Blog

  • विद्यार्थीको धान, भिक्षुलाई दान

    विद्यार्थीको धान, भिक्षुलाई दान

    भक्तपुरको एभरेस्ट स्कुलमा कक्षा ५ मा अध्ययनरत छात्रा नेहासा प्रधानांग बुधबार विशेष खुसी देखिन्थिन्। उनको खुसीको कारण थियो- दान गर्न पाउनु। उनले भनिन्, ‘आफैंले दुःख गरेर फलाएको धान दान गर्न पाउँदा बडो खुसी महसुस हुँदोरहेछ।’

    नेहासा आफूसहित स्कुलका छात्रछात्राले फलाएको धानको चामल भक्तपुर नगरपालिका- ७ स्थित मुनि विहार इनाचोमा रहेका भिक्षुहरूलाई दान दिन त्यहाँ पुगेकी थिइन्। छात्रछात्राले कृषि कर्म बुझ्नका लागि रोपेको धानबाट उत्पादित एक क्विन्टल चामल बुधबार कार्यक्रमबीच मुनि विहारका भिक्षुहरूका लागि दान दिएका हुन्।

    विद्यार्थीले अघिल्लो असार १५ मा धान रोपेका थिए। मंसिरमा विद्यार्थीकै सक्रियतामा धान भित्र्याइएको थियो। त्यही धानको चामल उनीहरूले अहिले भिक्षुहरूलाई दान दिएका हुन्। उनीहरूले धान रोपेर चामल बनाउने काम कक्षा ४ मै गरेका थिए। चामल दान कक्षा ५ पढ्दा गरेका हुन्।

    विद्यार्थीसँगै मुनि विहार पुगेकी शिक्षिका मञ्जु खड्काले विद्यार्थीले कक्षा ४ मा हुँदा रोपेको धानको चामल अहिले दान दिएको बताइन्। उनका अनुसार चामल दान गर्न विद्यार्थीका प्रतिनिधिका रूपमा कक्षाका क्याप्टेन र हाउस क्याप्टेनहरूलाई मात्रै ल्याइएको थियो। चामल हस्तान्तरण कार्यक्रममा स्कुलका चार छात्रा र चार छात्र, दुई शिक्षिका र दुई कर्मचारी उपस्थित थिए। उनीहरूले स्कुलको बसमा चामल राखेर मुनि विहार ल्याएका थिए।

    स्कुलका प्रिन्सिपल भक्त राजभण्डारीले कृषि कर्म सिकाउन प्रत्येक वर्ष कक्षा ४ का विद्यार्थीलाई स्कुल नजिकैको खेतमा धानको बिउ राख्ने, रोप्ने थन्काउने र चामलसम्म बनाउन लगाउने गरेको बताए। उनका अनुसार दानको महत्व बुझाउन विद्यार्थीमार्फत नै भिक्षुहरूलाई चामल हस्तान्तरण गरिएको हो। कृषि कर्मका विविध पक्षमा विद्यार्थीलाई स्कुलले सहगोग गर्ने उनले बताए।

    दानस्वरूप दिएको चामल बुझ्दै मुनि विहारका भिक्षु दीपक भन्तेले यो कार्यक्रमबाट विद्यार्थीमा सच्चरित्रको भावना विकास हुने विश्वास व्यक्त गरे। त्यस अवसरमा विद्यार्थीलाई चोरी ठगी नगर्नू, प्राणी हिंसा नगर्नु भन्नेलगायतका बुद्ध वचन पाठ गर्न दिइएको थियो।

  • आजदेखि ३ दिनसम्मै यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

    आजदेखि ३ दिनसम्मै यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

    मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्मै देशका अधिकांश स्थानमा मौसम बदली भई वर्षाको सम्भावना रहेको जनाएको छ।

    महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी बुलेटिन अनुसार नेपालमा स्थानीय वायु, पश्चिमी वायुसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

    महाशाखाका अनुसार बिहानैदेखि कोशी र बागमती प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

    कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    सुदुरपश्चिम, कर्णाली र लुम्बीनी र कोशी प्रदेशका एक–दुई स्थानमा हावा हुरीको पनि सम्भावना रहेको छ भने देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    यस्तै आज राति कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    यस्तो रहने छ आगामी २ दिनको मौसमः

    २०८१ जेठ २५ गते (शुक्रवार)

    दिउँसोː कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका एक–दुई स्थानमा हावा हुरीको पनि सम्भावना रहेको छ।

    रातिː कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशको थोरै स्थानहरूमा तथा बांकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

    २०८१ जेठ २६ गते (शनिवार)

    दिउँसोː कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    रातिː कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशको थोरै स्थानहरूमा तथा बांकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

  • ९३ वर्षमा मुर्डोकको पाँचौं बिहे

    ९३ वर्षमा मुर्डोकको पाँचौं बिहे

    प्रख्यात मिडिया टाइकुन रूपर्ट मुर्डोकले ९३ वर्षको उमेरमा पाँचौं विवाह गरेका छन्। उनले अवकाशप्राप्त वैज्ञानिक ६७ वर्षीया एलेना झुकोभासँग क्यालिफोर्नियास्थित फार्महाउसमा सीमित साथीभाइ र परिवारमाझ बिहे गरेका हुन्। गत वर्ष मात्र यी दुईबीच भेट भएको थियो। अघिल्ला बिहेहरूबाट मुर्डोकका ६ सन्तान छन्।

    मुर्डोकले अमेरिका, बेलायत, युरोप र अस्ट्रेलियाभरि मिडिया साम्राज्य चलाउने गरेका छन्। सो साम्राज्य बनाउन ७० वर्षसम्म मिहिनेत गरेका थिए।

    गत वर्ष मात्र उनले आफ्ना सारा व्यावसायिक काम थाँति राखेर ५२ वर्षे छोरा लाच्लनलाई न्युज कर्पोरेसनको अध्यक्ष बनाएका थिए। त्यसयता उनलाई चेयरम्यान इमिरेट्सको पद दिइएको छ। उनको सम्पूर्ण कम्पनीको मूल्य २५ अर्ब डलर बराबर छ। मुर्डोकको निजी सम्पत्ति नै आठ अर्ब डलर रहेको अनुमान गरिन्छ। उनी अमेरिकाका ३१ औँ सबैभन्दा धनी र संसारका ७१ औँ धनीमध्ये रहेको फोब्र्स म्यागेजिनले जनाएको छ।

    कुनै समय भारतमा स्टार टिभीका मालिक रहेका मुर्डोकको कम्पनीले वाल स्ट्रिट जर्नल, दि अस्ट्रेलियन, द सन्, द टाइम्स लगायतका पत्रिका प्रकाशित गर्छ। उनको पुस्तक प्रकाशन संस्था हार्पर कोलिन्स पनि निकै चर्चित छ।

    आफूले यो उमेरमा बिहे गरे पनि आफ्नो दैनिकीमा खासै फरक नपर्ने उनले बताएका छन्। उनले आफ्ना छोराको नेतृत्वमा कम्पनीले अर्को उचाईं लिनेसमेत बताएका छन्।

  • भारतीय आम निर्वाचनको परकम्प

    भारतीय आम निर्वाचनको परकम्प

    डेढ महिना लगाएर सात चरणमा गरिएको भारतीय आम निर्वाचनमा ६४ करोड जनताको मत गणना भइसकेकाे छ। विश्वको सबैभन्दा ठुलो प्रजातान्त्रिक अभ्यासका रूपमा लिइएको ५४३ सदस्यीय संसद्को तल्लो सदन लोकसभाका लागि भएको चुनावको नतिजा पनि आइसकेको छ।

