Blog

  • निर्मल पुर्जालाई नेपाल आउन रोक लगाउनु पर्छः राजेन्द्र बजगाई

    निर्मल पुर्जालाई नेपाल आउन रोक लगाउनु पर्छः राजेन्द्र बजगाई

    कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स) ले यौन दुर्व्यवहार गरेको भन्ने विषय प्रतिनिधि सभाको बैठकमा उठेको छ।

    आज प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले ‘द न्युयोर्क टाइम्स’ मा निर्मल पुर्जा (निम्स) ले यौन दुर्व्यवहार गरेको भन्ने कुराले नेपालको लागि नराम्रो भएको बताएका हुन्।

    उनले भने,‘द न्युयोर्क टाइम्स’मा निर्मल पुर्जा (निम्स) दाइले यौन दुर्व्यवहार गरेको भनी छापेको थियो। यो नेपालका लागि नराम्रो हो। उनी कहिले डोरी टाँग्ने शेर्पाहरूलाई डोरी काट्यो भनी नेपालको बदनाम गरिरहन्छन्। कहिले नेपाली नागरिकतामा हिमाल चढिरहन्छन्। पछि आफ्नो नागरिकता त्याग्छन्। यस्ता व्यक्तिलाई सरकारले नेपाल आउन बन्देज गर्नुपर्‍यो।’

    पूर्व मिस फिनल्यान्ड लोता हिन्स्टाले ३० मार्च २०२३ मा काठमाडौं आएका बेला एक होटलमा कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स) ले दुर्व्यवहार गरेको बताएकी छन्। अमेरिकी अखबार ‘द न्युयोर्क टाइम्स’सँग कुरा गर्दै उनले यौन दुर्व्यवहारको आरोप लगाएकी छिन्।

    शुक्रबार न्यूयोर्क टाइम्समा प्रकाशित रिपोर्टमा ती व्यक्ति निम्स भएको खुलाउँदै उनले होटेलको कोठाभित्र केके भएको थियो भन्ने पनि खुलाएकी छन्। उनको अनुसार, पुर्जाले लबीमा कफी पिउनको साटो कोठासम्म लिएर गएका थिए।

  • नेपालविरुद्ध नेदरल्यान्ड्स : प्रभाव पार्न सक्ने दुई खेलाडी

    नेपालविरुद्ध नेदरल्यान्ड्स : प्रभाव पार्न सक्ने दुई खेलाडी

    अमेरिका र वेस्ट इन्डिजमा संयुक्तरूपमा जारी आईसीसी टी २० विश्वकप क्रिकेटमा नेपालले मंगलबार राति नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल नेपाली समयअनुसार राति सवा ९ बजे डल्लासमा सुरु हुनेछ । नेपाल चिरप्रतिद्वन्द्वी नेदरल्यान्ड्सलाई पराजित गर्दै विश्वकपमा सुखद् सुरुवातको योजनामा हुनेछ ।

    समूह डीमा रहेका राष्ट्रमध्ये तुलनात्मकरूपमा कमजोर मानिएका दुवै देश पहिलो खेलमै २ अंक जोड्ने लक्ष्यमा हुनेछन् । साउथ अफ्रिका, श्रीलंका र बंगलादेश जस्ता टिमविरुद्ध जित निकाल्न कठिन हुने आकलनका बीच नेपाल र नेदरल्यान्ड्स एकअर्कालाई हराउने ध्याउन्नमा मैदान उत्रनेछन् ।

    रोहित पौडेल, नेपाल

    नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलबाट ठूलो आश गरिएको छ। जनावरी २३, २०१९ मा युएईविरुद्धको खेलमार्फत् ट्वान्टी २० आईमा डेब्यू गरेका रोहित पछिल्लो समय तेस्रो नम्बरमा सेट ब्याट्सम्यान हुन्।

    ट्वान्टी २० आईमा ४७ इनिङ्स खेलेका उनले २९.१५ को औषत र १२४.९१ को स्ट्राइक रेटमा एक हजार १०८ रन बनाएका छन्। योक्रममा उनले ६ अर्धशतक प्रहार गरेका छन्। गत वर्ष रोहितले १३ इनिङ्समा ५०.३७ को औसतमा ४०३ रन बनाएका थिए।

