Blog

  • ‘नियमित सफाइ गरे हुन्न लिंगको क्यान्सर’

    ‘नियमित सफाइ गरे हुन्न लिंगको क्यान्सर’

    सिरहाका ५० वर्षीय राम यादव (नाम परिवर्तन) लिंगमा समस्या देखिएपछि उनी जेठको पहिलो साता चितवनस्थित बिपी कोइराला मेमोरियल अस्पतालमा पुगे। परीक्षण गर्दा उनमा लिंगको क्यान्सर भएको पत्ता लाग्यो। चिकित्सकहरूले क्यान्सर प्रभावित भागको शल्यक्रिया गरे। अहिले उनी थप उपचारका लागि भर्ना भएका छन्।

    गत साता सोही अस्पतालमा भर्ना भएका हुन्, सप्तरीका ५२ वर्षीया रामेश्वर प्रसाद शर्मा (नाम परिवर्तन)। उनको पनि लिंगमा क्यान्सर भएको छ। गत साता नै शल्यक्रिया गरी उनको लिंगको आधा भाग फालिएको छ। यी दुवैको क्यान्सर तेस्रो चरणमा पुगेपछि थाहा भएको हो। त्यसकारण उनीहरूमा थप उपचार आवश्यक रहेको बिपी कोइराला मेमोरियल अस्पताल भरतपुरका युरो अन्कोलोजिस्ट सर्जन डा. निर्मल लामिछानेले बताए।

    उक्त अस्पतालमा लिंगको क्यान्सर भएर आउने यी दुई प्रतिनिधि पात्र हुन। तर अस्पतालमा बर्सेनि धेरै संख्यामा यस्ता बिरामी उपचारका लागि पुग्छन्। अस्पतालमा गत वर्ष लिंगको क्यान्सर भएका ८७ बिरामीले सेवा लिएका थिए। सो अस्पतालमा प्रतिवर्ष औसत ८० देखि ९० जना लिंगको क्यान्सर भएका बिरामी उपचारमा पुग्छन्।

    भक्तपुर क्यान्सर अस्पतालमा पनि हालै दुई पुरुषमा लिंगको क्यान्सर पुष्टि भएको छ। उनीहरू शल्यक्रियापछि थप उपचारमा रहेको अस्पतालका युरो अन्कोलोजिस्ट सर्जन डा. पुण्य खरबुजाले बताए। उनका अनुसार यी दुवै ५० वर्षमुनिका पुरुष हुन्। यो अस्पतालमा प्रतिवर्ष औसत ३० देखि ४० जना लिंगको क्यान्सर भएका बिरामी उपचारमा आउँछन्। एचपिभी इन्फर्मेसन सेन्टरको सन् २०२३ को तथ्यांकअनुसार नेपालमा १.३९ पुरुषमा लिंगको क्यान्सर हुने गर्छ।

    कसरी हुन्छ लिंगको क्यान्सर?

    चिकित्सकका अनुसार मुख्य दुई कारणले लिंंगको क्यान्सर हुन्छ। एउटा, सफाइको कमीले लिंगभित्र जम्मा हुने कीटाणु। अर्को, यौन सम्पर्कका क्रममा सर्ने ह्युमन पेपिलोमा भाइरसको संक्रमण। लिंगको उचित सफाइ नभए सुरुमा सानो घाउ हुने र बिस्तारै भित्री भागमा फैलिने चिकित्सकहरू बताउँछन्।

    लिंगको लिम्पनोडसम्म र अन्य भागमा अनियन्त्रित रूपमा कोष वृद्धि हुने प्रक्रियालाई लिंगको क्यान्सर भनिन्छ। लिंगमा क्यान्सर सुरु भएपछि घाउ हुने, राता निको नहुने बिबिरा आउने, सेता र राता धब्बा आउने, लिंगको छाला पछाडि नफर्किने जस्ता लक्षण देखिन्छन्। यी र यस्ता लक्षण देखिए तुरुन्त विशेषज्ञ अस्पतालमा उपचारका लागि जान चिकित्सकको सुझाव छ।

    यो क्यान्सरको समयमै पत्ता लगाउन सके क्यान्सर फैलिएको भाग मात्र काटेर शल्यक्रिया गर्न सकिन्छ। जसमा एउटा पेनाटोमी (आंंशिक भाग काटेर फाल्ने) र अर्कोे टोटल पेनाटोमी (लिंगको पुरै भाग काटेर फाल्ने) शल्यक्रिया पर्छन्। यिनलाई क्यान्सरको पहिलोे उपचार विधि हो। यो क्यान्सर धेरैजसोे ५० देखि ६० वर्ष उमेर पुगेपछि देखिन्छ।

    नेपालमा उस्तै स्थिति

    विकसित देशमा पहिला नै नियन्त्रण भइसकेको लिंगको क्यान्सर नेपालसहित दक्षिण एसियाली र केही विपन्न मुलुकमा अहिले पनि घट्न नसकेको चिकित्सकहरू बताउँछन्।

    ‘यो समस्या विकसित मुलुकमा छैन। भारत, नेपाल, दक्षिण अमेरिका, कंगो र अफ्रिकी देशहरूमा भने घट्न सकेको छैन,’ बिपी कोइराला क्यान्सर अस्पतालका युरो अन्कोलोजी सर्जन डा. निर्मल लामिछानेले भने। नेपालमा क्यान्सरको १९औं नम्बरमा पिसाबजन्य अंगको क्यान्सर पर्छ। यसभित्र पनि लिंगको क्यान्सर दोस्रो नम्बरमा पर्र्छ।

    भरतपुर क्यान्सर अस्पतालका डा. लामिछानेका अनुसार सामाजिक तथा आर्थिक रूपमा पछि परेका पूर्वी तराईका बिरामीहरूमा लिंगको क्यान्सर बढी देखिएको अस्पतालमा आउने बिरामीको प्रवृत्तिबाट देखिन्छ। पूर्वी तराईका जिल्ला धनुषा, सप्तरी, सिरहालगायत जिल्लामा यो क्यान्सर बढी देखिन्छ।

    बिपी कोइरला क्यान्सर अस्पतालले सन् २०१९ मा प्रकाशित गरेको अध्ययन प्रतिवेदनअनुसार पाँच वर्षको अवधिमा अस्पतालमा लिंगको क्यान्सरकोे शंका गरिएका २४५ बिरामीमध्ये २१८ जनामा प्रयोगशालाबाट सोही रोग पुष्टि भएको थियो। उनीहरू सन् २०१२ जनवरीदेखि २०१६ डिसेम्बरभित्र उपचारमा पुगेका बिरामी थिए।

    क्यान्सर पुष्टि भएकामध्ये ७१.६ प्रतिशत कृषक थिए भने ६७ प्रतिशतमा कमजोर सफाइको स्थिति थियो। ८८.७ प्रतिशतले धूमपान गर्ने गरेको र ७० प्रतिशतले प्राथमिक तहको शिक्षा पूरा गरेका थिए।

