Blog

  • नेपालको जितका लागि अमेरिकामा स्वस्तिशान्ति !

    नेपालको जितका लागि अमेरिकामा स्वस्तिशान्ति !

    आइसिसी ट्वान्टी-२० विश्वकप क्रिकेटका लागि अमेरिकामा रहेका नेपाली क्रिकेट खेलाडीहरुको सम्मानमा नेपाली समाज टेक्ससले सोमबार बिहान टेक्ससको युलेस सिटीस्थित पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारमा स्वागत कार्यक्रम आयोजना गरेको छ।

    नेपालले मंगलबार नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको यात्रा सुरु गर्दै छ। स्वागत कार्यक्रममा प्रशिक्षक मोन्टी देसाई र कप्तान रोहितकुमार पौडेललगायत खेलाडीहरुको सहभागिता थियो।

    तस्बिर: अनिल मल्ल ठकुरी/नागरिक

    कार्यक्रममा नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्लेले खेलाडीलाई विजयको शुभकामना दिँदै नेपाली टिमले जित्ने विश्वास व्यक्त गरे।

    सोही अवसरमा नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रकी अध्यक्ष सीता सापकोटाले नेपालको नाम संसारभर चिनाउन खेलाडीहरुलाई शुभकामना व्यक्त गरिन्।

    कार्यक्रममा युलेस सिटीका काउन्सिल मेम्बर टीका पौडेल, नेपाली जनसम्पर्क समितिका अध्यक्ष ज्ञानेन्द्र कार्कीलगायतले खेलाडीलाई शुभकामना दिएका थिए।

    त्यसअघि प्रशिक्षक देसाईलगायत खेलाडीहरुले पशुपतिनाथ मन्दिरमा पूजा अर्चना गरेका थिए। मन्दिरका मुख्य पुजारी डा. शेखर पण्डित, मेघराज निरौलाले वेदको स्वस्ती वाचनबाट विजयको लागि शुभकामना व्यक्त गरेका थिए।

    तस्बिर: अनिल मल्ल ठकुरी/नागरिक

    प्रशिक्षक मोन्टी देसाई र कप्तान रोहितकुमार पौडेलले नेपालको विजयको लागी भगवानसँग आशीर्वाद लिएका थिए।

    तस्बिर: अनिल मल्ल ठकुरी/नागरिक

    खेलाडीहरूको सम्मानका नेपाली समुदायले पञ्चेबाजासमेत बजाएका थिए। कार्यक्रममा देसाईले सबैको आशीर्वादले नेपाली टिम उत्साहित रहेको उल्लेख गर्दै सम्मानका लागि धन्यवाद ज्ञापन गरेका थिए।

  • टुँडिखेल, तीनकुने र हाँडीगाउँमा विश्वकपको प्रत्यक्ष प्रसारण हुने

    टुँडिखेल, तीनकुने र हाँडीगाउँमा विश्वकपको प्रत्यक्ष प्रसारण हुने

    काठमाडौं महानगरपालिकाले ‘टी टवान्टी विश्वकप’ क्रिकेट खेल हेर्नका लागि टुँडिखेल, तीनकुने र हाँडीगाउँमा प्रत्यक्ष प्रसारणको तयारी गरेको छ।

    नेपाली समयअनुसार भोलि साँझ सवा नौ बजेदेखि नेपालको पहिलो खेल नेदरल्यान्ड्ससँग हुनेछ। यो खेल हेर्नका लागि ठूला एलईडी स्क्रीन राखिनेछन्।

    महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सह आयोजना र खेलकुद मन्त्रालयको सहकार्यमा प्रत्यक्ष प्रसारण गर्ने भएको प्रमुखको सचिवालयका सदस्य नविन भण्डारीले जानकारी दिए।

    यी स्थानहरुमा खेल हेर्न कुनै शुल्क तिर्नु पर्दैन। प्रदर्शन स्थल टुँडिखेलमा साँझ ५ बजेदेखि प्रवेश दिइनेछ। टुँडिखेलमा खेलको प्रदर्शन सुरु हुनुअगाडि इन्दिरा जोशी, महेश काफ्ले, रचना रिमाल र भ्योमाको सांगीतिक प्रस्तुति हुने महानगरले जनाएको छ।