    विश्वकप खेल्न अमेरिका जानुअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध भएको शृंखलामा रोहितले एक शतक र दुई अर्धशतकसहित चार खेलमा २६५ रन बनाएका थिए।

    पहिलो खेलमा ११२ रन बनाएका उनले दोस्रो खेलमा अविजित ७१ रन र तेस्रो खेलमा ८२ रन बनाए। कप्तानी र ब्याटिङसँगै उनी स्पिन बलिङ गर्न पनि माहिर छन्। नवौ इनिङ्स बलिङ गरेका उनले २४.९५ को औषत र ६.९५ को इकोनोमीमा ५ विकेट लिएका थिए। वेस्ट इन्डिज ‘ए’ विरुद्धको शृंखलामा पनि उनले एक इनिङ्समा १० रन खर्चिएर एक विकेट लिएका थिए।

    बास डे लीडे, नेदरल्यान्ड्स

    ब्याट र बल दुबैबाट योगदान दिन सक्ने यस टोलीका सबैभन्दा ठूला स्टार हुन् बास डे लीडे। ट्वान्टी २० आईका ३१ इनिङ्समा ब्याटिङ गरेका २४ वर्षीय लीडेले चार अर्धशतक प्रहार गरिसकेका छन्।

    अप्रिल २१, २०२१ मा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको नेदरल्यान्ड्स र मलेसियासम्मिलित त्रिदेशीय ट्वान्टी २० आई शृंखलाअन्तर्गत नेपालविरुद्ध ८१ रनको इनिङ्स खेल्दै उनले करिअरको पहिलो अर्धशतक प्रहार गरेका थिए। त्यसयता उनले अमेरिका (९१ अविजित रन) र न्युजिल्यान्डविरुद्ध दुई (६६ र ५३ रन) अर्धशतक प्रहार गरिसकेका छन्। विश्वकपअघि स्कटल्यान्डसँग भएको खेलमा उनले २७ र आयरल्यान्डविरुद्धको खेलमा अविजित आठ रन बनाएका थिए।

    बलिङतर्फ भने उनले २४ इनिङ्समा ३० विकेट लिएका छन्। उनले १७.७३ को औषत र ८.३१ को इकोनोमीमा बलिङ गर्ने गरेका छन्। उनको उत्कृष्ट बलिङ फिगर भनेको ३र१९ रहेको छ। विश्वकपअघि भएका स्टकल्यान्ड र आयरल्यान्डविरुद्धको खेलमा उनले ८३ रन खर्चिएर तीन विकेट लिएका थिए।

  • राष्ट्रिय क्रिकेट टिमलाई वाईवाईको पुरस्कार घोषणा

    राष्ट्रिय क्रिकेट टिमलाई वाईवाईको पुरस्कार घोषणा

    वाईवाई चाउचाउले जारी आइसिसी टी–२० विश्वकपमा सहभागी नेपाली राष्ट्रिय टिमलाई प्रोत्साहित गर्न ठूलो राशीको पुरस्कार घोषणा गरेको छ। जसअनुसार जारी विश्वकपको सुपर-८ मा पुग्न सफल भए नेपाली राष्ट्रिय टिमलाई वाईवाई चाउचाउले नगद ३० लाख रूपैयाँ पुरस्कार दिने सिजी फुड्सले जनाएको छ।

    घोषणासँगै नेपाली क्रिकेटको राष्ट्रिय टिमले जारी टी-२० विश्वकपको सुपर-८ मा पुग्नासाथ वाईवाई चाउचाउको तर्फबाट नगद ३० लाख रूपैयाँ प्राप्त गर्नेछ।

    यसका साथै वाईवाई चाउचाउले जारी विश्वकपमा नेपालको जितको शृंखला अगाडि बढाउन खेलाडीहरूको मनोबल उच्च पार्ने उद्देश्यले अन्य विभिन्न पुरस्कारको पनि घोषणा गरेको छ। जसमा प्रत्येक रन बनाएबापत एक हजार, प्रत्येक चौकाबापत आठ हजार, प्रत्येक छक्काबापत १२ हजार, प्रत्येक विकेटबापत १५ हजार, प्रत्येक अर्धशतकबापत ५० हजार, प्रत्येक शतकबापत एक लाख र नेपाली टिमको प्रत्येक जितमा एक लाख ५० हजार रूपैयाँ नगद उपलब्ध गराउने जनाएको छ।

