Blog

  • हुम्लामा सडक पुग्यो, गाडी गुड्न अझै वर्ष दिन लाग्ने

    हुम्लामा सडक पुग्यो, गाडी गुड्न अझै वर्ष दिन लाग्ने

    देशका ७७ जिल्लामध्ये हालसम्म सडक सञ्जालले नछोएको एक मात्र जिल्ला सदरमुकाम हुम्लाको सिमकोटमा पनि सडक पुगेको छ। राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लाको सदरमुकाम सिमकोटमा पहिलो पटक नेपालकै बाटो हुँदै यातायात सेवा पुगेको हो। चीनको सीमा हुँदै सिमकोटमा पहिला नै सडक पुगे पनि नेपालकै बाटो हुँदै भने सडक पुगेको यो पहिलो पटक भएको सरकारको दाबी छ।

    नेपालमा सडक निर्माणको सुरुवात १९८० को दशकमा काठमाडौं उपत्यकाबाट भएको पाइन्छ। लामो दुरीको पहिलो सडकको रुपमा कठमाडौंलाई तराईसँग जोड्ने काठमाडौं­भैँसे सडक (त्रिभुवन राजपथ) भारतीय सहयोगमा २००९ सालमा निर्माण भएको सरकारी रेकर्डमा देखिन्छ।

    नेपालमा सडक निर्माणको सुरुवात भएको सय वर्षपछि भने हुम्ला सदरमुकाम सिमकोटमा सडक पुगेको छ। तर सडक सञ्जालमा सिमकोट जोडिए पनि सवारी साधन भने नियमित चल्न अझै केही समय लाग्ने भएको छ। सडकको उचित स्तरोन्नति भएपछि मात्र सवारी साधन नियमित चल्ने उत्तर दक्षिण सडक निर्देशनालयका निर्देशक प्रेम प्रकाश खत्री बताउँछन्।

    सिमकोटमा नेपाली भूमि हुँदै ट्रयाकमात्र पुगेको हो। अझै नियमित गाडी चल्ने सम्भावना भने छैन। कर्णाली कोरिडोर अन्तर्गत सुर्खेतबाट कालिकोट, बाजुरा हुँदै हुम्लासम्म सडक पुगेको हो। निर्देशक खत्री भन्छन्, पहिला कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत हुँदै जुम्ला जाने गर्दथ्र्यो। अहिले कर्णाली कोरिडोर अन्तर्गत सुर्खेतबाट कालिकोट, बाजुरा हुँदै हुम्लासम्म सडक पुगेको हो।

    ‘सिमकोटसम्ममा अहिले कच्ची सडकको ट्याक मात्र खुलेको हो। सवारी चल्न सक्ने अवस्था भने छैन। सुख्खा मौसममा गाडी चल्छ। तर बर्खा लागेपछि पानी परेसँगै खोला बढ्ने हुँदा बर्खामा गाडी चल्न सक्दैन,’ खत्रीले भने।

    सिमकोटमा बाह्रै महिना गाडी चल्न भने अझै एकदेखि डेढसम्म कुर्नुपर्ने अवस्था छ। सडकमा पर्ने खोलामा पुल बन्न बाँकी हुँदा बर्खामा गाडी चल्न नसक्ने खत्री बताउँछन्। विशेष गरी हुम्लाको खार्पुनाथमा रहेको चुवा खोलामा पुल अहिले बन्दै गरेको र त्यो पुल निर्माण भइसकेपछि मात्र गाडी सहज रुपमा सिमकोट पुग्ने उनको भनाइ छ।

    खत्रीले भने, ‘सिमकोटसम्ममा बाह्रै महिना गाडी चल्न अझै एकदेखि डेढ वर्षसम्म कुर्नुपर्ने हुन्छ। ठाउँ ठाउँका खोलाहरूमा पक्की पुल नबन्दा गाडी नियमित चल्न सक्ने अवस्था छैन। विशेष गरी हुम्लाको खार्पुनाथमा रहेको खोलामा पुल नबन्दासम्म गाडी बाह्रै महिना चल्न सक्ने अवस्था छैन। त्यहाँ पुल बन्दै छ। त्यो पुल निर्माण भएपछि मात्र सिमकोटसम्म बाह्रै महिना गाडी चल्छ।’