    ‘अबकी बार, ४०० पार’ भन्ने नारा लिएर चुनावमा होमिएको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) को महत्वाकांक्षा यसपटक पूरा हुन सकेन। विगतमा दुईपटक सन् २०१४ र २०१९ मा नरेन्द्र दामोदरदास मोदीको नेतृत्वमा जसरी भाजपाले बाजी मारेको थियो, त्यस्तो बाजी यसपटक मार्न सकेन।

    अझ यसपटक एक कदम अघि बढेर भाजपाले मोदीकै अनुहार लिएर चुनाव लडेको थियो, तर सरकार बनाउन चाहिने २७२ सिट पनि आफ्नै बलबुतामा भाजपाले ल्याउन सकेन। २४० सिटमै खुम्चिनुपर्‍यो।

    दुई सय वर्ष बेलायती उपनिवेश बनेको भारतले सन् १९४७ मा स्वतन्त्रता पाएपछि बल्ल जनताले आफ्नो सरकार छान्ने परिपाटी बनेको हो। जवाहरलाल नेहरूले एकछत्र राज गरेको भारतमा प्रधानमन्त्री बनेकी उनकी छोरी इन्दिरा गान्धीले सन् १९७५ मा इलाहाबाद उच्च अदालतले अयोग्य घोषणा गरेपछि एकाएक आपत्काल लगाएकी थिइन्। सन् १९७७ मा आपत्काल हटाएर चुनावको घोषणा गरिन्। यसको परिणति भारतमा गठबन्धन राजनीतिको संस्कार सुरु भयो। विपक्षी सबै मिलेर इन्दिरा गान्धीविरुद्ध मोर्चा कसे र उनलाई हराए।

    गठबन्धन राजनीति अहिले भारतीय राजनीतिको मूल प्रवाह बनेको छ। यो चुनावमा पनि भाजपा नेतृत्वमा नेसनल डेमोक्रेटिक अलायन्स (एनडिए) र कांग्रेसको नेतृत्वमा पहिलेको युनाइटेड प्रोग्रेसिभ अलायन्सको सट्टा इन्डियन नेसनल डेभलपमेन्ट इनक्लुसिभ अलायन्स (इन्डिया) चुनावमा होमिएको थियो। एउटा हिन्दुत्वको गठबन्धन र अर्को धर्मनिरपेक्ष गठबन्धन।

    चुनावअगाडि मोदीले पहिलेकै शैली अर्थात् एक छत्र रूपमा ‘ह्याट्रिक’ गर्ने आमधारणा थियो। ‘एक्जिट पोल’ले पनि यही धारणा अनुमोदन गरेको थियो। तर यथार्थ बेग्लै बन्यो। अबको सरकार पनि मोदीकै नेतृत्वमा बन्नेछ, किनकि उनको गठबन्धनले दुई सय ९२ सिट ल्याएको छ, जबकि सरकार बनाउन दुई सय ७२ सिट भए पुग्छ। यसरी ‘ह्याट्रिक’ त मोदीले गरे तर एकाधिकार भने नहुने भयो। गठबन्धनका अन्य पात्रहरूलाई रिझाएर सरकार चलाउनुपर्ने भयो।

    तर, खेल पूरै सकिएको छैन। संसद्मा दुई ३४ सिट ल्याएको काँग्रेस नेतृत्वको गठबन्धनले सत्ता सहजै मोदीलाई दिन चाँहदैनन्। यसका लागि नितिशकुमार र चन्द्रबाबु नायडुजस्ता व्यक्तिको खोजी भइरहने देखिन्छ। यसको अर्थ एनडिएले चुनाव जितेर पनि मोदीले भने हार अवस्थाबाट पाठ सिकेर मात्र सरकार चलाउन सक्छन्।

    मोदी यो अनपेक्षित अवस्थामा कसरी आइपुगे त्यो नियालौं। यसका लागि करिब एक सय वर्ष अगाडि राष्ट्रिय स्वयंसेवक संघको स्थापनाकालसम्म पुग्नुपर्ने हुन्छ। हिन्दुत्वमा मात्र भारतीय राष्ट्रवाद सुरक्षित हुन सक्ने अवधारणामा स्थापित यो संघको परिवारभित्र पर्छ पहिलेको जनसंघ अर्थात् अहिलेको भाजपा। त्यसैले मूलतः संघले नै अप्रत्यक्षरूपमा भाजपा हाँक्दै आएको हो।

    संघबाटै उदाएका नरेन्द्र मोदीले संघको खटनपटनमा लयबद्ध हुन हिच्किचाहट देखाउन थाले। मोदीको यो व्यवहार संघका प्रमुख मोहन भागवतले पचाए पनि शंकराचार्यहरूले पचाउन सकेनन्। अयोध्यामा रामको प्राण–प्रतिष्ठामा मोदीले गरेको उपेक्षाको उनीहरूले विरोध गरे।

    उनीहरूका अनुसार मोदी शंकराचार्यभन्दा अग्लो देखिन खोजे। परिणाम–अयोध्यामा नै भाजपाको हार भयो। अर्को कुरा, भाजपा मुलुकलाई नेतृत्व दिने शक्तिका रूपमा आफूलाई ‘अजेय’ र खिइँदै गरेको कांग्रेसका नेता राहुल गान्धीलाई ‘पप्पु’ हियाएको भारतीय जनतालाई मन परेन।

    भारतीय चुनावको परिणाम छिमेकीमा कस्तो पर्छ भन्नेबारे सरसर्ती नेपालबाट नै नियालौं। दक्षिण पूर्वी एसियाको सबैभन्दा पुरानो मुलुक हो नेपाल, जुन बेला भारत बनेकै थिएन। करिब ६ सय राजा रजौटाले राज गरेको भूभागलाई बेलायतले भारत बनाइदिएको हो।

    उपनिवेशवादी विदेश नीति नेपालमा लागू थियो उसको। बेलायतीहरू भारतलाई स्वतन्त्र बनाएर गए तर कहिल्यै कसैको अधीनमा नभएको नेपालमा स्वतन्त्र भारतले परिस्कृतस्वरूपमा बेलायतीको उपनिवेशवादी नीति नै लागू गर्दै आएको छ।

    एकातिर असंलग्नताको हिमायती बन्ने अर्कोतिर कमजोर छिमेकीमाथि उपनिवेशवादी नीति नै निरन्तरता दिने। असंलग्नताले भन्छ– अर्को मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने। तर, नेपालसँग भारतको यो विरोधाभासपूर्ण अवस्था रहँदै आएको छ। यसरी हेर्दा २००७ सालको क्रान्ति राम्ररी बुझिन्छ। तिब्बतमा संकट भएपछि त्यो फैलिँदै आउला भनेर नेहरूले नेपालको प्रजातान्त्रिक आन्दोलनलाई गन्तव्यमा पुग्नै दिएनन्।

    सन् १९५० को सन्धिमार्फत जसको विरुद्ध प्रजातान्त्रिक आन्दोलन लडिएको थियो उही राणाशासकलाई नेपालको पहिलो प्रजातान्त्रिक प्रधानमन्त्री बनाइयो।

    यही सेरोफेरोबाट २०१७, २०४६, २०६३ को १२ बुँदे समझदारी आदिको निमार्ण र वर्णन हुन्छ। त्यसपछिका गतिविधिहरू घाम जत्तिकै छर्लङ्ग छन् –सर्वसम्मतिको निर्णय विमतिको निर्णय, चुनावी सरकारको अवधारणा, संविधान निर्माण, नाकाबन्दी, आदि इत्यादि।

    नेपालको राजनीतिमा लुटतन्त्र त्यसै हाबी भएको छैन। मुलुक यो भद्रगोलमा त्यसै आएको पनि होइन। दलाल पुँजीपतिबाट समाजवादको मात्र होइन होली वाइनबाट राम्राज्यको बाटाको पनि संयोजन हुँदै आएको छ। यतिबेला हामीले बुझ्नुपर्ने तथ्य यही हो।

