Blog

  • एमाले पोखरा महानगरमा अधिकारी समूहको वर्चस्व

    एमाले पोखरा महानगरमा अधिकारी समूहको वर्चस्व

    नेकपा एमाले पोखरा महानगर कमिटीमा खगराज अधिकारी समूहले वर्चस्व जमाएको छ। पोखरा महानगर कमिटीको सोमबार सम्पन्न अधिवेशनमा अध्यक्षसहित पदाधिकारी तथा सदस्यहरूमा अधिकारी समूहले वर्चस्व जमाएको हो।

    एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूह र पूर्व संगठन विभाग प्रमुख खगराज अधिकारी समूहले प्यानलै बनाएर गरेको प्रतिस्पर्धामा अधिकारी समूह हाबी भएको हो।

    अध्यक्षमा अधिकारी समूहका जीवनप्रसाद आचार्य गुरुङ समूहका दीपक पौडेललाई ६७ मतान्तरले पछि पार्दै विजयी भए। कुल ४८७ मत खसेकोमा निर्वाचित अध्यक्ष आचार्यले दुई सय ७७ मत प्राप्त गरे भने पराजित पौडेलले दुई सय १० मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।

    त्यस्तै, उपाध्यक्षमा अधिकारी समूहकै नरेन्द्रनाथ ढुंगाना विजयी भए। उनी गुरुङ समूहका मोहन गुरुङलाई ८१ मतान्तरले पछि पार्दै विजयी भए। विजयी ढुंगानाले दुई सय ८४ मत प्राप्त गरे भने पराजित गुरुङले दुई सय तीन मत प्राप्त गरे।

    सचिवमा अधिकारी समूहका सुशील बस्नेत गुरुङ समूहका दिनेशबाबु खड्कालाई ४७ मतान्तरले पछि पार्दै विजयी भए। विजयी बस्नेतले दुई सय ६७ मत प्राप्त गर्दा पराजित खड्काले दुई सय २० मत प्राप्त गरे।

    उपसचिव (खुला) मा विष्णुप्रसाद गौतम र उपसचिव (महिला) मा हरिमाया विश्वकर्मा निर्वाचित भए। उपसचिव खुलामा गौतमले एक सय ३३ मतान्तरले गुरुङ समूहका लालबहादुर रानालाई पराजित गरे।

    विजयी गौतमले तीन सय १० मत प्राप्त गर्दा पराजित रानाले एक सय ७७ मत मात्र प्राप्त गरे। उपसचिव (महिला)मा विश्वकर्माले गुरुङ समूहका किरण गौतमलाई ७३ मतान्तरले पराजित गरिन्। विजयी विश्वकर्माले दुई सय ८० मत प्राप्त गरिन् भने पराजित गौतमले २०७ मत प्राप्त गरिन्।

    त्यस्तै महानगरपालिकाको खुला १० सदस्यहरूमा झलकप्रसाद बराल (४२५), शंकर भट्टराई (४०३), सूर्यप्रसाद उपाध्याय (३७३), जीवन तिवारी (३१३), कृष्ण आचार्य (३०६), टंकप्रसाद सुवेदी (२९६), दानबहादुर शाही (२८८), प्रदीप सुवेदी (२८७), राजेन्द्रप्रसाद पौडेल (२८०) र प्रेमराज बसौला (२६२) मत ल्याउँदै विजयी भए।

    महिला पाँच सदस्यमा सीता केसी (३१३), लक्ष्मी तिम्सिना (३०४), कुलमाया पौडेल (३०३), राधिका पौडेल (३०१) र मीनाकुमारी ठकुरीले (२८४) मत ल्याउँदै विजयी भए।

    युवा खुला १३ सदस्यहरूमा प्रदीप गुरुङ (३०८), ई. भवसागर रानाभाट (३०५), शंकर पौडेल (२९९), इच्छाबहादुर गुरुङ (२९७), भक्तबहादुर गुरुङ (२९१), विनोद भण्डारी (२८०), राजेन्द्र गिरी (२७९), विष्णु बास्तोला (२७९), सुविन तिमिल्सेना (२७८), सन्तोष थापा (२७४), लोकेन्द्रराज (उत्तम) गिरी (२६८), सुनिल गोतामे (२६७), उषादेवी गुरुङ (२९८), तिलमाया सुवेदी भण्डारी (२९३) र लक्ष्मी अधिकारी (२९२) मत ल्याएर विजयी भए।

    दलित महिला दुई सदस्यमा सरला नेपाली (२८४) र शोभा विक (२७६) मत ल्याएर विजयी भए। अपाङ्गता खुला एक सदस्यमा गणेश बराल (३२२) मत ल्याएर विजयी भए। त्यसबाहेक महानगरका ३३ वटै वडाका प्रत्येक वडाबाट एक एक जना सदस्य पनि निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

    महानगर कमिटीको लेखा कमिटी अध्यक्षमा दुर्योधन गिरी (२६४), उपाध्यक्षमा विष्णुहरि तिवारी (२८८), सचिवमा कमलमोहन त्रिपाठी (२९७) तथा खुला सदस्यमा सञ्जयबाबु भट्टराई (३०३) र महिला सदस्यमा पवित्रा केसी (२९५) मत ल्याएर विजयी भए।

