Blog

  • देशभर जारी भयो कर्फ्यू आदेश

    देशभर जारी भयो कर्फ्यू आदेश

     नेपाली सेनाले देशभर कर्फ्यू आदेश जारी गरेको छ । देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर गरी कर्फ्यू आदेश जारी भएको सेनाले जनाएको छ ।

    आजका लागि साँझ ५ बजेसम्म कर्फ्यूको समय निर्धारण गरिएको छ । सेनाको विज्ञप्ति अनुसार साँझ ५ बजेपछि कर्फ्यू जारी रहने र तत्पश्चात् भोलि बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी हुने जानकारी गराइएको छ ।

    आन्दोलनको नाममा अझै पनि विभिन्न अराजक व्यक्ति र समुहहरुले घुसपैठ गरी व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी, लुटपाट गरिरहेको सेनाले जनाएको छ ।

    व्यक्ति लक्षित हिंस्रक आक्रमण, बलात्कारका प्रयास जस्ता क्रियाकलापहरु गरिरहेको र गर्नसक्ने सम्भावना रहेको सेनाले जनाएको छ ।

    अपराधजन्य गतिविधि नियन्त्रणको प्रयासहरुमा सहकार्यका लागि सबैलाई नेपाली सेनाले आह्वानसमेत गरेको छ ।

    आन्दोलनको नाममा हुने कुनै पनि प्रदर्शन, तोडफोट, लुटपाट, आगजनी, व्यक्ति तथा सम्पत्ति लक्षित आक्रमणहरुलाई दण्डनीय अपराधका रुपमा लिई सुरक्षाकर्मीबाट कडा कारबाही हुने नेपाली सेनाले चेतावनी दिएको छ ।

    निषेधाज्ञा तथा कर्फ्युको दौरान अत्यावश्यक सेवाका सवारी साधनहरु (एम्बुलेन्स, शव बाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधनहरु) सञ्चालन हुने छन् । आवश्यक सहजताका लागि नजिकमा रहेका सुरक्षाकर्मीहरुसँग समन्वय गर्न सबैलाई सेनाले अनुरोध गरेको छ ।

    यस क्रममा सम्पूर्ण अवकाशप्राप्त सैनिक लगायत सुरक्षाकर्मीहरु, सबै सेवाका राष्ट्रसेवकहरु, सञ्चारकर्मी तथा आम नागरिकहरुमा अफवाहको पछाडि नलागी आधिकारिक सूचनामात्र सम्प्रेषण गर्न तथा आधिकारिकतामा मात्र विश्वास गर्न नेपाली सेनाले अनुरोध गरेको छ ।

    साथै राष्ट्रिय एकता र सामाजिक सदभावलाई कायम राख्दै जनजीवन सामान्य बनाइराख्ने दायित्वलाई निरन्तरता दिने विश्वास सेनाले लिएको छ ।

  • जेन–जी समूहको विरोध प्रदर्शन: १९ जना मारिए, ३४७ जना घाइते

    जेन–जी समूहको विरोध प्रदर्शन: १९ जना मारिए, ३४७ जना घाइते

    भ्रष्टाचार र सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्धको विरोधमा सोमबार काठमाडौंमा जेन–जी समूहले प्रदर्शन गरे । यो प्रदर्शनको आह्वन भने आइतबार नै गरिसकिएको थियो । सोमबार बिहान काठमाडौंसहित देशभर जेन–जी समूहले प्रदर्शन गरेपनि काठमाडौं क्षेत्र भने रणमैदान बन्यो । जेन–जीले आयोजनाको गरेको प्रदर्शन हिंसात्मक बन्दा सोमबार संघीय संसद भवन रहेको क्षेत्र नयाँ बानेश्वर रणमैदान बनेको थियो । संसद भवन नजिकै दिनभर प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी चल्यो । घम्साघम्सीका बीच प्रहरीले रबरको गोली प्रहार गरेपछि प्रदर्शन झन उग्र बन्यो ।