  • भारतलाई बुझाइयो  हत्या आरोपी हुसेन

    भारतलाई बुझाइयो हत्या आरोपी हुसेन

    बंगलादेशका सांसद अनवरुल अजिम अनारको हत्यामा संलग्न रहेको आरोप लागेका बंगलादेशी नागरिक मोहम्मद सियाम हुसेनलाई नेपाल प्रहरीले सुटुक्क भारत पठाइदिएको छ। नेपाल प्रहरीले सोमबार बिहान हुसेनलाई भारतीय अधिकारीको जिम्मा लगाएको हो। उनलाई स्थलमार्गबाट भारततर्फ पठाइएको नेपाल प्रहरी उच्च स्रोतले बतायो।

    नेपाल प्रहरीले हुसेनलाई बिहीबार पक्राउ गरेको थियो। हुसेनलाई बंगलादेश प्रहरीले मागेको भए पनि उनी भारतबाटै आएको कारण देखाएर भारततर्फ पठाइएको हो। ‘मोहम्मद सियाम हुसेनलाई सोमबार बिहान नेपाल इन्टरपोल शाखाले नेपाल प्रहरीको सम्पर्कमा आएका भारतीय अधिकारीको जिम्मा लगाइदिएको हो,’ प्रहरी उच्च स्रोतले भन्यो। प्रहरीका अनुसार सुरुदेखि नै विशेष ब्युरो र इन्टरपोल शाखाले हुसेनलाई डिपोर्ट गर्ने विषयमा छलफल गरेका थिए।

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी दानबहादुर कार्कीले यो विषयमा आफूलाई कुनै जानकारी नभएको बताए। ‘मलाई र नेपाल प्रहरीलाई जानकारी छैन, शनिबार बंगलादेशबाट प्रकाशित हुने पत्रपत्रिकामा समाचार आएको देखेथें। अरू केही थाहा भएन,’ प्रवक्ता एवं डिआइजी कार्कीले भने। उनका अनुसार यस्ता किसिमका शंकास्पद मानिस पक्राउ परेकोबारे केन्द्रीय प्रहरीलाई जानकारी नै हुँदैन।

    बंगलादेशी सांसदको हत्या आरोप लागेका हुसेन नेपालको सीमा क्षेत्रबाट बिहीबार राति पक्राउ परेका थिए। उनलाई बंगलादेश नपठाउन भारतको उच्च तहबाट समेत नेपाल प्रहरीलाई आग्रह गरिएको थियो।

    भारतीय गृह मन्त्रालयका एक अधिकारीले नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवरलाई हुसेनको पक्राउप्रति धन्यवादसमेत दिएका थिए। हुसेनलाई लिन बंगलादेशबाट नेपाल आएका प्रहरीले कूटनीतिक पहल गरेको भए पनि नेपाल प्रहरीले दिल्ली प्रहरीसँग समन्वय गर्न आग्रह गर्दै आफूहरूले उतै पठाइदिने भनेको थियो।.

    ‘हामीले दिल्लीमै सम्पर्क गर्नुस् उतै पठाइदिन्छौं, जीवन रक्षाको पनि कुरा भएकाले सिधै बंगलादेश पठाउन नसकिने भनेर बंगलादेशबाट आएको प्रहरी टोलीलाई भनेका थियौं,’ नेपाल प्रहरी विशेष ब्युरोका एक अधिकारीले भने। ती अधिकारीका अनुसार नेपाल प्रहरीका आइजिपी कुँवर, डिआइजी रामदत्त जोशी र इन्टरपोल शाखाका एक अधिकारीलाई मात्रै यसबारे जानकारी थियो।

    बंगलादेश प्रहरीलाई नेपालको कुनै पनि मुलुकसँग हालसम्म सुपुर्दगी सन्धि नभएको भन्दै हुसेनलाई बंगलादेश पठाउन नसकिने जवाफ पनि प्रहरीले दिएको थियो। हुुसेनलाई सिधै बंगलादेश पठाउँदा त्यहाँको कानुनअनुसार मृत्युदण्ड हुने भएकाले पनि नेपाल प्रहरी हच्किएको हो।

    ‘यो घटनामा संलग्नलाई क्रिमिनल कन्स्पाइरेसी एक्टअनुसार कारबाही हुन्छ। त्यसकारण पनि हामीले बंगलादेशलाई भन्दा भारतबाट आएको भएकाले उतै पठाउँदा ठिक हुन्छ भन्ने लागेर पठाएका हौं,’ नेपाल प्रहरीका एक अधिकृतले भने।

    नेपाल–भारतका प्रहरीबीच अनौपचारिक रूपमा लामो समयदेखि अपराध नियन्त्रणमा सहकार्य हुँदै आएको र अपराधी पनि लेनदेन हुँदै आएकाले यसमा दुवै देशको रुचि मिलेको थियो। बंगलादेशी सांसदको कोलकातामा हत्या भएकाले पनि भारततर्फ पठाउन सहज हुने प्रहरीले ठानेको हो।

    हुसेनलाई लिन महानगरीय प्रहरी कार्यालय ढाकाअन्तर्गत डिटेक्टिभ ब्रान्च (डिबी) बाट चार सदस्यीय टोली काठमाडौं आएको थियो। सो टोलीले नेपाल प्रहरीका उच्च अधिकारीसँग भेटघाट गरेर हुसेनलाई डिपोर्ट गरिदिन आग्रह गरेको थियो। तर नेपाल प्रहरीले त्यसो नगरेपछि बंगलादेशी प्रहरी टोली त्यसै फर्किएको थियो।

    हुसेन सांसद अनारको हत्या आरोपित रहेको थाहा पाएपछि उनलाई विशेष निगरानीका साथ प्रहरीले हिरासतमा राखेको थियो। बंगलादेशका सांसद अनारको २०२४ मे २२ मा भारतको कोलकातामा हत्या भएको अवस्थामा शव फेला परेको थियो। उनको हत्यामा संलग्न भएको आरोपमा भारतीय प्रहरीले केहीलाई पक्राउ गरेको र केही संदिग्ध व्यक्ति फरार रहेको जनाएको थियो।

    हत्या आरोपमा तीनजना बंगलादेशी र एक भारतीय पक्राउ परेको भारतीय समाचार संस्थाले जनाएका छन्। तर हत्यामा संलग्न भनिएका हुसेनसहित चारजना फरार रहेको समाचार भारतीय समाचार संस्थाले प्रवाह गरेका थिए। सांसद अनारको हत्या आरोपित केही व्यक्ति भारतमै पक्राउ परेका र केही नेपाल पसेको भारतीय गुप्तचर संस्थाहरूले जनाएका थिए। त्यसकै आधारमा नेपाल प्रहरीले संदिग्ध व्यक्तिहरूमाथि निगरानी बढाएको थियो।

    बंगलादेशको गुप्तचरी निकायका अधिकारीले सांसद अनारले अमेरिकी साथी र मोहम्मद अख्तरज्जमानसँग मिलेर सुन तस्करी धन्दा चलाएको आशंका गरेका छन्। उनीहरूले दुबईबाट बंगलादेश हुँदै भारतसम्म तस्करीको सुन ओसारपसार गर्थे।

    गत वर्ष अनार र अख्तरज्जमानबीच तस्करीको सुनको हिस्सालाई लिएर विवाद भएको थियो। त्यसपछि उनीहरूबीचको मित्रतामा दरार आएको थियो। अख्तरज्जमान पनि सांसद अनार हत्याका आरोपित हुन्। बंगलादेश प्रहरीले सांसद अनारको हत्यामा थप प्रभावशाली व्यक्ति पनि संलग्न भएको आशंका गरेको छ।