    चिनको बाटो हुँदै सिमकोट आएको सडकबाट पनि नियमित गाडी भने चल्न नसकेको उनले बताए। ‘खुलानु भन्ने ठाउँबाट १७३ किलोमिटर सिमकोट पर्छ। सिमकोटबाट ९८ किलोमिटर अगाडी गएपछि चीनको नाका हिल्सा पुग्छ। पहिला हिल्सा हुँदै सिमकोटमा सडक आएको थियो। अहिले नेपालको बाटो हुँदै सडक सिमकोट पुगेको हो,’ उनले भने।

    सिमकोटसम्म सडक सञ्जाल जोडिए पनि गाडीमा चढेर सरर हिँड्ने हुम्लावासीको सपना भने अधुरै रहेको छ। सडक जोडिएको दुई तीन दिन गाडी गए पनि त्यसपछि गाडी जान नसकेको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदीले बताए।

    सुवेदीले भने, ‘सिमकोटसम्म सडक आयो, दुई तीन दिन गाडी पनि आयो। त्यसपछि भने गाडी आएको छैन। त्यसलाई अब सडक आयो भन्ने की नभन्ने। हुम्लाको खार्पुनाथमा रहेको चुवा खोलामा पुल नबन्दासम्म गाडी आउन सक्दैन। हामीले त्यहाँ बेलीब्रीज बन्नुपर्छ भनेका छौँ। अब के हुन्छ।’

    नेपालको बाटो हुँदै सिमकोटसम्म सडक पुर्‍याउने काम नेपाली सेनाले गरेको हो। विशेष गरी हुम्लाको छाहारे भिरमा नेपाली सेनाले ट्याक खोलेपछि गाडी आवतजावत हुन थालेको हो।

    सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल राष्ट्रिय गौरवका आयोजना अन्तर्गत सिमकोटमा सडक पुर्‍याएको बताए। उनले भने, ‘नेपाल सरकारको गौरवको आयोजना कर्णाली कोरिडोर पनि हो। हुम्लाको सिमकोटमा सडक पुर्‍याउने हाम्रो लक्ष्य थियो। कर्णाली कोरिडोर अन्तर्गत सिमकोटमा सडक सञ्जाल पुर्‍याइएको हो।’

    ट्याकलाई विभागको ज्योयोमेट्रिक स्टान्डरसम्म पुर्‍याएर गाडी सञ्चालन गर्ने उनले बताए। अहिले केही सवारी साधन पुगे पनि सबै सवारी साधन पुग्न नसकेको उनले बताए। ‘अहिले सडक सञ्जाल पुर्‍याउने हाम्रो लक्ष्य थियो। सोही अनुसार सिमकोटमा सडक पुगेको छ। अब सडकलाई विभागको ज्योयोमेट्रिक स्टान्डरसम्म पुर्‍याएर गाडी सञ्चालन गर्ने छौँ। बर्खा लागेकाले काम गर्न गाह्रो भएको छ। बर्खा सकिने बित्तिकै हामी काम सुरु गर्छौं, उनले भने।

    चिनको सीमा हुँदै सिमकोटमा सडक आएपनि नेपालको बाटोलाई प्राथमिकता दिएर काम गर्ने उनले बताए। नेपालकै बाटो हुँदै गाडीहरू सिमकोटसम्म पुर्‍याउने लक्ष्यमा विभाग रहेको उनको भनाइ छ।

    उनले भने, ‘क्रस बोर्डर कनेक्टिभिटी राम्रो कुरा हो। हुनै पर्छ त्यो कुरा। तर चिनको नाका हुँदै सिमकोट आउने भन्ने कुरा कतिको सान्दर्भिक हुन्छ भन्ने हो। नेपालबाट नै हामी सिमकोटलाई सडक सञ्जालमा जोड्ने छौँ।’

  • दक्षिण अफ्रिकाविरुद्ध श्रीलंकाः प्रभाव पार्न सक्ने दुई खेलाडी

    दक्षिण अफ्रिकाविरुद्ध श्रीलंकाः प्रभाव पार्न सक्ने दुई खेलाडी

    आइसिसी ट्वान्टी–२० विश्वकपअन्तर्गत चौथो खेलमा श्रीलंका र दक्षिण अफ्रिका भिड्दै छन्।