    पेपिलोमा भाइरस अन्य संंक्रमण मुख्य कारक

    भक्तपुर क्यान्सर अस्पतालका युरो अन्कोलोजिस्ट सर्जन डा. खरबुजाका अनुसार यो अस्पतालमा आउने बिरामीको स्थिति हेर्दा पहाडी जिल्लाबाट आउने बढी छन्। यो हिसाबले लिंगको क्यान्सर पुर्वी तराईमा मात्र नभई सबैजसो जिल्लामा फैलिएको छ।

    क्यान्सरका बिरामीहरूको परीक्षण गर्दा ह्युमन पेपिलोमा भाइरस कारक देखिन्छ। तर तराईको हकमा अन्य संक्रमण पनि कारक रहेको डा. लामिछानेको तर्क छ। ‘सबैमा एचपिभी परीक्षण भएको छैन, बिरामीकोे परिणाम हेर्दा सफाइको कमी देखिन्छ,’ उनले भने।

    उपचारमा आउनेहरू धेरैजसो तेस्रो चरणमा भइसकेपछि मात्र आउँछन्। उनीहरू सुरुमा लाजका कारण उपचारमा ढिला पुग्ने गर्छन्। ढिला पुग्नेका हकमा उपचार जटिल बन्छ नै, लामो उपचारपछि पनि लिंगको आधा या पुरै भाग काट्नुपरे बाँकी जीवन पनि जटिल बन्छ।

    ‘ढिला उपचारमा पुग्दा लिंग र वरिपरिको भागसमेत काट्नुपर्दा पुरुषको यौन जीवन पनि सहज हुँदैन,’ डा. खरबुजाले भने। विश्वमा यो क्यान्सर हुनुमा ८० प्रतिशत ह्युमन पेपिलोमा भाइरस नै कारण देखिन्छ।

    भरतपुर अस्पतालमा आउने बिरामीको क्यान्सर के कारणले भएको भन्ने यकिन तथ्यांक छैन। तर चिकित्सकका अनुसार साक्षरता नभएका, न्यून आर्थिक क्षमता भएका बिरामीहरूमा यो समस्या देखिन्छ।

    भक्तपुर क्यान्सर अपतालले सन् २०२२ मा प्रकाशित गरेको अध्ययन प्रतिवेदनअनुसार नेपालमा ६० प्रतिशत लिंगको क्यान्सर ह्युमन पेपिलोमा भाइरसकै कारणले भएको देखिन्छ।

    नेपालका कतिपय धार्मिक समुदायमा बच्चा जन्मेपछि लिंगलाई ढाकेको छाला काट्ने चलन छ। अघिको भागको छाला फर्काउने चलन भएका देश तथा समुदायमा यो समस्या कम हुने गरेको डा. लामिछाने बताउँछन्। तर त्यस्तो चलन नभएको समुदायमा लिंगको छालाले छोपेको भागमा सरसफाइको कमी हुँदा फोहोर जम्ने र पछि गएर क्यान्सर हुने गर्छ।

    लिंगको नियमित सफाइ गर्नेहरूमा यो क्यान्सरको सम्भवना कम हुने चिकित्सक बताउँछन्। ‘शैक्षिक, आर्थिक स्तर कमजोर भएका कृषि पेसा अपनाउने तराईका यो वर्गमा बढी देखिन्छ,’ डा. लामिछानेले भने।

    नियन्त्रण कसले के गर्ने?

    विकसित देशमा लिंगको क्यान्सर बनाउने कारक तŒव ह्युमन पेपिलोमा भाइरस विरुद्धको खोप नियमित दिने चलन भएकाले यो क्यान्सर नियन्त्रण भइसकेको छ। भइहाले पनि वर्षमा एकाध व्यक्तिमा मात्र त्यो समस्या देखिन्छ।

    नेपालमा पनि सरकारले महिलाको पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने एपिभी खोप पुरुषका लागि पनि नियमित दिने कार्यक्रम आवश्यक रहेको चिकित्सक बताउँछन्।

    ‘१२ वर्षदेखि १४ वर्षका किशोरीलाई एचपिभीविरुद्धको खोप दिएजस्तै किशोरहरूलाई पनि दिनुपर्छ’ डा. लामिछानेले भने। यसको साथै हरेक व्यक्तिले व्यक्तिगत सफाइ गर्ने, सुरक्षित यौन सम्पर्क अँगाल्ने, लिंगको अघिको भागको छालाको फर्काएर धुने गरे यो रोगबाट बच्न सकिने चिकित्सकको सुझाव छ। ‘माथ उल्लिखित कुनै पनि लक्षण देखिए छिटोभन्दा छिटो उपचारमा गए पनि उपचार सम्भव छ,’ डा. खरबुजाले भने।

  • फेरि सौदाबाजीमा संक्रमणकालीन न्याय विधेयक!

    फेरि सौदाबाजीमा संक्रमणकालीन न्याय विधेयक!

    संसद्मा बजेट आएसँगै प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तापक्ष र प्रमुख प्रतिपक्षलाई एकै ठाउँमा उभ्याउने असफल प्रयास गरेका छन्। संसद्मा दर्ता भएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई अघि बढाउने विषयमा प्रधानमन्त्री दाहालले सत्तापक्षका नेता एमाले अध्यक्ष केपी शर्मा ओली र विपक्षी दलका नेता शेरबहादुर देउवालाई एकै ठाउँमा राखेर छलफल गरे पनि सहमति जुटाउन उनी असफल भएका हुन्।

    प्रतिनिधिसभाको बैठकमा पेस भएको विधेयक अगाडि बढाउने विषयमा सोमबार शीर्ष तहमा छलफल गरिएको थियो। २०७९ चैत ५ गते संसद् बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ पेस गरेकी थिइन्। तत्कालीन समयमा प्रधानमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दाहालका तर्फबाट मन्त्री शर्माले विधेयक पेस गरेकी थिइन्। सोमबार बिहान तीन नेताहरूबीच यही विषयमा छलफल भएको थियो।

    विस्तृत शान्ति सम्झौताअनुसार शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न, पीडितलाई परिपूरण र पीडकलाई आवश्यक मेलमिलाप र आवश्यक दण्ड दिन विधेयक ल्याइएको थियो। विधेयक सर्वोच्च अदालतको आदेश, कानुन र अन्तर्राष्ट्रिय मान्यताअनुसार नै विधेयक ल्याइएको दाबी गरिए पनि सत्ता गठबन्धन परिवर्तनको संकेत पाएको कांग्रेसले संसदीय समितिबाट पास गर्नबाट रोकेको थियो। सोमबार बिहान नै नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधव नेपालसँग पनि प्रधानमन्त्रीले छलफल गरेका थिए।

    सहकारीको रकम हिनामिना र अपचलनको छानबिन गर्न संसदीय छानबिन समिति गठन भएपछि पहिलोपटक तीन नेताबीच एकैपटक भेटवार्ता र छलफल भए पनि संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे छलफल भएको स्रोतले जनाएको छ।