    नेपालको बाटो हुँदै २१ मेमा अमेरिका पुगेका हत्या आरोपित अख्तरज्जमानलाई पक्राउ गर्न बंगलादेश प्रहरीले इन्टरपोलको सहयोग लिने जनाएको छ। तर अहिलेसम्म अदालतमा अख्तरज्जमानको मुद्दा नपुगेकाले रेड नोटिस जारी हुन सकेको छैन।

    हत्या आरोपमा भारतमा पक्राउ परेका जिहाद हवलदारले भारतीय प्रहरीलाई शव टुक्राटुक्रा पारेर फालेको बयान दिएका छन्। समाचार एजेन्सी पिटिआईका अनुसार बंगलादेशी प्रहरी र डिटेक्टिभ ब्रान्चका अधिकारी घटनाको अनुसन्धान गर्न कोलकाता पुगेका थिए। त्यहाँ उनीहरूले हत्या आरोपमा पक्राउ परेका हवलदारसँग सोधपुछ गरेका थिए।

    यसअघि शनिबार सिआइडीले गिरफ्तार अभियुक्त हवलदारलाई उद्धृत गर्दै सांसद अनारको फ्ल्याटमा प्रवेश गरेको १५ मिनेटभित्रै सम्पूर्ण घटना भएको बताएको थियो। अनारलाई बेहोस बनाउन क्लोरोफर्म प्रयोग गरिएको थियो। त्यसपछि सिरानीको सहाराले उनको हत्या गरिएको हवलदारले बयानमा बताएका थिए। हत्याराले शवका टुक्रा प्लास्टिकको झोलाले बेरेर सुटकेसमा राखेर फालेको सिआइडीले जनाएको छ।

    सांसद अनारको हत्या कहिले भयो भन्ने यकिन नभए पनि उनको शव कोलकाता प्रहरीले २२ मेमा फेला पारेको थियो। भारतीय सुरक्षा अधिकारीले सांसद अनारको हत्या २२ मेअघि नै भइसकेको अनुमान गरेका छन्। भारतीय समाचार संस्थाका अनुसार अख्तरज्जमानकै निर्देशनमा सांसद अनारको हत्या गरिएको बयान हवलदारले दिएका छन्।

    ५६ वर्षीय सांसद अनारको हत्यापछि फरार अख्तरज्जमान अमेरिका पुगिसकेको नेपाल प्रहरीको दाबी छ। अनार उपचारका लागि २०२४ मे १२ मा कोलकाता आएका थिए। भोलिपल्ट उनले आफ्नो परिवारलाई दिल्ली जाँदै गरेको बताएका थिए। त्यसपछि सम्पर्कमा नआएपछि उनको खोजी भएको थियो।

  • कस्तो छ तपाईंको आजको राशिफल?

    कस्तो छ तपाईंको आजको राशिफल?

    मेष राशिः इष्टमित्रसँग वैचारिक मिलापको योग रहेको छ। व्यापार व्यवसायमा फल प्राप्ति हुने देखिन्छ। नवीन कार्यमा हात नहाल्नु होला। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ। आर्थिक लाभ हुने दिन छ।

    वृष राशिः प्रयास गर्दा अवसर प्राप्त हुने देखिन्छ। अध्ययन, लेखनको क्षेत्रमा सफलता मिल्ने छ। जीवन साथीसँग प्रेम सद्भाव बढ्ने छ। व्यापार व्यवसायमा फल प्राप्तिको समय छ उद्योगमा लगानी गर्दा राम्रो छ।

    मिथुन राशिः अध्ययनकोे क्षेत्रमा दिन राम्रो रहेको छ। जग्गासम्बन्धी काममा फल प्राप्तिको योग छ। उन्नती गर्ने समय आएको छ। धातु व्यवसायमा लगानी गरे उचित लाभ प्राप्त हुने छ। मित्रहरुबाट कार्यसिद्धि योग रहेको छ।

    कर्कट राशिः राजनीति क्षेत्रमा खर्च बढ्ने छ। नयाँ कार्य सिद्धिमा सामान्य बाधा छ। व्यापार क्षेत्रको आर्थिक लगानीमा विचार गर्नुपर्ला। छालामा सामान्य समस्या देखिँदा मन खिन्न बन्न सक्छ। धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ।

    सिंह राशिः अध्यनार्थीलाई ज्ञान आर्जनमा रुची बढ्ने छ। पारिवारिक सदस्यहरुबीच शुभ सम्बन्ध रहने छ। हिँड्दा मतभिन्न हुन सक्ने हुँदा, जोगिनु होला। वैदेशिक यात्रामा भाग्य राम्रो छ।

    कन्या राशिः व्यापार व्यवसायमा शुभ छ। विद्यार्थीका लागि पढाई राम्रो हुने योग छ। कानमा सामान्य समस्या देखा पर्न सक्ने छ। नयाँ स्थानको यात्रामा रुचि नलिनु नै बेस होला। वाणी सिद्धि हुने योग छ।

    तुला राशिः स्वजनबाट धन खर्च योग छ। यात्रा गर्दा दिनको सुरु मै गर्नु होला। सहयोग लिएर काम नगरी आफै कार्य गर्नु होला। स्वास्थ्यमा केही बिकार आउने देखिन्छ। सामाजिक कार्यमा सम्मान मिल्ने छ।

    वृश्चिक राशिः आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ। परिवारमा धन आर्जन हुने समय देखिन्छ। व्यापारमा फल प्राप्तिको योग छ। अध्ययनमा रुचि हुने छ। धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ।

    धनु राशिः पराक्रमबाट कार्यसिद्धि हुने योग छ। राजनीतिमा सफलता मिल्नेछ। साथीभाइसँग भेटघाट हुनेछ। नयाँ कार्य गर्दा विचारपूर्वक गर्नुहोला। नयाँ जिम्मेवारी प्राप्त हुनेछ। यात्राको समय छ।

    मकर राशिः अध्ययनमा सफलता मिल्ने छ। उन्नती प्रगति कम हुने समय छ। घर परिवारमा प्रेम सद्भाव रहनेछ। सामान्य उदर रोग देखिन सक्छ। नयाँ कार्यमा थोरै बाधा आउने छ। व्यापार ब्यवसाय गर्नेलाई समय मध्यम छ।

    कुम्भ राशिः बिलासी खानपानमा प्रवेश नगर्नु नै वेस हुन्छ। भूमि क्रय र गृह निर्माणको योग छ। व्यापारमा सामान्य फल प्राप्त हुनेछ। सवारी साधन किन्ने योग छ। अध्ययनमा सफलता मिल्ने छ।

    मीन राशिः धार्मिक कार्य गर्नु शुभ छ। बिलासी कार्यमा रुचि नगर्दा राम्रो छ। वैदेशिक यात्राको योग देखिन्छ। व्यापारको कार्य गर्दा विचार पुर्‍याएर गर्नु होला। आर्थिक क्षेत्रमा सफलता मिल्नेछ।

  • कसरी बनाउने व्यवस्थित र सफल जीवन?

    कसरी बनाउने व्यवस्थित र सफल जीवन?