  • दक्षिण अफ्रिकाविरुद्ध श्रीलंका ७७ रनमै समेटियो

    दक्षिण अफ्रिकाविरुद्ध श्रीलंका ७७ रनमै समेटियो

    आइसिसी ट्वान्टी २० विश्वकपको चौथो खेलमा दक्षिण अफ्रिकाका बलर अनरिख़ नॉर्खियेको घातक बलिङसंगै श्रीलंका जम्मा ७७ रनमै अल आउट भएको छ।

    पहिला व्याटिङ गरेको श्रीलंकाले १९ दशमलब १ ओभरमा ७७ रन बनाउँदा सबै विकेट गुमाएको छ ।

    श्रीलंकाका लागि कुसल मेंडिसले १९ , एंजलो मैथ्यूज़ १६ तथा कामिंडु मेंडिस ११ रन बाहेक कसैले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    दक्षिण अफ्रिकाका लागि अनरिख़ नॉर्खिये ४ तथा कगिसो रबाडा र केशव महाराज दुई दुई विकेट लिए।

    जवाफमा दक्षिण अफ्रिकाले ताजास्थीतीमा २ ओभर १ विकेट गुमाएर १३ रन बनाएको छ ।

  • लमजुङ केन्द्रबिन्दु भएर ३.७ म्याग्निच्यूडको भूकम्प

    लमजुङ केन्द्रबिन्दु भएर ३.७ म्याग्निच्यूडको भूकम्प

    लमजुङमा सोमबार राती ८ बजेर ३८ मिनेटको समयमा भूकम्पको धक्का महशुस भएको छ।

    लमजुङको तान्जे गाँउ आसपास केन्द्रबिन्दु रहेको ३ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

  • लुम्बिनी सरकारले पायो पूर्णता, केसी बनिन् उर्जामन्त्री

    लुम्बिनी सरकारले पायो पूर्णता, केसी बनिन् उर्जामन्त्री

    लुम्बिनीमा मन्त्रीपरिषद् पुनः विस्तार भएको छ। सोमबार माओवादीबाट कृष्णा केसी मन्त्री नियुक्त भएकी हुन्।

    केसीले ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयको जिम्मेवारी पाएकी छिन्। केसीलाई प्रदेश प्रमुख अमिक शेरचनले मन्त्रीको शपथ खुवाएका हुन्। योसँगै लुम्बिनी प्रदेश सरकार १२ सदस्यीय बनेको छ। केसीसँगै माओवादीबाट मुख्यमन्त्री सहित ३ मन्त्रालय पाएको छ।

    यसैगरि सत्ता साझेदार नेकपा एमालेले ५ मन्त्रालय पाएको छ भने नागरिक उन्मुक्तिले एक मन्त्रालय पाएको छ। यसैगरि जनता समाजवादी पार्टीले एक, नेकपा एकीकृत समाजवादी पार्टीले १, र एक स्वतन्त्र सांसद यसअघि नै मन्त्री बनिसकेका छन्।

    मन्त्रीपरिषद् संख्या नबढाउने गरि मन्त्री परिषद् विस्तार गर्ने भनिएपछि मुख्यमन्त्री जोगबहादुर महरा नेतृत्वको सरकार १२ सदस्यीय बनेको छ।

    यसअघिका सरकार मुख्यमन्त्री सहित १० सदस्यीय मात्रै थिए। तर गठबन्धनमा आबद्ध दलहरूलाई भागवण्डा मिलाउँदा वर्तमान मन्त्री परिषद् ठूलो बनेको हो।

  • दक्षिण अफ्रिकाविरुद्ध पहिला ब्याटिङ गर्दै श्रीलंका

    दक्षिण अफ्रिकाविरुद्ध पहिला ब्याटिङ गर्दै श्रीलंका

    आइसिसी ट्वान्टी-२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध श्रीलंकाले पहिला ब्याटिङ गर्ने भएको छ।

    नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम, न्यूयोर्कमा श्रीलंकाका कप्तान वानिन्दु हसरंगाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।

    भारत र बंगलादेशबीचको अभ्यास खेलपछि नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको लागि यो पहिलो आधिकारिक खेल हुनेछ।