    प्रधानमन्त्री दाहालले संक्रमणकालीन न्यायको विषयलाई कसरी टुंग्याउन सकिन्छ भनेर दुई शीर्ष नेताहरूसँग छलफल गरेको बुझिएको छ। ‘एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवासँग प्रधानमन्त्रीले संक्रमणकालीन न्यायसम्बन्धी विषयमा छलफल गर्नुभएको हो। यो विषयमा अन्तर्राष्ट्रिय दबाब पनि बढ्दै गएकाले तीन नेताहरूबीच छलफल भएको हो,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो। पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफलको मुख्य विषय बनाइए पनि प्रधानमन्त्रीले संक्रमणकालीन न्यायको सवाललाई पनि छलफलमा ल्याएका थिए। तर देउवाले सत्तापक्षले यो विषयमा समझदारी गर्नुपर्ने बताएका थिए। उनले छेउमै रहेका ओलीप्रति लक्षित गर्दैै सत्तापक्षबाटै त्यसको समाधान हुनुपर्ने भनाइ राखेका थिए।

    एमाले अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजागाईंले तीन नेताबीचको भेटघाटबारे पुष्टि गरे पनि छलफलको अजेन्डाबारे जानकारी नभएको बताए। ‘म बाहिर थिएँ। भेटघाट भएको हो तर छलफलको एजेन्डाबारे जानकारी भएन,’ बजगार्इंले भने। यो विषयमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यसँग सम्पर्क गर्न खोज्दा उपलब्ध हुन सकेनन्। बालुवाटारनिकट स्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्री दाहाल सबै दलबाट सहमति जुटाएर संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्बाट चाँडै पास गराउन चाहिरहेका छन्।

    हत्या, यौनजन्य हिंसा, शारीरिक वा मानसिक यातना, अपहरण तथा शरीर बन्धक बनाउने, गैरकानुनी थुनामा राख्ने, कुटपिट गर्ने, अंगभंग वा अपांगता बनाउने, व्यक्तिगत वा सार्वजनिक सम्पत्ति लुटपाट, कब्जा, तोडफोड वा आगजनी गर्ने, घरजग्गाबाट जबर्जस्ती निकाला वा अन्य कुनै किसिमको विस्थापन गर्ने र अन्तर्राष्ट्रिय मानवअधिकार वा मानवीय कानुनविपरीत गरिएका जुनसुकै अमानवीय कार्यलाई सम्झनुपर्ने भन्दै सर्वोच्च अदालतले यी विषय उल्लेख गरेर मात्रै विधेयक ल्याउन गरिएको आग्रहमा सरकारमा रहेका र सरकारमा नरहेका पक्षबीच सधैं टकराव उत्पन्न भएकाले लामो समयदेखि संक्रमणकालीन न्यायसम्बन्धी कानुन बन्न सकेको छैन।

    २०७९ सालको निर्वाचनपछि दाहालले सरकारको नेतृत्व गरेसँगै यो विषयमा चासो राख्दै आएका छन्। तर पनि अहिलेसम्म सहमति जुटाउन सकेका छैनन्। बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकबारे प्रधानमन्त्री दाहालले गत वर्षको पुस १० गतेको सम्बोधनमा क्रममा यसलाई सार्वभौम संसद्बाट आम सहमतिमै अगाडि बढाउन सकिन्छ भन्ने विश्वास लिएको जनाएका थिए। यद्यपि त्यसले अहिलेसम्म पूर्णता पाउन सकेको छैन।

    सोमबार त्यसबाहेक शीर्ष नेताहरूबीच सर्वोच्च अदालतलले रवि लामिछानेको सहकारी ठगीबारे कास्की प्रहरीमा परेको उजुरी मागेको विषय र अन्य केही समसामयिक विषयमा पनि छलफल भएको स्रोतको दाबी छ। साथै सोमबार बिहानको भेटघाटमा संसद्मा प्रस्तुत बजेटको विषयमा नेकपा एसका अध्यक्ष नेपालले असहमति प्रकट गरेका थिए।

    ‘बजेटबारे उहाँका केही सान्दर्भिक विषयहरू रहेछन्, त्यसलाई सम्बोधन गर्नुपर्ने देखियो,’ प्रधानमन्त्री र माधव नेपालबीचको भनाइ उधृत गर्दै स्रोतले भन्यो।

    अध्यक्ष नेपालसँगको भेटमा मधेस प्रदेश सरकार गठन र सुदूरपश्चिम प्रदेश सरकारको विस्तारबारे छलफल भएको थियो। सुदूरपश्चिममा एमाले र माओवादीले निर्णय नगर्दा सरकार विस्तार हुन सकेको छैन। त्यसैगरी मधेसमा एमाले र माओवादी केन्द्रले नेकपा एसलाई सरकारबाट फिर्ता भएर नयाँ सरकार गठनका लागि सहजता प्रदान गर्न आग्रह गर्दै आएका छन्। तर नेकपा एसले मधेसमा पुरानो समीकरणअनुसार बनेको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) नेतृत्वको सरकार छाड्न नसकेको अवस्थामा प्रधानमन्त्रीले नेपाललाई बोलाएर छलफल गरेको बुझिएको छ।

    प्रधानमन्त्री दाहालले बिहान नेपाललाई एक्लै भेटेपछि दिउँसो ओलीसँग सिंहदरबारमा सामूहिक छलफल गरेका थिए। सो छलफलमा पनि तीन पार्टी मिलेर जाने सहमति भएको स्रोतको दाबी छ। खासगरी नेकपा एसका अध्यक्ष नेपालले सुदूरपश्चिम सरकारमा एमालेले असहयोग गरेको जनाउँदै कांगेसको साथ लिएपछि गठबन्धनमा खटपट उत्पन्न भएको थियो। ‘दाहाल–ओली मिलेर माधव नेपाललाई विश्वासमा लिने प्रयास गरिएको छ। सायद सोमबारको छलफल यसमै केन्द्रित थियो,’ एमालेका एक पदाधिकारीले भने।

  • अन्तर्राष्ट्रिय कबड्डीमा नेपाललाई पहिलो रजत पदक

    अन्तर्राष्ट्रिय कबड्डीमा नेपाललाई पहिलो रजत पदक

    नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय कबड्डीमा रजत पदक जितेको छ। बङ्गबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगितामा उपविजेता बनेको नेपालले अन्तर्राष्ट्रिय कबड्डीमा पहिलो पटक रजत पदक जितेको हो।

    सोमवार ढाकास्थित सहिद सुह्रवार्दी इन्डोर स्टेडियममा भएको फाइनल खेलमा नेपाल घरेलु टोली बङ्गलादेशसँग ४५–३१ ले पराजित हुँदै उपविजेता बनेको हो।

    १२ टोली सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’ को उपविजेता तथा बङ्गलादेश समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेका थिए।

    सेमिफाइनलमा नेपालले समूह ‘बी’ को विजेता केन्यालाई हराएर फाइनलमा स्थान सुरक्षित गरेको थियो भने बङ्गलादेशलेले थाइल्याण्डलाई पराजित गरेर फाइनलमा स्थान बनाएको थियो।

    समूह चरणमा पाँच मध्ये चार खेल जितेको नेपाल बङ्गलादेशसँगै पराजित भएको थियो। फाइनलमा पनि नेपालले बङ्गलादेशसँग खेल्दा बदला लिने अवसर थियो। तर, घरेलु दर्शक र मैदानको साथ पाएको बङ्गलादेशले नेपाललाई दोस्रो पटक हराउँदै उपाधि जित्यो।

