Blog

  • नयाँ पुस्ताले हामीलाई रुचाएनन् : गगन थापा

    नयाँ पुस्ताले हामीलाई रुचाएनन् : गगन थापा

     नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको पुनर्गठन अनिवार्य रहेको बताएका छन् ।

    मत प्राप्त गर्ने र विश्वास प्राप्त गर्ने फरक–फरक रहेकाले यसमा आत्मसमीक्षा गर्नुपर्ने उनले बताए । ‘नागरिकको विश्वास किन टुट्यो । यसको हामीले समीक्षा गर्नुपर्दछ । खासगरी नयाँ पुस्ताले हामीलाई नरुचाएको पाइयो,’ थापाले एक भिडियो सार्वजनिक गर्दै भनेका छन्, ‘उनीहरु किन हामीहरुसँग छैनन् ? यसको उत्तर खोज्ने मात्रै होइन, केही काम गर्ने पनि हो,’ गति र मति अनुसार पार्टी चल्न नसकेको बताए ।

    कांग्रेसको अनुहारमा दाग लागेको हुँदा ऐना पुछेर नहुने उनले बताए । भिडियो सन्देशमा उनी भन्छन्, ‘सिंगो देशसँग कांग्रेसले माफी माग्नुपर्दछ । यो घाउलाई पुर्नुपर्दछ ।’

    २३ र २४ भदौमा भएका अमानवीय र क्रुर सबै घटनाको छानविन हुनुपर्ने उनले माग गरे । सभापतिदेखि नेता कार्यकर्ताहरुलाई आक्रमण भएको थापाले जानकारी गराए । थापाले भने, ‘स्वभाविक आक्रोशलाई हामीले स्विकार गर्नुपर्दछ । तर, जहाँ नियतवश भएको छ । ती दण्डनीय छन् । तीनलाई कानुनको दायरामा ल्याउनुपर्दछ ।’

    पुन: निर्माणको अग्रसरता पनि कांग्रेसले लिनुपर्ने महामन्त्री थापाले बताए ।

    राष्ट्रपति, पार्टीहरु, आन्दोलनकारीसँग संवाद जारी रहेको उनले बताए । जेनजीहरुले चाहेको व्यक्तिलाई प्रधानमन्त्री बनाउन आवश्यक पहल कांग्रेसले गरिरहेको उनले सुनाए । ‘यो सरकारलाई हामी संविधानसँग जोड्न चाहन्छौं । संविधान एकपटक ट्रयाकबाहिर गयो भने फर्काउन सकिँदैन,’ थापाले भने ।

