Blog

  • खडेरीले धानको बीउ राख्नै समस्या

    खडेरीले धानको बीउ राख्नै समस्या

    खडेरीले खेतबारी सुक्खा भएपछि बाँकेका किसानलाई यस वर्ष धानको बीउ राख्नै समस्या भएको छ। जेठ अन्त्यसम्म पनि वर्षा नभएपछि किसानले धान रोपाइँका लागि आवश्यक बीउ राख्न पाएका छैनन्।

    आकाशे पानीको भर पर्नुपर्ने किसानलाई यस वर्ष धानको बीउ राख्नै समस्या भएको किसान महासंघ बाँकेका अध्यक्ष कृष्णविक्रम केसीले जानकारी दिए। सिँचाइको व्यवस्था नभएकाले किसानले धानको बीउ राख्न पनि आकाश हेरेर बस्नुपर्ने बाध्यता रहेको उनी बताउँछन्। ‘धान खेतीका लागि आवश्यक सिँचाइ, बीउ र मल नपाउँदा बर्सेनि गरिखाने किसानले दुःखमाथि दुःख झेल्नुपर्ने बाध्यता छ’, उनले भने, ‘समयमै बीउ राख्न नपाउँदा किसान चिन्तित भएका छन्।’

    जेठ सकिन लाग्दा पनि बीउ राख्न नपाएकाले यस वर्ष धान उत्पादनमा पनि कमी आउने चिन्ता बढेको खजुरा गाउँपालिका २ का अगुवा किसान गेहेन्द्र धितालले बताए। मोटरको प्रयोग गरी रोपेको बीउ अत्यधिक गर्मीले सुक्न थालेको उनले बताए।

    बाँकेमा सिँचाइ सुविधा नपुगेको क्षेत्रमा घरायसी प्रयोजनका लागि राखिएका मोटर र कतिपय क्षेत्रमा खानेपानी धाराको पानी प्रयोग गरेर बीउ राखिएको छ। नेपालगञ्ज, खजुरा, जानकी, बैजनाथलगायत क्षेत्रमा किसानले मोटर र खोनपानीमार्फत बीउ राखेका छन्। जसोतसो बीउ राखे पनि वर्षात् नभएका कारण बीउ जोगाउन मुस्किल परेको नेपालगञ्ज– २३ पुरैनीका किसान चक्र बुढामगरले बताए।

    बाँकेमा सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहरबाट राप्ती सोनारी र पश्चिमी नहरबाट कोहलपुर नगरपालिकाका केही वडामा सिँचाइ व्यवस्था भए पनि अधिकांश किसान अहिले पनि आकाशे पानीको भरमा धान खेती गर्न बाध्य छन्। बीउ राख्ने समयलाई मध्यनजर गरेर पूर्वी र पश्चिमी दुवै नहरमा नियमित रूपमा पानी छाडिएको सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी डिभिजनल इन्जिनियर सन्देश पौडेलले जानकारी दिए।

    कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख शकिल अहमद खाँले सिक्टा सिँचाइ आयोजनाले छाडेको पानीबाट कोहलपुर, वैजनाथ र राप्ती सोनारी गाउँपालिकाका किसानले बीउ राखे पनि सिँचाइ सुविधा नपुगेको क्षेत्रका किसानलाई बीउ राख्नमै समस्या भएको बताए।

    बाँकेमा धान रोपाइँ हुने कुल ३६ हजार पाँच सय हेक्टर खेतीयोग्य जमिन छ। गत वर्ष सोही क्षेत्रफल खेतमा धानखेती गरिएको थियो। अहिले पनि सबै क्षेत्रफलमा धानखेती हुने अनुमान छ। असारको पहिलो सातासम्म मनसुन सक्रिय भएमा उत्पादनमा असर नहुने खाँले बताए। –रासस

  • कार्यविधि बनाएर नागरिकतासँग जोडिएका जटिलता समाधान गर्दैछौँः गृहमन्त्री

    कार्यविधि बनाएर नागरिकतासँग जोडिएका जटिलता समाधान गर्दैछौँः गृहमन्त्री

    उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सरकारले कार्यविधि बनाएर नागरिकतासँग जोडिएका जटिलताहरुलाई समाधान गर्ने प्रयास गरिरहेको बताएका छन्।

    बुधवार काठमाडौंमा नागरिकता र नागरिकता सम्बन्धित विषयवस्तुमा छलफल तथा अन्तरक्रियममा बोल्दै उनले सम्पूर्ण सरोकारवालाहरुसँग छलफल गरी छलफलबाट आएका विषयहरुलाई समावेश गर्नसके नागरिकता सम्बन्धी देखिएका तमाम समस्याहरुलाई समाधान सकिने बताएका हुन्।