  • नग्न अभियन्ताको खोजी

    नग्न अभियन्ताको खोजी

    अमेरिकाको सान फ्रान्सिस्को राज्यस्थित बे एरियाले आफ्नो क्षेत्रलाई नग्नतारहित क्षेत्र घोषित गरेको पाँच वर्ष पूरा भएको छ। बे एरियाले सो घोषणा गरेपछि जर्ज डेभिसले नाङ्गै विरोध गर्न थालेको पनि एघार वर्ष पूरा भएको छ। त्यसो त नाङ्गै उभिन प्रतिबन्ध छ, त्यसैले उनले झिनो लुगा लगाएर त्यसको विरोध गरिरहेका छन्। उनी आफूलाई ‘बडी फ्रिडम’ अभियन्ता भएको बताउँछन्।

    सन् २०१३ मा बे एरिया सिटीले नयाँ नियम ल्याउँदै आफ्नो निजी घर, निजी समुद्री किनार र फल्सोम गल्ली महोत्सवजस्ता कार्यक्रममा मात्र नग्न हुन पाइने नियम ल्याएको थियो। यदि कसैले जहाँ पायो त्यहीँ नग्नता प्रदर्शन गरे पहिलो पटक सय डलर र दोस्रो पटकदेखि दुई सय डलर र १२ महिना जेल सजाय तोकेको छ।

    यस्तो नियमले अमेरिकाको संविधानले दिएको स्वतन्त्रता हनन भएको भन्दै डेभिसले सन् २०१७ मा मुद्दा हालेका थिए तर उनले सो मुद्दा हारे। त्यसयता उनी आफ्नो नग्न शरीरलाई कलाकृतिका रूपमा र राजनीतिक अभिव्यक्तिका रूपमा हेरिनुपर्ने भन्दै अभियान चलाउन थालेका छन्। उनको विरोध भनेको मूलतः सो नियम महिला केन्द्रित बनाइएकोमा असन्तुष्टि हो। अझै पनि महिलाहरूले खुल्ला छाति देखाउन पाउँदैनन् भन्ने उनको गुनासो छ।

    अन्तर्राष्ट्रिय नग्नता दिवसका दिन भेला भएका नग्नप्रेमीहरूलाई प्रहरीले दुःख दिने गरेकोमा उनको चित्त दुखाई छ। उनी भन्छन्, ‘पुरुषहरू सर्ट उतारेर ना·ै हिँड्न सक्छन्, महिलाले त्यसो गरे उनीहरूमाथि कानुन लाग्छ। यो त उनीहरूमाथि अन्याय नै भयो।’

    यतिबेला ८० वर्षे डेभिस पुनः चर्चामा आएका छन्। उनले हालै इन्टरनेटमा एउटा विज्ञापन हालेका छन्। उनले आफ्नो नग्नता अभियानमा सहभागी हुन सर्वसाधारणलाई आग्रह गरेका छन्। उनले नग्न भएर प्रतिबन्धित पुस्तकहरू बेच्ने घोषणा गरेका छन्। यसका लागि उनले महिलाहरूलाई आफ्नो अभियानमा संलग्न हुन विशेष आग्रह गरेका छन्।

    ‘मैले धेरै वर्षदेखि नग्न रहेर नग्नताको पक्षमा वकालत गरेँ तर धेरैले मेरा कुरालाई गम्भीर भएर लिएनन्,’ डेभिस भन्छन्, ‘कुनै स्त्री नग्न रूपमा उभिएर प्रतिबन्धित पुस्तक बेच्न बसी भने उसको कुरा सुन्न, उसले बेच्न राखेका पुस्तक किन्न सर्वसाधारण पक्कै इच्छुक हुनेछन्।’

    विज्ञापनमा उनले न्युयोर्क क्षेत्रमा २० स्क्वायर फुट क्षेत्रको घर भाडामा खोजिरहेका छन्। त्यहाँ प्रतिबन्धित पुस्तक बेचिनेछ। साथै, त्यहाँ पुस्तक बेच्न नियुक्त भएकाहरू पनि नग्न रूपमा पुस्तक बेच्ने छन् भने पुस्तककबारे नग्न रूपमा नै जानकारी दिनेछन्।

    अहिलेसम्म आफ्नो योजना कार्यान्वयन गर्न कसैले पनि दरखास्त नदिएको उनले बताएका छन्। उनले लस एन्जलस टाइम्ससँग भनेका छन्, ‘यस्तो काममा अघि बढ्नु पक्कै पनि क्रान्तिकारी कदम हो। त्यसका लागि समय लाग्छ। तर मेरो विचारसँग मिल्दो कोही न कोही, कहीँ न कहीँ त पक्कै पनि होलान्।’

  • तपाईंको आजको राशिफल

    तपाईंको आजको राशिफल

    मेष राशिः अध्ययनकोे क्षेत्रमा दिन राम्रो छ। बिलासी खानपानमा रुचि नगर्नु वेस हुन्छ। भूमिसम्बन्धी काममा फल प्राप्तिको योग छ। सामान्य बाथ रोग देखा पर्न सक्ने छ। धार्मिक सेवा कार्यमा सम्मान मिल्ने दिन छ।

    वृष राशिः कार्यमा प्रयास गर्दा सफलता प्राप्त हुने देखिन्छ। वैदेशिक व्यापार गर्नेका लागि दिन राम्रो छ। बिलासी कार्यमा रुचि नलिनु होला। नवीन कार्यसिद्धिमा हल्का बाधा छ। आर्थिक लाभ हुने दिन छ।

    मिथुन राशिः सरकारी काम प्राप्त हुने योग छ। व्यवसायमा लगानी गरे फल प्राप्त हुने छ। अध्यनार्थीलाई ज्ञान आर्जनमा रुची बढ्ने छ। सामान्य उदर रोग देखा पर्न सक्छ। कपडा उद्योगमा सहकार्य गर्दा राम्रो हुन्छ।

    कर्कट राशिः विद्यार्थीका लागि पढाईमा राम्रो छ। व्यापारमा फल प्राप्त हुनेछ। स्वास्थ्यमा बिकार आउने देखिन्छ। केही व्यक्तिबाट सामान्य अर्थ व्यय छ। उन्नति प्रगतिमा केही बाधा हुने दिन छ।

    सिंह राशिः व्यापारको क्षेत्रमा आर्थिक लगानी गर्नु ठीक छ। स्वदेश यात्राको योग रहेको छ। भेटघाटमा सहभागी हुनु पर्नेछ। अध्ययनको कार्यमा राम्रो होला। परिवारमा धन खर्च हुने योग देखिन्छ।

    कन्या राशिः अध्ययन अध्यापनमा सफलता मिल्ने योग छ। धातु सम्बन्धी व्यवसायमा केही धन खर्च हुने समय छ। आफ्ना अग्रजमा सामान्य रोग देखा पर्ने छ। लगानीबाट उचित लाभ प्राप्त हुनेछ।

    तुला राशिः नयाँ कार्यबाट मनग्गे धन प्राप्त हुने योग देखिन्छ। सहयोग नलिई आफै कार्य गर्नु होला। पठन, लेखनमा रुची बढ्ने छ। कार्य क्षेत्रमा प्रभुत्व बढाउन सफल भइने छ। व्यापार व्यवसायमा मध्यम समय छ।

