Blog

  • संसदमा राजेन्द्र लिङ्देनले खोजे अर्थमन्त्री, बैठक स्थगित

    संसदमा राजेन्द्र लिङ्देनले खोजे अर्थमन्त्री, बैठक स्थगित

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आजको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री खोजेका छन्।

    लिङ्देनले बजेटमाथि धारणा राख्दा बैठकमा अर्थमन्त्री खोजेका हुन्। उनले अर्थमन्त्री उपस्थित हुनुपर्ने अडान राखेपछि बैठक स्थगित भएको छ।

    बजेटमाथि धारणा राख्न रोष्ट्रममा गएका लिङ्देनले संसदमा अर्थमन्त्री वर्षमान पुनलाई नदेखेको भन्दै खोजी गरे। उपसभामुख इन्दिरा रानाले अर्थमन्त्री राष्ट्रियसभा बैठकमा गएको जानकारी गराइन्। त्यसपछि अर्थमन्त्री प्रतिनिधि सभाको बैठकमा आउने रानाले बताइन्। त्यसबेलासम्म रानाले आफ्नो धारणा राख्न लिङ्देनलाई आग्रह गरिन्।

    तर लिङ्देनले अर्थमन्त्री नआएसम्म आफ्नो धारणा नराख्ने अडान राखे। उनले अर्थमन्त्रीलाई कुर्ने बताए।

    त्यसपछि सभामुख देवराज घिमिरेले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई आफ्नो सिटमा फर्किन आग्रह गरे र संसद बैठक १५ मिनेटका लागि स्थगित गरे।

  • हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष लम्सालको चेतावनी: माग पूरा नभएसम्म काठमाडौंमा पानी पठाउँदैनौँ

    हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष लम्सालको चेतावनी: माग पूरा नभएसम्म काठमाडौंमा पानी पठाउँदैनौँ

    हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष अप्सरा लम्सालले हेलम्बु—मेलम्चीवासीका मागहरू पूरा नगरेसम्म मेलम्चीको पानी काठमाडौंमा नपठाउने चेतावनी दिएकी छिन्।

    काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले काठमाडौंवासीले रित्तो गाग्री सडकमा देखाएपछि पानी पाउने हो भने हेलम्बु-मेलम्चीवासीका मागहरू पूरा नगरेसम्म पानी नपठाउने बताएकी हुन । उनले सरकारले बारम्बार हेलम्बुवासीका मागहरूको बेवास्ता गरिरहेको भन्दै माग सम्बोधन गरेपछि मात्रै त्यहाँको पानी काठमाडौं पठाउने अडान लिइन ।

    उनले स्थानीहरूले वर्षा याममा आफूहरूलाई आवत जावत, शिक्षा, स्वास्थ्यका लागि समस्या रहेको कुरा प्रदेश र संघ सरकारलाई बारम्बार भने पनि सरकारले बेवास्ता गरिरहेको आरोप लगाइन।

    उनले अबको बजेटमा सरकारले हेलम्बु—मेलम्चीवासीका माग सम्बोधनका लागि छुट्टै व्यवस्था गर्नुपर्ने बताइन । उनले विद्यालय स्तरमै विपद् शिक्षा हुन जरुरी भइसकेको पनि बताइन । उनले एक वर्षको ६ देखि १० करोड बजेट विपद्मा खर्च गर्नुपर्दा गाउँपालिकाको विकास योजनाअनुसार गर्न नसकेको बताइन ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का विज्ञ सदस्य तथा विपद् व्यवस्थापन विज्ञ डा.गङ्गालाल तुलाधरले हेलम्बु-मेलम्चीवासीका जायज मागहरू पनि सरकारले पूर्ण रुपमा गर्न नसकेको बताए । उनले त्यहाँका स्थानीयहरुलाई जोखिमपूर्ण स्थानहरूबाट सारेर व्यवस्थित बनाउनका लागि दिने भनिएको रकमहरू पनि दिन नसकेको बताए । उनले कोप २८ मा समेत हेलम्बु मेलम्चीको कुरा ज्वलन्त ढंगले उठाएको बताए। उनले हेलम्बु—मेलम्चीमा अहिले पनि ठूलो वर्षा भए फेरि पनि जोखिममा पर्न सक्ने, बाढीबाट बग्नुपर्ने परिस्थिति रहेको बताए ।

