Blog

  • पर्यावरण दिवस: राेपियाे पीपल,वाचियाे कविता

    पर्यावरण दिवस: राेपियाे पीपल,वाचियाे कविता

    शब्दाङ्कुर प्रकाशन र वर्तमान कविता समूहले पर्यावरणसम्बन्धी कविता वाचन गरेर पर्यावरण दिवस मनाएका छन्। पर्यावरण दिवसकाे अवसरमा पशुपति क्षेत्रको किरातेश्वर मृगस्थिलीकाे सत्य सनातन बाबाको कुटीमा डेढ दर्जन कविले पर्यावरणसम्बन्धी कविता पाठ गरेर पर्यावरण दिवस (विश्व वातावरण दिवस) मनाएका हुन्।

    लाेकप्रिय साहित्यिक पत्रिका शब्दाङ्कुरका प्रधानसम्पादक धीरकुमार श्रेष्ठले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै पाठ गरिएका पर्यावरणसम्बन्धी कविताहरूलाई अनुवाद गरेर अङ्ग्रेजी भाषामा समेत शब्दाङ्कुरमा प्रकाशन गर्ने लक्ष्य रहेकाे बताए।

    प्रधान सम्पादक धीरकुमार श्रेष्ठले कवि विश्व सिग्देलकाे परिकल्पनामा भएकाे यस्ताे खाले कार्यक्रमलाई निरन्तरता दिंदै जाने पनि बताए।

    कविता पाठ गर्नुअघि धीरकुमार श्रेष्ठ, विश्व सिग्देल लगायतले सत्य सनातन कुटी माथिको जङ्गलमा पीपलको एउटा बोट पनि रोपेका थिए।

    कार्यक्रममा भीष्म उप्रेती, दिव्य गिरी, रोशन शेरचन, धीरकुमार श्रेष्ठ, रामगोपाल आसुतोष, राधिका कल्पित, विनिशा सापकोटा, मनोज न्यौपाने, प्रेमिला राई, पुरुषोत्तम घिमिरे, कञ्चन जीआर मगर, श्रीराम दाहाल, सञ्जय सुमन, चन्द्रबहादुर लामा, शैलेन्द्र सिग्देल, विश्व सिग्देल र रमी प्रियाले पर्यावरणसम्बन्धी कविता र मुक्तक वाचन गरेका थिए।

    कार्यक्रममा कवि चन्द्रबहादुर लामाले अङ्ग्रेजी भाषामा अनुवाद गरेको कवितामध्ये भीष्म उप्रेती, धीरकुमार श्रेष्ठ र रोशन शेरचनको कविता कविहरू आफैंले सुनाएका थिए।

    कार्यक्रमको समापन गर्दै सत्य सनातन बाबाले प्रकृतिमाथि जथाभावी आक्रमण गरेर वन विनाश गर्नु सम्पूर्ण मानव सभ्यतालाई नष्ट गर्नु हो भन्ने विचार राखे।पृथ्वीमा रहेका आकाश, वायु र जल पनि प्रकृति हुन् र यिनको संरक्षण गर्नु हाम्रो कर्तव्य हाे। हरेक वर्ग र क्षेत्रबाट प्रकृतिमाथि भइरहेको जथाभावी गतिविधिको अन्त्य गर्दै स्वाधिनता, वैभव र समृद्धिको निम्ति सबैले खट्नुपर्ने पनि उनले बताए।

    साहित्यकार दिव्य गिरीकाे अनुसार रमी प्रियाले सञ्चालन गरेकाे कार्यक्रममा सञ्चारकर्मी, काव्यप्रेमीका साथसाथै नवीन थापा, अर्जुन भुसाल, रामचन्द्र राई, राजकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेकाे थियो। काव्य पाठको समयमा बाँसुरीवादक विमल कार्कीले बाँसुरीको धुन प्रस्तुत गरेर कार्यक्रमकाे राैनक थपेका थिए।