    उनले निकट भविष्यमा नै नागरिकता सम्बन्धी देखिएका समस्याहरुलाई सम्बोधन कार्यविधि निर्माण गर्नु नेपाल सरकारको दायित्व र जिम्मेवारी भएको बताए।

    उनले आम नागरिकले नागरिकता प्राप्त गर्ने विद्यमान कानूनी अवस्थामा देखिएका कमी कमजोरीहरु सच्याउन जरुरी रहेको सुनाए।

    उनले भने, ‘नेपाल सरकारले, गृह मन्त्रालयले कार्यविधि बनाएर नागरिकतासँग जोडिएका जटिलताहरुलाई समाधान गर्ने कोशिस गरिरहेको परिप्रेक्ष्यमा सम्पूर्ण सरोकारवालाहरुसँग छलफल गरेर त्यो छलफलबाट आएका निचोडहरुलाई, छलफलबाट निस्किएका विषयहरुलाई समावेश गर्नसके नागरिकता सम्बन्धी देखिएका तमाम समस्याहरुलाई समाधान गर्न सकिन्छ। निकट भविष्यमा नै यसमा देखिएका समस्याहरुलाई सम्बोधन गर्नेगरी कार्यविधि निर्माण गर्नु नेपाल सरकारको दायित्व र जिम्मेवारी हो। विशेष गरी गृह मन्त्रालयको पहिलो दायित्व र जिम्मेवारी हो। यो दायित्व र जिम्मेवारीको बोध गरेर नै हामी जोडिन चाहन्छौँ। आम नागरिकले नागरिकता प्राप्त गर्ने विद्यमान कानूनी अवस्थामा देखिएका कमी कमजोरीहरु, त्यसको व्याख्या, पुनःव्याख्या र अभ्यासहरुबाट वास्तविक रुपमा के कस्तो समस्याको सामना गर्नु परिरहेको छ भन्नेकुरा मैले चासोका साथ उठाएको छु। आम नागरिकका प्रश्नहरु हिजो पनि सञ्चारकर्मी हुँदा उठाएको थिएँ।’

    यस्तै,उपप्रधानमन्त्री लामिछानेले कार्यान्वयन प्रणालीमा गर्नुपर्ने सुधारहरु धेरै रहेको र नागरिकले नागरिकता प्राप्त गर्न पाउने अधिकारबाट वञ्चित गराउनु नहुने बताए।

    नागरिकले प्राप्त गर्ने अधिकारमा राज्यको तर्फबाट कुनै बाधा हुनु नहुने उनको भनाइ छ।

  • मुस्ताङको मुटुः मार्फा

    मुस्ताङको मुटुः मार्फा

    झट्ट सुन्दा मुस्ताङ जिल्ला भन्ने बित्तिकै जो कोहीले पबित्र तीर्थस्थल मुक्तिनाथ सम्झने गर्दछन्। तर मुस्ताङको परिचय यति मात्रैले कदापि पुरा हुन सक्दैन्। यहाँ अनगिन्ती बिबिधताहरु छन जसले मानिसलाई सधै आनन्दित गर्न सक्दछ। मुक्तिनाथ मन्दिरको दर्शन गर्ने मात्र उद्देश्य राखेर मुस्ताङको यात्रा गर्नु भनेको यहाँको बारेमा अपुरो हुनु हो।

    लोकसेवा आयोग लगायत नेपालको सरकारी तथा अन्य संघ संस्थामा रोजगारीको अवसरको निम्ति लिखित परीक्षा लिने निकायले बनाउने प्रश्नहरुमा मुस्ताङको बारेमा नै एउटा प्रश्नपत्र तयार हुन्छ। छिमेकी मित्र राष्ट्र चीनसँग सीमाना जोडिएको मुस्ताङ गण्डकी प्रदेशको सबैभन्दा उत्तरमा पर्ने जिल्ला हो। मरुभूमीको जिल्ला, नेपालमा सबै भन्दा कम पानी पर्ने, हिमालपारी र विशिष्ट खालको भौगोलिक बनावट भएको जिल्ला आदि नामबाट परिचित मुस्ताङ धौलागिरी र निलगिरी दुई अग्ला हिमशिखरको उत्तरमा अवस्थित छ।

    यस जिल्लाको ऐतिहासिक आधार र भौगोलिक अबस्था आदि हेर्दा धरै अघि यो क्षेत्र नेपाल र तिब्बत बीचको मुख्य व्यापारिक नाका रहेको बुझिन्छ। मुस्ताङ जिल्लाको उत्तरी सीमाना तिब्बतसँग जोडिएको लोमान्थाङ हँुंदै छोसेर कोरलासम्म उच्च पहाडी र हिमाली श्रृंखला मिलेर बनेको छ। तर, सीमापारी चीनको स्वसासित क्षेत्र तिब्बतको भूभाग नेपालको तराई जस्तो समथर (पठार) भूभाग रहेको छ।

