Blog

  • प्रधान सेनापति शीतल निवास छिरे, आजै सरकार गठनको तयारी

    प्रधान सेनापति शीतल निवास छिरे, आजै सरकार गठनको तयारी

     प्रधान सेनापति अशोकराज सिग्देल राष्ट्रपति कार्यालय शीतल निवास प्रवेश गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेल, प्रधान सेनापति सिग्देल र जेनजीले प्रधानमन्त्रीका लागि प्रस्ताव गरेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीबीच बैठक सुरु हुने तयारी छ।
    जेनजीले संसद् विघटनलाई बटमलाइन बनाएपछि अन्तरिम सरकार गठनमा ढिलाइ भइरहेको छ। बुधबार मध्यरातसम्म भएको छलफलमा कार्कीलाई प्रधानमन्त्री बनाउन सहमति जुटेको भए पनि संविधानको कुन धारामा टेकेर प्रधानमन्त्री घोषणा गर्ने भन्ने प्रष्ट नभएकाले अन्योलता बढेको थियो।  दिउँसो दुई बजेबाट सुरू हुने बैठकले सुशीला कार्कीलाई सरकारको नेतृत्व दिने अपेक्षा गरिएको छ।
  • राष्ट्रपतिले नै संकट समाधानको पहलकदमी लिनु अपरिहार्य: नागरिक अगुवा

    राष्ट्रपतिले नै संकट समाधानको पहलकदमी लिनु अपरिहार्य: नागरिक अगुवा

    विभिन्न क्षेत्रका १६ जना नागरिक अगुवाहरूले ‘जेनजी’ आन्दोलनमा राज्यले गरेको दमनको भर्त्सना गर्दै वर्तमान राजनीतिक संकटको निकासका लागि राष्ट्रपतिले पहलकदमी लिनुपर्नेमा जोड दिएका छन्।

    बिहीबार एक संयुक्त नागरिक वक्तव्य जारी गर्दै उनीहरूले आन्दोलनमा ३० जनाभन्दा बढी नागरिकको हत्या भएको घटनाको निन्दा गर्दै दोषीहरूमाथि कारबाही गर्न निष्पक्ष छानबिनको माग गरेका छन्।

    वक्तव्यमा पूर्वराजदूत नीलाम्बर आचार्य, पूर्वयोजना आयोग उपाध्यक्ष पीताम्बर शर्मा, अधिकारकर्मी सुशील प्याकुरेल, मल्ल के सुन्दर, वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठलगायतका व्यक्तित्वहरूले हस्ताक्षर गरेका छन्।

    नागरिक अगुवाहरूले भ्रष्टाचार, कुशासन र अभिव्यक्ति स्वतन्त्रतामाथिको बन्देजविरुद्ध शुरू भएको शान्तिपूर्ण आन्दोलनमा देशी-विदेशी प्रतिगामी शक्ति र केही राजनीतिक दलसम्बद्ध व्यक्तिको घुसपैठका कारण अराजक बनेको ठहर गरेका छन्। उनीहरूले सामाजिक सञ्जालमार्फत उत्तेजना फैलाउनेहरू पनि हिंसाका लागि उत्तिकै जिम्मेवार रहेको बताएका छन्।

    प्रधानमन्त्रीको राजीनामापछि कर्फ्यु लगाएर सेना परिचालन गरिएको अवस्थामा आम नागरिकले सुरक्षाको अनुभूति गरे पनि राष्ट्रपतिको सट्टा प्रधानसेनापतिले राष्ट्रका नाममा सन्देश दिनु संविधानसम्मत नभएको उनीहरूले बताएका छन्। वक्तव्यमा भनिएको छ, “हामी अचम्मित भएका छौँ र यो कदम संविधानसम्मत नभएको हामी ठान्दछौँ।”

    उनीहरूले नेपाली सेनालाई आफ्नो पेसागत व्यावसायिकता स्मरण गराउँदै नागरिक र संवैधानिक सर्वोच्चताभित्र रहेर संकट समाधानमा भूमिका खेल्न आग्रह गरेका छन्।