    थापाले आज साँझसम्म सरकार बन्ने विश्वास व्यक्त गरे ।

  • यी हुन् जेन–जी प्रदर्शनमा ज्यान गुमाउने

    यी हुन् जेन–जी प्रदर्शनमा ज्यान गुमाउने

    जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ । स्वास्थ्य मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरणअनुसार, मृतकको संख्या ३४ पुगेको हो । प्रदर्शनका क्रममा घाइते भएका १ हजार ३६८ जनामध्ये ३२१ जना अस्पतालमा उपचाररत छन् । हालसम्म ९४९ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।
    मन्त्रालयका अनुसार काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा ८, सिभिल अस्पतालमा ६, भेरी अस्पतालमा ५ जना, एभरेष्ट अस्पतालमा ३, फ्रन्टलाइन अस्पतालमा ३, केएमसी अस्पतालमा २, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २, काठमाडौंको बयोधा अस्पतालमा २ र त्रिवि शिक्षण अस्पताल, विराटनगरको बिर्तासिटी अस्पताल, बिएनसी अस्पतालमा एक–एक जनाको मृत्यु भएको छ ।
    राष्ट्रिय ट्रमा सेन्टरमा १९ वर्षीय श्रीयाम चौलागाईंको मृत्यु भएको छ । तर उनको यकिन ठेगाना खुलेको छैन । बाँकेका २५ वर्षीय सुलभज श्रेष्ठ, काठमाडौं कीर्तिपुर नगरपालिकाका ४१ वर्षीय बुद्धिबहादुर तामाङ छन् । यस्तै २९ वर्षका गौरव जोशीको भने ठेगाना खुल्न सकेको छैन । मृत्यु हुनेमा सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका–६ का २९ वर्षका योगबहादुर श्रेष्ठ रहेका छन् । काठमाडौंको बनस्थली बस्ने २६ वर्षका ईश्वतबहादुर अधिकारी, उदयपुर बेलका नगरपालिकाका–४ का २९ वर्षीय सन्तोष विक र काठमाडौं महानगरपालिकाका–८ का १९ वर्षका टोखा आयुष थापा छन् ।
    यस्तै निजामती अस्पतालमा मृत्यु हुने अर्घाखाँचीका १८ वर्षका मिसल सारु मगर, धनकुटाका ६० वर्षीय छत्रमान कुथुमी, गोरखाका २२ वर्षीय विमल भट्ट, सिरहाका ३२ वर्षका विजय चौधरी, दोलखाका २१ वर्षका अभिषेक चौलागाईं छन् । यस्तै २४ वर्षका काशी आलम ठाकुरको भने ठेगाना खुल्न सकेको छैन । एभरेष्ट अस्पतालमा ललितपुर महानगरपालिका–७ का ३० वर्षका बिनोद महर्जन, पाटनढोका बस्ने काभ्रे तेमाल गाउँपालिका–७ का दिलनारायण तामाङ र दुवाकोट भक्तपुर स्थायी ठेगाना भएका २३ वर्षका योगेन्द्र न्यौपाने छन् ।
    फ्रन्टलाइन अस्पतालमा संखुवासभाका २१ वर्षका प्रविन कुलङ, काठमाडौं चाबहिलका २१ वर्षका उमेश महत, काठमाडौं गौशला बस्ने १७ वर्षका निकिता गौतमको मृत्यु भएको छ । यस्तै बयोधा अस्पतालमा उपचारको क्रममा २८ वर्षका अर्जुन भट्ट र २३ वर्ष देव कुमार सुवेदी छन् । उनीहरुको पनि यकिन ठेगाना खुलेको छैन । काठमाडौं मेडिकल कलेजका (केएमसीमा) उपचारको क्रममा सौरम किशोर श्रेष्ठ र सुवास पोखरेलको मृत्यु भएको छ । उनीहरुको पनि ठेगाना अझै खुल्न सकेको छैन ।
    त्रिवि शिक्षण अस्पतालमा एकजनाको मृत्यु भएको छ । मृतकको विवरण खुल्न सकेको छैन । त्यस्तै बालसुधार गृहमा झडप हुँदा पाँच जनाको मृत्यु भएको छ । उनीहरूको पनि विवरण खुलेन सकेको छैन । सोमबार दिउँसो नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि जेनजी प्रदर्शनकारीले घेरा तोडेपछि आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो । झडपमा प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरेको थियो । त्यस क्रममा घाइते भएकाहरूलाई प्रदर्शनकारीले अस्पताल पुर्‍याएका थिए । कतिपयको बाटैमा र कतिको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
    काठमाडौं उपत्यकाका विभिन्न अस्पतालबाट पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालको फोरेन्सक विभागमा ३२ वटा शव पुगेका छन् । जसमध्ये एक जना महिला रहेको फोरेन्सिक विभागले जनाएको छ । २ जनाको अझै परिचय खुल्न सकेको छैन । घटनास्थलबाट प्रहरीले उठाएको मुचुल्काका आधारमा २९ जनाको विवरण प्राप्त भए पनि कसको शव भनेर यकिन गर्न भने नसकिएको अस्पतालले जनाएको छ । अहिले यी शव विभागको फ्रिजमा राखिएको छ ।


    मृतकका आफन्तले भने पोस्टमार्टम गर्न नदिने बताएका छन् । प्रहरीको गोली लागेर मृत्यु भएका धनगढीका गौरव जोशीका मामा शिशिर भट्टले मृतकको पोष्टमार्टम गर्न नदिने बताए । ‘हाम्रा बच्चाहरुको मृत्यु प्रहरीको गोली लागेर भएको भन्ने थाहा छ, शरीर चिर्न दिदैनौं,’ भट्टले भने । गोली लागेर मृत्यु भएका व्यक्तिका आफन्तहरु एकजुट भएर पोष्टमार्टम गर्न नदिने बताएका हुन् । ‘प्रहरीले ताकी ताकी टाउकोमा गोली हानेको छ । देशका साहदत प्राप्त गरेका हाम्रा बच्चाहरुको शरीर कसरी चिर्न दिन्छौं ? यसमा सबै सहमत छौं,’ उनले भने ।
    अस्पतालको फरेन्सिक विभागका अनुसार यो विषय अन्तर्राष्ट्रिय बनिसकेका कारण अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नै पोस्टमार्टम गर्नुपर्नेछ । के आधारमा यो व्यक्ति भनियो भन्ने वैज्ञानिक आधार स्पष्ट भएपछि मात्र आफन्तलाई शव जिम्मा लगाउने तयारी विभागको रहेको छ ।

  • बुधबार साझ ६ बजेदेखि कर्फ्यू आदेश झन कडा

    बुधबार साझ ६ बजेदेखि कर्फ्यू आदेश झन कडा

     देशभर शान्ति सुरक्षा कायम राख्न नेपाली सेनाले आज (बुधबार) साझ ६ बजेदेखि कर्फ्यू आदेश झन कडा गरेकाे छ । पछिल्लो आन्दोलनपछिको परिस्थितिलाई मध्यनजर गर्दै सेनाले यस्तो कदम चालेको हो।