  • अफगानिस्तानले युगान्डालाई दियो १८४ रनको लक्ष्य

    अफगानिस्तानले युगान्डालाई दियो १८४ रनको लक्ष्य

    आईसीसी विश्वकप टी–२० अन्तर्गत अफगानिस्तानले युगान्डासमक्ष १८४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

    गुएनास्थित प्रोभिडेन्स स्टेडियममा भइरहेको खेलमा युगान्डाले टस जितेर अफगानिस्तानलाई पहिला ब्याटिङ्ग गर्न निम्तो दिएको थियो। जसमा अफगानिस्तानले धमाकेदार प्रदर्शन गर्दै निर्धारित ओभरमा ५ विकेट गुमाएर १८३ रन बनायो।

    अफगानिस्तानका लागि ओपनर ब्याट्सम्यान रहमानुल्लाह गुरबाजले सर्वाधिक ७६ रनको पारी खेले भने इब्राहिम जरदानले ७० रन जोडे। युगान्डाका कप्तान ब्रिएन मसाबा र कसमस केउटाले समान २÷२ विकेट लिँदा अल्पेश रामजानीले १ विकेट लिए।

    पहिलोपटक विश्वकप खेलिरहेको युगान्डाका बलरहरूसमक्ष अफगानी ब्याट्सम्यानले तुफानी पारी खेले।

    यता, १८४ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रेको युगान्डाले कमजोर सुरुआत गर्दै ३ विकेट गुमाइसकेको छ।

    प्रतियोगिता अन्तर्गत आजै इङग्ल्यान्ड र स्कटल्यान्ड अनि नेपाल र नेदरल्यान्ड्सबीच खेल हुनेछ

  • दोहोरो नागरिकतामा गुरुङ अदालतबाट पनि दोषी ठहर

    दोहोरो नागरिकतामा गुरुङ अदालतबाट पनि दोषी ठहर

    दोहोरो नागरिकता विवादमा वीरेन्द्रनगर नगर कार्यपालिकाका सदस्य नवराज गुरुङ जिल्ला अदालतबाट पनि दोषी ठहर भएका छन्। जिल्ला प्रशासन कार्यालयले दोहोरो नागरिकतामा दोषी ठहर गर्दै नागरिकता रद्द गर्नुका साथै पाँच सय रूपैयाँ जरिवानाको निर्णय गरेपछि गुरुङ अदालत पुगेका थिए।

    जिल्ला न्यायाधीश हिरण्यप्रसाद भण्डारीको इजलासले प्रशासनको फैसला सदर गरेको हो। अदालतका सूचना अधिकारी उज्ज्वलदेव रावलले दोहोरो नागरिकताको सन्दर्भमा जिल्ला प्रशासन कार्यालयको निर्णय सदर भएको बताए।

    ‘न्यायाधीश हिरण्यप्रसाद भण्डारीको एकल इजलासले वीरेन्द्रनगर नगर कार्यपालिका सदस्य गुरुङसँग रहेका दुईमध्ये दोस्रो पटक लिएको नागरिकता खारेज गर्ने र पाँच सय रूपैयाँ जरिवाना गर्ने गरेको निर्णय सदर गरेको हो,’ सूचना अधिकारी रावलले भने, ‘फैसलाको पूर्ण पाठ तयार हुँदै छ।’

    नेपाली कांग्रेसका तर्फबाट कार्यपालिका सदस्यका उम्मेदवार यामबहादुर विकले गुरुङले दोहोरो नागरिकता लिएको भन्दै २०७९ असार २ गते उजुरी दिएका थिए। उजुरीमा दोस्रो पटक लिएको नागरिकताको आधारमा गुरुङले कार्यपालिका सदस्यमा उम्मेदवारी दिएको र विजयी भएको बताउँदै उनलाई पदमुक्त गर्न र दोहोरो नागरिकतामा कैद सजायको माग गरिएको थियो।

    गुरुङले जिल्ला प्रशासन कार्यालय सुर्खेतबाट २०४५ पुस २८ गते ११८७५ नम्बरको पहिलो नागरिकता र २०४९ साउन २१ गते १७१२२ नम्बरको दोस्रो नागरिकता लिएका थिए। उनको पहिलो नागरिकतामा जन्म मिति २०२८ कात्तिक ३ गते छ भने दोस्रो पटक लिएको नागरिकतामा २०३० माघ २८ गतेको जन्म मिति राखिएको छ।

    तत्कालीन प्रमुख जिल्ला अधिकारीले २०७९ माघ ५ गते र २०४९ साउन २१ गते जारी भएको नागरिकता प्रमाणपत्र नम्बर १७१२२ को दोस्रो पटक जारी भएको नागरिकता प्रमाणपत्र रद्द गर्नुका साथै पाँच सय जरिवानाको निर्णय सुनाएका थिए।

    प्रशासन कार्यालयले गुरुङसँग २०७९ असार २० गते बयान लिएको थियो। बयानका क्रममा उनले २०४९ साउन २१ गते जारी भएको नागरिकता प्रमाणपत्र मात्रै लिएको दाबी गरेका थिए।