    नागरिक अगुवाहरूले हालको संकटको समयमा प्रतिगामी शक्तिहरूबाट सजग रहनुपर्नेमा जोड दिएका छन्। उनीहरूले वर्तमान संविधानले व्यवस्था गरेको लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समानुपातिक समावेशिता र समाजवाद उन्मुखताजस्ता आधारभूत प्रस्तावनालाई कुनै हानि नपुर्‍याई नेपाली जनताको प्रतिनिधि संस्थाको रूपमा र संविधानको संरक्षकको हैसियतले राष्ट्रपतिले नै संकट समाधानको पहलकदमी लिनु अपरिहार्य रहेको बताएका छन्।

    “नेपाली जनताले चुनेको प्रतिनिधिमूलक वैधानिक संस्था संसद् रहेको हुँदा यो संकटको निकास पनि संविधानसम्मत प्रक्रियामार्फत हुनुपर्छ भन्ने हाम्रो अडान छ,” वक्तव्यमा भनिएको छ। उनीहरूले आन्दोलनमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको निःशुल्क उपचारको पनि माग गरेका छन्।

     

  • गृह मन्त्रालयको निर्माणाधीन भवनमा नयाँ प्रधानमन्त्रीलाई राख्ने तयारी

    गृह मन्त्रालयको निर्माणाधीन भवनमा नयाँ प्रधानमन्त्रीलाई राख्ने तयारी

     सिंहदरबारभित्र गृह मन्त्रालयको निर्माणाधीन नयाँ भवनमा आगामी प्रधानमन्त्रीलाई राख्ने तयारी गरिएको छ । मुख्यसचिव एकनारायण अर्यालसहित सचिवहरूको टोलीले गरेको अध्ययनमा यो विकल्पबारे कुरा भएको एक सचिवले जानकारी दिए । ‘अन्य भवन पनि हेर्ने काम भयो, कुनै सद्दे छैनन्, एउटा विकल्प निर्माणाधीन गृह मन्त्रालयको नयाँ भवन हुन सक्छ भन्ने कुरा भएको छ,’ उनले भने ।

    बुधबार आन्दोलनकारीको निसानामा परेको सिंहदरबारमा अहिलेसम्मकै ठूलो आक्रमण भएको थियो । सोही क्रममा यहाँ सबैजसो भवनमा आक्रमण र आगजनी गरिएको छ । मन्त्रालयहरूका कागजात जलाइएको छ भने सवारीसाधनमा व्यापक क्षति पुर्‍याइएको छ ।

    मुख्यसचिव अर्यालले प्रधानमन्त्री र मन्त्रीहरू आइसकेपछि कहाँ–कहाँ कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेबारे आज हेर्ने काम गरिएको जानकारी दिए । सिंहदरबारबाटै प्रशासनिक काम गर्ने गरी तयारी गरिएको उनले बताए ।

  • राष्ट्रपतिले सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने र शपथ गराउने तयारी

    राष्ट्रपतिले सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने र शपथ गराउने तयारी

  • कैलाली कारागारबाट भागेका २५ कैदीबन्दी पक्राउ

    कैलाली कारागारबाट भागेका २५ कैदीबन्दी पक्राउ

     । जेनजी आन्दोलनका क्रममा कैलाली कारागारबाट भागेका २५ जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेकाे छ ।

    जिल्ला प्रहरी कार्यालय र मातहतबाट खटिएको टाेलीले विभिन्न स्थानबाट २५ जना कैदीबन्दीलाई पक्राउ गरेकाे हाे ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले बिहीबारसम्म पक्राउ परेका उनीहरूलाई कारागार पठाइएको बताए ।

    उनकाअनुसार पक्राउ परेका मध्ये तीन जना कैदीबन्दी भने आफैं प्रहरीकाे सम्पर्कमा आएका थिए ।

    यसैबीच, जिल्ला कारागार कैलालीले कैदीबन्दीहरूलाई सम्पर्कमा आउन अनुराेध गरेकाे छ ।

    कारागार प्रशासक चिरञ्जीवी सापकोटाले सूचना जारी गर्दै कारागारकाे बन्दी गृहबाट भागेका कैदीबन्दीलाई अबिलम्ब सम्पर्कमा आउन भनेका छन् ।