    मुस्ताङ जिल्लाको पूर्वमा मनाङ, पश्चिममा डोल्पा, दक्षिणमा म्याग्दी र उत्तरमा तिब्बत पर्दछन्। यसको उत्तर–दक्षिण लम्बाई करिब ८० र चौडाई ४५ किलोमिटर छ। यो जिल्ला अन्नपूर्ण हिम श्रृंखलाको उत्तरमा पर्ने भएको र माथिल्लो मुस्ताङ लगायतका स्थानमा वन जंगल नभएको हुंँदा कम पानी पर्दछ। तर तल्लो मुस्ताङ, जोमसोम, कोवाङ, लेते र घासा लगायतका स्थान २७ सय मिटर भन्दा कम उचाईमा अबस्थित रहेको र केही हदसम्म जंगल पनि रहेको हुंँदा माथिलो मुस्ताङको तुलनामा यहाँको तल्लो भेगको भौगोलिक बनावट अलि फरक छ।

    पर्यटकीय सहर पोखराबाट सडक यातायातको सर्वसुलभ उपलब्धता रहेको कारण पोखरा देखि बस तथा जीपमा सवार भई करिब साढे छ घण्टामा कास्कीको पर्यटकीय तथा रमणीय स्थल सराङकोट, लुम्ले, पर्वत जिल्लामा रहेको बन्जी जम्प र बाग्लुङ जिल्लाको प्रसिद्ध बाग्लुङ कालिका मन्दिर, प्रसिद्ध धार्मिक स्थल पञ्चकोट र म्याग्दी जिल्लामा रहेको गलेश्वर महादेव, तातोपानी लगायतका स्थानको रमणीय आनन्द लिंदै कालीगण्डकी किनारैकिनार विविध प्राकृतिक छटाको अवलोकन गर्दे कच्ची र पक्की सडकको करिब ११४ किलोमिटर यात्रा पार गर्दा मुस्ताङ जिल्लाको सीमाना घासामा पुग्न सकिन्छ।

    त्यसअघि म्याग्दी जिल्लाको दानामा रहेको प्रसिद्ध ‘रुप्से झरनाको’ आनन्द लिन भने छुटाउनु हँुंदैन। रुप्से झरनाबाट केहि दूरीको यात्रा पश्चात म्याग्दी र मुस्ताङको सीमानामा रहेको काभ्रेभीर नजिक कालीगण्डकी नदीमा अबस्थित गहिरो गल्छीको समेत भरपुर आनन्द लिन सकिन्छ। कालीगण्डकीमा बनेको गहिरो गल्छि अबलोकन गर्नको लागि बनाइएको झोलुंगे पुलबाट तल हेर्दा कताकता मनमा डर पैदा भएतापनि प्राकृतिक बनोटको त्यो अद्भुत स्थल देख्न पाउदा मन उमंगले फुरुंग हुन्छ।

    मुस्ताङ जिल्लाको दक्षिणी प्रवेशद्वार घासा कट्ने बित्तिकै करिब ५ किमि यात्रा गरे पछि समुन्द्री सतहदेखि २१ सय १३ मिटरको उचाईमा रहेको प्रसिद्ध पर्यटकीय स्थल लेते पुग्न सकिन्छ। लेते मुस्ताङ जिल्लालाई चिनाउने एउटा विशिष्ट पर्यटकीय आधार बोकेको स्थान हो। यहाँबाट देखिने धवलागिरी र मानापाथी हिमालको दृश्य जो कोहीको लागि आनन्दको पर्याय बन्न सक्दछ। अथवा लेते समुन्द्र सतहबाट ८ हजार १ सय ६७ मिटर उचाईको धवलागिरी र ६ हजार ३ सय ८० मिटर उचाईको मानापाथी हिमालको काखमा रहेको छ। मुस्ताङ घुम्न आउने जो कोही पनि एकपटक यहाँको दृश्यसंँग क्यामेरा वा मोबाइलको बिभिन्न पोजमा कैद नभई अगाडी बढ्न सक्दैनन्।

    त्यसमा पनि बिहानको घामको पहिलो झुल्को धवलागिरी र मानापाथी हिमालमा पर्दाको दृश्य लेते बाट हेर्दा सुर्यले केहि समय आफ्नो गति रोकेर बसिदिए हुन्थ्यो भन्ने अनुभूति हुन्छ। बादल छेउमा नआइदिए हुन्थ्यो जस्तो अनुभूति पनि हुन्छ। त्यसैले त मुस्ताङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले बेलुकीको बास लेतेमै बस्न तछाड मछाड गर्ने गर्दछन। यहि कारण मुख्य सिजनमा यहाँका होटलहरुले पर्यटकको माग धान्न सक्दैनन।

