशस्त्र प्रहरी फर्किएको छ । नियमितजसो नेपाल प्रहरीले सार्वजनिक क्षेत्रमा आफ्‌नो ड्युटी लिईसकेको छ । सार्वजनिक सवारीसाधन चल्न थालेका छन् । मानिसहरुको आवतजावत लगभग सहज भइसकेको छ । विद्यालयहरु आइतबारदेखि सञ्चालनमा आउँदैछन् । बन्द भएका सरकारी कार्यालयहरुले पनि आइतबारबाट सेवाप्रवाह सुरु गर्ने भएका छन् ।
    सुर्खेतको वीरेन्द्रनगरमा रहेको नापी कार्यालयले भने कहिलेदेखि आफ्‌नो सेवा सुरु गर्ने भन्ने टुंगो छैन । जेनजी समूहको प्रदर्शनका क्रममा घुसपैठ भएको समूहले तोडफोड र आगजनी गरेपछि कार्यालय सुनसान छ । न कार्यालयका कागजात छन्, न त भवन कार्यालयजस्तो नै देखिन्छ । आगलागीले भित्रि भाग पूर्णरुपमा जलेको कार्यालयले आफ्‌नो सेवा कहिलेदेखि र कसरी सुरु गर्ने भन्ने निश्चित छैन ।
    ‘प्रशासनले कार्यालयको क्षतिको मुचुल्का गर्न बाँकी नै छ, मुचुल्कापछि मात्र कहाँबाट र कसरी सेवा दिने भन्ने विभागसँग छलफल गरेर टुंग्याउने हुन्छ होला ।’ नापी कार्यालय सुर्खेतका प्रमुख दिनेश भण्डारीले भने । उनका अनुसार अहिले कार्यालयमा भएका करिब १ हजार पाँच सय जति नक्साहरु प्रदर्शनका क्रममा भएको आगलागीबाट जलेर नष्ट भएका छन् । रेकर्ड राखिएका फाइलहरु पनि नष्ट भइसकेका छन् । लिखित फाइलविनै सर्भरमा भएको रेकर्डले मात्र नापी कार्यालयको सेवाप्रवाह गर्न नसकिने भएकाले नापी विभागसँग छलफलबाट मात्र कामकाज गर्ने विषयमा निश्चित हुने प्रमुख भण्डारीले बताए ।
    नापी कार्यालयको छेउमै रहेको कर्णाली प्रदेश लेखा नियन्त्रक कार्यालयको पनि नियमित काम सुचारु गर्ने टुंगो लागेको छैन । प्रदेशको लेखा प्रणालीलाई व्यवस्थित र नियन्त्रित राख्ने लेखा नियन्त्रकको कार्यालयभित्र पनि आगलागीले अधिकांस दस्तावेज र सामग्री जलिसकेका छन् । इन्टरनेट, विद्युत प्रणालीमा समेत आगलागीबाट ठूलो क्षति पुगेको छ ।
    कर्णाली प्रदेश सभा सचिवालयमा कर्मचारीहरु गएर हाजिर गर्ने र फर्किनेसम्म आन्दोलनको भोलिपल्टैबाट भएको थियो । तर कसरी पहिलेकै जसरी कामकाजलाई नियमित गर्ने भन्ने अन्योलता कर्मचारीमै छाएको छ । पुराना अभिलेख जलिसकेको प्रदेश सभाको भौतिक संरचनाभित्र बसेर कर्मचारीहरुले काम गर्ने मेसो पाएकै छैनन् । ‘सभामुखको भेटघाट कक्षमा फुटेका सिसाहरु पन्छाएर कर्मचारीहरु बस्ने गरेका छौं, मुचुल्का नभईसकेकाले हामीले सामग्री खोज्ने काम गरेका छैनौं,’ सचिवालयका अधिकृत राजेन्द्र पौडेलले भने, ‘अभिलेखहरु सबै नष्ट भईसकेका छन्, सभा र सचिवालयलाई पुरानै लयमा फर्काकाउन निकै समय लाग्ने र कष्ट हुने भएको छ ।’
    जेनजी समूहको उग्र बनेको आन्दोलन मत्थर भइसकेपनि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आन्दोलनकारीले गरेको ज्यादतिका कारण कयौं सार्वजनिक निकायले आफ्‌ना सेवालाई तत्काल पुरानै अवस्थाअनुसार निरन्तरता दिन सक्ने अवस्था छैन । आन्दोलनबाट कार्यालयहरुमा पुगेको क्षतिले अर्बौं आर्थिक नोक्सानी व्यहोर्नुपर्ने त छँदैछ, सेवा लिन आउने सेवाग्राहीलाई समेत थप झमेला खेप्नुपर्ने भएको छ ।
