Blog

  • नेप्स प्राप्तिपछि एनसीएचएलको एकीकृत कारोबार सुरु

    नेप्स प्राप्तिपछि एनसीएचएलको एकीकृत कारोबार सुरु

    नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स (नेप्स)लाई प्राप्ति गरेसँगै नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले एकीकृत कारोबार सुरु गरेको छ । नेपालमा दुई भुक्तानी प्रणाली सञ्चालक बीच गाभ्ने गाभिने वा प्राप्ति भएको यो पहिलो हो ।

    गत १३ वैशाखमा दुवै संस्थाले आ–आफ्नो विशेष साधारणसभाबाट गाभ्ने गाभिने सम्बन्धी प्रस्ताव स्वीकृत गरेका थिए । नेपाल राष्ट्र बैंक र कम्पनी रजिस्टारको कार्यालयबाट समेत अन्तिम स्वीकृति लिएपश्चात एकीकृत कारोबार सुरु भएको हो ।

    भुक्तानी तथा फर्छ्योट विनियममा रहेको प्रावधान अनुसार डीडीए अडिटरले मूल्यांकन लगायत प्रक्रिया पूरा गरेको हो । नेप्सको १ बराबर एनसीएचएलको ०.२८ स्वाप अनुपातमा प्राप्ति कार्य सम्पन्न भएको एनसीएचएलले जनाएको छ ।

    नेप्सले विगत ११ वर्षदेखि कार्डमा आधारित सेवा प्रदान गर्दै आएको छ भने एनसीएचएलले विगत १५ वर्षदेखि कार्ड बाहेकका विभिन्न राष्ट्रिय स्तरका विद्युतीय भुक्तानी प्रणाली, पूर्वाधार तथा प्ल्याटफर्म सञ्चालन गर्दै आएको छ ।

    प्राप्ति प्रक्रियाको माध्यमबाट दुवै संस्थाका प्रणाली, पूर्वाधार र कारोबारलाई एकीकृत गरी नेसनल पेमेन्ट स्वीचको कार्यान्वयन तथा अन्तरआबद्धतालाई थप टेवा पुग्ने विश्वास गरिएको छ ।

    प्राप्तिपछि नेप्सले कार्डको पूर्वाधार अन्तर्गत दिने गरेको सेवालाई ईएफटी कार्ड सर्भिसको रुपमा निरन्तरता दिने छ । पूर्वाधारलाई थप सुदृढ गरी नेपाल पे कार्डको डोमेस्टिक स्किमको सेवा प्रदान गर्ने गरी व्यवस्था मिलाइने कम्पनीले जनाएको छ ।

    प्राप्तिपछि एकीकृत चुक्ता पूँजी १ अर्ब ७ करोड तथा कुल कोष १ अर्ब ४४ करोड कायम भएको छ । यसले पूर्वाधार विस्तार गर्न, जोखिम न्यूनीकरण गर्न तथा सुरक्षा नियन्त्रणका प्रणालीलाई सुदृढ गर्न, नवीनतम अनुसन्धनका कार्यमा लगानी गर्न तथा सेवाको गुणस्तर वृद्धि गर्न सहयोग पुग्ने विश्वास कम्पनीको छ ।

  • सांसदको संख्या बढी भयो, अध्ययन कम भयो: चन्द्रकान्त भण्डारी

    सांसदको संख्या बढी भयो, अध्ययन कम भयो: चन्द्रकान्त भण्डारी

    नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले संघीय संसदमा सांसदहरुको संख्या बढी भएको टिप्पणी गरेका छन्।

    निर्वाचित र समानुपातिक गरेर सांसदहरुको संख्या बढी भएकाले बजेट विनियोजनमा पनि समस्या देखिएको उनको निष्कर्ष थियो।

    मंगलबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद भण्डारीले सांसदहरुलाई अध्ययन र अनुसन्धानमा कमी हुँदा पनि बजेटलगायतका विषयमा समस्या देखिने गरेको सुनाए।

    उनले सरकारले ल्याएको बजेट कार्यान्वयनमा जोड दिनुपर्ने पनि उल्लेख गरे।

    सांसद भण्डारीले भने, ‘सांसदहरुको संख्या नै बढी भयो। सुविधा पनि छैन, अध्ययन पनि छैन। संख्या कसरी बढी भयो भने एकातिर इलेक्सनबाट लडेको छ। अर्कातिर समानुपातिकबाट आएको छ। एकातिरकालाई जनतासँग कसरी जाने भन्ने छ ? के लिएर जाने भन्ने छ ? र, संख्या बढी भएको कारणले पनि यो समस्या आएको हो।’