    लेते बाट करिब १० किमी यात्रा गरे पछि पर्यटकीय र ओखर खेतीको लागि प्रख्यात स्थल कोबाङ पुग्न सकिन्छ। केहि बर्ष अघिसम्म यहाँ बसोबास गर्ने मानिसको प्रमुख आय श्रोतको रुपमा स्याउ खेति रहेको थियो। जलवायु परिबर्तनको कारण अहिले कोवाङमा पहिले जस्तो पर्याप्त स्याउ फल्न छाडेको छ। मानिसहरु अहिले ओखर खेति तर्फ आकर्षित भएका छन्। जसको कारण यहांँका बासिन्दाले आफ्नो तथा परिवारको जिविकोपार्जनको अलावा ओखर बिक्रीबाट प्रशस्त आम्दानी समेत गर्ने गरेका छन्।

    जोमसोम नपुग्दै मुख्य सडक मार्गको छेउमा पर्ने प्रसिद्ध पर्यटकीय स्थल हो, मार्फा गाउँ। जुन समुन्द्र सतहबाट २ हजार ६ सय ८० मिटर उचाईमा अबस्थित छ। मार्फा भन्नासाथ स्याउ उत्पादनका लागि प्रख्यात स्थान हो भन्ने पनि बुझिन्छ। थकाली समुदायको मूल थलो थाक खोलाको मौलिक वास्तुकला देख्न पाइने यो ठाउँ पर्यटकीय गन्तव्य पनि हो। यसलाई नेपालको राजधानी काठमाडौं शहरको असनसँग पनि तुलना गर्ने गरिन्छ, किनभने मार्फा गाउँको भित्री गल्ली असनकै जस्तो साघुँरा छन। मार्फाको भित्रि गाउँको बनोट यहाँको मौलिकतासँग अत्यन्त समीप छ।

    मुस्ताङ जिल्लाको बिभिन्न स्थानमा घुम्न आउने जो कोहि पर्यटक पनि यहाँको मुख्य सडकमा गाडि रोकेर सुन्दर बस्तीको अबलोकन गर्न पैदल यात्रा गर्ने गर्दछन्। मार्फाको भित्रि गाउंँमा गाडि जान सक्दैन्। त्यसकारण यहाँको शौन्दर्य अवलोकन गर्न पैदल नै हिड्नु पर्ने हुन्छ। बाह्य पर्यटकहरु माझ प्रिय अन्नपूर्ण र धौलागिरि पदमार्गका यात्रीहरु जोमसोम आइपुग्दा यो गाउँमा नघुमि फर्कदैनन्।

    मार्फा गाउँ धेरै हिसाबले प्रख्यात छ। यहाँ बनेका घरहरु एकै किसिमको मौलिकतामा आधारित छन्। वरिपरि पहाडले घेरिएको सुन्दर बस्ती मार्फाको अर्को विशेषता हो। छानो आकारका घरहरु यहा देख्न पाइदैन्। यहाँ चौडा छत भएका घरहरू मात्र देख्न पाइन्छ। घरको छत शहरमा जस्तो सिमेन्ट ढलान गरेर बनाइएको छैन। छतमा काठहरु ओछ्याई माथिबाट हिलो माटोले छोपेर बनाइएको छ। यहाँका घरहरुको अझ अर्को बिशेषता घरको छानामा दाउराले सजाएर राखिएको छ। जुन मार्फा घुम्न आउने स्वदेशी तथा बिदेशी पर्यटकहरुको चासो र आश्चर्यको बिषय बन्ने गरेको छ।

    मार्फा गाउँको माथि पट्टी गगनचुम्बी पहाड लतमन्न परेर बसेको छ। समथर भूभागमा रहेको यहाँको सुन्दर बस्तीलाई स्याउको घना बगैंचाले सजाएको छ। गाउँको सबैभन्दा अग्लो स्थानमा सम्तेन छोलिङ गुम्बा छ, जुन मार्फावासीको आस्थाको धरोहर मानिन्छ।

    मार्फा अहिले तरकारी उत्पादनको पनि केन्द्र बनेको छ। यहाँ आलु, साग, काउली, टमाटर लगायतका तरकारी मनग्गे उत्पादन हुने गरेको छ। मार्फामा रहेको नेपाल सरकार अन्तरगतको शितोष्ण बागवानी केन्द्रमा बिभिन्न तरकारीको उत्पादनको अलावा गाजर, मुला, बन्दागोपी, काउली लगायतका तरकारीको बीउले गण्डकी प्रदेशको मागलाई थोरै भएपनि धानेको छ। जोमसोम, कोवाङ, घासा, कागबेनी र मुक्तिनाथ तथा उपल्लो मुस्ताङमा समेत यहाँ उत्पादन हुने तरकारी पुग्ने गरेको छ। सिजनमा मार्फामा उत्पादन भएको तरकारी जोमसोमको अलावा म्याग्दीमा समेत पठाउने गरेको छ। अहिले मार्फामा उत्पादन हुने आलुले यहाँको स्याउले जस्तै ब्राण्ड स्थापित गर्न सफल भएको छ। यहाँ घुम्न आउने जो कोही पनि मार्फाको आलु खरिद गर्न मरिहत्ते गर्ने गर्दछन्।