    उनले सरकार मेलम्ची—हेलम्बुका जोखिम क्षेत्रहरूमा आवश्यक ध्यान दिनबाट चुकिरहेको बताए ।

  • बजेट सन्तुलित, कार्यान्वयन चुनौतिपूर्णः एमाले सचिव बिष्ट

    बजेट सन्तुलित, कार्यान्वयन चुनौतिपूर्णः एमाले सचिव बिष्ट

    नेकपा एमालेका सचिव गोकर्ण बिष्टले सरकारले ल्याएको बजेट सन्तुलित भएपनि कार्यान्वयन चुनौतिपूर्ण रहेको बताएका छन्। मंगलवार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को विनियोजन बजेटको विषयमा भएको छलफलमा उनले अर्थमन्त्री वर्षमान पुनले बजेट सन्तुलित ल्याएको बताएका हुन्।

    उनले सरकारले करका दर यथावत वा तयारी वस्तुभन्दा कच्चा पदार्थमा पैठारी महशुल कम्तिमा १ प्रतिशत कम गर्नु बजेटको सकारात्मक पक्ष रहेको उल्लेख गरे। चालु खर्च ६१ प्रतिशत,पुँजीगत १९ प्रतिशत,वित्तीय व्यवस्था २० प्रतिशतको जुन कहालि लाग्दो अवस्था देखापरेको उनको भनाइ छ।

    उनले भने,‘अहिलेसम्म ८ खर्ब ७५ अर्ब राजश्व प्राप्त भएको अवस्था छ। तर आगामी आर्थिक वर्षको लागि १२ खर्ब ६० अर्बको लक्ष्य बढी चुनौतीपूर्ण देखिन्छ । वैदेशिक अनुदानको हिसाबले हेर्दा हालसम्म १५ अर्ब मात्रै अनुदान प्राप्त भएको छ। गत वर्ष ५० अर्ब अनुमान गरिको थियो आगामी आर्थिक वर्षमा ५२ खर्बको अपेक्षा राखिएको छ यो पनि यथार्थसँग मेल खाने सम्भावना कम छ। आन्तरिक ऋणबाट ३ खर्ब ३० अर्ब उठाउने अपेक्षा राखिएको छ। आन्तरिक ऋण बढी लिएको अवस्थामा निजी क्षेत्रमा जाने कर्जा संकुचित हुने,बैंकको ब्याजदर बढ्ने,निजी क्षेत्रले उत्पादनवृद्धि र रोजगारी गर्ने सम्भावना कम हुने अवस्था छ । यो विषयमा अर्थमन्त्री गम्भिर हुन जरुरी छ।’

    ‘कुल बजेटको ११ प्रतिशत मात्रै पुँजीगत खर्च भएको अवस्था छ। बजेटले पाँच उद्देश्य, प्राथमिकता,रणनीति र रुपान्तरणकारी क्षेत्र छुट्याएको छ। त्यसको अनुपातमा कार्यक्रममा विनियोजन भएनकी भन्ने लाग्छ। कृषि दशक भनिएको छ तर यही वर्षको बजेटमा कृषि क्षेत्रमा बजेट घटाएको छ। सूचना प्रविधि दशक भनिएको छ। यही बजेटले बजेट कम गरेको छ। १६ लाख पर्यटक भित्र्याउने भनिएको छ। तर पूर्वाधारहरु पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय स्थाल चलाउने उद्घोष भएको छैन। आर्थिक वृद्धि ६ प्रतिशतको अनुमान गरिएको छ। उत्पादनमुलक क्षेत्रमा लगानी वृद्धि नगरेसम्म कसरी आर्थिक वृद्धि मेल खान सक्छ। त्यसले बजेटका केही अभावहरु देखिएका छन्,’ उनले भने।

    यस्तै,उनले १६ लाख पर्यटक भित्र्याउने भनिए पनि पर्यटक आउने पूर्वाधारहरु पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय स्थाल चलाउने उद्घोष नभएको भन्दै असन्तुष्ट जनाए। सरकारले उत्पादनमुलक क्षेत्रमा लगानी वृद्धि नगरेसम्म ६ प्रतिशतको आर्थिक वृद्धिको सम्भावना पनि कम रहेको उनको भनाइ छ।