    ‘मेरो सबै शैक्षिक प्रमाणपत्र, जग्गाधनी प्रमाणपुर्जा तथा व्यापार व्यवसाय दर्ता प्रमाणपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र तथा बसाइँसराइदेखि छोराछोरीको जन्मदर्ता प्रमाणपत्रमा समेत मैले लिएको नागरिकता प्रमाणपत्र नम्बर १७१२२ नै प्रयोग भएका छन्,’ उनले बयानमा भनेका थिए, ‘मैले दोहोरो नागरिकताको प्रमाणपत्र लिएको छैन, मसँग एउटा मात्र नागरिकताको प्रमाणपत्र छ, २०४५ पुस २८ गते ११८७५ नम्बरको नागरिकता नम्बरबाट मैले कुनै पनि सरकारी पदमा रही सेवासुविधा उपभोग गरेको छैन, त्यसकारण १७१२२ नम्बरको नागरिकता कायम गरिपाऊँ।’

    जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी पदम लामिछानेले प्रशासनले गरेको निर्णय जिल्ला अदालतले सदर गरेको जानकारी भए पनि त्यसको लिखित जानकारी नभएको बताए।

    ‘तत्कालीन प्रजिअले दोहोरो नागरिकतामा गुरुङलाई दोषी ठहर गर्दै पछिल्लो पटक लिएको नागरिकता रद्द गर्नुका साथै पाँच सय जरिवाना गर्ने निर्णय भएको थियो,’ सूचना अधिकारी थापाले भने, ‘जिल्ला अदालतले पनि प्रशासनको निर्णय सदर गरेको जानकारीमा छ तर लिखित आइपुगेको छैन।’

    उनले अदालतबाट पूर्णपाठ आएपछि थप प्रक्रिया अघि बढ्ने बताए। गुरुङले प्रशासनले गरेको निर्णयअनुसार पाँच सय रूपैयाँ जरिवाना पनि नतिरेको प्रशासनले जनाएको छ।

  • हेल्प नेपाल र एभरेस्ट भलिबल क्लब शीर्ष स्थानमा

    हेल्प नेपाल र एभरेस्ट भलिबल क्लब शीर्ष स्थानमा

    आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा हेल्प नेपाल र एभरेस्ट भलिबल क्लबले शीर्ष स्थानमा आफ्नो दबदबा कायम राखेका छन्।

    नेपाल भलिबल संघ (एनभिए) को आयोजनामा त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा जारी तेस्रो खेलसम्म अपराजित रहँदै हेल्प नेपालले नौ अंक जोडेको छ। हेल्प नेपालले बुढानीलकण्ठ भलिबल क्लब, कोसी प्रदेश भलिबल एसोसिएसन, सुदूरपश्चिम स्पोर्ट्स बोर्डलाई पराजित गरेको हो।

    प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब रगण्डकी प्रदेश भलिबल एसोसिएसन पनि अपराजित रहेका छन्। उनीहरूको पनि समान नौ अंक रहेको छ। तर, सेटको आधारमा हेल्प नेपाल पहिलो, आर्मी दोस्रो, पुलिस तेस्रो रगण्डकी चौथो स्थानमा रहेका छन्।

    विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफले एक अंक जोड्दा सुदूरपश्चिम, कोसी रबुढानीलकण्ठ अंकविहीन छन्। महिलातर्फ भने दुई खेलमा अपराजित रहेको एभरेस्ट शीर्ष स्थानमा छ। एभरेस्टले कर्णाली प्रदेश खेलकुद विकास बोर्ड रआर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै ६ अंक जोडेको थियो।

    दुई खेलमै अपराजित रहेका पुलिस रएपिएफ भने समान पाँच अंकसहित दोस्रो रतेस्रो स्थानमा छन्। चन्द्रगिरि नगरपालिका न्यु डायमन्ड रआर्मीको समान एक अंक रहेको छ भने कोसी अंकविहीन रहेको छ।

    जेठ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ आठ रमहिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। लिगमा पुरुषतर्फ २८ खेल रमहिलातर्फ १५ खेल हुनेछ।

  • सरकारकै आग्रहमा अक्सिजन जेनेरेसन प्लान्ट खरिद: युनोप्स

    सरकारकै आग्रहमा अक्सिजन जेनेरेसन प्लान्ट खरिद: युनोप्स

    कोरोना कालमा अक्सिजन जेनेरेसन प्लान्ट खरिद गर्दा राज्यलाई करोडौं रूपैया व्ययभार पारेको विषयमा संयुक्त राष्ट्रसंघीयको परियोजना सेवा कार्यालय ‘युनोप्स’ले आफ्नो कार्यालय त्यस्तो कार्यमा संलग्न नभएको जनाएको छ।

    स्वास्थ्य सेवा विभागले कोरोना महामारीको कारण देखाएर युनोप्सलाई खरिद अधिकार दिएपछि राज्यलाई करोडौं रूपैयाँ व्ययभार परेको समाचारमा आफ्नो संलग्नता नभएको जनाएको हो।

    स्वास्थ्य सेवा विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साझेदारी र विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालित परियोजना मे २०२१ देखि सुरु भई १५ जुलाई २०२४ मा सम्पन्न हुने जानउँदै परियोजनाको कुल बजेट अमेरिकी डलर ४ करोड ५१ लाख ७ हजार ३७८ रहेको छ।

    ‘युनोप्सका अनुसार सो परियोजनाअन्तर्गत स्वास्थ्य मन्त्रालयले सात प्रदेशकालागि जेनेरेटर, प्लान्ट भवनसहित सातवटा अक्सिजन प्लान्ट स्थापना गरी मर्मत सम्भार तथा सञ्चालन गर्न, एक हजार थान अक्सिजन कन्सेन्ट्रेटर र पिसिआर किट खरिद गर्न युएनओपिएसलाई अनुरोध गरिएको थियो। यस परियोजनाबाट जडान भएका अक्सिजन प्लान्टहरूबाट हालसम्म सात प्रदेशमा ४ लाख ५६ हजार भन्दा बढी व्यक्तिले अक्सिजन थेरापी सेवाप्राप्त गरिसकेको युनोप्सले जनाएको छ।