    ुस्ताङ घुम्न आउने पर्यटकको पहिलो रोजाई हिन्दू र बौद्ध धर्माबलम्वीको धार्मिक धरोहरको रुपमा रहेको मुक्तिनाथसंँग जोडिएको छ। मुस्ताङ घुम्न आउने पर्यटकको रोजाइमा पर्ने मुक्तिनाथ, कागबेनी र लोमान्थाङ जाने बाटोमै मार्फा पर्छ। कालीण्डकी करिडोरको जोमसोम जाने मुख्य सडक मार्फा गाउँभन्दा केहि तलबाट जाने हँुंदा मार्फा पर्यटकीय हिसाबले ओझेलमा परेको हो की भन्ने भान हुन्छ। मार्फामा उत्पादित स्याउले ब्राण्ड स्थापित गरेको छ।

    यहाँको स्याउबाट उत्पादित ‘मार्फा’ ब्राण्डको ब्राण्डी र वाइन स्वदेशमा मात्र होइन बिदेशमा पनि प्रख्यात छ। तर जलवायु परिवर्तनको असर यहाँको स्याउ उत्पादनमा पनि परेको छ। पहिले जस्तो स्याउ उत्पादन हुन छोडेको छ। मार्फा सडक सञ्जालले जोडिएको र मुस्ताङ घुम्न आउने पर्यटकहरुको संख्या दिनानुदिन बढ्दै गैरहेको कारण सडकको किनारमा रहेका प्रसस्त स्याउ फल्ने जमीन मासेर अहिले नयाँ सहरीया शैलीका होटेलहरु धमाधम निर्माण भइरहेका छन्। जसले गर्दा यहाँको मौलिकता हराउदै जाने हो कि भन्ने चिन्ता मार्फाली माझ बढ्दो छ।

    खास गरि मुस्ताङको मार्फामा २०२३ साल भन्दा अगाडी स्याउ खेति गर्ने प्रचलन थिएन। मुस्ताङ जिल्लाको मार्फा लगायतको स्थानमा स्याउको सम्भाब्यता भएको कारणले गर्दा नै होला २०२२ सालमा तत्कालीन सरकारको पालामा मार्फाको जमीन अधिकरण गरि राखिएको थियो।

    त्यसैताका तत्कालीन राजा महेन्द्र बीरबिक्रम शाहदेव फ्रान्स भ्रमणमा गएको अबस्थामा नेपालको पुर्व घर भएका एक जना सुब्बा थरका मानिसले मजदुरको रुपमा त्यहाँको वाइन फ्याक्ट्रीमा काम गरेको देखि निजलाई मुस्ताङमा स्याउ उत्पादन गर्ने काममा सहयोग गर्न आव्हान गरेपछि निज तत्कालै फ्रान्सबाट नेपालआई मुस्ताङको मार्फामा स्याउको विरुवा उत्पादन लगायतको काम गर्न थालेको र पछि २०२३ सालमा कृषि बिशेषज्ञ बुद्धिरत्न शेरचन लाई स्याउ खेतिको उत्पादन तथा प्रर्वद्धनको लागि तत्कालिन सरकारले मार्फामा पठाए पश्चात मार्फामा ‘स्याउ खेति फर्म’ स्थापना गरि स्याउ खेति गर्न थालिएको भन्ने छ। त्यसपछि क्रमशः जिल्लाको अन्य स्थानहरुमा पनि यसको खेतीले प्रचारता पाएको हो। यस अर्थमा मार्फा नै मुस्ताङ जिल्लाको स्याउ खेतीको प्रमुख आधार बिन्दू हो भन्दा मिथ्या नहोला।