  • टिप्परले ठक्कर दिँदा मोटरसाईकलमा सवार २ जनाको मृत्यु

    टिप्परले ठक्कर दिँदा मोटरसाईकलमा सवार २ जनाको मृत्यु

    मदन भण्डारी लोकमार्गको उदयपुर सडकखण्डमा मालबाहक टिप्परले ठक्कर दिँदा मोटरसाईकल सवार २ जनाको मृत्यु भएको छ। त्रियुगा नगरपालिका १३ र चौदण्डीगढी नगरपालिका-९ को सीमास्थल फुलजोरस्थित घुम्ती सडकमा उक्त दुर्घटनामा भएको हो।

    जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मंगलबार बिहान ९ः४५ बजेको समयमा मिक्स गिट्टी बोकेर बेलटारबाट गाईघाटतर्फ आउँदै गरेको प्र १–०२–००१ ख ८५१४ नम्बरको टिप्परले विपरित दिशातर्फ गईरहेको प्र १–०६–०५२ प ३९५८ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा बेलका नगरपालिका १ का ३० वर्षिय रबिन श्रेष्ठ र त्रियुगा नगरपालिका ३ की ३१ वर्षीया हिरा राईको मृत्यु भएको हो।

    उनीहरु दुर्घटना परी गम्भीर घाईते भएका र दुवैको उद्दार गरी जिल्ला अस्पताल गाईघाट ल्याइएकोमा ११ः३० बजेतिर अस्पतालका डक्टरले दुवैलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका निरीक्षक (इन्सपेक्टर) विद्यासुन्दर साहले बताए।

    मृतक दुवैको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै राखेर आफन्तलाई बुकाइएको छ। टिप्पर र चालक त्रियुगा नगरपालिका ७ नाम्जेका ३१ वर्षीय भिमबहादुर राईलाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

  • विद्युत् व्यापारका क्षेत्रमा नेपालले नयाँ इतिहास कायम गर्नेछ:  प्रधानमन्त्री दाहाल

    विद्युत् व्यापारका क्षेत्रमा नेपालले नयाँ इतिहास कायम गर्नेछ: प्रधानमन्त्री दाहाल

    प्रधानमन्त्री पुष्पकमल दाहालले ऊर्जा क्षेत्रको विकासमा नेपाल सरकार दृढतापूर्वक अगाडि बढी रहेको बताउँदै विद्युत् व्यापारमा नेपालले नयाँ इतिहास बनाउने बताएका छन।

    अरूण–३ जलविद्युत परियोजनाको ब्रेक–थ्रु कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले ऊर्जा क्षेत्रको प्रवर्द्धनका लागि सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने पर्याप्त प्रावधान ल्याएको बताए ।

    विद्युत् प्रसारण लाइन निर्माण र वितरण कार्यमा निजी क्षेत्र समेत सहभागी हुने गरी कानुनी प्रबन्ध गर्ने, जलाशययुक्त जलविद्युत आयोजनामा बाँध र विद्युत् गृह छुट्टाछुट्टै प्रवर्द्धकबाट निर्माण गर्ने गरी निजी क्षेत्रलाई लगानी गर्न आकर्षित गर्ने प्रावधान बजेटमा राखिएको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘आगामी आवमा ९ सय मेगावाट विद्युत् थप गरी राष्ट्रिय प्रणालीको विद्युत् क्षमता ४ हजार ५ सय मेगावाट पुर्‍याउने, आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात गर्ने व्यवस्था मिलाउने छ ।’

    सुक्खा यामको माग पूर्ति गर्न बुढी गण्डकी, दूधकोकी र नलसिङ्गाड जलाशययुक्त जलविद्युत आयोजना तथा नौमुरे बहुउद्देश्यीय जलविद्युत आयोजनाको निर्माण कार्य सुरु गर्ने तयारी गरेको बताउँदै प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारीमा गएका व्यक्तिको लगानीमा घुन्सा र सिम्बुवा जलविद्युत आयोजना निर्माण कार्य अगाडि बढाइने जानकारी दिए।