    सेनाले निषेधाज्ञा तथा कर्फ्यूको अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी प्रयोग गर्ने अत्यावश्यक सवारी साधनहरू मात्र सञ्चालनमा रहन पाउने जनाएको छ । नेपाली सेनाले सम्बद्ध निकायहरूसँग समन्वयमा रही आन्दोलनपछिको अवस्था व्यवस्थापन गर्न पहल गरिरहेको जनाएको छ । साथै, नागरिकहरूलाई काम नपरी बाहिर ननिस्कन समेत अपील गरिएको छ ।

  • निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा ६ जना पक्राउ

    निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा ६ जना पक्राउ

    सुर्खेतको वीरेन्द्रनगरमा निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। बिहीबार घण्टाघर चोकस्थित डी–नमस्ते होटलबाट नियन्त्रणमा लिइएकामध्ये एमाले निकट युवा संघका प्रतिनिधि र जेन–जी (Gen-Z) समूहका युवाहरु रहेका प्रहरीले जनाएको छ।

    पक्राउ पर्नेहरुमा जुम्ला कनकासुन्दरी गाउँपालिका–५ का ३३ वर्षीय बद्री बोहोरा, वीरेन्द्रनगर नगरपालिका–८ का ३१ वर्षीय मोहन थापा, कालिकोट पचालझरणा गाउँपालिका–३ का १८ वर्षीय महेश कठायत, १८ वर्षीय मिलन बस्नेत, कालिकोट तिलागुफा नगरपालिका–१ का २४ वर्षीय प्रेम बूढा र कालिकोट शुभकालिका गाउँपालिका–३ का २६ वर्षीय पुष्पराज शाही रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए।

    पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसअघि जिल्ला प्रशासन कार्यालय सुर्खेतले बिहीबार बिहान ८:३० बजेदेखि साँझ ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो। उक्त अवधिभर सभा, जुलुस र भीडभाड नगर्न प्रशासनले निर्देशन दिएको थियो।

  • चट्याङ लागेर एक जनाको मृत्यु, ३५ घाइते

    चट्याङ लागेर एक जनाको मृत्यु, ३५ घाइते

    blog

     बागलुङको तमानखोला गाउँपालिमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । बुधबार राती तमानखोला गाउँपालिका–६ स्थित नर्जाखानीमा चट्याङ लागेर स्थानीय ७१ वर्षीया मनकली वि.क.को मृत्यु भएको र अन्य ३५ जना घाइते भएको वडाध्यक्ष चित्रबहादुर छन्त्यालले बताए ।

    चट्याङ लागेर आफनो बायाँ खुट्टामा चोट लागि घाइते समेत बनेको उनले बताए । घाइतेको स्थानीय नर्जाखानी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा उपचार भईरहेको छ । छन्त्यालले भने, “चट्याङकै कारण नर्जाखानी गाउँका ६० घरमा क्षेती पुगेको छ । त्यहाँ रहेका बरागोस र पाल्ले खानीखोला लघु जलविद्युत्त पूर्ण रुपमा क्षेती पुगेको छ । अहिले त्यस क्षेत्रमा विद्युत्त अवरुद्ध भएको छ ।”

    यसैगरि जैमिनी नगरपालिका छिस्ती ८ अर्खलाबोटस्थित बलबहादुर नेपालीको घरमा चटयाङ पर्दा तीन जना सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएकाे छ ।

  • किन नेतृत्वविहीन भयो जेन-जी आन्दोलन ?

    किन नेतृत्वविहीन भयो जेन-जी आन्दोलन ?

    सामाजिक सञ्जाल प्रतिबन्ध र भष्ट्राचारविरुद्ध शान्तिपूर्ण गर्ने भनिएको आन्दोलन जेन-जी पुस्ताले रेडिट, डिस्कर्ड जस्ता वैकल्पिक सामाजिक सञ्जालमार्फत घोषणा गरेको थियो । उक्त आन्दोलन एकप्रकारले नेतृत्वविहीन नै बन्यो ।

    यो आन्दोलन कसले (व्यक्ति/समूह) र कहिले घोषणा गर्‍यो, ठ्याक्कै भन्न गाह्रो छ । किनकि वैकल्पिक सामाजिक सञ्जालमार्फत आन्दोलनको घोषणा भयो र कोही पनि व्यक्ति/समूह अगाडि देखिएनन् ।

    यद्यपि, यो आन्दोलनको घोषणा गत शुक्रबार दिनभरसम्ममा रेडिटमा भाइरल भइसकेको थियो । आन्दोलनको घोषणाबारे शुक्रबार साँझ नै अनलाइनखबरले समाचार समेत प्रकाशन गरेको थियो ।