    सन् २०२१ मा कोभिड–१९ को प्रकोप उत्कर्षमा पुगेको समय भएको, अक्सिजनको माग विश्वव्यापी रूपमा अत्यधिक रहेको तर आपूर्ति अत्यन्त न्यून रहेको, आपूर्ति शृंखला बिल्कुल टुटेको, अन्तर्राष्ट्रिय लकडाउन भएको, अन्तर्राष्ट्रिय उडान बन्द भएको तथा पानीजहाजको सञ्चालनसमेत रोकिएको अवस्थामा अक्सिजन प्लान्ट खरिदको जिम्मेवारी युएनओपिएसलाई दिइएको जनाएको छ।

    यस परियोजनाअन्तर्गत खरिद भएका अक्सिजन प्लान्ट र तिनका उपकरणहरूको प्राविधिक स्पेसिफिकेसन चिकित्सा क्षेत्रका विज्ञहरूको सहयोगमा तयार पारिएका थिए र साझेदार तथा दाताबाट स्वीकृत भएको पनि युनोप्सले जनाएको छ।

    ‘यस परियोजनाअन्तर्गत खरिद भएका अक्सिजन प्लान्ट र तिनका उपकरणहरू युएन ओपिएस को खरिद प्रक्रिया अवलम्बन गर्दै बायो–मेडिकल विज्ञहरूको सहयोगमा प्राविधिक स्पेसिफिकेसन तयार पारिएको थियो र साझेदारबाट स्वीकृत भएका थिए,’ युनोप्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

    यसका साथै सम्बन्धित बोलपत्र युएनओपिएस मुख्यालयको खरिद समितिले स्वतन्त्र रूपमा समीक्षा गरी स्वीकृति प्रदान गरेको थियो। युएनओपिएसअन्तर्गत सञ्चालित कुनै पनि खरिद प्रक्रिया र वित्तीय कारोबारहरूको आन्तरिक एवं बाह्य लेखा परीक्षण स्वतन्त्र रूपमा रहेका आन्तरिक लेखापरीक्षण र अनुसन्धान समूह (आइएआइजी) तथा संयुक्त राष्ट्रसंघ लेखापरीक्षण बोर्डबाट गरिने पनि जनाएको छ।

    सामान्यतया, अक्सिजन प्लान्टको लागत अमेरिकी डलर १५ हजार देखि अमेरिकी डलर ५ लाखबीच हुने गरेको जनाउँदै यस्तो लागत प्लान्टको क्षमता, आकार, गुणस्तर, खरिदको समय र तिनीहरूलाई स्थापना गर्ने भवन तथा अन्य आवश्यक पूर्वाधार कार्यहरूमा निर्भर गर्ने उल्लेख गरेको छ।

    युएनओपिएसले खरिद गरेको ‘डुप्लेक्स’ अक्सिजन प्लान्टहरूमा दुई छुट्टाछुट्टै एकाइहरू छन्। यसबाट अस्पतालमा सिधै अक्सिजन उपलब्ध गराउनुका साथै आपतकालीन ब्याकअप र एम्बुलेन्स प्रयोगका लागि सिलिन्डरमा अक्सिजन भर्न पनि सकिने पनि युनोप्सले जनाएको छ।

  • संसद बैठक बस्दै, यस्ता छन् आजको कार्यसूची

    संसद बैठक बस्दै, यस्ता छन् आजको कार्यसूची

    प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

    संसद सचिवालयका अनुसार आजको बैठकमा पनि आ.व.२०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने छ।

    यस्तै आजको बैठकमा सभामुख देवराज घिमिरेले शोक प्रस्तावहरू प्रस्तुत गर्नेछन्।

    नेपाली कांग्रेस पार्टीबाट २०६४ सालको संविधान सभामा ताप्लेजुङ्ग निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित र २०७० सालमा समानुपातिक निर्वाचन प्रणालीमार्फत् संविधान सभा सदस्यमा निर्वाचित सदस्य, पूर्व श्रम तथा रोजगार र स्थानीय विकास मन्त्री तथा लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्त्वदायी भूमिका निर्वाह गरेका सूर्यमान गुरुङको ८२ वर्षको उमेरमा गत वैशान २५ गते उपचारको क्रममा निधन भएकोमा आजको बैठकमा शोक प्रस्ताव प्रस्तुत हुनेछन्।

    यस्तै, नेपाली कांग्रेसबाट २०४८ सालको प्रतिनिधि सभा सस्दय निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित सदस्य तथा लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्त्वदायी भूमिका निर्वाह गरेका शैयद मेहराज अहमद शाहको ८५ वर्षको उमेरमा गत वैशाख २५ मा निधन भएको प्रति पनि सभामुखले शोक प्रस्ताव गर्ने छन् भने २०५८ मा नेपाली कांग्रेसबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका साथै नेपालमा भएका हरेक लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्त्वदायी भूमिका निर्वाह गरेका खगेन्द्रराज रेग्मीको ७५ वर्षको उमेरमा गत जेठ १ मा निधन भएकोप्रति पनि शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