    के तपाईं कहिल्यै अराजक, अस्तव्यस्त र बेपर्वाह मानिसको कोठामा प्रवेश गर्नुभएको छ? त्यहाँ जानुभएको छ भने त्यहाँ बेहाल अवस्था देख्नुहुनेछ। लुगाफाटो यत्रतत्र छरिएका, टेबलभरि फोहोर र कागजका टुक्राहरू, भुइँमा कफीका दागहरू, हेरिनसक्नु बिस्तारा आदि यस्ता व्यक्ति बस्ने ठाउँको परिचय हो। यो एउटा सानो उदाहरण र चित्रण हो।

    अव्यवस्थित जीवनशैली सफलताको तगारो हो, सफलता विरुद्धको एउटा घातक हतियार हो। कहिलेकाहीं पढेलेखेका र उच्च योग्यता भएका मानिसहरू पनि अव्यवस्थित जीवनशैलीको सिकार बनेका हुन्छन्। उनीहरू पनि घर परिवार र समाजमा व्यावहारिक र व्यावसायिक पक्षहरूमा पछि परेका देखिन्छन्। भनिन्छ, व्यवसाय सञ्चालन गर्ने तौरतरिका मिलेन भने पर्याप्त लगानी गरे पनि व्यवसाय फस्टाउन सक्दैन। त्यसैगरी आफ्ना छोराछोरीहरूका निम्ति कुनै पनि परिवारले जतिसुकै लगानी किन नगरून्, व्यवस्थित जीवनका लागि आवश्यक सिप प्रदान गर्न सकिएन भने परिवार नै असफल बन्न पुग्छ।

    अव्यवस्थित जीवनलाई चुस्त, व्यवस्थित र सङ्गठित बनाउनु आजको आवश्यकता हो। यो सिकाइको पहिलो पाठमध्ये एक हो। यस्तो सिकाइ सैन्य प्रशिक्षण शिविरमा, कुनै आवास वा छात्रावासमा पनि सिकाइने गरिन्छ। यिनै सङ्गठित जीवनका आधारले नै मानिसको जीवनको महत्त्वपूर्ण आधारशीला निर्माण गर्छन्। जब मानिसका दैनिक व्यवहार र गतिविधिहरू सङ्गठित र सिलसिलाबद्ध हुन्छन्, तब मात्र भविष्यका लागि उसका योजनाहरू स्पष्ट हुँदै जान्छन्। हामीले चाहने तनावयुक्त जीवन होइन, तनावमुक्त जीवन हो। सङ्गठित व्यवहारले नै जीवनलाई तनावमुक्त बनाउन स्पष्ट रूपले मार्गनिर्देश गर्छ।

    अव्यवस्था र मनोवैज्ञानिक विकृति

    मनोविद्हरूले अव्यवस्थित जीवनलाई अनुत्पादक बानीहरूमा अन्तर्निहित मनोवैज्ञानिक विकृतिका रूपमा चिनाउने गर्छन्। यो विकृति कहिलेकाहीं गल्तीहरूका रूपमा मात्र होइनन्, व्यक्तिका आन्तरिक कमजोरीहरूको अराजक बानीका रूपमा विकास भएका हुन्छन्। आफ्ना सरसामान र किताबहरू खोज्न र पत्ता लगाउन नसक्ने विद्यार्थी, आफ्नो विषयवस्तुमा प्रस्ट र सिलसिलाबद्ध प्रस्तुति दिन नसक्ने वक्ता वा नेताहरूले गर्ने व्यवहार यसैका उपज मान्न सकिन्छ। उनीहरूले काम बिग्रिसकेपछि मात्र मैले यसो गर्नुपथ्र्यो, मैले त्यसो गर्नुपथ्र्यो भनेर पछुताउने कुरा मात्र गर्नु तर बानी व्यवहारमा कहिल्यै सुधार ल्याउन नसक्नु यस्तै अव्यवस्थित तथा विशृङ्खलित व्यक्तिका जीवनकथाका केही झलक वा तस्बिरहरू हुन्।

    वास्तवमा अव्यवस्थित हुने कुराले व्यक्तिगत र व्यावसायिक जीवनलाई मात्र असर पु¥याइरहेको हुँदैन, यसले सम्बन्धमा पनि नकारात्मक असर पार्न सक्छ। यस्तो कुराले प्रायःजसो व्यक्तिमा निराशा र चरम द्वन्द्व निम्त्याउँछ। यस्ता व्यक्तिहरू अनावश्यक रूपमा झगडा र गलफती गर्न पनि पछि पर्दैनन्।

    उदाहरणका लागि कुनै एक जोडीले आफ्ना साझा रूपमा गर्नुपर्ने काम र व्यवहारहरू देखाएका छैनन् भने उनीहरू दुवैको जीवन नै अव्यवस्थित रहन्छ। उनीहरूले गर्ने कामहरू पनि अधुरै रहन्छन्। उनीहरूले एक आपसमा व्यक्त गरेका साझा प्रतिबद्धताहरू पनि बिर्सन पुग्छन् र आफ्ना महŒवपूर्ण कागजपत्र पनि बिर्सेर एक अर्कामाथि अविश्वास र शङ्का व्यक्त गर्न थाल्छन्।

    कल्पना गर्नुहोस् त, यस्तो व्यवहारले सम्बन्धमा रहेको अर्को व्यक्तिलाई पनि नराम्रो असर पुर्‍याइरहेको हुन्छ। यसले उनीहरूलाई आफूहरूले बहन गर्नुपर्ने अतिरिक्त जिम्मेवारीबाट पनि विमुख गराइरहेको हुन्छ। यस्ता व्यवहार र गतिविधिका कारण उनीहरूका बिचमा पनि आपसी मनमुटाव, असन्तुष्टि र सम्बन्धलाई पनि असन्तुलित बनाइदिन्छ। यसबाहेक यस किसिमको अव्यवस्थित साझेदारीको सम्बन्धले उनीहरूको साझा जिम्मेवारीको मार्ग भत्कन पुग्छ।

    यो एक किसिमको व्यवहारको असक्षमता हो। यस्ता असक्षम व्यक्तिका कामहरू पनि अस्तव्यस्त हुने गर्छन्। महत्त्वपूर्ण भेटघाटहरू छोड्नु, ढिलो भुक्तानी दिनु, समयको ख्याल नगर्नु, आत्मकेन्द्रित हुँदै गएर उनीहरू समाज र सम्बन्धहरूबाट एक्लिँदै गइरहेका हुन्छन्। यसैका कारण उनीहरूको जीवन, पारिवारिक र सामाजिक सम्बन्धहरू कमजोर हुँदै जान्छन्।

    साथै यस्ता गतिविधि र व्यवहारका कारण सिंगो परिवार तनावमा पुग्छ र परिवारमा थप अराजकता निम्तन्छ। यस्ता गडबडी जोसुकैका लागि हानिकारक हुन्छन्। यसबाट कतैतिरबाट पनि सुखद परिणाम निस्कँदैन, बरु एक अर्काप्रतिको विश्वास, एकअर्काबिच हुने सञ्चार र एकअर्कामा हुनुपर्ने घनिष्ट सम्बन्धमा दरार सिर्जना हुन पुग्छ।

    अव्यवस्थित जीवनका तीन प्रमुख आयामहरू रहेका हुन्छन्, जसले व्यक्तिका दैनिक जीवन र उसका सफलताका आधारशिलालाई क्षतविक्षत बनाएका हुन्छन्। यी तीनवटा आयामहरूमा पहिलो व्यक्तिको काम गराइमा देखिने ढिलासुस्ती, दोस्रो निर्णय पक्षघात अथवा सही समयमा सही निर्णय लिने क्षमताको अभाव पर्छ भने तेस्रोमा शारीरिक र मानसिक रूपमा रहने अव्यवस्थितता तथा एक किसिमको अस्वस्थता पर्छ।

    कामप्रतिको ढिलासुस्ती

    ढिलाइ अव्यवस्थित व्यक्तिमा निहित एक साझा मनोवैज्ञानिक चुनौती हो। यसले सबै किसिमका सङ्गठनात्मक प्रयासहरूमा बाधा पुर्‍याउने गर्छ। साथै प्रायः मानिसहरूलाई कार्यसम्पादनमा अनावश्यक ढिलाइ गरिदिन्छ, परिणामस्वरूप कामप्रतिको जिम्मेवारीको चाप थपिँदै जान्छ र तनाव सिर्जना हुन्छ।

    ढिलाइलाई मानव समाजमा सामान्य घटनाका रूपमा लिने गरेको पाइन्छ तर यो सामान्य घटना वा कमजोरी मात्र होइन। यो त मानव व्यवहार र मनोवैज्ञानिक कारकहरूको एक जटिल अन्तरक्रिया र समस्या हो। यसले कुनै पनि कार्य प्रारम्भ गर्न र प्रारम्भ गरेको कामलाई समयमै पूरा गर्ने कुरामा अवरोध उत्पन्न गराउँछ।