    सामान्यतया मुस्ताङ घुम्न जाने पर्यटकहरुले प्रमुख गन्तब्य भन्दा अन्य स्थानहरुको बारेमा जानकारी नलिई मुख्य गन्तव्यस्थल जाने गरेको कारण पनि मार्फा ओझेलमा परेको हो कि भन्ने अर्थ रहन सक्छ। कहिलेकाँहि मुक्तिनाथ तथा जोमसोममा पर्यटकले अत्यधिक भरिभराउ हुँदा बास बस्न समेत मुस्किल हुने हुँदा यसको वैकल्पिक बासस्थान मार्फा हुन सक्छ। यसैगरी जोमसोममा कहिले काहिँ मौसम प्रतिकूल हुँदा हवाइजहाजको यात्रा गर्ने यात्रुहरुको लागि घुमघामको अबसर मार्फाले जुटाइदिन सक्छ। आन्तरिक पर्यटक सामान्यतया सुनेका गन्तव्यहरूमा मात्र जाने गर्दछन्। यसकारण मुस्ताङ घुम्न जाने पर्यटकहरुले कम्तीमा पनि त्यहाँ रहेका गन्तब्य स्थानहरुको बारेमा पूर्ण जानकारी लिई गएको खण्डमा कम्तिमा पनि मुस्ताङको मुटुको रुपमा रहेको मार्फा जस्ता स्थानहरु ओझेलमा पर्ने थिएनन्।

  • प्रधानमन्त्री छोरी उत्थानका लागि विनियोजित बजेटले आम छोरीहरुको अपमान भयोः बलायर

    प्रधानमन्त्री छोरी उत्थानका लागि विनियोजित बजेटले आम छोरीहरुको अपमान भयोः बलायर

    प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद वीरबहादुर बलायरले प्रधानमन्त्री छोरी उत्थान कार्यक्रमका लागि विनियोजित बजेटले आम छोरीहरुको अपमान गरेको टिप्पणी गरेका छन्।

    सरकारले सो कार्यक्रममा लागि १० करोड बजेट विनियोजन गरेको छ। सांसद बलायरले विनियोजित सो बजेटले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नै छोरीहरुको अपमान गरेको बताएका हुन्।

    बुधबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उनले अपमान हुने खालको बजेट निवियोजन गर्नुभन्दा त्यसलाई हटाउन उपयुक्त हुने सुझाव पनि सरकारलाई दिए।

    सांसद बलायरले द्वारिकादेवी ठकुरानी स्मृति भवनका लागि तत्काल बजेटको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए। उनले भूकम्पले थला परेका कतिपय नागरिकका लागि अझै पनि बजेटको व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना पनि गरे।

    उनले भने, ‘महिला राजनीतिमा नेपालमा मात्रै नभएर एशियामा नै चर्चित नाम हो– एशियामा नै द्वारिकादेवी ठकुरानी। उहाँको स्मृतिमा गत वर्ष सरकारले केही बजेट विनियोजन गरेर उहाँको स्मृति भवन बनाउने तय गरेको थियो डोटीमा। तर अहिलेको सरकारले त्यसलाई अधुरैमा राख्यो। त्यसैले यथाशिघ्र त्यसको बजेटको व्यवस्थाका लागि म सरकारको ध्यानाकर्षण गराउनु चाहन्छु। यस्तै गरेर प्रधानमन्त्री छोरी कार्यक्रम आयो। प्रधानमन्त्रीको छोरी, अर्थमन्त्रीको छोरी अथवा मेरै छोरी अथवा सांसदहरुका छोरीहरु हुन् भने त मलाई केही भन्नुछैन। तर जनताको छोरीका लागि हो भने यो विनियोजित बजेटले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा छोरीहरुको अपमान भएको छ। बरु त्यति नै रकम विनियोजन गर्ने हो भने त्यसलाई हटाईदिँदा जाति हुन्छ जस्तो मलाई लाग्दछ।’

    सांसद बलायरले सरकारले भूकम्प पीडितहरुको राहतमा एकरुपता ल्याउन नसकेको आरोप पनि लगाए।

  • नेदरल्याण्ड्संगको हारबाट दबाबमा छैनौं: सोमपाल कामी

    नेदरल्याण्ड्संगको हारबाट दबाबमा छैनौं: सोमपाल कामी

    आइसिसी ट्वान्टी–२० विश्वकपमा नेदरल्याण्ड्संगको हारपछि बलर सोमपाल कामीले यो हारबाट दबाबमा नरहेको बताएका छन्।

    दोस्रो पटक विश्वकप खेलेका सोमपाल कामीले यो हारबाट हतोत्साहित हुनुपर्ने अवस्था नरहेको बताएका हुन्।

    ‘यो हारबाट दबाबमा छैनौं। जति पनि दबाब थियो, विश्वकप छनोटमा थियो। यहाँ हामी आफूलाई प्रमाणित गर्न आएका हौं। सुपर आठका लागि योग्य टोली हौं भन्ने सन्देश दिन चाहन्छौं। आज हार व्यहो¥यौं। तर आगामी तीन खेलमा राम्रो गर्नेछौं,’तिब्र गतिका बलर सोमपालले भने।