  • बजेटप्रति निर्माण व्यवसायी महासंघको असन्तुष्टिः निर्माण क्षेत्र प्रथमिकतामा परेन

    बजेटप्रति निर्माण व्यवसायी महासंघको असन्तुष्टिः निर्माण क्षेत्र प्रथमिकतामा परेन

    नेपाल निर्माण व्यवसायी महासंघले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट निर्माण व्यवसायीमैत्री नभएको प्रतिक्रिया जनाएको छ।

    सोमवार काठमाडौंमा नेपाल पूर्वाधार पत्रकार समाजले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायी महासंघले लामो समयदेखि उठाउँदै आएको भुक्तानीका बारेमा बजेटमा सरकारले एक शब्द पनि उल्लेख नगर्नु सरकारले निर्माण व्यवसायीलाई उपेक्षा गर्नु सरह भएको बताए।

    निर्माण उद्योगमैत्री बजेटका लागि महासंघले अर्थमन्त्रीसँग प्रत्यक्ष रुपमा पटकपटक भेट्न खोजेको प्रयास गर्दा समेत भेट नदिनु निर्माण क्षेत्रलाई राज्यले प्राथमिकतामा नराखेको महशुस भएको उनले बताए।

    उनले सरकारले भौतिक पूर्वाधार क्षेत्रलाई सहभागिता बिना,निर्माण उद्योगीहरुका सुझाव नलिइ बजेट ल्याएको कारण भौतिक पूर्वाधार क्षेत्रलाई बजेटले उपेक्षा गरेको भन्दै सार्वजनिक खरिद १३ औं संशोधन आएपछि २ हजार बढी आयोजनाहरुको म्याद थप भएको तर बजेट विनियोजन सरकारले गर्न नसकेको उल्लेख गरे।

    उनले सरकारले बहुवर्षिय आयोजनाहरुको नाम स्रोत सुनिश्चितता गरेर स्रोत नभएका ५ खर्ब ५० अर्बका आयोजनालाई सम्बोधन नभएको बताए।

    उनले बजेटबाट निर्माण व्यवसायीहरुले ठूलो आशा गरेपनि राज्यले बेवास्था गरेको बताए।

    अध्यक्ष सिंहले ७५३ वटा १ हजार ५ सय शैय्या सम्मका अस्पताल निर्माण गर्न समेत बजेट नपुग्ने अवस्था देखिएकाले आयोजना समयमा नै सम्पन्न हुने अवस्था नभएको बताए।

    नीति तथा कार्यक्रममा राष्ट्रिय गौरवका आयोजना यस वर्ष सम्पन्न गर्ने भनिएको तर बजेटले सम्बोधन गर्न नसकेको उल्लेख गर्दै उनले बजेट परम्परागत ढङ्गकै आएको बताए।

    कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले निर्माण क्षेत्रलाई सरकारले उपेक्षा नगरेको बताए।

    उनले क्षमता विकास विस्तारै विकसित हुँदै जाने भन्दै उहाँले सबैकुरा एकैपटक खोज्न नहुने बताए।

    उनले निर्माण व्यवसायीको क्षमता विकासमा पनि ध्यान दिन जरुरी रहेको भन्दै ठूला पूर्वाधार बनाउन निर्माण व्यवसायीहरु तयार हुनुपर्ने र सधैँ विदेशी कम्पनीको मुख ताक्न नहुने बताए। उनले धेरै विदेशी कन्ट्याक्टरबाट हण्डर खाइरहेको अवस्थामा नेपाली निर्माण कम्पनीहरुले ठूला आयोजनाहरु निर्माणको जिम्मा लिनुपर्ने बताए।

    महासंघका महासचिव रोशन दाहालले अर्थमन्त्री वर्षमान पुनले प्रश्तुत गर्नुभएको आगामी आर्थिक वर्षको १८ खर्ब ६० अर्ब ३० करोडको बजेटका केही बुँदाहरू निर्माण उद्योगका लागि सकारात्मक रहे पनि अहिले शिथिल रहेको अर्थतन्त्र चलायमान हुनेगरी बजेट नआएको बताए।