    उक्त दिन टिकटक, फेसबुक, इन्स्टाग्राम जस्ता तुलनात्मक रूपमा नेपालमा बढी चलाइने प्लेटफर्ममा आन्दोलन गरिने खबर धेरै फैलिएको थिएन । रेडिटमा भने नेपाल सोसल, नेपाल जस्ता कम्युनिटीमा ८ सेप्टेम्बरमा भष्ट्राचारविरुद्ध जेन-जी पुस्ताले देशव्यापी प्रदर्शन गर्ने खबर फैलिसकेको थियो।

    अहिले आउँदा के त्यो आन्दोलनको घोषणा खास जेनजीले नै गरेका थिए भनेर सोच्नु पर्ने अवस्था आएको देखिन्छ । कारण, जजसले सबैभन्दा सुरुमा त्यो आन्दोलनबारे सञ्जालमा पोस्ट गरे, शेयर गरे, ती सबै अहिले मौन र अदृश्य जस्ता छन्।

    यसरी कोही पनि दृश्यमा नआउँदा कुनै राजनीतिक स्बार्थ समूहले कतै ‘जेनजी कार्ड’ फालेका त थिएनन्? भनेर सोच्नुपर्ने बाध्यता पनि आएको छ । किनकि यहाँ विविध कारण निरास, हतास एउटा पुस्ताको नाम लिइँदै आइएको थियो, जुन अमूर्त बराबर छ।

    यी प्रश्नको उत्तर समयले देला । तर ८ सेम्प्टेम्बर बिहानको ९ बजे काठमाडौंमा संसद भवनअघि, पोखरामा सभाहलअघि र अन्य शहरहरूमा विभिन्न सरकारी कार्यालयअघि प्रदर्शन गर्ने व्यहोरा उल्लेख गरिएका ग्राफिक्सहरू गत शुक्रबारदेखि रेडिट, डिस्कर्डतिर छाइसकेको थियो ।

    सञ्जालमा डिजिटल आर्काइभिङ वा कन्टेन्ट माइनिङ (पुराना पोस्टहरू खोज्दै जाने प्रक्रिया) गर्दै जाँदा यस प्रकृतिका पोस्टहरू नयाँ अकाउन्टबाट शेयर गरिएको पाइयो । अनि त्यस्ता पोस्ट गरिएका केही अकाउन्ट डिलिट भएको पनि भेटियो ।

    त्यससँगै शुक्रबार नै रेडिटमा आईएनआरजी नामक समूह देखा परेको थियो । यो समूहले पनि ग्राफिक्स बनाएर उही प्रकृतिको आन्दोलन गर्न आह्वान गरिरहेको थियो । त्यसका साथै त्यहाँ डिस्कर्ड लिङ्क पनि राखिएको थियो।

    त्यो लिङ्कमार्फत डिस्कर्डमा जोडिंदा ‘युवा हब’ नामक कम्युनिटी भेटियो । त्यहाँ शुक्रबार नै करिब १५०० सदस्य जोडिइसकेका थिए । अहिले करिब ६ हजार सदस्य भएको यो ग्रुपको नाम परिवर्तन गरेर ‘जेनजी जेड नेपाल’ राखिएको छ भने आईएनआरजी नामक समूह लापता जस्तै छ।

    यसरी ग्रुपहरू खोलिए पनि ती प्लेटफर्ममा यो आन्दोलनलाई नेतृत्व कसले गर्ने र माग के हो भन्ने प्रश्नहरू आइरहेका थिए । उत्तरमा कसैले पनि नेतृत्व नगर्ने र माग भष्ट्राचार भएको भेटिन्थे । विशेषत: सामाजिक सञ्जाल प्रतिबन्ध र नेपो बेबी ट्रेन्ड प्रमुख कारण थिए।

    विस्तारै केही सञ्चारमाध्यम र हजारौं फलोअर्स भएका पेजहरूमार्फत ८ सेप्टेम्बरमा जेनजीले आन्दोलन गर्ने खबर फैलन थाल्यो । जुन खबर फेसबुक, इन्स्टाग्राम, टिकटक जस्ता धेरै नेपाली प्रयोगकर्ता भएको सामाजिक सञ्जालतिर फैलियो।

    पङ्क्तिकारको मूल्याङ्कनमा यस्तो खबर लिङ्कडिन र एक्समा केही कम थियो । शनिबार र आइतबारसम्म पुग्दा त विभिन्न राजनीतिज्ञ, सामाजिक अभियन्ता, सेलिब्रेटीहरूले त्यस खबरलाई व्यापक फैलाए।

    विशेषत: ‘पहिलो पटक नेतृत्वबिना, स्वस्फूर्त आन्दोलन हुनेछ’ भनेर यो खबर जताततै फैलिरहेको थियो । शनिबार दिनभरसम्ममा यो खबर डँडेलो जसरी फैलिएको थियो । जसमा धेरैले जेनजीको आन्दोलनलाई समर्थन गरिरहेका थिए भने कतिपयले आन्दोलन नहुनेमा शंका देखाइरहेका थिए।