    प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । त्यसैगरी, उनीहरुले संसद भवनको दुई नम्बर गेट अगाडिको सडकमा आगो बालेका थिए । प्रदर्शनमा उत्रिएका युवाहरुले संसद भवनको दक्षिण पश्चिमतर्फको पर्खाल भत्काए । भवनको चारैतर्फ घेरा हालेर प्रदर्शन गरे । माइतिघरबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वरस्थित निषेधित क्षेत्र तोड्दै संसद भवनतर्फ अघि बढेको थियो ।
    प्रदर्शनकारीको प्रदर्शन भड्किलो बन्न थालेपछि प्रशासनले काठमाडौं र आसपासका विभिन्न क्षेत्रमा कफ्र्यु जारी गरेको थियो । कफ्र्युका बीच पनि प्रदर्शन जारी रहेपछि यसले हिंसाको रुप लिएको छ । प्रदर्शनमा सहभागी थुप्रै युवाहरुको गोली लागेर मृत्यु भएको हाल (यो समाचार तयार पार्दा) सम्म देशभर १९ जनाको मृत्यु भएको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या १९ पुगेको हो । काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर विभिन्न अस्पतालमा ३४७ जना घाइतेहरु उपचाररत छन् ।
    पश्चिम नेपालमा शान्तिपूर्ण प्रदर्शन
    काठमाडौंमा जेन–जी समूहको प्रदर्शनमा हताहती सुरु हुन थाल्दा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रदर्शनका लागि यो समूह मंगलगढीमा जम्मा हुँदै थियो । जेन–जी उमेर समूहका १ सय बढी युवाहरुको चोकमा उपस्थिति भएपछि र्‍यालीले परिक्रमा सुरु गरियो । सवा १२ बजे सुरु भएको बजार परिक्रमा झण्डै एक घण्टासम्म चलेको थियो ।
    भ्रष्टाचार, सरकारको नेतृत्वकर्ताको विरोध तथा सामाजिक सञ्जालमाथि प्रतिबन्धको विरोधसहित नारा लगाउँदै प्रदर्शनमा उत्रिएको जेन–जी समूहले मंगलगढी चोकबाट, वीरेन्द्रचोक, पिपलचौचारा, भानुपार्क हुँदै घण्टाघर पुगेर र्‍यालीलाई कोणसभामा परिणत गरेको थियो ।
    यहीक्रममा आँखा अस्पताल चोकबाट प्रदर्शनकारीको समूह दुई भागमा विभाजन भयो । एक समूह जिल्ला प्रशासनतर्फ लाग्यो भने अर्को समूह घण्टाघरतर्फ । घण्टाघर पार्कमा कोणसभा गरेको समूहले प्रशासनतर्फ मोडिएको टोलीमाथि घुसपैठको आरोप लगाएको थियो । यद्यपि प्रहरी टोली पनि दुवै समूहतर्फ बाँडिएपछि प्रदर्शन भड्किने अवस्था आएन ।
    ‘हामीले अब कोणसभामा परिणत गरेर फर्कियौं भनेर आह्वान गर्दागर्दै एक समूह प्रशासनतर्फ गएको थियो, उक्त समूहलाई छोडेर हामी नेतृत्व गरेको टोलीले कोणसभा गर्‍यौं र सुरक्षाकर्मीलाई धन्यवाद दियौं,’ प्रदर्शनमा सहभागी कुमारसमशेर थापाले भने, ॅसमूह विभाजन भएपछि सहभागी सबैले संयमता अपनाउनुभएकाले प्रदर्शन शान्पिूर्ण भयो ।’
    सुर्खेतसहित कर्णाली प्रदेशका सबै जिल्लामा जेन–जी समूहको प्रदर्शन शान्तिपूर्ण भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णालीका ५ वटा जिल्लामा जेन–जीको प्रदर्शन भएको थियो । सुर्खेत, कालीकोट, दैलेख, जाजरकोट र जुम्लामा यो प्रदर्शन भएको र संयमित रुपमा सञ्चालन भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक केदार खनालले बताए ।
    हामीले सँगसँगै हिँडेको प्रहरी टोलीलाई संयम रहन भनेका थियौं, योसँगै प्रदर्शनमा रहेका युवाहरुको पनि सहयोग भएकाले सबै जिल्लामा शान्तिपूर्ण भयो ।’ एसएसपी खनालले भने ।
    सुदूरपश्चिम प्रदेशमा पनि जेन–जी समूहको प्रदर्शन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । सुदूरपश्चिमका दुई वटा जिल्ला कैलाली र कञ्चनपुरको यो प्रदर्शन भएको थियो ।