    महासचिव दाहालले निर्माण क्षेत्रको मागलाई बजेटले सम्बोधन नगरेकाले शिथिल अवस्थामा रहेको वर्तमान अर्थतन्त्र चलायमान हुन नसक्ने भन्दै उनले सबैभन्दा बढी रोजगारी सिर्जना गरी मुलुकको अर्थतन्त्रमा अत्यन्त महत्वपूर्ण हिस्सा ओगटेको निर्माण क्षेत्रलाई राज्यले प्राथमिकतामा नराखेको बताए।

    उहाँले निर्माण व्यवसायीहरुले बिल पेश गरिसकेका र पेश गर्न बाँकी गरी करिव ६० अर्ब भुक्तानी राज्यले गर्न सकेको अवस्थामा भुक्तान समस्या समाधानबारे बजेट मौन रहनु ठूलो बिडम्बना भएको धारणा राखे।

    उनले मूल्य समायोजन बारेमा केही सम्बोधन नहुनु, सरकारी कमी कमजोरीका कारण भएका ठेक्काको कारबाही सम्बन्धमा केही उल्लेख नहुनु, विविध कारणले कामै हुन नसकेका ठेक्काहरू सुविस्ताका आधारमा अन्त्य गरिनुपर्ने विषय उल्लेख नहुनु लगायतका कारण बजेटले निर्माण व्यवसायीहरूलाई राहतको सट्टा आहत दिने खालको आएको बताए।

    गत वर्षकोभन्दा भौतिक पूर्वाधार क्षेत्रमा १९ अर्बले बजेट वृद्धि हुनु सकारात्मक भएको उल्लेख गरे।

    महासंघले आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा गर्नु, नयाँ चरणको आर्थिक सुधारका लागि आयोग गठन गर्नु बजेटको सकारात्मक पक्ष रहेको जनाएको छ। बजेटमार्फत लिइएको ६ प्रतिशतको महत्वाकांक्षी आर्थिक वृद्धि हासिल गर्न र अर्थतन्त्रलाई चलायमान बनाउन निर्माण उद्योग मैत्री हुने गरी आगामी मौद्रिक नीति खुकुलो बनाउन महासंघको माग छ।

  • कमजोर युगान्डामाथि अफगानिस्तानको सानदार जित

    कमजोर युगान्डामाथि अफगानिस्तानको सानदार जित

    आईसीसी विश्वकप टी–२० अन्तर्गत अफगानिस्तानले सानदान जितसहित विजयी सुरुआत गरेको छ।

    गुएनास्थित प्रोभिडेन्स स्टेडियममा भएको आजको पहिलो खेलमा नवटोली युगान्डालाई १२५ रनको विशाल अन्तरले हराउँदै अफगानिस्तानले सानदार जित हासिल गरेको हो।

    टस हारेर पहिला ब्याटिङ्ग गर्ने मौका पाएको अफगानिस्तानले धमाकेदार प्रदर्शन गर्दै निर्धारित ओभरमा ५ विकेट गुमाएर १८३ रन बनायो।

    अफगानिस्तानका लागि ओपनर ब्याट्सम्यान रहमानुल्लाह गुरबाजले सर्वाधिक ७६ रनको पारी खेले भने इब्राहिम जरदानले ७० रन जोडे। युगान्डाका कप्तान ब्रिएन मसाबा र कसमस केउटाले समान २÷२ विकेट लिँदा अल्पेश रामजानीले १ विकेट लिए।

    यता, १८४ रनको लक्ष्यसहित मैदान उत्रेको नवटोली युगान्डाले खराब प्रदर्शन गर्दै ४ ओभर बाँकी छँदै अलआउट भएर जम्मा ५८ रन मात्रै बनाउन सक्यो।

    अफगानिस्तानका बलरसमक्ष युगान्डाका कुनैपनि खेलाडी धेरैबेर टिक्न सकेनन्। युगान्डालाई सस्तोमै समेट्न अफगानिस्तानका फजलहक फारुकीले ९ रन खर्चेर सर्वाधिक ५ विकेट लिए भने राशिद खान र नविन उल हकले समान २÷२ विकेट हात पारे। जबकी मुजिब उर रहमानले १ विकेट लिए।

    सुरुदेखि नै सङ्घर्ष गरिरहेका युगान्डा खेलाडीहरू भने बलियो अफगानिस्तानसमक्ष डटेर मैदानमा खेल्ने प्रयासमा देखिए।