  • पर्ती जग्गा सरकारको हुने सर्वोच्चको ठहर

    पर्ती जग्गा सरकारको हुने सर्वोच्चको ठहर

    सर्वोच्च अदालतले करिब ३० वर्षदेखि व्यक्तिले भोगचलन गरिरहेको ९३ रोपनी सार्वजनिक पर्ती जग्गा सरकारका नाममा हुने ठहर गर्दै सामुदायिक सम्पत्तिको संरक्षण गर्न स्थानीय तहका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ।

    न्यायाधीशहरू सपना प्रधान मल्ल र नहकुल सुवेदीको संयुक्त इजलासले विशेष अदालतको फैसला उल्टाउँदै सरकारी पर्ती जग्गा व्यक्तिका नाममा बनाएर भ्रष्टाचार गरेको ठहर्‍याएको हो। यससम्बन्धी २०७९ चैत १३ मा भएको फैसलाको पूर्ण पाठ सर्वोच्चले हालै सार्वजनिक गरेको छ ।

    सर्वोच्चले नवलपरासीको ९३–२–३–० रोपनी जग्गा व्यक्तिका नाम दर्ता बदर गरी सरकारी सार्वजनिक कायम गरी अभिलेख अद्यावधिक गर्न भनेको छ।

    ‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९७ तथा मुलुकी देवानी संहिताको दफा ३०४ र ३०६ अनुसार आफ्नो क्षेत्रभित्रका सरकारी सामुदायिक सम्पत्तिको हेरचाह र संरक्षण गर्ने जिम्मेवारी स्थानीय प्रशासन तथा स्थानीय तहको देखिँदा साबिक कित्ता नम्बर ९९ को सार्वजनिक जग्गामा वन, वाटिका, सार्वजनिक उद्यान बनाई आवश्यक संरक्षण र हेरचाह गर्नू भनी सम्बन्धित मालपोत कार्यालय, स्थानीय प्रशासन तथा स्थानीय तहका नाममासमेत विशेष निर्देशनात्मक आदेश जारी गरिएको छ,’ फैसलाको पूर्ण पाठमा भनिएको छ।

    कुरा २०५५ सालको हो। तत्कालीन मालपोत कार्यालय कावासोती नवलपरासीले ९३ रोपनी सरकारी पर्ती जग्गा व्यक्तिका नाममा बनाउने निर्णय गरेको थियो। नवलपरासीको गैंडाकोट तत्कालीन आदर्श गाविसको १, २, ३ मा पर्ने नदी किनारको अधिकांश सार्वजनिक जग्गा मालपोत कार्यालयका कर्मचारी र स्थानीय ईश्वरीप्रसाद पौडेलसमेतको मिलेमतोमा व्यक्तिका नाममा दर्ता गरेको भेटिएको थियो।

    अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेका आधारमा सरकारी पर्ती जग्गा व्यक्तिका नाममा बनाइएको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरिएको थियो। २०५५ सालमा मालपोत कार्यालय कावासोतीका तत्कालीन प्रमुख चिरञ्जीवीलाल राजण्डारीले कीर्तिनाथ चालिसेका नाममा ४० रोपनी, लक्ष्मीप्रसाद पौडेलका नाममा २६ रोपनी र लोकनाथ सापकोटाका नाममा २७ रोपनी जग्गा दर्ता गर्ने निर्णय गरेका थिए। अख्तियारले सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरी सरकारलाई हानि पुर्‍याएको भन्दै भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। अख्तियारले तत्कालीन मालपोत प्रमुखसहित चारजनालाई विपक्षी बनाई मुद्दा दर्ता गरेको थियो।

    विशेष अदालतले २०६६ साल माघ २७ मा उक्त जग्गा बदनियतसाथ बनावटी प्रमाण बनाई व्यक्तिका नाममा दर्ता गरेको दाबी पुष्टि नभएको, बदनियतसाथ दर्ता गरे गराएको प्रमाणित नभएकाले र सरकारी पर्ती जग्गा दर्ता गरेको देखिन आए बदर गर्न कुनै बाधा नपर्ने भन्दै मालपोत प्रमुख चिरञ्जीवीलाल, जग्गावालाहरू कीर्तिनाथ, लोकनाथ र लक्ष्मीप्रसादलाई सफाइ दिने फैसला गरेको थियो।

    विशेष अदालतको फैसला चित्त नबुझी अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गराएको थियो। २०२९ सालमा नापी हुँदा कित्ता नम्बर ९९ को फिल्डबुकमा पर्ती जनिएको र प्रमुख मालपोत अधिकृत तथा अमिनसमेतको टोलीले पटकपटक स्थलगत निरीक्षण गरी जग्गा नारायणी नदीको बगर सरकारी पर्ती भएको प्रतिवेदनमा उल्लेख गरेका थिए। प्रतिवादीहरूले सरकारी जग्गा बदनियतपूर्वक दर्ता गरी भ्रष्टाचार गरेको पुष्टि भएको दाबीसहित अख्तियारले सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता गराएको थियो।

    ‘फौजदारी न्यायको मान्यता एवं प्रचलित कानुनी व्यवस्थासमेत रहेको हुँदा प्रतिवादीहरूलाई साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ बमोजिमको सजाय हुनुपर्ने देखियो,’ सर्वोच्चले फैसलामा भनेको छ।