    यो खेल नेपाली समय अनुसार सोमबार राति ८ः१५ बजे सुरु हुनेछ। टी २० विश्वकपको इतिहासमा दुई टोलीबीच कुल चार खेल भएका छन्।

    उक्त खेलमध्ये तीनमा दक्षिण अफ्रिकी विजयी भएको छ। पछिल्लो तीन वर्षमायी दुई टोलीबीच चार ट्वान्टी–२० खेल भएका थिए। ती सबै खेल दक्षिण अफ्रिकाले जितेको छ।

    वानिन्दु हसरंगा, श्रीलंका

    एक दिवसीय विश्वकप र भर्खरै सम्पन्न इन्डियन प्रिमियर लिग (आईपीएल) खुट्टाको चोटका कारण गुमाएका श्रीलंकाका कप्तान वानिन्दु हसरंगा आइसिसी ट्वान्टी–२० विश्वकपमार्फत पुनरागमन गर्दैछन्। दक्षिण अफ्रिकाविरुद्धको खेलमार्फत अलराउन्डर हसरंगा सुखद् पुनरागमन गर्ने लक्ष्यमा रहेका छन्।

    हसरंगाले आफ्नो करियर मुख्यतया बलरको रुपमा सुरु गरेका थिए। तर, पछिल्लो समय उनको ब्याटिङमा पनि निकै सुधार आएको छ। हसरंगाले पछिल्ला दुई वर्षमा श्रीलंका र लंका प्रिमियर लिगमा आफूलाई माथिल्लो स्तरमा प्रमोट गरेर आफ्नो ब्याटिङको क्षमता देखाएका छन्।

    चौथोबाट सात नम्बरसम्म ब्याटिङ गर्ने क्षमता राख्ने हसरंगाको स्ट्राइक रेट १६० र औसत ३० भन्दा माथि छ। उनले ट्वान्टी–२० का ५५ इनिङ्समा २ अर्धशतकसहित ६५० रन बनाएका छन्।

    यस विश्वकपमा श्रीलंका एक मात्र एक त्यस्तो टोली हो, जोसँग पावर हिटर छैनन्। तर, हसरंगाले स्पिनविरुद्ध ठूला सटहरू प्रहार गर्न सक्छन्। त्यसैले कप्तान र बलर हुनुका साथै उनी आफ्नो टोलीका लागि ब्याटिङमा पनि प्रभावकारी साबित हुन सक्छन्।

    हसरंगाले श्रीलंकामा विश्वकपको तयारीस्वरुप आफ्नो दुई टोली बनाएर ट्वान्टी–२० अभ्यास खेल खेलेको थियो। उक्त अभ्यास खेलमा श्रीलंका क्रिकेट येल्लोका लागि उनले ९ र २८ रन बनाए। तर, बलिङ भने गरेनन्।

    नेदरल्यान्ड्स र आयरल्यान्डसँगको अभ्यास खेलमा पनि उनले क्रमशः ३९ र २६ रन बनाए। आयरल्यान्डविरुद्धको खेलमा मात्रै बलिङ गरेका उनले चार ओभरमा ४० रन खर्चिएर दुई विकेट लिएका थिए।

    क्विन्टन डि कक, दक्षिण अफ्रिका

    दक्षिण अफ्रिका विकेटकिपर ब्याट्सम्यान क्विन्टन डि कक टोलीका विध्वंशकारी ब्याट्सम्यान मानिन्छन्। डी ककले ट्वान्टी–२० क्रिकेटका ८३ खेलमा २ हजार ३४१ रन बनाएका छन्।

    गत वर्ष भारतमा भएको एक दिवसीय विश्वकपमा उनी सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा तेस्रो नम्बरमा रहेका थिए। ११ इनिङ्स खेलेका उनले ५४.२७ को औषत र १२५.९५ को स्ट्राइक रेटमा ब्याटिङ गरेका थिए। उनले एक शतक र तीन अर्धशतकसहित ५९७ रन बनाएका थिए।

    तर, आइपीएलमा भने उनी चल्न सकेनन्। लखनउ सुपर जायन्ट्सबाट खेलेका उनले ११ इनिङ्समा २२.७२ को औषत र १३४.४० को स्ट्राइक रेटमा तीन अर्धशकतसहित २५० रन मात्रै बनाएका थिए।