    प्रतियोगिता अन्तर्गत आजै इङग्ल्यान्ड र स्कटल्यान्ड अनि नेपाल र नेदरल्यान्ड्सबीच खेल हुनेछ।

  • भद्रकुमारी घलेको कला र जीवनको लोकार्पण

    भद्रकुमारी घलेको कला र जीवनको लोकार्पण

    स्रष्टा जीतबहादुर रायमाझीकाे भद्रकुमारी घलेको कला र जीवन कृतिको लोकार्पण भएकाे छ। भद्र घले प्रतिष्ठानका अध्यक्ष भद्रकुमारी घलेको अध्यक्षतामा भएकाे कार्यक्रममा नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईले कृतिकाे लाेकार्पण गरेकी हुन्।

    लाेकार्पित कृति भद्रकुमारी घलेको कला र जीवन कृतिकाे प्रकाशन नइ प्रकाशनले गरेकाे हाे।

    कार्यक्रममा भद्रकुमारी घले, इन्दिरा प्रसाई, कृतिका लेखक जीतबहादुर रायमाझी, नरेन्द्रराज प्रसाई, लक्ष्मी उप्रेती, भगवती बस्नेत आदिले मन्तव्य प्रकट गरेका थिए।

    कार्यक्रममा साहित्यकारहरू- लक्ष्मी उप्रेती, यमुना प्रधानाङ्ग ‘मुना’, ललिता दाेषी, रञ्जुश्री पराजुली, रश्मि रिमाल लगायतकाे उपस्थिति रहेकाे थियाे।

  • भारतमा १७ औँ लोकसभा निर्वाचनको मतगणना सुरु, यी सिटमा सबैको चासो

    भारतमा सम्पन्न १७ औँ लोकसभा निर्वाचनको मतगणना सुरु भएको छ। भारतीय चुनाव आयोगले विभिन्न ७ चरणमा सम्पन्न भएको निर्वाचनको मतगणना आज बिहान ८ बजेबाट सुरु भएको हो।

    ६ हप्ता लामो निर्वाचनमा लोकसभाका ५४२ सिटका लागि मतदान भएको थियो। १९ अप्रिलबाट सुरु भएको निर्वाचन १ जुनमा सम्पन्न भएको थियो। निर्वाचनमा देशभरका ६४ करोड २ लाख मतदाताले भाग लिएका थिए।

    आयोगले निर्वाचनको मत परिणाम आजै घोषणा गर्ने तयारी गरेको छ।

    यसपटक मुख्य गरी ५१ सिटमा विशेष ध्यान रहने छ। जसलाई हट सिट भनिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले उम्मेदवारी दिएको वाराणसी, वर्तमान गृहमन्त्री अमित शाहले उम्मेदवारी दिएको गुजरातको गान्धीनगर, वर्तमान रक्षा मन्त्री राजनाथ सिंहले उम्मेदवारी दिएको लखनउ, वर्तमान सडक मन्त्री नितिन गडकरीले उम्मेदवारी दिएको महाराष्ट्रको नागपुर, बलिवुड अभिनेत्री कङ्गना रनौटले उम्मेदवारी दिएको मन्डी, कांग्रेस नेता राहुल गान्धीले उम्मेदवारी दिएको केरलको वायनाड र उत्तर प्रदेशको रायबरेली, उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादवले उम्मेदवारी दिएको कन्नौज सिट लगायतका ५१ सिटमा सबैको ध्यान रहने छ।

    हालसम्म भारतीय विभिन्न सञ्चार माध्यम र राजनीतिक विश्लेषकहरूले गरेको आँकलन अनुसार भारतीय जनता पार्टीले नै यसपटक पनि बहुमत प्राप्त गर्नेछन्। जस अनुसार मोदी नै तेस्रोपटक प्रधानमन्त्री बन्ने निश्चित छ।

  • कोशी प्रदेशको नीति तथा कार्यक्रमः कृषि र पर्यटन प्राथमिकतामा

    कोशी प्रदेशको नीति तथा कार्यक्रमः कृषि र पर्यटन प्राथमिकतामा

    कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सोमवार कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभामा कोशी प्रदेश सरकारको आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