    त्यसरी फैलनुमा कारण भने सरकारप्रति नागरिकको बढ्दो निराशा नै हो। त्यस्तोमा शनिबार साँझ खबर आयो – सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका पाँच जना बानेश्वरबाट पक्राउ परे।

    आइतबार दिउँसोसम्म पनि आन्दोलन कसले नेतृत्व गर्छ, अन्यौल नै थियो । त्यही दिन अर्को खबर आयो – जेनजीको आन्दोलनमा दुर्गा प्रसाईं मिसिने । तर ती प्लेटफर्महरूमा तत्काल त्यसको विरोध भएको देखियो।

    उनीहरूलाई प्रहरीले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडिबाट प्रहरी पक्राउ गरेको थियो । उनीहरू ‘युथ कंग्रेस नेपाल’ का सदस्य थिए । र, यही संस्थाले त्यो दिनको प्रदर्शन आयोजना गरेको थियो ।

    तर जेनजी आन्दोलनको पहिलो मुख्य टर्निङ यही बन्यो । कारण – शनिबार साँझसम्ममा यो खबर रेडिट, डिस्कर्डमा व्यापक फैलिएको थियो । त्यसबेलासम्म सञ्जालमा पहिचान लुकाएर सडकमा आन्दोलन गर्ने भनिरहेकाहरूले त्यस समाचारलाई व्यापक शेयर गरिरहेका थिए।

    एक त सामाजिक सञ्जाल प्रतिबन्ध, अर्को त्यसको प्रतिवादमा उत्रिएकालाई पक्राउ – आन्दोलन गर्ने भनेकाहरूलाई त्यो घटना आगोमा घिउ बन्यो। यहीबीचमा केही मान्छेहरूले जेनजीहरूलाई नकारात्मक टिप्पणी गरिरहेका थिए। जसमध्ये प्रमुखमा थिए – विवेक थपलिया । उनको टिप्पणीलाई लिएर पनि गुपचुप तरिकाले आन्दोलन गर्नुपर्छ भनिरहेकाहरूमा आक्रोश थपिरहेको सञ्जाल चहार्दा अनुभव गर्न सकिन्छ।

    अर्कोतर्फ आइतबार दिउँसोसम्म पनि आन्दोलन कसले नेतृत्व गर्छ, अन्यौल नै थियो । त्यही दिन अर्को खबर आयो – जेनजीको आन्दोलनमा दुर्गा प्रसाईं मिसिने । तर ती प्लेटफर्महरूमा तत्काल त्यसको विरोध भएको देखियो।

    त्यस्तैमा केही जेनजी त उनलाई घरमै भेट्न गएको खबर पनि बाहिरियो । र, क्षणभरमा नै उनी आन्दोलनमा सहभागी नहुने समाचार आयो। तर प्रसाईंलाई भेट्नेहरू आन्दोलनको अगुवा नभएको प्लेटफर्महरूमा व्यापक चर्चा थियो।

    केही सञ्चारमाध्यमहरूले केही व्यक्तिहरूलाई जेनजी आन्दोलनको नेतृत्वकर्ता भनेर उल्लेख गर्न थालेपछि त्यसको पनि विरोध भइरहेको थियो । कसैले जेनजी आन्दोलनबारे अलि नेतृत्वदायी भूमिका खेल्ने गरी केही भने/गरे भने अरूहरूले नमान्ने र त्यसको विरोध गर्ने अवस्था थियो।

    त्यहीँ अन्यौलताबीच आन्दोलनलाई नेतृत्व गर्नेगरी औपचारिक रूपमा ‘जेनजी नेपाल’ नामक समूह देखा पर्‍यो । इन्स्टाग्राम, फेसबुकमा पेज खोलिएको त्यो समूहलाई केहीले आधिकारिक मानिरहेका थिए भने केहीले अस्वीकार गरिरहेका थिए । अनि यो पङ्क्ति लेखिरहँदा अझै पनि इन्स्टाग्राममा उक्त अकाउन्ट ‘न्यू’ भनेर नै देखिन्छ।

    सोमबार साँझ पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निकालेको विज्ञप्तिमा पनि यही समूहको घोषणालाई उद्धृत गरिएको छ।

    तर, डिस्कर्डमा जेनजी नेपाल, द रिभोलुसन, जेनजी स्पिक्स, जेन-जी मुभमेन्ट नेपाल लगायतका अन्य समूह छन् भने भाइबरमा नयाँ नेपाल नेटवर्क, न्यु युथ जेनेरेसन भाइबर जस्ता समूह छन् । टेलिग्राम, मेसेन्जर, इन्स्टाग्राम, ह्वाट्सएपमा त ससाना समूह कतिकति !