    यसपटक भने दक्षिण अफ्रिका उनले पुरानो लय समात्नेमा आशवादी देखिन्छ।

  • ‘गाउँ आएको बाटो’ को प्रिमियरका लागि नेपाल आइन् संगीतकार हाइडी

    ‘गाउँ आएको बाटो’ को प्रिमियरका लागि नेपाल आइन् संगीतकार हाइडी

    फिल्म ‘गाउँ आएको बाटो’ को नेपाल प्रिमियरमा सहभागी हुन संगीतकार हाइडी ली नेपाल आइपुगेकी छिन्। नवीन सुब्बा निर्देशित यो फिल्ममा हाइडीले पार्श्व ध्वनीमा काम गरेकी छन्। फिल्मको एउटा पार्श्व संगीतमा पनि हाइडी नै सिर्जना गरेकी हुन्।

    यसअघि उनी फिल्मको गीतमा संगीत भर्न नेपाल आएकी थिइन्। फिल्म गर्नुअघि उनी अनुसन्धानकै लागि पनि एक पटक नेपाल आएकी थिइन्। यो उनको तेस्रो नेपाल भ्रमण हो। हाइडीले राई सँस्कृतिको लय, धुनमाथि अध्ययन गर्दै परम्परागत र पश्चिमा संगीत मिसाउँदै फिल्मको गीत तयार पारेकी छन्। फिल्म छायांकन भएको स्थानबाटै पनि हाइडीले राई संगीतलाई बटुलेकी छन्। फिल्मको कथा र भाव नियाल्दै आफूले फिल्ममा पार्श्व ध्वनी निर्माण गरेको पनि हाइडीको भनाई छ। उनी आफूले संगीत गरेको नेपाली फिल्मको प्रतिक्रिया लिन उत्साहित छिन्।

    ‘यो फिल्म धेरै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा देखायौं। यो फिल्म जुन देशको यही देशमा अहिले प्रदर्शनको तयारीमा छ। म, यहाँका स्थानीय दर्शकसँग बसेर फिल्म हेर्न निकै उत्साहित छु,’ हाइडीले भनिन्,’म नेपाली होइन। तर, पनि मैले नेपालको यस्तो फिल्ममा संगीतदेखि पार्श्व ध्वनीमा काम गरें। मैले गरेका ती कामको प्रतिक्रिया बटुल्न पनि म उत्साहित छु।’

  • आईसीसी टी–२० : आजराति दक्षिण अफ्रिका र श्रीलङ्काबीच प्रतिस्पर्धा हुँदै

    आईसीसी टी–२० : आजराति दक्षिण अफ्रिका र श्रीलङ्काबीच प्रतिस्पर्धा हुँदै

    आईसीसी टी–२० विश्वकप २०२४ को चौथो खेलमा दक्षिण अफ्रिकाले श्रीलङ्कासँग आज न्यूयोर्कमा खेल्दैछ । यी दुईबीचको खेल नेपाली समय अनुसार आज राति ८: १५ बजे सुरु हुनेछ ।

    दक्षिण अफ्रिका र श्रीलङ्का नेपालकै समूह डीमा रहेका छन्। समूह डीमा बङ्गलादेश र नेदरल्याण्ड्स पनि छन । दक्षिण अफ्रिका र श्रीलङ्का बीचको खेल नेपालको लागि पनि महत्त्वपूर्ण रहेको छ। समूह ‘डी’ लाई ‘ग्रुप अफ डेथ’ भनिएको छ। ‘ग्रुप अफ डेथ’ को अर्थ हो, जहाँ ठुला टिम अपेक्षाकृत कमजोर टिमसँग पराजित हुने खतरा हुन्छ।

    दक्षिण अफ्रिका र श्रीलङ्काले आईसीसी टी–२० विश्वकपमा पहिलो संस्करणबाटै सहभागिता जनाउँदै आएका छन्। श्रीलङ्काले सन् २०१४ मा उपाधि जितेको थियो भने २००९ र २०१२ मा उपविजेता भएको थियो। दुई संस्करणमा श्रीलङ्का सेमिफाइनलसम्म पुगेको थियो। दक्षिण अफ्रिकाले टी–२० विश्वकपमा अहिलेसम्म उपाधि जितेको छैन । दुई संस्करणमा सेमिफाईलमा पुग्नु नै उसको सबैभन्दा ठूलो उपलब्धि हो।