    मंगलबार राति सम्पन्न खेलमा नेपाल नेदरल्याण्ड्ससंग ६ विकेटले पराजित भएको थियो।

  • वातावरण पत्रकारिता पुरस्कार बसन्तप्रताप सिंहलाई

    वातावरण पत्रकारिता पुरस्कार बसन्तप्रताप सिंहलाई

    नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले विश्व वातावरण दिवसको अवसरमा प्रदान गर्दै आएको ‘वातावरण पत्रकारिता पुरस्कार– २०२३’ पत्रकार बसन्तप्रताप सिंहलाई प्रदान गर्ने निर्णय गरेको छ। सिंह लामो समयदेखि वातावरण विषयमा खोजमूलक समाचार देख्दै आएका छन्।

    नेवापसले प्रत्येक वर्षको जुन ५ मा विश्व वातावरण दिवस पारेर पत्रकारहरुको प्रोत्साहनका लागि वातावरण पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ। सन् २०२३ भरि वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनमा प्रकाशित–प्रसारित सामग्री र कार्यक्रमहरु मध्येबाट छनौट गरी विषयगत विविधता, तथ्य–तथ्याङ्क, भाषा, जनसरोकार र मौलिकताका आधारमा मूल्याङ्कन गरेर यो पुरस्कार प्रदान गर्ने निर्णय भएको हो।

    पुरस्कारका लागि समूहले पत्रकारहरुलाई सन् २०२३ भरिका आफ्ना लेख–रचना तथा कार्यक्रम समावेश गरी आवेदन दिन आह्वान गरेको थियो।

    समूहका पूर्व अध्यक्ष अर्जुन ढकालको संयोजकत्वमा समूहका पूर्व महासचिव संगीता लामा र विज्ञसदस्य सरिता ज्ञवाली सम्मिलित तीन सदस्यीय निर्णायक मण्डलको सिफारिसका आधारमा पुरस्कार दिने निर्णय गरिएको हो।

    समूहले यसअघि वातावरण पत्रकारिता पुरस्कारबाट ३६ जनालाई सम्मान गरिसकेको छ।

  • भारतले आफ्नो पहिलो खेल आयरल्यान्डसँग खेल्दै

    भारतले आफ्नो पहिलो खेल आयरल्यान्डसँग खेल्दै

    आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज भारतले आफ्नो पहिलो खेल खेल्दै छ। अमेरिकाको न्युयोर्कस्थित नसाऊ काउन्टीमा हुने आजको खेलमा भारतले आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

    भारत र आयरल्यान्डबीचको खेल राति ८: १५ बजेबाट सुरु हुनेछ।

    आजको खेलमा भारतले जित निकाल्दै प्रतियोगितामा विजयी सुरुआत गर्ने लक्ष्यसहित मैदान उत्रने छ।

    तुलनात्मक रुपमा भारत आयरल्यान्डभन्दा निकै बलियो टीम हो। त्यसकारण आजको खेलमा भारतले सोचे अनुसारको जित निकाल्ने अपेक्षा गरेको छ।

  • डोटीमा जिप दुर्घटनाः दुईजनाको मृत्यु, सात घाइते

    डोटीमा जिप दुर्घटनाः दुईजनाको मृत्यु, सात घाइते

    दार्चुलाबाट धनगढीतर्फ गइरहेको यात्रुवाहक जिप डोटीको जोरायल गाउँपालिका–१ खडिनामा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने अन्य सातजना घाइते भएका छन्।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार आज बिहान भएको दुर्घटनामा दार्चुलाको लेकम गाउँपालिका–४ पैतोलीकी ४० वर्षीया धौलीदेवी धामीको घटनास्थलमै र सोही वडाकी तीन वर्षीया बालिका रीतिका पार्कीको उपचारका क्रममा मृत्यु भएको हो।

    दुर्घटनामा घाइते भएका अन्यको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ। उक्त जिपमा चालकसहित नौजना सवार थिए। -रासस

  • चन्दा सङ्कलन गरेर विद्यालय भवन निर्माण

    चन्दा सङ्कलन गरेर विद्यालय भवन निर्माण

    सपना विष्ट कक्षा ७ मा अध्ययनरत छिन्। कक्षामा पढिरहेका बेला गत असोज १६ गते अपराह्न २ बजेको भूकम्पले भागाभाग भएको थियो। थलारा गाउँपालिका–९ मा रहेको भवानी आधारभूत विद्यालयका सपनासहितका विद्यार्थी कापी कलम छाडेर भागेका थिए।

    ‘भुँइचालोले भवानी आधारभूत विद्यालयको भवन भग्नावशेषमा परिणत भएपछि विद्यार्थीहरू चौरमा बसेर पढ्न थाल्नुभयो। चौरमा बस्दा पनि भूकम्प हुने र ढुङ्गाहरू खस्ने डर भइरह्यो’, विद्यालयका प्रधानाध्यापक पूर्णबहादुर विष्टले भने, ‘विद्यालय बन्द गर्ने कुरा भएन। चौरमा पढाउन पनि डर भयो। भिरालो ठाउँमा जोखिम मोलेर गुजार्यौँ।’