    वृश्चिक राशिः ज्ञान क्षेत्रमा रुचि मध्यम छ। दाजुभाइबीच प्रेम सद्भाव रहने छ। मधुर भोजन र सामाजिक कार्यमा धन खर्च हुने योग देखिन्छ। कर्णरोग देखा पर्न सक्ने छ। पारिवारिक संयोगले मन प्रसन्न हुने देखिन्छ।

    धनु राशिः वाणी सफल हुने समय छ। आर्थिक प्राप्तिमा सफलता मिल्नेछ। आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ। रोजगारीको अवसर मिल्ने दिन छ।

    मकर राशिः पराक्रमबाट कार्यसिद्धि हुनेछ। व्यापार व्यवसायमा फल प्राप्तिको योग छ। साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। पढाईमा राम्रो छ। वैदेशिक यात्राको समय देखिन्छ।

    कुम्भ राशिः व्यापार व्यवसायमा प्रशंसा प्राप्तिको समय छ। सामान्य कर्ण रोग देखिन सक्छ। पढाईको क्षेत्रमा थोरै बाधा छ। बिलासी कार्यमा प्रवेश नगरी, विचार पुर्याउनु होला। कार्यबाट धन प्राप्त हुने योग छ।

    मीन राशिः राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। व्यापारको काम गर्दा विचार पु¥याएर गर्नु होला। बाहिरी कार्यमा सामान्य धन खर्च हुनेछ। अध्ययनमा सफलता मिल्ने छ। गृह निर्माणको योग छ

  • आज पनि देशका अधिकांश स्थानमा मौसम बदली, यी स्थानमा हुनेछ वर्षा

    आज पनि देशका अधिकांश स्थानमा मौसम बदली, यी स्थानमा हुनेछ वर्षा

    आज पनि देशका अधिकांश स्थानमा मौसम बदली रहने भएको छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ।

    महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी बुलेटिन अनुसार कोशी, मधेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

    महाशाखाले आज दिउँसो कोशी, मधेश, बागमती, र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने बताएको छ।

    कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

    गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हावा हुरीको सम्भावना रहेको छ भने देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार आज राति कोशी, मधेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

    कोशी, मधेश र गण्डकी प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    यस्तो छ आगामी २ दिनको मौसम सम्बन्धी जानकारीः

    २०८१ जेठ २३ गते (बुधवार)

    दिउँसोː कोशी, मधेश, बागमत, र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश,कर्णाली र लुम्बीनी प्रदेशका एक–दुई स्थानमा हावा हुरीको पनि सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    रातिː कोशी, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    २०८१ जेठ २४ गते (बिहीवार)

    दिउँसोː कोशी, मधेश, बागमती, लुम्बीनी र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, मधेश, बागमती, लुम्बीनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम, कर्णाली र लुम्बीनी प्रदेशका एक–दुई स्थानमा हावा हुरीको पनि सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    रातिː कोशी, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

  • भारतमा निरीह मुस्लिम मत

    भारतमा निरीह मुस्लिम मत

    राजनीतिशास्त्री गिल्स भर्नियर्सले यसपटकको भारतीय लोकसभा चुनावमा दुवै प्रमुख गठबन्धनले प्रस्तुत गरेका मुस्लिम समुदायका उम्मेदवार संख्याको समीक्षा गरेका छन्।

    यो समीक्षाले भारतीय निर्वाचन राजनीतिमा मुस्लिम समुदायको हदैसम्म कम प्रतिनिधित्व भएको देखाएको छ। हुन पनि, भारतको कुल जनसंख्याको १४.२ प्रतिशत हिस्सा लिएको मुस्लिम समुदायले कसको नेतृत्वमा केन्द्र सरकार गठन गर्ने भन्नेमा निर्णय गर्ने शक्ति राख्दैन।

    सत्तारुढ एनडिए गठबन्धनसँग आबद्ध रहेका कुल ५४१ उम्मेदवारमध्ये मुस्लिम समुदायका उम्मेदवारको संख्या ०.७ प्रतिशत मात्र छ भने प्रतिपक्ष भारत गठबन्धनमा यो समुदायको उम्मेदवारीको हिस्सा ७.२ प्रतिशत छ।

    पार्टीगत हिसाबले हेर्ने हो भने भारतीय जनता पाटी (भाजपा)ले उठाएका कुल ४४१ उम्मेदवारमध्ये मुस्लिम समुदायबाट एक जना मात्र उम्मेदवार (०.२ प्रतिशत) रहेका छन्। यसैगरी कांग्रेसले उठाएका ३२८ उम्मेदवारमा यो समुदायका १९ उम्मेदवार (५.८ प्रतिशत) छन्।

    यसैगरी एसपीका कुल ६२ उम्मेदवारमध्ये चार जना (६.५ प्रतिशत) मुस्लिम रहेका छन्। तृणमूल कांग्रेसका कुल ४२ उम्मेदवारमध्ये ६ जना (१४.३ प्रतिशत) मुस्लिम उम्मेदवार छन्।

    उपलब्ध यी तथ्यांकले भारतीय राजनीतिमा मुस्लिम समुदायको सीमित प्रभाव र यथेष्ट प्रतिनिधित्व नरहेको मुखरित हुन्छ। यो आलेखमा के कारणले यो समुदाय सीमान्तकृत भएको हो र भारतको समग्र प्रजातान्त्रिक प्रक्रियामा यसले कस्तो प्रभाव पारेको छ भन्नेमा म केन्द्रित रहने छु।

    मुस्लिमहरूले एक निश्चित सामुदायिक मतदान गर्ने भएकाले राजनीतिक प्रतिनिधित्वमा उनीहरूको कमजोर प्रदर्शन रहेको मेरो तर्क छ। यसैगरी भाजपासँग किन कम मुस्लिम उम्मेदवार छन् भन्ने विषयका पनि अनेकन् कारण छन् र मैले यो विषयमा यसअघि पनि धेरै लेखेको छु।

    विशेषगरी मुस्लिम समुदायको भाजपा विरोधी मतदान रणनीतिले सही हिसाबले काम गरेको देखिँदैन। उता, भाजपा पनि मुस्लिमप्रति रुचि देखाउनुभन्दा पछाडि परेको हिन्दु वर्ग (ओबिसी)का नेतालाई बढी अवसर दिन उद्यत् देखिन्छ। पछिल्लो चुनावमा उठाइएका मुस्लिम उम्मेदवारको तथ्यांकले भारतीय राजनीतिमा मुस्लिम समुदायको किन कमजोर प्रस्तुति छ भन्नेमा अझ बढी प्रस्ट पार्छ।

    शक्तिहीन र विकल्पविहीन

    १. भाजपालाई परास्त पार्ने सबैभन्दा ठुलो पार्टी अथवा शक्तिशाली उम्मेदवारलाई समूहगत हिसाबले मतदान गर्ने मुस्लिम रणनीतिले अपेक्षित नतिजा दिन सकेको छैन। विशेषगरी प्रत्यक्ष प्रतिस्पर्धामा झन् यो असफल बनेको छ। उदाहरणका लागि लोकसभा सदस्य संख्याको हिसाबले सबैभन्दा ठुलो उत्तर प्रदेशमा यो रणनीति नराम्ररी असफल भएको छ।