    यी सबैले जेनजी आन्दोलनको नेतृत्व गरिरहेको दाबी गर्छन् । तर उनीहरूमध्ये कसैले पनि एकले अर्काको अस्तित्व स्वीकार गरिरहेका छैनन् । सबैले आफ्नो समूहलाई मात्र हेरिरहेको, प्रवर्धन गर्न कोसिस गरिरहेका छन्।

    आइतबार साँझसम्ममा खोलिएका ती सबै समूहलाई एकीकृत गर्न भने देखिएरै अगाडि आएको ‘हामी नेपाल’ हो । यसको डिस्कर्डमा ‘युथ अगेन्स्ट करप्सन’ भन्ने समूह छ । हामी नेपालको इन्स्टाग्राममा संस्थाका संस्थापक सुदन गुरुङले आन्दोलनमा सञ्चार गर्ने एउटा एकीकृत ठाउँ चाहिन्छ भनेर भिडिओ बनाइरहँदा आन्दोलनकारीहरूलाई ‘तिमीहरू’ सम्बोधन गरेका थिए।

    उक्त समूहले आफूलाई आन्दोलनको आयोजक नभएको तर व्यवस्थापकको रूपमा प्रस्तुत गर्दै आइरहेको छ ।यही समूहले गत सोमबार बिहान ९ बजेदेखि माइतीघरमा भएको आन्दोलनलाई व्यवस्थित गर्ने काम गरेको थियो । भलै त्यो दिन १९ जनाको मृत्यु भएपछि यो समूहले मङ्गलबार शान्तिपूर्ण आन्दोलन गर्ने भनेको थियो।

    पछिल्लो घटनाक्रमपछि भने यो समूह नेतृत्व लिन सक्रिय भइरहेको जस्तो देखिन्छ । अहिले ९८ हजार बढी सदस्य भएको (यो संख्या निरन्तर बढिरहेको छ) यो समूहको भर्चुअल मिटिङ हाल सञ्जालमा व्यापक भाइरल पनि भइरहेको छ । जहाँ जेनजीको तर्फबाट कसले सेनाप्रमुख र राष्ट्रपतिसँग कुरा गर्छ भन्नेबारे बहस भइरहेको छ।

    यी बाहेक पोखरा, हेटौंडा, धरान, चितवन, झापा जस्ता काठमाडौं बाहिरका शहरहरूमा आन्दोलन गर्न फरकफरक डिस्कर्ड समूह तथा पेज बनाइएको थियो। त्यस्तै जेनजी आन्दोलनलाई स्वतन्त्र तरिकाले सहयोग गर्न विभिन्न गोफन्डमी अभियान पनि चलाइएको थियो।

    जसमध्ये अहिले अभियान क्षेत्रीले चलाएको एड फोर जेनजी नेपालमा अहिलेसम्म ५३ हजार ६४ अष्ट्रेलियन डलर, नेपाल्ज जेनजी प्रोटेस्टर्स: एड फर इनर्ड एन्ड डिजिजमा ५ हजार ६२१ अस्ट्रेलियन डलर र इमर्जेन्सी रिलिफ फन्ड फर नेपाल्ज जेनजी मुभमेन्टमा ५३७ अस्ट्रेलियन डलर उठिसकेको छ।

    घाइतेहरूको सम्पूर्ण उपचार सरकारले गर्ने भनिरहँदा उठेका ती फन्ड के गर्ने भनेर थप केही बताइएको छैन।

    दुई दिनको आन्दोलनको बीचमा सामाजिक सञ्जालमा जेन-जी आन्दोलनको नाममा नयाँ अकाउन्ट खोल्ने तथा पुराना अकाउन्ट/पेज/ग्रुपहरूको नाम परिवर्तन गर्ने ट्रेन्ड देखिएको छ । जुन बढी फेसबुकमा छ।

    उदाहरणका लागि, पछिल्लो पटक नेपाल कम्प्युनिष्ट पार्टी एमाले भएको ग्रुपको नाम अहिले gen-z युवा समूह नेपाल (जेन्जी) राखिएको छ । यसमा २ लाख ३२ हजार बढी सदस्य छन्।

    १ लाख ८४ हजार फलोअर्स भएको मिम पानाको नाम अहिले जेनजी नेपाल राखिएको छ। पटक पटक नाम परिवर्तन गरेर पछिल्लो समय ‘राजतन्त्र-हाम्रो आस्था र भरोसा’ राखिएको ग्रुपको नाम अहिले जेनजी नेपाल राखिएको छ।

    यी केही प्रतिनिधि उदाहरण हुन् । यिनीहरूले आम नागरिकहरूलाई मिथ्या, भ्रामक र आधारहीन सूचना फैलाउन ठूलो भूमिका खेलिरहेको छ ।

    त्यस्तै थुप्रै मान्छेले सीमित जेनजी ग्रुपको कुरा सुनेर आफ्नो विचार बनाइरहेको पनि पाइएको छ । जसलाई भित्रभित्रै अरू समूहहरूले प्रतिवाद गर्ने बताइरहेको देख्न सकिन्छ।