    आन्दोलनकारीले वीरेन्द्रनगरमा रहेका सार्वजनिक र व्यक्तिगतसहित ३६ वटा संरचनामा ठूलो क्षति पुर्‍याएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार व्यक्तिका घर ७, राजनीतिक दलका पार्टी कार्यालय ४, प्रदेश सरकारका संरचना ५, संघ र स्थानीय तहका कार्यालयहरु १९, बैंकको संरचना १ वटा गरी ३६ वटामा क्षति पुगेको छ ।
    जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाका अनुसार कर्णाली प्रदेश सरकारका संरचनाहरुमा मुख्यमन्त्री कार्यालयमा आगजनीबाट आंशिक क्षति भएको छ । मुख्यमन्त्रीको सरकारी निवासमा तोडफोड र आगजनीले पूर्णरुमा क्षति पुगेको छ । कर्णाली प्रदेश सभा सचिवालय तथा संसद भवन र प्रदेश लेखा नियन्त्रक कार्यालयमा आगलागी र तोडफोडबाट पूर्ण क्षति पुगेको छ । मुख्यन्याधिवक्ताको कार्यालयमा आशिक क्षति पुगेको डिएसपी बुढथापाले जानकारी दिए ।
    वीरेन्द्रनगर–७ मा रहेको नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का, उनका भाई डा. डम्बर खड्का र विष्णु खड्काको घरहरुमा तोडफोड र आगलागीबाट पूर्णरु क्षति भएको छ । वीरेन्द्रनगर–८ मा रहेका मोयर मोहनमाया ढकालको घरमा आगलागी र तोडफोडबाट आंशिक क्षति पुगेको छ भने मुख्यमन्त्री यामलाल कँडेलको वीरेन्द्रनगर–४ मा रहेको घरमा पूर्ण क्षति पुगेको छ । वीरेन्द्रनगर–४ मा रहेको उपमेयर निलकण्ठ खनालको घरमा पनि आगलागी र तोडफोड गर्दा आंशिक क्षति पुगेको छ । विष्णु खड्काको वीरेन्द्रनगर–१० मा रहेको पेट्रोल पम्पमा पनि आंशिक क्षति भएको छ ।
    वीरेन्द्रनगरमा रहेका नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको पार्टी कार्यालयमा तोडफोड र आगजनीले पूर्णरुपमा क्षति पुगेको छ ।
    वीरेन्द्रनगर नगरपालिकाको कार्यालयमा आन्दोलनकारीले तोडफोड गर्दा आंशि क्षति पुगेको प्रहरीले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा पनि आंशिक क्षति पुगेको छ । नापी कार्यालयमा पूर्णरुपमा क्षति पुगेको छ । उच्च सरकारी वकिल कार्यालयमा सामान्य र सिटी हलमा आंशिक क्षति पुगेको छ ।
    वीरेन्द्रनगर नगरपालिकाका वडा नम्बर २, ३, ४ र ६ कार्यालयहरुमा आगलागी र तोडफोड हुँदा पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ । वडा नम्बर १, ७, ८, ९, १० र ११ कार्यालयहरुमा आंशिक क्षति पुगेको डिएसपी बुढ्थापाले जानकारी दिए । यस्तै, वीरेन्द्रनगर–४ मा रहेको रेडक्रस र हिमाली पुस्तकालय, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना, जिल्ला समन्वय समितिको कार्यालय, सुर्खेत उपत्यका खानेपानी संस्थाको कार्यालयमा पनि आन्दोलनकारीले ढुंगामुढा गर्दा आंशिक क्षति पुगेको उनले बताए । प्रदेश सभाको गेटमा राखिएको एनआइसी एसिया बैंकको एटीएममा आन्दोलनकारीले पूर्ण क्षति पुर्‍याएका छन् ।
    क्षतिको मूल्याङ्कन गर्न समिति गठन
    जिल्ला प्रशासन कार्यालय सुर्खेतले जेन–जी समूहको आन्दोलनका क्रममा भएको सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिको क्षतिको मूल्याङ्कन गर्न समिति गठन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीको संयोजकत्वमा बनेको समितिले क्षति पुगेका सरकारी कार्यालय र निजी घरहरुको अध्ययन गरी तीन दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने छ ।