    श्रीलंकाः पाथुम निसान्का, कुसल मेन्डिस (डब्ल्यू), कामिन्दु मेन्डिस, सदीरा समाराविक्रमा, चरित असालान्का, एन्जेलो म्याथ्यूज, दासुन शानाका, वानिन्दु हसरंगा (कप्तान), महेश थेक्षाना, मथीशा पाथिराना, नुवान थुसारा

    दक्षिण अफ्रिका: क्विन्टन डी कक, रीजा हेन्ड्रिक्स, एडेन मार्कराम (कप्तान ), हेनरिक क्लासेन, डेभिड मिलर, ट्रिस्टन स्टब्स, मार्को जेन्सेन, केशव महाराज, कागिसो रबाडा, एनरिक नोर्टजे, ओटनिल बार्टम्यान

  • सडक विभाग र महानगर द्वन्द्व: महानगर भत्काउने, विभाग कालोपत्र लाउने

    सडक विभाग र महानगर द्वन्द्व: महानगर भत्काउने, विभाग कालोपत्र लाउने

    चक्रपथको दोस्रो सडक विस्तारमा ढिलाई हुँदा धुवाँ धुलोले सास्ती भएको र महानगरपालिकालाई गाली आएको भन्दै काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले जेठ १२ गते सडक विभाग र सडक डिभिजन काठमाडौँको गेटमा धुलो थुपारिदिए।

    मेयर शाहले विगत १५ वर्षदेखि चक्रपथ विस्तार अन्तर्गतको दोस्रो खण्ड (कलंकी– बसुन्धरा) विस्तारको नाममा काठमाडौंका जनताले धुलो र कष्ट बेहोर्नु परेको भन्दै सडक विभाग र सडक डिभिजन काठमाडौँलाई दैनिक धुलो उपहार पठाउने उल्लेख गरेका थिए।

    काठमाडौं महानगरको यो कार्य बलमिच्याईं तथा अराजक शैली भएको भन्दै सडक विभागले विज्ञप्ती निकाल्यो। त्यो त विभागले काठमाडौं महानगरले न्युरोड क्षेत्रमा बिना अनुमति सडक काटेको र त्यसलाई विभागले रोक्दा विषयान्तर गर्न खोजेको बताएको थियो।

    विभागले विज्ञप्तिमा भनेको छ, ‘न्यूरोड क्षेत्रमा यस डिभिजनको जिम्मामा रहेको सडकमा विना अनुमति सडक काटी सडकको चौडाई घटाउने कार्यमा महानगरपालिका लागेको बखत बिना अनुमति सडक काटेर साँघुरो बनाउन नहुने भनी सडक डिभिजनबाट सो कार्यमा रोक लगाइएको विषयलाई विषयान्तर गरी डिभिजनसँग सरोकार नभएको विषयलाई कारण बनाई गरिएको यस किसिमको व्यवहारले कानुनी राज्यको उपहास गरेको ठम्याई यस सडक डिभिजनको रहेको छ।’

    त्यसपछि भने काठमाडौं महानगर र सडक विभागबीच दोहोरी नै चल्यो। महानगरपालिकाले सडक खन्ने कार्यलाई निरन्तरता दिइरहेपछि सडक डिभिजन कार्यालय काठमाडौँले फेरि अर्को पत्र पठाएर २ दिनभित्र यथास्थितिमा पुनःस्थापना गरिदिनू भन्यो। तर महानगरले सडक यथास्थितिमा पुनःस्थापना नगरेपछि सोमबार सडक विभागले न्यूरोड क्षेत्रमा भत्काएको बाटो आफैले पीच गर्न थाल्यो।

    सडक विभागले सडक पीच गर्न थालेपछि महानगरका प्रतिनिधि प्रहरी टोलीसहित न्यूरोड पुगेको थियो। उक्त समयमा सडक विभाग र महानगर प्रहरीबीच विवाद हुँदा केही समय न्युरोड क्षेत्र असामान्य समेत बनेको थियो।

    सोमबार महानगर प्रहरीसहितको टोली न्युरोड क्षेत्रमा विभागले गरेको कामलाई रोक्न नभएर हेर्न मात्र गएको मेयर शाहको सचिवालयले दाबी गरेको छ।