    ॅहामीले हाम्रो टिमलाई संयमता अपनाउन भनेका थियौं, प्रदर्शनमा रहेको समूहलाई पनि यही आह्वान गरेका थियौं,’ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रकाश रानाभाटले भने, दुवै जिल्लामा कुनै गलत गतिविधि भएनन्, शान्तिपूर्ण भयो ।’
    जेन–जीले आह्वान गरेको भ्रष्टाचार र सरकारद्वारा सामाजिक सञ्जालमाथिको प्रतिबन्धका विरुद्धको प्रदर्शनलाई देशव्यापी बनाउन कर्णाली, सुदुरुपश्चिम र लुम्बिनिमा पनि विभिन्न जिल्लाहरुमा युवाहरुले र्‍याली निकालेका थिए ।
    लुम्बिनीको दाङस्थित तीन ठाउँमा प्रदर्शन भएको थियो । लमही, घोराही र तुलसिपुरमा भएको युवाहरुको प्रदर्शन पनि शान्तिपूर्ण रहेको थियो ।

  • जेन–जी प्रदर्शन : १८ जनाको मृत्यु, २५६ जना घाइते

    जेन–जी प्रदर्शन : १८ जनाको मृत्यु, २५६ जना घाइते

    जेन–जी युवाहरूले गरेको प्रदर्शनका क्रममा १८ जनाको मृत्यु भएको छ भने २ सय ५६ घाइते भएका छन् ।

    काठमाडौंमा भएको प्रदर्शनमा १६ जनाको मृत्यु भएको हो भने उपत्काबाहिरका प्रदर्शनमा युवाहरू घाइते भएका स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । सामजिक सञ्जाल बन्द र शासकीय व्यवस्थाको विरोधमा सोमबार काठमाडौंसहित देशका विभिन्न जिल्लामा जेन–जी युवाहरू सडक प्रदर्शनमा उत्रिएका छन् ।

    काठमाडौंमा कर्फ्यू जारी हुँदा पनि प्रदर्शनकारीले सडक छाडेका छैनन् । संघीय संसद भवनमा प्रदर्शनकारी प्रवेश गर्न थालेपछि बानेश्वर क्षेत्रमा सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गर्दा मृतक र घाइतेको संख्या लगातार बढिरहेको छ । पोखरा, झापा, मोरङ लगायतका जिल्लामा पनि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भइरहेको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार सिभिल अस्पतालमा ३ जनाको मृत्यु भएको छ । भने १०० जना घाइतेको उपचार भइरहेको छ । सिभिलबाट १५ जना गम्भीर घाइतेलाई ट्रमा सेन्टर र वीर अस्पतालमा रेफर गरिएको छ । मन्त्रालयका अनुसार वीर अस्पतालमा ६ जना घाइतेको उपचार चलिरहेको छ । ट्रमा सेन्टरमा ८ जनाको मृत्यु भएको छ भने ४९ जना घाइते उपचारत छन् । मन्त्रालयका अनुसार ट्रमा सेन्टरमा विपद् योजना लागू गरिएको छ ।

    एभरेष्ट अस्पतालमा ३ जनाको मृत्यु भएको छ भने ३४ घाइते उपचारत रहेका छन् । यस्तै जसमध्ये ७ जनाको अवस्था गम्भीर छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४ जना घाइते उपचारत छन् काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केमएसी)मा २ जनाको मृत्यु भएको छ भने ३२ जना घाइतेको उपचार भइरहेको छ । केएमसीमा ६ जना गम्भीर घाइतेको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । त्रिवि शिक्षण अस्पतालमा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते उपचारत छन् । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा ३ जना घाइते उपचारत छन् ।

    काठमाडौं उपत्यकाबाहिर पोखराको गण्डकी अस्पतालमा एक जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना र झापाको दमकमा ७ जना घाइतेको उपचार भइरहेको छ । यस्तै इटहरीमा समेत प्रहरीको गोली लागेर २ जना प्रदर्शनकारीको मृत्यु भएको छ ।

  • जेनजी प्रदर्शमा मृतकको संख्या १४ पुग्यो

    जेनजी प्रदर्शमा मृतकको संख्या १४ पुग्यो

     सिभिल अस्पतालमा थप एकजना प्रदर्शनकारीको मृत्यु भएको छ ।

    सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका अर्का एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । दिउँसो साढे ३ बजेसम्म १३ जनाको मृत्यु भइसकेको हो । ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो ।

    घाइतेहरूको यकिन विवरण भने प्राप्त भइसकेको छैन ।

  • जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १३ पुग्यो

    जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १३ पुग्यो

     जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म १३ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १३ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।