    सांसद भण्डारीले स्थिर सरकार नहुँदा मुलुकमा धेरै समस्या देखिएको पनि उल्लेख गरे।

  • फोनपेले ल्यायो मोबाइल फोनमा रियल टाइम ‘भ्वाइस नोटिफिकेशन’ सुविधा

    फोनपेले ल्यायो मोबाइल फोनमा रियल टाइम ‘भ्वाइस नोटिफिकेशन’ सुविधा

    फोनपेले मोबाइल फोनहरूमा ‘भ्वाइस नोटिफिकेशन’सेवा सुरु गरेको छ।

    फोनपे नेटवर्कका सबै व्यवसायहरूले फोनपे बिजनेस एपमार्फत् भ्वाइस नोटिफिकेसन सेवा प्राप्त गर्न सक्नेछन् । फोनपे बिजनेस एप, एक मोबाइल एप हो जुन विशेष गरी व्यवसायहरूको सम्पूर्ण डिजिटल भुक्तानी लेनदेनहरूलाई एउटै प्लेटफर्ममा व्यवस्थित र ह्यान्डल गर्न डिजाइन गरिएको कम्नपीको भनाइ छ ।

    यस नयाँ सुविधाले फोनपे नेटवर्कमा आबद्ध व्यवसायहरूको क्यूआर भुक्तानी प्राप्त गर्ने अनुभवलाई पुनः परिभाषित गरेको छ। उक्त सुबिधाले एसएमएस मार्फत भुक्तानी पुष्टिकरणमा भर पर्नु पर्ने आवश्यकतालाई हटाएको छ । यो सेवालाई उपभोग गर्न फोनपे नेटवर्कका व्यवसायहरूले या त फोनपे बिजनेस एप डाउनलोड गरी, वा केवल फोनपे बिजनेस एप को नयाँ भर्जनमा अपडेट गरी, ‘नोटिफिकेसन सेटिंग’बाट ‘भ्वाइस नोटिफिकेशन’ सुचारु गर्न सक्नेछन् ।

    भ्वाइस नोटिफिकेशन सुविधाको सुरुवात सँगै, फोनपे बिजनेस एपका प्रयोगकर्ताहरूले भुक्तानी सूचनाहरूका लागि आफ्नो मोबाइल फोनको निरन्तर म्यानुअल अनुगमन गर्नु पर्ने आवश्यकता हटेको फोनपेका सीईओ दिवस कुमारले बताए । अब व्यवसायहरु आफ्नो व्यापार सञ्चालनमा पूर्ण तरिकाले केन्द्रित रहन सक्छन्। भ्वाइस सूचना सुविधाले स्पष्ट र श्रव्य आवाज अलर्टको रूपमा वास्तविक(समय (रियल टाइम) भुक्तानी सूचनाहरू डेलिभर गर्दै व्यापारीहरूबाट महत्त्वपूर्ण लेनदेन सम्बन्धि जानकारीहरु कहिल्यै नछुटोस् भनी सुनिश्चित गरेको सईओ कुमारको भनाइ छ ।

  • खेलकुदलाई कसैले पनि बन्धक बनाएर राख्न पाइँदैन: खेलकुदमन्त्री

    खेलकुदलाई कसैले पनि बन्धक बनाएर राख्न पाइँदैन: खेलकुदमन्त्री

    युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद संघहरुलाई तत्काल क्यालेण्डर बनाएर काम गर्न निर्देशन दिएका छन्।

    आइतबार काठमाडौंमा विभिन्न खेलकुद संघहरुको वार्षिक क्यालेण्डर सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन्।

    उनले वार्षिक क्यालेण्डर सार्वजनिक नगर्ने संघहरुलाई तत्काल क्यालेण्डर बनाएर सार्वजनिक गर्न र क्यालेण्डर नबनाए अप्रिय निर्णय लिन बाध्य हुने चेतावनी समेत दिए।

    खेलकुद संघहरुले खेलहरु नै नगर्ने हो भने जनाइमा साँचो झुन्ड्याएझैँ झुन्डिरहन आवश्यक नरहेको उनकाे टिप्पणी थियाे। उनले खेलकुदलाई कुनै संघ बन्धक बनाएर राख्न नहुने बताए।