    गठित समितिले दिएको प्रतिवेदनका आधारमा क्षतिको आँकलन गरिने प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायाले बताए । ‘कार्यविधिअनुसार तीन दिनको समयसीमा दिएर हामीले समिति गठन गरेका छौं, यस अवधिमा आन्दोलनका क्रममा भएको क्षतिको विवरण संकलन गर्न पनि समितिलाई निर्देशन दिईएको छ ।’ उनले भने ।
    क्षति भएका कार्यालयहरुको सेवा आइतबारबाट सञ्चालन गर्नेगरि छलफल भईरहेको प्रजिअ उपाध्यायले बताए । संयमित भएर सेवाग्राहीहरुलाई आफ्‌ना सेवा दिन निकायहरुलाई निर्देशन पनि गरिएको उनले जानकारी दिए ।

  • प्रतिनिधिसभा विघटन अनिष्टको संकेत : पत्रकार महासंघ

    नेपाल पत्रकार महासंघले संविधानको प्रावधान विपरीत राष्ट्रपतिले सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको र प्रतिनिधि सभा विघटन सिफारिस सदर गरेको भन्दै विरोध जनाएको छ। यसबाट जनमतको अपमान भएको महासंघको ठहर छ ।

    नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘अलोकतान्त्रिक र असंवैधानिक कदमको महासंघ घोर निन्दा र भर्त्सना गर्दछ ।’

    महासंघका अनुसार जेनजी पुस्ताले उठाएको भ्रष्टाचार र बेथितिविरूद्धको माग संविधानको दायराभित्रबाटै पूरा गरी उन्नत लोकतान्त्रिक अभ्यासमा अगाडि बढ्ने अवसर मुलुकले प्राप्त गरेको थियो । ‘तर राष्ट्रपतिबाट संविधानकोे प्रावधान विपरीत प्रधानमन्त्री नियुक्त गरियो, प्रधानमन्त्रीले मध्यरातमा गरेको प्रतिनिधि सभा विघटन सिफारिस सदर गरियो । यसबाट जनमतको अपमान भएको छ,’ महासंघले भनेको छ ।

    यसलाई महासंघले अनिष्टको संकेत भनेको छ । ‘महासंघ संविधान विपरीत प्रधानमन्त्रीको नियुक्ति र सर्वोच्च अदालतबाट यसअघि प्रतिपादित नजिर र सिद्धान्त विपरीत भएको प्रतिनिधि सभा विघटन संवैधानिक र नागरिक सर्वोच्चता विपरीत रहेको ठहर गर्दै यो कदम लोकतन्त्रका लागि अनिष्टको संकेत हो भन्ने ठान्दछ,’ विज्ञप्तिमा लेखिएको छ ।

    संविधानले व्यवस्थित गरेका गणतन्त्र, संघीयता, समावेशिता जस्ता उपलब्धिमा आघात पुग्ने आशंका गर्दै महासंघले वर्तमान संविधान र यसबाट प्राप्त उपलब्धिको रक्षार्थ दृढतापूर्वक अगाडि बढन सबै पक्षलाई आह्वान गरेको छ ।

    महासंघको विज्ञप्ति : 

  • भोलिबाट स्थानीय तहका सेवा सुचारु, विद्यालय पनि खोल्ने तयारी

    भोलिबाट स्थानीय तहका सेवा सुचारु, विद्यालय पनि खोल्ने तयारी

    आन्दोलनपछि कर्फ्यू र निषेधाज्ञा लागेका कारण रोकिएका सरकारी सेवा भोलि आइतबारबाट सुचारु गरिने भएको छ । विद्यालहरू पनि खोल्ने तयारी छ ।

    शनिबारबाट स्थिति सामान्यतर्फ गएकाले अब सेवा अघि बढाउन लागिएको हो । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले शुक्रबारै अब सेवा अघि बढाउनेबारे ७५३ वटै पालिकाहरूलाई सर्कुलर जारी गरेको छ । मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीका अनुसार सेवा सञ्चालन गर्न सबैलाई निर्देशन दिइसकिएको छ ।