    जसअनुसार चिरञ्जीवीलाल राजभण्डारीको हकमा एक वर्षदेखि तीन वर्षसम्म कैद वा जरिवाना वा दुवै सजाय हुने, अन्य प्रतिवादीको हकमा तीन महिनादेखि तीन वर्षसम्म कैद वा जरिवाना वा दुवै सजाय हुने, मागबमोजिम बिगो असुल गरिने कानुनी व्यवस्था गरिएको छ। तर पनि सजायको हकमा प्रतिवादीहरू हाल ८० वर्ष उमेर कटिसकेकाले कैद सजाय गर्न मनासिव नदेखिएकाले चिरञ्जीवीलाल राजभण्डारीको हकमा पाँच हजार रूपैयाँ, कीर्तिनाथ चालिसे, लोकनाथ सापकोटा र लक्ष्मीप्रसाद पौडेललाई जनही चार हजार रूपैयाँ जरिवाना हुने सर्वोच्चको ठहर छ।

    सर्वोच्चको फैसलाबाट साबिक नवलपरासी जिल्ला गैंडाकोट १ (क) को साबिक कित्ता नम्बर ९९ को ९३–२–३–० जग्गा कीर्तिनाथ चालिसे, लोकनाथ सापकोटा र लक्ष्मीप्रसाद पौडेलका नाममा कायम गरेको मालपोत कार्यालय कावासोतीको मिति २०५५ चैत २५ को दर्ता निर्णय बदर भएको छ।

    मालपोत ऐन, २०३४ को दफा २४ को उपदफा (१) र (२) तथा मुलुकी देवानी संहिता, २०७४ को दफा ३०५ (२) बमोजिम उक्त जग्गा सरकारी सार्वजनिक कायम हुने फैसलामा भनिएको छ। ‘जुन जग्गाको हकको आधिकारिक स्रोत नै स्थापित हुन सक्दैन सो जग्गामा जिम्वाल, मुखियाले दिएको कुत बुझाएको भनिएको रसिद र सर्जमिन मुुचुल्काबाट मात्रै हक स्थापित हुन सक्ने देखिँदैन,’ सर्वोच्चले व्याख्या गरेको छ।

    प्रतिवादीहरूको भोगमा समेत रहेको नदेखिएको र नदी किनाराको सार्वजनिक सरकारी पर्ती जग्गालाई हकभोगको भनी दर्ता गरेको सर्वोच्चको ठहर छ। विवाद हेर्दा २०५८ असोज २३ मा पेस भएको प्रमुख मालपोत अधिकारी विनोदकुमार अधिकारीको प्रतिवेदनमा सम्पूर्ण जमिन सरकारी पर्ती भएको उल्लेख छ।

    २०६१ चैत १० मा मालपोत अधिकृतसहितको नापी टोलीको स्थलगत अध्ययन प्रतिवेदनबाट समेत उक्त विवादित पर्ती जग्गाभित्र वर–पिपलसहितको चौतारो, सार्वजनिक वृक्षरोपण, स्थानीय क्लब र मन्दिरसमेत रहे भएको देखिएको थियो। ‘विवादित कित्ताको जग्गा सरकारी सार्वजनिक रहेको, उक्त कित्ता जग्गा व्यक्ति विशेषका नाममा दर्ता भएकोमा स्वतः बदर हुने देखिन आयो’, सर्वोच्चले भनेको छ।

    २०४५ पुस ३० को जिल्ला वनक्षेत्र सुदृढीकरण उच्चस्तरीय आयोगको पत्रका आधारमा जग्गाधनी प्रमाणपुर्जा बनाई आयोगको निर्णयलाई कार्यान्वयनसम्म गरेको भेटिएको थियो।

    भ्रष्टाचार निवारण ऐन, २०५९ ले भ्रष्टाचार भन्नाले परिच्छेद २ अन्तर्गत सजाय हुने कसुर भनी ऐनमा उल्लेख भएका विभिन्न कसुरलाई इंगित गरेको छ। भ्रष्टाचार निवारण ऐन, २०१७ ले भ्रष्टाचारको कुनै परिभाषा नै गरेको देखिँदैन।

    ‘वस्तुतः भ्रष्टाचार शब्द यति व्यापक छ यसलाई निश्चित परिभाषामा सीमित गर्नु आफैंमा कठिन र जोखिमपूर्ण भएकै कारण विधायिकाले यसको खास परिभाषा नगरी भ्रष्टाचारमा कारबाही गरिने केही कसुर र त्यसको सजाय मात्र उल्लेख गरेको तथ्य बोधगम्य छ,’ सर्वोच्चले व्याख्या गरेको छ, ‘असल नियतले गरिएको भएमा त्यस्तो कार्यलाई भ्रष्टाचारजन्य कसुर भनी मान्न नमिल्ने तर सोही कार्य आफू वा कसैलाई गैरकानुनी लाभ वा सरकार वा सार्वजनिक संस्थालाई हानि पु¥याउने बदनियतले गरिएको भएमा भ्रष्टाचारजन्य कसुरको परिभाषाभित्र पर्ने हुन आउँछ।’

    मालपोत (पाँचौं संशोधन) ऐन, २०३४ को दफा २४ (१) मा सरकारी वा सार्वजनिक जग्गा व्यक्ति विशेषका नाममा दर्ता गर्न गराउन हुँदैन भन्ने व्यवस्था छ। ऐनको उपदफा (२) ले कुनै सरकारी वा सार्वजनिक जग्गा व्यक्ति विशेषका नाममा दर्ता गरी आवाद गरेकोमा त्यस्तो दर्ता स्वतः बदर हुने व्यवस्था पनि गरेको छ।