    उनले भने ‘प्राविधिक समस्या पनि नभएको र जनाइको साँचो भिरेको जस्तो गरेर खेलकुदलाई कुनै संघ, कसैले पनि बन्धक बनाएर राख्न पाइँदैन। संघहरुले क्यालेण्डर ननिकालेको भए यथाशीघ्र बनाउनुस्। सार्वजनिक स्थानमा खेल हेर्दा सबै साथीहरू जिम्मेवार भएर हेरिदिनुस्।’

    फरक प्रसङ्गमा मन्त्री श्रेष्ठले टुँडिखेलमा आज नेपाल र नेदरल्याण्डबीचको आइसिसी टि २० विश्वकप खेल देखाइने भएकाले सबैले जिम्मेवार भएर खेल हेर्न आग्रह गरे।

  • वाणारसीमा प्रारम्भिक रुझान उल्टाउँदै मोदी निर्वाचित

    वाणारसीमा प्रारम्भिक रुझान उल्टाउँदै मोदी निर्वाचित

    आसन्न लोकसभा निर्वाचनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वाणारसी सिटबाट निर्वाचित भएका छन्।

    भारतीय निर्वाचन आयोगका अनुसार मोदीले उक्त निर्वाचन क्षेत्रबाट छ लाख १२ हजार ९७० मत ल्याएर विजयी भएका हुन्।

    मोदीका प्रतिद्वन्द्वी भारतीय राष्ट्रिय कांग्रेसका अजय राईले चार लाख ६० हजार ४५७ मत प्राप्त गरेका छन्।

    दुबैबीचको मतान्तर एक लाख ५२ हजार ५१३ छ। यो निर्वाचन क्षेत्रमा प्रारम्भिक रुझानमा राईसँग मोदी पछाडि परेका थिए। यद्यपि मतगणना अघि बढ्दै जाँदा उनले अग्रता लिएर जित निकालेका छन्।

  • लुम्बिनी प्रदेशमा  एक अर्ब १२ करोड ६३ लाखभन्दा बढी बेरुजु

    लुम्बिनी प्रदेशमा एक अर्ब १२ करोड ६३ लाखभन्दा बढी बेरुजु

    लुम्बिनी प्रदेशमा एक अर्ब १२ करोड ६३ लाखभन्दा बढी बेरुजु रहेको पाइएको छ । प्रदेश प्रमुख अमिक शेरचनसमक्ष आज बुझाइएको महालेखापरीक्षकको छैटौँ वार्षिक प्रतिवेदन २०८१ अनुसार त्यस्तो पाइएको हो।

    महालेखापरीक्षक लुुम्बिनी प्रदेश कार्यालयका नायब महालेखापरीक्षक घनश्याम पराजुलीले प्रदेश प्रमुख शेरचनसमक्ष प्रतिवेदन पेस गरेको प्रतिवेदनमा यस वर्ष प्रदेश मन्त्रालय, समिति तथा अन्य संस्थासमेत गरी एक अर्ब १२ करोड ६३ लाख ४६ हजार बेरुजु कायम भएको उल्लेख छ । यस्तै, यहाँका एक सय नौ स्थानीय तहको ४ अर्ब ४८ करोड ९३ लाख १९ हजार बेरुजु बाँकी रहेको देखिएको छ ।

    प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख शेरचनले आर्थिक अनुशासन र पारदर्शिता सबैले पालना गर्नुपर्ने बताए। उनले नियम कानुनको उल्लङ्घन गर्ने जोसुकै सजायको भागीदार बन्नुपर्नेमा समेत जोड दिए ।यसैबीच लुम्बिनी प्रदेश मुस्लिम आयोगले आजै प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ ।

  • काठमाडौंका मेयर साहले अशिष्ट अभिव्यक्ति तत्काल सच्याउनुपर्छः महेश बर्तौला

    काठमाडौंका मेयर साहले अशिष्ट अभिव्यक्ति तत्काल सच्याउनुपर्छः महेश बर्तौला

    नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका पछिल्लो अभिव्यक्तिले आफैलाई गिज्याईरहेको टिप्पणी गरेका छन्।

    उनले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि निम्छरो, अशिष्ट र उदण्डताका साथ अभिव्यक्ति दिएको जिकिर गर्दै त्यसले उनको पदीय मर्यादालाई होचो बनाइरहेको प्रमुख सचेतक बर्तौलाको भनाई थियो।

    मंगलवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले अध्यक्ष ओलीमाथि गालीगलौजको भाषामा मेयर साहको दिएको अभिव्यक्ति तत्काल सच्याउनुपर्ने समेत बताए।

    प्रमुख सचेतक बर्तौलाले मेयर साहले इतिहासलाई अवमूल्यन गर्ने, नेतृत्वमाथि गालीगलौज गर्ने शैलीले मुलुकको कानूनी शासनमाथि नै चुनौति दिने गरेको भन्दै आक्रोश व्यक्त गरे। उनले राष्ट्रको हितमा उभिएका कुनै शक्ति र व्यक्तिमाथि त्यस्ता खालको गालीगलौजको भाषा प्रयोग नगर्न पनि मेयर साहलाई सचेत गराए।

  • एमसिसी उपाध्यक्ष ब्रुक्सद्वारा अर्थमन्त्री पुनसँग भेट

    एमसिसी उपाध्यक्ष ब्रुक्सद्वारा अर्थमन्त्री पुनसँग भेट

    नेपालको भ्रमणमा रहेका मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) उपाध्यक्ष जोनाथन ब्रुक्सले अर्थमन्त्री वर्षमान पुनसँग भेटवार्ता गरेका छन्।

    उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले मन्त्री पुनसँग आज सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गरेको हो।

    भेटमा मन्त्री पुनले एमसिसी परियोजनाको काम पूर्वनिर्धारित मितिमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए। उनले आयोजना समयमै सम्पन्न गर्न मन्त्रालयबाट सम्पादन हुनुपर्ने काममा सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे।

    ‘एमसिसी कम्प्याक्टका आयोजना समयमा नै पूरा गर्न सरकार प्रतिबद्ध छ,’ अर्थमन्त्री पुनले भने। एमसिसी परियोजनाअन्तर्गतका आयोजनाको काम खण्डखण्डमा भइरहेकाले पनि आफू समयमै सकिनेमा विश्वस्त रहेको बताए।

    उपाध्यक्ष ब्रुक्सले एमसिसी परियोजनाअन्तर्गत निर्माणाधीन विद्युत् प्रसारण लाइन र सडक निर्माणमा भइरहेको प्रगतिबारे जानकारी दिएका थिए। उनले आयोजनाको हालसम्मको कार्यप्रगति सन्तोषजनक रहेको सुनाए।

    एमसिसी सम्झौताअन्तर्गत पाँच वर्षभित्र तीन सय १५ किलोमिटर लामो विद्युत् प्रसारण लाइन र ७७ किलोमिटर सडक निर्माण हुनेछ।

    आयोजनाले बुटवलबाट भारतको गोरखपुरसम्म सीमापार प्रसारण लाइन पनि निर्माण गर्नेछ। तीन सय १५ किलोमिटर लामो ‘डबल सर्किट’ चार सय ‘किलोभोल्ट’ प्रसारण लाइन निर्माण हुनेछ।

    आयोजनाअन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिकास्थित रातमाटे, तनहुँको दमौली र नवलपरासी पश्चिमको भूमहीमा सब–स्टेसन निर्माणको काम प्रारम्भ भएको छ।

    यसैगरी रातमाटेबाट काठमाडौँको लप्सीफेदीमा नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन चार सय केभी सब–स्टेसन र मकवानपुरको हेटौँडामा रहेको प्राधिकरणको चार सय केभी सब–स्टेसन दुवैमा रातमाटेबाट विद्युत् प्रवाह गरिनेछ।

    चार सय किलोभोल्ट क्षमताको विद्युत् प्रवाह गर्न सक्ने यो सब–स्टेसन देशको हालसम्मकै ठूलो प्रसारण लाइन हो। आयोजनाअन्तर्गत आठ सय ५६ वटा टावर बन्नेछन्। काठमाडौँ, नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, चितवन, तनहुँ, पाल्पा, नवलपुर र पश्चिम नवपरासी जिल्लालाई प्रसारण लाइनले छुन्छ।

    परियोजनाअन्तर्गत तीन सय पाँच किलोमिटर रणनीतिक सडक सञ्जालको मर्मतसम्भार र गुणस्तर सुधारको काम हुनेछ।

    पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत दाङको भालुवाङबाट पश्चिमतर्फ धानखोला–लमही सडक खण्डको ४० किलोमिटर सडक नयाँ प्रविधिमार्फत विस्तार तथा सोही राजमार्गको दाङ र अर्घाखाँचीमा पर्ने लमही–शिवखोला खण्डको ३७ किमी सडक मर्मतको काम अघि बढेको छ।

    सन् २०१७ मा नेपाल र अमेरिका सरकारको एमसिसीबीच आयोजनासम्बन्धी हस्ताक्षर भएको थियो। उच्च राजनीतिक नेतृत्वमा लामो समयको छलफल र बहसपछि अन्ततः परियोजना कार्यान्वयन भएको हो। दुई वर्षअघि संसद्ले सम्झौता अनुमोदन गरेसँगै आयोजना कार्यान्वयनमा आएको हो।

  • लागुऔषधसहित दुई जना पक्राउ

    लागुऔषधसहित दुई जना पक्राउ

    मोरङको सुन्दरहरैँचाको अलग अलग स्थानबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषधको कारोबार हुने गरेको आशंकामा २ वटा घरमा छापा हानेर दुई जनालाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ।

    सुन्दरहरैँचा नगरपालिका–६ का २६ वर्षीय कमल मगर र ३७ वर्षीय मनिष लिम्बूलाई लागुऔषधसहित पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए। पक्राउ परेका दुवै जनाको घर सुन्दरहरैँचा–६ को अलगअलग स्थानमा छ।

    लागुऔषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले मगरको घरबाट छापा हानेको थियो। त्यहाँ लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)जस्तो देखिने धुलो वस्तु ४.३० ग्राम, स्पास्पेन ९२ ट्याब्लेट, ट्रमाडोल २ सय १० ट्याब्लेट, डेकालिङ ८६ ट्याब्लेट, स्पास्मो २५ ट्याब्लेट, स्टीलको थाल, गाँजा काट्ने छिनोलगायत घरबाट बरामद भएको डिएसपी बस्नेतले बताए।

    त्यसैगरी, प्रहरीले लिम्बूको घरमा छापा हानेर खैरो हेरोइन जस्तो देखिने धुलो वस्तु २.९७ ग्राम, सानो खालको डिजिटल तराजु, कैंची, मोबाइल, स्टीलको थाल, लाइटरलगायत बरामद भएको छ। लागुऔषधलगायतका सामान बरामद भएपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लियो।

    पक्राउ परेका दुवै जनाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन प्रहरीले अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

  • निर्वाचनमा मोदीलाई झट्का, एनडिए गठबन्धन फुटाउन सके विपक्षी सरकार

    निर्वाचनमा मोदीलाई झट्का, एनडिए गठबन्धन फुटाउन सके विपक्षी सरकार

    छिमेकी मुलुक भारतमा भर्खरै सम्पन्न लोकसभा निर्वाचन अन्तर्गत आज मतगणना चलिरहेको छ। जारी मतगणनामा ‘अबकी बार चार सौ पार’को नारासहित चुनावी मैदानमा उत्रिएका प्रधानमन्त्री नरेन्द्र मोदीको योजनामा झट्का लागेको छ।

    कुल ५४३ सिट भएको लोकसभामा ४०० सिट ल्याएर दुईतिहाई बहुमतसहित तेस्रो पटक प्रधानमन्त्री बन्ने मोदीको चाहना थियो। जसलाई उनको पार्टी भारतीय जनता पार्टी (भाजपा) ले जोडतोडका साथ उठाएको थियो।

    अहिलेसम्मको मतगणनाको रुझानले भने मोदीको योजनामा धक्का लागेको देखाएको छ। यद्यपि भाजपा नेतृत्वको एनडिए गठबन्धनले भने बहुमत प्राप्त गर्ने देखिएको छ, जसले गठबन्धनको सहाराले मोदी तेस्रो पटक प्रधानमन्त्री बन्ने सम्भावनालाई भने जीवित राखेको छ।

    भारतीय निर्वाचन आयोगका अनुसार रुझानअनुसार दिउँसो साढे तीन बजेसम्म भाजपा नेतृत्वको एनडिए गठबन्धन २९६ सिटमा अगाडि छ। विपक्षी भारतीय राष्ट्रिय कंग्रेस नेतृत्वको इन्डिया गठबन्धन २२८ सिटमा अगाडि छ। यस्तै १९ सिटमा अन्य दलको अग्रता छ।

    मोदीलाई सहारा जरुरी

    ५४३ सिटको लोकसभामा बहुमतका लागि २७२ सिट आवश्यक पर्छ। यसअघि मोदी लहर सुरु भएको २०१४ लोकसभा निर्वाचनमा भाजपाले एक्लैले २८२ सिट जित्दा उसको नेतृत्वको एनडिए गठबन्धनले ३३६ सिट जितेको थियो।

    विपक्षी कंग्रेसले धराशायी हुँदै ४४ सिटमा थन्किँदा कंग्रेस नेतृत्वको तत्कालीन युपिए गठबन्धनले ५९ सिट मात्रै जोड्न सकेको थियो।

    यस्तै २०१९ को निर्वाचनमा मोदी लहर अझै अनुमोदित भएर भाजपाले ३०३ सिटमा जितेको थियो। एनडिए गठबन्धन ३५३ सिटसम्म पुग्यो। कंग्रेस ५२ सिटमा जित्दा उसको नेतृत्वको तत्कालीन युपिए गठबन्धन ९१ सिटसम्म पुगेको थियो।

    यसरी दुई निर्वाचनमा भाजपाको एक्लै बहुमत र एनडिए गठबन्धनसहित प्रचण्ड बहुमत प्राप्त गरेका मोदीले यसपटक अझै बढेर ‘चार सौ पार’ को नारा लगाएका थिए।

    तर, रुझानले उल्टो संकेत गरिरहेको छ। यसपटकको नतिजामा भाजपा २०१४ पछि पहिलो पटक एकल बहुमतसहित लोकसभामा नपुग्ने देखाएको छ। भाजपाले दिउँसो ३ः५० सम्मको नतिजाअनुसार तीन सिटमा जित र २३७ सिटमा अग्रता लिइरहेको छ। यसले २७२ को बहुमत आँकडा भेट्टाउन लगभग असहज भइसकेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । उसको नेतृत्वको एनडिए गठबन्धनको भने २९६ सिटमा अग्रता छ।

    उता विपक्षी कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनले भने अघिल्ला निर्वाचनको तुलनामा नतिजामा उल्लेख्य सुधार गरेका छन्। २०१९ को निर्वाचनमा ५२ सिट जितेको कंग्रेस एक्लैले अहिले २ सिट जित निकाल्दै ९८ थप सिटमा अग्रता लिइरहेको छ। उसको नेतृत्वको गठबन्धन २२८ सिटमा अग्रता लिइरहेको छ।

    गठबन्धनमा हडकम

    उता रुझानले अर्कै नतिजा दिनथालेपछि भाजपा नेतृत्वको गठबन्धनभित्र विपक्षीले खेल्न थालेका समाचार बाहिरिन थालेका छन्। विशेषगरी बिहारका मुख्यमन्त्री नितिश कुमारलाई कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनमा तान्ने प्रयास भएको समाचार एबिपी न्युजले प्रसारण गरेको छ।

    निर्वाचन नजिकिँदै गर्दा गएको जनवरीमा नितिशले विपक्षी गठबन्धन छाडेर भाजपाको सहयोगमा फेरी मुख्यमन्त्रीको शपथ लिएका थिए। भाजपाले उनीमाथि भ्रष्टाचारको मुद्दा लगाएर जेल पठाउने षडयन्त्र गरेपछि बच्न भाजपा नेतृत्वको गठबन्धनमा सहभागी भएको चर्चा छ । यही कारण नयाँ गठबन्धनमा पनि उनी खुसी नभएको समाचार आउने गरेका छन्।

    यस्तोमा भाजपाको एकल सरकार बन्न नसक्ने स्थिति बनेपछि विपक्षीले नितिशलाई तानेर सरकार बनाउने प्रयास थालेको समाचार एविपीन्युजले लेखेको छ। जसमा नितिशलाई उपप्रधानमन्त्रीको प्रस्ताव आएको स्रोतलाई हवाला दिँदै भनिएको छ।

    जारी मतगणनामा नितिशको पाटी जनता दल युनाइटेड (जेडियु) ले १४ सिटमा अग्रता लिइरहेको छ। जुन भाजपा नेतृत्वको एनडिए गठबन्धनले प्राप्त गरेको सिटमा निकै महत्त्वपूर्ण रहेको एबिपीन्युजले जनाएको छ।