    यो प्रदेशमा भाजपाले कुल मतदानको झन्डै ५० प्रतिशतको हाराहारीमा मत पाउन सक्षम रहने गरेको छ। यो प्रदेशमा मुस्लिम समुदायको २० प्रतिशत हिस्सा रहँदा रहँदै पनि उनीहरूले भाजपालाई शक्तिमा जान रोक्न सकेका छैनन्। उता, सत्तारुढ दलले केन्द्रमा हिन्दु–मुस्लिमलाई दुई भाग (बाइनरी)मा विभाजित गर्न चाहेको छ र मुस्लिमबिना नै भारतमा शासन गर्न सकिन्छ भनेर प्रमाणित गर्न चाहेको देखिन्छ। ठोकुवा नै गरेर त भन्न सकिन्न तर मुस्लिम एकताले यो राज्यमा हिन्दु समुदायमा समेत एकता भएको हुन सक्छ।

    २. मुस्लिम समुदायका अत्यधिक सदस्यले भाजपालाई कम मतदान गर्ने भएकाले भाजपाले मुस्लिम समुदायका उम्मेदवारलाई टिकट नदिएको प्रस्ट देखिन्छ। भाजपालाई हिन्दुत्वको पहिचान बोकेको पार्टी मानिन्छ।

    सन् २०१९ को चुनावमा उत्तर प्रदेशका सातदेखि आठ प्रतिशत मुस्लिमले मात्र भाजपालाई मतदान गरेको सेन्टर अफ स्टडी अफ डेभलपमेन्ट सोसाइटिजको एक अध्ययनले देखाएको छ।

    सन् २०२४ मा भाजपाका तर्फबाट उठेका ४४१ लोकसभा उम्मेदवारमध्ये केरलाको मालापुरम निर्वाचन क्षेत्रका अब्दुल सलाम एक मात्र मुस्लिम उम्मेदवार हुन्।

    मुस्लिम समुदायले स्थिर मतदान गर्ने प्रचलनका कारण भाजपाले हिन्दु धर्म मान्ने तर पिछडा वर्गमा रहेका समुदायलाई आफूतर्फ आकर्षित गर्न बाध्य बनेको छ। सत्ता सञ्चालन गर्नका लागि भाजपा बानिया–हिन्दु दलमा मात्र सीमित हुनुहँुदैन। यो अझ धेरै विस्तारित र समावेशी हुन आवश्यक छ।

    वास्तवमा, भाजपाले आफ्नो विशाल हिन्दु पहिचान परियोजनाअनुसार हिन्दु धर्म मान्ने कुनै पनि पिछडा वर्गका समुदायको विरोध गर्न सक्दैन। अन्य पिछडा वर्गको प्रतिनिधित्व गर्न वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उमा भारती, शिवराज सिंह चौहान, बसुन्धरा राजे, मोहन यादव तथा रघुवार दास यही परियोजनाका उत्पादन हुन्।

    ३. मुस्लिम समुदायले अन्य कुनै दललाई मत नदिने सन्दर्भमा धर्मनिरपेक्ष दलहरूले मुस्लिम समुदायलाई पर्याप्त प्रतिनिधित्व दिनेगरेको देखिँदैन। उनीहरूलाई प्रस्ट थाहा छ, उनीहरूसँग अरू विकल्प छैनन्।

    यी दलले आफूलाई भाजपाको विरोधमा आफू शक्तिशाली रहेको भने देखाउनुपर्छ। यी दलले समाजवादी पार्टी तथा राष्ट्रिय जनता दलका लागि यादव समुदायको मत, मुस्लिमको मत र उम्मेदवारको आफ्नै जातसँग सम्बद्ध मतका आधारमा विजय सुनिश्चित गर्न चाहन्छन्।

    अर्काेतिर भाजपाको मुस्लिम विरोधी राजनीतिका कारण मुस्लिम समुदाय आफू कुनामा पुगेको र जातिगत राजनीति गर्नबाहेक अन्य विकल्प नरहेको देखिन्छ। यस्तो अवस्थामा धर्मनिरपेक्ष दलहरूले यसको फाइदा लिइरहेका छन्।

    ४. सजिलैसँग पाइने मुस्लिम मतका कारण धर्मनिरपेक्ष दलहरूले अन्य पिछडा वर्गको मत आकर्षित गर्न त्यति इच्छुक देखिँदैनन्। यो आनाकानीले चुनाव जित्न उनीहरूको सम्भावनालाई कमजोर पारेको छ।

    उत्तर प्रदेशमा एक दलले १० प्रतिशत आफ्ना मतदाताको समर्थन सुनिश्चित रहँदा प्रदेशमा रहेको १९.३ प्रतिशत मुस्लिम मतलाई सुनिश्चित गर्न तथा भाजपालाई हराउन अन्य कुनै गैरभाजपा दलले नसक्ने दाबी गर्ने गरेको पाइन्छ।

    कुल मतदाता संख्याको ३० प्रतिशत मात्र हिस्सा लिने यस्ता दलले भारतकै सबैभन्दा बढी लोकसभा सिटसंख्या रहेको उत्तर प्रदेशको चुनावमा प्रमुख प्रतिपक्ष दलको हैसियत मात्र पाउन सक्ने देखिन्छ। यो मतभारले भाजपालाई परास्त गर्न नसके पनि उक्त पार्टीका राजनीतिक जीवनको सुनिश्चितता भने हुने गरेको छ।

    ५. वामपन्थी र कांग्रेस यो भोट बैंकका लागि शक्तिशाली धर्मनिरपेक्ष प्रतिस्पर्धी भएका कारण टिएमसीसँग मुस्लिम उम्मेदवारहरूलाई ठुलो संख्यामा सिट दिनुबाहेक अर्को विकल्प छैन। यो राज्यमा वाम–कांग्रेस गठबन्धनलाई मतदिन सक्ने विकल्प मुस्लिम समुदायसँग रहने गरेको छ। यही कारणले मुस्लिमहरूका लागि पर्याप्त प्रतिनिधित्व सुनिश्चित गर्न टिएमसी बाध्य रहने गरेको छ।

    आफ्नो मत सुरक्षित गर्ने प्रक्रियामा टिएमसीले समुदायको प्रतिस्पर्धात्मक तुष्टीकरणको राजनीतिसमेत गरेको देखिन्छ। यही उद्देश्यले यो पार्टीले रोजगारीमा मुस्लिम कोटाको नीति ल्याएको थियो, जुन हालै कलकत्ता उच्च अदालतले खारेज गरिदिएको छ।

    के प्रस्ट देखिन्छ भने मुस्लिमहरूले भाजपालाई सत्ता प्राप्त गर्नबाट रोक्न सक्दैनन्। भारतका १५ लोकसभा निर्वाचन क्षेत्रमा मात्र कुल मतदातामध्ये ५० प्रतिशत मुस्लिम समुदायको बाहुल्य छ। यो मतभारले ती क्षेत्रमा यो समुदायको मत निर्णायक हुने गरेको छ। थप १०१ लोकसभा सिटमा यो समुदायको २० प्रतिशतभन्दा बढी मतदाता छन् तर चुनावी नतिजालाई अन्य विभिन्न सामाजिक र धार्मिक संयोजनले असर गर्छ।