  • संसद बैठक आजपनि निरन्तर, यस्ता छन् कार्यसूची

    संसद बैठक आजपनि निरन्तर, यस्ता छन् कार्यसूची

    प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

    आजको संसद बैठकमा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेतले ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आई.एस.ए.) को स्थापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

    यस्तै ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आई.एस.ए.) को स्थापनासँग सम्बन्धित सम्झौतालाई अनुमानेदन गरियोस्’ भन्ने पनि प्रस्ताव उनले प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

    त्यस्तै आजको बैठकमा अर्थ मन्त्री वर्षमान पुनले ‘बैँक तथा वित्तीय संस्था सम्बीन्धी (पहिलो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ भने ‘विनियोजन विधेयक, २०८१ मथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि उनले प्रस्तुत गर्नेछन्।

    त्यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहितको ‘राष्ट्रिय सभामा उत्पत्ति भएको सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७८ माथि छलफल गरियोस्’ भनी प्रस्ताव पेश गर्नेछिन् भने ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७८ लाई पारित गरियोस्’ भनी प्रस्ताव पेश गर्नेछिन्।

  • महालक्ष्मी विकास बैंकद्वारा हरित पर्यावरणीय योजनालाई निरन्तरता

    महालक्ष्मी विकास बैंकद्वारा हरित पर्यावरणीय योजनालाई निरन्तरता

    महालक्ष्मी विकास बैंकले आफ्नो हरित पर्यावरणीय योजनालाई निरन्तरता दिँदै पर्यावरणमैत्री विद्युतीय सवारी प्रयोगमा ल्याएको छ। बैंकले आफ्नो ३० औं वार्षिक उत्सव र विश्व वातावरण दिवसको अवसरमा आफ्नो कार्यालय प्रयोजनका लागि बैंकले दुई वटा विद्युतीय गाडी प्रयोगमा ल्याएको हो।

    बैंकले हरित परिवहनको माध्यमबाट दीर्घकालीन लक्ष्य हासिल गर्न टेवा पुगोस् भन्ने उद्देश्यका साथ कार्यालयमा प्रयोग हुने सवारीमा क्रमशः विद्युतीय गाडीहरूको प्रयोग बढाउँदै जाने बताएको छ। यस्ता कार्यक्रमहरूले राष्ट्रको पर्यावरण संरक्षण, नवीन ऊर्जा प्रवर्द्धन तथा दिगो विकासमा टेवा पुर्‍याउने विश्वास बैंकले लिएको छ।

  • कोसी सरकारविवादको छिनोफानो २७ गते

    कोसी सरकारविवादको छिनोफानो २७ गते

    सर्वोच्च अदालतले कोसी प्रदेश सरकार गठनविरुद्ध परेको रिट निवेदनलाई पूर्ण इजलासमा पठाउने आदेश गरेको छ।

    न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले विषयवस्तुको गाम्भीर्यतालाई ध्यानमा राखेर मिति तोकेर यो मुद्दालाई पूर्ण इजलासले टुंग्याउने आदेश गरेको हो। योसँगै कोसी प्रदेश सरकार गठन विवाद यही जेठ २७ मा टुंगो लाग्ने छ।

    कोसी प्रदेशमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार केदार कार्की मुख्यमन्त्री बनेका थिए। उनलाई समर्थन गरेका माओवादी केन्द्रसहितका दलले समर्थन फिर्ता लिए। त्यसपछि केन्द्रमा बनेको नयाँ गठबन्धनअनुसार एमालेले सरकार गठनको दाबी पेस गर्‍यो।

    सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि कार्कीले विश्वासको मत नलिएको भन्दै प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (५) अनुसार नै अर्को सरकार गठनका लागि आह्वान गरे। त्यसपछि कोसी प्रदेशसभा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले बहुमत सांसदको समर्थन प्रदेश प्रमुखसमक्ष पेस गरे। प्रदेश प्रमुखले उनलाई वैशाख २७ मा मुख्यमन्त्री नियुक्त गरे। नयाँ सरकार गठनविरुद्ध केदार कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराए।