    दिउँसो साढे ३ बजेसम्म १३ जनाको मृत्यु भइसकेको हो । ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा २, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो । घाइतेहरूको यकिन विवरण भने प्राप्त भइसकेको छैन ।(अनलाइनखबर)

  • जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या ९ पुग्यो

    जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या ९ पुग्यो

     जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म ९ जनाको मृत्यु भएको छ ।  विभिन्न अस्ततालहरूबाट प्राप्त जानकारी अनुसार, दिउँसो साढे ३ बजेसम्म ९ जनाको मृत्यु भइसकेको छ ।
    ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ ।
  • बानेश्वरमा एम्बुलेन्समा आगजनी

    बानेश्वरमा एम्बुलेन्समा आगजनी

     जेन-जी युवाहरूको प्रदर्शनका क्रममा बानेश्वरमा एक सवारी साधनमा आगजनी भएको छ ।

    सुरक्षाकर्मीले प्रदर्शनमा बल प्रयोग गरेपछि आक्रोशित जेन जी युवाहरूले एम्बुलेन्समा आगजनी गरेका हुन् ।

    प्रदर्शनीकारीहरूलाई लखेट्ने सुरक्षाकर्मीले हवाई फायर, लाठीचार्ज र पानीका फोहोरा प्रहार गर्नेक्रम बढाएपछि बानेश्वर क्षेत्रमा स्थिति नियन्त्रणबाहिर गएको छ । प्रशासनले कर्फ्यू आदेश जारी गरेपनि प्रदर्शनकारीले बानेश्वर क्षेत्र छाडेका छैनन् ।

  • जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५ पुग्यो

    जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५ पुग्यो

     सोमबार भएको जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार जना प्रदर्शनकारीको मृत्यु भएको हो ।

    उनीहरू सबै रबरको गोली लागेर गम्भीर घाइते भएका थिए । थप उपचारका लागि अस्पताल पुर्‍याइएकोमा अस्पतालले मृत्यु घोषणा गरेको हो ।

    जेनजीहरूको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेपछि थप हिंसात्मक बन्दै गएको हो । दिउँसो साढे १२ बजेबाट काठमाडौंका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी भएको थियो ।

    यद्यपि आन्दोलन रोकिएको छैन । अहिले पनि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त छ । घाइतेहरूको संख्या यकिन भइसकेको छैन ।

  • जेनजी प्रदर्शन : मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो

    जेनजी प्रदर्शन : मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो

    काठमाडौँको नयाँ बानेश्वर स्थित संसद् भवन अगाडी भएको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

    सोमबार भ्रष्टाचार लगायत विरुद्ध जेनजी पुस्ताले प्रदर्शन गरेको थियो । मृत्यु हुनेमा धनकुटा घर भएका ३५–४० वर्षीय पारुहाङ उथुमी राई छन् ।

    जेनजीको प्रदर्शनमा सहभागी थप १ जनाको जनाको उपचारको क्रममा सिभिल अस्पतालमा मृत्यु भएको स्रोतले जनाएको छ ।  ‘यसअघि मृत्यु भएका एक जनाको पहिचान खुलेको छैन ।’

  • स्थिति थप बिग्रन नदिन सरकार जिम्मेवार बनोस् : प्रचण्ड

    स्थिति थप बिग्रन नदिन सरकार जिम्मेवार बनोस् : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले जेन-जी आन्दोलनमा थप क्षति हुन नदिन सरकारलाई जिम्मेवार बन्न आग्रह गरेका छन् ।

    सोमबार प्रचण्डले भनेका छन्, ‘जेन–जीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धका मागहरूलाई तत्काल सम्बोधन गरियोस् । स्थिति थप बिग्रिन नदिन सरकारले जिम्मेवारीपूर्वक ठोस कदम चालोस्।’ प्रचण्डले मृतक युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेका छन् । ‘साेमबार  जेन–जी पुस्ताको प्रदर्शनका क्रममा भएको दु:खद घटनाले स्तब्ध र गम्भीर बनाएको छ’ उनले भनेका छन्, ‘प्रहरीको गोली लागेर मृत्यु भएका युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। घाइतेहरूको शिघ्र स्वास्थलाभको कामना गर्दछु।’

    सोमबार भएको देशव्यापी प्रदर्शनमा बानेश्वरमा प्रहरीले चलाएको गोली लागी एक प्रदर्शनकारीको निधन भएको छ भने उल्लेख्य संख्यामा युवाहरू घाइते भएका छन् ।