    यो समग्र पृष्ठभूमिमा के भन्न सकिन्छ भने भारतीय मुस्लिमहरूले व्यक्तिका रूपमा नभई समूहका रूपमा सोच्ने बेला आइसकेको छ। विशेषगरी मतदान गर्दा यो झन् बढी आवश्यक देखिएको छ।

    -मण्डल इन्डिया टुडे हिन्दीका पूर्व प्रबन्ध सम्पादक हुन्। (द प्रिन्टबाट अनुदित)

  • बोन बैठकका अपेक्षा

    बोन बैठकका अपेक्षा

    जर्मनीको बोनमा सोमबारदेखि संयुक्त राष्ट्र संघीय जलवायु बैठक सुरु भएको छ। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धि (युएनएफसिसिसी)का दुई प्रमुख परामर्श निकायको यो ६०औं बैठक जुन १३ सम्म चल्नेछ। युएनएफसिसिसीको वैज्ञानिक तथा प्राविधिक विषयका सहायक परामर्श निकाय (एसबिएसटिए) र कार्यान्वयनका लागि सहायक परामर्श निकाय (एसबिआई)को यो संयुक्त बैठकप्रति विश्वव्यापी चासो रहेको छ। नेपाललगायत विश्वका १९८ देशका सरकारी तथा नागरिक समाजका ६ हजार सात सय प्रतिनिधिहरू सहभागी हुने यो बैठकले यस वर्षको अन्तताका अर्थात् नोभेम्बरमा अजरबैजानको बाकुमा हुने संयुक्त राष्ट्र संघीय जलवायु सम्मेलन (कोप २९)को पूर्व तयारी र हालसम्म गरिएको प्रतिबद्धताको कार्यान्वयनको समीक्षा गर्नेछ।

    जलवायु परिवर्तनलाई सम्बोधन गर्ने दिशामा हुने अन्तर्राष्ट्रिय जलवायु वार्ता तथा हरेक वर्ष आयोजना हुने विश्व जलवायु सम्मेलन (कोप) तयारीमा युएनएफसिसिसीका दुई निकायको बैठकमा हुने विज्ञ छलफल र निष्कर्ष महŒवपूर्ण मानिन्छन्। जलवायु कार्यका लागि आवश्यक पर्ने जलवायु वित्तलाई सुनिश्चित गर्ने विषयलगायत कार्बन मार्केटको कार्यान्वयन, हरित गृह ग्यास उत्सर्जन कटौतीमा सम्बद्ध राष्ट्रले प्रतिबद्धता व्यक्त गरेका राष्ट्रिय निर्धारित योगदानलाई प्रभावकारी कार्यान्वयन, जीवाश्म इन्धनको प्रयोगलाई टाढा राख्दै ऊर्जा प्रणालीको न्यायपूर्ण रूपान्तरण तथा जलवायु अनुकूलनका राष्ट्रिय योजनाका विषयमा न्यायपूर्ण ऊर्जा रूपान्तरणका विषयमा यो बैठकमा छलफल हुने तयारी छ। यसबाहेक बोन बैठकमा बालबालिका तथा जलवायु परिवर्तन र उत्सर्जन न्यूनीकरणका उद्देश्य हासिल गर्न जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौताले तोकेका लक्ष्यको पहिलोपटक वार्षिक विश्वव्यापी समीक्षा (ग्लोबल स्टकटेक) पनि हुनेछ।

    यी दुई निकायको यसपटकको बैठकमा पहिलोपटक पर्वत तथा जलवायु परिवर्तनको विषयमा विज्ञ छलफल हुँदैछ। जलवायु परिवर्तनले पर्वतीय पारिस्थितिकी प्रणालीमा पारेको प्रभावलाई सम्बोधन गर्न र यो विषयमा आवश्यक पर्ने अन्तर्राष्ट्रिय सहयोगबारे यो बैठकमा छलफल हुने तयारी छ। संयुक्त राष्ट्र संघीय यही बैठकको पूर्व सन्ध्यामा नेपालले चन्द्रागिरिमा ‘पर्वत, जनता र जलवायु’ सम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ संवाद आयोजना गरेको थियो। बोन बैठक सुरु हुनुअघि युएनएपसिसिसीका यी दुवै निकायका अध्यक्षले जारी गरेको संयुक्त नोटमा नेपालमा आयोजना भएको संवादको सुझावलाई पनि महŒव दिइएको थियो। अन्तर्राष्ट्रिय मञ्चमा हुने यस्ता महŒवपूर्ण बैठकको संयुक्त नोटमा नेपालले आयोजना गरेको संवादले मान्यता पाउनु र उल्लेख हुनु आफैंमा महŒवपूर्ण उपलब्धी मान्न सकिन्छ।

    जलवायु परिवर्तनले पार्ने असरका हिसाबले अत्यधिक जोखिममा रहेको राष्ट्रमा नेपाल पर्छ। अतिवृष्टि, अनावृष्टि, खडेरी, बाढी पहिरो, हिमनदी पग्लने क्रममा तीव्रता, हिमताल विस्फोटको जोखिमलगायतका अनेकन् जलवायुजन्य संकटबाट नेपाल प्रभावित छ। तराई तथा भित्री मधेस क्षेत्रमा भूमिगत पानीको तह घट्दा खानेपानीको समस्या सिर्जना भएको छ भने पहाडी क्षेत्रमा पानीको मुहान सुक्ने क्रम बढ्दो छ। समग्रमा नेपालको अर्थतन्त्र र जीवनयापनमा जलवायु परिवर्तनले ठुलो प्रभाव पारेको छ र यो क्रम बढ्दो छ।

    जलवायु अनुकूलन, न्यूनीकरण तथा हानी नोक्सानी ब्यहोर्न आवश्यक पर्ने ठुलो धनराशी नेपालसँग छैन। यसका लागि नेपालले अन्तर्राष्ट्रिय जलवायु वित्त भिœयाउन आवश्यक छ। त्यसका लागि जलवायु वित्तका अन्तर्राष्ट्रिय संयन्त्रमार्फत उपलब्ध अवसर पहिल्याउन नेपालले गम्भीर प्रयास गर्न आवश्यक छ। सोमबारदेखि सुरु भएको बोन बैठकमा नेपाल पनि सहभागी रहेको सन्दर्भमा नेपाली टोलीले जलवायु परिवर्तनको उच्च जोखिममा रहेका राष्ट्रका हितमा आफ्नो चासो र विषयवस्तुलाई प्रखर हिसाबले राख्न सक्नुपर्छ। अत्यधिक कार्बन उत्सर्जन गर्ने धनी राष्ट्र तथा अन्य विकासोन्मुख राष्ट्रहरू विश्वव्यापी जलवायु परिवर्तन र तापमान वृद्धिका लागि जिम्मेवार मानिन्छन्। त्यो हिसाबले यो चुनौतीलाई समाधान गर्न उनीहरूले दायित्व अत्यधिक छ। कार्बन उत्सर्जनमा अत्यधिक न्यून योगदान रहेका नेपाललगायतका अन्य तटीय राष्ट्रले उठाउँदै आएको जलवायु न्यायको मागलाई सम्बोधन गर्न आवश्यक छ। जलवायु न्यूनीकरण, अनुकूलनलगायतका जलवायु कार्यका लागि आवश्यक पर्ने जलवायु वित्तको सुनिश्चतता, हरित ऊर्जा रूपान्तरणका लागि आवश्यक पर्ने वित्तीय सहायता तथा क्षमता अभिवृद्धिजस्ता विषयमा यी राष्ट्रलाई सहयोगको आवश्यकता छ। यो जलवायु न्यायको विषय पनि हो।