    सोही ऐनको दफा २ (ख२) ले वन बुटेन, जंगल, नदी, खोलानाला, नदी उकास ताल, पोखरी, डिल, नहर, कुलो वा ऐलानी पर्ती जग्गालाई सरकारी जग्गा तथा दफा २ (ख३) ले कुनै व्यक्तिले मात्र नभई सार्वजनिक रूपमा प्रयोग गर्न पाउने बाटो, पानीघाट, मसानघाट, पाटी, पौवा, गौचरलगायतका स्थानलाई सार्वजनिक जग्गा भनी परिभाषित गरेको छ ।

  • काठमाडौँ महानगरको निःशुल्क उपचार सम्बन्धी प्रावधान, सेवा लिने उपत्यका बाहिरका धेरै

    काठमाडौँ महानगरको निःशुल्क उपचार सम्बन्धी प्रावधान, सेवा लिने उपत्यका बाहिरका धेरै

    काठमाडौँ महानगरपालिकाले अशक्त, गरिब र असहाय बिरामीको निःशुल्क उपचार गर्नका लागि तय गरेको प्रणालीमा ५२ अस्पतालका तीन सय ७४ शय्या सुनिश्चित भएको छ।

    कामपाको निजी अस्पतालले विपन्न, बेवारिसे र असहाय बिरामीका लागि १० प्रतिशत शय्या अनिवार्य एवं निःशुल्क रूपमा उपलब्ध गराउनुपर्ने प्रावधानअनुसार अस्पतालले उक्त शय्या विपन्न र असायका लागि छुट्याएका हुन्।

    कामपा स्वास्थ्य विभागका जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठका अनुसार विसं २०८० फागुनबाट सुरु गरिएको उक्त सेवाबाट अहिलेसम्मा ७० बिरामी लाभान्वित भइसकेका छन्। यसरी सेवा लिन आउनेमा काठमाडौँ उपत्यकाको भन्दा पनि उपत्यका बाहिरका नागरिक बढी रहेका उनले जानकारी दिए। कानुनी व्यवस्थालाई निजी अस्पतालले अटेर गरेपछि कामपाले निःशुल्क स्वास्थ्य उपचारसम्बन्धी कार्यविधि, २०८० पास गरेर उक्त व्यवस्था कडाइका साथ कार्यान्वयनमा ल्याएको हो।

    कामपाले कुन अस्पतालमा शय्या उपलब्ध छ ? र कुन सेवा प्राप्त गर्न सकिन्छ ? भनेर विस्तृत विवरण अनलाइनबाटै पाउन सकिनेगरी व्यवस्था गरिसकेको छ। निःशुल्क उपचार सेवा लिएकामध्ये केही निको भएर घर फर्किसकेका छन् भने केही उपचाररत रहेको कामपाले जानकारी दिएको छ। यसरी सेवा लिनेमा नाक, कान, घाँटी र मिर्गौलाका बिरामी बढी रहेका छन्। त्यस्तै दम, क्षयरोग छाती र आँखासम्बन्धी सेवा लिएका बिरामी रहेको पनि श्रेष्ठले जानकारी दिए।

    उपचार लिनका लागि समस्या भए वा थप जानकारी आवश्यक परेमा कामपाको स्वास्थ्य विभागमा वा कामपाको हटलाइन नम्बर ११८० मा सम्पर्क गरेर पनि आवश्यक जानकारी लिन सकिने श्रेष्ठले बताए।

    यसरी लिन सकिन्छ निःशुल्क उपचार सेवा

    सरकार÷प्रदेश सरकार÷स्थानीय सरकारले लक्षित वर्ग हो भनी जारी गरेको कागजात÷परिचयपत्र, त्यस्तै राष्ट्रिय परिचयपत्र÷नेपाली नागरिकता प्रमाणपत्र÷जन्मदर्ता प्रमाणपत्र प्रतिलिपि र हालसालै खिचिएको फोटो, रोग पहिचान भएमा सोको कागजपत्र, सम्बन्धित स्थानीय तहको वडाले लक्षित वर्ग हो भनी अनुसूची–४ अनुसारको सर्जमिन गरेको कागज र सम्बन्धित स्थानीय तहको वडा कार्यालयले उपचारको लागि अनुसूची–३ अनुसारको सिफारिस गरेको पत्र आवश्यक पर्ने बताइएको छ।

    बेवारिसे बिरामीको हकमा आकस्मिक कक्षमा आएका बखत उपचार खर्च नभएका गरिब, विपन्न तथा बेवारिसे बिरामीलाई प्रारम्भिक स्वास्थ्योपचार निःशुल्क प्रदान गर्नुपर्नेछ। रासस

  • मनाइयो ११५औं भवानी भिक्षु जन्म जयन्ती

    मनाइयो ११५औं भवानी भिक्षु जन्म जयन्ती

    साहित्यकार भवानी भिक्षुको ११५औं जन्मजयन्ती उनकै गृह जिल्ला कपिलवस्तुमा विविध कार्यक्रम गरी मनाइएको छ। नव कपिलवस्तु साहित्यिक समाजको अयोजनामा तौलिहवामा विभिन्न कार्यक्रम गरी मनाइएको हो।