    समयसँग मात्र जोडिएको कुरा होइन, व्यक्तिको सोच र नियतसँग जोडिएको कुरा पनि हो। यो व्यक्तिका आवेग र आत्मनियमन गर्न नसक्ने कुरासँग पनि जोडिएको हुन्छ। यस्ता व्यक्तिहरूले जहिले पनि तत्काल प्राप्त गर्न सकिने सन्तुष्टिलाई प्राथमिकतामा राख्ने गर्छन्। उनीहरूले दीर्घकालीन लक्ष्य र त्यसबाट प्राप्त गरिने सन्तुष्टिप्रति दूरदृष्टि राख्न सकेका हुँदैनन्। यस्ता कुरामा उनीहरूमा संज्ञानात्मक कमजोरी लुकेको हुन्छ।

    मानौं कि कुनै असाइनमेन्टहरू पूरा गर्न कठिनायी भएमा उनीहरू सामाजिक सञ्जाल खोतल्न थाल्छन्, यसले उनीहरूलाई तत्कालको आनन्द पनि दिने गर्छ। भविष्यमा प्राप्त गर्न सक्ने फाइदा र सन्तुष्टिभन्दा उनीहरू तत्कालको पुरस्कारमा विश्वास गर्छन्।

    यस्तो कुराले व्यक्तिलाई झनै कमजोर बनाएको हुन्छ र यसले व्यक्तिमा ढिलाइको क्रम र प्रवृत्तिलाई झनै बढाएको हुन्छ। त्यसकारण यस्ता ढिलाइका नकारात्मक पक्षहरूबाट मुक्त हुन ढिलाइको मनोविज्ञान बुझ्न आवश्यक हुन्छ। व्यवस्थित जीवनका लागि व्यक्तिका भावना, अनुभूति र व्यवहारका जटिलताहरू पन्छाउन सक्यौं, जीवनलाई उत्पादनमूलक कार्यमा र समग्र कल्याणमा लगाउन सक्यौं भने मात्र ढिलाइको हानिकारक पक्षबाट टाढै रहन सकिन्छ।

    अव्यवस्थितपनले पक्षघातलाई मलजल

    सही समयमा सही निर्णय गर्न नसक्ने अवस्था नै निर्णय पक्षघात हो। निर्णय पक्षघात एक मनोवैज्ञानिक घटना वा समस्या पनि हो। जब व्यक्तिहरू यसको सिकार बन्छन्, उनीहरूले आफ्ना अगाडि देखिएका विकल्पहरूको सही छनोट गर्न सक्दैनन्। मैले छनोट गरेको निर्णय गलत पो हुन्छ कि? मैले निर्णय गरेको कुराले कस्तो परिणाम दिने हो? भन्ने अनिश्चितता र सम्भावित डरले उनीहरूलाई सताएको हुन्छ।

    आज हाम्रो समाजमा हरेक क्षेत्रमा विकल्पहरू धेरै रहेका हुन्छन्। सामान्यभन्दा सामान्य किसिमका विषयहरूदेखि लिएर जीवनका महत्त्वपूर्ण क्षेत्र र विषयहरूमा यस्ता विकल्पहरू प्रचुर रहेका छन्। तिनै विकल्पहरूमध्ये सही समयमा सही विकल्पको छनोट गरी निर्णय गर्न नसकेमा यसले निर्णय पक्षघातलाई बढावा दिन्छ र यसले व्यक्तिलाई अनावश्यक चिन्ता र तनावग्रस्त बनाइदिन्छ। यस्तो भएमा व्यक्तिका प्रगतिका बाटाहरू रोकिन्छन्।

    व्यक्तिको उत्पादकता र व्यक्तिगत जीवनका सुखद आयामहरू धरायसी बन्छन्। साँच्चै नै यस किसिमको निर्णय पक्षघातको नतिजा दूरगामी प्रकृतिको हुने गर्छ। यस्तो बाधा हटाउने रणनीतिमा व्यक्तिले अनावश्यक छनोटहरूको विकल्पलाई कम गर्दै लैजानुपर्छ। प्राथमिकताको स्पष्ट क्षेत्र पहिचान गर्न सक्नुपर्छ। निर्णय क्षेत्रमा आत्मविश्वासको उच्च भावना राख्नुपर्छ र व्यवस्थित कदम चालेर चुस्त र मिठो परिकल्पना गर्न सक्नुपर्छ।

    शारीरिक अव्यवस्थितपनले मानसिक अव्यवस्था

    शारीरिक अव्यवस्थितपनले मानसिक वा दिमागी अराजकतालाई पनि प्रतिबिम्बित गरिरहेको हुन्छ। यसले गर्दा कुनै काम वा विषयवस्तुमा व्यक्तिको ध्यान केन्द्रित गर्न र कुन काम प्राथमिकताका आधारमा सम्पन्न गर्नुपर्ने हो भनी छुट्याउन चुनौती सिर्जना गर्छ। यसले गर्दा अनावश्यक वस्तुहरूको खोजीमा मन डुल्ने गर्छ र समयको बर्बादी मात्र हुन जान्छ। यसैका कारण तनाव बढ्ने र बिस्तारै आत्मसम्मानको भावना कमजोर बन्दै जान्छ। आज हामीले यस्ता व्यक्तिहरूका कार्यसम्पादनमा देखिने जटिलता र यस विषयमा उनीहरूले गर्ने अनेक बहानाका कुराहरू देख्दै र सुन्दै आइरहेका छौं।

    शारीरिक र मानसिक किसिमको अव्यवस्थितपनले व्यक्तिको उत्पादक सामर्थ्यमा, कल्याणको भावना र निर्णय क्षमतामा आघात पुर्‍याउँछ। उनीहरूमा निहित अनिर्णय, ढिलाइ एवम् आफ्ना सामान र सम्पत्तिको व्यवस्थापन गर्न नसक्नुका कारण अनेक किसिमका जटिलता र अव्यवस्था जम्मा हुन पुग्छन्।

    मानौं, कसैलाई ‘के तपाईंले आफ्नो कार्यालयलाई कसरी पुनव्र्यवस्थित गर्ने भनेर सोच्दै हुनुहुन्छ ? भनेर सोधियो भने यही प्रश्नले तपाईंको दिमाग भारी हुन जान्छ। यसपछि तपाईंको मनमा विभिन्न विकल्प आउन सक्छन्। तपाईं आफ्ना व्यक्तिगत कामहरू छोडेर अफिस व्यवस्थित गर्न सक्नुहुन्छ त? यस्ता प्रश्नले तपाईंलाई घेर्न थाले भने पक्कै तपाईंमा अलमलको अवस्था आउनेछ र तपाईं आफ्ना प्रयासहरूलाई आधाआधीमै छोड्न थाल्नुहुनेछ। यस किसिमको अव्यवस्थाले दृष्टिदोष गराउन सक्छ र अवरोधहरू सिर्जना गर्न सक्छ। यसले गर्दा तपाईंको दक्षतामा ह्रास ल्याउने र तनाव मात्र बढाउँछ। अव्यवस्थित कोठा अव्यवस्थित दराज र अव्यवस्थित कार्यस्थलको कुरूप दृश्यले व्यक्तिको ऊर्जा र एकाग्रतालाई कमजोर बनाउने गर्छ।

    त्यसैगरी मानसिक अव्यवस्थता, अव्यवस्थित विचार र विकेन्द्रित भइरहेको ध्यानले व्यक्तिलाई समग्रतामा अव्यवस्थित बनाइरहेको हुन्छ। कहिलेकाहीं थेग्नै नसक्ने गरी बोकिएको ज्ञान र सूचनाको भारी र असुहाउँदा कार्यहरूले व्यक्तिलाई भावनात्मक रूपमा उथलपुथल मच्चाउने गर्छन्।