    जलवायु परितर्वनको क्षेत्रमा हुने अनेकन् बैठकको शृंखलामा जोडिएको बोन बैठकले वर्तमान विश्वले बेहोरिरहेको जलवायु संकट समाधानमा महŒवपूर्ण निर्णय गर्ने र यो वर्षको अन्तमा हुने कोप–२९ जस्तो शीर्ष बैठकका लागि महŒवपूर्ण योगदान दिने अपेक्षा गरौं। मानव अस्तित्वसँग जोडिएको यो विषयमा विश्वका हरेक देश एकै ठाउँमा उभिनैपर्छ। आपसी सहयोग र सहकार्यले मात्र यो सम्भव छ।

  • आइसिसी ट्वान्टी २० :दक्षिण अफ्रिकाले श्रीलंकालाई हरायो

    आइसिसी ट्वान्टी २० :दक्षिण अफ्रिकाले श्रीलंकालाई हरायो

    आइसिसी ट्वान्टी २० विश्वकपको चौथो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई पराजित गरेको छ।

    सोमबार राती भएको खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटबाट हराएको हो।

    पहिला व्याटिङ गरेको श्रीलंकाले १९ दशमलब १ ओभरमा जम्मा ७७ रन बनाउँदा सबै विकेट गुमाएको थियाे।

    श्रीलंकाका लागि कुसल मेंडिसले १९ , एंजलो मैथ्यूज़ १६ तथा कामिंडु मेंडिस ११ रन बाहेक कसैले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    श्रीलंकालाई सस्तैमा समेट्न दक्षिण अफ्रिकाका लागि अनरिख़ नॉर्खिये ४ ओभरमा जम्मा ७ रन खर्चेर ४ विकेट लिए ।त्यसैगरी कगिसो रबाडा र केशव महाराज दुई दुई विकेट हात पारे ।

    जवाफमा दक्षिण अफ्रिकाले १६ दशमलब २ ओभरमा ४ विकेट गुमाएर ७८ रनको विजयी लक्ष्य पुरा गर्यो ।

    दक्षिण अफ्रिकाका लागि क्विंटन डिकॉकले २० ट्रिस्टन स्टब्स १३ तथा कप्तान एडन मारक्रमले १२ रन बनाए ।

    श्रीलंकाका लागि वानिंदु हसरंगा २ विकेट तथा दसून शानका र नुवान तुषाराले एक एक विकेट लिए।

    दक्षिण अफ्रिका श्रीलंकाकै समूहमा रहेको नेपालले मंगलबार राती नेदरल्याण्ड्ससंग खेल्नेछ ।

  • फोहोरमैला व्यवस्थापनमा गम्भीर समस्या छ: मन्त्री जोशी

    फोहोरमैला व्यवस्थापनमा गम्भीर समस्या छ: मन्त्री जोशी

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले फोहोरमैला व्यवस्थापनमा गम्भीर समस्या रहेको बताएका छन्।

    विश्व वातावरण दिवसको अवसरमा आयोजित दुई दिवसीय सम्मेलनमा बोल्दै मन्त्री जोशीले यस्तो बताएका हुन्।

    उनले दुई दिन सम्म चल्ने सम्मेलनबाट फोहोरमैला व्यवस्थापनको लागि कस्तो नीति नियम बनाउँदा उचित हुने भन्नेबारे सरकारलाई सल्लाह र निचोड प्राप्त हुने विश्वास व्यक्त गरे।

    उनले भने, फोहोरको मूल थलो घर हो, हामीले घरबाट नै उचित व्यवस्थापन गर्न सके व्यवस्थापनमा समस्या हुँदैन।’

    त्यस्तै आयोजक संस्थाको तर्फबाट बोल्दै क्रिएसन नेपालका संस्थापक अध्यक्ष आनन्द मिश्रले फोहोर मैला व्यवस्थापनको विषय हामी सबैको सरोकारको विषय भएको बताउँदै खाली छलफलले मात्रै नहुने र ठोस कार्यान्वयन तर्फ अगाडि बढ्नु पर्नेमा जाेड दिए।

    उनले वातावरण संरक्षण र फोहोरमैला व्यवस्थापनका लागि साझा दृष्टिकोण जरुरी रहेको जिकिर गरे। उनले भने, सबैको सामूहिक प्रयास भए मात्र फोहोर मैला व्यवस्थापन विरुद्ध काम गर्न सजिलो हुन्छ’।

    सो अवसरमा क्रिएसन नेपालद्वारा दुई महत्त्वपूर्ण छलफल सत्रको आयोजना गरिएको थियो।

    फोहोरमैला व्यवस्थापनमा द्विपक्षीय र बहुपक्षीय एजेन्सीहरूबाट लगानी विषयमा आयोजित पहिलो सत्रमा विश्व बैङ्क लगायतका प्रतिनिधिले फोहोर मैला व्यवस्थापन क्षेत्रमा लगानीको बारेमा प्रकाश पारेका थिए।

    छलफलमा सहभागी भएका विज्ञहरूले फोहोरमैला क्षेत्रमा काम गर्न धेरै बाँकी रहेको औँल्याउँदै नीतिगत रुपमा आवश्यक सुधारको खाँचो रहेको सामूहिक विचार व्यक्त गरेका थिए।

    पहिलो सत्रमा विश्वबैं, इसिमोड र एफएचआई ३६० का प्रतिनिधिहरूले छलफल सत्रमा भाग लिएका थिए।

    त्यस्तै, दोस्रो सत्रमा सञ्चार जगतले फोहोरमैला व्यवस्थापनको विषयलाई कसरी उठान गरीरहेका छन् भन्ने विषयमा नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेल र अनलाइन लोकान्तरका प्रधान सम्पादक विमल गोत्तमले प्रकाश पारेका थिए।

    नेपालका मुलधारको मिडियाले अपेक्षाकृत रुपमा फोहोर मैला तथा वातावरणको विषयमा कम समाचार सामग्री प्रकाशन भएको प्रधान सम्पादक द्वयले स्वीकार गरे।

    स्वमान, सिन र क्रिएसन नेपालको संयुक्त आयोजना भएको कार्यक्रमको समुद्घाटन सत्रका अध्यक्षता गरेका पूर्वमन्त्री गणेश साहले सहभागीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए।

    सो अवसरमा विभिन्न उत्पादनहरूको स्थलमा प्रदर्शनी समेत गरिएको थियो। राष्ट्रिय सम्मेलन र प्रदर्शनी २०२४ भोलीसम्म चल्ने आयोजकले जनाएको छ।