    सचिवालयले भन्यो, ‘सोमबार न्युरोड क्षेत्रमा नगरप्रहरीसहितको टोली विभागले गरेको काम रोक्न नभएर हेर्न मात्र गएका थियौं। आइतबार सडक विभागले महानगरलाई बैठकमा बोलाउनुभएको थियो। बैठकमा हामीले विभागलाई तपाईहरुको क्षेत्राधिकारभित्र पर्ने कुरा जे गर्न मन लाग्छ त्यहि गर्नुस् भनेका थियौं। सोही अनुसार आज उहाँहरुले सडक पीच गर्नुभएको हो।’

    विभागले नै न्युरोड क्षेत्रमा सडक काट्न अनुमति दिएर महानगरले उक्त काम गरेको पनि सचिवालयले दाबी गरेको छ।

    ‘हामीले विभागबाट सडक काट्न अनुमति लिएका थियौं। विभागले हुन्छ भनेर नै सडक काटेका हौं। लिखित त्यस्तो कुनै सहमति भएको थिएन। छलफलबाट मौखिक सहमतिअनुसार काम अघि बढाएका थियौं। तर पछि विभागले सडक काट्न अनुमति नदिएको भन्दै रोक्यो। उहाँहरुले पछि के सोच्नुभयो’, सचिवालयले भन्यो।

    सडक काट्दा लागेको लागत सडक विभागलाई भर्नका लागि महानगरले विभागलाई पत्र काट्ने तयारी पनि गरेको छ।

    महानगरले सडक विभाग र सडक डिभिजन कार्यालयमा धुलो लगेर फालेको कुरा न्युरोड क्षेत्रको विषय नभएको सचिवालयले भनेको छ।

    सचिवालय भन्छ, ‘हामीले चक्रपथका समस्या समाधान नभएका कारण धुलो फालेका थियौं। जनताहरुले कति धुलो खाने भनेर धुलो फोलका थियौं। तर उहाँहरुले त्यो विषयलाई लगेर न्युरोडको सडक काट्नेमा जोडिदिनु भयो। हामीले न्युरोडको विषयलाई लिएर धुलो फालेका थिएनौं।’

    यता सडक विभागका सुशील बाबु ढकाल महानगर र विभागबीचको यो विषयलाई त्यति ठूलो बनाउन आवश्यक नभएको बताउँछन्। सो विषयलाई ठूलो बनाउन आवश्यक नभएको उनको भनाइ छ।

    ढकाल भन्छन्, यो विषयलाई त्यति ठूलो बनाउन आवश्यक छैन्। सडक भन्ने कुरा जनताहरुले प्रयोग गर्ने कुरा हो। जुन निकायले काम गरेपनि राम्रोको लागि नै काम गर्ने हो। राम्रो बनाउनका लागि बनाउने भत्काउने होडबाजी गर्नु राम्रो होइन्। सडक विभागको धारणा त्यहि हो।

    महानगरसंग जहिल्यै पनि विभागको सहकार्य रहने उनले बताए। ‘महानरसंग हाम्रो हिजो पनि आज पनि भोलि पनि सधै झै सहकार्य र समझदारी हुँदै बढ्छौं, उनले भने।

    महानगरले न्युरोड क्षेत्रमा सडक काट्ने अनुमति लिएको नलिएको भन्ने कुरामा भने ढकाल बोल्न चाहेनन्।

    न्युरोड क्षेत्रमा सडक काट्ने विषयमा महानगरले विभागबाट अनुमति लिएको भन्ने दाबी छ नी भन्ने प्रश्नमा उनले भने, ‘यो विषयमा म धेरै बोल्न चाहिन। उहाँहरुले सहमती लिएको नलिएको भन्ने कुरा मलाई थाहा छैन। सबै कुरा विभागमा आउँदैन। विभाग मातहतका निकायबाट काम हुन्छ। उहाँहरुलाई थाहा होला।’

  • एमाले मकवानपुरमा पोखरेल विजयी

    एमाले मकवानपुरमा पोखरेल विजयी

    नेकपा एमाले मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल विजयी भएका छन् । एमालेको १२ औं जिल्ला अधिवेशन अन्तर्गत भएको निर्वाचनबाट ३१३ मतसहित पोखरेल अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।नेकपा एमालेमा आएको विभाजनसंगै नेकपा एकीकृत समाजवादीतर्फ लागेका पोखरेल स्थानीय तहको निर्वाचनको समयमा एमालेमै फर्किएका थिए ।अध्यक्ष पदका निकटतम प्रतिद्वन्द्वी इन्द्र मान स्याङ्तानले २६२ मत प्राप्त गर्दा लालबहादुर थापाले १६६ र देवराज रिमालले ११ मत प्राप्त गर ।