    प्रधानमन्त्रीले शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न जीवाश्म ऊर्जालाई स्वच्छ एवं नवीकरणीय ऊर्जाले क्रमशः विस्थापन गर्ने र त्यसका लागि हरित हाइड्रोजन प्रवर्द्धन गर्न अनुसन्धान र विकासका लागि आवश्यक बजेटको व्यवस्था गरिएको बताए। प्रधानमन्त्री दाहालले भने, ‘जलविद्युत आयोजना, प्रसारण लाइनको विस्तारलगायत ऊर्जा क्षेत्रको विकासका निम्ति बजेटमा व्यवस्था गरिएका कार्यक्रमहरूलाई दृढतापूर्वक अगाडि बढाउन सरकार प्रतिबद्ध छ ।’

    अरूण–३ जलविद्युत् परियोजनाको प्रसारण लाइन निर्माण र जग्गा प्राप्तिका लागि स्थानीय सरोकारवाला पक्षबिच सहमति हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले यस विषयलाई गम्भीरतापूर्वक लिई आवश्यक सहरीकरणका निम्ति स्थानीय तहमा क्रियाशील राजनीतिक दलहरू, नागरिक समाज र स्थानीय जनसमुदायमा विशेष आग्रह गरे ।

    ‘सरकार स्थानीय जनसमुदायको चासो र सरोकारका विषयहरू सम्बोधन गर्न गम्भीर र संवेदनशील छ,’ प्रधानमन्त्री दाहालले भने, ‘ठुला परियोजनाहरू समयमै सम्पन्न हुँदा त्यसले राष्ट्रिय अर्थतन्त्रमा मात्रै योगदान पुग्दैन, स्थानीय साधन स्रोतको उपयोग, रोजगारी सिर्जना, स्थानीय विकासका क्षेत्रमा नयाँ–नयाँ अवसरहरूको सिर्जना र विकासको ढोकासमेत खुल्दछ । तसर्थ, विकासका काममा सहकार्य र सहजीकरणको बाटोबाट समाधान खोज्नु नै हामी सबैको साझा हित हुन्छ ।’ उनले परियोजनालाई आवश्यक पर्ने जग्गा प्राप्तिका लागि मुआब्जा क्षतिपूर्ति निर्धारण र वितरण कार्य समयमै सम्पन्न गर्न सम्बन्धित सबैलाई निर्देशन दिए ।

    विकास र समृद्धि देशको साझा लक्ष्य भएको बताउँदै प्रधानमन्त्री दाहालले विकास र समृद्धिको यात्रामा लामबद्ध हुन सबैलाई अपिल गरे ।

    सन् २०२६ मा विकासशील मुलुकमा फड्को मार्ने र सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्ने प्राथमिकतासहित अगाडि बढिरहेको वर्तमान सरकारले पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिँदै आएको बताउँदै प्रधानमन्त्रीले भौतिक विकासलाई व्यवस्थित गर्दै जाँदा मानवीय विकासका क्षेत्रमा समेत छिटो प्रगति गर्न सकिने विश्वास व्यक्त गरे।

  • अब गैर नागरिक पनि अष्ट्रेलियन सेनामा भर्ती हुन पाउने

    अब गैर नागरिक पनि अष्ट्रेलियन सेनामा भर्ती हुन पाउने

    अस्ट्रेलिया सरकारले गैर नागरिकलाई पनि सेनामा भर्ना गर्ने भएको छ।

    देशको कम जनसङ्ख्याका कारण राष्ट्रले सेना भर्तीको लक्ष्यहरू पूरा गर्न सङ्घर्ष गरिरहेको भन्दै अस्ट्रेलिया सरकारले गैर–नागरिकहरूलाई आफ्नो सशस्त्र सेनामा भर्ती हुन अनुमति दिने भएको हो।

    ‘जुलाईबाट १२ महिनादेखि अष्ट्रेलियामा बसोबास गरिरहेका स्थायी बासिन्दाहरूलाई सेनामा भर्ती हुने अनुमति दिइनेछ र बेलायत, क्यानडा, न्युजिल्यान्ड र संयुक्त राज्य अमेरिकाका नागरिकहरूलाई प्राथमिकतामा राखिनेछ,’ रक्षामन्त्री रिचर्ड मार्लेसले बताए।