    मधेस समुदायका भए पनि उनले मदन र साझा पुरस्कार जितेका थिए। तौलिहवास्थित भिक्षु टोलमा रहेको भवानीप्रसाद गुप्ता ‘भवानी भिक्षु’ को सालिकमा साहित्यकारले माल्यार्पण गर्दै भिक्षुको जीवनी र उनको लेखका कृत्रिहरूबारे चर्चा गरिएको थियो। कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष प्रकाश गैरेले मधेसी भएर पनि नेपाली साहित्यमा उत्कृष्ट भिक्षुले अतुलनीय योगदान दिएको बताए।

    ‘भिक्षुले लखेका कृत्ति अझै पनि जीवन्त रहेका छन्,’ उनले भने,’ नेपाली साहित्यमा ठुलो गुन लगाउनुभएको छ ।’ आगत, अवान्तर, मैया साहेब, पाइप नम्बर १ र २ लगायत कविताकृति, निबन्ध तथा विभिन्न लेखरचनामा पात्रको मनोदशाको चित्रण गर्दै मनोविज्ञानको चित्रण गरेको पाइन्छ। कार्यक्रममा समाजका अध्यक्ष पशुपतिमणि त्रिपाठी, वरिष्ठ साहित्यकार हरिराज शर्मा, साहित्यकार सकुन्तला ज्ञवाली पौडेललगायतले साहित्यकार भवानी भिक्षुले नेपाली साहित्यको विकासमा अतुलनीय योगदान दिएका बताए।

    भिक्षु स्मृति पुरस्कार शर्मालाई

    नव कपिलवस्तु साहित्यिक समाजले प्रदान गर्ने साहित्यकार भवानी भिक्षु स्मृति पुरस्कार कपिलवस्तुको तौलिहवाकी वरिष्ठ साहित्यकार पावती शर्मालाई प्रदान गरिएको छ। कम्तीमा तीनवटा कृत्रि प्रकाशित गरेका साहित्यकारलाई भवानी भिक्षु स्मृति पुरस्कार दिने मापदण्ड छ। चार कृति प्रकाशित गरेकी शर्मालाई कपिलवस्तु नगरपालिका–३ को सहयोगमा भिक्षु जयन्तीको अवसर पारेर सो पुरस्कार प्रदान गरिएको हो।

    वडाध्यक्ष प्रकाश गैरेले दोसल्ला ओढाई साहित्यकार शर्मालाई ११ हजार १११ नगद र ताम्रपत्र प्रदान गरेका थिए। साहित्यकार शर्माले ज्योति कथा संग्रह, मुटु नभएकी आमा आत्मवृत्तान्त मसानघाटको प्रेरणा झ्याउरे कथासंग्रह र अर्चना उपन्यास प्रकाशित गरेकी छिन्।

    भिक्षु जयन्तीका अवसरमा हराशद्वारा रचित बसेरा कथासंग्रह विमोचन

    साहित्यकार भवानी भिक्षुको ११५औं जन्म जयन्तीका अवसरमा वरिष्ठ साहित्यकार हरिराज शर्मा हराशद्वारा रचित ‘बसेरा’ कथासंग्रह विमोचन गरिएको छ। सदरमुकाम तौलिहवामा कपिलवस्तु नगरपालिका–३ को सहयोगमा नव साहित्यिक सामाजले राखेको कार्यक्रममा सो कृति विमोचन गरिएको हो।

    वडाध्यक्ष प्रकाश गैरे, वरिष्ठ साहित्यकार ऋषिकेश भारद्वाज, कमला श्रेष्ठ, पशुपतिमणि त्रिपाठीलगायतले सो कृति विमोचन गरेका हुन्। वरिष्ठ साहित्यकार शर्माको यो १९औं कृति हो।

    कविताको राम अचल यादवले समालोचना गरेका थिए। कार्यक्रममा साहित्यकार राघवेन्द्र श्रीवास्तव, खिमानन्द पोख्रेल, मोहन ज्ञवाली, सकुन्तला पौडेल, वासुदेव चौधरी, बलीउद्दीन मुसलमान, अमितकुमार पाण्डेयलगायतले आआफ्नो रचना वाचन गरेका थिए ।

  • ६१ वर्षीया क्लाडिया मेक्सिकोको पहिलो महिला राष्ट्रपति

    ६१ वर्षीया क्लाडिया मेक्सिकोको पहिलो महिला राष्ट्रपति

    मेक्सिकोमा पहिलो पटक महिला राष्ट्रपति निर्वाचित भएकी छिन्।

    शनिवार सम्पन्न निर्वाचनको मत परिणाम अनुसार क्लाडिया शीनबम मेक्सिकोको पहिलो महिला राष्ट्रपति निर्वाचित भएकी हुन्।

    बीबीसीका अनुसार मेक्सिको चुनाव आयोगले ६१ वर्षीया क्लाडियाले ६० प्रतिशत मत ल्याएर जित हासिल गरेकी छिन्।

    क्लाडियाले आफ्नो प्रतिस्पर्धी शोर्चिल गालवेसेलाई राष्ट्रपति निर्वाचनमा पराजित गरेकी हुन्।

    मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुअल लोपेज ओब्रेडोर आगामी १ अक्टुबरमा पदमुक्त भएपछि क्लाडियाले नयाँ राष्ट्रपतिको रुपमा पदभार सम्हाल्ने छिन्।