    ‘कारागार व्यवस्थापन विभागको मिति २०८२।०५।२६ गतेको सूचना अनुसार यस कारागार कार्यालय, कैलालीबाट मिति २०८२।०५। २४ गते बन्दीगृहबाट बाहिर निस्किएका कैदीबन्दीहरू अविलम्ब कारागार कार्यालय, कैलाली वा नजिकैको प्रहरी कार्यालयको सम्पर्कमा आउन हुन यो सूचना जारी गरिएको छ। अन्यथा कारागार ऐन अनुसार भईजाने व्यहोरा समेत सबैमा जानकारी गराईन्छ,’ सूचनामा छ ।

    कैलाली कारागारकाे बन्दी गृहबाट मंगलबार जेनजीका प्रदर्शनकारीले छ सय ६६ जना कैदीबन्दीलाई निकालेर भगाएका थिए ।

    कारागारमा छ सय ६७ कैदीबन्दी रहे पनि एक जना भने उपचाररत रहेका कारण भाग्न नपाएकाे कारागारले जनाएको छ ।

  • जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

    जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

    जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले मृतकको संख्या ५१ पुगेको बताए ।

    जसमा काठमाडौं उपत्यकामा मृतक भएकादेखि अन्य जिल्लाहरुको पनि जोडिएको छ । तीन प्रहरी, एक भारतीय महिलासहित ५१ जनाको मृत्यु भएको प्रहरीले बताएको छ।

    पहिलो दिनको प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या २१ थियो । कैदीमात्रै ९ जना मारिए । बाल सुधार गृहमा रहेका ५ जना, प्रहरी तीन जना बाँकी जलेको अवस्थमा मृत भेटिएको प्रहरीले बताएको छ ।

  • जेनजीको मागअनुसार प्रधानमन्त्री बनाउन कांग्रेस तयार छ तर, सरकार संविधानसँग जोडिनुपर्छ : गगन थापा

    जेनजीको मागअनुसार प्रधानमन्त्री बनाउन कांग्रेस तयार छ तर, सरकार संविधानसँग जोडिनुपर्छ : गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेनजीहरूको मागअनुसार संविधान भित्रैबाटै समाधान खोज्न कांग्रेस तयार रहेको बताएका छन् ।

    भदौ २३ र २४ गतेको घटनाबारे शुक्रबार दोस्रो भिडियो सन्देश जारी गर्दै थापाले क्रमभंग गरेर नयाँ बाटोमा हिँड्न आफूहरू तयार रहेको बताएका हुन् । ‘कांग्रेस अहिलेको अवस्थाबाट बाहिर निकाल्ने प्रयासमा छ । हामी सबै पक्षसँग संवादमा छौं । राष्ट्रपति, अन्य दल, आन्दोलनरत पक्षसँग पनि छलफलको तयारी गर्दैछौं,’ थापाले भने, ‘जेनजीको माग सम्बोधन गरेपछि मात्रै अगाडि बढ्छ । उहाँहरूले छानेको व्यक्तिलाई प्रधानमन्त्री बनाउने प्रक्रिया छिट्टै सकिन्छ । अनि अहिलेको घटनाको छानबिन र चुनाव हुनुपर्छ ।’

    सबैसँग संवादमा रहेर कांग्रेस अहिलेको स्थितिबाट बाहिर निकाल्ने पक्षमा भएको थापाले बताए । ‘प्रत्यक्ष भेट्ने अवस्था छैन  । २३ गते कसैले अनुमान नगरेको घटना भयो । कसैले नचाहेको भयो । हाम्रो अनुहारमा दाग लागेको छ । ऐना पुँछेर हुँदैन । हामीले माफी माग्नुपर्छ,’ थापाले भनेका छन्, ‘हाम्रो सभापतिसहित पार्टीका साथीमाथि छानी छानी आक्रमण भयो । २३ र २४ गतेका अमानवीय क्रूर घटनाको छानबिन हुनुपर्छ । हामी भित्रका हुन् कि बाहिरका छानबिन भएर कारवाही हुनुपर्छ ।’

    २३ र २४ गते भौतिक क्षतिमात्रै नभएको भन्दै उनले घर कार्यालय र मन पनि फाटेको उनले बताए । ‘यसको जिम्मा कसले लिन्छ ? अर्बौं/खर्बौंको क्षति भएको छ । ०६२/६३ मा कांग्रेसले माओवादीलाई मूलधारमा ल्यायो,’ थापाले भनेका छन्, ‘नेपाललाई सबैले जोड्ने पहलकदमी चाहिएको छ । कांग्रेसको जिम्मेवारी छ । किनकी कांग्रेस राष्ट्रिय शक्ति हो । जो जहाँ हुनुहुन्छ । उत्तेजना होइन जोड्ने हिसाबले खटिनुस् ।  सबैलाई जोड्न कांग्रेस लाग्छ ।’

    थापाले अब बन्ने सरकारलाई संविधानसँग जोड्न आवश्यक रहेको पनि बताए । ‘हामी यो सरकारलाई संविधानसँग जोड्न चाहन्छौं । सबैतिर भत्किएको छ । अबको सरकारलाई संविधानसँग जोड्नुपर्छ । नागरिक सरकार, ४६ सालयताका नेताको सम्पत्ति छानबिनमा लाग्नुपर्छ । सही नियुक्तिको लागि वातावरण बनाउनुपर्छ । संविधानभित्र सुधार गर्ने कुरामा पनि हामी छौं, लागिरहेका छौं ।’

    आज साँझसम्ममा सरकार बन्ने प्रक्रिया टुंगिने पक्षमा आफू भएको पनि उनले बताए । अब अहिलेको अवस्थामा कांग्रेस अगाडि नबढ्ने उनको भनाइ छ । पुनर्गठित कांग्रेस आजको आवश्यकता भएको उनको भनाइ छ । ‘हामी एक नम्बर हौं । पहिलो दल हौं  तर, मतले मात्रै नहुने रहेछ  । मन पनि जित्नुपर्छ रहेछ  । नयाँ पुस्ताले हामीलाई रुचाएनन् । हामीले भनेको मानेनन् । नयाँ पुस्तालाई समेट्नैपर्छ । हाम्रो भित्र गति मिलेन, मति मिलेन । नौजवानले चाहेअनुसार भएन । हामी मिलाउन चाहन्छौं । हामीलाई तपाईंको साथ चाहिन्छ ।’

    संस्थाहरूलाई अति दलीय करण बनाउने परिपार्टी अब अन्त्य गर्नुपर्ने उनले बताए । ‘अति दलीयकरण अति भएको छ । अब कांग्रेसल संकल्प गर्छ । हामी गरौं । नेपालको संरचनलाई दलीय करणलाई बाहिर निकाल्छ,’ थापाले भनेका छन् ।

    गुटबन्दीबाट माथि उठेको कांग्रेस बनाउन लाग्नेसमेत उनको भनाइ छ ।

  • जुवातास खेलिरहेका ७ जना पक्राउ

    जुवातास खेलिरहेका ७ जना पक्राउ

     सुर्खेतको वीरेन्द्रनगर–६ बुद्धपथमा रहेको टास्किङ होटलबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ।

    बिहीबार साँझ साढे ७ बजेतिर नगर प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक राजन भट्टराईको कमाण्डमा खटिएको टोलीले ६० हजार रुपैयाँ नगदसहित उनीहरुलाई पक्राउ गरेकाे हाे ।

    पक्राउ पर्नेमा वीरेन्द्रनगर–६ का देवेन्द्र अधिकारी, धर्म भण्डारी, वर्षीय तेजराम पाण्डे, वर्षीय तिलक प्रसाद पौडेल, वीरेन्द्रनगर–४ का गणेश खड्का, टेक बहादुर गिरी र वीरेन्द्रनगर–८ का रबिन्द्र थापा रहेकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए ।

    उनले जुवातास खेलको आरोपमा उनीहरूलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्। यससँगै टास्किङ होटलका सञ्चालक सन्देश रावतमाथि पनि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएकाे छ।

  • संविधानबाटै निकास खोज्नुपर्ने भन्दै बार एसोसिएसनले देशव्यापी प्रदर्शन गर्ने

    संविधानबाटै निकास खोज्नुपर्ने भन्दै बार एसोसिएसनले देशव्यापी प्रदर्शन गर्ने

     संविधान रक्षाका लागि भन्दै कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले शुक्रबार देशव्यापी प्रदर्शन गर्ने भएको छ । ‘संविधानको दायराबाट मुलुकको राजनीतिक निकास खोजिनुपर्छ, त्यो भनेको अहिलेको संविधान संरक्षण हुनुपर्छ भन्ने हाम्रो माग हो’ नेपाल बार एसोसिएसनका अध्यक्ष डा. विजयप्रसाद मिश्रले अनलाइनखबरसँग भने, ‘त्यसका लागि शुक्रबार दुई थरी कार्यक्रम गर्ने तयारी छ ।’

    केन्द्रीय बारका पदाधिकारीहरुको आकस्मिक बैठकले शुक्रबार दिउँसो १ बजे देशभरका बार इकाइमा प्रदर्शन गर्ने निर्णय गरेको हो । त्यसपछि बारले बेलुकी ५ बजे बार केन्द्रीय कार्यालय रामशाहपथबाट प्रदर्शन गर्ने योजना बनाएको छ ।

    कानून व्यवसायीहरुले संविधान हातमा लिएर विरोध प्रदर्शन गर्ने तयारी गरेका हुन् । ५ बजेअघि प्रदर्शन गर्दा कर्फ्यू तोडेको सन्देश जाने भएकाले कर्फ्यूको अवधि सकिएपछि प्रदर्शन गर्ने तयारी बारको हो ।

    बिहीबार मात्रै बारले अहिलेको संविधानभित्रकै प्रक्रियाबाट मुलुकको राजनीतिक निकास खोज्न राष्ट्रपतिको ध्यानाकर्षण गराउने निर्णय गरेको थियो । उसले संविधानसभाले बनाएको संविधान यथावत रहेको अवस्थामा प्रतिनिधिसभासहित संघीय संसदको क्रियाशीलताबाट नै निकास खोज्न सुझाव दिएको थियो ।

    आन्दोलनकारी जेन–जी समूहले समेत संविधान र व्यवस्था परिवर्तनको माग नगरेको भन्दै अहिलेकै संरचनाबाट निकास खोज्न भनेको थियो ।

    बारले विज्ञप्तिमार्फत भनेको थियो, ‘आन्दोलनकारी शक्तिहरू सरकार परिवर्तनको इच्छा राखेको र अहिले सरकार परिवर्तनको प्रक्रिया शुरु भएकाले संविधानको धारा ७६, ७७ र ७८ र धारा ६१ को मर्म र भावनामा रहेर राष्ट्रिय सरकार गठन गर्न सकिने भएकोले प्रक्रिया प्रारम्भ गर्न हार्दिक अपिल गर्दछौं ।’’

  • कर्फ्यु हटाइयो, निषेधाज्ञा कायम

    कर्फ्यु हटाइयो, निषेधाज्ञा कायम

     सुर्खेतमा बिहीबार साँझदेखि जारी गरिएको कर्फ्यु शुक्रबार बिहानदेखि हटाइएको छ । प्रमुख जिल्ला अधिकारी  जगदीश्वर उपाध्यायले कर्फ्यु हटाए पनि निषेधाज्ञा भने निरन्तर लागू रहने जानकारी दिए ।

    उनका अनुसार सुब्बाकुनादेखि पश्चिम बाङ्गेसिमलसम्म रत्नराजमार्गको उत्तरतर्फ उपत्यका सम्पूर्ण क्षेत्रमा तथा दक्षिणतर्फ राजमार्गको ३०० मिटर भित्र निषेधाज्ञा जारी गरिएको छ ।

    जिल्ला सुरक्षा समितिको मूल्याङ्कनअनुसार सुर्खेतको शान्ति–सुरक्षाको अवस्था सामान्य रहेकाले कर्फ्यु हटाउने निर्णय गरिएको हो । तर, हुलदंगा वा अशान्ति रोक्न ५ जनाभन्दा बढी एकै ठाउँमा भेला हुन नपाउने प्रजिअ उपाध्यायले जानकारी दिए । साँझ ५ बजेपछि परिस्थितिको मूल्याङ्कन गरेर पुनः आवश्यक निर्णय लिइने प्रजिअ उपाध्यायले बताएका छन् ।