    देशको बढ्दो चुनौतीसँग सामना गर्न क्यानबेराले हालैका वर्षहरूमा पनडुब्बी, जेट र धेरै लडाकु सवारी साधनजस्ता रक्षाको क्षेत्रमा खर्च बढाएको छ। दुई करोड ६० लाख जनसङ्ख्या रहेको अस्ट्रेलियाले उक्त सामग्री सञ्चालन र मर्मत गर्न पर्याप्त जनशक्तीका लागि सङ्घर्ष गरिरहेको छ।

    अस्ट्रेलियन रक्षाबलमा हाल लगभग ९० हजार कर्मचारीहरू रहेको अस्ट्रेलियन स्ट्रेटेजिक पोलिसी इन्स्टिच्युटले जनाएको छ।

    रक्षामन्त्री मार्लेसले राष्ट्रका सुरक्षा चुनौतिहरूको सामना गर्न अस्ट्रेलियामा रक्षाबलको विकास आवश्यक रहेकोले उक्त निर्णय गरिएको बताए। रासस

  • बजेट वक्तव्य ‘माछो माछो भ्यागुतो’ जस्तो: सांसद पाण्डे

    बजेट वक्तव्य ‘माछो माछो भ्यागुतो’ जस्तो: सांसद पाण्डे

    राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद विक्रम पाण्डेले राष्ट्रिय सरकार बनाउनुपर्ने धारणा राखेका छन्। मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद पाण्डेले गणतान्त्रिक व्यवस्थाले गन्तव्यमा पु¥याउन नसक्ने भन्दै राष्ट्रिय सरकार गठन गरेर अघि बढ्नुपर्ने बताएका हुन्। उनले गणतन्त्ररुपी गाडीको तेल सकिइसकेकाले गन्तव्यमा पुग्न नसक्ने टिप्पणी गरे।

    उनले भने, ‘बजेट भाषणमा जे परेपनि नपरेपनि हुने कुरा केही पनि छैन। टाँइटाँइ फिस भनेजस्तो माछा माछा भ्यागुतो हुनेजस्तो छ अरु कुराहरु केही देखिदैनँ। त्यसैले गर्दा यो देशमा राष्ट्रिय सहमतीको साथ आफूले गरेका गल्तीहरुलाई स्वीकारेर तुरुन्तै राष्ट्रिय सरकार गठन गरेर अगाडी बढेनौँ भने यो देशमा गणतन्त्ररुपी गाडीको तेल सकिइसकेको अवस्था छ। गन्तव्यमा पुग्न नसक्ने अवस्था छ। यति हुँदाहुँदै पनि हामीले किन चेत्दैनाैँ र किन नयाँ सोचका साथ हामी अगाडी बढ्दैनौँ। यसको लागि म सम्पूर्ण दलका नेताहरुलाई निवेदन गर्न चाहान्छु यो समस्याबाट देशलाई मुक्त गर्न अगाडी बढ्नको लागि अनुरोध गर्दछु।’

    उनले बजेटमा उल्लेख गरिएका कुराहरु पुरा नहुने समेत बताए ।

  • टी–२० विश्वकप क्रिकेट: नेपाल सबैभन्दा कान्छो खेलाडीहरूको टीम!

    टी–२० विश्वकप क्रिकेट: नेपाल सबैभन्दा कान्छो खेलाडीहरूको टीम!

    आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाल सबैभन्दा कान्छा खेलाडीहरूको देश बनेको छ।

    ९ औं संस्करणको आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालसहित विश्वका २० टीमले सहभागीता जनाउँदै छन्। जसमा तुलनात्मक रुपमा नेपाली टीममा सबैभन्दा कम उमेरका खेलाडीहरू रहेका छन्।

    नेपालका कप्तान रोहित पौडेल आईसीसी टी–२० विश्वकप क्रिकेटमा सबैभन्दा कान्छा कप्तान रहेका छन् भने गुलशन झा सबैभन्दा कम उमेरका खेलाडी रहेका छन्।

    रोहित पौडेल २१, दीपेन्द्रसिंह ऐरी २४, गुलशन झा १८, अविनाश बोहरा २६, सोमपाल कामी २८, प्रतिश जीसी २०, सन्दीप जोरा २२, कुशल भुर्तेल २७, ललित राजवंशी २५, कुशल मल्ल २०, कमलसिंह ऐरी २३, आशिफ शेख २२, अनिल साह २५, सागर ढकाल २२ वर्षका छन् भने करण केसी मात्रै ३२ वर्षका छन्।