    टी–२० विश्वकपमा दक्षिण अफ्रिका र श्रीलङ्काबीच चार पटक प्रतिस्पर्धा भएको छ।तीन पटक दक्षिण अफ्रिकाले श्रीलङ्काले जित्दा श्रीलङ्काले एक पटक मात्र जितेको छ। टी–२० मा यी दुई टोली बीच १७ पटक प्रतिस्पर्धा भएको छ। ११ पटक दक्षिण अफ्रिका र ५ पटक श्रीलङ्काले खेल आफ्नो पक्षमा पारेका छन् । एउटा खेल भने बराबरीमा सकिएको थियो।

    सोमबार राति हुने खेलमा जित निकाल्दै दुवै टोली प्रतियोगितामा विजयी सुरुवात गर्ने योजनामा हुनेछन् ।

  • बालेनलाई काम गर्न दिनुपर्छ: कांग्रेस सांसद भण्डारी

    बालेनलाई काम गर्न दिनुपर्छ: कांग्रेस सांसद भण्डारी

    प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको काममा अवरोध गर्न नहुने बताएका छन्।

    एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीले काठमाडाैँको न्युरोडस्थित सडक पेटी बिस्तार गर्न नदिएको आरोप लगाईरहेका बेला कांग्रेस सांसद भण्डारीले मेयर साहलाई काम गर्ने कुरामा निरुत्साहित गर्न नहुने टिप्पणी गरेका हुन्।

    सोमबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिने क्रममा उनले मेयर शाहमा केही गरौँ भन्ने हुटहुटी रहेकाले काम गर्न दिनुपर्ने बताए।

    उनले भने ‘जुन बालेनहरु नयाँ जेनेरेशन आएका छन्। उसलाई केही गरौँ भन्ने हुटहुटी छ। हामीले त्यो काम गर्न दिनुपर्छ। आफूले पनि नगर्ने, आफूले पनि नजिक भएको फोहोर नदेख्ने, नयाँ जेनेरेशन आएर उसले गर्छु, नजिक फोहोर छ मैले फ्याँक्छु । मैले विश्वको शहरहरुजस्तो बनाउँछु भन्छ भने उसलाई पनि हामीले निरुत्साहित गर्नुहुँदैन। र काम गर्न दिनु पर्छ।’

    सांसद भण्डारीले गिरीबन्धु टि स्टेट प्रकरण छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने पनि बताए।

    ‘गिरीबन्धु कसले गर्‍यो ? यो अनुसन्धानको विषय हो। गिरीबन्धुहरुको कारणले धेरै नेपालीहरु ठगिएका छन्। जसरी सहकारीमा ठगिएका छन्। यसको रकम छिटोभन्दा छिटो फिर्ता गरिनु पर्छ। र गलत गर्नेलाई कारबाही पनि गर्नुपर्छ।’ उनले भने।

    सांसद भण्डारीले आफू नयाँ पुस्तालाई काम गर्न दिनुपर्छ भन्ने पक्षमा रहेको बताए।

  • लाइसेन्स बनाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ

    लाइसेन्स बनाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ

    यातायात व्यवस्था कार्यालय रौतहटबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका-३ घर भई भरतपुर-१० मा सञ्चालनमा रहेको कान्तिपुर ड्राइभिङ स्कुल (सेन्टर) का संचालक ४५ वर्षीय रमेश पाठक र रौतहटको गौर नगरपालिका-१ का ४८ वर्षीय श्यामनाराय साह रहेका छन्।

    जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता डिएसपी एलिजा गिरीका अनुसार उनीहरुले रौतहटको राजदेवी नगरपालिका-२ मा रहेको ट्रायल सेन्टरमा ट्रायल दिन जाने सेवाग्राहीहरूसँग ‘पैसा दिए पास गराइदिन्छु’ भनी ठगी गर्ने गरेका थिए।

    ट्रायल भइरहेको समयमा केही सेवाग्राहीसँग रकम असुल गर्ने कार्य भइरहेको गुनासो आएपछि शङ्कास्पद अवस्थामा दुवै जनालाई नियन्त्रणमा लिइएको उनले जनाइन्।