    ‘क्षति भएका कार्यालयहरूलाई वैकल्पिक स्थान खोजेर अत्यावश्यक सेवा अघि बढाउन भनिएको छ’ प्रवक्ता पराजुलीले भने, ‘क्षति नभएका कार्यालयहरूले त सहज रूपमा सञ्जालन गर्न सकिने अवस्था छ ।’ उनका अनुसार सिंहदरबारभित्रका कार्यालयहरू पनि वैकल्पिक व्यस्थापन गरेर काम गरिने छ ।

    स्थानीय तह र जिल्ला प्रशासनबाट सबैभन्दा धेरै स्थानीयका सेवाहरू सञ्चालन हुने गरेका छन् । सर्वसाधारणका अत्यावश्यक कामहरू रोकिएका थिए । प्रवक्ता पराजुलीका अनुसार क्षतिग्रस्त कार्यालयहरुको विवरण पनि संकलन गरेर पठाउन भनिएको छ ।

    आन्दोलनका कारण केही दिन रोकिएका विद्यालयहरू पनि अब खोल्न तयारी छ । शिक्षा मन्त्रालयका सूचना अधिकारी एवं उपसचिव मधुप्रसाद घिमिरेका अनुसार, स्थिति सामान्य भएकाले आइतबारदेखि नै विद्यालयहरू खोल्ने तयारी छ । विद्यालय स्थानीय तहमा अन्तर्गत पर्ने भएकाले सम्बन्धित पालिकाहरूले स्थिति अनुसार विद्यालयलाई जानकारी गराउने छन् । उनी भन्छन्, ‘सम्बन्धित स्थानीय तहले अवस्था हेरेर विद्यालयहरू सञ्चालन गर्ने कुरा छ, धेरैजसो ठाँउमा आइतबारदेखि स्कूल खुल्ने तयारी भएको सूचना पाएका छौं ।’

  • जेनजी पुस्ताको प्रस्ताव अनुरुप नयाँ प्रधानमन्त्रीमा कार्की

    जेनजी पुस्ताको प्रस्ताव अनुरुप नयाँ प्रधानमन्त्रीमा कार्की

    •  जेनजी आन्दोलनको बलमा नियुक्त भएकी प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिएकी छन् । शीतल निवासमा आयोजिक एक समारोहबीच उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराए ।

      राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा –मुलुकमा उत्पन्न विषम तथा असाधारण परिस्थितिलाई सम्बोधन गर्दै युवा पुस्ताद्वारा प्रकट इच्छा अनुसार दल र सरोकारहरूको परामर्शसमेतका आधारमा नेपालको संविधानबमोजिम राष्ट्रपतिमा अन्तरनिहीन संवैधानिक अधिकार प्रयोग गरी संविधानको पालना र संरक्षण एवं नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्न आवश्यक भएकाले राष्ट्राध्यक्षको हैसियतले प्रधानमन्त्रीको सिफारिस र सम्मतिको आधारमा नेपालको संविधानले राष्ट्रपतिलाई सुम्पिएको संवैधानिक प्रतिवन्धात्मक व्यवस्था बमोजिम ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरिएको उल्लेख छ ।

  • ‘राज्यले बेवास्ता गर्‍यो, हामी आफैं व्यवस्थापन गर्छौं’

    ‘राज्यले बेवास्ता गर्‍यो, हामी आफैं व्यवस्थापन गर्छौं’