    रिटमा केदारले प्रदेश प्रमुखले वैशाख २६ मा सरकार गठनका लागि गरेको आह्वान, वैशाख ७ मा प्रदेशसभाले पारित गरेको संकल्प प्रस्ताव बदर, हिक्मत कार्कीको मुख्यन्त्रीमा भएको नियुक्ति बदर माग गरेका छन्। मुख्यमन्त्रीमा आफ्नो निरन्तरताको माग केदारले गरेका छन्। यसअघि सर्वोच्चले यही जेठ ९ मा मुख्यमन्त्रीमा हिक्मतकुमारको नियुक्ति प्रक्रियाका कागजात झिकाउन आदेश गरेको थियो।

  • सिन्दिरा आठ वर्षपछि चेस च्याम्पियन

    सिन्दिरा आठ वर्षपछि चेस च्याम्पियन

    सिन्दिरा जोशीले १०औं चरणमा शान्ति धिमाललाई पराजित गर्दै बुधबार एक खेल बाँकी छँदै नवौं नेसनल चेस च्याम्पियनसिप २०२४ मा महिलातर्फको उपाधि जितेकी छन्। दोस्रोपल्ट च्याम्पियन भएकी उनले राष्ट्रिय बुद्धिचालको उपाधि आठ वर्षयता पहिलोपल्ट कब्जा गरेकी हुन्।

    च्याम्पियनसिपको पाँचौं दिन सिन्दिराले अंशुदिन प्रजापतिलाई पराजित गरेपछि १६७२ रेटिङकी शान्तिविरुद्ध पूर्ण एक अंक जोड्दै दोस्रोपल्ट उपाधि पक्का गरेकी हुन्। उनले यससँगै मोनालिसा खम्बू र सुजना लोहनीले बनाएको दुई उपाधिको कीर्तिमान पनि बराबरी गरेकी छन्।

    उत्कृष्ट १२ खेलाडी सहभागी च्याम्पियनसिपमा अन्तिम तथा ११औं चरणको खेल बिहीबार हुनेछ। यसमा १६८५ रेटिङकी सिन्दिराले १० मध्ये नौ खेल जित्दै नौ अंक बनाएर उपाधि निश्चित गरेकी हुन्। उनले एक मात्र हार विनिता कपालीसँग पाँचौं चरणमा बेहोरेकी थिइन्।

    उपाधि होडमा चुनौती दिइरहेकी शान्तिलाई पराजित गरेपछि ४१ वर्षीया सिन्दिराले उपाधि सुरक्षित गरेकी हुन्। शान्ति दोस्रो हारसँगै सात अंकमा रोकिएपछि उपाधि होडबाट बाहिरिँदै चौथो स्थानमा पुगेकी छन्।

    सिन्दिराले अन्तिम चरणमा कृतिसरा अधिकारीसँग प्रतिस्पर्धा गर्नेछिन्। यस च्याम्पियनसिपका शीर्ष चार महिला खेलाडी सेप्टेम्बरमा हंगेरीमा हुने ४५औं चेस ओलम्पियाडमा छनोट हुनेछन्। यसमा पूजा भण्डारी र कृतिसरा समान ७.५ अंकसहित शीर्ष चारमा छन्। यी दुईले आठौं चरणमा आमनेसामने हुँदा अंक बाँडेका थिए।

  • मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान, भोलि बिहान १० बजेसम्म दाबी पेश गर्न सकिने

    मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान, भोलि बिहान १० बजेसम्म दाबी पेश गर्न सकिने

    मधेश प्रदेशका प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छिन्।

    बुधवार मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन्।

    प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले विज्ञप्ति जारी गरी प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेश गर्न भोलि बिहान १० बजेसम्मको समय दिएको उल्लेख गरे।

    संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मितिभोलि बिहान १० बजेभित्र मधेश प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेस गर्न आह्वान गरिएको छ। रासस

  • दराज नेपालद्वारा ‘६.६ मिड-इयर सेल’को घोषणा

    दराज नेपालद्वारा ‘६.६ मिड-इयर सेल’को घोषणा

    दराज नेपालले मिड–इयर सेल ६.६ को घोषणा गरेको छ। योजना अन्तर्गत ६.६ मिड–इयर सेलमार्फत उपभोक्ताले ७० प्रतिशतसम्मको आकर्षक छुट, निःशुल्क डेलिभरी, दुई करोड रूपैयाँ बराबरको मेगा भौचरलगायतका अफरहरू प्राप्त गर्न सक्नेछन्।

    दराज ६.६ मिड–इयर सेल जेठ २४ देखि ३० गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ। यसै क्रममा दराज ६.६ मिड–इयर सेलमा विभिन्न विक्रेतामार्फत खरीदकर्ताले अफर दिइएका सामग्रीको खरिदका लागि न्यूनतम ४९९ रूपैयाँ खर्च गरेपश्चात् निःशुल्क होम डेलिभरी सुविधा लिन सक्नेछन्। साथै कम्पनीकाअनुसार दराज एपको होमपेजमा रहेको ‘फ्री डेलिभरी’ ब्यानरमा क्लिक गरी भौचर संकलन गर्न सकिने सुविधा पनि रहेको छ।

  • प्रधानमन्त्रीले मोदीलाई फोन गरेर भनेः शुभकामना छ, दुई देशबीच साझेदारीका लागि तयार छौँ

    प्रधानमन्त्रीले मोदीलाई फोन गरेर भनेः शुभकामना छ, दुई देशबीच साझेदारीका लागि तयार छौँ

    प्रधानमन्त्री पुष्पकमल दाहालले भारतका कामचलाउ प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गरेर बधाई दिएका छन्।

    सात चरणमा सम्पन्न लोकसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै प्रधानमन्त्री दाहालले आफ्ना भारतीय समकक्षीलाई बुधवार फोन गरेर सफलतापूर्वक निर्वाचन सम्पन्न भएकामा शुभकामना व्यक्त गरेका हुन्।

    त्यस अवसरमा दुबै नेताबीच आपसी हित र साझा चासोका विविध विषयमा सङ्क्षिप्त कुराकानी भएको यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ।

    प्रधानमन्त्री दाहालले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन अब गठन हुने सरकारसँग साझेदारी एवं सहकार्य गर्न आफू तत्पर रहेको बताएका थिए।

    प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षीसँग कुरा गर्न पाउँदा खुसी लागेको बताएका थिए।

    ‘प्रधानमन्त्री प्रचण्डसँग कुरा गर्न पाउँदा अत्यन्तै खुसी लाग्यो। उहाँको न्यानो शुभकामनाको लागि उहाँलाई धन्यवाद व्यक्त गरेँ। भारत र नेपालबीचको गहिरो र बहुआयामिक साझेदारीलाई सुदृढ गर्ने हाम्रो साझा प्रतिबद्धतामाथि जोड दिँदै हाम्रो सम्बन्धमा सकारात्मक गति कायम राख्ने कुरामा सहमत भयौँ,’ प्रधानमन्त्री मोदीको भनाइ उद्धृत गर्दै यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ।

    लोकसभा निर्वाचन परिणामअनुसार नेशनल डेमोक्र्याटिक एलायन्स (एनडीए) दुई सय ९३ स्थानमा विजयी भएको छ भने प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टीले दुई सय ४०सिट जितेको छ।

    भारतमा लोकसभा निर्वाचन सम्पन्न भएसँगै मोदीले बुधवार नयाँ सरकार गठनका लागि बाटो खुलाउँदै पदबाट राजीनामा दिइसकेका छन्। तर, प्रधानमन्त्री नबनेसम्म उनी कामचलाउ प्रधानमन्त्रीको रुपमा रहने छन्। रासस