    उक्त विद्यालयका बालबालिका खुला चौरमा पढ्न बाध्य भएको खबर सार्वजनिक भएपछि नेपाल रेडक्रसले चासो देखाएको प्रधानाध्यापक विष्ट भन्छन्। ‘समाचार सार्वजनिक भएपछि रेडक्रसको काठमाडौँ शाखाले विद्यार्थीको समस्या समाधानको चासो देखायो। हामी निकै उत्साहित भयौँ’, उनले भने।

    शाखाले काठमाडौँका विद्यालयमा सञ्चालन गरेको ‘मेरो एक दिनको खाजा भूकम्प प्रभावित साथीलाई’ कार्यक्रम चलाएर रकम सङ्कलन गर्दै विद्यालयको खातामा जम्मा गर्यो। विद्यालय भवनको काम भइरह्यो र निर्माण कम्पनीसँग सम्झौता भएको तीन महिनामै भवन निर्माण गरेर रेडक्रस काठमाडौँ शाखाले हस्तान्तरण गर्यो।

    काठमाडौँ शाखाले रेडक्रसकै विभिन्न उपशाखा, संस्था, व्यक्तिसँग हात फिजाएर रकम जम्मा गर्दै विद्यालय भवन निर्माण गरेको नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखाका सभापति श्यामकाजी डोटेलले बताए। उनले समाचारमा पढेको पीडालाई सहन नसकेर सबैलाई सहयोग माग्दै भवन निर्माण गरेको बताए।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढेपबहादुर विष्टलाई भवन हस्तान्तरण गर्दै सभापति डोटेलले भने, ‘रेडक्रस भनेको पीडितको घाउमा मल्हम लगाउने संस्था हो।’

    विद्यालय भवन हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख कृष्णबहादुर विष्टले विद्यार्थीलाई खुला चौरमा पठनपाठन गराउँदा कापीकलम उडेर खोलामा पुग्ने समस्या अब टरेको सुनाए।

    ‘पहिले खुलाचौरमा शिक्षक विद्यार्थीलाई अति नै समस्या थियो। त्यसै बेलामा काठमाडौँ रेडक्रसलाई भगवान्ले टुप्लक्क पठाएजस्तै भयो। बेसहारालाई सहारा दिनुभयो। विद्यालय परिवार खुसी छ’, उनले भने।

    विद्यालय व्यवस्थापन समिति अध्यक्ष डिबी विष्टले पनि समाचारका आधारमा विद्यालय भवन बनाउने काठमाडौँ शाखाको कामको प्रशंसा गरे। ‘सानो लगानीमा बलियो तीनकोठे भवन बन्छ भन्ने कसैलाई विश्वास थिएन। तर, सम्भव भयो’, उनले भने।

    काठमाडौँ रेडक्रसले भवानी आधारभूत विद्यालयको तीनकोठे भवन निर्माण गरेको छ। ‘विद्यार्थीको पीडा सुनेर नयाँ शैक्षिकसत्रदेखि पठनपाठन हुनेगरी तयारी गरेका थियौँ’, रेडक्रस काठमाडौँ शाखाका सभापति डोटेलले भने, ‘हाम्रो अभियान सफल भयो। अब बालबालिकालाई सहज हुनेछ। हामी पनि खुसी छौँ।’ -रासस

  • अभिभावकविहीन बालबालिकालाई कपडा वितरण

    अभिभावकविहीन बालबालिकालाई कपडा वितरण

    अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले नगरका असहाय बालबालिकालाई कपडा तथा झोला वितरण गरेको छ। असहाय भएका बालबालिकालाई नगरपालिकाले कार्यक्रम गरेर सामग्री वितरण गरेपछि बालबालिका खुसी भएका छन्।

    अभिभावकविहीन बालबालिकालाई सन्धिखर्क नगरपालिकाले मङ्गलबार उपप्रमुखसँग असहाय बालबालिका कार्यक्रमअन्तर्गत कपडा तथा झोला वितरण गरेको हो।

    नगर क्षेत्रका १२ वटै वडाका डेढ वर्षदेखि १६ वर्षसम्मका ८२ जना अभिभावकविहीन बालबालिकालाई नगरपालिकाले अभिभावकत्व प्रदान गर्दै कपडा र झोला प्रदान गरिएको नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए। बालबालिकालाई नगरप्रमुख श्रेष्ठ र उपप्रमुख आचार्यले कपडा र झोलाका साथ जनही पाँच सय पनि प्रदान गरे। -रासस