  • योगेशले बालेनलाई भनेः आफू काठमाडौं महानगरपालिकाको प्रमुख हुँ भन्ने नभुल्नुस्

    योगेशले बालेनलाई भनेः आफू काठमाडौं महानगरपालिकाको प्रमुख हुँ भन्ने नभुल्नुस्

    नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौंका मेयर बालेन्द्र साह (बालेन) ले संयमता गुमाउँदै गएको बताएका छन्। मंगलवार प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै सचिव भट्टराईले मेयर साहले एमाले अध्यक्ष ओलीले दिएको तबला उपहार करुणा,प्रेम,सद्भाव र संयमता कायम गर्न भएपनि प्रमुखले संयमता गुमाउँदै गएको बताए।

    उनले प्रमुख साहले तबेलाको धुनमा काम गर्नुपर्नेमा विपरित रुपमा अगाडि बढेको र मेयर साहलाई आफू काठमाडौं महानगरपालिकाको प्रमुख हुँ भन्ने नभुल्न चेतावनी दिए।

    उनले संविधानले नै हरेक व्यक्तिको सीमा र अधिकार तोकेको बताए। यस्तै,उनले काठमाडौं महानगरपालिका र सडक विभागबीच मतभेदहरु उत्पन्नहरु हुँदा दोष एमाले र एमालेका अध्यक्षले बोक्नुपर्ने ? भन्दै प्रश्न गरे।

    उनले भने,‘बोलेन्द्र साहले संगितको ड्रम बजाएर नै आउनु भएको थियो। तर अध्यक्षले सोच विचार गरेर तबेला दिनुभयो। मेयरलाई तबेलाको धुनमा काम गर्नुस्। तबेलाको अर्थ हो। कुरुणा,प्रेम,सदभाव र सम्यमता हो। तर काठमाडौं महानगरपालिका प्रमुखले सम्यमता गुमाउँदै जानु भएको छ। काठमाडौं महानगर मुलुकको राजधानी हो। महानगरपालिका जनप्रतिनिधि काठमाडौंको सभ्यताको प्रतिनिधित्व गर्छ। नेपालको सभ्यताको प्रतिनिधित्व गर्छ। ऋषीमुनी र बुद्धले बनाएको सभ्यता छ। आज त्यो सभ्यातामाथि धावा बोलिदै छ। २०५४ सालमा एमालले २०५४ सालमा महानगरपालिकाको निर्वाचन जितेपछि काठमाडौंलाई सभ्य सहर बनाउने सफा सहर बनाउने र वैकल्पिक बाटोहरु खोल्नको निम्ति बागमती,विष्णुमति,मनोहरा करिडोर बनायौं। खुसीबु जग्गा पल्यानिङ,टाउनपल्यानिङ गरौं। नयाँ शहर बनाउने थालनी गरेका हौं। काठमाडौंका बाटा चौडा बनायौं। माइतीघरमण्डला,तीनकुने चौडा बनाउने कुरामा भुमिका खेल्यौं। विद्यासुन्दर शाक्य मेयर भएर आएपछि काठमाडौंको भुकम्पपछिको निर्माणमा उल्लेखिय भूमिका खेल्यौं। रानीपोखरी,कमलपोखरी,दरबार स्कुल,काठमाडौं दरबार स्वयेर पुनर्निर्माण गरौं। काठमाडौं महानगरका प्रमुखलाई सहयोग गर्न तयार छौं। मेयर बोलन जीलाई भन्न चाहन्छु पैसा कति चाहियो। सरकार दिन तयार छ। प्रधानमन्त्री,अर्थमन्त्रीलाई भनौला काठमाडौंलाई अझ सुन्दर बनाउन तपाईका योजना के छन्। आउनुस हामीसँगै काम गरौंला। तर उत्तेजना फैल्याएर,उश्रृखल गतिविधि गरेर होएन। तपाईमार्फत लाखौ युवाहरुले यो देशको भविष्य खाजेका हुन्। लाखौं युवाहरुले आफ्नो भविष्य,सपना तपाई मार्फत खोजेका हुन। पछिल्लो दिनमा तपाई जसरी जाँदै हुनुहुन्छ। ती युवाहरु माथिको सपनालाई र मुलुकलाई धोका दिँदै हुनुहुन्छ।’