    दुवैले लाइसेन्स बनाइदिन्छु भनी प्रति व्यक्ति दश हजार देखि तिस हजार रुपैयाँसम्म असुल्ने गरेका थिए। उनीहरु माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

    पछिल्लो समय यातायात व्यवस्था कार्यालय गौरमा लाइसेन्स, नवीकरण तथा अन्य कागजपत्र मिलाउनु परेमा आधा दर्जनभन्दा बढी ‘दलाल’ हरू काम गराउन अगाडि सर्ने गरेको गुनासो सुनिँदै आएको छ।

  • गिरीबन्धु प्रकरणबारेको प्रश्नमा ओलीले भने: ‘बालेनलाई सोध्नू’

    गिरीबन्धु प्रकरणबारेको प्रश्नमा ओलीले भने: ‘बालेनलाई सोध्नू’

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु प्रकरणका विषयमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) लाई प्रश्न सोध्न भनेका छन्।

    सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीको प्रश्नको जवाफमा उनले यस्तो प्रतिक्रयमा दिएका हुन्। संसद् भवन परिसरमा सञ्चारकर्मीको ‘गिरीबन्धु टी–स्टेटको कुरा आइरहेको छ नि ?’ भन्ने प्रश्नमा अध्यक्ष ओलीले आक्रोशित हुँदै ‘बालेनलाई सोध्नु’ भन्ने जवाफ दिएका हुन्।

    सो जवाफपछि उनले थप प्रतिक्रिया दिन चाहेनन्। सोमबार सामाजिक सञ्जालमा काठमाडौं महानगरका प्रमुख बालेन शाहले एमाले अध्यक्ष ओलीलाई गिरीबन्धु टी–स्टेट जग्गा प्रकरणलाई विषयान्तर गरेको आरोप लगाएका थिए।

    प्रमुख बालेनले १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन न्युरोडकाे सडक फेरी बनाउन लागेको भन्दै पहिला गिरीबन्धु टी–स्टेट पीडितको बैना फिर्ता गर्न सुझाव दिएका थिए।

  • एनआईसी एशिया बैंकलाई इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स

    एनआईसी एशिया बैंकलाई इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स

    मुलुकको बैंक तथा वित्तीय क्षेत्रमा उत्कृष्ट डिजिटल प्रोडक्ट ल्याएको भन्दै एनआईसी एशिया बैंकलाई ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स- २०२४’ प्रदान गरिएको छ । डिजिटल फष्ट बैंक बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवर्द्धन गरिरहेको एनआईसी एशिया बैंकलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

    नेपालको डिजिटल बैंकिङ्ग सेवामा इनोभेटिभ र उत्कृष्ट प्रोडक्ट आईसर्भ ल्याएर अन्तर्राष्ट्रिय स्तरको अनलाइन बैंकिङ्ग सेवा प्रदान गरे वापत छनोट भएका २ सय बैंकमध्ये एनआईसी इनोभेसन विधामा पहिलो भएको हो । आईसर्भ यस बैंकले ल्याएको नेपालको उत्कृष्ट डिजिटल प्लेटफर्म हो, जसले भौतिक रुपमा बैंकको शाखा कार्यालय नपुगी आफ्नै घर वा कार्यालयबाट डिजिटल बैंकिङ्ग सेवा उपभोग गर्ने सुविधा उपलब्ध गराएको छ ।

    एनआईसीले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७१ एटीएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुन राज खनियाले जानकारी दिए । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन सफल भएको दाबी एनआईसीको छ ।

  • भोजपुरको सर्वाङ्गीण विकास निर्माणका लागि सबै एक हौँ: पूर्व राष्ट्रपति भण्डारी

    भोजपुरको सर्वाङ्गीण विकास निर्माणका लागि सबै एक हौँ: पूर्व राष्ट्रपति भण्डारी

    पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भोजपुरको सर्वाङ्गीण विकास निर्माणका लागि सबै एक भएर लाग्नुपर्ने बताएकी छिन्।