    प्रदेश प्रमुख खापुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा प्रदेश सरकारले कृषि र पर्यटनलाई प्राथमिकतामा राखिएको छ। कोशी प्रदेशमा आगामि वर्ष लगानी सम्मेलन गर्ने, विदेशमा नेपाली चीया प्रबद्र्धन गर्न अन्तराष्ट्रिय चीया सम्मेलन गर्ने, अतिविपन्न, गरिबीको रेखा मुनि रहेका युवाहरूलाई सीप र प्रविधि मार्फत स्वरोजगार बन्न प्रेरित गर्ने नीति र कार्याक्रममा उल्लेख छ।

    यस्तै कोशी प्रदेशलाई नेपालको धानवीउ स्रोत केन्द्रका रुपमा स्थापित गर्ने, किसानलाई पशुपालनमा सहुलियत कर्जाको व्यवस्था गर्ने, प्रदेशमा स्टार्टअप नीति तर्जुमा गर्ने, प्रदेश भित्रका १० वर्ष मुनिका लक्षित बालबालिकालाई प्रदेश मातहतका विशेषज्ञ सेवा उपलब्ध भएका स्वास्थ्य संस्थाबाट निःशुल्क स्वास्थ्य सेवालाई निरन्तरता दिने नीति तथा कार्यक्रममा उल्लेख छ।

    प्रदेश सरकारले जेष्ठ नागरिक, मानव आश्रम, बृद्ध आश्रमलगायतका स्थामा आश्रय लिइरहेका नागरिकलाईसमेत स्वास्थ्य सेवा दिने नीति लिने भएको छ। यस्तै कडा रोगलागेका प्रदेशका नागरिकहरूलाई दिने सहायतालाई पनि प्रदेश सरकारले निरन्तरता दिने नीति तथा कार्यक्रममा उल्लेख छ।

  • लुम्बिनी सरकारको नीति तथा कार्यक्रम:  टिमुर खेतीदेखि एयर एम्बुलेन्ससम्म

    लुम्बिनी सरकारको नीति तथा कार्यक्रम: टिमुर खेतीदेखि एयर एम्बुलेन्ससम्म

    लुम्बिनी प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। प्रदेश प्रमुख अमिक शेरचनले सोमबार प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

    सरकारले नीति तथा कार्यक्रममा कृषि, पर्यटनको विकाससँगै रोजगार, स्वास्थ्य शिक्षाजस्ता आधारभूत विषयलाई जोड दिएको छ। प्रदेशको कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको सरकारले खाद्य तथा पोषण सुरक्षा सुनिश्चितता गर्न कृषि उत्पादनलाई बढाउने नीति लिएको छ।

    सरकारले जिल्लागत रूपमा उत्पादन हुने कृषि उपजलाई बढावा दिँदै सघन व्यावसायिक उत्पादन क्षेत्र विकास कार्यक्रम गरिने उल्लेख गरेको छ। यो कार्यक्रमअन्तर्गत दाङमा तोरी र तरकारी, बाँकेमा मसिनो धान र मसुरो, बर्दियामा चैते धान, तोरी र मसुरो, पाल्पा, अर्घाखाँची, गुल्मी र प्युठानमा सुन्तला, कागती जातका फलफूल र तरकारी, रोल्पा र रुकुम पूर्वमा स्याउ र वर्षे आलु, रूपन्देहीमा तोरी, वसन्ते र हिउँदे मकै, कपिलवस्तुमा मसिनो धान, तोरी र वसन्ते मकै, नवलपरासीमा वसन्ते मकै र आलु खेतीलाई प्राथमिकता दिएर प्रवर्धन गर्ने सरकारको लक्ष्य छ।

    कृषिमार्फत प्रदेशमा रोजगारी सिर्जना गर्नका लागि सरकारले कृषिमा आधारित साना प्रशोधन उद्योगलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको छ। नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुखले उत्पादित वस्तुको उचित गुणस्तर कायम गर्दै कृषि उद्योगलाई गरिबी निवारणको भरपर्दो माध्यमका रूपमा विकास गरिने उल्लेख गरे।