    एकातिर विगतका आन्दोलनहरूमा जस्तै नेतृत्व गर्ने स्पष्ट व्यक्ति वा समूहको अभाव, अर्कोतिर जेन-जी भनिएका समूहहरूले एकअर्काको कुरा नमान्नु, यी नै हालको जेन-जी आन्दोलनका प्रमुख समस्या बनेका छन्। यही कारण राष्ट्रपति र सेनाले वार्ताका लागि बोलाउँदा पनि सबै जेन-जी समूहहरू अन्यौलमा परेका हुन् भन्ने बुझ्न गाह्रो छैन।

    घटनाक्रमलाई नियाल्दा, आन्दोलनको सुरुवाती चरणमै घोषणा गर्नेहरूले पारदर्शी रूपमा नेतृत्व नलिनु र जेन-जीको ठूलो जमातलाई एकैतरिकाले सम्बोधन गर्नु वर्तमान अन्यौलताका कारण बनेको देखिन्छ ।

    मूर्त नेतृत्वविहीन अवस्थामा ठूलो समूह आन्दोलनमा होमिंदा जेन-जी आन्दोलन क्रमशः अमूर्त र शंकास्पद बन्दै गएको छ।(अनलाइनखबर)

  • देशभरका कारागारबाट १३ हजारभन्दा बढी कैदीबन्दी फरार, सुरक्षा चुनौती उच्च

    देशभरका कारागारबाट १३ हजारभन्दा बढी कैदीबन्दी फरार, सुरक्षा चुनौती उच्च

    नेपालमा पछिल्ला दिन देखिएको जेन-जी आन्दोलनबीच मंगलबार र बुधबार देशभरका विभिन्न कारागार र हिरासत केन्द्रबाट १३ हजारभन्दा बढी कैदी फरार भएका छन्।

    मुलुकभर रहेका अधिकांश कारागारमा कैदीहरूले आगजनी, तोडफोड र विद्रोह गर्दै फरार भएका हुन् । ललितपुरको नख्खुमा रहेको कारागारबाट रास्वपा सभापति रवि लामिछाने बाहिरिएपछि सुरु भएको कैदीबन्दीहरुको विद्रोहले केही कारागारमा भने झडपको स्थिति पनि निम्तिएको थियो । थोरैको संख्यामा रहेका सुरक्षाकर्मीलाई नियन्त्रणमा लिएर कैदीहरु फरार भएका थिए । केही कारागारमा स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली चलाएको थियो ।

    मंगलबार राति नख्खु कारागारबाट भागेका कैदीहरू काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागारमा पुगेका थिए। केही मिनेटमै सुरक्षाकर्मीहरूलाई आत्मसमर्पण गर्न बाध्य पार्दै उनीहरूले अन्य कैदीहरूलाई समेत बाहिर निकालेका थिए। नख्खु कारागारका ३ हजार तीन सय र केन्द्रीय कारागारका १ हजार चार सय कैदी फरार भएका छन्। तर, डिल्लीबजारस्थित चारखाल कारागार भने नेपाली सेनाको कडा निगरानीबीच सुरक्षित रह्यो। यद्यपि उनीहरुले कारागारभित्र आगजनी र तोडफोड गरेका थिए ।

    काठमाडौं उपत्यकाबाहिर पनि ठूलो संख्यामा कैदी भागेका छन् । कास्कीमा ८ सय, चितवनमा ७ सय, कपिलवस्तुमा ५ सय, सुनसरीमा १ हजार ५ सय, सप्तरीमा ४ सय, सोलुखुम्बुमा १ सय, बाँकेमा ५ सय, कैलालीमा ६ सय, डडेलधुरामा १ सय र दाङमा ३ सयभन्दा बढी कैदी फरार भएको पुष्टि भएको छ। यीबाहेक अन्य जिल्लाबाट पनि केही कैदीबन्दीहरु फरार भएका थिए । केही कैदीबन्दी भने कारागार फर्कन थालेका छन् ।

    भागेका मध्ये हत्या, बलात्कार र मानव बेचबिखन जस्ता गम्भीर अपराधका दोषीहरू समेत रहेकोले पीडित र सर्वसाधारणमा सुरक्षा चुनौती अझ गहिरिएको छ।

    यसैबीच, रौतहटको गौर कारागारबाट भागेर भारत पुगेका १३ जना कैदीलाई भारतीय प्रहरीले पक्राउ गरी नेपाली अधिकारीलाई बुझाएको छ। जुम्लाबाट भागेका ३६ मध्ये ४ जना फर्किएका छन् ।

    तर, केही घटनामा दुःखद् परिणाम पनि देखिएको छ। कास्कीको सराङकोटस्थित सुधार गृहमा पाँच बालबालिकाको मृत्यु भएको छ, जब करिब ९० कैदी मुख्य ढोका तोड्न खोज्दा प्रहरीले गोली चलाएको थियो। त्यस्तै, धादिङ कारागारमा नियन्त्रण पुनःस्थापना गर्न सेनाले गोली चलाउँदा दुई कैदीको मृत्यु र सात घाइते भएका छन्।