    व्यक्तिको वैचारिक धरातलमा देखिएको यो अव्यवस्थाले निर्णय गर्ने क्षमतालाई पनि कमजोर बनाउँछ। स्पष्ट रूपमा निर्णयमा पुग्न बाधा सिर्जना गरिदिन्छ। उनीहरू अरू कसैले दिएका रायसुझावबाट पनि अन्तिम निर्णयमा पुग्न सकेका हुँदैनन्। उनीहरू एक किसिमले आफ्नै पागलपनमा हराइरहेका हुन्छन्, आफ्ना विगतका अनुभवहरूबाट पनि विश्लेषण गर्न असमर्थ हुन्छन्।

    वास्तवमा शारीरिक र मानसिक अव्यवस्थाबिच यस्तो गहिरो सम्बन्ध हुने गर्छ, जसले हरसमय एकअर्कालाई मलजल गरिरहेका हुन्छन् र व्यक्तिलाई अराजकताको जङ्गलमा पुर्‍याएर छोडिदिएका हुन्छन्। त्यसैले व्यक्तिले यस्तो शारीरिक र मानसिक अराजकतालाई हटाउन विशुद्ध मनले ध्यान केन्द्रित गर्नुपर्छ।

    सफलताको पुनस्र्थापना

    अव्यवस्थित र अराजकताबाट मुक्त नभएसम्म जीवन सुन्दर बन्न सक्दैन, सुमधुर सम्बन्धको विकास हुन सक्दैन। यस्ता मनोवैज्ञानिक अवरोध हटाउन आफैंलाई आत्माबाटै जागरुक बनाउनैपर्छ। व्यावहारिक र व्यावसायिक रणनीतिहरूका माध्यमबाट नै यी जटिलताहरूलाई जित्न सकिन्छ। आफैंमा पूर्ण क्षमताको विकास गर्दै नम्रता र इमानदारीका साथ आफ्ना कमजोरीलाई हेर्नुपर्छ। आफुलाई स्पष्ट मार्गनिर्देश गर्ने व्यक्तिहरूबाट सहयोग पनि लिनुपर्छ।

    आफ्ना कामहरूलाई ससाना व्यवस्थित चरणहरूमा सुव्यवस्थित गर्दै लैजानुपर्छ। काल्पनिकता र तात्कालिकभन्दा जीवनलाई गहिरो लाभ हुने दीर्घकालीन र यथार्थपरक लक्ष्यहरू आत्मसाथ गर्नुपर्छ। आफूलाई चुस्त र सङ्गठित बनाउन, दैनिक जीवनलाई योेजनाबद्ध र सुसङ्गत बनाउन आधारभूत तहबाटै प्रयासको थालनी गर्नुपर्छ। यसो गर्नाले जीवन सङ्गठित मात्र होइन, समग्रतामा सशक्त बन्दै जान्छ र यही आत्मविश्वासको भावनाले हामीले जीवनमा अझै ठुलो सफलता आर्जन गर्न सक्छौं।

    अव्यवस्थित जीवनलाई व्यवस्थित बनाउन भौतिक स्थानहरू घटाउने मात्र नगरी विचार, कार्य र प्राथमिकतालाई पनि कम गर्ने रणनीति अख्तियार गर्नुपर्छ। सजगता, अभ्यास, प्रभावकारी सङ्गठनात्मक प्रणालीको कार्यान्वयन, शारीरिक एवं मानसिक स्वस्थ र शान्तिका लागि अनुकूल वातावरण सिर्जना गरेर आफूमा निर्णयात्मक क्षमताको विकास गर्नुपर्छ। त्यसैले हामी सबैले आजैबाट प्रयास गरौं । कुनै पनि यात्राको थालनी पहिलो कदमबाटै सुरु हुने गर्छ।

  • सर्वसत्तामा रोक

    सर्वसत्तामा रोक

    छिमेकी भारतमा झन्डै डेढ महिना लगाएर सम्पन्न लोकसभा निर्वाचन परिणामले फेरि सार्वभौम जनताले विवेकपूर्ण निर्णय गरेका छन्। गत अप्रिल १७ देखि जुन १ सम्म सात चरणमा भएको निर्वाचन परिणाम मंगलबार सार्वजनिक भएसँगै आगामी सरकारको स्वरूपबारे चर्चा हुन थालिसकेको छ। यस निर्वाचनले फेरि अर्को एक पटक भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीलाई प्रधानमन्त्री बन्ने ढोका खुलेको छ। तर, यसपटकको उनको कार्यकाल भने विगतको जस्तो बलियो हुने छैन। एउटै दलले सुविधाजनक मत नपाई त्रिशंकु संसद् बनेपछि स्वाभाविक रूपमा मोदी आफैंले नेतृत्व गरेको नेसनल डेमोक्रेटिक अलायन्स (एनडिए) को साथ लिएर सरकार बनाउनुपर्ने भएको छ । ‘अब की बार चार सौ पार’ अर्थात् अब चार सयभन्दा बढी स्थानमा विजय हासिल गर्ने उद्देश्य उनले राखे पनि त्यो अपेक्षा पूरा भएन। भाजपाले भनेझैं मत पाएको हुँदो हो त शक्तिशाली मोदीले आक्रामक ढंगले शासन गर्नु अन्यथा हुने थिएन। यस हिसाबले पनि मोदीको आक्रामकतामा रोक लगाएको रूपमा बुझिएको छ।

    व्यक्तिमा शक्तिको अभ्यासले घमन्ड पैदा हुन्छ। शक्तिशाली हुँदै गएपछि आफैंलाई सर्वेसर्वा ठान्ने प्रवृत्तिको विकास हुन्छ। सन् २०१९ को आमनिर्वाचनभन्दा यसपटक ६४ स्थान कममा भाजपा विजयी भएको छ। कुल पाँच सय ४३ सदस्यीय सभामा भाजपाका दुई सय ४० सिटमा विजयी भएका छन्। सन् २०१९ मा भाजपा एक्लैले तीन सय तीन स्थानमा विजय प्राप्त गरेको थियो। यसपटक एनडिएका दुई सय ८६ जनाले जितेका हुनाले भाजपाकै नेतृत्वमा सरकार बन्नेमा अन्यथा हुने छैन। तर, गठबन्धन सरकार चलाउन एकलौटी बहुमत जस्तो सजिलो हुने छैन। भारतमा सरकार बनाउन दुई सय ७२ स्थानमा विजयी हुनुपर्छ। यसपटक विपक्षी इन्डिया गठबन्धनलाई दुई सय ३४ स्थान प्राप्त भएको छ। कंग्रेस आई नेता राहुल गान्धीले यसपटक आफूलाई सशक्त प्रतिपक्षी नेताका रूपमा स्थापित गर्न सक्ने गरी मत प्राप्त गरेका छन्। भारतमा बिस्तारै उनको वैकल्पिक राजनीति सशक्त हुँदै गएको यो निर्वाचनले देखाएको छ। उनीमाथि जस्तासुकै आक्रमण भए पनि डगमग नगरी सबै जातजाति, धर्म, सम्प्रदायका निम्ति आवाज उठाउँदै आएका हुन्।