    सोमवार काठमाडौंमा कवि शिवकुमार शर्मा पराजुलीको कविता सङ्ग्रह कोकिल लोकार्पण समारोहालाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएकी हुन । उनले भोजपुर जिल्ला आफ्नो पनि जन्मस्थान भएको बताउँदै भोजपुरसँग आफ्ना पनि कतिपय संस्मरणहरू गाँसिएको उल्लेख गरिन।

    उनले भोजपुर जिल्ला भौतिक पूर्वाधार विकासको दृष्टिकोणबाट तुलनात्मक रुपमा केही पछाडि परेको भए पनि समाज सुधार, शिक्षा, राजनीति, प्रशासनका साथै कला, साहित्य र सङ्गीतको क्षेत्रमा मुलुकका लागि धेरै योगदान दिएको बताइन ।

    उनले शिक्षा सेवी एवं समाज सुधारक बाला गुरु षडानन्द अधिकारी धार्मिक तथा सामाजिक सुधारकी अभियन्ता योगमाया न्यौपाने, २००७ सालका क्रान्ति नायकहरू रामप्रसाद राईको नाम सबैले सगौरव लिने गरेको स्मरण गरिन्।पूर्व राष्ट्रपति भण्डारीले अग्रज पुस्ताको ज्ञान र अनुभवले भावी पुस्तालाई पनि प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिन ।

  • नागरिकको ज्यान जोगाउन कार्यविधिले नरोकोस्: गृहमन्त्री

    नागरिकको ज्यान जोगाउन कार्यविधिले नरोकोस्: गृहमन्त्री

    उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले विपद्को समयमा नीतिगत कुराहरूलाई देखाएर काम नरोक्न निर्देशन दिएका छन्।

    सोमबार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २३ औँ बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले नीतिगत कुराहरूमा समस्या देखाउँदै विपद् व्यवस्थापन सम्बन्धी काम नरोक्न सरोकारवाला निकायलाई निर्देशन दिएका हुन्।

    उनले नीतिगत समस्या भएमा आफूलाई जेठ महिनाको अन्त्यसम्ममा जानकारी गराउन आग्रह गरे। विपद् व्यवस्थापनको सम्बन्धमा देखा पर्ने नीतिगत समस्याहरुलाई छिटोभन्दा छिटो समाधान गर्न आफू तयार रहेको उनको भनाई थियाे।

    मन्त्री लामिछानेले विपद्को बेलामा नागरिकको ज्यान जोगाउने कुरा महत्त्वपूर्ण हुने भन्दै नीति, नियम र कार्यविधिहरुले स्रोत, साधनलाई परिचालन गर्न रोक्नु नहुने जिकिर गरे।

    ‘मलाई यो महिनाको अन्त्यभन्दा अगाडी थाहा होस्। अध्यक्षको हिसाबले त्यसको नेतृत्व गर्ने भूमिका म निर्वाह गर्छु। मन्त्रिपरिषद्मा हामी लिएर जान्छौँ। तर यो नहोस् कि आपत् परेको छ। हामीलाई त यो प्रक्रियाले दिँदैन। नियम, कानून, कार्यविधि, नियमावली भनेको काम गर्नका लागि हो। कहाँ अड्किएर काम नगर्ने भन्नका लागि होइन।’

    उनले आपत् परेको बेलामा यो वा त्यो प्रक्रियाले दिएन भनेर कुनैपनि काम रोकिनु नहुने बताउँदै अझ छिटो गर्न सकिने ठाउँ हेरेर काम गर्नुपर्ने बताए।

    उनले भने ‘फिल्डमा गएर परिचालन गर्न सक्दैनौँ भने के अर्थ भयो र यो बैठकको ? के अर्थ भयो नीति, नियमको ? के अर्थ कागजको ठेलीहरुको ? त्यसकारण यसलाई अर्थपूर्ण बनाउने जिम्मेवारी पनि तपाई, हामीहरुको हो। कहाँ अप्ठ्यारो परेको छ, कहाँ अड्किएको छ ? मन्त्रिपरिषद्बाट गराउनुपर्ने निर्णय गराउन हामी तयार छौँ। पैसा पठाउन अड्कियो। एउटा हस्ताक्षर गर्ने मान्छे भएन, टिप्पणी उठाउने मान्छे भएन यस्ता कुराहरू नहोस् भन्ने मेरो अनुरोध।’