    हाल नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले देशभरका प्रमुख कारागारहरूलाई नियन्त्रणमा लिएको छ। यसैबीच, छोटो सजाय बाँकी रहेका केही कैदीहरू स्वेच्छाले फर्कन थालेको अधिकारीहरूले बताएका छन्।

    मानव तस्करीको आरोपमा प्रहरी नियन्त्रणमा रहेका नेकपा (एमाले)का निलम्बिन सचिव टोपबहादुर रायमाझी, सुन तस्करीमा संलग्न गोरे नामले चिनिने चुणमणि उप्रेतीलगायत पनि फरार भएका थिए ।

  • चार दलका युवा नेताको भने जेनजीका माग पूरा हुनुपर्छ

    चार दलका युवा नेताको भने जेनजीका माग पूरा हुनुपर्छ

    चार राजनीतिक दलका युवा नेताले भर्चुअल बैठक गरी जेनजीका माग पूरा गर्नुपर्ने निष्कर्ष निकालेका छन् ।
    बिहीबारको बैठकमा जेनजीको आन्दोलनपछि उत्पन्न परिस्थितिमा सबैले संयमित भएर निकास निकाल्नुपर्ने जनाउँदै जेनजीका माग पूरा गर्ने निष्कर्स निकालेका हुन् ।

    त्यस्तै युवा नेताले छलफलमा दलहरूले आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । त्यस्तै पश्चगमनमा फर्किन खोजे प्रतिवाद गर्नुपर्ने निष्कर्ष युवा नेताको छ ।

    छलफलमा नेपाली कांग्रेसबाट गगन थापा, विश्वप्रकाश शर्मा र चन्द्र भण्डारी, नेकपा एमालेबाट योगेश भट्टराई, ठाकुर गैरे र विद्या भट्टराई, नेकपा माओवादी केन्द्रबाट माधव सापकोटा, राजन दाहाल र अमनलाल मोदी र रास्वपाको तर्फबाट सोबिता गौतम र शिशिर खनाललगायत सहभागी थिए ।

  • बालेनप्रति संकेत गर्दै हर्कले भने : संकटको बेलामा लुक्ने, सडकमा आउन नसक्ने डरपोक!

    बालेनप्रति संकेत गर्दै हर्कले भने : संकटको बेलामा लुक्ने, सडकमा आउन नसक्ने डरपोक!

    धरानका मेयर हर्क साम्पाङले काठमाडौंका मेयर बालेन शाहप्रति संकत गर्दै टिप्पणी गरेका छन्।

    संकटको बेलामा लुक्ने र सडकमा आउन नसक्ने डरपोक भन्दै टिप्पणी गरेका हुन्। सामाजिक सञ्जालमा लेख्दै हर्कले भनेका छन्, ‘संकटको बेलामा लुक्ने, सडकमा आउन नसक्ने डरपोक, आफूलाई जिम्मा लगाएको अभिमत अरूलाई दिइ पठाउने, असहज परिस्थितिको सामना गर्न नसक्ने, अरूले काँधमा बोकिदिवोस् भन्ने किसिमको मान्छेलाई नेतृत्व मानिरहेकै कारण देशले न निकास पायो न विकास!’

  • आन्दोलनका क्रममा लुटिएका हतियार लगायत सामान बुझाउन प्रहरीको अपिल

    आन्दोलनका क्रममा लुटिएका हतियार लगायत सामान बुझाउन प्रहरीको अपिल

    नेपाल प्रहरीले भदौ २३ देखि २५ गतेसम्म भएका प्रदर्शनका क्रममा हराएका हातहतियार, सञ्चार सामग्री, सवारीसाधन तथा अन्य भौतिक सामग्रीहरू फिर्ता गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

    प्रहरीका अनुसार सो अवधिमा भएका आन्दोलन र प्रदर्शनका क्रममा नेपाल प्रहरी तथा अन्य सुरक्षा निकायहरूका विभिन्न सामग्री नियन्त्रणमा लिइएको वा कतै फेला परेको हुन सक्ने भएकाले ती वस्तुहरू नजिकको प्रहरी वा सुरक्षा निकायको कार्यालयमा बुझाउन आग्रह गरिएको हो।
    यसका लागि जिल्ला प्रहरी कार्यालय, प्रहरी कन्ट्रोल १००, टोल-फ्री नम्बर १६६००१४१५१६ वा नेपाल प्रहरी प्रधान कार्यालयको सम्पर्क नम्बर ९८५१२९३४५९ मा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ।

    साथै, आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले नियन्त्रणमा लिएका प्रहरीका पोशाकहरू दुरुपयोग नगर्न र सोसँग सम्बन्धित जानकारी भए तत्काल प्रहरीलाई उपलब्ध गराउन पनि प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ।