Blog

  • कार्यकर्तालाई सुखी बनाउने वितरणमुखी बजेट आयोः सांसद केसी

    कार्यकर्तालाई सुखी बनाउने वितरणमुखी बजेट आयोः सांसद केसी

    नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले सरकारले जनप्रियतामा आधारित नभई पार्टीका कार्यकर्तालाई सुखी बनाउने वितरणमुखी बजेट ल्याएको बताएका छन्।

    मंगलवार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को विनियोजन बजेटको विषयमा भएको छलफलमा बोल्दै उनले मुलुक आर्थिक संकटको दिशामा उन्मुख भएको अवस्थामा अर्थतन्त्रको संकट निराकरण गर्न खालको नआएको बताए।

    उनले पार्टीका कार्यकर्तालाई सुखी बनाउने कुरामा निर्मम भएर कठोरतापूर्वक वितरण मुखी बजेटलाई नियन्त्रण गरी उत्पादनमुखी क्षेत्रमा विनियोजन गरी पुरानालाई निरन्तरता दिएर नयाँ दिन सक्दिन भन्ने आट अर्थमन्त्रीले लिनुपर्ने भएपनि त्यस्तो भएको जानकारी दिए।

    उनले भने,‘मुलुक आर्थिक संकटको दिशामा उन्मुख छ। अर्थतन्त्रको संकट निराकरण गर्र्र्नको निम्ति जनप्रियतामा आधारित होइन। पार्टीका कार्यकर्तालाई सुखी बनाउने गरी निर्मम भएर कठोरतापूर्वक वितरणमुखी बजेटलाई नियन्त्रण गरेर उत्पादनमुखी क्षेत्रमा विनियोजन गरी पुरानालाई निरन्तरता दिएर नयाँ दिन सक्दिन भन्ने आट अर्थमन्त्रीले लिनुपर्ने थियो। साधरण खर्च कटौतीमा गम्भिर हुन आवश्यकता छ। साधरण खर्च राष्ट्रिय स्रोतबाट धान्न नसक्ने अवस्था छ। आन्तरिक राजश्व लक्ष्य पूरा हुने अवस्था छैन। वैदेशिक ऋण भन्दा आन्तरिक ऋण १ खर्ब बढी छ। त्यसले गर्दा सन्तुलित र राम्रो भन्न नसकिने अवस्था छ।’

    यस्तै,उनले साधरण खर्च कटौतीमा गम्भीर हुन आवश्यक रहेको र साधरण खर्च राष्ट्रिय स्रोतबाट धान्न नसक्ने अवस्था रहेकोउनको भनाइ छ। उनले आन्तरिक राजस्व लक्ष्य पूरा हुने अवस्था नभएको भन्दै वैदेशिक ऋण भन्दा आन्तरिक ऋण १ खर्ब बढी रहेको बताए।

  • सरकारले स्वास्थ्य सेवा शुल्क निर्धारण गर्न जरुरी: तोसिमा कार्की

    सरकारले स्वास्थ्य सेवा शुल्क निर्धारण गर्न जरुरी: तोसिमा कार्की

    राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं पूर्व स्वास्थ्यराज्यमन्त्री डा. तोसिमा कार्कीले सरकारी तथा निजी क्षेत्रको अस्पतालहरूमा स्वास्थ्य सेवा शुल्क निर्धारण गर्न सरकारसँग माग गरेकी छिन्।

    मंगलबार प्रतिनिधि सभा बैठकले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएकी हुन्।

    सांसद कार्कीले स्वास्थ्यकर्मीको दरबन्दी थप्ने र त्यसको व्यवस्थापन गर्ने काममा पनि सरकारले ढिलाइ गर्न नहुने उल्लेख गरिन्।

    ‘स्वास्थ्य क्षेत्रलाई त सरकारले कहिल्यै पनि प्राथमिकतामा नराखेको हो कि भनेजस्तो मलाई भान हुन्छ। हुन त झट्ट हेर्दाखेरी ८६ अर्ब २४ करोड बजेट राखिएको छ। जुन गत वर्षको भन्दा २ अर्ब २५ करोड बढेको हो । तर कुल बजेटको प्रतिशत हेर्दाखेरी ४.६४ प्रतिशत मात्र छ। कोभिडको समयमा ८.६ प्रतिशत पुगेको थियो। जुन अहिलेसम्मका हिष्ट्रीमा धेरै हो। त्यो पनि अपर्याप्त छ।’ उनले भनिन्।

    उनले मुलुकको स्वास्थ्य क्षेत्र लथालिङ्ग भएकाले त्यसको नियमनमा उचित ध्यान दिन पनि सरकारलाई सचेत गराइन्।

    ‘विश्व स्वास्थ्य संगठनले नेपाल जस्तो विकासोन्मुख मुलुकमा १० प्रतिशत बजेट छुट्टयाउनु स्वास्थ्यतर्फ भनेर स्पष्ट भनेको छ। जुन हामीले पटक पटक भन्दै आएका छौं। तर त्यसतर्फ सरकारको कुनै प्राथमिकता परेको जस्तो मलाई लागेको छैन। स्वास्थ्य क्षेत्रका सबै लथालिङ्ग भएको अवस्थामा यसको नियमन गर्नुपर्ने पनि अर्को पाटो छ।’

    सांसद कार्कीले आइटी पार्क बनाउने कुरा असफल भइसकेकाले त्यसमा जोड दिने काम नगर्न पनि सरकारलाई सुझाव दिइन्।

    ‘आइटी पार्क भनेर ३० करोड लगानी गरेर बनाइयो । जुन अहिले खण्डहर जस्तो अवस्थामा पुगेको छ। अहिले हामीले फेरी नयाँ आइटी पार्क बनाउँछौँ भनेर योजनाहरू ल्याउँदै गर्दा विगतमा हामी यो कन्सेप्टमा गएर फेल भइसकेको उदाहरण हामीसँग हुँदै गर्दा अव हामी यसमा सफल हुने आधारहरू के छ ? भनेर यसलाई थप स्पष्ट पार्न जरुरी छ।’ उनले भनिन्।

  • बिजुलीको पोलमा ठोकिँदा साइकल यात्रीको मृत्यु

    बिजुलीको पोलमा ठोकिँदा साइकल यात्रीको मृत्यु

    मोरङको बेलबारी नगरपालिका–५ मा बिजुलीको पोलमा साइकल ठोक्किएर दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ।

    बेलबारी–५ का ६० वर्षीय टीकाराम पुरीको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार सोमबार साँझ घरबाट हिँडेका पुरी मंगलबार बिहान मृत अवस्थामा फेला परेका थिए।

    परिवारका सदस्य कसैलाई पनि कहाँ जाने नभनीकन पुरी घरबाट हिँडेको खुलेको बताउँदै, डिएसपी बस्नेतले भने, ‘साइकल लिएर सोमबार साँझ घरबाट निस्किएका पुरी राति अबेरसम्म घर नआएपछि परिवारका सदस्यले खोजी गरिदिन प्रहरीमा खबर गरेका थिए। उनीहरुले पनि खोजी गर्ने क्रममा मंगलबार बिहान साढे ५ बजेतिर घर नजिकै सडक छेउको कुलोमा शव फेला परेको थियो।’

    परिवारका सदस्यले शव फेला पारेर प्रहरीलाई खबर गरेका थिए। बिजुलीको पोलमा ठोक्किएको साइकलसहित कुलोमा खसेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी बस्नेतले जानकारी दिए।

    ‘मादक पदार्थ सेवन (मापसे) गरेर साइकल चलाउँदा दुर्घटना भएको हुनुपर्छ। शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा लगिएको छ।’ उनले भने।

    शवको पोस्टमार्टको रिपोर्ट र घटनाको थप अनुसन्धानपछि यथार्थ आउने बाहिर आउने प्रहरीले जनाएको छ।

  • राडीपाखी बुनेर नातिनातिना पढाउदै दामा

    राडीपाखी बुनेर नातिनातिना पढाउदै दामा

    खेतीपाती र घर गृहस्थीमा मात्रै व्यस्त रहने जुम्ला ग्रामीण क्षेत्रका महिला आयआर्जनमा पनि जोडिन थालेका छन्। जुम्लाको तिला गाउँपालिकाका महिला आयआर्जनमार्फत आत्मनिर्भर बन्न थालेका हुन्। राडीपाखी बुनेर आम्दानी हुन थालेपछि तिला गाउँपालिका-२ लर्मी गाउँकी ५७ वर्षीय दामा रावत खुसी छिन्। श्रीमान्,छोराबुहारीको भरमा मात्र घर व्यवहार चलाउँदै आएकी उनी आफूले पनि केही गर्नुपर्छ भन्ने लागेर राडीपाखी बुनाई सम्बन्धी काम सुरु गरेको बताउँछिन्।

    ‘अहिले श्रीमान् । छोराबुहारीको एकल भर पर्नु परेको छैन, केही गर्न सक्छु भन्ने आत्मविश्वास बढेको छ’, उनले भनिन्। उनी अहिले जुम्लाको सदरमुकाम खलंगा बजारमा राडीपाखी बुनाई गरिरहेकी छिन्। उनका छोराबुहारी आजभोलि पैसा कमाउन कालाहा पहाड छन्। गाउँको घरमा ५८ वर्षका रावतका श्रीमान् मेघ बहादुर रावत मात्रै छन्। करिव ५० देखि ६० भेडाबाख्रा स्याहारसुसार गर्छन्।

    ‘म,सदरमुकाम खलंगामा कोठा लिजमा लिएर दुईवटा नातिहरु पढाउछु। राडीपाखी बिक्री भएको रुपैयाँले नातिहरुको कापी, कलम,पोसाक,फिस तिर्ने,चामल,दाल,नुन तेल,कोठाभाडा तिर्न सहज भएको छ’, रावत बताउँछिन्।

    बिहानदेखि बेलुकासम्म राडीपाखी बुन्ने काममा नै व्यस्त रहने उनी एउटै राडीपाखीबाट ८ देखि १० हजार रुपैयाँसम्म कमाउने गर्छिन्। उनी भन्छिन् ‘लिउ भने,चार हजार देखि ७ हजार सम्म बिक्री हुन्छ, अहिले एक महिनाभित्र मात्रै ४० हजार बराबरको राडिपाखी र लिउ बेचिसकेकी छु।’

    आफ्नो सीपलाई प्रयोग गर्दै स्वरोजगार बनेकी उनी जीवनयापनमा सहज हुन थालेपछि झन् उत्साहित बनेकी छिन्। तर,बजारको अलि समस्या भएको रावतको अनुभव छ। यसमा स्थानीय सरकारले समस्या समाधान गर्नुपर्ने उनले बताइन्। सानो छँदा २० वर्षको उमेरदेखि बुबा,अंकल र दाजुभाइहरूले बुनेको हेरेर नै राडीपाखी बुन्न सिकेकी उनले सुनाइन्।

    ‘आफ्नै सुरमा काम गर्न पाउँछु, यसलाई नै आफ्नो व्यवसायको रूपमा अँगालेको छु, सानोतिनो खर्चका लागि ऋण काड्नु परेको छैन ’ रावतले भनिन्। यसैगरी यो सीपले आत्मनिर्भर हुन सकिन्छ भन्ने सोच उनी अन्य महिलाहरूलाई पनि प्रेरणा दिने गरेकी छिन्। सीप सिकेपछि जीवनप्रति बेग्लै आशा जागेको र सीपले आफ्नै खुट्टामा उभिन सकिने उनी सुनाउछिन्।

    रावतको मात्रै हेन्न यता सिंजा गाउँपालिका-६ की कोइरे रावतले पनि राडीपाखी बुनेर परिवारको गुजरा टार्दै आएकी छिन्। महिला अचेल राडीपाखी बुन्न व्यस्त हुने गरेका छन्। घरैमा बसेर, खाली समयमा राडीपाखी बुनेर राम्रो आम्दानी हुने भएपछि यहाँका महिलाहरू अहिले राडीपाखी बुनाइप्रति आकर्षित छन्।

    यहाँका अधिकांश महिलाले अरूले बुनेको हेरेर नै राडीपाखी बुन्न सिकेका हुन्। यो सीपले आत्मनिर्भर हुन सकिन्छ भन्ने सोच उनीहरूमा छ। उक्त क्षेत्रमा उत्पादन गरिएका राडी जिल्लाका विभिन्न बजार तथा बाह्य जिल्लामा समेत निर्यात हुने गर्दछ। यहाँको राडी उत्कृष्ट मानिन्छ। स्थानीयहरु राडी बुनेर मनग्य आम्दानी गर्दछन्। महिलाहरूको सीप र उत्पादनलाई बजारीकरण गर्न गाउँपालिका समन्वय र सहकार्य गर्नुपर्ने उनी बताउँछिन्।

    ‘युवा, महिला, पिछडिएको वर्गलाई लक्षित गर्दै विभिन्न सीपमूलक तालिम प्रदान गर्दै सीपलाई प्रयोग गरी रोजगार सिर्जनाका प्रयासहरू पनि वर्षेनि भइरहेका हुन्छन्। युवाहरूलाई उद्यमी, व्यवसाय बनाउन विभिन्न तालिम र अनुदान उपलब्ध गराउँदै आएका छन्। तर उपलब्धिलाई शुन्य देखिन्छ। परम्परागत सीप र उत्पादनहरू लोप हुनबाट जोगाउन ती सीपलाई पुस्तान्तरण गर्न र बजार व्यवस्थापनमा ध्यान पुर्याउन आवश्यक छ।

    जिल्ला पशु सेवा कार्यालय जुम्लाका अनुसार पशुपंक्षी उत्पादनका हिसाबले भेडा बाख्रापालनलाई प्रशस्त सम्भावनाको रुपमा जुम्ला जिल्लालाई लिईन्छ। यस जिल्लामा व्यवसायिक रुपमा, भेडाबाख्रापालन तथा पोल्ट्री फर्महरू स्थापना भएका छन् भने, भेडाबाख्रापालन गरिदै आएको छ। जुम्लामा अहिले ८४ हजार तिन सय ८८ भेडाको संख्या छ। भने ४६ हजार तीन सय ६ बाख्रा छन्। ६९ हजार हेक्टर चरन क्षेत्र छ।

  • कृषिमा प्राविधिक जनशक्ति वृद्धि गर्न जरुरी: आरजु राणा

    कृषिमा प्राविधिक जनशक्ति वृद्धि गर्न जरुरी: आरजु राणा

    प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद डा. आरजु राणाले कृषिमा प्राविधिक जनशक्ति वृद्धि गर्न सरकारलाई सुझाव दिएकी छिन्।

    मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कृषकहरुलाई राहत दिनका लागि छुट्टै बैकिङ प्रणालीको विकास गर्न पनि सरकारलाई सचेत गराइन्।

    उखु कृषक, दुध कृषकहरुले समयमै भुक्तानी नपाएको गुनासो आइरहेको उल्लेख गर्दै उनले त्यसका लागि पनि सहुलियत दरमा राहत दिने गरी समयमै भुक्तानीको व्यवस्था गर्न सरकारले सो खालको बैकिङ प्रणालीको विकास गर्न आवश्यक्त भएको तर्क गरिन्।

    उनले भनिन् ‘हरेक वर्ष यो दुध कृषकहरु र उखु कृषकहरुको पेमेन्ट नपाएको कुरा अगाडि आउँछ। यसका लागि चाहीँ सरकारले इर्मेजेन्सीको रुपमा लाष्ट टाईममा आएर पैसा दिनुको सट्टा एउटा बैकिङ मेकानिज्म खडा गर्न म अर्थमन्त्रीज्युलाई रिक्वेष्ट गर्न चाहन्छु।’

    सांसद राणाले सरकारले कृषीलाई लगानी दशकको रुपमा घोषणा गरेपनि त्यस क्षेत्रको बजेट घटाएको भन्दै असन्तुष्टि व्यक्त गरिन्।

    ‘कृषिमा टेक्निकल जनशक्ति वृद्धि एकदमै गर्नुपर्ने जरुरी देखिएको छ। यो अनुसार गोभर्मेन्टले ओएनएम पनि गरिसकेको छ। त्यसलाई यो सरकारले कसरी अगाडि बढाउँछ ? यो बजेटमा यसकाे ग्याप देखिएको छ।’ उनले भनिन्।

    सांसद राणाले कृषिमा लगानी वृद्धि गर्न सरकारले त्यसको बजारको पनि उचित व्यवस्था गर्नुपनेमा जोड दिइन्।

  • बजेट मिसन मोडमा काम गर्ने गरी क्षेत्र प्राथमिकिकरण भएर आएको छ: डा.वाग्ले

    बजेट मिसन मोडमा काम गर्ने गरी क्षेत्र प्राथमिकिकरण भएर आएको छ: डा.वाग्ले

    राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेट मिसन मोडमा काम गर्ने गरी क्षेत्रहरूको प्राथमिकिकरण गरेर आएको बताएका छन्।

    मंगलवार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को विनियोजन बजेटको विषयमा भएको छलफलमा बोल्दै उनले यस्तो कुरा बताएका हुन । उपसभापति डा.वाग्लेले बजेटमा पाँच उद्देश्य, प्राथमिकता,रणनीति र रूपान्तरणकारी क्षेत्र छुटाउनु मिसन मोड भएको संज्ञा दिए । उनले सरकारले पाँच भन्दा बढी अर्थतन्त्र ग्रोथ ड्राइभ गर्ने इन्जिनहरूको पहिचान गरेर त्यसमा मिसन मोडमा काम गर्नु जरुरी रहेको बताए ।

    उनले आइटी क्षेत्रलाई प्रमुख प्राथमिकता दिएर अबको १० वर्षमा ३० अर्ब बराबरको सफ्टवेयर निर्यात पु¥याउने मिसन स्पष्ट र टाइम लिमिट रहेको बताए । उनले यसको साथै १५ लाखलाई रोजगारी दिने लक्ष्य सकारात्मक भएको बताए । डा.स्वर्णिम वाग्लेले सरकारले यसमा थप आइटी पार्क,स्वदेशी स्वट्वयेरहरु प्रयोग गर्ने र करमा प्रोत्साहन दिने कुराहरू सकारात्मक रहेको भन्दै कार्यान्वयनको लागि आइटी बोर्डहरू बनाउने र विदेशमा पनि आइटी फोरमहरूलाई निश्चित मापदण्डहरू तोकेर सप्सिडेरी खोल्नै दिने खालका कार्यक्रम ल्याएर लक्ष्य पूरा हुने बताए ।

    उनले एक सय वर्षको इतिहासमा ऊर्जामा करिब ३ हजार मेगावाटको हाराहारीमा जति क्षमतामा आइपुगेको भन्दै आगामी वर्ष सालसम्म ४५ सय मेगावाट जडित क्षमता बनाउने लक्ष्य राखिएको भन्दै जलविद्युत क्षेत्रमा पनि सरकारले मिसन मोडमा नै लैजानुपर्ने बताए ।उनले १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको भन्दै सरकारले पर्यटकको ठाउँको गन्ने मात्रै भन्दा पनि दैनिक खर्च र पर्यटकको औसत बसाइँलाई लम्ब्याउने गरी मिसन मोडमा काम गर्नुपर्ने उल्लेख गरे ।

  • अरुण तेस्रो जलविद्युतको सुरुङ मार्गको ‘ब्रेक–थ्रु’

    अरुण तेस्रो जलविद्युतको सुरुङ मार्गको ‘ब्रेक–थ्रु’

    सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको मुख्य सुरुङ मार्ग ‘ब्रेक थ्रू’ भएको छ।

    मंगलबार एक कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहालले अडिट २ मा स्वीच थिचेर सुरुङ मार्ग ब्रेक थ्रु गरेका हुन्।

    प्रधानमन्त्री दाहालले अरुण तेश्रोको ‘ड्यामसाइट’ र ‘पावरहाउस’को हेलिकोप्टरबाटै अनुगमनसमेत गरेका छन्।

    भारतीय सतलज कम्पनी (एसजेबिएन) ले निर्माण गरिरहेको उक्त आयोजनाको ७० प्रतिशत काम सकिएको छ।

  • बिना कारण औषधि जफत गरे आन्दोलनमा उत्रिन्छौँ: औषधि व्यवसायी

    बिना कारण औषधि जफत गरे आन्दोलनमा उत्रिन्छौँ: औषधि व्यवसायी

    कानूनअनुसार औषधि बेच्दा पनि जफत गरिएको भन्दै औषधि व्यवसायीहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन्।

    मंगलबार काठमाडौंमा उनीहरुले औषधि व्यवस्था विभागमा दर्ता भएका औषधिहरु बेच्दा पनि मेडिकल व्यवसायीहरुको औषधि जफत गरिएकोप्रति आपत्ति जनाएका हुन्।

    नेपाल औषधि थोक व्यवसायी संघका अध्यक्ष विशराज बास्कोटाले भने ‘औषधि व्यवस्था विभागमा दर्ता नभएको सामान छ भने जफत गर्न पाइन्छ। हामीलाई कुनै जानकारी नदिइ भ्याटमा ल्याएको सामान जफत गरेर राख्दा हामीलाई दुःख लागेको छ। महानगरको कार्यक्षेत्र औषधि क्षेत्रमा पर्छ की पर्दैन। यस्तै स्थिति रह्यो भने पसल बन्द गर्नुपर्ने स्थिति आउँछ।’

    यता, औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधि ऐनले कुनैपनि पेशा व्यवसाय गर्न व्यवसायी राख्नुपर्ने, व्यवसाय हुनुपर्ने भन्ने तोकेकाले सोहीअनुसारको व्यवसाय गर्न आग्रह गरे।

    उनले भने ‘औषधि ऐनले कुनैपनि पेशा व्यवसाय गर्न व्यवसायी राख्नुपर्ने, व्यवसाय हुनुपर्ने भन्ने तोकेको छ। पेशा व्यवसाय गर्नको लागि व्यवसायीको व्यवस्था गरेको छ। त्यो फार्मासिस्ट होला वा व्यवसायी होला। व्यवसायी बसेर त्यो काम गर्छ भनेरै राखिएको हो। तर कहिले कहीँ त्यो अनुपस्थित हुनसक्छ। त्यही कारणले व्यवहारिक रुपमा कहीँ गएको हुनसक्ला। यो कहिले कहीँ हुनसक्ने घटना हो। सधैँ भयो भने त्यो नियत हो। त्यसैले औषधि विभागका अधिकारीहरुले केही समय पर्खिएर हेर्ने र विगतको पनि के छ उसको व्यवहार यस भन्दाअघि पनि अनुपस्थित रहेको हो वा यो पहिलो घटना हो भन्ने निरीक्षण हुन्छ। कतै पनि निरीक्षणका क्रममा ताल्चा जाने बित्तिकै लगाउनुभएको छैन। औषधि बेच्ने बनेको फर्ममा अन्य वस्तु राखेको भए त्यो हामीले छोड्न मिल्दैन।’

    उनले औषधि बेच्ने बनेको ठाउँमा अन्य वस्तु राखेर बेचेको पाए कानूनले नछोड्ने बताए।

  • दुबईबाट उद्धारको याचना गर्दै महिला

    दुबईबाट उद्धारको याचना गर्दै महिला

    वैदेशिक रोजगारीमा दुबई पुगेकी एक महिला उद्धारका लागि आफ्ना आवाज स्वदेश पुर्‍याउन प्रयासरत छिन्। बाराकी २७ वर्षीया ती महिला स्वदेशमा आफ्नो ब्युटिपार्लर व्यवसाय बेचेर पार्लरमै जागिर खान त्यहाँ पुगेकी थिइन्। आर्थिक मन्दी उकालो लागिरहेको बेलामा नेपालमा आफ्नो व्यवसाय भने ओरालो लागेकै कारण उनले वैदेशिक रोजगारी अँगाल्नुपरेको थियो।

    धेरै नेपालीले विदेशमा मेहनतअनुसारको फल प्राप्त गरिरहेको बेलामा उनलाई भने विदेशी भूमि फापेन। विकसित देशको सुन्दर चालढाल सोचेर गएअनुसारको उनले काम दुबईमा पाइनन्। अहिले स्वदेश फर्कन उनले यावत् प्रयास चालिरहेका छन्।

    सामाजिक सञ्जाल ‘टिकटक’मा भेटिएका एजेन्टको विश्वासमा ३ लाख ५० हजार रूपैयाँ तिरेर भिजिट भिसामार्फत उनी गत माघमा दुबई पुगेकी थिइन्। ती महिलाका दिदी बहिनीको उद्धारको माग गर्दै बिहीबार मानव बेचबिखन अनुसन्धान ब्युरोमा पुगेकी हुन्।

    ‘बहिनी दुबई पुगेको दिनदेखि नै दुःख मात्रै पाएकी छिन्। रोजगारदाताले नै सबै कागजातसहितको पासपोर्ट जफत गरेपछि स्वदेश फर्कन गाह्रो भएको छ। सधैं फोन गरेर मलाई यो जञ्जालबाट निकाल्नुपर्‍यो भन्दै रुन्छिन्,’ दुबईमा भएकी बहिनीको दुःख सम्झँदै दिदीले भनिन्। नेपालबाट एजेन्टलाई त्यत्रो पैसा बुझाएर दुबई गएकी बहिनीले अब स्वदेश आउन पनि रोजगारदातालाई ७ हजार दिराम (नेपाली २ लाख ५३ हजार रूपैयाँ) दिएपछि मात्रै नेपाल फर्कन पाउने पीडितको दिदीले नागरिक संवाददातासँग बताइन्।

    पार्लरको काममा सेवासुविधासहितको राम्रो आम्दानी हुन्छ भनेर दुबई पुगेकी बहिनीले श्रम शोषणमा पर्नुपरेको भन्दै ब्युरोमा उद्धारको माग गर्न आएकी दिदी बताउँछिन् । दुबईस्थित अबुधाबीमा १३ देखि १४ घण्टा काम गर्नुपरेको बहिनीको भनाइ उद्धृत गर्दै दिदी भन्छिन्, ‘हाम्रो सुख काट्ने भाग्य छैन। दुःख गर्नै आएका हौँ, दुःख गर्छौं पनि । यहाँ खाना त परै जाओस्, पानी पिउन पनि दिइन्। गाँसबासको व्यवस्था गरेनन्, ल ठिकै छ तर हामीले कोठामा पकाएर ल्याएको खाना खानसमेत दिइएको छैन। हामीले ल्याएको खाना यहाँ बसेर खाए पार्लरमा नराम्रो गन्ध आउँछ रे भन्दै साहुले गाली गर्छ।’

    १२ कक्षा उत्तीर्ण ती पीडित महिलाले आफ्नी दिदीलाई बताएअनुसार पार्लरमा काम गर्ने नेपाली, बंगाली, भारतीय र फिलिपिनोसमेत सबै कागजात रोजगारदाताले लिएर काम गराइरहेको छ। ‘यहाँ सबै जना धरधरी रोएर काम गरिरहेका छन्। आफ्नै देश फर्कनै परेको खण्डमा रोजगारदातालाई नेपाली पाँच लाखभन्दा बढी बुझाउनुपर्नेछ। कमाउने भनेर अर्काको देश आएको युवालाई अत्यधिक श्रम शोषणमा गरे पनि अन्य देशका श्रमिकहरू बाध्य भएर गर्नुपरेको भन्दै पीडितले आफ्नी दिदीलाई ह्वाट्सएपमार्फत भोइस रेकर्ड पठाएर जानकारी दिएकी हुन्।

    ‘दिनभरि उभिएर १४/१५ घण्टा काम गर्नुपर्छ । धेरै जना बाध्यताकै कारण पनि यस्तो गाह्रो काम गरिरहेका छन् । साहु देखेर सबै डराउने, कोही बोल्न सक्दैनन्। काम छाडेर जान पनि नमिल्ने सबै कागजात नै रोजगारदातासँग छ। पासपोर्ट रोजगारदातासँग माग्दा खुरुखुरु काम गर्ने धेरै हल्ला गर्ने होइन, मैले तिमीहरूलाई किनेर ल्याएको हुँ भनेर गाली गर्छ,’ पीडित महिलाले आफ्नी दिदीलाई अडियो पठाउँदै भनेकी थिइन्। उक्त पार्लरमा काम गर्ने कामदारको मासिक तलब युएई १७ सयदेखि २ हजार दिरम रहेको पीडित महिलाले बताएकी छन्।

    पीडित महिलाले दिदीलाई उद्धारको माग गर्दै ह्वाट्सएपमा धेरै नै अडियो पठाएकी थिइन्। पीडितले पठाएको उक्त अडियो खोल्दा यस्तो भनिएको थियो, ‘यहाँ काम गर्न नसक्ने अवस्थामा छौं। सबै जना आ–आफ्नो बाध्यताले काम गरिरहेका छन्। सुरुकै दिनमा साहुले हामी सबैको पासपोर्ट लिएको थियो। एकछिन विश्राम गर्न पनि दिँदैन। यहाँका धेरै मानसिक तनाव दिइरहेको छ।’

    उक्त पार्लरमा उनी मात्रै साहुद्वारा पीडित थिएनन्। उनीजस्तै अरू कामदार पनि पीडित रहेको उनले अडियोमार्फत बताएकी छन्। उनलाई दुबई पु¥याउने टिकटकमा भेटिएका पुरुषको त्यहाँ नै ‘एजेन्ट अफिस’ खोलेर बसेको पीडित महिलाले सुनाइन्। दुबईकै स्थानियले खोलेको पार्लर हो राम्रो छ भन्दै काममा लगाएको ती पीडित महिलाले आफ्नी दिदीलाई पठाएकी अडियोमार्फत सुन्न सकिन्छ।

    ‘काम पनि आफू मरेर लामो समय गर्नुपर्ने। पार्लरमा काम गर्ने श्रमिकका लागि साह्रै कडा नीतिनियम राखिएको छ। सुरुका दिनहरूमा काम गर्न त्यस्तो गाह्रो भएन । करिब नौ घण्टा काम गरेका थियौं । पछिपछि धेरै समय काम लगााउन थाल्यो। अहिले घर न घाट भइएको छ,’ पीडितले सामाजिक सञ्जालमार्फत भनिन्, ‘दुबईमा महिला एजेन्ट छन्। ती महिला पनि विदेशमा राम्रो काम छ भनेर नेपालीबाट लाखौंलाख उठाउने काम गरिरहेकी छन्। एजेन्टका हातमा पैसा परेपछि विदेशमा आएर यस्तो अलपत्र बनाएर धेरैको बिजोक गरिरहेकी छन्।’

    पीडित महिलाका अनुसार विदेशमा धेरै महिला एजेन्ट छन्। नेपालबाट विभिन्न प्रलोभनमा पारेर विदेश ल्याएको श्रमिकलाई आफ्नो एजेन्ट कार्यालयमा राखेर रोजगारदातालाई छानीछानी पठाउने काम महिला एजेन्टले धेरै गरिरहेका छन्। एजेन्टले भनेको ठाउँमा काम गर्न नगएमा पासपोर्ट नै नदिने भनेर धम्की दिने गरेको पीडितले दिदीलाई सुनाएकी थिइन्।

  • जसपाकाे मञ्च हावाहुरीले भत्कियो

    जसपाकाे मञ्च हावाहुरीले भत्कियो

    जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय महाधिवेशनका लागि तयार गरिएको मञ्च हावाहुरीले भत्काएको छ।

    सोमवार रातिको हावाहुरीले महाधिवेशनका लागि तयार गरिएको पण्डालमा क्षति पुर्‍याएको हो। वर्षाको कारण जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ स्थित तिरहुतिया गाछीमा महाधिवेशनको लागि बनाइँदै गरेको पण्डालमा क्षति पुगेको बताइएको छ। एक महिनाभन्दा बढी समयदेखि पण्डाल लगाउने काम सुरु गरिएकोमा महाधिवेशनको एक साता मात्र बाँकी रहेको समयमा मञ्चमा हावाहुरीले क्षति पुगेको हो।

    हावाहुरीको कारण गाडिएको बाँसहरू ढलेको छ। टेन्ट लगाउने ठेक्का लिएका ठेकेदार सञ्जय मण्डलले हावाहुरीको कारण करिब साढे ८ लाख बराबरको क्षति भएको बताए। उनले ६५ लाखमा टेन्ट लगाउने ठेक्का लिएको जानकारी दिए।

    मण्डलका अनुसार पण्डालमा बाँसको पूरै काम भइसकेको थियो। अब त्यसमाथि त्रिपाल लगाउने काम मात्र बाँकी रहेको अवस्थामा भत्किएको हो। मण्डलले महाधिवेशन अगावै पुनः मञ्च निर्माणको काम पूरा हुने बताए। जसपा, नेपालको महाधिवेशन जेठ २८, २९ र ३० गते हुँदैछ।