    एमाले मकवानपुरको उपाध्यक्षमा हिदम लामा निर्वाचित भएका छन् । मकवानपुरको भीम फेदी गाउँपालिकाका उपाध्यक्ष समेत रहेका लामाले ४७६ मत प्राप्त गर्दा उपाध्यक्षका उम्मेदवार सुनिल मोक्तानले १९७, भरत दुलालले ८० र ध्रुव चौलागाईंले ३६ मत प्राप्त गरेका थिए । सचिवमा सीता बिस्ट निर्वाचित भइन् । विष्टले २९७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी मदन दाहालले २५५ तथा राजन थापाले १७१ मत प्राप्त गरे । उपसचिव ९पुरुषतर्फ० फूर्वा लामा विजयी भए ।

    हेटौँडा १० नम्बर वडा अध्यक्ष समेत रहेका लामाले २४१ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी दीपक खड्काले १६२, इन्द्र नेपालले १२९, खेम जर्गा मगरले १०० र कृष्णप्रसाद चौलागाईंले ८६ मत प्राप्त गरे । उपसचिव (महिलातर्फ) आरती पाठक विजयी भइन् । पाठकले २४१ मत प्राप्त गर्दा अन्य उम्मेदवारहरू पार्वती रानाले १७२, कल्पना बलामीले १५६ र जुना दाहालले १५२ मत प्राप्त गरे । एमालेको जिल्ला अधिवेशनबाट ५ पदाधिकारीसहित १०५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । अध्यक्षमा निर्वाचित पोखरेलले सबैलाई समेट्दै एमालेलाई जनजनको पार्टी बनाउन लागिपर्ने प्रतिक्रिया दिए । एमाले मकवानपुरको जिल्ला अधिवेशनमा ७७९ मतदाता रहेकोमा ७६५ मत खसेको थियो ।

  • कृषिमन्त्री भन्छिन्: मन्त्रालयका कर्मचारीको व्यवहारले दिक्क बनायो

    कृषिमन्त्री भन्छिन्: मन्त्रालयका कर्मचारीको व्यवहारले दिक्क बनायो

    कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले मातहतका कर्मचारीको व्यवहार देखेर आफूलाई दिक्क लाग्ने गरेको गुनासो गरेकी छिन्।

    उनले कर्मचारीहरुबीच एकले अर्कालाई आपेक्षा मात्रै लगाउने गरेको पाइएको उल्लेख गर्दै त्यसो नगर्न पनि सचेत गराइन्।

    विश्व खाद्य स्वच्छता दिवसका अवसरमा उनले मन्त्रालयलाई नमूनायोग्य मन्त्रालयको रुपमा विकास गर्नेगरी काम गर्न पनि मातहतका कर्मचारीलाई निर्देशन दिइन्।

    कुनै बद्नामी नहुने गरी कर्मचारीहरुले काम गर्नुपर्ने मन्त्री साहको भनाई थियो। उनले कर्मचारीहरुले आफू कार्यरत निकायमा बदनामी हुने खालको कुनैपनि गतिविधि गर्न नहुने जिकिर गरिन्।

    ‘हाम्रो मन्त्रालय एउटा नमूना मन्त्रालय हो। त्यो खालको सन्देश हामीले दिनु पर्छ। हामी हामीमा नै फलाना खत्तम, ऊ खत्तम। मैले यो भन्दा अरु सुनेकै छैन मन्त्रालयमा। प्रगतिको कुरा सुनेकै छैन। यो फलानालाई बनाउनु हुँदैन है, खराब छ। अर्को आयो, त्यो खराब छ भन्छ। ए बाबा, कति सुन्नु यस्ता गुनासाहरु ? सुन्दासुन्दै दिक्क, वाक्क लाग्छ।’ उनले भनिन्।

    मन्त्री साहले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आफ्नो परीक्षणको कामलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन्।

  • अब फर्केर नेपालमै केही गर्ने इच्छा छः दिनेश खड्का, मकाउ (भिडियोसहित)