    कृषि उपजको उत्पादन र यसको बजारीकरणमा सहजता ल्याउने नीति सरकारको छ। यसका लागि स्थानीय तहसँग प्रदेश सरकारले समन्वय गर्ने लक्ष्य लिइएको छ। यसैगरी सरकारले किसानहरूको वर्गीकरण गरी उनीहरूलाई प्रोत्साहन अनुदानको व्यवस्था गरिने सरकारले जनाएको छ। प्रदेशभित्रका किसानहरूको पहिचान, वर्गीकरण गरी किसानले उत्पादन गरेको बाली वस्तु उत्पादनमा आधारित प्रोत्साहन अनुदानलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

    प्रदेशमा कायम बाँझो जमिनलाई कृषि उत्पादनमा प्रयोग गर्ने लक्ष्य सरकारले लिएको छ। बाँझो जमिनमा करार खेती कार्यक्रमलाई समय सापेक्ष बनाउँदै लक्षित वर्गलाई यसमा समावेश गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

    यसैगरी सरकारले प्रदेशमा माछापालनलाई बढावा दिएको छ। माछापालनका लागि माछा पोखरी र शीतभण्डार सञ्चालनमा प्रयोग हुने विद्युत् महसुलमा सहुलियत उपलब्ध गराइने सरकारले जनाएको छ। यसैगरी सरकारले प्रदेशका विभिन्न जिल्लालाई हस्तकला सामग्री उत्पादनको सघन क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य सरकारको छ।

    दाङमा छालाजन्य वस्तु, हातेकागज र खुकुरी उत्पादनको सघन क्षेत्रका रूपमा विकास गरिने प्रदेश प्रमुख शेरचनले उल्लेख गरे। यसैगरी रोल्पा र रुकुमपूर्वमा अल्लो, कम्बल र स्लेट ढुंगा, प्युठानलाई अल्लो, गुल्मीलाई गुणा, कफी र स्लेट ढुंगा, पाल्पालाई ढाका र करुवा, बर्दियालाई बेतबाँस, नवलपरासीलाई उखु, केरा र पटेरबाट निर्माण गरिएका हस्तकला सामग्री उत्पादनको सघन क्षेत्रका रूपमा विकास गरिने लक्ष्य सरकारले लिएको छ।

    हाल प्रदेशका नौ जिल्लामा सञ्चालन हुँदै आएको सुरक्षित आप्रवासन कार्यक्रमलाई थप तीन जिल्लामा विस्तार गरी आगामी आर्थिक वर्षदेखि प्रदेशभर लागु गर्ने लक्ष्य सरकारले लिएको छ। यसका लागि संघीय र स्थानीय सरकारसँग समन्वय गरिने नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेशभर लागु गरिने उल्लेख गरिएको छ।

    रोल्पा र रुकुमपूर्वलाई उच्च पहाडी तथा हिमाली क्षेत्रका मनोरम स्थललाई साहसिक एवं सांस्कृतिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उल्लेख गरेको सरकारले रूपन्देहीको ऐतिहासिक जितगढी किल्लामा रहेको सुरुङको संरक्षण गर्दै जितगढी, नुवाकोट क्षेत्र एवं कपिलवस्तुको ऐतिहासिक शिवगढीलाई पर्यटकीय क्षेत्रका रूपमा प्रवर्धन गर्ने सरकारको छ।

    सीमावर्ती मुलुकबाट र आन्तरिक पर्यटकलाई आकर्षित गरी पर्यटनमैत्री वातावरण सिर्जना गर्ने लक्ष्य सरकारको छ। दाङको देवीकोट, अर्घाखाँचीको नरपानी, रोल्पाको रुन्टिगढी र पाल्पाको ख्याहा क्षेत्रलाई हिल स्टेसनका रूपमा विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

    यसैगरी लुम्बिनी क्षेत्र पर्यटन प्रवर्धन कार्यक्रम सञ्चालन गर्ने सरकारको योजना छ। कपिलवस्तुको तिलौराकोटदेखि मायादेखि पदमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने सरकारको योजना छ। प्रदेशको मौलिक अवस्था, संस्कृति र जलवायु अनुकूल स्थानीय आर्थिक प्रणालीको अध्ययन अनुसन्धान तथा विकासका लागि लुम्बिनी बौद्ध शिखर सम्मेलनको आयोजना गरिने सरकारले लक्ष्य लिएको छ।

    यसैगरी सरकारले प्रदेश क्षेत्रमा पर्ने नेपाल भारत सीमा क्षेत्रका सीमा सुरक्षा पोस्टलाई सडक सञ्जालसँग जोड्ने कार्यक्रम तय गरेको छ। यसैगरी नयाँ निर्माण हुने सडकलाई अपांग मैत्री बनाइने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।