  • सिटिजन्स बैंक र ग्यास्ट्रो सेन्टरबीच सम्झौता

    सिटिजन्स बैंक र ग्यास्ट्रो सेन्टरबीच सम्झौता

    सिटिजन्स बैंक र बुटवलको ग्यास्ट्रो सेन्टर बुटवलबीच व्यावसायिक सम्झौता भएको छ। सम्झौता बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा भएको हो।

    सम्झौतापश्चात् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले ग्यास्ट्रो सेन्टर बुटवलका सेवाहरूमा २० प्रतिशतसम्म छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ।

  • मिथिलाञ्चाल क्षेत्रमा आज वटसावित्री पर्व मनाइँदै

    मिथिलाञ्चाल क्षेत्रमा आज वटसावित्री पर्व मनाइँदै

    जनकपुरहित तराई मधेशमा आज वटसावित्री पर्व मनाइँदै छ। श्रीमान्को दीर्घ जीवन र सुस्वास्थ्यको कामना गर्दै आज विवाहित सम्पूर्ण महिलाहरूले वटसावित्री पर्व मनाइरहेका छन्।

    ज्येष्ठ कृष्णपक्षको आमावस्यामा मिथिलाञ्चलका विवाहित महिलाले पतिको दीर्घायुको कामना गर्दै वटसावित्री पर्व मनाउने चलन रहेको छ।

    वटसावित्री पर्वमा पतिको दीघार्युको कामना गर्दै वर र पीपलको पूजा गरिन्छ। पान, सुपारी, केरालगायत फलफूल चढाएर पूजा गर्नाका साथै पीपलको रुखमा रातो र पहेँलो धागो बेर्ने गरिन्छ।

    वटसावित्री पर्वलाई स्थानीय भाषामा ‘वसराइत पावइन’ पनि भनिन्छ।

    प्राचीनकालमा सतिसावित्रीले आफ्ना पति सत्यवानको अल्पायुमा निधन भएपछि यो पूजाको परम्परा प्रारम्भ भएको जनविश्वास छ।

    वटसावित्रीको पूजाका प्रभावले सावित्रीले यमराजबाट पतिको प्राण फिर्ता ल्याएको र पति जीवित भएको प्रसङ्ग धर्मशास्त्रमा उल्लेख छ। यसैले मिथिलानी विवाहिता महिलाहरू दिनभरि निरहार बसी वटसावित्री पर्व उत्साह र निष्ठापूर्वक मनाउने गर्छन।

    यो पर्वमा वरको रुखमुनि ब्रह्मा, विष्णु र रुद्रसहितका देवताको पूजाअर्चना गरिन्छ। मिथिलानीले माइतीघरमा मनाउने यस पर्वमा जेष्ठ कृष्ण औँसीको एक दिनपूर्व दुलहाका घरबाट आएको सामग्रीबाट ‘गौरी नैवेद्य’ (प्रसाद सामग्री) बनाई वरकै रुखमुनि शिवपार्वतीलाई चढाएपछि व्रत विधिवत् सुरु हुने परम्परा छ।

    व्रतालु मिथिलानीले धानको लावा भुटेर बेसारबाट गौरी आकृति बनाई वरको रुखलाई रङ्ग्याइएको काँचो धागोले बेरेर औँसीका दिन पूजाअर्चना गरेर भोलिपल्ट बिहान नुहाइधुवाइपछि ब्राह्मणलाई भोजन गराई दक्षिणा दिएर पर्व समापन गरिन्छ।

    मैथली ब्राह्मण, कायस्थ र सोनार समुदायका महिलाले मात्र मनाउने गरेको यो पर्व केही वर्षयता सबै समुदायका महिलाले मनाउन थालेका छन्। रासस