    बराहताल गाउँपालिका–२ की सिर्जना विकको परिवार गिरीघाटको जंगल छेउमा बस्न थालेको ११ बर्ष भयो । २०७१ सालमा भेरी नदीमा आएको बाढीले पुर्ख्यौली घरजग्गा बगाएपछि उनको परिवारलाई सरकारले बराहताल–८ स्थित बराहताल र वीरेन्द्रनगर नगरपालिकाको सिमाना नजिक जंगल छेउमा शिविर बनाएर राखिदिएको थियो । यही शिविरमा उनको परिवारले ११ बर्ष वितायो ।
    शिविरको साँघुरो छाप्रोमा दशक बढी कठिन दैनिकी कटाएको सिर्जनाको परिवारले अब फराकिलो बासस्थानका लागि संघर्ष गर्दैछ । राज्यको कानुनी बन्देजको प्रवाह नगरी उनको परिवारले शिविर छेउकै सामुदायिक वन फडानी गरेर बस्ने घर बनाउन सुरु गरेका छन् । ‘परिवारको सबै जना एकै ठाउँमा सुत्नुपर्छ, फराकिलो ठाउँमा खुट्टा पसारेर सुत्न नपाएको यतिका बर्ष भयो,’ सिर्जना भन्छिन्, ‘यति धेरै बर्षसम्म सरकारको भर पर्दा हामीलाई पुनर्स्थापना गर्न सकेन, अब गोली खान तयार भएर फराकिलो ठाउँ बनाउन लागेका छौं ।’
    ११ बर्षअघि स्थापना गरिएको बाढीपीडितहरुको गिरीघाटस्थित शिविरमा हाल ११९ परिवार बसोबास गर्छन् । ती परिवारले प्रतिपरिवार १० मिटर जमिन घडेरीका रुपमा लिनेगरि जंगलका बुट्यान काटिरहेका छन् । सरकारको बेवास्ता र परिवारको कठिन तथा असुरक्षित बसोबासका कारण कानुनको बेवास्ता गर्दै जंगलमा बस्ती विस्तार गर्न थालेको बाढीपीडितहरु बताउँछन् ।
    अहिलेको शिविरमा शौचालय बनाउन समेत नमिल्ने भएकाले परिवारको दैनिकी निकै कठिन भएको सिर्जनाले बताईन् । शिविरमा बाहिरबाट माधक पदार्थ सेवन गरी आउने व्यक्तिहरुका कारण बारम्बार असुरक्षित महसुश गर्नुपरेको उनले बताईन् । ‘छाप्रोमा कोचाकोच गरी बस्नुपर्ने त छँदैछ, आफ्‌नो शौचालय बनाउने समेत जमिन नहुँदा वरिपरिको वातावरण नै प्रदुषित भएको अवस्था छ,’ उनले भनिन्, ‘हामीलाई भएभरको खेती गर्ने जमिन चाहिएको होईन, २–३ कोठाको घर, शौचालय र कुखुरा पाल्न वा करेसावारी चाहिएको हो, यही पनि राज्यले हामीलाई ११ बर्षसम्म व्यवस्था गर्न नसकेपछि जंगल काट्न बाध्य भएका छौं ।’
    आफूहरु सरकारले व्यवस्था गरिदिने पर्खाइमा बसेको बर्षौं वितिसक्दा समेत बेवास्ता गरिएको गुनासो शिविरमा बस्दै आएका शेरबहादुर कुमालले बताए । प्राकृतिक विपदसँगै मानवीय स्वभावका कारण निरन्तर असुरक्षा महसुश गर्नुपरेको उनले बताए । ‘धेरैजसो यहाँका पुरुषहरु बाहिर कमाउन गएका हुन्छन्, शिविरमा बस्ने भनेको महिला, वृद्धवृद्धा र बालबालिका मात्र हुन्, उनीहरुलाई कतिबेला के आईलाग्छ भन्ने टुंगो हुँदैन,’ कुमालले भने, ‘यस्तो समस्या यहाँ बारम्बार खेपेका छौं, यसरी सँधै बस्न हामीलाई गाह्रो भएर बस्ती बनाउन खोजेका हौं ।’
    राज्यले घरजग्गाविहीन भएका बाढीपीडितलाई उपेक्षा गर्न थालेपछि यो निर्णय लिनुपरेको गिता विकले बताईन् । ‘यी खरको छानो भएका झुपडी सुख्खा समयमा जलेर क्षति होला भन्ने डर, बर्षातको समयमा घरभित्रै पानी परेर बसीनसक्नु हुन्छ,’ उनले भनिन्, ‘यस्तो अवस्था राज्यलाई थाहा नभएको होइन, थाहा भएर पनि बेवास्ता गरिएको छ ।’
    बाढीपीडित शिविरमा भएका सबै परिवारको सहमति गरेर बस्ती विस्तार गर्न लागिएको बाढीपीडित संघर्ष समितिकी अध्यक्षसमेत रहेकी सिर्जनाले बनाईन् । अहिले शिविर भएको जग्गालाई समेत उपयोग गर्नेगरि सहमति गरिएको उनले बताईन् । ‘अहिले शिविर बसेको ठाउँमा साँघुरो भएर हामीले आफ्‌नो व्यवस्थापन गर्न लागेका हौं, अहिले भएको ठाउँबाट नयाँ ठाउँमा जाने परिवारले त्यहीँको अर्को परिवारलाई फराकिलो ठाउँ बनाउन दिन छोड्ने हो,’ उनले भनिन्, ‘एकै परिवारले दुवै ठाउँमा जग्गा लिने होईन, नयाँ ठाउँमा जाने एक परिवारले १० मिटर पाउने सहमति भएको छ ।’