    अब फर्केर नेपालमै केही गर्ने इच्छा छः दिनेश खड्का, मकाउ (भिडियोसहित)

    ललितपुर गोदावारीका दिनेश खड्का ७ वर्षदेखि मकाउमा कार्यरत छन् । पछिल्लो ३ वर्षदेखि सेक्युटिरी सुपरभाइजरका रुपमा कार्यरत दिनेशले विदेश बसाइका क्रममा भोगेका अनुभव यस्तो छः

    नमस्कार

    मेरो नाम दिनेश खड्का हो । मेरो घर ललितपुर गोदावरी नगरपालिका वडा नम्बर ६ कालिटारमा पर्छ । म मकाउ आएको ७ वर्ष भयो । अहिले म सेक्युरिटी सुपरभाइजरको रूपमा काम गरिरहेको छु । सुरुमा आउँदा मैले तीन चार वर्ष सेक्युरिटी गार्डको रूपमा काम गरे ।

    काम गर्दै जाँदा धेरै कुराहरु सिकियो । धेरै कुराहरू भोगियो । गर्दै जाने क्रममा धेरै कुराबारे जानकारी हुँदै गयो । विस्तारै पोजिशनहरु चेन्च हुँदै गयो । सुपरभाइजरको काम गर्न थालेको पनि तीन वर्ष हुनै लाग्यो ।

    मकाउमा सेक्युरिटीमा बेसिक सेलरी भनेको ७ हजार ६०० एमओपी भनेको चै एक लाख १० हजार रुपैयाँको हाराहारीमा हुन्छ । २६ दिन र हरेक दिन ८ घण्टाको हो यो । ओभरटाइम गर्नुहुन्छ भने त्यहीँ अनुसारको रकम तपाईंहरूले पाउनु हुन्छ ।

    यहाँका मान्छेहरू पनि एकदमै फेमिलियर, एकदमै रेस्पेक्ट गर्ने, एकदमै हेल्पफुल, यहाँको चै एकदमै राम्रो इन्भारोमेन्ट छ । अति नै राम्रो छ । युरोपको जस्तो सेलरी म्याच गर्न मिल्ने खालको छ । बाहिरी माहोल पनि अति नै राम्रो छ ।

    रेस्पेक्ट गर्ने, एकदमै एकअर्काको केयर गर्ने प्रकारका मान्छे हुन्छन् यहाँका मान्छेहरु । समग्रमा भन्नु पर्दा चै मकाउ चै अति नै ब्युटिफुल कन्ट्री हो । जबको अपरच्युनिटी पनि प्रशस्तै भएको ठाउँ हो ।

    तर हामी नेपालीसहित यहाँ काम गर्न आउने जोकोही पनि बिरामी भयौं । अब साथीभाइहरु, आफ्नो घरपरिवार हुन्छन् । बिरामी भएको बेलामा उनीहरुले सहयोग गर्छन् । तर यहाँ चै तपाई बिरामी हुनु भयो भने साथीभाइहरूको समय मिल्दैन । सहयोगी साथीहरू छन् भने पनि उनीहरूको ड्युटी हुन्छ ।

    त्यसैले म चै नेपालको नयाँ जेनेरेशनलाई, अहिले नेपालमा लहर नै चलेको छ । १२ पास हुने वित्तिकै विदेश जाने । कोही अमेरिका, कोही अस्ट्रेलिया, कोही युरोप । कोही अध्ययन गर्न, कोही जागिर खान । त्यसो भएकाले कहाँ जाने, विदेश जाने । के गर्ने भन्दा विदेश जाने । एउटा मानसिकता नै त्यस्तै भएको छ ।

    म चै सबै जनालाई के भन्न चाहान्छु भने हाम्रो नेपालमै केही गर्न सकिन्छ । नेपालमै कति राम्रो अवसरहरू छन् । मैले यहाँ आएर र हेरेर पनि धेरै कुराहरू सिकेको छु । धेरै कुराहरू देखेको छु । कतिसम्म भने मलाई पनि नेपालमा आएर केही गर्ने इच्छा छ । हामी आफैंले पनि नेपालमा गएर केही गर्न सकिन्छ । यति भन्दै बिदा मागे ।

    धन्यवाद ।