    ‘मेयरले नेताहरु जेल बसेको कुरालाई मज्जाकले उडाउनु भयो। हामीलाई दुख लागेको छ। केपी ओली,शेरबहादुर देउवा,पुष्पकमल दाहाल, माधव नेपाल,महन्त ठाकुर,अशोक राई,उपेन्द्र यादव लगायत अग्रभावमा हुनेहरु जेल बसेर यो व्यवस्था ल्याएका हुन्। त्यस बापत काठमाडौं महानगरको मेयर तपाई हुनुभएको छ। ती नेताहरुको जेल बसाईलाई मज्जाक उडाउने। हामी भन्न चाहन्छौं। जो मान्छे जसले इतिहास माति गर्व गर्न सक्छ। यसरी तपाईले भण्डाफोर गर्ने हो भने आफ्नै आमा माथि तपाईले चिथोर्दै हुनुहुन्छ। तपाई आफ्नै आमाको अस्मिता माथि प्रश्न उठाउँदै हुनुहुन्छ। तपाई काठमाडौं महानगरपालिकाको मेयर हो भन्ने कुरा नभुल्नको लागि आग्रह गर्न चाहन्छु,’ उनले भने।

    यसैबिच उनले नेताहरू जेल बसेको कुरालाई खिसिट्युरीका रुपमा उडाएको भन्दै असन्तुष्टि जनाए। देशमा यो व्यवस्था ल्याउनको लागि मरिमेटेका नेता र एमालेको नेतृत्वमाथि गालीगलौज गर्नु आफैँ आकाशतिर फर्किएर थुक्नु जस्तो भएको उनको भनाइ छ।

    उनले नेकपा एमाले अहिलेसम्म भएका हरेक घटनामा छानविनको लागि तयार रहेको र कसैले पनि एमालेमाथि कसी लगाउन नपर्ने बताए। उनले महाभारतमा अभिमन्युलाई घेराभित्र राखेर मार्न खोजिएको जस्तै तीन वर्ष एमालेलाई घेरबन्दी गर्न खोजिएको तर आजको आधुनिक एमाले र एमाले अध्यक्ष केपी ओली आजको अभिमन्यु भएको दाबी गरे।

  • विपद् व्यवस्थापनमा राज्य संवेदनशील हुन सकेन: सभापति पन्त

    विपद् व्यवस्थापनमा राज्य संवेदनशील हुन सकेन: सभापति पन्त

    विकास,आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले विपद् व्यवस्थापनमा राज्य संवेदनशील हुन नसकेको बताएकी छिन्।

    काठमाडौंमा आयोजित कार्यक्रममा उनले सरकारमा विपद् व्यवस्थापन गर्ने प्रतिवद्धता हुनुपर्ने बताएकी हुन । उनले विपद् व्यवस्थापन गर्ने प्रतिवद्धता सरकारमा हुने हो भने हेलम्बु, मेलम्ची लगायतका विपद् जोखिम स्थानका बासिन्दाहरूले दुःख भोग्नु नपर्ने बताइन।

    उनले हेलम्बु र मेलम्चीमा अझै पनि जोखिम भएकाले बस्ती स्थानान्तरण गर्न आवश्यक रहेको बताइन।उनले दिगो विकासको लक्ष्य पूरा गर्ने गरी अघि बढ्न जोड दिइन ।सभापति पन्तले विज्ञहरूले समस्या केलाउने मात्र नभई समाधानका उपायहरू पनि दिन सुझाव दिइन।

    उनले जलवायु परिवर्तनकै कारण मेलम्चीमा बाढी गएको हो भन्ने कुरामा सबैको एकमत हुनसके नेपालले जलवायु परिवर्तनसम्बन्धी वित्त कोषबाट मेलम्चीका लागि पनि केही सहायता प्राप्त गर्ने बताइन । उनले सबैले एक सूत्रीय हिसावले अघि बढ्न सके जलवायु वित्त प्राप्त गर्न कठिन नहुने बताइन । उनले द्वन्द्व व्यवस्थापनमा सरकारले बढी जोड दिनुपर्ने र मेलम्ची र हेलम्बुका नागरिकलाई वर्षा याममा कहाँ जाने भन्ने डरबाट मुक्ति दिनुपर्ने बताइन।