    २०७१ साल साउनमा आएको बाढीपहिरोले सुर्खेतमा ११५ जनाले ज्यान गुमाएका थिए । उक्त विपदका कारण १ हजार ४५ परिवार पूर्णरुपमा विस्थापित भएका थिए । उनीहरुको पुनर्स्थापनाका लागि झण्डै ३२ करोडभन्दा बढी खर्च भइसकेको तथ्याङ्क छ । तर कतिपय बाढीपीडितहरु अहिले पनि अस्थायी शिविरमै बस्नुपरेको छ ।
    प्रदेश सरकार गठन भएको सुरुमै आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुर्खेतका बाढीपीडित समस्या समाधानका लागि समिति गठन गरेको थियो । तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीको संयोजकत्वमा बनेको उक्त समितिले दिएको सुझावका आधारमा सुर्खेतमा एक हजार ४५ घरधुरी राहत पाउने सूचीमा समेटिएका थिए । तीमध्ये ३२१ घरधुरीलाई एकमुष्ट रुपमा तीन लाख रुपैयाँका दरले राहत दिईएको तथ्याङ्क छ ।
    प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ मा ५९१ घरधुरीका लागि १७ करोड ४१ लाख रुपैयाँ र आव २०७८/०७९ मा ११ करोड ९४ लाख ५० हजार वितरण गरिएको थियो । यस्तै प्रदेश सरकार गठन हुनुअघि सुर्खेतका बाढीपीडितका नाममा दुई करोड ६२ लाख ७५ हजार रुपैयाँ खर्च गरिएको थियो । सहरी विकास तथा भवन निर्माण कार्यालयमार्फत संघीय सरकारले उक्त रकम खर्च गरेको थियो ।

  • जेनजी विद्रोहविरुद्ध प्रतिगमनको षडयन्त्र उत्कर्षमा छ : आहुति

    जेनजी विद्रोहविरुद्ध प्रतिगमनको षडयन्त्र उत्कर्षमा छ : आहुति

    वैज्ञानिक समाजवादी पार्टी नेपालले जेनजी विद्रोहलाई प्रतिगमनमा लैजाने षडयन्त्र चरम उत्कर्षमा पुगेको जनाएको छ । सके संरचनागत प्रतिगमनमा लैजाने वा बढीमा सीमित बनाउने षड्यन्त्र भइरहेको सो पार्टीको शंका छ ।

    महासचिव आहुतिले आज प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘महान विद्रोहलाई प्रतिगमनले खेलाउँदै यथास्थितिमा पछाडि धकेल्ने सम्भावना तीव्र भएको छ ।  महान् विद्रोहलाई सके संरचनागमत प्रतिगमनमा लैजाने वा बढीमा सीमित बनाउने षड्यन्त्र चरम उत्कर्षमा छ ।’

    आहुतिले जेनजी विद्रोहको उद्देश्य र भावना संसदीय चुनावका लागि नभएको पनि जनाएका छन् । ताजा जनादेशका लागि अहिले अन्तरिम सरकार गठनको प्रयास भइरहेका बेला आहुतिले त्यसले नेपालको संकट समाधान हुन नसक्ने जनाएका छन् ।

    आहुतिले भनेका छन्, ‘यहाँ प्रस्ट हुनै पर्दछ कि जेनजी विद्रोहको उद्देश्य र भावना एक थान संसदीय सरकार परिवर्तन र एक थान संसदीय चुनावको मञ्चन कदापि थिएन र हुन सक्दैन, किनभने त्यसरी नेपालको समाजको संकट समाधान हुनै सक्दैन ।’