    कृषि पकेट क्षेत्रमा कृषि सडक, पर्यटकीय स्थलमा पर्यटन स्थल पहुँच मार्ग, सीमा क्षेत्रमा सडक निर्माणका लागि सीमा क्षेत्र सडक कार्यक्रम, उद्योगसँग जोड्ने उद्योग स्थल पहुँच मार्ग निर्माणलाई प्राथमिकता दिइने सरकारले जनाएको छ।

    सरकारले सिँचाइलाई प्राथमिकता दिँँदै नीति तथा कार्यक्रम तयार पारेको छ। पहाडी क्षेत्रमा सतही तथा भूमिगत पानी लिफ्ट गरेर सिँचाइ गर्ने तथा कृत्रिम पोखरी, जलाशय निर्माण र पुराना ताल तथा पोखरीको संरक्षण गरिने सरकारले जनाएको छ। सीमसार, ससाना मूल, खोल्सा तथा खोलाको पानीलाई सिँचाइमा प्रयोग गर्ने लक्ष्य सरकारले लिएको छ।

    प्रदेशको आर्थिक समृद्धिका लागि प्रदेशलाई टिमुर पकेट क्षेत्रका रूपमा विकास गरिने जनाइएको छ। दाङसहित गुल्मी, पाल्पा, प्युठान, अर्घाखाँची, रोल्पा र रुकुमपूर्वमा टिमुर खेतीलाई प्रोत्साहन गरेर टिमुर पकेट क्षेत्रका रूपमा विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

    यसैगरी शिक्षातर्फ सरकारले प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम सञ्चालन गर्ने भएको छ। गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि संघ तथा स्थानीय सरकारसँगको समन्वयमा यो कार्यक्रम गरिने प्रदेश प्रमुख अमिक शेरचनले बताए।

    यसैगरी प्रदेश सरकारले प्रदेशका चार स्थानमा शिशु स्याहार केन्द्र निर्माणका लागि सम्भाव्य अध्ययन गरिने जनाएको छ। आमा बन्दा रोजगारी गुमाउने अवस्था हुन नदिन प्रदेशका मुख्य व्यावसायिक र औद्योगिक क्षेत्रमा शिशु स्याहार केन्द्रका स्थापनाका लागि घोराही, बुटवल, लुम्बिनी र नेपालगन्जमा सम्भाव्य अध्ययन गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

    मातृ तथा नव शिशु मृत्यु दर र उच्च कुपोषणलाई न्यूनीकरण गर्न सामुदायिक नर्सिङ कार्यक्रम नमुना परियोजनाका रूपमा आमा बचाउ अभियान थालनी गर्ने सरकारको लक्ष्य छ। पूर्ण अपांगता भएका नागरिक तथा ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई घरमै निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रम प्रदेश सरकारले बनाएको छ। त्यस्तै गर्भवती, सुत्केरी महिला तथा नवजात शिशुलाई आपतकालीन स्वास्थ्य अवस्थामा अस्पताल पुर्‍याउनु परेमा प्रदेशका पहाडी जिल्लामा उद्धारका लागि एयर एम्बुलेन्सको व्यवस्था गरिने सरकारले जनाएको छ।

    ग्रामीण सहर निर्माणको अवधारण लागु गरी बसाइँसराइ रोक्ने लक्ष्य सरकारले लिएको छ। ग्रामीण स्तरमा सहर निर्माण गर्र्ने र त्यहाँ आधारभूत सेवा सुविधा प्रदान गरेर बसाइँसराइ न्यूनीकरण गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।

  • नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदका लागि दरखास्त आह्वान

    नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदका लागि दरखास्त आह्वान

    सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज एक सूचना जारी गर्दै दूरसञ्चार कम्पनीको प्रवन्ध निर्देशक पदका लागि दरखास्त आह्वान गरेको हो।

    इच्छुक योग्य व्यक्तिले मन्त्रालयको संस्थान समन्वय शाखामा सम्पर्क गर्न सक्ने पनि सूचनामा उल्लेख गरिएको छ।

    यस्तो छ सरकारले निकालेको सूचनाः