    मोदीलाई अहिले सरकार बनाउन जेडियु अध्यक्ष तथा विहार मुख्यमन्त्री नीतीशकुमार र आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुको साथ चाहिन्छ। इन्डिया गडबन्धनका सूत्रधार नीतीश गत जनवरीमा भाजपा समर्पित गठबन्धनमा प्रवेश गरेका थिए। लोकसभा निर्वाचनमा पनि गठबन्धनबाटै सहभागी भएका हुन् र अहिले उनको दलले १२ स्थानमा विजय हासिल गरेको छ। यहाँ भाजपा पनि १२ स्थानमै विजय भएको छ। नायडुको तेलगु देशम पार्टीले १६ स्थान पाएको छ। उनले पनि विगतमा मोदीविरुद्ध मोर्चा खडा गरेका थिए। अब एनडिए गठबन्धनमा नीतीश र नायडु दुवै किंगमेकरको भूमिकामा हुने छन्। कतिपय आलोचकले उनीहरू कतै पनि पल्टिनसक्ने पात्र भएका कारणले मोदीका निम्ति सहज हुन नसक्ने ठान्छन्। यी दुवैको वैशाखीमा चल्नुपर्ने मोदीका निम्ति यसअघिको कार्यकालजस्तो सहज हुने छैन।

    तैपनि मोदीका लागि तेस्रो कार्यकालका निम्ति पनि प्रधानमन्त्रीको द्वार खुल्नु आफैंमा महत्त्वपूर्ण उपलब्धि हो। भारतीय स्वतन्त्रता संग्रामपछि सत्तामा आएका जवाहरलाल नेहरूपछि कुनै पनि व्यक्ति भारतमा तीनपटक प्रधानमन्त्री भएका छैनन्। ‘चायवाला’ परिवारबाट आएका एक व्यक्ति तीनतीन पटक प्रधानमन्त्री बन्ने अवस्थामा पुग्नुलाई विगतमा उनले गरेका कामहरूलाई पनि कारक मानिएको छ। मोदीले विकास निर्माणमा विशेष जोड दिएका छन्। भारतलाई अन्तर्राष्ट्रिय मञ्चमा देखिने र सुनिने दुवै बनाएका छन्। स्वतन्त्र प्रेस र बौद्धिक जगत्माथि भएको आक्रमणले भने उनी आलोचित छन्। संसारको ‘सबैभन्दा ठुलो लोकतन्त्र’ भारतमा मोदी शासनकालमा देखिएको भयलाग्दो अवस्थाले ‘निर्वाचित तानाशाही’ झल्को दिएको आरोप पनि लाग्ने गरेको थियो । निर्वाचनको मुखमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारी, राहुल गान्धीलाई संसद्बाट निलम्बन गर्ने र विपक्षीमाथि भएका आक्रमणले भने भारतीय प्रजातन्त्रकै उपहास भएको टिप्पणी नभएको होइन।

    मोदीको शासनकालमा नोटबन्दी, जम्मु तथा कश्मीरलाई संविधानको धारा ३७० को विशेष व्यवस्था खारेजी, राममन्दिर निर्माणलगायतका काम भएका छन्। आममतदाताले मोदीका यी कामलाई कुनै न कुनै रूपमा निर्वाचन परिणाममार्फत् समर्थन गरेका छन्। तर, कतिपय अवस्थामा मोदीले आफूलाई बढ्ता ध्यान दिएको र अरूलाई दिनुपर्ने स्थान नदिएको ठान्ने गरिन्छ। राममन्दिरको प्राणप्रतिष्ठाका क्रममा शंकराचार्यहरूलाई समेत बेवास्ता गरी आफैं सर्वेसर्वा भएको छनक उनका गतिविधिले नदिएका होइनन्।

    मोदीले फलामे मुट्ठी कसेर शासन गरेका कारण पनि भारतजस्तो मुलुकको उदारवादी लोकतन्त्र धराशायी भएको ठानिएको हो। संसारभरि लोकरिझ्याइँको सत्ता चलिरहेका बेला भारतमा पनि त्यस्तै हुँदा त्यो प्रक्रियाले अझ तीव्रता पाएको हो। यसपटकको निर्वाचन परिणामले कसैले पनि आफूलाई मात्र केन्द्रमा राखिराख्दा जनतालाई मन पर्दैन भन्ने महत्त्वपूर्ण पाठ दिएको छ। सत्ता शिखरमा चढेपछि मात चढ्न सक्छ। त्यसलाई ध्यानमा राखेर आफूलाई समाल्नुपर्छ भन्ने स्पष्ट सन्देश पनि यो मत परिणामको हो।

  • आयरल्यान्डविरुद्ध भारत ८ विकेटले विजयी

    आयरल्यान्डविरुद्ध भारत ८ विकेटले विजयी

    आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत भारतले आफ्नो पहिलो खेलमा आयरल्यान्डविरुद्ध ८ विकेटले जित हासिल गरेको छ।

    बुधबार अमेरिकाको न्युयोर्कस्थित नसाऊ काउन्टीमा ९७ रनको लक्ष पाएको भारतले मात्र १२.२ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्‍यो।

    भारतका लागि कप्तान रोहित शर्माले अर्धसतकीय पारी खले। उनले ३७ बलमा ३ छक्का र ४ चौकाको मद्दतमा ५२ रन बनाए। त्यसपछि रिटायर्ड हर्टका कारण उनले अगाडि खेल्न सकेनन्। उनको सट्टा क्रजमा सूर्यकुमार यादव आएका थिए। उनी पनि ४ बलमा मात्र २ रन बनाएर आउट भए।

    रोहितसँगै ओपनरका रुपमा मैदान उत्रिएका विराट कोहोली भने मात्र १ रन बनाएर पभेलियन फर्किए। उनले ५ बलको सामना गर्दै १ रन जोडेका थिए।

    यसैगरी भारतका लागि ऋषभ पंतले २६ बलमा ३६ रन बनाए। शिवम दुबे शून्य रनमा नटआउट रहे।

    आयरल्यान्डका लागि मार्क ऐडेयर र बेन व्हाइटले समान एक-एक विकेट लिए।

    यसअघि टस हारेर ब्याटिङमा उत्रेको आयरल्यान्डले १६ ओभरमा सबै विकेट गुमाएर ९६ रनमै अलआउट भएको थियो।

    आयरल्यान्डका लागि गैरेथ डेलेनीले सर्वाधिक २६ रन बनाए। जॉश लिटिलले १४, कर्टिस कैमफ़रले १२, लोर्कान टकरले १० र जॉश लिटिलले १४ रन बनाए। बाँकी कुनै ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन्।

    भारतका लागि अर्शदीप सिंहले २, मोहम्मद सिराजले १, जसप्रीत बुमराहले २, हार्दिक पंड्याले ३, रवींद्र जाडेजाले १ र अक्षर पटेलले १ विकेट लिए।

  • भारतविरुद्ध आयरल्यान्ड ९६ रनमै अलआउट

    भारतविरुद्ध आयरल्यान्ड ९६ रनमै अलआउट

    उपाधिको बलियो दाबेदार भारतले बुधबार आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गतको आफ्नो पहिलो खेलमा आयरल्यान्डलाई ९६ रनमै अलआउट गरेको छ।

    अमेरिकाको न्युयोर्कस्थित नसाऊ काउन्टीमा जारी खेलमा आयरल्यान्डले १६ ओभरमा सबै विकेट गुमाएर मात्र ९६ रन बनाउन सक्यो।

    आयरल्यान्डका लागि गैरेथ डेलेनीले सर्वाधीक २६ रन बनाए। जॉश लिटिलले १४, कर्टिस कैमफ़रले १२, लोर्कान टकरले १० र जॉश लिटिलले १४ रन बनाए। बाँकी कुनै ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन्।

    भारतका लागि अर्शदीप सिंहले २, मोहम्मद सिराजले १, जसप्रीत बुमराहले २, हार्दिक पंड्याले ३, रवींद्र जाडेजाले १ र अक्षर पटेलले १ विकेट लिए।

    तुलनात्मक रुपमा भारत आयरल्यान्डभन्दा निकै बलियो टिम हो। त्यसकारण आजको खेलमा भारतले सोचे अनुसारको जित निकाल्ने अपेक्षा गरेको छ।